प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ६/१ pp. १९-२३
  • यहोवा वफादार हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा वफादार हुनुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उद्देश्‍यरहित प्रारम्भिक जीवन
  • नयाँ प्रकारको वफादारी निर्वाह गरें
  • बेलाइतमा पूर्ण-समय सेवकाई
  • अफ्रिकामा विस्तृत सेवकाई
  • फेरि अफ्रिकामा
  • अर्कै परिस्थितिबीच बेलाइतमा
  • मिसनरी कार्यको लागि खटाइएको देश नै हाम्रो घर भयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • हाम्रो विश्‍वव्यापी भ्रातृत्वद्वारा बलियो पारिएको
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवाले मैले आशा गरेभन्दा कता हो कता धेरै आशिष्‌ दिनुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • विश्‍वव्यापी ईश्‍वरीय शिक्षा बढाउने काममा मेरो सहभागिता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ६/१ pp. १९-२३

यहोवा वफादार हुनुहुन्छ

पीटर पाल्सरको वृत्तान्तमा आधारित

डिसेम्बर १९८५, नाइरोबी, केन्याको अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लंदा हामी हर्षविभोर थियौं। शहरभित्र पसेपछि चिरपरिचित दृश्‍य तथा आवाजहरूले गर्दा बितेका कुराहरू आँखाअगाडि नाच्न थाले।

हामी यहोवाका साक्षीहरूको “समग्रता पालकहरू” जिल्ला अधिवेशनका लागि केन्या आएका थियौं। प्रचार कार्यमा प्रतिबन्ध लगाइएकोले बाह्र वर्षअघि मेरी पत्नी र म केन्या छोड्‌न बाध्य भएका थियौं। हामी त्यहाँ छँदा बेथेलमा बस्थ्यौं। यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई बेथेल भनिन्छ। फेरि त्यहाँ पुग्दा त हामी छक्कै पऱ्‍यौं!

बेथेलमा दिउँसोको खाना तयार पार्न मदत गर्ने जवान साक्षी त हामीले ऊ दुइ वर्षको छँदादेखि चिनेकी युवती पो रहिछे। बेथेल परिवारका कम्तीमा पनि छ सदस्यहरूलाई हामीले केटाकेटी छँदादेखि नै चिनेका थियौं। तिनीहरू हुर्केर आ-आफ्नो परिवारसित सेवकाईमा जोसिलो भएको देख्दा हामी निकै आनन्दित थियौं! बाइबलमा “भक्‍तसँग तपाईं भक्‍त देखा पर्नुहुन्छ” भनेझैं यहोवाले तिनीहरूसित व्यवहार गर्नुभएको छ। (२ शमूएल २२:२६) यी जवानहरूले बिताइरहेको इनामदायी जीवन र मेरो युवावस्थाबीच कति भिन्‍नता थियो!

उद्देश्‍यरहित प्रारम्भिक जीवन

म अगस्त १४, १९१८ मा बेलाइतको स्कारबरोमा जन्मेको थिएँ। दुइ वर्षपछि मेरी आमा र सौतेनी दिदी क्यानाडामा बसाइँ सर्नुभयो। त्यसपछि म तीन वर्षसम्म बुबा, हजुरआमा र फुपूसित रहें। म पाँच वर्ष भइसकेपछि आमाले मलाई बुबासित छुटाएर सुटुक्क मोन्ट्रेल, क्यानाडा लानुभयो। चार वर्षपछि उहाँले मलाई बुबासित बस्न र स्कूल जान बेलाइत फर्काइदिनुभयो।

मेरी आमा र दिदीले मलाई छ/छ महिनामा चिठी लेखिरहनुहुन्थ्यो। चिठीको अन्तमा उहाँहरू म असल नागरिक होस्‌ र राजा तथा देशप्रति वफादार रहोस्‌ भन्‍ने इच्छा व्यक्‍त गर्नुहुन्थ्यो। तर मलाई देशभक्‍ति र युद्ध दुवै गलत लाग्थ्यो अनि म त्यही लेख्थें। शायद मेरो यस्तो जवाफ पढेर उहाँहरूलाई दिक्कलाग्दो हो। किशोरावस्थामा सही निर्देशन नपाएकोले म लक्ष्यविहीन थिएँ।

