जीवनी
यहोवाले मैले आशा गरेभन्दा कता हो कता धेरै आशिष् दिनुभयो
‘हुनत मैले अग्रगामी सेवा गर्नुपर्ने हो तर अग्रगामी गर्न रमाइलो होला र!’ जस्तो लाग्थ्यो। मैले जर्मनीमा खाइरहेको जागिर मलाई मन पर्थ्यो। म दार-ए-सलाम, एलिसाबेथभिल र अस्माराजस्ता अफ्रिकाका सुन्दर ठाउँहरूमा खाद्यान्न निर्यात गर्ने कामको रेखदेख गर्थेँ। एक दिन अफ्रिकाका ती ठाउँहरू अनि अरू थुप्रै ठाउँमा पूर्ण-समय यहोवाको सेवा गर्छु होला भनेर मैले सपनामा पनि चिताएको थिइनँ!
तर जब मैले मनमा उब्जेका शङ्काहरूलाई हटाएर अग्रगामी सेवा सुरु गरेँ, तब मैले सोचेभन्दा पनि कता हो कता धेरै आशिष् पाउने बाटो खुल्यो। (एफि. ३:२०) तर तपाईँ सोध्नुहोला, ‘कसरी?’ म आफ्नो कथा सुरुदेखि बताउँछु।
सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भएको केही महिनापछि जर्मनीको बर्लिनमा मेरो जन्म भयो। सन् १९४५ मा विश्वयुद्ध सकिने बेलातिर बर्लिनमा भारी बमवर्षा भयो। त्यसैबेला एक पटक हाम्रै घरअगाडिको सडकमा पनि बम विस्फोट भएको थियो। त्यसैले म र मेरो परिवार बमको आक्रमणबाट जोगिने सुरक्षा थलोतर्फ भाग्यौँ। बर्लिनमा खतरा भएकोले पछि हामी एरफर्ट गयौँ, जुन मेरी आमाको जन्मस्थान थियो।
जर्मनीमा मेरो आमाबुबा र बहिनीसँग, १९५० तिर
मेरी आमा सत्यको खोजीमा हुनुहुन्थ्यो। उहाँले दार्शनिकहरूका किताबहरू पढ्नुभयो र थुप्रै धर्मबारे बुझ्न खोज्नुभयो तर उहाँको चित्त बुझेको थिएन। सन् १९४८ तिर दुई जना यहोवाका साक्षी हाम्रो घरमा आए। आमाले उनीहरूलाई भित्र बोलाउनुभयो र एकपछि अर्को गर्दै प्रश्नहरू सोध्न थाल्नुभयो। त्यसरी कुरा गरेको एक घण्टा पनि नबित्दै आमाले बहिनी र मलाई यसो भन्नुभयो: “मैले सत्य भेट्टाएँ।!” त्यसको लगत्तै आमा, बहिनी र म एरफर्टमा हुने सभाहरूमा जान थाल्यौँ।
सन् १९५० मा हामी बर्लिन फर्कियौँ। त्यहाँ हामीले बर्लिन-क्रुजबर्ग मण्डलीसित सङ्गत गऱ्यौँ। त्यसपछि हामी बर्लिनकै अर्को ठाउँमा सऱ्यौँ र बर्लिन-टेम्पेलहोफ मण्डली गयौँ। केही समयपछि आमाले बप्तिस्मा गर्नुभयो तर मचाहिँ पछि हटेँ। किन?
लजालु स्वभाव र हिचकिचाउने बानीसितको सङ्घर्ष
अत्यन्तै लजालु स्वभावको भएकोले म यहोवाको सेवामा खासै अगाडि बढ्न सकिनँ। म अरूसित प्रचारमा त जान्थेँ तर सुरुको दुई वर्षसम्म मैले चुइँक्कै बोलिनँ। तर गाह्रो परिस्थितिमा पनि यहोवाप्रति वफादार रहेर साहस देखाएका भाइबहिनीसित सङ्गत गरेपछि भने ममा परिवर्तन आयो। कसै-कसैले नाजी यातना शिविरहरूमा वा पूर्वी जर्मनीका झ्यालखानाहरूमा कैदी जीवन बिताएका थिए। अरू कसैले भने आफ्नो स्वतन्त्रताको पर्बाह नगरी पूर्वी जर्मनीमा लुकीछिपी साहित्यहरू पुऱ्याउने गर्थे। उहाँहरूको उदाहरणले ममा अमेट छाप पाऱ्यो। मैले मनमनै सोचेँ, ‘यदि उहाँहरूले यहोवा र भाइबहिनीको खातिर आफ्नो ज्यानै खतरामा हाल्नुभयो र आफ्नो स्वतन्त्रताको पनि पर्बाह गर्नुभएन भने, के मैले कमसेकम आफ्नो लाज हटाउन प्रयास गर्नुपर्दैन र?’
सन् १९५५ मा एउटा विशेष प्रचार अभियानमा भाग लिएपछि भने मैले आफ्नो लजालु स्वभावलाई जित्ने बल पाएँ। इन्फर्मेन्ट-माa छापिएको एउटा चिठीमा त्यो अभियान सङ्गठनले त्यसबेलासम्म आयोजना गरेका अभियानहरूमध्ये सबैभन्दा ठूलो हो भनेर भाइ नेथन नोरले बताउनुभयो। यदि सबै प्रकाशकले त्यसमा भाग लिने हो भने “त्यो महिनाको साक्षीकार्य पृथ्वीमा अहिलेसम्म गरिएको सबैभन्दा भव्य अभियान हुनेछ” भनेर उहाँले बताउनुभयो। हुन पनि त्यस्तै भयो! त्यसको केही समयपछि नै मैले यहोवालाई आफ्नो जीवन समर्पण गरेँ र १९५६ मा बुबा र बहिनीसितै बप्तिस्मा गरेँ। तर चाँडै नै मैले अर्को एउटा ठूलो निर्णय गर्नुपर्ने भयो।
अग्रगामी सेवा गर्नु नै सही करिअर हो भनेर मलाई थाह थियो तर मैले वर्षौँसम्म आलेटाले गरिरहेँ। सुरुमा मैले बर्लिनमा होलसेल व्यापार अनि आयात-निर्यातसम्बन्धी काम सिक्ने निर्णय गरेँ। अनि त्यस क्षेत्रमा दक्षता र अनुभव हासिल गर्न केही समय काम गर्ने विचार गरेँ। त्यसैले १९६१ मा मैले जर्मनीको सबैभन्दा ठूलो बन्दरगाह भएको सहर ह्यामबर्गमा जागिर खाएँ। काममा जति-जति व्यस्त हुँदै गएँ, पूर्ण-समय सेवा गर्ने कुरालाई पनि त्यति नै पर-पर सार्दै लैजान थालेँ। म दोधारमा परेको थिएँ।
यहोवाले मायालु भाइहरू चलाएर आध्यात्मिक कुरालाई प्राथमिकता दिन मदत गर्नुभएकोमा म निकै आभारी छु। मेरा केही साथीहरूले अग्रगामी सेवा सुरु गरेर राम्रो उदाहरण बसालेका थिए। साथै भाइ एरिक मुन्ड, जसले यातना शिविरमा कैदी जीवन बिताउनुभएको थियो, उहाँले मलाई यहोवामाथि भरोसा गर्न प्रोत्साहन दिनुभयो। यातना शिविरमा भएका केही भाइहरू आफैमा भर परे र पछि उनीहरूको विश्वास कमजोर भयो तर यहोवामा पूर्णतया भर पर्नेहरू वफादार रहिरहे अनि मण्डलीको खम्बा साबित भए भनेर उहाँले बताउनुभयो।
मैले अग्रगामी सेवा सुरु गर्दा, १९६३
साथै भाइ मार्टिन पोइटजिंगर, जसले पछि परिचालक निकायको सदस्यको रूपमा सेवा गर्नुभयो, उहाँ यसरी भाइहरूलाई प्रोत्साहन दिइरहनुहुन्थ्यो: “हामीसित हुनुपर्ने सबैभन्दा ठूलो धन भनेको साहस हो!” यी शब्दहरूमा मनन गरेपछि मैले जागिर छोडेँ र १९६३ को जूनदेखि अग्रगामी सेवा सुरु गरेँ। त्यो मैले गरेको सबैभन्दा उत्तम निर्णय थियो! त्यसको दुई महिनापछि, मैले नयाँ जागिर खोज्न थाल्नुअघि नै विशेष अग्रगामीको रूपमा सेवा गर्ने निम्तो पाएँ। त्यसको केही वर्षपछि, मैले आशा गरेभन्दा कता हो कता ठूलो आशिष् यहोवाबाट पाएँ। मैले गिलियड स्कुलको ४४औँ कक्षामा उपस्थित हुने निम्तो पाएँ।
गिलियडमा सिकेको एउटा अमूल्य पाठ
“आफ्नो असाइनमेन्टमा सजिलै हार नमान्नुहोस्।” मैले विशेषगरि भाइ नेथन नोर र लिमन स्विङ्गलबाट यो अत्यन्तै महत्त्वपूर्ण पाठ सिकेँ। उहाँहरूले हामीलाई आफ्नो असाइनमेन्टमा लागिरहन निकै प्रोत्साहन दिनुभयो। भाइ नोरले यसो भन्नुभयो: “तपाईँ कुन कुरालाई ध्यान दिनुहुनेछ? हिलोमैलो, किराफट्याङ्ग्रा अनि गरिबीलाई? कि रूखहरू, फूलहरू अनि हँसिला अनुहारहरूलाई? हो, मानिसलाई प्रेम गर्न सिक्नुहोस्!” एक दिन भाइ स्विङ्गलले कोही-कोही किन सजिलै हार मान्छन् भनेर बताउँदै हुनुहुन्थ्यो। तर बोल्दा बोल्दै उहाँ भावुक हुनुभयो अनि उहाँका आँखा रसाए। आफूलाई सम्हाल्न उहाँले केहीबेर भाषण रोक्नुपरेको थियो। त्यो कुराले ममा निकै गहिरो प्रभाव पाऱ्यो। त्यसैले मैले ख्रिष्ट र उहाँका वफादार भाइहरूलाई निराश नबनाउने दृढ सङ्कल्प गरेँ।—मत्ति २५:४०.
म, क्लोड र हेन्रिकले कंगोको लुबुम्बाशीमा मिसनरी सेवा गर्दा, १९६७
हामीले नयाँ असाइनमेन्ट पाएपछि केही बेथेल सेवकहरू हामीलाई कहाँ खटाइयो भनेर थाह पाउन एकदमै उत्सुक थिए। हामीले आफ्नो असाइनमेन्टबारे बताउँदै जाँदा उनीहरूले केही न केही राम्रो कुरा भने तर जब मैले मेरो असाइनमेन्ट “कंगो (किन्शासा) हो” भनेर बताएँ, उनीहरू एकछिन अकमकाए अनि केवल यति भने: “ए, कङ्गो पो! ल यहोवाले तपाईँलाई साथ देऊन्!” त्यसताका कंगो (किन्शासा) हिंसाले ग्रस्त थियो, युद्ध र मारकाटको खबर आइरहन्थ्यो। तर आफूले सिकेका पाठहरू मैले आफ्नो मनमा राखेँ। सन् १९६७ को सेप्टेम्बरमा गिलियडको स्नातकपछि हेन्रिक डानबोज्टेल, क्लोड लिन्ड्से र म कंगोको राजधानी किन्शासातर्फ लाग्यौँ।
मिसनरीहरूको रूपमा महत्त्वपूर्ण पाठहरू सिक्दै
किन्शासा पुगेपछि हामीले तीन महिनासम्म फ्रान्सेली भाषा सिक्यौँ। त्यसपछि हामी कंगोको सुदूर दक्षिणमा पर्ने लुबुम्बाशी गयौँ। त्यो जाम्बियाको सिमानानजिकै पर्थ्यो र पहिला त्यस ठाउँलाई एलिसाबेथभिल भनिन्थ्यो। हामी सहरको केन्द्रमा रहेको एउटा मिसनरी घरमा बस्यौँ।
लुबुम्बाशीको धेरैजसो ठाउँमा पहिला प्रचार गरिएको थिएन। त्यसैले त्यहाँका थुप्रै बासिन्दालाई पहिलो चोटि सत्य सिकाउन पाउँदा हामी निकै उत्साहित भयौँ। केही समय नबित्दै हामीलाई बाइबल अध्ययनहरू सञ्चालन गर्न भ्याइ नभ्याइ भयो। हामीले सरकारी कर्मचारी र सिभिल प्रहरीहरूलाई पनि प्रचार गऱ्यौँ। थुप्रैले परमेश्वरको वचन र हाम्रो प्रचारकार्यको निकै कदर गरे। त्यहाँको मुख्य भाषा स्वाहिली थियो। त्यसैले क्लोड लिन्ड्से र मैले त्यो भाषा पनि सिक्यौँ। केही समयपछि हामीलाई स्वाहिली भाषाको मण्डलीमा खटाइयो।
थुप्रै रमाइला अनुभवहरूका साथै हामीले चुनौतीहरू पनि सामना गऱ्यौँ। रक्सीले मात्तिएका बन्दुकधारी सैनिकहरूले वा सन्की प्रहरीहरूले अक्सर हामीलाई गलत आरोप लगाएर दुःख दिन खोज्थे। एकचोटि मिसनरी घरमा मण्डलीको सभा भइरहेको बेला हतियारधारी प्रहरीहरू हूल बाँधेर भित्र छिरे अनि हामीलाई केन्द्रीय प्रहरी कार्यालयमा लगे। तिनीहरूले हामीलाई रातको करिब १० बजेसम्म भुइँमा बस्न लगाए अनि बल्ल छोडिदिए।
सन् १९६९ मा मलाई परिभ्रमण कार्यमा खटाइयो। त्यो परिभ्रमण कार्यको दौडान कहिलेकाहीँ अग्ला-अग्ला झारहरू अनि हिलाम्मे बाटो भएको अफ्रिकाको झाडी हुँदै लामो यात्रा गर्नुपर्थ्यो। एउटा गाउँमा म बास बसेको घरमा राती मेरो खाटमुनि एउटा कुखुरी र त्यसका चल्लाहरू बस्ने गर्थे। घाम झुल्किनुअघि नै त्यो कुखुरीले ठूलो आवाज निकालेर मलाई जगाएको म कहिल्यै बिर्सन्नँ। साँझतिर आगोको वरिपरि भाइहरूसित बसेर बाइबल सत्यबारे कुरा गरेका रमाइला पलहरू म सम्झिने गर्छु।
यहोवाको साक्षी बनेको ढोङ गर्ने झूटा भाइहरूको सामना गर्नु एउटा असाध्यै ठूलो चुनौती थियो। कितावाला अभियानकोb समर्थन गर्ने त्यस्ता केही मानिसहरू मण्डलीमा घुसेका थिए र एल्डरको जिम्मेवारीसमेत सम्हालेका थिए। यस्ता थुप्रै ‘लुकेका ढुङ्गाहरूले’ वफादार भाइबहिनीलाई भने बहकाउन सकेनन्। (यहु. १२) समयको दौडान यहोवाले मण्डलीहरूलाई शुद्ध बनाउनुभयो, जसले गर्दा पछि उल्लेखनीय वृद्धि भयो।
सन् १९७१ मा मलाई किन्शासाको शाखा कार्यालयमा सेवा गर्न खटाइयो। त्यहाँ मैले विभिन्न किसिमको काम गरेँ, जस्तै, पत्राचार गर्ने, साहित्य मगाउने अनि सेवा विभागसित सम्बन्धित काम। सीमित स्रोतसाधन भएको ठूलो देशमा राज्य गतिविधिलाई कसरी व्यवस्थित गर्ने भनेर मैले बेथेलमा सिकेँ। कहिलेकाहीँ शाखाले पठाएका चिठी-पत्रहरू मण्डलीसम्म पुग्न महिनौँ लाग्थ्यो। किनकि चिठीहरू हवाइजहाजबाट निकालेर पानीजहाजमा राख्नुपर्थ्यो। त्यसमाथि कहिलेकाहीँ बाक्लो जलकुम्भीले गर्दा पानीजहाज हप्तौँसम्म अड्किन्थ्यो। तर यी र यस्ता चुनौतीहरूको बाबजुद हाम्रो काम सफल हुन्थ्यो।
थोरै खर्चमा पनि भाइहरूले ठूलठूला अधिवेशनहरू आयोजना गरेको देखेर म छक्क पर्थेँ। तिनीहरू धमिराको ढिस्कोलाई काटेर मञ्च बनाउँथे, अग्ला-अग्ला घाँसहरू ठड्याएर भित्ता बनाउँथे अनि घाँसलाई दोबारेर बस्ने ठाउँ तयार पार्थे। तिनीहरू बाँसको खाँबो ठड्याएर नर्कटको छानो लगाउँथे अनि नर्कटकै टेबुल पनि बनाउँथे। किलाको साटो तिनीहरू रूखको बोक्रा ताछेर प्रयोग गर्थे। यी मेहनती अनि सिपालु भाइबहिनीलाई देख्दा म दङ्गै पर्थेँ। तिनीहरू मेरो लागि असाध्यै प्यारा भए। त्यहाँका भाइबहिनीलाई छोडेर नयाँ ठाउँमा जानुपर्दा मेरो मन साह्रै भारी भयो।
केन्याको सेवा
सन् १९७४ मा मलाई केन्याको नाइरोबीमा रहेको शाखा कार्यालयमा सेवा गर्न खटाइयो। त्यतिबेला केन्या शाखाले थुप्रै काम गर्नुपर्थ्यो। किनकि केन्या शाखाले वरपरका १० वटा देशको प्रचारकार्यलाई अघि बढाउन सघाइरहेको थियो, जसमध्ये केही देशमा हाम्रो काममाथि प्रतिबन्ध लगाइएको थियो। मलाई थुप्रै पटक ती देशहरूको भ्रमण गर्ने जिम्मेवारी दिइयो। खासगरि इथियोपियामा म धेरै चोटि गएँ। त्यहाँका भाइबहिनीले खेदो र भीषण परीक्षाहरूको सामना गरिरहेका थिए। तिनीहरूमध्ये थुप्रै घोर दुर्व्यवहारको सिकार भए वा जेलमा परे; कतिलाई त मारियो पनि। तर तिनीहरूले वफादार भई ती परीक्षाहरू सहे किनकि तिनीहरूले यहोवा र एकअर्कासित बलियो सम्बन्ध गाँसेका थिए।
सन् १९८० मा मेरो जीवनमा नयाँ बहार आयो। मैले गेल म्याथसनसित विवाह गरेँ। गेल क्यानाडाकी थिइन् अनि उनी र म गिलियड स्कुलको एउटै कक्षामा थियौँ। हामीले चिठी लेखेर एकअर्काको हालखबर बुझ्ने गरिरहेका थियौँ। गेल बोलिभियामा मिसनरी सेवा गरिरहेकी थिइन्। बाह्र वर्षपछि हामी फेरि न्यु योर्कमा भेट्यौँ र त्यसको केही समयभित्रै केन्यामा विवाह गऱ्यौँ। गेलको आध्यात्मिक झुकाव र जस्तोसुकै अवस्थामा पनि सन्तुष्ट हुने मनोवृत्तिको लागि म उनीप्रति सधैँ कृतज्ञ छु। मैले अझै पनि उनको अमूल्य सहयोग र मायालु साथ पाइरहेको छु।
सन् १९८६ मा, म शाखा समितिको सदस्यको रूपमा सेवा गरिरहेको बेला हामीलाई परिभ्रमण कार्य गर्ने थप जिम्मेवारी दिइयो। परिभ्रमण कार्य गर्दा केन्या शाखाअन्तर्गत रहेका थुप्रै देशहरूमा जानुपर्थ्यो।
अस्माराको एउटा अधिवेशनमा भाषण दिँदै, १९९२
अस्मारामा (एरिट्रियामा पर्छ) १९९२ मा एउटा अधिवेशनको तयारी गरेको म अझै सम्झिन्छु। त्यतिबेला त्यहाँ हाम्रो काममा प्रतिबन्ध लागेको थिएन। दुःखको कुरा, हामीले अधिवेशनको लागि एउटा ठूलो कटेरो मात्रै भेट्टायौँ। त्यो कटेरो बाहिरबाट हेर्दा जति नराम्रो थियो, भित्रपट्टि त्योभन्दा झनै नराम्रो थियो। तर अधिवेशनको दिनमा भाइबहिनीले त्यो कटेरोको भित्री भागलाई यहोवाको उपासना गर्न सुहाउने बनाएको देखेर म छक्कै परेँ। थुप्रै परिवारले बुट्टेदार कपडाहरू ल्याए अनि नराम्रो देखिने सबै भागलाई ढाकिदिए। त्यहाँ १,२७९ जना उपस्थित भए अनि सबै जना अधिवेशनबाट आनन्दित र निकै उत्साहित भए।
परिभ्रमण कार्य हाम्रो लागि एउटा ठूलो परिवर्तन थियो किनकि हामी फरक-फरक ठाउँमा बास बस्नुपर्थ्यो। कुनै बेला हामी समुद्रछेउको सुविधासम्पन्न घरमा बस्थ्यौँ भने कुनै बेला चाहिँ कामदारहरू बस्ने टिनको छाप्रोमा बस्थ्यौँ र शौचालय पनि १०० मिटरभन्दा धेरै पर हुन्थ्यो। तर जस्तोसुकै ठाउँमा सेवा गरे तापनि जोसिला अग्रगामी र प्रकाशकहरूसित दिनभरि प्रचारमा बिताएका दिनहरू नै हाम्रो लागि सबैभन्दा मीठो सम्झना बनेको छ। असाइनमेन्ट परिवर्तन भएकोले थुप्रै प्यारा साथीहरूलाई छोडेर जानुपर्दा हामीलाई साह्रै न्यास्रो लाग्यो।
इथियोपियामा थुप्रै आशिष् पायौँ
सन् १९८७ देखि १९९२ को दौडान केन्या शाखाअन्तर्गत रहेका थुप्रै देशमा हाम्रो कामले कानुनी मान्यता पायो। त्यसपछि ती देशमा छुट्टै शाखा र उपशाखा कार्यालयहरू स्थापना गरियो। इथियोपियामा हाम्रो कामले कानुनी मान्यता पाएपछि १९९३ मा हामीलाई अदिस अबाबाको कार्यालयमा खटाइयो। त्यसअघि दशकौँसम्म हाम्रा भाइबहिनीले भूमिगत रूपमा काम गरेका थिए।
इथियोपियाको एउटा गाउँमा परिभ्रमण कार्यमा, १९९६
यहोवाले इथियोपियाको राज्य गतिविधिमा आशिष् दिनुभएको छ। थुप्रै भाइबहिनीले अग्रगामी सेवा गरे। सन् २०१२ देखि हरेक वर्ष २० प्रतिशतभन्दा धेरै प्रकाशकले नियमित अग्रगामी सेवा गरिरहेका छन्। साथै ईश्वरतान्त्रिक स्कुलहरूले भाइबहिनीलाई आवश्यक तालिम दिइरहेको छ र त्यहाँ १२० भन्दा धेरै राज्यभवन निर्माण गरिएका छन्। सन् २००४ मा बेथेल परिवार नयाँ भवनमा सऱ्यो अनि त्यही भवनसँगै भएको सम्मेलन भवन पनि भाइबहिनीको लागि आशिष् साबित भएको छ।
वर्षौँको दौडान गेल र मैले इथियोपियाका भाइबहिनीसित घनिष्ठ मित्रताको आनन्द उठायौँ। तिनीहरूको न्यानोपन र दयालु व्यवहारले हाम्रो मनै छुन्छ। हालै हामीले केही स्वास्थ्य समस्याहरूको सामना गर्नुपऱ्यो, जसले गर्दा हामीलाई मध्य युरोप शाखा कार्यालयमा खटाइयो। यहाँका भाइबहिनीले हामीलाई धेरै माया गर्नुहुन्छ र ख्याल राख्नुहुन्छ। तर इथियोपियाका हाम्रा प्यारा भाइबहिनीको असाध्यै सम्झना आउँछ।
यहोवाले हुर्काउनुभयो
यहोवाले वृद्धि गराउनुभएको हामी आफैले अनुभव गरेका छौँ। (१ कोरि. ३:६, ९) उदाहरणको लागि, मैले कंगोको तामा खानीमा रूवाण्डाबाट आएका कामदारहरूलाई पहिलो पटक प्रचार गर्दा रूवाण्डामा प्रकाशकहरू थिएनन्। अहिले त्यहाँ ३० हजारभन्दा धेरै भाइबहिनी छन्। सन् १९६७ मा कंगोमा (किन्शासा) करिब ६ हजार प्रकाशक थिए। अहिले त्यहाँ करिब २ लाख ३० हजार प्रकाशक छन् र २०१८ को स्मरणार्थ उत्सवमा १० लाखभन्दा धेरै मानिस आए। कुनै समय केन्या शाखाअन्तर्गत रहेका सबै देशमा अहिले प्रकाशकहरूको सङ्ख्या बढेर १ लाखभन्दा धेरै पुगेको छ।
आजभन्दा ५० वर्षअघि यहोवाले मलाई पूर्ण-समय प्रचारक बन्न मदत गर्न थुप्रै भाइलाई प्रयोग गर्नुभयो। हुनत म अझै पनि आफ्नो लजालु स्वभावसित सङ्घर्ष गर्दै छु तर मैले यहोवामा पूर्णतया भरोसा गर्न सिकेको छु। अफ्रिकामा मैले अनुभव गरेका कुराहरूले मलाई धीरजी र सन्तुष्ट हुन सिकाएको छ। मन खोलेर अतिथि-सत्कार गर्ने, असाध्यै सहनशील र यहोवामा पूर्ण भरोसा राख्ने प्यारा भाइबहिनीको हामी दुवै जना निकै कदर गर्छौँ। यहोवाले मलाई असीम अनुग्रह देखाउनुभएकोमा म उहाँप्रति मनैदेखि आभारी छु। यहोवाले मैले सोचेभन्दा कता हो कता धेरै आशिष् दिनुभएको छ।—भज. ३७:४.
a पछि हाम्रो राज्य सेवा भनियो; अहिले यसको सट्टामा हाम्रो ख्रिष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका प्रयोग गरिन्छ।
b “कितावाला” शब्द “प्रभुत्व जमाउनु, निर्देशन दिनु वा अधिकार गर्नु” भन्ने अर्थ दिने स्वाहिली शब्दबाट आएको हो। यो राजनैतिक अभियानको उद्देश्य बेल्जियमबाट स्वतन्त्रता प्राप्त गर्नु थियो। कितावाला समूहका मानिसहरू यहोवाका साक्षीहरूको प्रकाशनहरू लिएर अध्ययन गर्थे र आपसमा वितरण गर्थे। अनि आफ्नो राजनैतिक विचारधारा, अन्धविश्वासमा आधारित प्रचलन र अनैतिक जीवनशैलीलाई समर्थन गर्न बाइबलका शिक्षाहरूलाई बङ्ग्याउँथे।