प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ७/८ pp. १९-२३
  • राजनैतिक कार्यकर्ताबाट एक जना तटस्थ मसीही

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राजनैतिक कार्यकर्ताबाट एक जना तटस्थ मसीही
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • लामो कैदी जीवन
  • केही समय स्वतन्त्र
  • न्यायाधिकरण सामु
  • साक्षी दिने थप अवसरहरू
  • परमेश्‍वरको मदतबारे सजग
  • आज आशिष्‌हरूको निम्ति कृतज्ञ
  • यहोवामा भरोसा गर्न सिकें
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • ख्रीष्टको सिपाहीको रूपमा धैर्य धारण गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • पचास वर्षभन्दा लामो समयसम्म ‘स्थानान्तरित’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • म कानुनविरोधी थिएँ
    ब्यूँझनुहोस्‌!—१९९६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ७/८ pp. १९-२३

राजनैतिक कार्यकर्ताबाट एक जना तटस्थ मसीही

लाडिसलाभ स्मेकेलको वृत्तान्तमा आधारित

मेरो सजायको सुनुवाइ भएपछि मलाई फेरि कोठरीमा लगियो। त्यसको लगत्तै मैले दुई तलामाथि भएको आफ्नो साथीलाई मोर्स कोडद्वारा टकटक गरेर सन्देश पठाएँ। मलाई कस्तो सजाय सुनाइयो भनी थाह पाउन तिनी पर्खिरहेका थिए।

“चौध वर्ष” भनी टकटक गरें।

तिनले पत्याउँदै पत्याएनन्‌। त्यसैले तिनले प्रश्‍न गरे: “चौध महिना?”

मैले जवाफ दिएँ, “होइन, चौध वर्ष।”

त्यो साल थियो, १९५३। ठाउँ थियो, चेकोस्लोभाकियाको (अहिले चेक गणतन्त्र) लिबेरेक। म त्यतिबेला १९ वर्षीय एक जना राजनैतिक कार्यकर्ता थिएँ र राजनैतिक परिवर्तन चाहन्थें। हामी कार्यकर्ताहरूले त्यस समय सत्तारूढ दल कम्युनिष्ट पार्टीको आलोचना गरिएको पर्चाहरू वितरण गरेर आफ्ना विचारहरू फैलायौं। हाम्रो गतिविधिलाई गम्भीर देशद्रोह ठानिन्थ्यो। मलाई लामो जेल सजाय दिनुको कारण पनि यही नै थियो।

मलाई सजाय सुनाउनुअघि नै मैले एक वर्ष हिरासतमा बिताइसकेको थिएँ। फैसला सुनाउनुअघि दुई जना कैदीलाई एउटा कोठामा हालिन्थ्यो र कहिलेकाहीं आँखामा पट्टी बाँधेर केरकार गर्नको लागि लगिन्थ्यो। कोठरीमा हुँदा हामीलाई कुरा गर्न दिइँदैनथ्यो। त्यसैले हामी खासखुस गरेर वा मोर्स कोडद्वारा टकटक गर्दै कुरा गर्थ्यौं।

केही समयपछि मैले झ्यालखानमा थुप्रै यहोवाका साक्षीहरू पनि छन्‌ भनी थाह पाएँ। हाम्रो झ्यालखानमा हरेक एक वा दुई महिनाभित्र कोठरीमा कैदीहरू परिवर्तन गर्ने चलन थियो। मलाई बाइबलमा चासो भएको कारण कोठरीमा एक जना साक्षीसँग बस्न पाउँदा म खुसी भएँ। केही समयमा मैले साक्षीहरूसित बाइबल अध्ययन गर्न थालें।

हामीसँग बाइबल वा बाइबल प्रकाशनहरू केही पनि थिएन। तैपनि हाम्रो छलफललाई तपाईं बाइबल अध्ययन नै भन्‍न सक्नुहुन्छ। साँच्चै भन्‍ने हो भने, मैले आफ्नो जीवनमा बाइबल कहिल्यै देखेको थिइनँ। तर हामी कुरा गर्थ्यौं, साक्षीले आफूले सम्झेका बाइबल विषयहरूबारे बताउँथे र मचाहिं तिनले भनेका कुराहरूको टिपोट लिन्थें। यी सबै हामीले सँगै बसेर कानेखुसी गरेर गर्थ्यौं।

हामीले पाउने कुरा भनेको ट्‌वाइलेट पेपर र कांगियो मात्र थियो। मैले ट्‌वाइलेट पेपरमा टिपोट लिन कांगियो चलाउँथें। हामीले छलफल गरेका थुप्रै शास्त्रपदहरू त मैले कण्ठस्थ नै गरें। मसँग अध्ययन गर्ने साक्षीहरूले मलाई राज्य गीतहरू पनि सिकाए। एक जना साक्षीले मलाई यसो भने: “तपाईं अहिले एक जना राजनैतिक कार्यकर्ता भएकोले झ्यालखानमा पर्नुभएको छ तर पछि तपाईं एक जना यहोवाको साक्षी भएकोले कैदमा पर्न सक्नुहुन्छ।”

अन्ततः असाध्यै लामो केरकारपछि मलाई सजाय सुनाइएको थियो र याकेमोफ भन्‍ने शहर नजिकै श्रम शिविरमा मलाई लगियो। तर त्यतिबेलासम्म म एक न एक दिन यहोवाको साक्षी हुनेछु भनेर विश्‍वस्त भइसकेको थिएँ।

लामो कैदी जीवन

युरेनियमखानी भएको शिविरमा पुग्ने बित्तिकै मैले साक्षीहरू खोज्न थालें। तर तिनीहरूलाई अन्तै लगिसकेको कुरा मैले थाह पाएँ। तथापि, एक जना साक्षीचाहिं भान्छे भएकोले त्यहीं रहेछन्‌। तिनले मलाई थुप्रै ठाउँहरूमा लुकाउँदै ल्याइएको एउटा एकदमै थोत्रो बाइबल पढ्‌नको लागि दिए। मलाई कण्ठस्थ भइसकेका शास्त्रपदहरू मैले बाइबलमा पढ्‌न सकें। पढ्‌दै जाँदा मैले थुप्रै पटक यसो भनें, ‘ओहो, यो त भाइहरूले सिकाएजस्तै ठ्याक्कै रहेछ।’

त्यसको एक महिना जति पछि मलाई पर्सेब्राम शहर नजिकै बिट्‌ज नाउँ गरेको शिविरमा सारियो। त्यहाँ मैले अरू साक्षीहरूलाई भेटें। बिट्‌समा हामीले लुकाइछिपाइ ल्याइएका बाइबल प्रकाशनहरू नियमित तवरमा पाउने गर्थ्यौं। शिविरका अधिकारीहरूले हामीले ती प्रकाशनहरू कसरी पाउँछौं भनी पत्ता लगाउन खोजे तापनि तिनीहरू कहिल्यै सफल भएनन्‌। त्यहाँ १४ जना भन्दा बढी कैदीहरू अरूलाई सक्रियता साथ साक्षी दिने कार्यमा भाग लिइरहेका थिए। तिनीहरूमध्ये आधाजति बप्तिस्माप्राप्त साक्षीहरू थिए भने, बाँकी मजस्ता व्यक्‍तिहरू थिए जसले झ्यालखानमै हुँदा साक्षीहरूको विश्‍वास ग्रहण गरेका थिए।

हामी थुप्रै जना पानीको बप्तिस्माद्वारा परमेश्‍वरप्रति आफ्नो समर्पण जनाउन चाहन्थ्यौं। तर पानीको अभाव वा खासै भन्‍ने हो भने, पानी राख्ने ठूलो भाँडो नभएकोले पानीमा डुबुल्की मार्नु सजिलो कार्य थिएन। त्यसकारण ती दिनहरूमा बप्तिस्मा लिनको निम्ति थुप्रैले रिहा हुने दिन नै कुर्नुपर्थ्यो। तथापि, बिट्‌ज शिविरमा खानीको कम्प्रेसर चिस्याउन अग्लो पानीको मुहानहरू थिए। ती अग्लो पानीको मुहानबाट आएको पानी जम्मा हुने ट्यांकमा १९५० दशकको बीचतिर हामीमध्ये केहीले बप्तिस्मा लियौं।

केही वर्षपछि मार्च १९६० मा राजनैतिक कैदीहरू हेर्ने जिम्मा पाएका प्रहरी निरीक्षकले मलाई बोलाए। मैले तिनलाई अन्य कैदीहरूको गतिविधिबारे बताएको खण्डमा मेरो जेल सजाय कम गर्न प्रबन्ध मिलाउने कुरा बताए। मैले त्यसो गर्न इन्कार गर्दा तिनले मलाई मनपरी गाली गर्न थाले। तिनी यसो भनेर कराए, “स्वतन्त्र भएर जीवन बिताउने मौका तिमीले गुमायौ। अब तिमी आजीवन यसै कारागारमा रहनेछौ। तिमी यहीं मर्नेछौ।” तथापि, दुई महिनापछि मलाई पनि लागू हुने आममाफीको घोषणा गरियो र कारावासमा जम्माजम्मी आठ वर्ष बिताएपछि म घर फर्कें।

केही समय स्वतन्त्र

अप्रिल १९४९ देखि चेकोस्लोभाकियामा यहोवाका साक्षीहरूको कार्यमा प्रतिबन्ध लगाइएको थियो। त्यसैले मैले चाँडै तथाकथित रूपमा स्वतन्त्र भएर परमेश्‍वरको सेवा गर्नु र बन्दी भएर सेवा गर्नुमा केही भिन्‍नता नभएको कुरा थाह पाएँ। मेरो रिहाइपछि मैले अर्को समस्याको सामना गर्नुपऱ्‍यो। त्यतिबेला त्यस देशका प्रत्येक पुरुषले दुई वर्ष सेनामा सेवा गर्नैपर्थ्यो।

राज्यसित सम्बन्धित केही खास कारोबारमा लाग्ने पुरुषहरूले मात्र सैन्य सेवाबाट छुट पाउँथ्यो। उदाहरणका लागि, कोइलाखानीमा काम गर्नेहरूले त्यस्तो छुट पाउँथे। मैले पहिला पनि खानीमा काम गरिसकेको हुनाले एउटा खानीमा काम पाएँ। त्यहाँ मलाई हार्दिक स्वागत गरियो। मलाई यस्तो भनियो, “सेनाबारे चिन्ता नगर्नू। तिमीलाई सैन्य सेवा गर्नु नपर्ने छुट दिलाउने प्रबन्ध हामी मिलाइदिनेछौं।”

दुई महिनापछि मैले सैन्य सेवामा भर्ती हुन आउनु भन्‍ने पत्र पाउँदा त्यहाँ प्रशासनमा काम गर्नेहरूले मलाई फेरि आश्‍वासन दिए। “चिन्ता नगर, त्यो गल्ती भएको हुनुपर्छ। हामी सेनालाई लेख्नेछौं र सब ठीक हुनेछ।” तर सबै कुरा ठीक थिएन। पछि, एक जना अफिसर मकहाँ आए र यसो भन्दै मसँग माफी मागे: “यस्तो भएको यो पहिलो चोटि हो तर अब तिमी सैन्य सेवाको लागि जानुपर्छ।” युद्धप्रतिको मेरो धार्मिक अडानको कारण मैले सेनामा भर्ती हुन इन्कार गरें र मलाई पक्रियो र सबैभन्दा नजिकैको सैनिक गणमा लगियो।—यशैया २:४.

न्यायाधिकरण सामु

जनवरी १९६१ मा मलाई क्लाडानो शहरमा कैदी बनाएपछि मलाई सेना बनाउन विभिन्‍न प्रयास गरियो। त्यहाँको सेना प्रमुखले एउटा सभाको आयोजना गरे। मलाई सभाकक्षमा लगियो जहाँ गोलो टेबुल र ठूलठूला छालाका मेचहरू थिए। अधिकारीहरू आउन थाले र टेबुल वरिपरि बसे। त्यहाँका प्रमुखले मलाई एक-एक गरी तिनीहरूसित परिचय गराए। त्यसपछि तिनी बसे र मलाई यसो भने: “अब हामीलाई तिम्रो विश्‍वासबारे बताऊ।”

तुरुन्तै एउटा छोटो प्रार्थना गरेपछि मैले एकदमै ध्यान दिएर सुनिरहेका श्रोतासित कुरा गर्न थालें। हाम्रो वार्तालाप चाँडै विकासवादतर्फ मोडियो र विकासवाद वैज्ञानिक तथ्य नै हो भन्‍ने दाबी गरियो। योभन्दा अघिको श्रम शिविरमा मैले एभुलुसन भर्सेज द न्यु वर्ल्डa भन्‍ने पुस्तिका पढेको थिएँ। त्यसैले मैले सैन्य अधिकारीहरू नै छक्क हुने गरी विकासवाद अप्रमाणित सिद्धान्त हो भन्‍ने प्रमाणहरू दिएँ।

त्यसपछि क्याथोलिक धर्ममा अलि ज्ञान भएको एक जना सेनानी बोले। तिनले प्रश्‍न गरे, “कुमारी मरियमबारे चाहिं तिमी कस्तो दृष्टिकोण राख्छौ नि? अनि पवित्र मास नि?” मैले तिनको प्रश्‍नको जवाफ दिएँ र त्यसपछि यसो भनें: “महोदय, मलाई तपाईं एक जना विश्‍वासी हुनुहुन्छ जस्तो लाग्छ किनभने तपाईंको प्रश्‍न अरूको भन्दा फरक छ।”

“होइन! होइन! अहँ, म विश्‍वासी होइन!” भनेर तिनले ठूलो स्वरमा विरोध जनाए। कम्युनिस्ट राज्यमा मसीही भनौंदाहरूले पटक्कै सम्मान वा जिम्मेवारी पाउँदैनथ्यो। त्यसैले त्यस प्रश्‍नोत्तरपछि उक्‍त अधिकारीले छलफलमा भाग लिएनन्‌। ती पुरुषहरूलाई यहोवाका साक्षीहरूको विश्‍वास बताउन पाएकोमा म धेरै कृतज्ञ भएँ।

साक्षी दिने थप अवसरहरू

केही दिनपछि मलाई प्रागस्थित सैनिक भवनमा लगियो र त्यहाँ गार्डहरूले मेरो निगरानी गरिरहेका थिए। मलाई निगरानी गर्न खटिएका सशस्त्र सिपाही मेरो निगरानीको निम्ति चालिएका विशेष कदमहरू देखेर छक्क परे। तिनले मलाई यसो भने, “हामीले व्यक्‍तिगत रूपमा कसैलाई पहरा दिनुपरेको यो पहिलो घटना हो।” त्यसपछि मैले तिनलाई म पक्राउमा परेको कारण बताएँ। तिनलाई मेरो कुरामा यस्तो चासो लाग्यो कि तिनले आफ्नो बन्दुक खुट्टाको बीचमा राखेर टुक्रुक्क बसेर सुने। दुई घण्टापछि अर्को सिपाही आयो र तिनले पनि त्यस्तै सोधे अनि बाइबल छलफल सुरु भयो।

त्यसपछिका दिनहरूमा मैले मेरो निगरानी गर्न खटिएका सिपाही तथा ती पहरेदारहरूले मलाई अनुमति दिंदा तिनीहरू र सँगी कैदीहरूलाई साक्षी दिने अवसर पाएँ। ती गार्डहरूले कोठरीको ढोकासमेत खोलिदिएर बाइबल छलफलको निम्ति भेला हुन दिए! केही समयपछि, मलाई गार्डहरूले अरू कैदीहरूसँग कुरा गर्न दिएको कुरा अरूलाई थाह भयो भने, यसको नराम्रो नतिजा होला भनेर मलाई चिन्ता लाग्यो। तर यी सम्पूर्ण कुरा गोप्य नै राखियो।

अन्ततः मेरो फैसला सुनुवाइको लागि मलाई अदालत लगिंदा मैले आफ्नो विश्‍वासबारे बताएका सबै मानिसहरूले प्रोत्साहन दिए। मैले माफी पाएको कारण सुरुको फैसलाअनुसार कैदमा नबिताएको छ वर्षमा थप दुई वर्ष थपियो। यसको मतलब मैले अझ आठ वर्ष कारावासमा बिताउनुपर्ने भयो।

परमेश्‍वरको मदतबारे सजग

चेकोस्लोभाकियामा एउटा शिविरबाट अर्को शिविर, एउटा झ्यालखानबाट अर्को झ्यालखानमा लगिंदा मैले परमेश्‍वरको मदत पाएको महसुस गरें। भालडेस्टे भन्‍ने ठाउँको झ्यालखानमा पुग्दा त्यहाँको प्रमुखले मलाई त्यहाँ पुग्नुको कारण सोधे। मैले जवाफमा यसो भनें, “मैले सैन्य सेवामा भाग लिन इन्कार गरेको थिएँ। युद्धमा भाग लिनु मेरो धार्मिक विश्‍वास विपरीत छ।”

तिनले सहानुभूतिशील हुँदै “सबैको त्यस्तै विचारधारा भएको भए साह्रै राम्रो हुनेथियो” भने। तर यसबारे एकछिन विचार गरेपछि तिनले यसो भने: “तर आज प्रायः मानिसले यस्तो विचार नराख्ने भएकोले हामीले तिमीलाई सजाय दिनुपर्छ र त्यो पनि कडा सजाय!”

मलाई सिसा काट्‌ने विभागमा पठाइयो र यही मेरो सजाय थियो। मैले एक जना यहोवाका साक्षीको हैसियतमा सैन्य सेवामा भाग लिन इन्कार गरेको भए तापनि मलाई अझै राजनैतिक कार्यकर्ताको रूपमा लिइन्थ्यो र अझ क्रूर सजाय दिइन्थ्यो। झाड र त्यस्तै अन्य महँगा चीजहरू बनाउन सिसा काट्‌ने काम एकदमै गाह्रो हुन्थ्यो किनभने त्यस्ता चीजहरूमा कुनै खोट हुनुहुँदैनथ्यो। साधारणतया कैदीले आफ्नो काम सिध्याएर दिएको भोलिपल्ट नै आधी त फेरि बनाउनको निम्ति पठाइन्थ्यो। त्यसकारण यो भने जस्तो मिलाउन साह्रै गाह्रो हुन्थ्यो।

सिसा काट्‌ने विभागमा म पहिलो चोटि जाँदा मैले विभाग प्रमुखलाई कुर्नुपऱ्‍यो। तिनी त्यहाँ पुग्ने बित्तिकै कैदीहरूलाई काम राम्रो भएन भनेर ठूलठूलो स्वरले गाली गर्न थाले। तिनी कैदीहरू हुँदो हिंड्‌दै गए र मकहाँ आएर यसो भने, “तिमी नि? काम नगरी के गरिरहेको?”

आफू यहाँ नयाँ कैदी भएको कुरा बताएँ। तिनले मलाई आफ्नो कार्यालयमा लगे र सधैं सोधिने त्यही प्रश्‍न म कारावासमा पर्नुको कारण सोधे। मैले कारण बताएपछि तिनले यसो भने, “त्यसो भए तिमी एक जना यहोवाको साक्षी, होइन त?”

“हो” मैले जवाफ दिएँ।

तिनको मनोवृत्ति परिवर्तन भयो। तिनले भने, “चिन्ता नगर। यहाँ थुप्रै यहोवाका साक्षीहरू छन्‌। हामी तिनीहरू सबैको आदर गर्छौं किनभने तिनीहरू मेहनती र राम्रा मानिसहरू हुन्‌। म तिमीले गर्न सक्ने काम मात्र दिन्छु।”

तिनको व्यवहार परिवर्तन भएको देखेर म एकदमै छक्क परें। म यहोवा र ती नचिनेका सँगी विश्‍वासीहरूप्रति कृतज्ञ छु जसको कारण त्यस झ्यालखानमा साक्षीहरूले राम्रो नाउँ कमाए। वास्तवमा भन्‍ने हो भने, मैले आफ्नो सम्पूर्ण कैदी जीवनमा यहोवाको मायालु मदत महसुस गरें।

परिस्थिति जस्तो गाह्रो भए तापनि मैले आखिरमा आफ्ना मसीही भाइहरूलाई भेट्‌छु भन्‍ने लाग्थ्यो। अनि मैले उहाँहरूको हँसिलो अनुहार देखेर उहाँहरूबाट प्रोत्साहन पाउनेछु। उहाँहरूविना कैदी जीवन बिताउन झन्‌ एकदमै गाह्रो हुनेथियो।

थुप्रै कैदीहरूको ध्यान आफूले पाएको नराम्रो व्यवहारको बदला लिने मै हुन्थ्यो। तर मैले कहिल्यै त्यस्तो विचार गरिनँ। मैले यहोवाको धार्मिक सिद्धान्तहरूप्रति आज्ञाकारी भएकोले दुःख पाएको हुँ भनेर बुझें। त्यसैले मैले झ्यालखानमा बिताएको हरेक दिनको निम्ति यहोवाले प्रमोदवनरूपी नयाँ संसारमा अनगिन्ती अद्‌भुत दिनहरू दिनुहुनेछ भनी मलाई थाह थियो।—भजन ३७:२९; २ पत्रुस ३:१३; प्रकाश २१:३, ४.

आज आशिष्‌हरूको निम्ति कृतज्ञ

मे १९६८ मा कारावासमा १५ वर्षभन्दा बढी बिताएपछि मलाई मुक्‍त गरियो। सुरुमा त मलाई मानिसहरूसित कुरा गर्न अप्ठ्यारो भयो जुन निकै वर्ष कैदी वा गार्डहरूको निगरानीमा जीवन बिताउनेहरूका लागि सामान्य कुरा थियो। तर चाँडै नै मेरा मसीही भाइहरूले मलाई प्रचारकार्यमा भाग लिन मदत गरे, जसमाथि अझ पनि प्रतिबन्ध लागेको थियो।

म झ्यालखानबाट छुटेको केही हप्तापछि मेरो भेट इभासँग भयो। परिवारको कठोर विरोधको बावजूद तिनी र तिनको दाइले साहससाथ करिब तीन वर्षअघि बाइबल सत्यको निम्ति अडान लिएका थिए। हामी चाँडै नै प्रचारकार्यमा भाग लिन थाल्यौं। अनि बाइबल साहित्यहरू उत्पादन गर्ने काम पनि गर्न थाल्यौं। यो गोप्य रूपमा लुकीछिपी गरिन्थ्यो। अनि नोभेम्बर १९६९ मा हामीले बिहे गऱ्‍यौं।

सन्‌ १९७० मा हाम्रो पहिलो बच्चा, यानाको जन्म भयो। केही समयपछि, यहोवाका साक्षीहरूको परिभ्रमण निरीक्षकको रूपमा सप्ताहन्तमा आध्यात्मिक प्रोत्साहन दिंदै मण्डलीहरूको सेवा गर्न थालें। यही काम गरिरहेको बेला १९७५ मा म पक्राउमा परें र फेरि झ्यालखानमा पठाइयो। तर यसपालि भने मैले केही महिना मात्र त्यहाँ बिताउनुपऱ्‍यो। सन्‌ १९७७ मा हाम्रो छोरो स्टिफनको जन्म भयो।

अन्ततः सेप्टेम्बर १, १९९३ मा चेक गणतन्त्रले यहोवाका साक्षीहरूलाई आधिकारिक रूपमा मान्यता दियो। त्यसको अर्को साल हाम्री छोरीको विवाह डालिबोर ड्राजान नाउँ गरेको मसीही प्राचीनसँग भयो। अनि सन्‌ १९९९ मा सेवकाई सेवक भइसकेका हाम्रा छोरा स्टिफनले पूर्ण-समय सेविका ब्लांकासित विवाह गरे। अहिले हामी सबै प्रागमा विभिन्‍न मण्डलीका सदस्यहरू भएका छौं। हामी सबै नयाँ संसारलाई पर्खिरहेका छौं र मचाहिं विशेष गरी झ्यालखानहरू नै नभएको समयको प्रतीक्षा गर्दैछु। (g02 6/22)

[फुटनोट]

a सन्‌ १९५० मा यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ २०-मा भएको चित्र]

बाइबल पदहरू नोट गर्न मैले कांगियो चलाउँथें

[पृष्ठ २१-मा भएको चित्र]

मलाई थुनिएको बिट्‌ज शिविर, पछि मैले यसै ठाउँमा बप्तिस्मा लिएँ

[पृष्ठ २३-मा भएको चित्र]

हाम्रो विवाहको दिन

[पृष्ठ २३-मा भएको चित्र]

बायाँपट्टि स्टिफन र ब्लांका अनि दायाँपट्टि याना र डालिबोरको साथमा इभा र म

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने