प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ४/१५ pp. २३-२६
  • यहोवाको आदर गर्ने विवाहहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको आदर गर्ने विवाहहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो विवाह समारोहलाई अझै आनन्दित र मर्यादित बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • यहोवालाई आदर गर्ने आनन्दमय विवाहहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • आफ्नो जीवनशैलीद्वारा आफ्नो विश्‍वास देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ४/१५ pp. २३-२६

यहोवाको आदर गर्ने विवाहहरू

इथियोपियामा भर्खरै मात्र यहोवाका साक्षी भएका थुप्रै मानिसहरूलाई मसीही विवाहसम्बन्धी मदतकारी निर्देशन दिन स्थानीय आमरिक भाषामा निम्न लेख तयार पारिएको थियो। यसले त्यहाँको त्यस्ता केही परम्परा र प्रचलनहरूबारे बताउँछ जुन हामी बसेका ठाउँको भन्दा बेग्लै हुनसक्छन्‌। तपाईंलाई यो भिन्‍नता शायद निकै चासोपूर्ण लाग्नेछ। साथै, तपाईं बस्नुभएको ठाउँका विवाह परम्पराहरू बेग्लै खालको भए तापनि यस लेखले प्रस्तुत गरेको सन्तुलित बाइबलीय सल्लाह तपाईंलाई उपयुक्‍त लाग्नेछ।

“आनन्द दिने मसीही विवाहहरू।” यो थियो प्रहरीधरहरा (अंग्रेजी), अप्रिल १५, १९८४ को अध्ययन लेखको शीर्षक। त्यसै अंकमा अर्को लेखको शीर्षक थियो “विवाह भोजहरूमा सन्तुलित आनन्द उठाउनुहोस्‌।” (विवाह गर्न विचार गरिरहेका कुनै पनि व्यक्‍तिको लागि तपाईंको पारिवारिक जीवन आनन्दित बनाउने [अंग्रेजी], अध्याय २, र तपाईंको युवावस्था—त्यसबाट सर्वोत्तम लाभ उठाउने [अंग्रेजी], अध्याय १९ र २० मा बुद्धिमत्तापूर्ण थप सल्लाह दिइएको छ।)a ती लेखहरू प्रकाशित भएदेखि थुप्रै मानिस यहोवाका साक्षी भएका छन्‌। तसर्थ, विशेषगरि हाम्रो इलाकामा उपयुक्‍त हुने केही बुँदाहरू पुनरावलोकन गर्न चाहन्छौं। त्यसका साथै अरू उपयुक्‍त बुँदाहरू पनि पुनरावृत्ति गर्न चाहन्छौं जसले विवाहको आरम्भकर्ता यहोवाको आदर हुने खालका विवाह उत्सवहरूको प्रबन्ध गर्न मदत दिनेछ।

पहिलो विचारणीय प्रश्‍न हो, कुन बेला विवाह उत्सव तय गर्नुपर्छ? के स्थानीय परम्पराअनुसार विवाह लगन परेको समयमा? स्थानीय विश्‍वास के हो भने, लगनको समयबाहेक अरू समयमा गरेको विवाह असफल हुनेछ। यो चाहिं फेद न टुप्पोको अन्धविश्‍वास हो। किनभने रमाउँदै एकताबद्ध भएर यहोवाको सेवा गरिरहेका थुप्रै विवाहित दम्पतीहरूले परम्परागत विवाह लगन चलेको बेला विवाह गरेका थिएनन्‌। हामी साइत वा कुसाइतमा विश्‍वास राख्दैनौं। (यशैया ६५:११; कलस्सी २:८) हामीले अर्कै धर्म मान्‍ने आफन्तहरूको अन्धविश्‍वासअनुसार विवाहको मिति तय गऱ्‍यौं भने, तिनीहरूलाई सत्य र झूटोबीचको भिन्‍नता बुझ्न मदत गरेका हुँदैनौं। वास्तवमा, मसीहीहरूले कुनै पनि महिनामा विवाह गर्नसक्छन्‌।

कानुनी विवाह गरिसकेपछि विवाह भाषणको प्रबन्ध गरिन्छ। कानुनी विवाहपछि चाँडै विवाह भाषणको प्रबन्ध गर्नु बुद्धिमानी हुनेछ। दम्पतीले विवाह भाषण राज्यभवनमा होस्‌ भन्‍ने इच्छा गरेमा भवन प्रयोग गर्नको लागि तिनीहरूले मण्डलीका प्राचीनहरूलाई पहिल्यै भेटेर अनुरोध गर्नुपर्छ। विवाह समारोहका प्रबन्धहरू उचित खालका छन्‌, छैनन्‌ स्थानीय प्राचीनहरूले पक्का गर्नेछन्‌। विवाह भाषण यस्तो समयमा मिलाउनुपर्छ ताकि त्यतिबेला मण्डलीको कुनै पनि क्रियाकलापमा बाधा नपरोस्‌। विवाह भाषण दिन छानिएका भाइले भावी दुलहा र दुलहीलाई मदतकारी सल्लाह दिन समयमै भेट्‌नेछन्‌ र त्यो विवाह नैतिक वा कानुनी तवरमा ठीक छ, छैन र आफू त्यहाँ प्रबन्ध गरिएको सामाजिक जमघटसित सहमत छन्‌ वा छैनन्‌, पक्का गर्नुपर्छ। विवाह भाषण लगभग आधा घण्टाको हुनुपर्छ र आध्यात्मिक पक्षलाई जोड दिंदै सम्मानित ढंगमा प्रस्तुत गर्नुपर्छ। विवाह भाषणपछि गरिने प्रीतिभोज भाषणभन्दा त्यत्तिको महत्त्वपूर्ण चाहिं निश्‍चयै होइन।

“हामी संसारका होइनौं” भनेर देखाउने उत्तम मौका मसीही विवाह हो। (यूहन्‍ना १७:१४; याकूब १:२७) हामी व्यवस्थित छौं भनेर स्पष्ट झल्किनुपर्छ। यसको अर्थ, समयमै कार्यक्रम सञ्चालन गर्छौं, विवाहमा आएका मानिसहरूलाई कुराउँदैनौं र मण्डलीका क्रियाकलापहरूमा दखल पुऱ्‍याउँदैनौं। विशेषगरि यसमा दुलही सतर्क रहनुपर्ने कुरा आउँछ किनभने तिनको महत्त्व अझ बढाउने हेतुले अन्य धर्म मान्‍ने आफन्तहरूले तिनलाई ढिलो गर्न आग्रह गर्नसक्छन्‌। समयनिष्ठ भएर एक परिपक्व मसीही बहिनीले नम्रता र विचारशीलताजस्ता आध्यात्मिक गुनहरू देखाउनसक्छिन्‌ जुन गुनहरू तिनको लागि महत्त्वपूर्ण छन्‌! त्यसबाहेक, तस्बिर खिच्ने फोटोग्राफरलाई बोलाउँदा पनि व्यवस्थित हुनु महत्त्वपूर्ण छ। फोटोग्राफरले कोट, पैन्ट, टाइ जस्तो औपचारिक पहिरन लगाउनु उचित हुन्छ। तिनले तस्बिर खिच्दा भाषणमा बाधा पर्नु हुँदैन। प्रार्थना गर्दा तस्बिर खिच्नु हुँदैन। हामी व्यवस्थित हुँदा यहोवाको आदर हुनुका साथै त्यसले उत्तम साक्षी दिन्छ। सांसारिक विवाहका परम्पराहरू पछ्याउने प्रयास गर्नु आवश्‍यक छैन, त्यसो गर्दा उत्सवको खास अर्थ नै हराउनेछ।

राम्ररी विवाह समारोह आयोजना गर्न प्रीतिभोज गर्नैपर्छ भन्‍ने छैन। तर यस्तो सुखद क्षणमा त्यसो गर्न नहुने धर्मशास्त्रीय प्रतिबन्ध भने छैन। तथापि, साँचो मसीहीहरूको विवाह जमघटमा अत्यधिक खर्च गर्ने, अचाक्ली मादक पदार्थको प्रयोग गर्ने, अत्यधिक खाने, उत्तेजक संगीत, अनुचित नृत्य र झगडासमेत हुने सांसारिक प्रीतिभोजजस्तो हुनु हुँदैन। बाइबलले “भोजको मोजमज्जा[लाई]” शरीरका कामहरूभित्र गाभ्छ। (गलाती ५:२१) अत्यधिक ठूलो जमघट छैन भने ठीकसित नियन्त्रण गर्न निकै सजिलो हुन्छ। प्रचलित परम्पराहरूअनुसार गर्नको लागि पाल टांग्नु जरुरत छैन। ठाउँको कमी वा मौसमको कारण कसैले पाल टांग्ने निर्णय गरेमा त्यो तिनको व्यक्‍तिगत कुरा हो।

अनुभवले के देखाएको छ भने, सीमित संख्यामा पाहुनाहरू बोलाउने असल तरिका लिखित निमन्त्रणा दिनु हो। सम्पूर्ण मण्डलीलाई बोलाउनुको साटो व्यक्‍तिविशेषलाई निमन्त्रणा दिनु बुद्धिमानी हुन्छ। अनि व्यवस्थित मसीहीहरूको हैसियतमा हामीले यस्ता सीमितताहरूको कदर गर्नुपर्छ। प्रीतिभोजमा बहिष्कृत व्यक्‍ति आएर हुने अप्ठ्यारोपनलाई पनि लिखित निमन्त्रणाद्वारा हटाउन सकिन्छ। किनभने बहिष्कृत व्यक्‍ति आएमा थुप्रै भाइबहिनीहरू त्यहाँबाट बीचैमा उठेर जानसक्छन्‌। (१ कोरिन्थी ५:९-११) दम्पतीले अर्कै धर्म मान्‍ने आफन्त वा परिचितहरूलाई सीमित संख्यामा बोलाउनुपर्छ र “विश्‍वासका घराना[लाई]” नै बढी महत्त्व दिनुपर्छ। (गलाती ६:१०) कसै कसैले अर्को धर्म मान्‍ने परिचित वा आफन्तहरूलाई प्रीतिभोजको साटो विवाह भाषणमा आउने निमन्त्रणा दिन चाहेका छन्‌। किन? किनभने कतिपय प्रीतिभोजहरूमा सांसारिक आफन्तहरूले अप्ठ्यारो स्थिति खडा गरेकोले थुप्रै भाइबहिनीहरूलाई त्यहाँ बस्नै अप्ठ्यारो परेको थियो। केही दम्पतीहरूले चाहिं परिवारका सदस्य र मसीही मित्रहरूसित सानोतिनो भोज गर्ने प्रबन्ध गरेका छन्‌।

यूहन्‍ना २:८, ९ अनुसार “भोजका मुखिया” छान्‍नु व्यवहारिक हुन्छ। यसको निम्ति दुलहाले कुनै भरपर्दो मसीहीलाई छान्‍न चाहनेछन्‌ ताकि व्यवस्थित र उच्चस्तर कायम रहोस्‌। विवाहमा आउनेहरूले उपहार ल्याउँदा ‘देखावटीपन’ हुनु हुँदैन। (१ यूहन्‍ना २:१६) अनुचित शब्द, अत्यधिक होहल्ला वा चर्को ताल नभएका संगीतले आनन्द दिनसक्छ। विवाहमा बजाउने संगीत प्राचीनलाई अगावै सुन्‍न लगाउनु लाभकारी भएको थुप्रैले अनुभव गरेका छन्‌। नृत्य पासो हुनसक्छ किनभने थुप्रै परम्परागत नृत्यहरू कुनै देश र पशुप्राणीको सफलताको कामना गर्ने नृत्यहरूबाट सुरु भएका हुन्छन्‌ र अनुपयुक्‍त भोगविलासलाई चित्रित गर्छन्‌। “केक र श्‍यामपेन बाँड्‌दा” कहिलेकाहीं सांसारिक मानिसहरू अब मनपरी गरे हुन्छ भन्ठान्छन्‌। वास्तवमा, थुप्रै मसीही दम्पतीले समस्या ननिम्त्याउन विवाह समारोहमा मादक पदार्थको प्रयोग नै नगर्ने निर्णय गरेका छन्‌।

हामी यहोवाको आदर गर्न चाहन्छौं। त्यसैले आफूप्रति अत्यधिक ध्यान आकर्षित नगर्न देखावटी गर्नेछैनौं। अत्यधिक आडम्बरी तौरतरिकाको विरुद्धमा संसारका प्रकाशनहरूले पनि बताएका छन्‌। विवाह भोजमा निकै खर्च गरेकोले दम्पती ऋणमा डुब्नु र त्यो एक दिनको खर्चले वर्षौंसम्म गरिबीमा पिल्सिनु कत्ति मूर्खता हो! निस्सन्देह, विवाह उत्सवमा पहिरिने पहिरन सुहाउँदो, चटक्क मिलेको होस्‌ ताकि परमेश्‍वरलाई श्रद्धा गरेको झल्कोस्‌। (१ तिमोथी २:९, १०) “मसीही विवाहहरूमा व्यवहारिकता झल्किनुपर्छ” लेखले (प्रहरीधरहरा [अंग्रेजी], जनवरी १५, १९६९) वेशभूषाबारे यस्ता रोचक टिप्पणीहरू गऱ्‍यो:

“विवाह विशेष उत्सव भएको हुनाले त्यतिबेला आनन्द गर्ने र अरूको दृष्टिमा राम्रो देखिन विशेष ध्यान त दिइन्छ नै। यद्यपि, त्यसको अर्थ विशेष प्रकारको पोशाक वा सूट लगाउनैपर्छ भनेको होइन। स्थानीय ढंगअनुसार खर्च तथा व्यक्‍तिगत छनौट गर्नु उचित हो। . . . तैपनि, आफू वा अरूमाथि आर्थिक भार लाद्‌ने महँगो पहिरन किन्‍नु के व्यवहारिक हुन्छ र? . . . कति जना दुलहीहरूले प्रिय मित्र वा आफन्तका पोशाक लगाएका छन्‌। अरू कतिले चाहिं दुलहीको लुगा आफै बनाएर ठूलो सन्तुष्टि पाएका छन्‌। सम्भवतः ती लुगा पछि अरू उत्सवहरूमा लगाउन हुनेगरि तयार गरिएको हुन्छ। दम्पतीले आफ्नो सधैं लगाउने लुगाहरूमध्ये सबैभन्दा आकर्षक पहिरनमा विवाह गर्नु पनि ठीकै हो। . . . भव्य विवाह गर्ने औकात भएकाहरूले चाहिं अहिले डरलाग्दो समय भएको हुँदा ‘साधारण विवाह’ गर्न व्यक्‍तिगत इच्छा गर्नसक्छन्‌।”

त्यस्तैप्रकारले, विवाह भोज (दुलहाका मित्रवर्ग र दुलहीका केटी साथीहरूको जमघट) भव्य हुनु आवश्‍यक छैन। तिनीहरू आफ्ना पहिरन र कामकुराद्वारा आफूप्रति नचाहिंदो ध्यान आकर्षित गर्न चाहँदैनन्‌। बहिष्कृत व्यक्‍तिलाई राज्यभवनमा विवाह भाषण सुन्‍न अनुमति दिन सकिए तापनि द वाचटावर, अप्रिल १५, १९८४ ले यसो भन्यो: “बहिष्कृत व्यक्‍ति वा बाइबल सिद्धान्तसित पटक्कै मेल नखाने निन्दनीय जीवनशैली भएको व्यक्‍तिलाई विवाह समारोहमा समावेश गर्नु उचित हुँदैन।”

येशू विवाह उत्सवमा जानुभए तापनि विवाहका गाडीहरूको ताँती लगाएर जन्ती जाने प्रचलित परम्परालाई उहाँले त्यतिबेला अनुमोदन गर्नुहुनेथियो भनेर हामी कल्पना गर्न सक्दैनौं। चालकहरूले विवाहको जन्तीमा हर्न बजाउँदा प्रहरीले तिनीहरूलाई जरिबाना समेत तिराएको छ। (मत्ती २२:२१ हेर्नुहोस्‌।) संक्षिप्तमा भन्‍ने हो भने, मसीहीहरूले देखावटीपन वा संसारका मानिसहरूको परम्परावादी कामकुराहरूको नक्कल गर्नुको साटो विनित व्यक्‍तिसित हुनुपर्ने बुद्धि प्रदर्शित गर्छन्‌।—हितोपदेश ११:२.

तर छिमेकी, सहकर्मी वा टाढाको आफन्त तथा परिचितहरूको विवाहमा उपस्थित हुनेबारे के भन्‍न सकिन्छ? यसमा प्रत्येक मसीहीले व्यक्‍तिगत निर्णय गर्नुपर्छ। हाम्रो समय मूल्यवान्‌ छ भनेर मनमा राख्नु राम्रो हो किनभने हामीलाई हाम्रो सेवकाई, व्यक्‍तिगत अध्ययन र अरू पारिवारिक तथा मण्डलीका क्रियाकलापको लागि समय चाहिन्छ। (एफिसी ५:१५, १६) सप्ताहन्तमा हुने सभा तथा क्षेत्र सेवकाईलाई हामी गुमाउन चाहँदैनौं। (हिब्रू १०:२४, २५) थुप्रै विवाहहरू सम्मेलन वा प्रभुको साँझको भोजसम्बन्धी विशेष क्षेत्र सेवा गर्नुपर्ने समयमै आयोजन गरिएका हुन्छन्‌। अरू मानिसलाई प्रभुको साँझको भोजमा उपस्थित हुन सारा विश्‍वका भाइहरूले भरमग्दुर प्रयास गरिरहेका बेला हामी चाहिं ती विवाहहरूको रमझममा अलमलिनु हुँदैन। सत्यको ज्ञान पाउनअघि हामीले धेरै समय सांसारिक मानिसहरूसित बितायौं र शायद परमेश्‍वरको अनादर हुने कामकुराहरू पनि गऱ्‍यौं होला। (१ पत्रुस ४:३, ४) अहिले हामीले दिनुपर्ने प्राथमिकताहरू बेग्लै छन्‌। बेग्लै धर्म मान्‍ने दम्पतीलाई कार्ड पठाएर वा विवाह समारोहमा नभए पनि कुनै अर्को दिनमा छोटो भेटघाट गरेर शुभकामना दिनसक्छौं। कोही कोहीले नवविवाहितहरूलाई सुहाउने शास्त्रपदहरू चलाएर त्यस्ता अवसरहरूमा साक्षी दिएका छन्‌।

सांसारिक तौरतरिकाभन्दा आध्यात्मिक कुराहरूलाई महत्त्व दिएको विवाहले साँच्चै यहोवाको आदर गर्नेछ। संसारको अन्धविश्‍वास र अचाक्लीपनलाई त्यागेर मसीहीहरूले त्यस अवसरको आनन्द उठाउनेछन्‌। संसारका त्यस्ता कुराहरूलाई आफ्नो नियमित ईश्‍वरतान्त्रिक क्रियाकलापमा बाधा ल्याउन नदिनका साथै देखावटीपनको साटो विनय प्रदर्शित गर्छन्‌। त्यसबाहेक, मीठो सम्झनाको त्यस घटनालाई तिनीहरूले असल अन्तस्करणसाथ फर्केर हेर्न सक्षम हुनेछन्‌। बुद्धि र व्यवहारिकता प्रदर्शन गरेर सबै मसीही विवाहहरूले त्यहाँ उपस्थित नम्र हृदय भएका प्रत्यक्षदर्शीहरूलाई साक्षी दिन सकून्‌।

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

[पृष्ठ २४-मा भएको चित्र]

मसीहीहरू स्थानीय विवाहका परम्पराहरू अपनाउँदैनन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने