परमेश्वरको वचनका स्नातकहरू
प्रथम शताब्दीका मसीहीहरूको पाइला पछ्याउँदै ढोका-ढोका प्रचार गर्नमा यहोवाका साक्षीहरूले विश्वभरि नाउँ कमाएका छन्। यस कार्यबारे वाचटावर बाइबल स्कूल अफ गिलियडको १०२ औं स्नातक समारोहको प्रारम्भिक टिप्पणीहरूमा जोड दिइएको थियो।
मार्च १, १९९७ मा यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य अल्बर्ट श्रोडरले फ्रेन्च पत्रिका ले प्वा-को एक लेखतर्फ ध्यानकेन्द्रित गराए। रोमन क्याथोलिकहरूले इटालीमा घर-घरको प्रचार गर्ने योजनाबारे त्यस पत्रिकाले बताएको थियो। त्यस लेखमा यस्तो लेखिएको थियो, “यसो गरेपछि [भ्याटिकन मिसनरीहरू] यहोवाका साक्षीहरूसित प्रतिस्पर्धा गर्दा खाली हात फर्कनु पर्दैन। धुरन्धर [साक्षीहरूको] सामना गरेर आफ्ना दूतहरू मार्फत ढोका-ढोकामा सुसमाचारसम्बन्धी ‘प्रस्तुति टक्राउन’ भ्याटिकनले सन्त मर्कूसरचित सुसमाचार पुस्तकको लाखौं प्रतिलिपि छाप्ने प्रबन्धसमेत गरेको छ।
ती ४८ स्नातकहरू तीमध्येका हुन्, जसले परमेश्वरको वचन फिजाउनमा येशूको प्रचार गर्ने खप्पिस तरिका अपनाएका छन्। तिनीहरू आठ विभिन्न मुलुकबाट न्यु योर्कको प्याटर्सनस्थित वाचटावर शैक्षिक केन्द्रमा आएका थिए। पाँच महिने शिक्षणको दौडान तिनीहरूले पूरै बाइबल छिचोले। तिनीहरूको पाठ्यक्रममा परमेश्वरको संगठनको इतिहास, मिसनरी जीवनका व्यवहारिक पक्षहरू र परमेश्वरको आत्माको फलबारे पनि छलफल गरिएको थियो। यी सबै पाठ्यक्रमको एउटै उद्देश्य थियो, तिनीहरूलाई पठाइने १७ मुलुकमा मिसनरी सेवाको लागि तयार पार्नु। तिनीहरूको दीक्षान्त समारोहमा विश्वका चारैतिरबाट त्यहाँ उपस्थित ५,०१५ श्रोतागण हर्षविभोर भए। ती गिलियड विद्यार्थीहरूले अन्तमा कस्ता व्यवहारिक सल्लाहहरू पाए?
नयाँ मिसनरीहरूलाई समसामयिक प्रोत्साहन
कार्यक्रम अध्यक्षको प्रारम्भिक टिप्पणीपछि परिचालक निकायको कर्मचारी समितिका सहायक, राल्फ वोल्सले नयाँ मिसनरीहरूलाई व्यवहारिक सल्लाह दिंदै कार्यक्रमको पहिलो, छोटो भाषण दिए। तिनको भाषणको शीर्षक थियो, “प्रेम गर्न नबिर्सनुहोस्।” यो संसारमा झन् झन् प्रेम सेलाउँदै जाँदैछ भनेर बाइबलको पुस्तक २ तिमोथी अध्याय ३ ले अगमवाणी गरेको कुरा तिनले औंल्याए। तिनले प्रेमबारे १ कोरिन्थी १३:१-७ मा भएको विवरणअनुरूप नयाँ मिसनरीहरूलाई यसरी समसामयिक सम्झौटो प्रस्तुत गरे: “तपाईंहरूले मिसनरीहरूको हैसियतमा गर्नुपर्ने भन्दा धेरै सेवा गर्नुपर्ला। शायद तपाईंहरूले गिलियड प्रशिक्षणबाट ज्ञानको ढुकुटी प्राप्त गर्नुभएको छ। वा हामी शाखा कार्यालयमा जोसिलो भई गर्नुपर्नेभन्दा बढी काम गरौंला। तर प्रेम गर्न बिर्स्यौ भने, हाम्रा यी सबै प्रयास तथा त्यागहरूको केही अर्थ रहँदैन।”
त्यसपछि भाषण दिने पालो आयो परिचालक निकायका भाइ क्यारी बार्बरको। “यहोवाले हामीलाई विजय गराउन डोऱ्याउनुहुँदैछ” विषयमाथि तिनले छलफल गरे। परमेश्वरका विश्वासी सेवकहरू प्रथम विश्वयुद्धपछि बामे सर्न थालेदेखि यहोवा परमेश्वरले तिनीहरूलाई सतावटको बावजूद उहाँको राज्यको सुसमाचार उद्घोषणा गर्ने काममा विजय गराउन डोऱ्याइरहनुभएको छ। सन् १९३१ मा बाइबल स्टुडेन्टहरूले आफ्नो त्यो तत्कालीन चिरपरिचित नाउँको साटो यहोवाका साक्षीहरू नाउँ धारण गर्दा मसीहजगत्का पादरीवर्ग रीसले भुतुक्क भए। भाइ बार्बरले बताए, “गिलियड प्रशिक्षित मिसनरीहरूको यस १०२ औं कक्षाले महिमित कार्यमा जोडतोडले सहभागी हुने महान् सुअवसर पाएको छ। त्यो कार्य हो, यथासम्भव धेरैभन्दा धेरै मानिसहरूलाई पवित्र नाउँबारे सिकाउनु।” तिनीहरू ती ७,१३१ मिसनरीहरूका नाउँको लामो सूचीमा थपिएका छन्, जसले गिलियड स्कूलमा प्रशिक्षण लिएर परमेश्वरको वचनको प्रचारकार्यलाई सन् १९४३ मा ५४ वटादेखि अहिलेसम्म २३३ वटा मुलुकमा फैलाउन मदत पुऱ्याएका छन्।
त्यसपछिको वक्ता थिए, लोयड ब्यारी। तिनी पनि परिचालक निकायका सदस्य हुन् र ११ औं गिलियड स्नातक भएपछि २५ वर्षभन्दा धेरै समयसम्म जापानमा मिसनरी सेवा गरेका थिए। “यी कुरामा लागिबस” भन्ने तिनको भाषण प्रोत्साहनदायी थियो। तिनले विद्यार्थीहरूलाई भने, “सहँदाखेरि तपाईंहरूले धेरै आनन्द पाउनुहुनेछ।” मिसनरी सेवा वा अरू कुनै ईश्वरतान्त्रिक कार्यभारमा सहँदा कस्ता इनामहरू पाइन्छन्? “त्यसबाहेक, हामीले सहँदा यहोवा आनन्दित हुनुहुन्छ। . . . परीक्षा आइपरेको बेला निष्ठावान् हुँदा चौपट्टै सन्तुष्टि पाइन्छ। . . . मिसनरी सेवालाई तपाईंको जीवनको पेशा बनाउनुहोस्। . . . ‘श्याबास’ भनेर तपाईंले पाउनुहुने इनाम मर्मस्पर्शी हुनेछ।” (मत्ती २५:२१; हितोपदेश २७:११) जीवनभरि मिसनरी कार्य गर्ने संकल्प गरेर नयाँ मिसनरीहरू “यी कुराहरूमा लागि[रहून्]” भन्दै भाइ ब्यारीले आफ्नो प्रस्तुतिको निष्कर्षमा हार्दिक सुझाउ दिए।—१ तिमोथी ४:१६.
“तपाईं के देख्नुहुन्छ?” भनेर कार्ल आडम्सले सोधे। तिनले थुप्रै गिलियड कक्षाहरूलाई प्रशिक्षण दिइसकेका छन्। नयाँ मिसनरीहरूले आफ्नो कार्यभारमा देख्ने कुरा तिनीहरूको बाहिरी दृष्टिमा मात्र होइन तर आन्तरिक दृष्टिमा पनि भर पर्छ भनेर तिनले औंल्याए। (एफिसी १:१८) यो कुरा प्रतिज्ञाकृत भूमिमा सर्वेक्षण गर्न जाने इस्राएली गुप्तचरहरूले राखेको दृष्टिकोणबाट प्रष्ट हुन्छ। बाह्रै गुप्तचरहरूले बाहिरी दृष्टिकोणबाट एउटै कुरा देखे तर दुइ जनाले मात्र प्रतिज्ञाकृत भूमिप्रति परमेश्वरको दृष्टिकोण राखे। मिसनरीहरूले पनि विभिन्न तरिकाले हेर्नसक्छन्। तिनीहरूले सेवा गर्ने कतिपय मुलुकमा गरिबी, दुःख-पीडा र निराशा छाइरहेको होला। तर तिनीहरूले नकारात्मक दृष्टि राखेर आफ्नो कार्यभारलाई लत्याउनु हुँदैन। भर्खरै स्नातक भएका एक मिसनरीबारे भाइ आडम्सले बताए, जुन मिसनरीले यसो भनेका थिए: “यहाँ म बस्नुपर्छ भनेर यी दुःखदायी अनुभवहरूद्वारा बुझें। यी मानिसहरूलाई भविष्यको आशाको खाँचो छ। म तिनीहरूको जीवन सुधार्न चाहन्छु।” भाइ आडम्सले नयाँ मिसनरीहरूलाई आफू खटिएको क्षेत्रलाई यहोवाले विश्वव्यापी पार्थिव प्रमोदवनको भाग बनाउने निर्णय गर्नुभएको छ र त्यहाँका मानिसहरू नयाँ विश्व समाजका सम्भाव्य सदस्यहरू हुन् भन्ने दृष्टिकोण राख्न प्रोत्साहन दिंदै भाषण समाप्त गरे।
यस भागको अन्तिम भाषण वालेस लिभरन्सले दिए, तिनी गिलियड प्रशिक्षक हुनुअघि थुप्रै वर्ष मिसनरी सेवामा थिए। तिनको भाषणको शीर्षक थियो, “परमेश्वरका अद्भुत कार्यहरूप्रति अन्तरदृष्टि राख्दै कार्य गर्नुहोस्।” अन्तरदृष्टि राखेर कार्य गर्नुमा बुद्धि, विवेक र व्यवहारिक ज्ञान चलाउनु समावेश छ। त्यसै गर्न त इस्राएलको राजा शावल असफल भएका थिए।—१ शमूएल १३:९-१३; १५:१-२२.
अन्तरदृष्टि राखेर चल्ने एउटा तरिका हो, नयाँ भाषा सिक्नु र मानिसहरूसित घुलमिल हुनसक्नुलगायत नयाँ जीवनपद्धति अपनाउनको लागि काँटछाँट गर्दा आइपर्ने चुनौतीहरू स्वीकार्नु। परमेश्वरले खटाउनुभएको भूमिमा यहोशू र कालेबले विजय हासिल गर्दा तिनीहरू जुन ढंगमा सशक्त भए, त्यसरी नै चुनौतीहरू सामना गर्दा र बिघ्न बाधाहरू पार गर्दा पाइने अनुभवहरूले मिसनरीहरूलाई आध्यात्मिक तवरमा सशक्त बनाउनसक्छन्।
अन्तरवार्ता
त्यसपछिका कार्यक्रममा अन्तरवार्ताहरू लिइएका थिए। हारोल्ड ज्याकसनले गिलियड स्कूलको रजिस्ट्रार तथा धेरै समयदेखिका प्रशिक्षक, ८५ वर्षीय युलिसेज ग्लाससित अन्तरवार्ता लिए। तिनले विश्वासीपूर्वक दिएको शिक्षा र प्रशिक्षणलाई अहिले सेवारत मिसनरीहरू अझै झलझली सम्झन्छन्। त्यसपछि वक्तव्य दिने पालो आयो गिलियड प्रशिक्षक मार्क नुमारको। गिलियड स्कूलको प्रशिक्षकगणमा सामेल हुनअघि तिनी वर्षौंसम्म अफ्रिकामा मिसनरी थिए। पाँच महिने शिक्षणको दौडान विद्यार्थीहरूले गरेका सेवकाईबारे तिनले तिनीहरूसित अन्तरवार्ता लिए। ती विद्यार्थीहरूको अनुभवले के कुरा स्पष्टसित देखायो भने, स्थानीय क्षेत्रमा पनि परमेश्वरको वचनप्रति रुचि राख्ने मानिसहरू रहेछन्।
त्यसपछि, रबर्ट सिरांको र चार्ल्स माल्हानले शाखा कार्यालयका कार्यकर्ताहरूलाई प्रशिक्षण दिइने स्कूलमा उपस्थित भइरहेका अनुभवी व्यक्तिहरूसित अन्तरवार्ता लिए। तिनीहरूले स्नातक कक्षालाई सुझाउ दिंदा नम्र हुनु र मण्डलीको एकतामा योगदान पुऱ्याउनु अत्यावश्यक छ भनेर बताए। तिनीहरूले के सुझाउ दिए भने, स्नातकहरूले मिसनरी काममा आइपर्ने कुराहरूप्रति पूर्वधारणा राख्नु हुँदैन बरु जे आइपर्छ त्यसको हाँसीहाँसी सामना गर्नुपर्छ। यस सल्लाहलाई पालन गर्दा नयाँ मिसनरीहरूले परमेश्वरको वचनको शिक्षक हुने कार्यभारलाई पूरा गर्न अवश्यै मदत पाउनेछन्।
अन्तमा, परिचालक निकायका सदस्य थिअडर जारासले “के ले कसलाई प्रभाव पार्दैछ” भन्ने विषयमा श्रोतागणलाई भाषण दिए। मसीहीको हैसियतमा हामीले आत्माको फल प्रदर्शन गर्दा अरू मानिसमाथि राम्रो प्रभाव पर्नसक्छ भनेर तिनले बताए। तिनले भने, “यहोवाको संगठनले पठाएका मिसनरीहरूले मानिसहरूमा हितकर र आध्यात्मिक प्रभाव पारेर प्रशंसनीय रेकर्ड बनाएका छन्।” त्यसपछि तिनले त्यस्ता व्यक्तिहरूका टिप्पणी उद्धृत गरे, जसले मिसनरीहरूका असल उदाहरणबाट परमेश्वरलाई सेवा गर्न प्रेरणा पाएका छन्। तिनले निष्कर्षमा भने, “यहोवाका जनहरूले कमाएको असल नाउँलाई तपाईंहरूले कायम राख्नुका साथै विदेश भूमिमा कार्यभार सँभाल्दा योग्य जनहरूको ढोका ढकढकाइरहन सकून्। . . . त्यसबाहेक, तपाईंहरूले इमानदार र स्वच्छ आचरण देखाएर संसारको आत्माको प्रतिरोध गर्न अनि यहोवाका प्रशंसा र महिमाको लागि असल छाप पार्न सकून्।”
समापनमा कार्यक्रम अध्यक्षले टाढा र नजीकबाट पठाएका शुभेच्छाहरू सुनाए अनि दीक्षान्त दिएर मिसनरी कार्यभारहरू घोषणा गरे। त्यसपछि एक जना स्नातकले प्रशिक्षणको प्रबन्ध गरेकोमा धन्यवाद ज्ञापन गर्दै कक्षाको पारित प्रस्ताव पढेर सुनाए। स्पष्टतया, १०२ औं स्नातक कार्यक्रमले त्यहाँ उपस्थित सबैलाई परमेश्वरको वचन फैलाउनुमा अगाडि बढ्न अझ कटिबद्ध बनायो।
[पृष्ठ ३१-मा भएको ठूलो अक्षरको क्याप्सन]
वाचटावर बाइबल स्कूल अफ गिलियडको १०२ औं स्नातक कक्षा
देहायबमोजिम सूचीमा दिइएको लहर तथा नाउँहरू क्रमशः अगाडिबाट पछाडि र बायाँबाट दायाँतर्फ सुरु हुन्छ।
(१) डफी, सी.; आलेक्सिस, डी.; हार्फ, आर्.; ली, जे.; कोरी, भी.; नोर्टम, टी.; मोरा, एन.; जोर्नेट, एफ. (२) युपविक, एल.; सिङ, के.; हार्ट, बी.; कर्कोरियन, एम.; ली, एस्.; रास्टल, एस.; जुलन, के.; कोलेट, के. (३) सिङ, डी.; पीट्लु, जे.; पिट्लु, एफ.; बोकोक, एन.; टोर्मा, सी.; मस्लो, ए.; रिचर्डसन, सी.; नोर्टम, डी. (४) हार्फ, जे.; जोर्नेट, के.; बार्बर, ए.; लोबर्टो, जे.; लोबर्टो, आर.; मस्लो, एम.; मोरा, आर.; हार्ट, एम. (५) टोमा, एस्.; रास्टल, ए.; डायज, आर.; डायज, एच,; वाइजर, एम.; वाइजर, जे.; कर्कोरियन, जी.; जुलन, ए. (६) आलेक्सिस, आर.; बार्बर, डी.; युपविक, एच.; डफी, सी.; कोलेट, टी.; रिचर्डसन, एम.; बोकोक, एस.; कोरी, जी.