प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ५/१ pp. २४-२९
  • परमेश्‍वर मेरो शरणस्थान र बल हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वर मेरो शरणस्थान र बल हुनुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भविष्यको लागि बलियो बनाइएको
  • शत्रुहरूको जवाफ—जेल
  • लिक्टेनबर्गमा
  • राभेनस्ब्रूकमा
  • युद्धपछिका कष्टदायी वर्षहरू
  • फेरि प्रतिबन्ध र कैद
  • यहोवाबाट बल र मदत
  • यहोवा अझै मेरो शरणस्थान र बल हुनुहुन्छ
  • युवावस्थादेखि धैर्यपूर्वक यहोवामा भर पर्दै आएको
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवाको मायालु हेरचाहमा भरोसा गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • परमेश्‍वरको सेवा गर्ने भाकल कायम गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • राजनैतिक कार्यकर्ताबाट एक जना तटस्थ मसीही
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ५/१ pp. २४-२९

परमेश्‍वर मेरो शरणस्थान र बल हुनुहुन्छ

सार्लोट म्युलरको वृत्तान्तमा आधारित

“हिटलरको अधीनमा तपाईंले नौ वर्षसम्म भोग्नुभएको दुःखको हामी अवश्‍य तारिफ गर्छौं। तपाईं साँच्चै युद्धको विरुद्धमा हुनुहुन्थ्यो तर तपाईं अहिले हाम्रो शान्तिको विरुद्ध हुनुहुन्छ!” भनी कम्युनिष्ट न्यायाधीशले भने।

पहिला नाजीहरूले गरेको कैद र अहिले गणतन्त्र जर्मनीमा समाजवादीबाट पाउन लागेको कैद सजायबारे ती न्यायाधीशले भनिरहेका थिए। एकछिन त म अक्क न बक्क भएँ तर पछि यस्तो जवाफ दिएँ: “मसीहीहरू अरू मानिसहरूजस्तो यसरी साँचो शान्तिको लागि संघर्ष गर्दैनन्‌। मैले त परमेश्‍वर र आफ्नो छिमेकीलाई प्रेम गर भन्‍ने बाइबलको आज्ञा पालन गर्ने कोसिस गरिरहेकी मात्र हुँ। परमेश्‍वरको वचनले काम र वचन दुवैमा शान्ति कायम गर्न मलाई मदत गर्छ।”

त्यस दिन अर्थात्‌ सेप्टेम्बर ४, १९५१ मा मलाई कम्युनिष्टहरूले आठ वर्षको कैद सजाय सुनाए। यो नाजी शासनले दिएको भन्दा एक वर्ष कम थियो।

राष्ट्रिय समाजवादी र कम्युनिष्टहरूले हामी यहोवाका साक्षीहरूलाई सताउँदा मैले भजन ४६:१ पढेर सान्त्वना पाउँथें: “परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ, संकष्टमा अति सजिलैसँग पाइने सहायक।” यहोवाले मात्रै मलाई यस्तो सहने शक्‍ति दिनुभयो र जति उहाँको वचनलाई आफ्नो बनाएँ, त्यति नै म बलियो भएँ।

भविष्यको लागि बलियो बनाइएको

मेरो जन्म सन्‌ १९१२ मा जर्मनी, थुरिङगियाको गोता जिबलेबन शहरमा भएको थियो। मेरो आमाबाबु प्रोटेस्टेन्ट हुनु भए तापनि बुबा चाहिं बाइबल सत्य र न्यायी सरकारको खोजीमा हुनुहुन्थ्यो। “फोटो ड्रामा अफ क्रिएशन” हेर्नुभएपछि आमाबाबु दुवै रोमाञ्चित हुनुभयो।a बुबाले खोजिरहनुभएको कुरा भेट्टाउनुभयो। त्यो थियो, परमेश्‍वरको राज्य।

आमाबाबुलगायत हामी छ जना छोराछोरीले मार्च २, १९२३ मा चर्चबाट राजीनामा दियौं। हामी स्याक्सोनीस्थित केमनिट्‌समा बस्थ्यौं र त्यहाँ हामीले बाइबल स्टुडेन्ट्‌ससित संगत गऱ्‍यौं। (मेरो तीन जना भाइबहिनी यहोवाको साक्षी भए।)

बाइबल स्टुडेन्ट्‌सहरूको सभामा छलफल गरिने धर्मशास्त्रीय पदहरू तथा बहुमूल्य सत्यले ममा अमेट छाप पाऱ्‍यो र मेरो हृदय खुशीले गद्‌गद्‌ भयो। विशेषगरि, हामी ५० जनाभन्दा बढी मसीही युवाहरूलाई आइतबार निर्देशनहरू दिइन्थ्यो अनि केही समयको लागि मेरी दिदी केट र म पनि उपस्थित भयौं। हाम्रो समूहमा कोनरार्ड फ्रान्क भन्‍ने युवक पनि थिए र तिनले पैदल यात्राहरूको आयोजना गर्नुका साथै हामीसित गीतहरू गाउन अभ्यास पनि गर्थे। पछि, १९५५ देखि १९६९ सम्म भाइ फ्रान्कले वाच टावरको जर्मनी शाखामा अध्यक्षको हैसियतमा सेवा गरे।

सन्‌ १९२० को दशक एकदम गञ्जागोलको समय थियो र कहिलेकाहीं परमेश्‍वरका जनहरूलाई समेत यसले असर गऱ्‍यो। कोहीले प्रहरीधरहरा-लाई “ठीक ठीक समय[को] खाना[को]” रूपमा स्वीकार्न नै छोडे र कोही चाहिं घर-घर प्रचारकार्यको विरुद्ध उठे। (मत्ती २४:४५) यसले गर्दा धर्मत्याग सुरु भयो। यद्यपि, हामीलाई असाध्यै खाँचो परिरहेको बल अर्थात्‌ ‘खाना’ नै त्यही प्रहरीधरहरा भन्‍ने पत्रिकाले दियो। उदाहरणका लागि, प्रहरीधरहरा-मा “निर्भयीहरू धन्यका हुन्‌” (१९१९) र “कसले यहोवाको आदर गर्नेछ?” (१९२६) जस्ता लेखहरू प्रकाशित भएका थिए। साहसिलो कार्यद्वारा म यहोवाको आदर गर्न चाहन्थें, त्यसैले मैले भाइ रदरफोर्डका थुप्रै पुस्तक तथा पुस्तिकाहरू वितरण गरें।

मार्च १९३३ मा मैले यहोवाको साक्षीको रूपमा बप्तिस्मा लिएँ। त्यही वर्ष जर्मनीमा हाम्रो प्रचारकार्यमाथि प्रतिबन्ध लगाइयो। बप्तिस्माको दिन प्रकाश २:१० भावी सल्लाहको रूपमा दिइयो: “तिमीले कष्ट भोग्न लागेका कुराहरूसँग नडराऊ, हेर, तिमीहरू परीक्षामा पर भनेर शैतानले तिमीहरूमध्ये कुनै कुनैलाई कैदमा हाल्न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्ट हुनेछ। तिमी मृत्युसम्मै विश्‍वासी होऊ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।” मैले यस पदलाई हृदयंगम गरें किनभने भावी दिनहरूमा कस्ता कष्टहरू भोग्नुपर्छ भनी मैले चाल पाइसकेको थिएँ। त्यो सत्य साबित पनि भयो।

राजनीतिमा तटस्थ रहेको देखेर छिमेकीहरू हामीलाई शंकालु दृष्टिले हेर्थे। एउटा राजनैतिक चुनावपछि जंगीपोशाक लगाएका एक हूल नाजी सेनाहरू हाम्रो घरअगाडि आएर यसरी करायो, “देशद्रोहीहरू यहाँ बस्छन्‌!” यस्तो बेला प्रहरीधरहरा-को जर्मन संस्करण, डिसेम्बर १९३३ मा प्रकाशित “तिनीहरूसित नडराओ” भन्‍ने लेखले मलाई असाध्यै प्रोत्साहित गऱ्‍यो। कठिनभन्दा कठिन परिस्थितिमा पनि म यहोवाको विश्‍वासी साक्षी भएर रहन चाहन्थें।

शत्रुहरूको जवाफ—जेल

सन्‌ १९३५ को हेमन्त ऋतुसम्म केमनिट्‌समा लुकीछिपी प्रहरीधरहरा प्रकाशित गर्न मिल्थ्यो। त्यसपछि त्यो नक्कल प्रतिहरू निकाल्ने मेशिन ऊर पहाडको बियरफेल्टमा लग्नुपऱ्‍यो र त्यहाँ अगस्त १९३६ सम्म साहित्यहरू छापियो। बुबाले दिनुभएको ठेगानामा केट र मैले भाइहरूलाई पत्रिकाका प्रतिहरू वितरण गऱ्‍यौं। केही समयको लागि त कामकुरा राम्रै चल्दैथियो। तर गेस्तापोले मलाई निगरानीमा राख्न थालेछ र अगस्त १९३६ मा घरैबाट समातेर लगेर पुर्पक्षको लागि थुनामा राखे।

फेब्रुअरी १९३७ मा २५ जना भाइहरू र मसमेत दुइ बहिनीलाई स्याक्सोनीको विशेष अदालत लगियो। त्यहाँ यहोवाका साक्षीहरूको संगठनले सरकारलाई उल्टाउँछ भन्‍ने आरोप लगाइयो। प्रहरीधरहरा छाप्ने भाइहरूले पाँच वर्षको कैद सजाय पाए। मैले चाहिं दुइ वर्ष पाएँ।

मेरो कैद सजाय सिद्धिएपछि मलाई छोड्‌नुको साटो गेस्तापोले फेरि लगे। म अबदेखि यहोवाको सक्रिय साक्षी हुँदिन भन्‍ने कागजातमा तिनीहरूले मलाई दस्तखत गराउन खोजे। मैले सिधै दृढतासाथ इन्कार गर्दा त्यस अधिकारी यति क्रोधित भए कि मेचबाट जुरुक्क उठेर मलाई थुनामा हाल्न पक्राउ पुर्जी निकाले। त्यो पक्राउ पुर्जी तस्बिरमा देखाइएको छ। मेरो आमाबाबुलाई भेट्‌न नदिई मलाई तुरुन्तै एल्बे नदीसँगै पर्ने लिक्टेनबर्ग महिला यातना शिविरमा राखियो। त्यसको केही समयपछि मैले केटलाई भेटें। तिनी डिसेम्बर १९३६ देखि मोरिजेन यातना शिविरमा थिइन्‌ तर त्यो यातना शिविर बन्द भएकोले तिनीलगायत अन्य बहिनीहरू लिक्टेनबर्ग आए। मेरो बुबा पनि थुनामै हुनुहुन्थ्यो र मैले उहाँको १९४५ सम्म मुखै हेर्न पाइनँ।

लिक्टेनबर्गमा

मलाई तत्कालै अरू साक्षी बहिनीहरूसित भेट्‌न दिइएन किनभने ती बहिनीहरू पनि एउटा न एउटा अभियोगको कारण थुनामा परेका थिए। मैले एउटा हलमा कैदीहरूको दुइ समूह भएको याद गरें। एउटा समूह अक्सर टेबलमा बस्थ्यो भने, साक्षी बहिनीहरू चाहिं दिनभरि स्टुलमा बस्थे र खाना पनि केही दिइँदैन थियो।b

केटलाई भेट्‌ने आशामा म जस्तो पनि काम गर्न राजी हुन्थें। अनि हुन पनि ठीक त्यस्तै भयो। तिनी अर्को दुइ जना कैदीहरूसित काम गर्न गइरहेकी बेला बाटोमा हाम्रो ठ्याक्क भेट भयो। मेरो खुशीको कुनै सीमा रहेन। मैले तिनलाई अंकमाल गरें। तर महिला सुरक्षाकर्मीले हाम्रो यस भेटबारे रिपोर्ट गरिदिइहाल्यो। हामीलाई केरकार गरियो र त्यसपछि जानाजानी छुट्टै राखियो। त्यो असाध्यै कष्टदायी अनुभव थियो।

लिक्टेनबर्गमा भएको अर्को दुइटा घटना मलाई अझै झलझली याद छ। एउटा घटना हो, रेडियोमा हिटलरको भाषण सुन्‍न सबै कैदीहरूलाई चोकमा बोलाइयो। राष्ट्रिय उत्सवहरू पनि हुने भएकोले हामी यहोवाका साक्षीहरूले भेला हुन इन्कार गऱ्‍यौं। त्यसैकारण, सुरक्षाकर्मीहरूले हामी असहाय आइमाईहरूलाई चौथो तल्लादेखि तल चोकसम्म पानीको फोहराले लखेटे। अरू कतै जाने ठाउँ नभएकोले निथ्रुक्क भिज्दै हामी त्यहाँ उभियौं।

अर्को घटना हो, म, गर्ट्रुट ओमे र गर्टेल बर्लेनलाई हिटलरको जन्मदिनको लागि सेनापतिको मुख्यालय सजाउने आदेश दिइयो। स-सानो कुरामा सम्झौता गर्न लगाएर हाम्रो निष्ठालाई भंग गर्न खोज्ने शैतानको चाललाई बुझेर हामीले इन्कार गऱ्‍यौं। दण्डस्वरूप हामी तीनै जनाले तीन हप्ता सानो अँध्यारो कोठामा एक्लै बिताउनुपऱ्‍यो। तर यहोवाले हामीलाई कहिल्यै त्याग्नुभएन, त्यस्तो डरलाग्दो समयमा पनि उहाँ हाम्रो शरणस्थान साबित हुनुभयो।

राभेनस्ब्रूकमा

मे १९३९ मा लिक्टेनबर्गका कैदीहरूलाई राभेन्सब्रूक यातना शिविरमा सारियो। त्यहाँ केही अरू साक्षी बहिनीहरूलगायत मलाई लुगा धुने ठाउँमा खटाइयो। युद्ध सुरु भएको केही समयपश्‍चात्‌ हामीलाई स्वास्तिकको झण्डा जम्मा गर्न लगाइयो तर हामीले इन्कार गऱ्‍यौं। फलतः, मेल्खेन अर्नस्ट र मलाई दण्डस्वरूप कठोर श्रम शिविरमा लगियो। यो सबैभन्दा कठोर दण्ड थियो र यसको अर्थ हामीले जस्तोसुकै मौसममा पनि आइतबारसमेत दिनदिनै कडा बोझिलो काम गर्नुपर्थ्यो। साधारणतया, सबैभन्दा बढी सजाय नै तीन महिना लामो हुन्थ्यो तर हामीलाई चाहिं एक वर्षसम्म त्यहाँ राखियो। यहोवाको मदतबिना बाँच्नु त असम्भवै थियो।

सन्‌ १९४२ मा कैदीहरूको अवस्था केही हदसम्म सुध्रियो र मलाई एसएसको घरमा काम गर्न खटाइयो। त्यस परिवारले मलाई केही हदसम्म स्वतन्त्रता दियो। उदाहरणका लागि, एक चोटि केटाकेटीलाई बाहिर टहल्न लैजाँदा बैजनी त्रिकोण लगाएका दुइ कैदी योसेफ राभाल्ड र गोटफ्रेट मालहर्नलाई भेटें र तिनीहरूसित केही प्रोत्साहनजनक कुराहरू गरें।c

युद्धपछिका कष्टदायी वर्षहरू

सन्‌ १९४५ मा संयुक्‍त सेना नजीकै आइपुगेपछि त्यस एसएस परिवार भाग्यो र म पनि तिनीहरूसितै जानुपऱ्‍यो। अरू थुप्रै एसएस परिवारहरूसित हामी पश्‍चिमतिर लाग्यौं।

युद्धका अन्तिम केही दिनहरू एकदमै गोलमाल र डरले भरिपूर्ण थियो। आखिरमा हामीले केही अमेरिकी सैनिकहरू भेट्यौं र तिनीहरूले मलाई स्वतन्त्र मान्छेको रूपमा अर्को शहरमा जाने अनुमति दिए। मैले त्यहाँ कसलाई भेटें? योसेफ राभाल्ड र गोटफ्रेट मालहर्न। तिनीहरूले साकसेनहाउसेन यातना शिविरका सबै साक्षीहरू कष्टदायी घातक यात्रापछि स्वारिन पुगेका छन्‌ भनी थाह पाएछन्‌। त्यसैले हामी ७५ किलोमिटर जति टाढा त्यस शहरमा गयौं। स्वारिनमा यातना शिविरबाट बाँचेका ती सबै विश्‍वासी भाइहरूलाई भेट्‌नु कत्ति आनन्ददायी कुरा थियो। त्यसमा कोनरार्ड फ्रान्क पनि थिए।

डिसेम्बर १९४५ सम्म देशको अवस्थामा यतिसम्म उन्‍नति भइसकेको थियो कि म रेलबाट यात्रा गर्न सक्थें। त्यसैले म घरतिर लागें! तर यात्रा गर्दा कहिले रेलको छतमा त कहिले ढोकामा झुण्डेर समेत यात्रा गर्नुपऱ्‍यो। केमनिट्‌सको रेल स्टेशन पुगेपछि म आफ्नो घर गएँ। तर कुनै समय नाजी सेनाहरूले “देशद्रोहीहरू यहाँ बस्छन्‌!” भनी नारा लगाएको ठाउँमा त एउटा घर पनि थिएन। केही अस्तित्व नै नहुनेगरि बमले ध्वस्त गरेको रहेछ। तर खुशीको कुरा मैले बुबा, आमा, केट र मेरा भाइबहिनीहरूलाई जिउँदै भेट्टाएँ।

युद्धपछि जर्मनीको आर्थिक अवस्था वर्णनै गरी नसक्नु थियो। तर जे होस्‌, परमेश्‍वरका जनहरूको मण्डली जर्मनीभरि फस्टाउन थाल्यो। हामीलाई प्रचारकार्यका लागि सुसज्जित पार्न वाच टावर सोसाइटीले यथाशक्य प्रयास गऱ्‍यो। माग्गेडबर्गमा नाजीहरूले बन्द गरेको बेथेल कार्य पनि फेरि सुरु भयो। सन्‌ १९४६ को बसन्त ऋतुमा मलाई त्यहाँ काम गर्न बोलाइयो र भान्छाघरमा काम गर्न खटाइयो।

फेरि प्रतिबन्ध र कैद

माग्गेडबर्ग जर्मनीको त्यस क्षेत्रमा पर्छ जहाँ कम्युनिष्टहरूले नियन्त्रण गर्ने गर्थे। फलतः अगस्त ३१, १९५० मा तिनीहरूले हाम्रो काममा प्रतिबन्ध लगाए र माग्गेडबर्ग बेथेल बन्द गरे। अतः, मेरो बेथेल सेवाको अन्त भयो। त्यहाँ मैले अनमोल प्रशिक्षण पाएकी थिएँ। कम्युनिष्टहरूको शासनमा पनि सत्यलाई दृढतासाथ पक्रिराख्न र दुःखित मानिसजातिको एउटै मात्र आशा परमेश्‍वरको राज्य हो भनी घोषणा गर्ने दृढ निर्णय गर्न म केमनिट्‌स फर्कें।

अप्रिल १९५१ मा म एक जना भाइसित बर्लिनमा प्रहरीधरहरा-का प्रतिहरू लिन गएँ। फर्किंदा केमनिट्‌सको रेल स्टेशनलाई निजामती प्रहरीले घेरेर राखेको देख्दा हामी स्तब्ध भयौं। स्पष्टतः, तिनीहरू हामीलाई नै पर्खिरहेका थिए र त्यहीं हामीलाई गिरफ्तार गरे।

जेलबाट पुर्पक्षको लागि चलान गर्नुअघि नाजीहरूले मलाई निकै वर्ष थुनेको प्रमाणित गर्ने थुप्रै कागजातहरू मसित थियो। फलस्वरूप सुरक्षाकर्मीहरूले मलाई आदरका साथ व्यवहार गरे। मुख्य सुरक्षाकर्मी स्त्रीले यसो भनिन्‌: “तपाईं यहोवाका साक्षीहरू अपराधी होइन। तपाईंहरूलाई जेलमा बस्न सुहाउँदैन।”

अर्को दुइ जना बहिनीसित बसेको मेरो कोठामा एक चोटि तिनी आइन्‌ र सुटुक्क ओछ्यानमुनि केही हालि दिइन्‌। त्यो के थियो? तिनले हामीलाई आफ्नै बाइबल दिएकी थिइन्‌। अर्को घटनामा जेलबाट मेरो घर त्यति टाढा नभएकोले तिनी आमाबाबुलाई भेट्‌न जान्थिन्‌। तिनले प्रहरीधरहरा-का प्रतिहरू र केही खाना आफ्नै जीउमा लुकाएर ल्याउँथिन्‌ र मलाई दिन्थिन्‌।

मलाई सम्झन मन पर्ने अर्को एउटा कुरा पनि छ। आइतबार बिहान हामी कहिलेकाहीं ठूल-ठूलो स्वरले ईश्‍वरतान्त्रिक गीतहरू गाँउथ्यौं र अरू कैदीहरू पनि दंग पर्दै ताली बजाउँथे।

यहोवाबाट बल र मदत

सेप्टेम्बर ४, १९५१ मा मुद्दा चलिरहेको बेला न्यायाधीशले यस लेखका सुरुमा उल्लिखित टिप्पणी गरेका थिए। मैले भाल्टिहम, हाले र अन्तमा होनेकमा सजाय काटें। निम्न एक दुइटा घटनाहरूले हामी यहोवाका साक्षीहरूका लागि परमेश्‍वर कसरी शरणस्थान र बल हुनुभयो अनि उहाँको वचनले कसरी हामीलाई जुरमुरायो भनेर देखाउँछ।

भाल्टिहम जेलमा हामी सबै साक्षी बहिनीहरू मसीही सभाको लागि एउटा हलमा जम्मा हुन्थ्यौं। कलम र कागत ल्याउन पाइँदैनथियो तर केही बहिनीहरूले सानो टुक्रा कपडा भेट्टाएछन्‌ र तिनीहरूले त्यस वर्ष अर्थात्‌ १९५३ को वार्षिक पद लेखेर एउटा सानो ब्यानर बनाए। त्यस वर्षको पद थियो: “पवित्रतामा यहोवाको उपासना गर।”—भजन २९:२, अमेरिकन स्टान्डर्ड भर्सन.

एक सुरक्षाकर्मी स्त्रीले हामीलाई भेट्टाइन्‌ र तुरुन्तै रिपोर्ट गरि दिइन्‌। त्यस जेलको प्रमुख आएर दुइ जना बहिनीलाई त्यस ब्यानर माथि उठाउन भने। तिनले भने, “यो कसले बनाएको? यसको अर्थ के हो?”

एक जना बहिनी त्यसको पूरा दोष लिन चाहन्थिन्‌ तर तुरुन्तै हामी सबैले त्यसको दोष लिनुपर्छ भनी कानेखुशी गऱ्‍यौं। त्यसैले हामीले यस्तो जवाफ दियौं: “हाम्रो विश्‍वासलाई बलियो बनाउन हामीले त्यो बनाएको।” त्यस ब्यानर जफत गरियो र दण्डस्वरूप हामीलाई खाना दिइएन। तर बहिनीहरूले त्यस प्रमुखसित सवाल जवाफ भइञ्जेल त्यस ब्यानरलाई माथि उठाइ नै राखे ताकि त्यस प्रोत्साहनदायी पदले हामीलाई छाप पारोस्‌।

भाल्टिहममा स्त्रीहरूको जेल बन्द भएपछि हामीलाई हालेमा सारियो। त्यहाँ हामीले पोकाहरू पाउँथ्यौं र मेरो बुबाले जुत्तामा सिलाएर केही पठाइ दिनुभएको थियो, के थियो त्यो? प्रहरीधरहरा-का लेखहरू! ती लेखहरूका शीर्षक मलाई अझै पनि याद छ “साँचो प्रेम व्यवहारिक हुन्छ” र “झूटले जीवन गुमाउँछ।” यी तथा अन्य लेखहरू साँच्चै स्वादिष्ट पकवानहरूसरह थिए र हामीले लुकीछिपी आपसमा पासापास गर्दा प्रत्येकले आफ्नो लागि केही कुराहरू टिप्थे।

एक चोटि छापा मार्दा एक सुरक्षाकर्मीले परालको ओछ्यानमुनि लुकाइराखेको मेरो नोट भेटाइन्‌। पछि मलाई केरकार गर्न बोलाइन्‌ र तिनी “यहोवाको डर मान्‍नेहरूले १९५५ मा के आशा गर्नसक्छन्‌” भन्‍ने लेखको अर्थ जान्‍न चाहन्थिन्‌। तिनी कम्युनिष्ट थिइन्‌ र आफ्नो नेता स्तालिनको १९५३ मा भएको मृत्युका कारण असाध्यै चिन्तित थिइन्‌ र तिनलाई भविष्य अन्धकार भएजस्तो लाग्थ्यो। हाम्रो सन्दर्भमा चाहिं जेलमा हाम्रो अवस्थामा केही सुधार हुन लागेको रहेछ तर मलाई पत्तो थिएन। मैले तिनलाई यहोवाका साक्षीहरूको प्रत्याशा नै सर्वोत्तम हो भनी निर्धक्कतासाथ बताएँ। किन? मैले त्यस लेखको मुख्य पद भजन ११२:७ उद्धरण गरें: “त्यो नराम्रो खबरले डराउँदैन। परमप्रभुमा भरोसा गरेर त्यसको हृदय स्थिर रहन्छ।”

यहोवा अझै मेरो शरणस्थान र बल हुनुहुन्छ

सिकिस्त बिरामी भएपछि मलाई सजाय समयभन्दा दुइ वर्षअघि अर्थात्‌ मार्च १९५७ मा रिहा गरियो। यहोवाको सेवामा म अझै सक्रिय भएको कारण पूर्वी जर्मनीमा मलाई फेरि प्रहरीहरूले दबाब दिन थाले। तसर्थ, मे ६, १९५७ मा मौका पारेर म पूर्वी बर्लिनमा भागें र त्यहाँबाट पूर्वी जर्मनीमा गएँ।

पुनः स्वास्थ्यलाभ गर्न मलाई केही वर्ष लाग्यो। तर अहिलेसम्म मेरो आध्यात्मिक भोक हराएको छैन र प्रहरीधरहरा-को प्रत्येक नयाँ अंक पाउँदा खुशी हुन्छु। समय समयमा म आफूलाई जाँच्छु। के मेरो अझै आध्यात्मिक झुकाउ छ? के मैले असल गुनहरूको खेती गरेकी छु? विभिन्‍न परीक्षाबाट खारिएको मेरो विश्‍वासले के यहोवाको प्रशंसा र आदर गरेको छ? परमेश्‍वर सधैंभरि मेरो शरणस्थान र बल हुन सकून्‌ भन्दै सबै कुरामा उहाँलाई खुशी तुल्याउने लक्ष्य मैले राखेकी छु।

[फुटनोटहरू]

a “फोटो ड्रामा[मा]” स्लाइड र चल्ने तस्बिरहरू थिए र यसलाई १९१४ देखि वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका प्रतिनिधिहरूले व्यापक रूपमा प्रदर्शन गरे।

b मे १, १९४० मा बर्न, स्वीजरल्याण्डको वाच टावर सोसाइटीद्वारा प्रकाशित ट्रस्ट (कन्सोलेशन) पत्रिकाको पृष्ठ १० मा दिइएको विवरणअनुसार एउटा अवसरमा त लिक्टेनबर्गमा साक्षी बहिनीहरूले नाजी स्तुतिगान बजाइँदा सम्मान देखाउन इन्कार गरेकोले १४ दिनसम्म दिउँसोको भोजन नदिई राखियो। त्यहाँ यहोवाका तीन सय जना साक्षीहरू थिए।

c योसेफ राभाल्डको विवरण ब्युँझनुहोस्‌! (अंग्रेजी) फेब्रुअरी ८, १९९३, पृष्ठ २०-३ मा छापिएको थियो।

[पृष्ठ २६-मा भएको चित्र]

राभेन्सब्रूकमा एसएसको कार्यालय

[स्रोत]

माथि: Stiftung Brandenburgische Gedenkstätten

[पृष्ठ २६-मा भएको चित्र]

शिविरबाहिर काम गर्ने अनुमतिपत्र

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने