मृत्युपछि जीवन—मानिसहरू के विश्वास गर्छन्?
“के मानिस मरेपछि ऊ फेरि जिउँछ?”—अय्यूब १४:१४, नयाँ संशोधित संस्करण।
१, २. आफ्नो प्रिय जनको मृत्यु हुँदा थुप्रैले कसरी सान्त्वना खोज्छन्?
न्यु योर्क शहरको एक अन्त्येष्टि घरमा १७ वर्षीय केटाको मुर्दाबाकस वरिपरि परिवारका सदस्यहरू तथा साथीहरू चुपचाप घुम्छन्। क्यान्सरले गर्दा तिनको मृत्यु भएको थियो। अत्यन्तै शोकाकुल भएकी आमा रुँदै बारम्बार यसो भन्छिन्: “टमी अहिले खुसी छन्। परमेश्वरले टमीलाई स्वर्गमा लग्नुभयो।” तिनलाई यस्तै विश्वास गर्न सिकाइएको छ।
२ झन्डै ११,००० किलोमिटर टाढा भारतको जामनगरमा तीन छोराहरूमध्ये जेठो आफ्नो मृत पिताको चितामा आगो हाल्छन्। बलिरहेको आगोको आवाज सँगसँगै पुरेतले संस्कृतमा मन्त्रहरू जप्छन्: “कहिल्यै नमर्ने आत्माले ब्रह्मलीन हुन प्रयास गर्दै गरोस्।”
३. युगौंदेखि मानिसले कस्ता प्रश्नहरूमाथि गौर गरेका छन्?
३ हामी सबैले आफू वरपर कोही न कोही मरेको देख्छौं। (रोमी ५:१२) त्यसकारण, के मृत्यु नै सबै कुराको अन्त हो त भनी प्रश्न उठ्नु स्वाभाविक हो। बोटबिरुवाको प्राकृतिक चक्रबारे सोच्दै यहोवा परमेश्वरका पुरातन विश्वासी दास अय्यूबले यस्तो टिप्पणी गरे: “रूखको लागि आशा हुन्छ: काटियो भने त्यो फेरि पलाउने आशा हुन्छ, र त्यसमा नयाँ पालुवा आउन थामिंदैन।” तर मानिसहरू नि? “के मानिस मरेपछि ऊ फेरि जिउँछ?” (अय्यूब १४:७, १४, नयाँ संशोधित संस्करण) युगौंदेखि हर समाजका मानिसहरूले यस विषयमाथि गौर गरेका छन्: के मृत्युपछि पनि जीवन छ? छ भने, कस्तो प्रकारको? फलस्वरूप, मानिसहरूले के विश्वास गर्दै आएका छन्? अनि किन?
जवाफ थुप्रै, कुरा एउटै
४. विभिन्न धर्मका मानिसहरूले मृत्युपछिको जीवनबारे के विश्वास गर्छन्?
४ थुप्रै मसीही भनौंदाहरू मृत्युपछि मानिस या त स्वर्ग वा नरक जान्छ भन्ने विश्वास गर्छन्। अर्कोतिर हिन्दूहरू पुनर्जन्ममा विश्वास गर्छन्। इस्लाम धर्मअनुसार मृत्युपछि कयामतको दिनमा अल्लाहले प्रत्येकको किस्मत निर्धारण गरेर जन्नत (स्वर्ग) वा डोजक (नरक) कहाँ पठाउने हो, निर्णय गर्छन्। कुनै कुनै मुलुकहरूमा मृतकसम्बन्धी विश्वासहरू स्थानीय संस्कार तथा नाउँ मात्रको मसीहीधर्मको अचम्मलाग्दो मिश्रणमा आधारित छन्। उदाहरणका लागि, श्रीलंकामा बौद्ध धर्मावलम्बी तथा क्याथोलिकहरू दुवै आफ्नो घरमा कसैको मृत्यु हुँदा ढोका तथा झ्यालहरू सबै खुल्ला राख्छन् र मुर्दाबाकसमा राखिएको लासको खुट्टा मूल ढोकातिर फर्काएर राख्छन्। तिनीहरूको विश्वासअनुसार यसो गर्दा मृत व्यक्तिको आत्मा निस्कन सजिलो हुन्छ। पश्चिम अफ्रिकाका अधिकांश क्याथोलिक तथा प्रोटेस्टेन्टहरूले घरमा कसैको मृत्युहुँदा अरू कोहीले पनि मृत व्यक्तिको आत्मा नदेखोस् भनेर ऐना छोप्ने गर्छन्। अनि ४० दिनपछि आत्मा स्वर्ग गएको उपलक्ष्यमा परिवारका सदस्य तथा साथीहरू मिलेर भोज खान्छन्।
५. अधिकांश धर्महरू सहमत हुने एउटा विश्वास के हो?
५ यी सबै भिन्नताको बावजूद, धेरैजसो धर्म एउटा आधारभूत कुरामा भने सहमत छन् जस्तो देखिन्छ। तिनीहरू सबै मानिसभित्र एउटा अमर तत्त्व छ र त्यो मानव शरीर मरिसकेपछि पनि निरन्तर जीवितै रहन्छ भन्ने विश्वास गर्छन्। मसीहीजगत्को झन्डै सयौं धर्म तथा पन्थहरू पनि मानिसभित्र अमर तत्त्व छ भन्ने विश्वासलाई समर्थन गर्छन्। यो विश्वास यहूदी धर्मको आधिकारिक सिद्धान्त पनि हो। हिन्दू धर्मको पुनर्जन्म-सम्बन्धी मूल शिक्षाको आधार पनि यही हो। मुसलमानहरू शरीर मरेपछि रूह जीवित रहन्छ भन्ने विश्वास गर्छन्। अष्ट्रेलियाली आदिबासी, अफ्रिकी अनध्यात्मवादी शिन्टो धर्मावलम्बीहरूलगायत बौद्धमार्गीहरूसमेत बेग्लाबेग्लै ढंगमा यही कुरा सिकाउँछन्।
६. केही शास्त्रज्ञहरू अमर आत्माबारे कस्तो धारणा व्यक्त गर्छन्?
६ अर्कोतिर, मृत्युपछि सचेत जीवनको अन्त हुन्छ भनेर विश्वास गर्नेहरू पनि छन्। हाम्रो भावनात्मक तथा बौद्धिक जीवन, शरीरदेखि अलग भएर भूतजस्तो रहस्यमयी रूपमा बाँचिरहन्छ भन्ने धारणालाई तिनीहरू पूर्णतया अतार्किक ठान्छन्। त्यस्तैगरि अमर आत्मामा विश्वास नगर्ने थुप्रै मानिसहरूमध्ये केही प्रख्यात व्यक्तिहरू प्राचीन समयका दार्शनिक अरस्तु तथा इपिक्युरी, चिकित्सक हिप्पोक्रेट्स, स्कटिस दार्शनिक डेबिड ह्युमे, अरबी शास्त्रज्ञ अभिरोयस तथा भारत स्वतन्त्र भएपछि पहिलो प्रधानमन्त्री हुने जवाहारलाल नेहरु हुन्।
७. अमर आत्माबारे कस्ता महत्त्वपूर्ण प्रश्नहरूको छलफल गर्नु नितान्त आवश्यक छ?
७ यस्ता विरोधाभास विचार तथा विश्वासहरू भएकोले हामीले यस्ता प्रश्नहरू गर्नुपर्छ: के हामीसित साँच्चै अमर आत्मा छ? यदि छैन भने यो झूटा शिक्षा आज यतिबिघ्न धर्महरूको एक अभिन्न अंग कसरी भयो? यस्तो धारणा कताबाट आयो? यी प्रश्नहरूको सत्य तथा सन्तोषदायी जवाफ पाउनु जरुरी छ किनभने हाम्रो भविष्य यसैमा निर्भर छ। (१ कोरिन्थी १५:१९) तर पहिला हामी अमर आत्माको शिक्षा कसरी सुरु भयो हेरौं।
यस शिक्षाको सुरुआत
८. अमर आत्माको धारणा प्रतिपादन गर्नुमा सुकरात र प्लातोले कस्तो भूमिका निर्वाह गरे?
८ मानिसभित्र अमर आत्मा हुन्छ भन्ने धारणाको प्रचारप्रसार गर्ने प्रथम व्यक्तिहरू, सा.यु.पू. पाँचौं शताब्दीका युनानी दार्शनिक सुकरात र प्लातो थिए। तर तिनीहरू यस शिक्षाका प्रारम्भक भने थिएनन्। सुकरात र प्लातोले युनानीहरूले वर्षौंदेखि मान्दै आएको शिक्षालाई काँटछाँट गरी एउटा दर्शनशास्त्रको रूपमा पेश गरेर तत्कालीन र वर्तमान समाजलाई समेत अझै आकर्षक तथा ग्राह्य बनाएका मात्र हुन्। साँच्चै भन्ने हो भने तिनीहरूभन्दा अघि पुरातन फारसका फारसी तथा मिश्रीहरू सबैले मानिसभित्र केही अमर तत्त्व छ भन्ने विश्वास गर्थे। अतः प्रश्न उठ्छ, यो शिक्षा कहाँबाट सुरु भयो?
९. मिश्र, फारस तथा युनानको पुरातन संस्कृतिलाई प्रभाव पार्ने एउटै स्रोत कुन थियो?
९ बेबिलोन तथा अश्शूरको धर्म पुस्तकले (अंग्रेजी) यसरी वर्णन गर्छ: “पुरातन समयमा मिश्र, फारस र युनानमाथि बेबिलोनी धर्मले ठूलो प्रभाव पारेको थियो।” मिश्रीहरूको धार्मिक विश्वासको सन्दर्भमा सोही पुस्तक यसो भन्छ: “एल-अमर्ना पाटीबाट थाह लागेअनुसार मिश्री तथा बेबिलोनीहरूबीचको सम्बन्धलाई विचार गर्ने हो भने स्पष्टतः बेबिलोनी धारणा तथा चलनहरूबाट मिश्री धर्महरू प्रभावित हुने सम्भावना धेरै थियो।”a पुराना फारसी तथा युनानी संस्कृतिबारे पनि त्यसै भन्न सकिन्छ।
१०. मृत्युपछिको जीवनबारे बेबिलोनीहरूको कस्तो धारणा थियो?
१० तर के पुरातन बेबिलोनीहरूले मानिसभित्र एउटा अमर तत्त्व छ भनेर विश्वास गर्थे त? यस विषयमा सं.रा.अ.-स्थित पेन्सलभानिया विश्वविद्यालयका प्राध्यापक मोरिस ज्यास्ट्रो जुनियर भन्छन्, “न [बेबिलोनका] मानिसहरूले नता धर्मगुरुहरूले नै जीवन पूर्णतया अन्त हुन्छ भनेर कहिल्यै विश्वास गरे। [तिनीहरूको विचारमा] मृत्यु केवल अर्को जीवनमा प्रवेश गर्ने बाटो थियो। यस जीवनमा अमरत्व प्राप्त हुन नसक्नुले मृत्युपछि जूनी फेर्छ भन्ने कुरालाई झन् निश्चित गराउँछ।” हो, बेबिलोनीहरू मृत्युपछि पनि जीवन कुनै न कुनै प्रकारले वा अवस्थामा कायमै रहन्छ भन्ने विश्वास गर्थे। यही विश्वासअनुसार तिनीहरू लाश गाड्दा मृत्युपछिको जीवनको निम्ति भनेर केही चीजबीजहरू पनि सँगै गाडिदिन्थे।
११, १२. जलप्रलयपछि कुन ठाउँबाट अमर आत्माको शिक्षा सुरु भयो?
११ स्पष्टतः मानिसभित्र एउटा अमर तत्त्व छ भन्ने शिक्षा पुरातन बाबेलबाट सुरु भएको हो। के यो कुरा उल्लेखनीय छ? अवश्य किनभने बाइबलअनुसार, बेबिलोन अर्थात् बाबेल शहर नूहका पनाति निम्रोदले स्थापित गरेका थिए। नूहको समयमा भएको विश्वव्यापी जलप्रलयपछि सबै मानिसहरूको एउटै भाषा, एउटै धर्म थियो। निम्रोद “परमप्रभुको दृष्टिमा शक्तिशाली शिकारी” हुनुका साथै तिनी र तिनका मानिसहरू “एउटा धरहरा बनाएर आफ्नो नाउँ राखौं” भन्ने चाहन्थे। अतः शहर बसालेर अनि एउटा धरहरा खडा गरेर निम्रोदले एउटा अर्कै धर्म सुरु गरे।—उत्पत्ति १०:१, ६, ८-१०; ११:१-४.
१२ भनिन्छ, निम्रोदको मृत्यु निकै रक्तपातका साथ भयो। निम्रोदको मृत्युपछि स्वाभाविकतः बाबेलका मानिसहरूले तिनलाई बाबेलका संस्थापक, निर्माता तथा प्रथम राजाको रूपमा असाध्यै सम्मान गर्न र पूज्न थाले। वास्तवमा, केही शास्त्रज्ञहरू बेबिलोनी देव मार्डुक (मेरोदाक) निम्रोद नै हुनसक्छन् भन्छन् किनकि मार्डुकलाई बाबेलका संस्थापक मानिन्छ र थुप्रै बेबिलोनी राजाहरू मार्डुक नाउँ राख्ने गर्थे। (२ राजा २५:२७; यशैया ३९:१; यर्मिया ५०:२) त्यसो हो भने, मानिस मरिसकेपछि पनि केही तत्त्व जीवितै रहन्छ भन्ने धारणा निम्रोदको जमानामै प्रचलित भइसकेको हुनुपर्छ। तर जे होस्, इतिहासका पन्नाहरू पल्टाएर हेर्दा अमर आत्माको शिक्षाको स्रोत बाबेल अर्थात् बेबिलोन नै हो भनी स्पष्ट हुन्छ।
१३. पृथ्वीभरि नै अमर आत्माको शिक्षा कसरी फैलियो र नतिजा कस्तो भयो?
१३ धरहरा निर्माण गर्न सुरिएकाहरूको भाषा गोलामाल गर्नुभएर परमेश्वरले तिनीहरूको योजनालाई विफल बनाइदिनुभयो भनी बाइबल भन्छ। एकअर्काको भाषा नबुझेपछि तिनीहरू निर्माण कार्य छोडेर “पृथ्वीभरि” तितरबितर भए। (उत्पत्ति ११:५-९) तर हामीले मनमा के कुरा राख्नुपर्छ भने, यी निर्माताहरूको भाषा गोलमाल भए तापनि तिनीहरूको सोचाइ तथा विचारहरू परिवर्तन भएको थिएन। फलतः आफूसँगसँगै तिनीहरूले आफ्ना धार्मिक विचारहरू पनि लगे। यसरी मानिसभित्र अमर आत्मा छ भन्ने विश्वासलगायत अन्य बेबिलोनी झूटा धार्मिक शिक्षाहरू पृथ्वीभरि फैलिनुका साथै यो संसारका मुख्य धर्महरूको आधार नै भयो। यसप्रकार झूटा धर्मको विश्व साम्राज्य खडा भयो जसलाई बाइबलमा “पृथ्वीका वेश्याहरू र घृणित कुराहरूकी आमा, महान् बेबिलोन” भनेर सही वर्णन गरेको छ।—प्रकाश १७:५.
झूटा धर्मको विश्व साम्राज्य पूर्वतिर फैलिन्छ
१४. भारतीय उपमहादेशमा कसरी बेबिलोनी धार्मिक विश्वासहरू फैलिए?
१४ केही इतिहासकार ३,५०० वर्षभन्दा अघि गहुँ गोरा आर्य जातिहरू उत्तर पश्चिमबाट हाल मुख्यतः पाकिस्तान तथा भारतमा अवस्थित सिन्धु उपत्यकामा बसाईं सरे भन्छन्। त्यहाँबाट तिनीहरू गंगा नदीको समतल भाग तथा सम्पूर्ण भारतमा फैलिए। केही विशेषज्ञहरूअनुसार त्यहाँ बसाईं सर्ने व्यक्तिहरूको धार्मिक विचार पुरातन इरानी तथा बेबिलोनी शिक्षाहरूमा आधारित थियो। अनि यी धार्मिक विचारहरू नै हिन्दू धर्मको मुख्य आधार भयो।
१५. वर्तमान हिन्दू धर्ममाथि अमर आत्माको धारणाले कसरी प्रभाव पार्न थाल्यो?
१५ भारतमा मानिसभित्र अमर तत्त्व छ भन्ने धारणालाई पुनर्जन्मको शिक्षाको रूपमा प्रस्तुत गरेको पाउँछौं। दुष्टता तथा मानव पीडाजस्ता विश्वव्यापी समस्याहरू देखेर ऋषिमुनिहरूले कर्मको नियम अर्थात् जे छरिन्छ त्यसकै कटनी गर्नेछ भन्ने शिक्षाको सुरुआत गरे। यो शिक्षालाई अमर आत्माको विश्वाससित गाँसेर तिनीहरूले पुनर्जन्मको शिक्षा विकास गरे र एउटा जूनीमा गरेको कामको आधारमा अर्को जुनीमा इनाम या दण्ड पाइन्छ भन्ने शिक्षाको विकास गरे। तत्पश्चात तिनीहरूले विश्वासीहरूको लक्ष्य मोक्ष प्राप्त गर्नु वा फेरि जन्मनुपर्ने चक्रबाट स्वतन्त्र हुनु र ब्रह्मलीन हुनु वा निर्वाण पाउनु भन्न थाले। शताब्दीऔंको दौडान, हिन्दू धर्म विस्तार हुँदा यो शिक्षा पनि फैलँदै गयो। शताब्दीऔंदेखि हिन्दू धर्मको सँगसँगै पुनर्जन्मको शिक्षा पनि फैलियो। यसरी वर्तमान हिन्दू धर्मको बलियो आधार नै पुनर्जन्मको शिक्षा हुन पुग्यो।
१६. पूर्व एसियाका अधिकांश मानिसहरूका धार्मिक सोचाई तथा प्रचलनहरूलाई मृत्युपछिको जीवनको विश्वासले कसरी असर गर्न थाल्यो?
१६ हिन्दू धर्मकै अन्य हाँगाहरू पनि निस्किए जस्तै बौद्ध, जैन तथा शिख धर्म। यी धर्महरूमा पनि पुनर्जन्ममा विश्वास गरिन्छ। बुद्ध धर्म चीन, कोरिया, जापान तथा पूर्वी एसियाका अधिकांश ठाउँहरूसम्म फैलिसकेपछि त्यस इलाकाका सभ्यता र धर्मलाई नै ठूलो असर गर्न थाल्यो। फलतः बौद्ध धर्मबाट तन्त्रमन्त्र तथा पितृ उपासना मिसिएका अन्य धर्महरू सुरु भए। यिनीहरूमध्ये सबैभन्दा प्रचलितचाहिं ताओवाद, कन्फुशियनवाद र शिन्टो धर्म हुन्। यसरी अधिकांश पूर्वेली धर्महरूमा मानिसको शरीर मरिसकेपछि पनि जीवन चलिरहन्छ भन्ने विश्वास एक अभिन्न अंग हुन पुग्यो।
मसीहीजगत्, यहूदी धर्म तथा इस्लाम धर्मबारे के भन्न सकिन्छ?
१७. पुरातन यहूदीहरू मृत्युपछिको जीवनबारे के विश्वास गर्थे?
१७ यहूदी तथा इस्लाम अनि मसीहीजगत्का धर्महरू मान्ने मानिसहरू चाहिं मृत्युपछिको जीवनबारे कस्तो धारणा राख्छन् नि? यी धर्महरूमध्ये यहूदी धर्म चाहिं धेरै पुरानो धर्म हो। यहूदी धर्म सुकरात र प्लातोले अमर आत्माको शिक्षा विस्तृत पार्नुभन्दा लगभग ४,००० वर्ष पहिले अब्राहामको समयमै स्थापित भइसकेको थियो। पुरातन समयका यहूदीहरू अन्तरनिहित अमरत्वमा होइन पुनरुत्थानमा विश्वास गर्थे। (मत्ती २२:३१, ३२; हिब्रू ११:१९) त्यसो भए, अमर आत्माको शिक्षा यहूदी धर्ममा कसरी घुस्यो त? यसको जवाफ इतिहासले दिन्छ।
१८, १९. यहूदी धर्ममा अमर आत्माको शिक्षा कसरी घुस्यो?
१८ सा.यु.पू. ३३२ मा महान् सिकन्दरले यरूशलेमलगायत मध्य पूर्वलाई जिते। सिकन्दरका उत्तराधिकारीहरूले युनानवाद विस्तार गर्दै लाँदा युनानी तथा यहूदी संस्कृति छ्यासमिस हुन थाले। समयको दौडान यहूदीहरू युनानी दर्शनमा पोख्त भए र कोही कोही त दार्शनिकसमेत भए।
१९ सा.यु. प्रथम शताब्दीका एलेक्सजान्ड्रियाका फिलो यस्ता युनानी दार्शनिक थिए। तिनी प्लातोको श्रद्धा गर्थे र तिनले यहूदी धर्मलाई युनानी दर्शनमा ढालेर व्याख्या गर्न खोजे। यसरी तिनले पछि पछिका चिन्तन मनन गर्ने यहूदीहरूको निम्ति बाटो तयार पारे। रब्बीहरूको मौखिक व्यवस्थाको ग्रन्थ अर्थात् ताल्मुदलाई पनि युनानी विचारधाराले प्रभाव पाऱ्यो। इन्साइक्लोपीडिया जुडाइका भन्छ, “ताल्मुदका रब्बीहरू मृत्युपछि पनि आत्मा बाँचिरहन्छ भनेर विश्वास गर्थे।” पछि कालाबाजस्ता यहूदी रहस्यमयी साहित्यले पुनर्जन्मको शिक्षासमेत सिकाउन थाल्यो। यसरी आत्मा अमर छ भन्ने धारणा अप्रत्यक्ष ढंगमा युनानी दर्शनहरूबाटै यहूदी धर्ममा पसेको हो। मसीहीजगत्ले यो शिक्षा कसरी अपनायो त्यसबारे चाहिं के भन्न सकिन्छ?
२०, २१. (क) प्लातो वा युनानी दर्शनहरूले प्रथम शताब्दीका मसीहीहरूलाई कस्तो प्रभाव पाऱ्यो? (ख) कसरी प्लातोका विचार तथा मसीही शिक्षाहरू छ्यासमिस भयो?
२० येशू ख्रीष्टले साँचो मसीही धर्म स्थापित गर्नुभएको थियो। येशूको सम्बन्धमा मिगेल डे उनामुनोले यस्तो लेखे: “उहाँ यहूदी रीतिअनुसार शरीरको पुनरुत्थान हुन्छ भनेर विश्वास गर्नुहुन्थ्यो, [युनानी] प्लातोको शिक्षाअनुसार आत्मा अमर छ भनेर होइन।” तिनी अन्तमा लेख्छन्: “आत्मा अमर छ भन्ने धारणा . . . गैरमसीही दार्शनिक सिद्धान्त हो।” त्यसैकारण प्रेरित पावलले प्रथम शताब्दीका मसीहीहरूलाई “मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला” भनी किन कडा चेताउनी दिए बुझ्नसक्छौं।—कलस्सी २:८.
२१ यो “गैरमसीही दार्शनिक सिद्धान्त” मसीहीजगत्मा कहिले र कसरी चालै नपाउने गरी घुस्यो त? द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका वर्णन गर्छ: “सा.यु. दोस्रो शताब्दीको बीचतिर युनानी दर्शनबारे केही ज्ञान हुने मसीहीहरूले आफ्नै बौद्धिक सन्तुष्टि तथा शिक्षित गैरमसीहीहरूको धर्म परिवर्तन गराउनका लागि आफ्ना धार्मिक विश्वासहरूलाई युनानी दर्शनमा ढाल्नुपर्ने आवश्यकता महसुस गरे। तिनीहरूलाई ठ्याक्कै सुहाउँदो लागेको दर्शन प्लातोको थियो।” मसीहीजगत्को शिक्षामा आमूल परिवर्तन ल्याउने त्यस्ता दुई प्रारम्भिक दार्शनिकहरू एलेक्स-
जान्ड्रियाका अर्जन र हिप्पोका अस्टिन थिए। यी दुवै प्लातोका विचारहरूदेखि निकै प्रभावित भएका थिए। फलतः यिनीहरू ती विचारहरू मसीही शिक्षामा मुछ्ने महत्त्वपूर्ण माध्यम भए।
२२. इस्लाम धर्ममा कसरी अमर आत्मा वा रूह-को शिक्षाले महत्त्वपूर्ण ठाउँ ओगटेको छ?
२२ यहूदीधर्म र मसीहीजगत्मा आत्मा अमर छ भन्ने धारणा प्लातोको प्रभावले गर्दा छाएको भए तापनि इस्लाम धर्ममा यो धारणा सुरुदेखि नै थियो। इस्लाम धर्मको पवित्र ग्रन्थ कुरानले मानिसको मृत्यु-
पछि पनि आत्मा (अरबी: रूह) जीवित रहिरहन्छ भनेर सिकाउँछ। आत्मा वा रूह-को नसीब स्वर्गलोकको बगैंचामा (जन्नत) वा बल्दो नरकको (डोजक) आगोमा हुन्छ भनेर त्यसले बताउँछ। त्यसो त अरबी शास्त्रज्ञहरूले इस्लाम धर्मको शिक्षा र युनानी दर्शन मिलाउनै नखोजेको चाहिं होइन। वास्तवमा अरबीहरू अरस्तुको कामबाट केही हदसम्म प्रभावित भएका थिए। तथापि मुसलमानहरूले पनि अमर आत्मा वा रूह-मा अझै विश्वास गर्छन्।
२३. मृत्युपछिको जीवनको सन्दर्भमा कस्तो जोडदार प्रश्नहरू अर्को लेखमा छलफल गरिनेछ?
२३ स्पष्टतया, मानिसभित्र यस्तो तत्त्व छ जुन कहिल्यै मर्दैन भन्ने शिक्षाको आधारमा संसारभरका धर्महरूले मृत्युपछि जीवनबारे थुप्रै धारणाहरू विकास गरेका छन्। हो, यस्ता विश्वासहरूले हामीलाई असर गरेको छ र अझ भन्ने हो भने अरबौं मानिसहरूलाई जकडेको छ। यी सबले गर्दा हामी यस्ता प्रश्नहरू सोध्न बाध्य हुन्छौं: मरेपछि के हुन्छ भनेर थाह पाउनु सम्भव छ र? के मृत्युपछि पनि जीवन छ? बाइबलले यसबारे के भन्छ? यो हामी अर्को लेखमा छलफल गर्नेछौं।
[फुटनोट]
a एल-अमर्ना मिश्री शहर आकेटानेनको भग्नावशेष रहेको थलो हो र त्यो शहर सा.यु.पू. १४ औं शताब्दी निर्माण गरिएको दाबी गरिन्छ।
के तपाईं बुझाउन सक्नुहुन्छ?
◻ मृत्युपछिको जीवनबारे अधिकांश धर्महरूको कुन एउटै विश्वास छ?
◻ अमर आत्मा शिक्षाको जन्मस्थल पुरातन बेबिलोन हो भनेर बाइबल तथा इतिहासले कसरी औंल्याउँछ?
◻ अमर आत्माबारे बेबिलोनी विश्वासले पूर्वेली धर्महरू कसरी प्रभावित भए?
◻ यहूदी धर्म, मसीहीजगत् तथा इस्लाम धर्ममा अमर आत्माको शिक्षा कसरी घुस्यो?
[पृष्ठ १२, १३-मा भएका चित्रहरू]
महान् सिकन्दरको जितपछि युनानी तथा यहूदी संस्कृति छ्यासमिस हुन थाल्यो
अगस्टिनले प्लातोका दर्शनहरू मसीहीधर्मसित मिसाउन खोजे
[स्रोत]
सिकन्दर: Musei Capitolini, Roma; अगस्टिन: Great Men and Famous Women पुस्तकबाट