अध्ययन लेख ५१
गीत १३२ हामी एउटै शरीर भयौँ!
यहोवाको आदर हुने विवाह समारोह
“सबै कुरा शिष्टतासाथ अनि व्यवस्थित ढङ्गले होस्।”—१ कोरि. १४:४०.
सिक्न सकिने कुरा
विवाह गर्न लागेका जोडीले आफ्नो विवाहको दिनमा कसरी यहोवाको आदर गरेको देखाउन सक्छन्।
१-२. यहोवा तपाईँको विवाहको दिन कस्तो भएको चाहनुहुन्छ?
के तपाईँको हालै मगनी भएको छ? त्यसो हो भने तपाईँलाई धेरै बधाई छ! तर तपाईँ विवाहको तयारीमा पनि निकै व्यस्त हुनुहुन्छ होला। यहोवा तपाईँको विवाहकोa दिन खुसीले भरिएको र त्यसपछिको जीवन पनि सुखमय भएको चाहनुहुन्छ।—हितो. ५:१८; श्रेष्ठ. ३:११.
२ तपाईँको विवाह समारोह यहोवाको आदर हुने किसिमको हुनुपर्छ। किन? अनि तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ? हुनत यो लेख खासगरि विवाह गर्न लागेका जोडीहरूको लागि तयार पारिएको हो। तर हामी सबैले यस लेखमा छलफल गरिएका सिद्धान्तहरू लागू गर्न सक्छौँ, चाहे हामी पाहुनाको रूपमा उपस्थित हुँदा होस् वा विवाह गर्न लागेको जोडीले हामीसित सल्लाह माग्दा। यसो गऱ्यौँ भने हामीले यहोवाको आदर गर्न सक्नेछौँ।
विवाह समारोह किन यहोवाको आदर हुने किसिमको हुनुपर्छ?
३. विवाहको तयारी गरिरहेको जोडीले कुन कुरा विचार गर्नुपर्छ र किन?
३ विवाहको तयारी गरिरहेका जोडीहरूले यहोवाले बाइबलमा दिनुभएका सिद्धान्तहरू राम्ररी विचार गर्नुपर्छ। किन? किनभने विवाहको सुरुवातकर्ता यहोवा हुनुहुन्छ। पहिलो पुरुष र स्त्री आदम र हव्वाको विवाह उहाँले नै गराइदिनुभएको थियो। (उत्प. १:२८; २:२४) त्यसैले विवाहको तयारी गरिरहेका जोडीहरूले सबैभन्दा पहिले यहोवाको सोचाइ बुझ्नुपर्छ।
४. तपाईँले आफ्नो विवाह समारोहलाई यहोवाको आदर हुने किसिमको बनाउनुपर्ने अर्को कारण के हो?
४ तपाईँले यहोवाको सोचाइ बुझ्नुपर्ने अर्को कारण पनि छ। त्यो हो, उहाँ तपाईँको मायालु बुबा र घनिष्ठ साथी हुनुहुन्छ। (हिब्रू १२:९) तपाईँ यो सम्बन्ध कुनै पनि हालतमा बिग्रिएको चाहनुहुन्न। तपाईँ विवाहको दिन वा अरू बेला पनि आफ्नो घनिष्ठ साथी यहोवाको अनादर हुने कुनै पनि कुरा गर्न पक्कै चाहनुहुन्न। (भज. २५:१४) यहोवाले तपाईँको लागि थुप्रै कुरा गरिसक्नुभएको छ र भविष्यमा पनि गर्नुहुनेछ। त्यसको लागि तपाईँ पक्कै कृतज्ञ हुनुहुन्छ र आफ्नो विवाह समारोहलाई यहोवाको आदर हुने किसिमको बनाएर त्यो कृतज्ञता व्यक्त गर्न सक्नुहुन्छ।—भज. ११६:१२.
तपाईँ कसरी यहोवाको आदर गर्न सक्नुहुन्छ?
५. विवाह समारोहको लागि योजना बनाउँदा बाइबलले कसरी मदत गर्न सक्छ?
५ यहोवाका जनहरूको विवाह समारोह कस्तो हुनुपर्छ भनेर बाइबलमा लामो सूची दिइएको छैन। त्यसैले जोडीहरूले आफ्नो अवस्था, स्थानीय चलन र रुचिअनुसार योजना बनाउन सक्छन्। तर तिनीहरूले विवाहसम्बन्धी आफ्नो देशको नियमकानुन पनि पालन गर्नुपर्छ। (मत्ति २२:२१) तिनीहरूले जस्तो योजना बनाए तापनि यदि बाइबलका सिद्धान्तहरू पालन गरेका छन् भने यहोवाको आदर हुन्छ र उहाँ खुसी हुनुहुनेछ। त्यसोभए तिनीहरूले कस्ता सिद्धान्तहरू विचार गर्नुपर्छ?
६. विवाह गर्न लागेको जोडीले किन कानुनी आवश्यकता पूरा गर्नुपर्छ?
६ कानुनी आवश्यकता पूरा गर्नुहोस्। (रोमी १३:१, २) प्रायजसो देशमा विवाह गर्न लागेका जोडीहरूले केही कानुनी आवश्यकताहरू पूरा गर्नुपर्ने हुन्छ। त्यसैले तिनीहरूले आफ्नो देशमा कस्तो नियमकानुन छ भनेर बुझ्नुपर्छ। यससम्बन्धी केही प्रश्नहरू छन् भने तपाईँ एल्डरहरूसित मदत माग्न सक्नुहुन्छ।b
७. विवाह समारोह कस्तो हुनुपर्छ?
७ विवाह समारोहलाई मर्यादित बनाउनुहोस्। (१ कोरि. १०:३१, ३२) विवाह समारोहमा संसारको मनोभाव नभई पवित्र शक्तिको फल झल्किनुपर्छ। (गला. ५:१९-२६) शिरत्वसम्बन्धी बाइबलमा दिइएको सिद्धान्तअनुसार विवाहलाई रमाइलो र मर्यादित बनाउने मुख्य जिम्मेवारी दुलहाको हो। त्यसको लागि के गर्न सकिन्छ? मर्यादित र मायालु तरिकामा दिइएको बाइबलआधारित विवाह भाषणले विवाह परमेश्वरले गर्नुभएको प्रबन्ध हो भनेर बुझ्न मदत दिन्छ। साथै उपस्थित भएकाहरूले विवाह एउटा गम्भीर कुरा हो भनेर बुझ्न पनि मदत पाउँछन्। त्यसैले थुप्रै जोडीले सम्भव भए सभाभवनमै विवाह गर्ने छनौट गर्छन्। तिनीहरू सभाभवन प्रयोग गर्न चाहन्छन् भने विवाह गर्ने मितिभन्दा पर्याप्त समयअघि नै एल्डरहरूको निकायलाई लिखित निवेदन दिनुपर्छ।
८. विवाह भोजलाई मर्यादित बनाउन के गर्नुपर्छ? (रोमी १३:१३)
८ रोमी १३:१३ पढ्नुहोस्। तपाईँको विवाह भोज पनि राख्ने योजना छ भने त्यसमा संसारको मनोभाव नझल्कियोस् भनेर कस्ता कुराहरूमा होसियार हुनुपर्छ? “भोजको अनियन्त्रित मोजमस्ती” भनेर अनुवाद गरिएको ग्रीक शब्दले बेस्सरी रक्सी पिउने अनि राती अबेरसम्म गीत गाएर बस्ने जमघटलाई बुझाउँथ्यो। विवाह भोजमा रक्सी राख्न चाहनुहुन्छ भने कसैले पनि बेस्सरी रक्सी नपिओस् भनेर पहिल्यै राम्रो योजना बनाउनुहोस्।c गीत बजाउनुहुन्छ भने ठिक्कको आवाजमा बजाउनुहोस्। त्यसो गर्दा पाहुनाहरूलाई एकअर्कासित कुरा गर्न सजिलो हुनेछ। कस्तो खालको गीत बजाउने अनि त्यसको शब्दहरू कस्तो छ भनेर पनि ध्यान दिनुहोस्। यसो गर्दा अरूले ठेस खानेछैनन्।
९. विवाहको योजना बनाउँदा अरू कस्ता कुराहरूमा पनि विचार पुऱ्याउनुपर्छ?
९ कुनै-कुनै ठाउँमा परिवारको सदस्य र नजिकका साथीहरूले दुलहा-दुलहीको लागि सबैसामु केही भन्ने चलन हुन्छ। कतिपय ठाउँमा समारोहको बेला फोटो वा भिडियोहरू देखाइन्छ अनि रमाइलो कार्यक्रमहरू पनि राखिन्छ। यस्ता कुराहरूले विवाहको दिनलाई अझ स्मरणीय बनाउँछ। तर ती कुराहरू उत्थानदायी हुनुपर्छ। (फिलि. ४:८) त्यसैले आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘के यसले अरूलाई आदर गरेको देखाउँछ? के यसबाट विवाहको प्रबन्धलाई कदर गरेको देखिन्छ? अनि सबैभन्दा महत्त्वपूर्ण, के यसबाट यहोवाको आदर गरेको देखिन्छ?’ हुनत विवाहको दिन रमाइलो क्षण भएकोले हँसीमजाक गर्नु ठिकै हो तर मान्छेहरूलाई हँसाउनकै लागि भनेर छाडा कुराहरू भन्नु पटक्कै उचित होइन। (एफि. ५:३) यदि परिवारको सदस्य र साथीभाइले समारोहमा तपाईँहरूबारे केही भन्ने योजना छ भने तिनीहरूले कस्ता कुराहरू बताएको चाहनुहुन्न, पहिल्यै जानकारी दिनुहोस्।
१०. विवाह समारोहलाई साधारण बनाउनु किन बुद्धिमानी हो? (१ युहन्ना २:१५-१७)
१० तामझाम नगर्नुहोस्। (१ युहन्ना २:१५-१७ पढ्नुहोस्।) यहोवाका उपासकहरूले आफूमा बढ्तै ध्यान खिच्नुको साटो उहाँको आदर गर्न सक्दो प्रयास गर्नुपर्छ। अहिले मानिसहरू विवाहमा “तडकभडक” गर्ने अनि पैसाको खोला बगाउने गर्छन्। तर साँचो ख्रिष्टियनहरू भने त्यसो नगर्न होसियार हुनुपर्छ। विवाह समारोहलाई सरल बनाउँदा कस्तो फाइदा हुन्छ? यसबारे केही भाइबहिनीहरू के भन्छन्, विचार गरौँ। नर्वेका माइक यसो भन्छन्: “हामीले ऋण लिएनौँ अनि अग्रगामी गरिरहन सक्यौँ। हाम्रो विवाह समारोह साधारण भए पनि निकै रमाइलो अनि यादगार भयो।” इन्डियाकी तबिता यसो भन्छिन्: “हामीले साधारण तरिकामा विवाह गर्ने निर्णय गऱ्यौँ। त्यसैले धेरै कुराको योजना बनाउनु परेन। अनि हामी दुई जना र हाम्रा परिवारहरूबीच कुरा नमिल्ने विषयहरू पनि त्यति भएन। यसले गर्दा हामी अनावश्यक तनावबाट जोगियौँ।”
हामी जहाँ भए पनि आफ्नो विवाह समारोहलाई मर्यादित, रमाइलो अनि यादगार बनाउन सक्छौँ (अनुच्छेद १०-११ हेर्नुहोस्)
११. आफ्नो पहिरन र कोरीबाटीको सन्दर्भमा दुलहा-दुलही कसरी सन्तुलित हुन सक्छन्? (चित्रहरू पनि हेर्नुहोस्।)
११ विवाहमा कस्तो लुगा लगाउने भनेर के तपाईँले निर्णय गरिसक्नुभएको छ? तपाईँ त्यो दिन पक्कै राम्रो देखिन चाहनुहुन्छ। बाइबलकालीन समयमा पनि दुलहा-दुलहीले आफ्नो रूपरङ्गमा विशेष ध्यान दिन्थे। (यसै. ६१:१०) हुनत तपाईँले विवाहको दिन लगाउने लुगा सदाभन्दा अलि फरक हुन्छ होला तर त्यो भद्रचाहिँ हुनै पर्छ। (१ तिमो. २:९) आफ्नो पहिरन वा सिँगारजस्ता कुनै पनि कुरालाई विवाहको सबैभन्दा विशेष कुरा नबनाउनुहोस्।—१ पत्रु. ३:३, ४.
१२. विवाहसम्बन्धी स्थानीय चलनहरूबारे कस्ता कुराहरू पक्का गर्नुपर्छ?
१२ बाइबलसित मेल नखाने रीतिथितिलाई तिरस्कार गर्नुहोस्। (प्रका. १८:४) अहिले विवाहसम्बन्धी धेरैजसो रीतिथितिहरूमा प्रेतविद्या, मूर्तिपूजा र अन्धविश्वास मुछिएका हुन्छन्। यहोवाले हामीलाई यस्ता अशुद्ध कुराहरूदेखि अलग रहन भन्नुभएको छ। (२ कोरि. ६:१४-१७) कुनै रीतिथिति वा चलन यहोवाको लागि स्वीकार्य छ कि छैन भनेर तपाईँ पक्का हुनुहुन्न भने तपाईँ के गर्न सक्नुहुन्छ? त्यो चलन कसरी सुरु भयो भनेर अनुसन्धान गर्नुहोस् अनि सही निर्णय गर्न मदत गर्ने बाइबल सिद्धान्तहरू खोज्नुहोस्।
१३. दुलहा-दुलहीले उपहारको सन्दर्भमा कसरी यहोवाको जस्तै दृष्टिकोण राख्न सक्छन्?
१३ के तपाईँ बस्ने ठाउँमा दुलहा-दुलहीलाई उपहार दिने चलन छ? यदि त्यसो हो भने पाहुनाहरूले आफ्नो आर्थिक अवस्थाअनुसार उपहार दिन्छन् होला। हामी ख्रिष्टियनहरूले पनि अरूलाई दिन प्रोत्साहन पाएका छौँ अनि त्यसरी दिँदा हामी खुसी हुन्छौँ। (हितो. ११:२५; प्रेषि. २०:३५) तर हामीले आफ्ना पाहुनाहरूलाई उपहार दिन बाध्य महसुस गराउनु भने हुँदैन। अनि सानोतिनो उपहारले चल्दैन भनेर पनि महसुस गराउनु हुँदैन। यहोवा कसैले पनि मन नलागी-नलागी वा करकापमा परेर दिएको चाहनुहुन्न। (२ कोरि. ९:७) हामीले पनि यहोवाको जस्तै दृष्टिकोण राख्नुपर्छ।
चुनौतीहरूको सामना गर्न राम्रो तयारी गर्नुहोस्
१४. विवाहको तयारी गर्दा कस्ता चुनौतीहरू आइपर्न सक्छन्?
१४ तपाईँ आफ्नो विवाह समारोह यहोवाको आदर हुने किसिमको बनाउन विभिन्न योजना बनाउँदै हुनुहुन्छ होला। तर तयारीको क्रममा केही चुनौतीहरू आउन सक्छन्। एउटा चुनौती भनेको विवाह समारोहलाई साधारण बनाउनु हो। सोलोमन टापुमा बस्ने चार्लि भन्छन्: “हाम्रा थुप्रै साथीहरू छन् अनि हाम्रो समाजमा सबैले विवाहमा बोलाएको आशा गर्छन्। त्यसैले कसलाई बोलाउने, कसलाई नबोलाउने भनेर निर्णय गर्न धेरै गाह्रो भयो।” अगाडि उल्लेख गरिएकी तबिता भन्छिन्: “हाम्रो समाजमा ठूलो बिहे भोज गर्ने चलन छ तर हामीले १०० जना जतिलाई मात्र बोलाउने निर्णय गऱ्यौँ। दुवैपट्टिको आमाबुबालाई हाम्रो यो निर्णय स्विकार्न केही समय लाग्यो।” इन्डियाकी सारा भन्छिन्: “भव्य भोज लाएन भने अरूले के भन्ला भनेर कसै-कसैले चिन्ता गर्छन्। मेरा केही आफन्तहरूको विवाह एकदमै भव्य थियो। त्यसैले मेरो विवाह त्योभन्दा पनि भव्य हुनुपर्छ भनेर कसै-कसैले दबाब दिए।” तपाईँ यी र अन्य चुनौतीहरूको कसरी सामना गर्न सक्नुहुन्छ?
१५. विवाहको विभिन्न योजना बनाउँदा प्रार्थना गर्नु किन महत्त्वपूर्ण छ?
१५ विवाहको विभिन्न योजना बनाउँदा प्रार्थना गर्न नबिर्सनुहोस्। तपाईँ चुनौतीहरूबारे वा आफूलाई चिन्ता लागिरहेका कुराहरूबारे प्रार्थना गर्न सक्नुहुन्छ। (फिलि. ४:६, ७) सही निर्णय गर्न, चिन्ता लागेको बेला शान्त हुन र आवश्यक पर्दा साहसी हुन सकूँ भनेर पनि प्रार्थना गर्न सक्नुहुन्छ। (१ पत्रु. ५:७) यहोवाले तपाईँको प्रार्थनाको जवाफ दिनुभएको अनुभव गर्दा उहाँमाथिको तपाईँको भरोसा बढ्नेछ। अगाडि उल्लेख गरिएकी तबिता यसो भन्छिन्: “हामी दुई जनाबीच अनि हाम्रो परिवारहरूबीच कुरा नमिल्ने हो कि भनेर चिन्ता लाग्थ्यो। त्यसैले हरेक चोटि कुनै योजना बनाउनुअघि हामी प्रार्थना गर्थ्यौँ। हामीले यहोवाको मदत अनुभव गऱ्यौँ अनि सबै कुरा राम्ररी अघि बढ्यो।”
१६-१७. विवाहको तयारी गर्दा स्पष्ट कुराकानी गर्नु किन महत्त्वपूर्ण छ?
१६ स्पष्टसित तर आदर झल्किने तरिकामा कुराकानी गर्नुहोस्। (हितो. १५:२२) तपाईँ दुई जना मिलेर विवाहको लागि थुप्रै निर्णय गर्नुपर्ने हुन्छ। जस्तै, कुन मितिमा विवाह गर्ने, कति खर्च गर्ने, क-कसलाई बोलाउने र यस्तै अरू थुप्रै निर्णयहरू। कुनै निर्णय गर्नुअघि सँगै त्यसबारे कुरा गर्नुहोस्। तपाईँहरूको अवस्थामा लागू हुने बाइबल सिद्धान्तहरू विचार गर्नुहोस्। परिपक्व भाइबहिनीहरूले केही सल्लाह दिएका छन् भने त्यसबारे पनि छलफल गर्नुहोस्। आफ्नो विचार व्यक्त गर्दा व्यावहारिक र दयालु हुनुहोस् अनि आफ्नै कुरामा ढिपी नकस्नुहोस्! तपाईँहरूको विवाह तपाईँहरूको आमाबुबाको लागि पनि विशेष क्षण हो। त्यसैले उहाँहरूले केही सुझाव दिनुहुँदा त्यो व्यावहारिक देखिन्छ भने उहाँहरूले भनेअनुसार गर्न सकिन्छ कि, विचार गर्नुहोस्। यसो गर्दा तपाईँहरूले उहाँहरूको आदर गरेको देखिन्छ। तर उहाँहरूले भनेअनुसार गर्न सकिँदैन भने त्यसको कारण मायालु तरिकामा बताउनुहोस्। (कल. ४:६) तपाईँहरूको मुख्य उद्देश्य भनेको आफ्नो विवाह यहोवाको आदर हुने किसिमको बनाउनु हो भनेर उहाँहरूलाई प्रस्टसित बुझाउनुहोस्।
१७ आमाबुबा सत्यमा छैनन् भने आफूले गरेको निर्णय उहाँहरूलाई बुझाउन अझ गाह्रो हुन सक्छ। तर मायालु ढङ्गमा बुझाउनुभयो भने उहाँहरूलाई तपाईँको निर्णय स्विकार्न सजिलो हुनेछ। इन्डियाका सन्तोस भन्छन्: “हाम्रो परिवारले विवाहमा विभिन्न हिन्दू रीतिथिति राख्न चाहन्थ्यो। उहाँहरूलाई हाम्रो निर्णय बुझाउन हामी दुवै जनालाई धेरै समय लाग्यो। उहाँहरूले भन्नुभएका केही कुराहरू यहोवाको स्तरसित बाझिँदैन भनेर हामीले बुझ्यौँ। त्यसैले ती कुराअनुसारै गर्न हामी राजी भयौँ। जस्तै, हामीले भोजको मेनुमा केही फेरबदल गरेर उहाँहरूले भन्नुभएका खानेकुराहरू राख्यौँ। अनि नाचगान नराख्ने निर्णय गऱ्यौँ। किनभने उहाँहरूलाई विवाहमा नाचगान गर्ने चलन त्यति बानी परेको थिएन।”
१८. विवाहको दिन सबै कुरा व्यवस्थित होस् भनेर तपाईँ के गर्न सक्नुहुन्छ? (१ कोरिन्थी १४:४०) (चित्र पनि हेर्नुहोस्।)
१८ राम्रो योजना बनाउनुहोस्। यदि तपाईँले पहिल्यै राम्रो तयारी गर्नुभएको छ भने विवाहको दिनमा तपाईँलाई अनावश्यक तनाव हुनेछैन। (१ कोरिन्थी १४:४० पढ्नुहोस्।) ताइवानका वेन यसो भन्छन्: “हामी विवाहमा सबै कुरा व्यवस्थित भएको चाहन्थ्यौँ। त्यसैले केही दिनअघि हामीले विवाहमा मदत गर्ने भाइबहिनीहरूसित सानो मिटिङ गऱ्यौँ। हामीले विवाहको दिनको लागि बनाएका योजनाहरूबारे छलफल गऱ्यौँ। अनि केही कुराहरूको पूर्वाभ्यास पनि गऱ्यौँ।” सबै कुरा तोकिएकै समयमा गर्ने प्रयास गर्नुहोस्। यसरी पाहुनाहरूको आदर गरेको देखाउन सकिन्छ।
पहिल्यै राम्रो तयारी गर्नुभएको छ भने विवाहको दिनमा तपाईँलाई अनावश्यक तनाव हुनेछैन (अनुच्छेद १८ हेर्नुहोस्)
१९. भोजमा सबै कुरा शिष्टतासाथ होस् भनेर तपाईँ के गर्न सक्नुहुन्छ?
१९ विवाहको दिन कस्ता समस्याहरू आइपर्न सक्छन् अनि के गर्न सकिन्छ भनेर पहिल्यै विचार गर्नु राम्रो हो। (हितो. २२:३) उदाहरणको लागि, तपाईँ बस्ने ठाउँमा निम्तो नपाएका व्यक्तिहरू विवाहमा आउनु सामान्य कुरा हो भने त्यस्तो हुन नदिन के गर्न सकिन्छ, पहिल्यै विचार गर्नुहोस्। सत्यमा नभएका आफन्तहरूलाई विवाहको दिन कस्ता कुराहरू गरिनेछ अनि विवाहसम्बन्धी विभिन्न रीतिथितिबारे तपाईँको धारणा के छ भनेर पहिल्यै बताउनुहोस्। भोजमा सबै कुरा व्यवस्थित होस् भनेर एक जना परिपक्व भाइलाई ‘भोजको प्रबन्धकको’ जिम्मेवारी दिनुहोस्। (युह. २:८) विवाहको दिन के-कस्ता कुराहरू गर्ने योजना छ भनेर तिनीसित स्पष्ट कुराकानी गर्नुहोस्। यसो गर्नुभयो भने सबै कुरा योजनाअनुसार अनि शिष्टतासाथ गर्न तिनलाई सजिलो हुनेछ।
२०. विवाह गर्न लागेको जोडीले कुन कुरा बिर्सनु हुँदैन?
२० विवाहको योजना बनाउँदा विभिन्न तयारी गर्नुपर्ने भएकोले तपाईँलाई एकदमै तनाव भइरहेको होला। तर नबिर्सनुहोस्, तपाईँको विवाह समारोह केवल एक दिनको कुरा हो। त्यो दिनबारे मात्र सोचेर धेरै तनाव नलिनुहोस्। बरु सँगै मिलेर कसरी जीवनभर यहोवाको सेवा गर्ने भन्ने कुरामा ध्यान दिनुहोस्। विवाहलाई साधारण अनि मर्यादित बनाउन सक्दो कोसिस गर्नुहोस्। यहोवामा भरोसा गर्नुहोस्। उहाँको मदत पाएर तपाईँले विवाह समारोह यादगार बनाउन सक्नुहुनेछ र त्यो दिन सबै कुरा राम्रोसित भएकोमा खुसी र सन्तुष्ट हुन सक्नुहुनेछ।—भज. ३७:३, ४.
गीत १०७ ईश्वरीय प्रेमको नमुना
a थप व्याख्या: थुप्रै देशमा विवाह गर्दा दुलहा र दुलहीले परमेश्वरसामु वाचा बाँध्ने चलन छ। कसै-कसैले भने विवाह वाचापछि भोजको पनि प्रबन्ध मिलाउँछन् तर कुनै-कुनै देशमा भने विवाह वाचा बाँध्ने वा भोज गर्ने चलन छैन। तैपनि विवाह गर्न लागेका जोडीले विवाहको दिनमा लागू हुने बाइबल सिद्धान्तहरू विचार गर्नु राम्रो हो।
b कानुनी रूपमा विवाह गर्नेबारे यहोवाका जनहरू कस्तो दृष्टिकोण राख्छन् भनी बुझ्न नोभेम्बर १, २००६ को प्रहरीधरहरा-मा भएको “परमेश्वर र मानिसको नजरमा आदरणीय विवाह” भन्ने लेख हेर्नुहोस्।
c jw.org मा जमघट आयोजना गर्दा रक्सी राखूँ कि नराखूँ? भन्ने भिडियो हेर्नुहोस्।