पाठकहरूका प्रश्नहरू
मत्ती २४:३४ मा प्रयोग गरिएको “पुस्ता[ बारे]” हालैको जानकारीले यस रीतिरिवाजको अन्तलाई अझ टाढा सार्छ भन्न सकिंदैन र?
पटक्कै सकिंदैन। त्यसको विपरीत, यसले हामीलाई अन्तको अझ बढी प्रतीक्षा गर्न मदत दिन्छ। तर कसरी?
वास्तवमा, नोभेम्बर १, १९९५ को प्रहरीधरहरा-ले बताएअनुसार, येशूले समकालीन दुष्ट मानिसहरूलाई “[यो] पुस्ता” भनी सम्बोधन गर्नुभयो। (मत्ती ११:७, १६-१९; १२:३९, ४५; १७:१४-१७; प्रेरित २:५, ६, १४, ४०) यो कुनै मितिदेखि सुरु हुने निश्चित समयावधि थिएन।
वास्तवमा, त्यही प्रहरीधरहरा-मा दिइएको “पाठकहरूका प्रश्नहरू[ले]” दुइटा मुख्य कुरामा यसरी ध्यान केन्द्रित गऱ्यो: “निश्चित संख्यामा वर्षहरूमा हुने कुनै शब्दलाई जस्तो मानिसको एक पुस्तालाई सीमित वर्ष भएको अवधि मान्न सकिंदैन,” र “मानिसको पुस्ता असीमित समयसम्म नभई तुलनात्मक रूपमा छोटो अवधिसम्म बाँच्छ।”
यसो विचार गऱ्यौं भने, हामी “पुस्ता” शब्दलाई प्रायजसो त्यस्तै अर्थमा प्रयोग गर्छौं, होइन त? उदाहरणका लागि, हामी यसो भन्नसक्छौं, ‘नेपोलियनको पुस्ताका सिपाहीहरूलाई हवाइजहाज र परमाणु बमबारे केही थाह थिएन।’ के हामीले यहाँ नेपोलियन जन्मिएकै वर्षमा जन्मिएका सिपाहीहरूलाई संकेत गरिरहेका हुन्छौं? वा तिनी मर्नुअघिका फ्रान्सेली सिपाहीहरू मात्र भन्ने बुझ्छौं? त्यसो पटक्कै होइन। अनि त्यसरी “पुस्ता” शब्द प्रयोग गरेर हामी केही निश्चित वर्षको समयावधिलाई पनि तोकिरहेका हुँदैनौं। तथापि, हामीले नेपोलियनको समयदेखि यता सयौं वर्षको अवधिलाई नभई तुलनात्मक रूपमा छोटो समयलाई संकेत गरिरहेका हुन्छौं।
येशूले जैतून डाँडामा भन्नुभएको भविष्यवाणीलाई पनि हामीले त्यसरी नै बुझ्नुपर्छ। त्यस भविष्यवाणीको विभिन्न पक्षहरूको पूर्तिले यस रीतिरिवाजको अन्त नजीकै छ भनेर प्रमाणित गर्छ। (मत्ती २४:३२, ३३) नबिर्सनुहोस्, प्रकाश १२:९, १० अनुसार सन् १९१४ मा परमेश्वरको स्वर्गीय सरकार स्थापना भएको छ अनि शैतान पृथ्वीमा फ्याँकिएको छ। प्रकाशको पुस्तकले अहिले शैतान असाध्यै क्रोधित छ पनि भन्छ। किन? किनभने त्यसले “आफ्नो अल्प समय थाह” पाएको छ।—प्रकाश १२:१२.
तसर्थ, नोभेम्बर १ को प्रहरीधरहरा-मा “जागा रहो!” भन्ने उपशीर्षक हुनु उपयुक्त थियो। त्यसमुनिको अनुच्छेदमा यसो भन्नु पनि उचितै थियो: ”हामीले घटनाहरूको ठीक समय जान्नु जरुरी छैन। दिन गन्नुको साटो हामी होशियार हुनुपर्छ, विश्वासलाई बलियो बनाउनुपर्छ र यहोवाको सेवामा व्यस्त हुनुपर्छ।” त्यसपछि येशूका निम्न शब्दहरू उद्धरण गरियो: ”होशियार रहो, जागा बस . . . किनकि त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ।. . . जागा रहो . . . जे म तिमीहरूलाई भन्दछु, त्यो म सबैलाई भन्दछु, ‘जागा रहो।’ ”—मर्कूस १३:३३, ३७.