के तपाईं पुनर्जन्ममा विश्वास गर्नुहुन्छ?
“यहाँ भारतमा हुँदा तिमीले मन पराएको पल्लो घरकी केटीलाई सम्झेका छौ?” संयुक्त राज्यको विश्वविद्यालयमा पढिरहेका छोरालाई मुकुन्दभाइले लेखे। “उनको बिहे हुँदैछ। तिमीलाई खबर दिनुपर्ने जस्तो लागेर मात्र लेखेको।”
बुबाले यो खबर छोरालाई किन दिएको? आखिरमा, वर्षौंअघि मुकुन्दभाइ आफैले नै त्यस किशोरावस्थाको मायाप्रीतिलाई कुनै शर्तबिना अन्त गरी दिएका थिए। यसबाहेक, तिनका छोरा विगत छ वर्षदेखि संयुक्त राज्यमा उच्च शिक्षा हासिल गरिरहेका थिए। यस दौडान त्यस केटीसित उसको कुनै सम्पर्क थिएन र मुकुन्दभाइलाई त्यो पनि थाह थियो।
तैपनि यत्तिको चासो किन? किनभने मुकुन्दभाइ पुनर्जन्म वा प्राणले चोला फेर्छ भनेर विश्वास गर्थे।a यदि केही गरी किशोरावस्थाको रोमान्स तिनीहरू पूर्वजुनीमा जीवनसाथी भएको कारण हो भने दुवैलाई विवाह गर्ने उमेर पुगिसकेर पनि छुट्टै राख्नु अनर्थ हुनेछ। त्यस केटी अरू कसैकी पत्नी हुनुअघि मुकुन्दभाइ आफ्नो छोरालाई जानकारी मात्र दिन चाहन्थे।
अर्को एउटा उदाहरण विचार गर्नुहोस्। भारत, मुम्बईमा चार वर्षीया एउटी केटी बारम्बार अस्पताल भर्ना हुनुपर्थ्यो। उनको मुटुको एउटा भल्भले राम्ररी काम गर्दैन थियो। उनका सम्पन्न आमाबाबुलाई छोरीले यसरी सास्ती खाइरहेको देखेर असह्य हुन्थ्यो। तर तिनीहरू यस्तो तर्क गर्थे: “के गर्ने? उनले पूर्वजुनीमा पाप गरेकोले त अहिले यस्तो सास्ती खाइरहेको होला नि।”
हिन्दू, बौद्धमार्गी, जैन, सिख तथा भारतबाट सुरु भएका अन्य थुप्रै धर्मावलम्बीहरूको जीवनमा पुनर्जन्मले ठूलो भूमिका खेल्छ। जीवनका अनुभवहरू, जस्तै मायाप्रीतिदेखि लिएर दुःखकष्ट भोग्नु सबै पूर्वजुनीको पापको परिणाम हो भन्ने गर्छन्।
पश्चिमी मुलुकका थुप्रै मानिसहरू पनि पुनर्जन्मको सिद्धान्तदेखि मोहित छन्। अमेरिकी अभिनेत्री, शर्ली म्याकलेन पनि पुनर्जन्ममा विश्वास भएको कुरा व्यक्त गर्छिन्। भ्यानकुभर, ब्रिटिश कोलम्बिया, क्यानाडाका लेखक लरेल फेलान पनि विगतका ५० वटा जीवनको स्मरण भएको दाबी गर्छन्। सि एन एन/यु यस ए टुडेको लागि सन् १९९४ मा गरिएको आमसर्वेक्षणअनुसार १,०१६ जना वयस्कहरूमध्ये २७० भन्दा धेरैले पुनर्जन्ममा विश्वास गरेको पाइयो। पुनर्जन्ममा विश्वास गर्नु नयाँ युग अभियानको एउटा भाग पनि हो। तर यसमा विश्वास गर्ने के आधार छ त?
पुनर्जन्ममा विश्वास गर्नेहरू भन्छन्, “पूर्वजुनीको सम्झना।” बैंककमा तीन वर्षीया रत्नालाई “आफ्नो पूर्वजुनीको सम्झना आउन थाल्यो र त्यसअनुसार तिनी धार्मिक झुकाउ भएकी व्यक्ति थिइन् र ६० वर्ष जतिको उमेरमा मरेकी थिइन्।” यस कुरालाई पुनर्जन्ममा विश्वास गर्ने थुप्रैले ठोस प्रमाणको रूपमा लिन थाले।
तथापि शंका उपशंकाहरू पनि थुप्रै छन्। पूर्वजुनीको सम्झना अन्य कारणहरूले पनि हुनसक्छन्।b हिन्दू धर्म: आत्मा मुक्तिको अर्थ नामक पुस्तकमा हिन्दू दर्शनशास्त्री निखिलानन्दले ‘मृत्युपछिका अनुभवहरूको तार्किक वर्णन गर्न सकिंदैन’ भने। तैपनि, तिनी यसो भन्छन्, “पुनर्जन्मको सिद्धान्त हुनै नसक्नेभन्दा हुनसक्ने सम्भावना धेरै छ।”
तर के बाइबलले यस शिक्षालाई समर्थन गर्छ त? अनि मृत जनहरूका निम्ति परमेश्वरको प्रेरित वचनले कस्तो आशा दिन्छ?
[फुटनोट]
a द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका-अनुसार “पुनर्जन्म” भनेको “प्राणले एक वा एकभन्दा बढी चोला फेर्नु हो र यो मानिस, जनावर वा कहिलेकाहीं बोटबिरुवाको रूपमा समेत हुनसक्छ।” “चोला फेर्नु” भन्ने पदावली यस प्रक्रिया वर्णन गर्न पनि प्रयोग गरिन्छ तर साधारणतया “पुनर्जन्म” बढी प्रचलित छ। विभिन्न भारतीय भाषाका शब्दकोशहरूमा यी दुवै पदावलीहरू उत्तिकै प्रयोग गरिन्छन्।
b ब्यूँझनुहोस्! (अंग्रेजी) जून ८, १९९४, पृष्ठ ५-७ हेर्नुहोस्।
[पृष्ठ ४-मा भएको चित्र]
पूर्वजुनीको पापको कारण तिनले दण्ड पाइरहेकी हुन् र?