के चमत्कारद्वारा अझै पनि निको पार्न सकिन्छ?
“येशूलाई विश्वास गरेर निको हुनुहोस्!” यस्ता नाराहरूले गर्दा इभान्जेलिकल चर्चका सदस्य, आलिशान्ड्रेले आफ्नो रोगको लागि औषधी लिनु विश्वास गुमाउनु रहेछ भन्ठाने। विश्वास मात्र गरे चमत्कारद्वारा स्वतः निको हुन सकिन्छ भनेर तिनी विश्वस्त भए। बेनाडीटा कट्टर क्याथोलिक थिइन् र ब्राजिलको साऊ पाऊलु राज्यस्थित आपारेसीडा डा नोर्टेको पवित्र ठाउँमा चमत्कारद्वारा रोग निको पारिएको कुरा सुन्दा तिनी असाध्यै प्रभावित भइन्। आफ्नी ठूली आमाले सिकाएको मन्त्र जप्दै बेनाडीटाले बिरामी निको पार्ने शक्ति पाउन आपारेसीडा डाको हाम्री आमा, सन्त एन्थोनी र अरू “सन्तहरूलाई” प्रार्थना गरिन्।
स्पष्टतया, अहिले २०औं शताब्दीमा पनि थुप्रै मानिसहरू चमत्कारद्वारा निको हुने कुरामा विश्वास गर्छन्। तर किन? सम्भवतः चिकित्सकहरूले आफ्ना प्रियजन तथा विशेषगरि छोराछोरीको रोगबिमार र दुःखकष्ट हटाउन नसक्दा केही मानिसहरू हरेस खान्छन्। लामो समयदेखि थला परिरहेकाहरूले आधुनिक उपचारमा लाग्ने खर्चलाई याद गर्दै विश्वास गरेर चमत्कारद्वारा निको हुन्छ भने, आ! बरु त्यसो गर्नुमा के पो हानि छ र! भन्ने विचार राख्लान्। कसै कसैले चाहिं विभिन्न चर्चहरूले एड्स, नैराश्य, क्यान्सर, पागलपन, उच्च रक्तचाप र अरू थुप्रै बिमारीबाट निको हुन आह्वान गरिरहेको टिभीमा देख्छन्। यस्ता दाबीहरूमा विश्वास लागेको होस् या नहोस् तिनीहरू त्यसैलाई नै अन्तिम उपाय ठान्दै त्यसको पछि दौडनसक्छन्। त्यसबाहेक, दुष्टात्माहरूले गर्दा बिरामी भएका हुन् भन्ठान्नेहरूलाई चाहिं परम्परागत औषधी बेकाम लाग्ला।
अर्कोतर्फ, त्यस्ता व्यक्तिहरू पनि छन् जसले मृत “सन्तहरू” वा वर्तमान समयका निवारण गर्नेहरूले चमत्कारद्वारा निको पार्छन् भन्ने कुराको घोर विरोध गर्नु मात्र होइन निन्दा पनि गर्छन्। झर्नल डा टार्डे-अनुसार रोग प्रतिरक्षा विज्ञानी ड्रायुसियु के महसुस गर्छन् भने, यस्ता विश्वासले “सोझा र निराश मानिसहरूको विश्वासको खिल्ली उडाउँछ।” तिनी अझ यसो भन्छन्: “यी धोकेबाजहरूको कारण थुप्रैले चमत्कारमा आशा-भरोसा गरेर महत्त्वपूर्ण औषधोपचार गर्न छाड्नसक्छन्।” द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका बताउँछ: “बितेका समयमा भएका अपरम्पारिक निवारणहरू पवित्र स्थान तथा धार्मिक विधिविधानहरूसित सम्बन्धित थिए र उपचार विज्ञानले यसरी निको पारिने कार्यहरूलाई सम्मोहनको सामान्य प्रक्रिया परिस्थितिवश लाभकारी सिद्ध साबित भएको भन्छ।” तर यसो भए तापनि चमत्कारद्वारा आफू साँच्चै निको भएको दाबी गर्नेहरू थुप्रै छन्। तिनीहरूको दृष्टिकोणमा निवारण पक्कै भएको हो!
बाइबल पढ्नेहरूलाई येशूले थुप्रै अवसरमा बिमारी निको पार्नुभएको थाह छ। उहाँले त्यो सब “परमेश्वरको [“शक्तिले,” NW]” गर्नुभएको थियो। (लूका ९:४२, ४३) तसर्थ, मानिसहरू सोच्लान्, ‘के परमेश्वरको शक्ति अझै परिचालन भएर चमत्कारपूर्ण ढंगमा रोगहरू निको भइहेको छ?’ यदि त्यसो हो भने, निको पार्छु भनी दिएको वचन पूरा गर्न चालिएका प्रयासहरू किन खेर गए त? के यसो हुनुको कारण रोगीले पूर्ण विश्वास नगरेकोले या तिनले मनग्गे चन्दा नदिएकोले हो? पीडादायी वा सम्भवतः निको नहुने रोग लाग्दा कुनै मसीहीले चमत्कारद्वारा निको हुन खोज्नु के उचित हो? अनि के येशूले चमत्कारद्वारा गर्नुभएको अचूक निवारण कार्य फेरि हुनेछ? यी महत्त्वपूर्ण प्रश्नहरूका जवाफ तपाईंले अर्को लेखमा पाउन सक्नुहुन्छ।