प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g94 ७/८ pp. २०-२४
  • अस्ट्रेलियामा मैले साँचो धन भेट्टाएँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अस्ट्रेलियामा मैले साँचो धन भेट्टाएँ
  • ब्यूँझनुहोस्‌!—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रारम्भिक कठिनाइहरू
  • नयाँ भूमिमा धार्मिक खोज
  • गाउँको पादरीसित सम्पर्क
  • ग्रीसमा फिर्ती
  • विरोध विस्फोट हुन्छ
  • गिरफ्तार गरेर पुर्पक्षको लागि राखिएको
  • अस्ट्रेलियामा पुनः फिर्ता
  • यहोवालाई जे दिनुपर्ने हो, त्यो दिएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • पचास वर्षभन्दा लामो समयसम्म ‘स्थानान्तरित’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “सुनको साटो हीरा पाएँ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • भरोसायोग्य परमेश्‍वरको सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९४
g94 ७/८ pp. २०-२४

अस्ट्रेलियामा मैले साँचो धन भेट्टाएँ

सन्‌ १९७१ अप्रिल महिनाको कुरा हो। अस्ट्रेलियामा सात वर्ष बिताइसकेपछि परिवारलाई भेट्‌न म भर्खरै ग्रीस फर्केको थिएँ। साँझपख थियो र म कारियस गाउँको एउटा चोकको चमेना गृहमा चुपचाप बसिरहेको थिएँ। यति नै खेर त्यहाँको स्थानीय पादरी र नगरपिता आएर मेरो अगाडि बसे। तिनीहरू मसित झगडा गर्ने निहुँ खोज्न चाहन्थे भनेर स्पष्टै देखिन्थ्यो।

त्यस पादरीले मलाई कुनै सामान्य अभिवादन नै नगरिकन, पैसा कमाउनको लागि मात्र म अस्ट्रेलियामा स्थानान्तरण गरेको थिएँ भनेर दोषारोपण गरे। त्यसो भन्दा त म अक्क न बक्क भएँ। अस्ट्रेलियामा छँदा मैले पैसाभन्दा पनि बहुमूल्य धन आर्जन गर्न सफल भएँ भनेर यथासम्भव शान्त भएर बताएँ।

मेरो जवाफले उनलाई छक्क पाऱ्‍यो तर मेरो जवाफको तात्पर्य बुझ्न मागे। अरू थुप्रै कुराहरूको अलावा परमेश्‍वरको एउटा नाउँ छ भनेर आफूले सिकेको कुरा बताएँ। त्यसपछि उनको आँखामा सोझै हेरेर मैले भनें, “अनि यो कुरा सिकाउन तपाईंले वास्तै गर्नुभएन।” उनले प्रत्युत्तरमा केही भन्‍न नपाउँदै मैले सोधें, “येशूको नमूना प्रार्थनामा येशूले ‘तपाईंको नाउँ पवित्र गरिओस्‌’ भनी भन्‍नुहुँदा उहाँले सङ्‌केत गर्नुभएको नाउँ कृपया मलाई बताउनु होस्‌ त?”—मत्ती ६:९.

गाउँको चोकमा यो विवादको खबर छिट्टै फैलियो र दश मिनेटभित्र झन्डै २०० मानिसहरू भेला भइसकेका थिए। पादरीले असजिलो महसुस गर्न थाले। परमेश्‍वरको नाउँबारे मेरो प्रश्‍नको जवाफ उनले दिएनन्‌ र अन्य बाइबल प्रश्‍नहरूबारे उनीसित फितलो जवाफहरू थिए। बेरालाई पटक पटक ग्रीक पेय पदार्थ, उजो मागिरहँदा उनको अप्ठ्यारोपन झल्किन्थ्यो।

चाखलाग्दो गरी दुई घण्टा बित्यो। मलाई खोज्दै मेरो बुबा आइपुग्नुभयो तर यहाँ भइरहेको दृश्‍यलाई देखेर चुपचाप उहाँ एउटा कुनामा बस्नुभयो र दृश्‍यावलोकन गर्न थाल्नुभयो। एक जना मात्तिएको मानिस रिसाएर नचिच्याउञ्जेल यस जीवन्त छलफल राती ११:३० बजेसम्म चलिरह्‍यो। रात निकै बितिसकेकोले हामी सबै घर फर्के बेस हुनेछ भनेर मैले भीडलाई सुझाव दिएँ।

कुन कुराले गर्दा यस्तो भीडन्त भएको थियो? पादरी र नगरपिताले मसित झगडा गर्ने निहुँ किन खोज्न चाहन्थे? ग्रीसको यस क्षेत्रमा मेरो बाल्यकालको छोटो पृष्ठभूमिले यो बुझ्न तपाईंलाई मदत दिनेछ।

प्रारम्भिक कठिनाइहरू

सन्‌ १९४०, डिसेम्बर महिनामा पेलोपोनिसस्‌को कारियस गाउँमा मेरो जन्म भएको थियो। हामी असाध्यै गरीब थियौं र स्कूल नगएको बेला आमासित सूर्योदयदेखि सूर्यास्तसम्म घुँडा चुर्लुम्म डुब्ने धान खेतमा म काम गरिरहेको हुन्थें। तेह्र वर्षको उमेरमा निम्न माध्यमिक विद्यालयको अध्ययन सिध्याएपछि सिकारुको रूपमा काम गर्ने प्रबन्ध मेरा आमाबाबुले मिलाए। पाइप जडान गर्ने र झ्याल हाल्ने तालिम प्राप्त गर्न आमाबाबुले मेरो मालिकलाई ५०० किलोग्राम गहुँ तथा २० किलोग्राम वनस्पति तेल दिए। यो तिनीहरूको वर्षभरिको सालाखाला आयस्रोत थियो।

घरबाट निकै माइल टाढा अनि बिहान झिसमिसे उज्यालोदेखि मध्यरातसम्म प्रायजसो काम गर्नु पर्ने सिकारुको जीवन बिताउनु सजिलो कुरा थिएन। कहिलेकाहीं त घर फर्किने विचार पनि गर्थें तर आफ्नो आमाबाबुलाई त्यसो गर्न सक्दिनथें। मेरो लागि उहाँहरूले त्यस्तो निःस्वार्थ बलिदान गर्नुभएको थियो। त्यसकारण आफ्ना समस्याहरूबारे मैले उहाँहरूलाई कहिल्यै बताइनँ। मैले आफैलाई यसो भन्‍ने गर्थें: ‘जस्तोसुकै गाह्रो भए तापनि मैले सहनै पर्छ।’

ती वर्षहरूको दौडान मैले कहिलेकाहीं आमाबाबुलाई भेट्‌न पाउँथे र अन्ततः १८ वर्ष पुग्दा मैले सिकारु तालिम पनि सिध्याएँ। त्यसपछि राजधानी एथेन्समा जाने निधो गरें, जहाँ जागिर पाउने सम्भावना बढी थियो। त्यहाँ मैले जागिर पाएँ र एउटा कोठा भाडामा लिएँ। प्रत्येक दिन काम सकिएपछि म कोठामा फर्कन्थें, खाना पकाउँथें, कोठा सफा गर्थें र अलिकता फुर्सतको समयमा अङ्‌ग्रेजी, जर्मन तथा इटालेली भाषा सिक्थें।

अरू जवानहरूको अनैतिक कुराकानी र आचरणले मलाई विचलित बनाउँथ्यो। त्यसकारण म तिनीहरूको सङ्‌गतिबाट अलग्गै बस्थें। तर यसले गर्दा मैले एकदमै एक्लो महसुस गर्न थालें। एक्काईस वर्ष पुगेपछि सेनामा भर्ती हुनु पर्ने हुनाले मैले भाषा अध्ययन गर्न छोडिदिएँ। त्यसपछि, सन्‌ १९६४ मार्च महिनामा सेनाबाट निस्किसकेपछि म अस्ट्रेलियामा बसाइँ सरें र मेलबोर्नमा बस्न थालें।

नयाँ भूमिमा धार्मिक खोज

मैले छिट्टै काम पाइहालें र ग्रीक स्थायी-प्रवासी अलेक्सान्द्रालाई भेटें। त्यहाँ पुगेको छ महिनाभित्रै हामीले विवाह गऱ्‍यौं। कैयन्‌ वर्षपश्‍चात्‌ सन्‌ १९६९ मा यहोवाका साक्षी, एउटी वृद्धा हाम्रो घरमा आईन्‌ अनि वाचटावर र अवेक! पत्रिका दिईन्‌। मलाई ती पत्रिकाहरू चाखलाग्दो लागेको हुनाले त्यसलाई सुरक्षित ठाउँमा राखें र ती नफ्याँक्नू भनी मेरी पत्नीलाई पनि भनें। त्यसको वर्ष दिनपछि दुई जना साक्षीहरू आए र निःशुल्क गृह बाइबल अध्ययन गर्ने प्रस्ताव राखे। मैले त्यो प्रस्ताव स्वीकारें। मेरो जीवनको शून्यतालाई भर्न मैले खोजिरहेको कुराहरू नै धर्मशास्त्रबाट सिकें।

मैले साक्षीहरूसित अध्ययन गरिरहेको थाहा पाउने बित्तिकै मेरी छिमेकीले योभन्दा उत्तम धर्म भनेर इभान्जेलिस्टहरूको नाउँ मलाई दिईन्‌। फलस्वरूप, इभान्जेलिस्ट चर्चको एक प्राचीनसित पनि मैले अध्ययन गर्न थालें। सही धर्म भेट्टाउन कटिबद्ध भएकोले चाँडै नै मैले इभान्जेलिस्ट र साक्षीहरू दुवैको सभा धाउन थालें।

त्यसबीच, ग्रीक लालनपालनप्रति वफादार हुँदै मैले अर्थोडक्स धर्मलाई पनि गम्भीरतापूर्वक हेर्न थालें। एक दिन म तीनै वटा ग्रीक अर्थोडक्स चर्चमा गएँ। आफू त्यहाँ आउनुको कारण बताउँदा प्रथम पादरीले मलाई त्यहाँबाट बाहिर जाने ढोका तेर्साइदिए। हामी ग्रीक हुनाले साक्षीहरू वा इभान्जेलिस्टहरूसित सङ्‌गत गर्नु गलत हो भनेर उनले मलाई बुझाए।

उनको मनोवृत्ति देखेर म छक्क परें तर मनमनै सोचें: ‘शायद यो पादरी चाहिं चर्चको असल प्रतिनिधि होइन होला।’ तर छक्कलाग्दो कुरा, दोस्रो चर्चको पादरीले पनि त्यस्तै प्रतिक्रिया देखायो। तेस्रो चर्चमा पुग्दा त म झनै अलमल्ल परें।

तैपनि, दोस्रो चर्चमा हुने गरेको बाइबल अध्ययन कक्षामा उपस्थित हुने निर्णय गरें र अर्को शनिबार त्यहाँ गएँ। बाइबल पुस्तक, प्रेरितको अध्ययन मलाई रमाइलो लाग्यो। पत्रुससमक्ष कर्निलियसले दण्डवत्‌ गरेको अंश पढेपछि, पत्रुसले कर्निलियसको उपासना इन्कार गर्नु ठीक थियो भनेर शास्त्रविदले बीचैमा कुरा काट्‌दै भने। (प्रेरित १०:२४-२६) मैले तुरुन्त हात उठाएर एउटा प्रश्‍न छ भनी अवगत गराएँ।

“भन्‍नुहोस्‌, तपाईं के जान्‍न चाहनुहुन्छ?”

“प्रेरित पत्रुसले आफ्नो उपासना गराउन इन्कार गरे भने हामी किन पत्रुसको मूर्तिलाई उपासना गर्छौं?”

केही सेकेण्डको लागि त्यहाँ सन्‍नाटा छायो। त्यसपछि त्यहाँ बम बिष्फोट भएझैं भयो। मानिसहरूलाई रीस उठ्यो र “तिमी कहाँबाट आयौ?” भनेर चिच्याउन थाले। दुई घण्टासम्म चिच्याउँदै चर्को विवाद भयो। अन्तमा, म त्यहाँबाट निस्कनै लाग्दा घर लान तिनीहरूले मलाई एउटा पुस्तक दिए।

पुस्तक खोल्नेबित्तिकै त्यसमा लेखिएका सुरुका शब्दहरू यसप्रकार थिए: “हामी ग्रीक हौं र हाम्रो संस्कृतिको जगेर्ना गर्न हाम्रो धर्मले रगत बगाएको छ।” परमेश्‍वर ग्रीकहरूका लागि मात्र होइन भनेर मलाई थाहा थियो। त्यसकारण तुरुन्तै ग्रीक अर्थोडक्स चर्चसित मैले सम्बन्ध विच्छेद गरें। तत्‌पश्‍चात्‌ साक्षीहरूसित मात्र मैले आफ्नो बाइबल अध्ययन कायम राखें। सन्‌ १९७० अप्रिल महिनामा मैले पानीको बप्तिस्माद्वारा आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिएँ र मेरी पत्नीले छ महिनापश्‍चात्‌ बप्तिस्मा लिइन्‌।

गाउँको पादरीसित सम्पर्क

त्यसै वर्षको अन्ततिर ग्रीसमा मेरो गाउँको चर्च मर्मत गर्न पैसा माग्दै पादरीले मलाई पत्र लेखे। पैसा पठाउनुको सट्टा मैले तिनलाई द ट्रुथ द्याट लीड्‌स टु इटर्नल लाइफ नामक पुस्तक पठाइदिएँ र साथै आफू यहोवाको साक्षी भएको अनि सत्य भेट्टाएको विश्‍वास व्यक्‍त गर्दै चिट्ठी पनि पठाएँ। मेरो पत्र पाएपछि अस्ट्रेलियामा गएको स्थायी-प्रवासीले विद्रोह गऱ्‍यो भनी उनले चर्चमा घोषणा गरे।

त्यसपछि अस्ट्रेलियामा छोराहरू भएका आमाहरूले यो लेख्ने तिनीहरूको छोरा हो कि भनेर पादरीलाई सोध्न थाले। मेरी आमा त त्यस पादरीको घर समेत पुग्नुभयो र सो बताउन बिन्तीभाउ गर्नुभयो। उनले भने, “दुःखको कुरा, यो तिम्रै छोरा हो।” यस्तो कुरा सुन्‍नुभन्दा मेरी आमालाई आफू मरेको भए बेस हुनेथियो भनी पछि उहाँले मलाई बताउनुभयो।

ग्रीसमा फिर्ती

हाम्रो बप्तिस्मापश्‍चात्‌ बाइबलबाट सिकेका राम्रा कुराहरू हाम्रो परिवार र साथीहरूलाई बताउन हामी ग्रीस फर्किन चाहन्थ्यौं। अतः सन्‌ १९७१ मा हाम्रो पाँच वर्षीया छोरी, डिमिट्रालाई लिएर मेरो गाउँ कारियसभन्दा ३० किलोमिटर टाढा किपारेस्या भन्‍ने ठाउँमा लामो बिदाको लागि गयौं। हामीसित छ महिना काम लाग्ने दुइतर्फी हवाई टिकट थियो।

घर पुगेको दोस्रो रात आमा रून थाल्नुभयो र मैले गलत मार्ग रोजें अनि परिवारको नाउँ बदनाम गरें भनेर रूँदै भन्‍नुभयो। रूँदै र सुँकसुँक गर्दै उहाँले मलाई “गलत” मार्गबाट फर्कन बिन्ती गर्नुभयो। त्यसपछि उहाँ मूर्च्छा परेर मेरो हातमा ढल्नुभयो। भोलिपल्ट उहाँसित तर्क गर्ने प्रयास गर्दै मैले केवल उहाँले बाल्यकालदेखि मायालु ढङ्‌गमा सिकाउनुभएको परमेश्‍वरबारे ज्ञान बढाउँदैथिएँ भनेर बुझाउन खोजें। भोलिपल्ट साँझमा स्थानीय पादरी र गाउँको नगरपितासित त्यो अविस्मरणीय भेट भएको थियो।

एथेन्समा बस्ने मेरा दुई भाइहरू इस्टर छुट्टीको लागि घर आएका थिए। मलाई कुष्ठ रोग लागेजस्तो गरी तिनीहरू मबाट टाढै बसे। तर, एक दिन ती दुईमध्ये जेठोले मेरो कुरा सुन्‍न थाले। धेरै घण्टा छलफल गरेपछि बाइबलबाट मैले देखाएका सबै कुरामा तिनी सहमत छु भनी तिनले स्वीकारे। त्यस दिनदेखि बाँकि परिवारको अगाडि मेरो पक्षमा तिनले बोल्न थाले।

त्यसपश्‍चात्‌ आफ्नो भाइसित बस्न म अक्सर एथेन्स जाने गर्थें। प्रत्येक पटक म त्यहाँ जाँदा सुसमाचार सुन्‍न तिनले अरू परिवारहरूलाई बोलाउँथ्यो। ठूलो आनन्दको कुरा, तिनी र तिनकी पत्नी साथै तिनीहरूले बाइबल अध्ययन गरेका तीन परिवारले पानीको बप्तिस्माद्वारा आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिए!

हप्ताहरू चाँडै बित्न थाले र छ महिना बित्नै लाग्दा हाम्रो गाउँभन्दा ७० किलोमिटर टाढाको मण्डलीमा सेवारत एक जना साक्षी आए। त्यस क्षेत्रमा प्रचार-कार्य गर्न मदत चाहिएको तिनले औंल्याए र सधैंको लागि यहीं बस्ने विचार गरेका छौ कि छैनौ भनी मलाई सोधे। त्यही रात यो सम्भाव्यताबारे आफ्नी पत्नीसित छलफल गरें।

यहाँ बस्न गाह्रो हुनेछ भनेर हामी दुवै सहमत भयौं। तर बाइबल सत्यता मानिसहरूले सुन्‍नु पर्ने ठूलो खाँचोबारे स्पष्ट थियो। अन्ततः, कमसेकम एक दुई वर्ष भए पनि बस्ने निर्णय गऱ्‍यौं। हाम्रो घर र गाडी बेच्न अनि सकेजति सरसामान ल्याउन मेरी पत्नी अस्ट्रेलिया फर्कने भईन्‌। निर्णय गरिसकेपछि हामी भोलिपल्ट शहरमा गयौं र एउटा घर भाडामा लियौं। त्यहाँको स्थानीय प्राथमिक विद्यालयमा हाम्रो छोरीलाई भर्ना पनि गऱ्‍यौं।

विरोध विस्फोट हुन्छ

हामीमाथि प्रत्यक्षतः सबैतिरबाट विरोध आउन थाल्यो। प्रहरी, स्कूलको प्रधानाध्यापक र शिक्षकहरूबाट विरोध आउन थाल्यो। स्कूलमा डिमिट्राले क्रूसको चिह्न गर्दिनथी। तर्साएर क्रूसको चिह्न गर्न लगाउने उद्देश्‍यले स्कूलका पदाधिकारीहरूले एक जना प्रहरीलाई बोलाए तर उनी दृढ बसिन्‌। प्रधानाध्यापकसित भेट्‌न मलाई बोलाइयो र डिमिट्रालाई लिएर जानू भनी मुख्य पादरीले लेखेको पत्र देखाए। तर, प्रधानाध्यापकसित लामो छलफल गरिसकेपछि उनलाई स्कूलमा रहने अनुमति दिइयो।

समयको दौडान, यहोवाका साक्षीहरूको सम्मेलनमा उपस्थित भइसकेका किपारिसियामा बस्ने दम्पतीबारे थाहा पाएँ र हामीले उनीहरूको चासो पुनः जगाउन सक्यौं। नजिकैको गाउँका साक्षीहरूलाई पनि हाम्रो घरमा हुने गृह बाइबल अध्ययनको लागि हामीले बोलायौं। तर, केही समयपश्‍चात्‌ प्रहरी आएर हामी सबैलाई प्रहरी थानामा सोधपूछ गर्न लगे। अनुमति पत्रविना आफ्नो घरलाई उपासना स्थल बनायो भन्‍ने आरोप मलाई लगाइयो। तर हामीलाई थुनामा नराखेको हुनाले हामीले सभाहरू कायमै राख्यौं।

मलाई एउटा नोकरी दिइएको थियो। तर यो सुन्‍ने बित्तिकै मलाई जागिरबाट बर्खास्त नगरेमा मेरो मालिकको पाइप जडान गर्ने/जस्तापाताको पसल बन्द गराउने धम्की पादरीले दिए। पाइपहरू बनाउने र जडान गर्ने पसल बिक्रीमा थियो अनि हामीले त्यो किन्‍न सक्यौं। त्यसको लगत्तैपछि हाम्रो व्यापार बन्द गर्ने धम्की दिंदै दुई जना पादरी आए र केही हप्तापश्‍चात्‌ मुख्य पादरीले हाम्रो परिवारलाई बहिष्कार गर्ने आदेश दिए। त्यत्तिखेर ग्रीक अर्थोडक्स चर्चबाट बहिष्कृत कुनै पनि व्यक्‍तिलाई अछुतजस्तो व्यवहार गरिन्थ्यो। हाम्रो पसलमा कसैलाई आउन नदिन पसलबाहिर एक जना प्रहरी अधिकृत राखिएको हुन्थ्यो। ग्राहकहरू कोही नआएतापनि हामीले दिनहुँ पसल खोली नै रह्‍यौं। हाम्रो कठिनाइ छिट्टै त्यस गाउँको चर्चाको मुख्य विषय बन्यो।

गिरफ्तार गरेर पुर्पक्षको लागि राखिएको

एक शनिबार, अर्को एक जना व्यक्‍ति र म उसको मोटरसाइकलमा चढेर नजिकैको गाउँमा साक्षी दिन निस्क्यौं। त्यहाँ हामीलाई प्रहरीले रोकेर प्रहरी थानामा लग्यो र सप्ताहन्तभरि हिरासतमा राख्यो। सोमबार बिहान रेलमा राखेर हामीलाई किपारिसिया लगियो। हामीलाई गिरफ्तार गरेको खबर चारैतिर फैलियो र हाम्रा प्रहरी अङ्‌गरक्षकहरूको साथमा हामीहरू आएको हेर्न एउटा ठूलो भीड रेल स्टेशनमा जम्मा भएको थियो।

हाम्रो औंलाको छाप लिइसकेपछि हामीलाई सरकारी अभियोक्‍ताकहाँ लगियो। यस सम्बन्धमा प्रहरीले गाउँलेहरूलाई सोधपूछ गरेका थिए र यी गाउँलेहरूले थोपरेका दोषहरू पढेर सुनाउँदै आफ्नो मामिला अघि बढाउने कुरा त्यस प्रहरीले बतायो। पहिलो दोष यसप्रकार थियो, “येशू ख्रीष्ट १९१४ मा राजा हुनुभयो भनी तिनीहरूले हामीलाई भने।”

अभियोक्‍ताले क्रोधित भएर सोध्यो “यस्तो अनौठो विचार तिमीले कहाँबाट पायौ?”

मैले अघि सरेर उनको टेबुलको बाइबल लिएँ र मत्ती २४ अध्याय पल्टाएँ अनि उसैलाई पढ्‌ने सुझाव दिएँ। उनी एकछिन अनकनाए तर पछि बाइबल लिएर पढ्‌न थाले। केही मिनेट पढिसकेपछि उनले उत्तेजित भएर भन्यो: “ओहो, यदि यो सत्य हो भने त मैले सबै कुरा छाडेर आश्रममा पो बस्न जानुपऱ्‍यो!”

मैले बिस्तारै भनें, “पर्दैन। तपाईंले बाइबलका सत्यताहरू सिक्नुपर्छ र त्यसपछि अरूलाई पनि सत्य भेट्टाउन मदत दिनुपर्छ।”

त्यहाँ केही वकिलहरू आइपुगे र दिनभरि हामीले तीमध्ये कसै कसैलाई साक्षी दिन पायौं। तर विडम्बनाको कुरा, यसले गर्दा हामीमाथि अर्को एउटा आरोप लगाइयो—त्यो हो, धर्म परिवर्तनको!

त्यही वर्ष हामीमाथि तीन वटा मुद्दाहरू लगाइयो तर अन्तमा हामीलाई दोषमुक्‍त गरियो। यस विजयले मानिसहरूको मनोवृत्ति हामीप्रति परिवर्तन भएको जस्तो देखियो। त्यसपश्‍चात्‌ मानिसहरू कुनै रोकटोकविना हामीसित कुरा गर्न थाले र परमेश्‍वरको राज्यबारे हामीले सुनाउने कुरा सुन्‍न थाले।

अन्ततः किपारिसियामा हाम्रो घरको सानो अध्ययन समूह मण्डलीमा परिणत भयो। हाम्रो नयाँ मण्डलीमा एक जना मसीही प्राचीनलाई सरुवा गरियो र म सहायक सेवकमा नियुक्‍त भएँ। हाम्रो घरमा हुने सभाहरूमा नियमित तवरले १५ जना सक्रिय साक्षीहरू उपस्थित हुन थाले।

अस्ट्रेलियामा पुनः फिर्ता

दुई वर्ष तीन महिना बितेपछि हामीले अस्ट्रेलिया फर्कने निर्णय गऱ्‍यौं। यहाँ बिताएको समय निकै छिटो बित्यो। मेरी छोरी डिमिट्राले आफ्नो विश्‍वासलाई कायम गरिन्‌ र अहिले मेलबोर्न मण्डलीको सहायक सेवकसित उनको विवाह भएको छ। अहिले म मेलबोर्नको ग्रीक भाषीय मण्डलीमा प्राचीनको हैसियतमा सेवा गर्दैछु र यहीं मेरी पत्नी अनि हाम्रो १५ वर्षीया छोरी, मार्था उपस्थित हुन्छौं।

किपारिसियामा हामीले छोडेर आएको सानो मण्डली अहिले निकै ठूलो भइसकेको छ र थुप्रै योग्य व्यक्‍तिहरूले बाइबलको सत्यताप्रति आफ्नो हृदय खोलेका छन्‌। सन्‌ १९९१ को ग्रीष्म ऋतुमा केही हप्ताको लागि म ग्रीस गएको थिएँ र किपारिसियामा बाइबलको जनभाषण दिएँ जहाँ ७० जना उपस्थित थिए। आनन्दको कुरा, पारिवारिक विरोधको बावजूद मेरी बहिनी मरिया यहोवाको सेवक भएकी छिन्‌।

अस्ट्रेलियामा मैले हाम्रो सृष्टिकर्त्ता, यहोवा परमेश्‍वर र उहाँको राज्य सरकारको ज्ञान तथा समझको साँचो धन प्राप्त गर्ने मौका पाएकोमा म कृतज्ञ छु। मेरो जीवनको अहिले साँचो उद्देश्‍य छ र निकट भविष्यमा सारा संसारभरि परमेश्‍वरको स्वर्गीय सरकारको आशिष्‌ फैलिएको मेरो परिवार अनि म हेर्ने आशा गर्छौं।—जोर्ज कात्सेकारोनेसको वृतान्तमा आधारित। (g94 6/22)

[पृष्ठ २३-मा भएको चित्र]

अस्ट्रेलियाबाट फर्केपछि म बसेको ठाउँ, किपारिसिया

[पृष्ठ २३-मा भएको चित्र]

मेरी पत्नी आलेक्सान्ड्रासित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने