दुःखीहरूले कहिल्यै उद्धार पाउनेछन्?
आफूलगायत सारा मानिसजातिकै दुःखकष्ट अन्त भएको के तपाईं हेर्न चाहनुहुन्छ? यी निम्न उदाहरणहरू विचार गर्नुहोस्:
सोनियाले झेल्नु परेका समस्याहरू वर्णन गरी साध्यै छैन।a पहिला, तिनले आफ्नो पतिको दश वर्षदेखि अनैतिक सम्बन्ध चलिरहेको कुरा थाह पाइन्। त्यसपछि तिनको कान्छा छोरा एचआइभि-बाट संक्रमित भई एड्सको कारण मऱ्यो। त्यसको दुइ वर्षपछि तिनको अर्को छोरा पनि थला पऱ्यो अनि एड्स लागेर मरिहाल्यो। सोनिया यसरी सम्झना गर्छिन्: “रोगको अन्तिम अवस्थातिर उसले निकै सास्ती खानुपऱ्यो। ऊ असाध्यै उदास हुन्थ्यो, कपाल सबै झऱ्यो र राम्ररी देख्न पनि सकेन। एकदमै दुःखदायी समय थियो।”
ब्राजिलको एउटा विश्वविद्यालयमा अध्ययनरत फबियाना संसारमा विद्यमान सामाजिक अन्याय देखेर चिन्तित थिइन्। नभन्दै तिनको आफ्नै जीवनमा दुःख आइपऱ्यो। निराशाबाट पीडित तिनको भाइले आत्महत्या गरे। फबियानाले जागिर पनि गुमाउँदा तिनकी एक साथीले तिनको यस्तो दुर्दशा त कसैले बिगार हालेकोले हुनुपर्छ भन्दै पि-डे-सान्टु (झाँक्री) कहाँ जाने सल्लाह दिइन्! तर पि-डे-सान्टु-बाट पनि तिनले केही सान्त्वना पाइनन्। बरु, दुःख वेदनाहरूको कारण सुत्नै नसक्ने गरी सन्ताप महसुस गरिन्।
आनाले त झन् कलिलै उमेरदेखि पीडा भोग्नुपऱ्यो। तिनी भन्छिन्: “म एक वर्षकी छँदा मेरी आमा मलाई अलपत्र छाडेर बेपत्ता हुनुभयो। त्यसैले मलाई बज्यैले पाल्नुभयो।” अनि, आना तीन वर्षकी हुँदा बज्यैको मृत्यु भयो। तिनलाई रियो दे जेनेरोस्थित अनाथालयमा पठाइयो र त्यहाँ तिनी १३ वर्षकी हुँदासम्म बसिन्। तिनी भन्छिन्, “त्यहाँ हामीसित असाध्यै नराम्रो व्यवहार गरिन्थ्यो र म विद्रोही पनि भएँ। हुर्कंदै जाँदा मैले पाए जति सबै कुराको विद्रोह गर्न थालें।”
एउटा न एउटा तरिकामा दुःखकष्ट नभोग्ने मानिस कोही छैन जस्तो छ। निस्सन्देह, हामीले दिनका दिन मानव दुःखको सामना गर्नैपर्छ। चाहे त्यो हेरेर, पढेर वा समाचार सुनेरै किन नहोस्। डा. मेरी सिक्स वाइल यस्तो लेख्छिन्: “यस युगमा आम सञ्चार माध्यमले गर्दा खराब समाचारको निरन्तर बमबारीबाट उम्कनै असम्भव भइसक्यो। युद्ध, प्राकृतिक प्रकोप, औद्योगिक विपत्ति, राजमार्गमा हुने भयानक दुर्घटनाहरू, अपराध, आतंकवाद, यौन दुर्व्यवहार, बलात्कार, घरायसी हिंसाजस्ता दुःखले जीवनलाई असह्य बनाउनुका साथै यस्ता घटनाहरू यो २० औं शताब्दीमा सामान्य कुरा भइसक्यो।” मसीही प्रेरित पावलले मानव अनुभवहरूको सत्यतालाई यसरी बताए: “सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै[छ]।”—रोमी ८:२२.
तपाईं नि? के तपाईंले पनि दुःखकष्ट भोगिरहनुभएको छ? तपाईं कस्तो उद्धारको आशा गर्न सक्नुहुन्छ? के तपाईंले कहिल्यै साँचो शान्ति पाउन सक्नुहुन्छ? सोनिया, फबियाना र आनाले साँचो सान्त्वना र शान्ति पाए! यसबारे तपाईं अर्को लेखमा पढ्न सक्नुहुन्छ।
[फुटनोट]
a यस लेखमा चलाइएका नाउँहरू वास्तविक होइनन्।