ईश्वरको नाउँमा गोपनीयता
मार्च, सन् १९९५ मा जापान, टोकियोको सबवेमा विषालु ग्याँसद्वारा आक्रमण हुँदा १२ जनाले ज्यान गुमाए, त्यसको कारण हजारौंभन्दा धेरै बिरामी परे। तर यसबाट गोपनीयता पनि पर्दाफास भयो। अम शिन्रिक्यो (सर्वोच्च सत्य) नामक एउटा कुख्यात धार्मिक पन्थले रहस्यमय लक्ष्यहरू पूरा गर्न गोप्य रूपमा विषालु ग्याँसको शस्त्रगृह बनाएको थियो।
त्यस घटनाको एक महिनापछि संयुक्त राज्यको ओक्लाहोमा शहरस्थित सरकारी भवन बमले क्षतविक्षत पार्दा १६७ जनाको ज्यान गयो। प्रमाणअनुसार यो आक्रमण, जापानमा भएको उपरोक्त घटनाको ठीक दुइ वर्षअघि टेक्सास्को वाकोमा सरकारले ब्रान्च डेभिडियन नामक धार्मिक पन्थको प्रतिरोध गरेको घटनासित केही हदसम्म साँठगाँठ रहेको जस्तो देखियो। त्यतिबेला त्यस पन्थका लगभग ८० सदस्यहरू मारिएका थिए। त्यस बम विस्फोटनले अधिकांश मानिसलाई थाहै नभएको गोप्य कुरा उदांगो पाऱ्यो। त्यो हो: अहिले संयुक्त राज्यमा दर्जनौं अर्धसैनिक दल क्रियाशील भइरहेका छन् र यीमध्ये केहीलाई सरकारविरुद्ध षडयन्त्र रचेको आशंका गरिएको छ।
त्यसपछि, सन् १९९५ को सुरुतिर फ्रान्सको ग्रेनोबल नजीकै जंगल क्षेत्रमा १६ वटा डढेको लाश फेला परे। तिनीहरू सौर्य मन्दिर समूह नामक सानुतिनु धार्मिक पन्थका सदस्यहरू थिए। अक्टोबर, १९९४ मा स्वीटजरलैण्ड र क्यानाडाको समाचारमा यसबारे चर्चा गरिएको थियो, जतिबेला यसका ५३ जना सदस्यहरूले आत्महत्या गरेका थिए या तिनीहरूको हत्या गरिएको थियो। तर यस दुःखान्त घटनापछि पनि यो पन्थ क्रियाशील नै थियो। अहिलेसम्म यो गिरोह उत्थान हुनुको कारण र यसका लक्ष्यहरू गोप्य नै छन्।
धार्मिक गोपनीयताका खतराहरू
यस्ता घटनाहरू विचार गर्दा, थुप्रै मानिसहरूले धार्मिक समूहहरूको क्रियाकलापप्रति शंकालु दृष्टि राखेकोमा अचम्म मान्नुपर्ने केही कुरा छ र? निस्सन्देह, कुनै मानिसको भरोसालाई दुरुपयोग गर्ने र तिनलाई मन नपरेको कार्य गर्न लगाउने धार्मिक वा गैरधार्मिक कुनै पनि गोप्य संस्थालाई कसैले पनि समर्थन गर्न चाहँदैन। यद्यपि, शंकास्पद कामकुरो गर्ने गोप्य संस्थाहरूको फन्दामा नफस्न मानिसहरूले के गर्नसक्छन्?
स्पष्टतया, गोप्य संस्थाको सदस्य हुन चाहनेहरूले यसका वास्तविक उद्देश्यहरू निधो गर्नु बुद्धिमानी हुनेछ। त्यसो गर्दा साथीभाइ वा चिनजान व्यक्तिहरूको दबाब हुनुहुँदैन। यो निर्णय भावनामा बहेर होइन तर सत्य कुरामा आधारित हुनुपर्छ। स्मरण रहोस्, सम्भवतः अरूले होइन तर जसले निर्णय गर्छ उसैले सम्भाव्य परिणामहरू भोग्नुपर्नेछ।
अनुचित मनसाय राखेका खतरनाक समूहहरूदेखि जोगिने सबैभन्दा सहज तरिका बाइबल सिद्धान्तहरू पालन गर्नु हो। (यशैया ३०:२) यसो गर्नुमा राजनीतिबारे निष्पक्ष रहनु, अरू र शत्रुलाई समेत प्रेम गर्नु, “शरीरका कामहरू” त्याग्नु र परमेश्वरको आत्माको फल फलाउनु समावेश छ। यसको अलावा, साँचो मसीहीहरू पनि येशूजस्तै यस संसारको भाग हुनु हुँदैन। यसो गर्दा तिनीहरू संसारका गोप्य संस्थाहरूमा मुछिनबाट जोगिन्छन्।—गलाती ५:१९-२३; यूहन्ना १८:३६; यूहन्ना १७:१४, १६; १८:३६; रोमी १२:१७-२१; याकूब ४:४.
यहोवाका साक्षीहरू बाइबलका साँचो विद्यार्थी हुन्। तिनीहरू आफ्नो विश्वासलाई गम्भीरतापूर्वक लिन्छन् र धक नमानी त्यसैअनुरूप जीवन व्यतित गर्ने कोसिस गर्छन्। ‘शान्ति खोजिरहने’ धार्मिक समूहको रूपमा तिनीहरू विश्वभरि परिचित छन्। (१ पत्रुस ३:११) तिनीहरूको पुस्तक यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरू-ले (अंग्रेजी) यसरी ठीकसित बताउँछ: “यहोवाका साक्षीहरू गोप्य संगठन होइनन्। सबै मानिसहरूका लागि उपलब्ध प्रकाशनहरूमा तिनीहरूको बाइबल आधारित विश्वासहरू व्याख्या गरिएका छन्। त्यसबाहेक, तिनीहरूले जनसाधारणलाई सभाहरूमा बोलाउने विशेष प्रयास गर्छन् ताकि ती जनसाधारणले त्यहाँ हुने कुराहरू हेरुन् र सुनून्।”
साँचो धर्मले कुनै पनि कुरा गोप्य राख्दै राख्दैन। साँचो परमेश्वरका उपासकहरूले आफ्नो परिचय नलुकाउन र यहोवाका साक्षीहरूको हैसियतमा आफ्नो संगठनको उद्देश्य गोप्य नराख्ने शिक्षा पाएका छन्। येशूका प्रारम्भिक चेलाहरूले यरूशलेमभरि शिक्षा दिए। तिनीहरूले खुल्लमखुल्ला आफ्नो विश्वास प्रचार गर्नुका साथै क्रियाकलाप गरे। आज यहोवाका साक्षीहरू पनि त्यसै गर्छन्। हो, तानाशाही शासनले गलत धारणा राखेर मसीहीहरूको उपासनामा प्रतिबन्ध लगाउँदा तिनीहरू “मानिसहरूको भन्दा परमेश्वरको आज्ञा” मान्दै आफ्नो क्रियाकलाप सुचारु रूपले गर्न चनाखो र साहसी हुनैपर्छ। साहसपूर्वक जनसाक्षी दिंदाखेरि तिनीहरूले यस्तो स्थिति भोग्नुपर्ने हुन्छ।—प्रेरित ५:२७-२९; ८:१; १२:१-१४; मत्ती १०:१६, २६, २७.
कतै तपाईंले यहोवाका साक्षीहरू गोप्य पन्थ वा सम्प्रदाय हुनसक्छन् भनेर सोच्नुभएको छ भने, पक्कै पनि तपाईंलाई तिनीहरूबारे राम्ररी थाह छैन। प्रथम शताब्दीमा पनि थुप्रै मानिसहरूको स्थिति त्यस्तै भएको हुनुपर्छ।
प्रेरित अध्याय २८ ले हामीलाई रोममा प्रेरित पावलले “मुख्य मुख्य मानिसहरूसित” सभा गरेको विवरण दिन्छ। ती मानिसहरूले तिनलाई भने: “यस पन्थको विषयमा ता हामीलाई यति थाह छ, कि जताततै मानिसहरू यसको विरुद्ध मात्रै बोल्दछन्।” (प्रेरित १६-२२) त्यसको जवाफमा पावलले “परमेश्वरको राज्यको अर्थ लगाउँदै प्रष्ट गरी बताए।” र “कतिले सो बोलेका कुरा विश्वास गरे।” (प्रेरित २८:२३, २४) निस्सन्देह, तिनीहरूले साँचो मसीहीधर्मसम्बन्धी सत्य थाह पाउँदा चिरकालीन लाभ पाउनेथिए।
यहोवाका साक्षीहरू परमेश्वरको सेवा गर्न समर्पित भएका छन् र सत्य जान्न चाहने कुनै पनि व्यक्तिलाई आफ्नो क्रियाकलाप र विश्वाससम्बन्धी सत्य प्रकट गर्न तिनीहरू खुशी हुनेछन्। त्यसैकारण, तपाईंले तिनीहरूको विश्वासबारे सही जानकारी पाउनुभएको छ कि छैन, आफूलाई किन नजाँच्ने र?
[पृष्ठ ६-मा भएको चित्र]
यहोवाका साक्षीहरू आफू को हुन् र के गर्दैछन् भनेर बताउनु पाउँदा रमाउछन्