त्यसपछि दोस्रो विश्‍वयुद्ध सुरु हुनुभन्दा छ हप्ताअघि अर्थात्‌ जुलाई १९३९ मा म बेलाइती सेनामा भर्ती गराइएँ। त्यतिबेला म २० वर्ष मात्र पुगेको थिएँ। केही समयमै हाम्रो गणलाई उत्तरी फ्रान्समा खटाइयो। जर्मन वायुयानले आक्रमण गर्दा हामी जवानहरू आ-आफ्नो बन्दुक तिनीहरूतिर तेर्साएर गोली हान्थ्यौं। हामी त्रसित थियौं। जर्मन सिपाहीहरूअघि बढिरहेकोले हामी पछि हट्‌न थाल्यौं। जून १९४० को पहिलो हप्तामा डन्क्रक छोडेर भाग्नेहरूमध्ये म पनि थिएँ। समुद्री तटमा सेनाहरूको छरपस्ट लासको थुप्रो सम्झँदा अहिले पनि मेरो आङ सिरिङ हुन्छ। त्यो त्रासपूर्ण परिस्थितिबाट सकुशल उम्केर मालवाहक पानी जहाजबाट म पूर्वी बेलाइतको हारविच पुगें।

लगत्तै अर्को वर्ष मार्च १९४१ मा मलाई भारततिर खटाइयो। त्यहाँ मैले हवाईजहाजको मिस्त्रीको तालिम लिएँ। सरुवा रोग लागेर अस्पताल भर्ना भएको केही समयपछि म भारतको राजधानी दिल्लीस्थित सैनिक अस्पतालमा सारिएँ। घरबाट टाढा र त्यो पनि बिरामी अवस्थामा परेकोले म भविष्यबारे सोच्न थालें। त्यसमा पनि अझ विशेषगरि मरेपछि के हुन्छ होला भनेर सोच्न थालें।

नयाँ प्रकारको वफादारी निर्वाह गरें

दिल्लीमा मसित बस्ने बेलाइती साथी बर्ट गाल थियो। एकदिन उसले “धर्म दियाबलको उपज हो” भन्यो र यो सुनेर मलाई धर्मबारे जान्‍ने इच्छा जाग्यो। उसकी श्रीमती यहोवाकी साक्षी रहिछिन्‌ र समय समयमा उसलाई बाइबलआधारित प्रकाशनहरू पठाउँदी रहिछिन्‌। ती प्रकाशनहरूमध्ये एउटा सानो पुस्तिका आशा-प्रति (अंग्रेजी) मेरो ध्यान गयो। त्यो पुस्तिकामा पुनरुत्थानको आशाबारे छलफल गरिएको थियो र त्यो पढिसकेपछि मेरो मन निकै शान्त भयो।

हामीसितै छाउनीमा काम गर्ने टेडी ग्रुबर्ट नाउँ गरेका एक एंग्लो-इण्डियनसित १९४३ को सुरुतिर बर्टको कुराकानी भयो। तिनी यहोवाका साक्षी हुन्‌ भनेर थाह पाउँदा त हामी तीन छक पऱ्‍यौं। सन्‌ १९४१ तिर यहोवाका साक्षीहरूको प्रकाशनहरूमा प्रतिबन्ध लगाइएको भए तापनि दिल्लीस्थित साक्षीहरूले सञ्चालन गरेको सभामा तिनले हामीलाई लगे। जीवनमा पहिलो पटक मैले त्यो सानो मण्डलीमा साँचो मित्रताको न्यानोपन महसुस गरें। ग्रीसबाट आएका एक वृद्ध प्राचीन बेसिल साटोस्‌ले मप्रति व्यक्‍तिगत चासो लिए र मेरा प्रश्‍नहरूको जवाफ दिए। उनले हामी किन बूढो हुन्छौं, किन मर्छौं, पुनरुत्थान के हो र परमेश्‍वरको नयाँ धार्मिक संसारबारे मलाई बाइबलबाट सुस्पष्ट जवाफ दिए।—प्रेरित २४:१५; रोमी ५:१२; २ पत्रुस ३:१३; प्रकाश २१:३, ४.

सन्‌ १९४२ मा प्रकाशित भएको सानो पुस्तिका शान्ति—के यो रहिरहन्छ?-ले (अंग्रेजी) विशेषगरि मेरो ध्यान खिच्यो। त्यस पुस्तिकाले राष्ट्र संघलाई “चहकिलो रातो रंगको जानवर” भनेर चिनाएको थियो। (प्रकाश १७:३) प्रकाश अध्याय १७ पद ११ उद्धरण गर्दै त्यस पुस्तिकामा यसो पनि लेखिएको थियो: “राष्ट्र संघ ‘हुनलाई त थियो, तर छैन,’ भन्‍न सकिन्छ।” त्यसमा अझै यसो पनि लेखिएको थियो: “सांसारिक राष्ट्रहरूको संगठन फेरि उदय हुनेछ।” नभन्दै यसको तीन वर्षजतिपछि ठीक त्यसै भयो। अर्थात्‌ १९४५ मा संयुक्‍त राष्ट्र संघ स्थापित गरियो!

साक्षीहरूका प्रकाशनमा प्रतिबन्ध लगाइएको बेला मैले यी नयाँ मित्रहरूलाई सहयोग गर्न सकें। शान्ति—के यो रहिरहन्छ? भन्‍ने सानो पुस्तिका आइपुग्ने बित्तिकै अरूको हातमा नपरोस्‌ भनेर मण्डलीले ती मलाई राख्न दिन्थ्यो। हुन पनि ती प्रतिबन्धित साहित्यहरू सैनिक छाउनीमा होला भनेर कसले पो सोच्ला? हरेक पटक सभाहरूमा जाँदा म भाइहरूको निम्ति केही पुस्तिकाहरू साथै लग्थें। भाइबहिनीहरूको घर खानतलासी गर्ने खतरा भएकोले तिनीहरूको व्यक्‍तिगत साहित्यहरूसमेत मैले लुकाइदिएको थिएँ। अन्तमा डिसेम्बर ११, १९४४ मा प्रतिबन्ध हटाइयो।

सन्‌ १९४३ मा हाम्रो सैन्य दलले क्रिसमस मनाउने प्रबन्ध गर्दा मसीही शिक्षाप्रतिको मेरो वफादारी जाँचियो। येशू डिसेम्बरको चिसोमा जन्मनुभएको थिएन र प्रारम्भिक मसीहीहरूले क्रिसमस मनाउँदैनन्‌ थिए भनेर थाह पाइसकेकोले उक्‍त उत्सवमा भाग लिन मैले अस्वीकार गरें।—लूका २:८-१२ तुलना गर्नुहोस्‌।

सन्‌ १९४४, डिसेम्बर २७ देखि ३१ सम्म जबलपुरमा आयोजित “संगठित उद्‌घोषकहरू” सम्मेलनमा उपस्थित भएका १५० मध्ये म पनि थिएँ। जबलपुरबाट दिल्ली लगभग ६०० किलोमिटर टाढा पर्छ। त्यहाँबाट पनि सम्मेलनमा उपस्थित हुन निकै प्रतिनिधिहरू आएका थिए। खुल्ला आकाशमुनि न्यानो वातावरणबीच यहोवाको संगठनले काम गरिरहेका ती दृश्‍यहरू म कहिल्यै बिर्सन सक्दिनँ।

अधिवेशनमा आएका प्रतिनिधिहरूलाई स्कूलको शयनकक्षमा बस्ने प्रबन्ध मिलाइएको थियो र त्यहाँ हामीले राज्य भजनहरू गायौं, मसीही संगतिको आनन्द उठायौं। अधिवेशनकै दौडान मैले प्रचार गर्न थालेको थिएँ। त्यसबेलादेखि मैले प्रचार कार्यलाई निकै बहुमूल्य ठानेको छु।

बेलाइतमा पूर्ण-समय सेवकाई

सन्‌ १९४६ मा म बेलाइत फर्कें र लगत्तै वल्भर्टन मण्डलीसित संगत गर्न थालें। त्यहाँ दश जना मात्र राज्य प्रकाशकहरू थिए। तैपनि तिनीहरूले त्यहाँ मलाई कुनै पनि किसिमको अप्ठ्यारो महसुस गर्ने मौका दिएनन्‌। भारतमा भाइहरूबीच छँदा मैले जस्तो सन्तुष्टि पाएको थिएँ, त्यहाँ पनि पाएँ। निष्कपट र मायालु भएकीले भिरा क्लिफ्टन मण्डलीमा अरूभन्दा बेग्लै देखिन्थिन्‌। तिनको पनि मेरोजस्तै अग्रगामी अर्थात्‌ पूर्ण-समय सेवक हुने इच्छा रहेछ भन्‍ने थाह पाएपछि हामीले मे २४, १९४७ मा विवाह गऱ्‍यौं। मैले काराभान अर्थात्‌ गाडीसँगै गुडाएर लान मिल्ने गाडालाई अलि मर्मत गरें र लगत्तै अर्को वर्ष हामीले हन्टिङडन शहरमा अग्रगामी गर्ने पहिलो कार्यभार पायौं।

त्यो जमानामा दुर्गम इलाकाहरूमा पुग्न हामी एकाबिहानै साइकल चढेर निस्कन्थ्यौं। खाजा खानको लागि मात्र हामी एकैछिन बस्थ्यौं अन्यथा दिनभरि प्रचार गर्थ्यौं। बतास चल्दा हिंड्‌नु परे तापनि वा घनघोर पानीमा रुझ्नु परे तापनि घर फर्कंदा प्रभुको काम गर्न पाएकोले हामी आनन्दित र सन्तुष्ट महसुस गर्थ्यौं।

केही समयपछि सेवकाईमा अझ धेरै लाग्न पाए हुन्थ्यो र अन्य मुलुकका मानिसहरूलाई पनि “सुसमाचार” प्रचार गर्न पाए हुन्थ्यो भन्‍ने लालसा हामीभित्र जाग्न थाल्यो। (मत्ती २४:१४) त्यसैकारण हामीले साउथ लानसिङ, न्यु योर्क, सं.रा.अ.-स्थित गिलियड स्कूलमा भर्ना हुन आवेदन पेश गऱ्‍यौं। गिलियडको २६ औं कक्षामा भर्ना हुन हामी बोलाइयौं र फेब्रुअरी १९५६ मा स्नातक भयौं।

अफ्रिकामा विस्तृत सेवकाई

मिसनरीको रूपमा हामी अफ्रिकाको उत्तरी रोडेशियामा (हाल जाम्बिया) खटाइयौं। पुग्ने बित्तिकै हामीलाई त्यहाँको बेथेलमा सेवा गर्न बोलाइयो। बेथेलमा मेरो काम पूर्वी अफ्रिकाका मण्डलीहरूसित पत्राचार गर्नु थियो। यी पूर्वी अफ्रिकी मुलुकहरूमध्ये एक केन्या पनि थियो र १९५६ मा त्यहाँ जम्मा चार जना साक्षीहरू थिए तर उत्तरी रोडेशियामा भने २४,००० साक्षीहरू थिए। भिरा र म आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्न पाए कत्ति हुन्थ्यो भनेर सोच्न थाल्यौं।

अप्रत्याशित रूपमा मैले फेरि गिलियड स्कूलमा निम्तो पाएँ तर यस पालि चाहिं शाखा कार्यालयमा निरीक्षकको रूपले सेवा गर्ने दश-महिने तालिमको लागि। भिरालाई उत्तरी रोडेशियामै छोडेर म न्यु योर्क शहर गएँ। गिलियड स्कूल त्यतिखेर न्यु योर्कमा थियो। नोभेम्बर १९६२ मा तालिम सकिएपछि म केन्यामा शाखा कार्यालय स्थापित गर्न खटाइएँ। त्यतिञ्जेल केन्यामा साक्षीहरूको संख्या सयभन्दा धेरै पुगिसकेको थियो।

भिरालाई भेट्‌न उत्तरी रोडेशियामा फर्कंदा म छोटो समयको लागि नाइरोबी, केन्यामा रहनुपर्ने थियो। तर नाइरोबी पुग्दा गिलियडको २५ औं कक्षाका स्नातक बिल निस्बेटले मलाई तत्कालै केन्यामा बस्ने अनुमतिपत्र लिन पाइने भएकोले मौका नगुमाउनू भने। हामी अध्यागमन कार्यालय गयौं र क्षणभरमै मैले पाँच वर्षसम्म केन्यामा बसेर काम गर्ने अनुमति पाएँ। त्यसैकारण म उत्तरी रोडेशियामा जानै पाइनँ बरु भिरालाई पो नाइरोबी आउनुपऱ्‍यो।

तुरुन्तातुरुन्तै हामीलाई स्वाहिली भाषा सिकाइयो र त्यसपछि हामी एउटा सानो नाइरोबी मण्डलीसँगै सेवकाईमा भाग लिन थाल्यौं। स्वाहिली भाषामा लेखिएको सन्देश पढेर सुनाउँदा घरधनी पक्क पर्थ्यो र यसो भन्थ्यो, “म अंग्रेजी बुझ्दिनँ!” यसको बावजूद हामीले कोसिस गरिरह्‍यौं र बिस्तारै भाषाको तगारोलाई पनि भत्काउनसक्ने भयौं।

हाम्रो इलाकामा यरूशलेम र यरिहोजस्ता बाइबल नाउँहरू भएका ठूलठूला भवनहरू थिए। त्यहाँका मानिसहरूको तुरुन्तै चासो जगाउन सकियो र यी क्षेत्रहरूका धेरै मानिसहरू नयाँ राज्य प्रकाशकहरू भए। बाइबल सत्यले यी मानिसहरूलाई निकै प्रभाव पारेको थियो! परमेश्‍वरको राज्यप्रतिको वफादारीले गर्दा यहोवाका जनहरूबीच एकता थियो र म ठूलो जातिको हुँ भन्‍ने भावना हराइसकेको थियो। गैरसाक्षीहरूमा कहिल्यै नभएको अन्तरजातीय विवाहसमेत साक्षीहरूबीच सम्पन्‍न हुनु एकदमै अनौठो थियो।

नयाँ राज्य प्रकाशकहरूले सत्यलाई निकै जोशसहित अंगाले। उदाहरणका लागि सामसनलाई लिनुहोस्‌। बाइबल सत्य आफ्नो गाउँघरभरि फैलियोस्‌ भनेर तिनी यति उत्सुक थिए, तिनले आफ्नो इलाकामा अग्रगामीहरू पठाइदिनु भनेर आग्रह गरिरहे। वास्तवमा तिनले त्यहाँ आउने अग्रगामीहरूका लागि उकाम्बानी प्रान्तस्थित आफ्नो घरमा कोठाहरूसमेत थपेका थिए। चाँडै त्यहाँ राज्य प्रकाशकहरूको एउटा नयाँ मण्डली खडा भयो।

पूर्वी अफ्रिकास्थित इथियोपियाका भाइहरूलाई पनि निकै चोटि भेट्‌न गएँ। जेलसजाय, पिटाइ र निगरानीको बावजूद तिनीहरू महिनामा औसतन २० घण्टा सेवकाईमा बिताउँथे। केन्यामा हुन लागेको जिल्ला अधिवेशनमा उपस्थित हुन एकपटक इथियोपियाका भाइबहिनीहरूले दुइटा बसमा डरलाग्दा घाटीहरू हुँदै एक हप्तासम्म यात्रा गरेका थिए। बाइबल साहित्यहरू आफ्नो मुलुक भित्राउने तिनीहरूका विभिन्‍न जुक्‍तिहरू सराहनीय थिए। तिनीहरूको आवश्‍यकता पूरा गर्न पाउँदा हामी केन्यामा हुनेहरू चाहिं निकै हर्षित थियौं।

सन्‌ १९७३ मा हाम्रो गतिविधिमाथि प्रतिबन्ध लगाइयो र मिसनरीहरूलाई केन्या छोड्‌न बाध्य पारियो। त्यतिञ्जेलसम्म केन्यामा १,२०० भन्दा धेरै साक्षीहरू भइसकेका थिए र तीमध्ये धेरैजसो विमानस्थलमा हामीलाई अविस्मरणीय बिदाइ दिन आएका थिए। तिनीहरूलाई त्यहाँ देखेर हामीसितै यात्रा गर्ने एक जनाले हामी कतै ख्याति प्राप्त व्यक्‍तित्व त होइनौं भनेर सोध्यो। भिरा र म बेलाइत फर्क्यौं अनि हामीलाई त्यहीं काम गर्न खटाइयो। तर हामी अफ्रिका फर्कने लालसा गर्थ्यौं।

फेरि अफ्रिकामा

अतः केही महिनापछि हामी पश्‍चिम अफ्रिका, घानाको राजधानी अक्करास्थित बेथेलमा नयाँ ठाउँमा खटाइयौं। यहाँका भाइहरूले भोग्नुपरेको दुःखकष्ट मैले एउटा कामको सिलसिलामा प्रत्यक्ष देखें। बेथेल परिवारको लागि राशन र अरू सामानहरू किन्‍न जाँदा राशनको चर्को भाउ सुनेर म तीन छक्क परें। मानिसहरू आफूलाई चाहिने अत्यावश्‍यक सामानसमेत किन्‍न सक्दैनन्‌ थिए। पेट्रोलको कमी र पाटपुर्जाको अभावले गर्दा समस्या झन्‌ चर्किएको थियो।

घानाका हाम्रा भाइहरू निकै धीरजी थिए र त्यहाँको अनुभवले गर्दा मैले पनि धीरजी हुनुपर्ने आवश्‍यकता बुझें। घूस खुवाएर जीवन धान्‍न चाहिने सामान तिनीहरू सजिलै किन्‍न सक्थे तर तिनीहरूले त्यसो गरेनन्‌। तिनीहरू सधैं हँसिला देखिन्थे र तिनीहरूको यस्तो मनोवृत्तिले हामीलाई निकै प्रोत्साहन मिलेको थियो। परिणामस्वरूप यहोवाका जनहरू इमानदार छन्‌ भनेर घानाभरि चर्चित भए र तिनीहरू असल व्यक्‍तिहरू हुन्‌ भनेर धेरैजसो अख्तियारवालाहरूले समेत स्वीकारे।

तिनीहरू भौतिक तवरमा सम्पन्‍न थिएनन्‌ तैपनि आध्यात्मिक कुरामा निकै फलिफाप भइरहेको थियो। भनौं भने देशभरि प्रत्येक घरमा हाम्रा प्रकाशनहरू पाइन्थे। त्यसबाहेक घानामा प्रकाशकहरूको संख्या पनि धमाधम बढ्‌न थालेको थियो। हामी घाना आएको वर्ष अर्थात्‌ १९७३ मा प्रकाशकहरूको संख्या १७,१५६ थियो तर १९८१ सम्ममा २३,००० पुगिसकेको थियो। सन्‌ १९८१ मै मलाई छालाको क्यान्सर भयो। भारत र अफ्रिकाको घाममा वर्षौं डढ्‌नुपरेकोले नै मलाई त्यो रोग लागेको हुनुपर्छ। फलतः नियमित उपचार गर्न घाना छोडेर बेलाइत फर्कन हामी बाध्य भयौं।

अर्कै परिस्थितिबीच बेलाइतमा

मेरोलागि यसरी बेलाइत फर्कनु सेवकाईमा निकै छाँटकाँट गर्नु थियो। परमेश्‍वर र बाइबललाई आदर गर्ने मानिसहरूसित धक नमानी कुरा गर्ने बानी मलाई परिसकेको थियो। तर लण्डनमा भने यस्तो मनोवृत्ति भएका मानिसहरू कमै पाइन्थे। बेलाइतका भाइहरूको प्रयत्न देखेर मलाई उदेक लाग्यो। यो देखेर आध्यात्मिक तवरमा “हैरान भई तितर-बितर भएका” मानिसहरूप्रति समानुभूति देखाउनुपर्ने खाँचो महसुस गरेको छु।—मत्ती ९:३६.

अफ्रिकाबाट फर्केपछि भिरा र मैले १९९१ सम्म एकसाथ लण्डन बेथेलमा सेवा गऱ्‍यौं। त्यही वर्ष सेप्टेम्बर महिनामा भिराको मृत्यु भयो। तिनी ७३ वर्षकी थिइन्‌। त्यत्रो वर्ष घामपानी नभनी मसँगसँगै सेवकाईमा हिंड्‌ने विश्‍वासी सहयोगीलाई गुमाउनु कदापि सजिलो भएन। मलाई तिनको अभाव निकै खट्‌किन्छ। तर यहाँ बेथेल परिवारका लगभग २५० सदस्यहरूको प्रोत्साहन पाएर म खुशी छु।

यहोवाको संगठन अघि अघि बढिरहेको प्रत्यक्ष महसुस गर्नु र धेरैले पूर्ण-समय सेवकाईलाई आफ्नो जीवनपद्धति बनाएको देख्नु म वास्तवमा एउटा विशेषाधिकारको रूपमा लिन्छु। योभन्दा उत्तम जीवन अर्को कुनै छैन भनेर म ठोकुवा गर्नसक्छु। किनकि ‘यहोवाले आफ्ना भक्‍तहरूलाई त्याग्नुहुन्‍न।’—भजन ३७:२८.

[पृष्ठ २३-मा भएको चित्र]

हामीले बेलाइतमा १९४७ देखि १९५५ सम्म अग्रगामी गऱ्‍यौं

[पृष्ठ २३-मा भएको चित्र]

भारतमा भएको अधिवेशनको दौडान पहिलो पटक सेवकाईमा

[पृष्ठ २३-मा भएको चित्र]

उत्तरी रोडेशियामा मिसनरी छँदा

[पृष्ठ २३-मा भएको चित्र]

बाह्र वर्षपछि भेटेका साथीहरूसित १९८५ मा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने