चमत्कारद्वारा मानिसजाति निको हुने समय नजीकै छ
“हामीले यस्तो त कहिले देखेका थिएनौं।” येशूले पक्षाघातीलाई चमत्कारद्वारा निको पार्नुभएको देख्ने मानिसहरूले यसो भनेका थिए। (मर्कूस २:१२) येशूले अन्धा, गूँगा र लंगडालाई पनि निको पार्नुभयो अनि उहाँका अनुयायीहरूले पनि त्यसै गरे। कुन शक्तिले येशूले यसो गर्नुभयो? त्यतिबेला विश्वासले कस्तो भूमिका खेल्यो त? प्रथम शताब्दीका यी घटनाहरूले हाम्रो समयका चमत्कारी निवारणबारे के प्रकाश पार्छन्?—मत्ती १५:३०, ३१.
“तिम्रो विश्वासले तिमीलाई निको पारेको छ”
विश्वासको आधारमा निको पार्नेहरू येशूको यस भनाइलाई उद्धृत गर्न रुचाउँछन्, जुन उहाँले १२ वर्षदेखि रक्तस्रावले थला परिरहेकी स्त्रीलाई भन्नुभएको थियो: “तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” (लूका ८:४३-४८) ती स्त्री आफ्नो विश्वासको आधारमा निको भएकी थिइन् भनेर के येशूको भनाइबाट देखिन्छ? के आज त्यसैअनुरूप “विश्वासको आधारमा निवारण” गरिएको हो त?
बाइबल विवरण नियालेर पढ्दा के पाउँछौं भने, येशू र उहाँका चेलाहरूले धेरै अवसरहरूमा निको पार्नुहुँदा निवारण हुन बिरामी विश्वस्त हुनुपर्छ भनेर कहिल्यै भन्नुभएन। माथि उल्लिखित स्त्रीले येशूलाई केही नभनी चुपचाप पछाडिबाट छोइन् र “तुरुन्तै त्यसको रगत बग्ने रोकियो।” येशूले एक पटक आफूलाई गिरफ्तार गर्न आउनेहरूमध्ये एकलाई निको पार्नुभयो। आफूलाई चिन्दै नचिन्ने व्यक्तिलाई समेत येशूले निको पार्नुभयो।—लूका २२:५०, ५१; यूहन्ना ५:५-९, १३; ९:२४-३४.
त्यसोभए, विश्वासले कस्तो भूमिका खेल्यो त? येशू अनि उहाँका चेलाहरू टायर र सायडनका जिल्लातिर जानुहुँदा कनानी स्त्री आएर यसो भन्दै कराइन्: “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। मेरो छोरीलाई भूतले साह्रै ग्रस्त पारेको छ।” तिनी कति हतासिंदै पुकारा गरिरहेकी थिइन् होली, कल्पना गर्नुहोस्: “हे प्रभु, मलाई सहायता गर्नुहोस्।” दयाले ओतप्रोत हुनुहुँदै येशूले यस्तो जवाफ दिनुभयो: “ए नारी, तिम्रो विश्वास ठूलो रहेछ। जे तिमी इच्छा गर्दछ्यौ, तिमीलाई सो पुगोस्।” अनि तिनकी छोरी “त्यही घडीदेखि निको भइहाली।” (मत्ती १५:२१-२८) स्पष्टतया, यस घटनामा विश्वास मुछिएको थियो तर कसको विश्वास? ध्यान दिनुहोस् त, येशूले प्रशंसा गर्नुभएको त्यो विश्वास, आमाको थियो बिरामी बच्चाको होइन। अनि विश्वास के मा? त्यस स्त्रीले खुल्लमखुल्ला येशूलाई “हे प्रभु, दाऊदको पुत्र,” भन्दै पुकारेर प्रतिज्ञाकृत मसीह भनेर स्वीकारिन्। यो परमेश्वर वा निको पार्ने व्यक्तिको शक्तिमा मात्र गरिएको विश्वास थिएन। येशूले “तिम्रो विश्वासले तिमीलाई निको पारेको छ” भन्नुको अर्थ, उहाँलाई मसीहको रूपमा विश्वास नगरी ती रोगी उहाँकहाँ निको हुन आउनेथिएन।
यी धर्मशास्त्रीय नमुनाहरूमा हामी के पाउँछौं भने, येशूले निको पार्नुभएको कार्य अहिले जताततै देखिएका वा दाबी गरिएका निवारण कार्यभन्दा एकदमै फरक थियो। येशूले निको पार्नुहुँदा भावनात्मक प्रदर्शन अर्थात् भीडका मान्छेहरू चिच्याउने, मन्त्र जप्ने, रूँदै विलाप गर्ने, मूर्छा पर्ने र उहाँ चाहिं नाटकीय ढंगमा उत्तेजित हुने जस्ता कुरा भएनन्। त्यसबाहेक, रोगीले पूर्णतया विश्वास नगरेमा वा तिनीहरूले उदारचित्तले दान दिएनन् भनेर बहाना बनाउनुहुँदै येशूले कहिल्यै निको पार्न इन्कार गर्नुभएन।
परमेश्वरको शक्तिद्वारा निको पार्ने
येशू र उहाँका चेलाहरूले कसरी निको पार्नुभयो? बाइबल भन्छ, यहोवाले येशूलाई “निको पार्ने शक्ति” दिनुभएको थियो। (लूका ५:१७) एक व्यक्तिलाई निको पारेपछि “तिनीहरू सबै परमेश्वरको महत्त्व देखेर छक्क परे” भनी लूका ९:४३ मा बताइएको छ। हो, निको पार्ने व्यक्ति म नै हुँ भनेर येशूले आफूप्रति ध्यानाकर्षण गर्नुभएन। एक पटक उहाँले भूत निकाल्नुभएको व्यक्तिलाई यसो भन्नुभयो: “तिमी आफ्नो घरमा गएर तिम्रा मित्रहरूलाई सुनाइदेऊ, कि परमप्रभुले तिम्रो निम्ति कत्ति ठूलो काम गऱ्यो, र तिमीलाई दया देखायो।”—मर्कूस ५:१९.
येशू र उहाँका प्रेरितहरूले परमेश्वरको शक्तिद्वारा निको पार्नुभएको हुना कारण निको हुन चाहनेले विश्वास गरेकै हुनुपर्छ भन्ने थिएन भनेर सजिलै बुझ्न सकिन्छ। तथापि, निको पार्नेले भने बलियो विश्वास गर्न आवश्यक थियो। यसर्थ, येशूका चेलाहरूले अरूभन्दा शक्तिशाली प्रेतलाई निकाल्न नसक्दा उहाँले तिनीहरूलाई त्यसको कारण के हो भनेर यसरी बताउनुभयो: “तिमीहरूको अल्पविश्वासको कारणले।”—मत्ती १७:२०.
चमत्कारद्वारा निको पार्ने कार्यको उद्देश्य
येशूले आफ्नो पार्थिव सेवकाईको दौडान निको पार्ने कार्य थुप्रै गर्नुभए तापनि ‘त्यसैको’ पछि मात्र दौडनुभएन। उहाँले चमत्कारद्वारा निको पार्नुहुँदा मानिसहरूबाट पैसा वा चन्दा कहिल्यै माग्नुभएन र त्यो कार्य उहाँको मुख्य कार्य अर्थात् “राज्यको सुसमाचार प्रचार” गर्नु जत्तिको ठूलो थिएन। (मत्ती ९:३५) एउटा घटना विवरण यस्तो छ, “उहाँले तिनीहरूलाई खुशीसित ग्रहण गर्नुभयो, र परमेश्वरको राज्यको विषयमा सुनाउनुभयो, औ निको पार्नु पर्ने जतिलाई निको पार्नुभयो।” (लूका ९:११) सुसमाचारका पुस्तकहरूमा येशूलाई बेलाबेलामा “गुरु” भनेर सम्बोधन गरिएको भए तापनि “निको पार्ने” (निवारक) भनेर कहिल्यै सम्बोधन गरिएको छैन।
त्यसोभए, येशूले किन चमत्कारद्वारा निको पार्नुभएको त? मुख्यतः आफूलाई प्रतिज्ञा गरिएको मसीहको रूपमा चिनाउन। बप्तिस्मा दिने यूहन्ना अन्यायको शिकार भएर झ्यालखानामा परेका थिए र परमेश्वरले सुम्पनुभएको कार्य आफूले पूरा गरें भन्ने आश्वासन त्यहाँ तिनलाई चाहिएको थियो। तिनले येशूकहाँ आफ्ना चेलाहरू पठाएर यसरी सोध्न लगाए: “के आउनेवाला चाहिं तपाईंनै हुनुहुन्छ, कि हामीहरू अर्कोको बाटो हेरौं?” येशूले यूहन्नाका चेलाहरूलाई के भन्नुभयो ध्यान दिनुहोस्: “गएर यूहन्नालाई तिमीहरूले सुनेका र देखेका कुराहरू सुनाइदेओ। अन्धाहरू देख्तछन्, र लंगडाहरू हिंड्दछन्। कोरीहरू शुद्ध पारिएका छन्। बहिराहरू सुन्छन्। मरेकाहरू बिउँझाइन्छन् र दरिद्रहरूलाई सुसमाचार सुनाइन्छ।”—मत्ती ११:२-५.
हो, येशूले गर्नुभएका निवारणलगायत चमत्कारद्वारा गर्नुभएका अरू कार्यहरू जुन सुसमाचार पुस्तकहरूमा लिपिबद्ध छन्, त्यसले उहाँलाई प्रतिज्ञाकृत मसीह अर्थात् “आउनेवाला” भनेर चिनाउँछ। “अर्कोको बाटो हेर्नु” जरुरी थिएन।
आज चमत्कारद्वारा निको पार्ने कार्य?
त्यसोभए, आज पनि परमेश्वरले निको पार्नुभएर आफ्नो शक्तिको प्रमाण देओस् भन्ने आशा हामीले गर्नुपर्ने हो त? अहँ, होइन। परमेश्वरको शक्तिद्वारा येशूले जुन चमत्कारी कार्यहरू गर्नुभयो, त्यसद्वारा निस्सन्देह परमेश्वरले प्रतिज्ञा गर्नुभएको मसीह येशू नै हुनुहुन्थ्यो भनेर पूरै प्रमाणित भयो। येशूका शक्तिशाली कार्यहरू बाइबलमा लिपिबद्ध छन् ताकि सबैले पढ्न सकून्। परमेश्वरले आफ्नो शक्तिको प्रमाण दिन एकपछि अर्को पुस्तामा त्यस्तो चमत्कारी कार्य गरिरहनुपर्छ भन्ने छैन।
चाखलाग्दो कुरा, निको पार्ने कार्य र अरू चमत्कारी कार्यहरूले केही हदसम्म मात्र मानिसहरूलाई विश्वास दिलाउन सके। येशूले गर्नुभएका चमत्कारहरू आफ्नै आँखाले देख्नेहरूले समेत स्वर्गमा हुनुहुने पिताले येशूलाई मदत गरिरहनुभएको थियो भनेर विश्वास गरेनन्। “उहाँले तिनीहरूका सामु यतिका चिह्नहरू देखाउनुभएको थियो, तथापि तिनीहरूले उहाँलाई विश्वास गरेनन्।” (यूहन्ना १२:३७) त्यसैकारण, परमेश्वरले प्रथम शताब्दीको मण्डलीलाई दिनुभएको विभिन्न चमत्कारपूर्ण उपहारहरू अर्थात् भविष्यवाणी गर्ने, अन्य भाषा बोल्ने, निको पार्ने र अरू त्यस्तैबारे कुरा गरेपछि प्रेरित पावल यसो भन्न प्रेरित भए: “चाहे अगमवाणीहरू होऊन्, ती टली जान्छन्, चाहे भाषाहरू होऊन्, ती बन्द हुन्छन्। चाहे बुद्धि होस्, त्यो रद्दी हुन्छ। किनकि हामी केही मात्र जान्दछौं, औ केही मात्र अगमवाणी बोल्दछौं। तर जब सिद्धचाहिं आउँछ, तब अपूरो कुरो टलेर जान्छ।”—१ कोरिन्थी १२:२८-३१; १३:८-१०.
निस्सन्देह, हाम्रो भलाइको लागि परमेश्वरमा विश्वास गर्नु महत्त्वपूर्ण छ। तथापि, निको पार्ने झूटो प्रतिज्ञाहरूमा विश्वास गर्दा निराश मात्र हुनेछ। त्यसबाहेक, येशूले अन्तको समयबारे यस्तो चेताउनी दिनुभयो: “किनकि झूटा ख्रीष्टहरू, र झूटा अगमवक्ताहरू खडा हुनेछन्, औ हुनसके चुनिएकाहरूलाई पनि भ्रममा पार्नालाई, ठूल-ठूला चिह्नहरू र आश्चर्यका कामहरू देखाउनेछन्।” (मत्ती २४:२४) त्यति मात्र कहाँ हो र, धाक लगाउने र जालझेलबाहेक प्रेतवादी शक्ति पनि प्रदर्शित हुनेथियो। त्यसैकारण वर्णन गरेर गरी नसक्ने ताजुब लाग्दा घटनाहरूको दाबीले हामीलाई छक्क पार्नु हुँदैन अनि ती दाबी परमेश्वरप्रतिको साँचो विश्वासमा आधारित भएकै हुँदैनन्।
आज कसैले पनि येशूले झैं निको पार्न नसक्ने भएकोले हामीलाई बेफाइदा भएको छैन र? अहँ, पटक्कै भएको छैन। वास्तवमा, येशूले निको पार्नुभएका मानिसहरू फेरि बिरामी पर्नसक्थे। तिनीहरू सबै बूढो भए र मरे। तिनीहरू क्षणिक समयको लागि निको भएका थिए। यद्यपि, येशूले चमत्कारद्वारा निको पार्नुभएको कार्यले भावी आशिष्हरूको पूर्वचित्रण गरेर चिरकालीन अर्थ राख्थ्यो।
यसर्थ, अघिको लेखमा उल्लिखित आलिशान्ड्रे र बेनाडीटाले परमेश्वरको वचन बाइबल जाँचेपछि आजका प्रेतवादी निवारण कार्यहरूमा विश्वास गर्न छाडे। तर, यसका साथसाथै चमत्कारद्वारा निको पारिने ती कार्यहरू विगतका कुरा मात्र होइनन् भनेर पनि तिनीहरू विश्वस्त भए। किन? किनभने, विश्वभरिका लाखौं व्यक्तिहरूजस्तै तिनीहरू पनि परमेश्वरको राज्यअन्तर्गत निको हुने आशिष्को प्रतीक्षामा छन्।—मत्ती ६:१०.
बिमारी र मृत्यु हुनेछैन
हामीले अघि बुझेअनुसार, येशूको सेवकाईको मुख्य उद्देश्य बिरामी निको पार्नु र अरू चमत्कारहरू गर्नु थिएन। बरु, उहाँले परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नुलाई नै आफ्नो मुख्य काम बनाउनुभयो। (मत्ती ९:३५; लूका ४:४३; ८:१) त्यसै राज्य मार्फत परमेश्वरले चमत्कारद्वारा मानिसजातिलाई निको पार्नुहुन्छ अनि पाप र असिद्धताका सारा प्रभावहरूलाई मानव परिवारबाट हटाउनुहुनेछ। उहाँले यो कसरी र कहिले पूरा गर्नुहुनेछ?
भावी कुराहरूबारे बताउनुहुँदै ख्रीष्ट येशूले प्रेरित यूहन्नालाई यस्तो भविष्यसूचक दर्शन दिनुभयो: “अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँको ख्रीष्टको अख्तियार आएको छ!” (प्रकाश १२:१०) सबै प्रमाणले देखाएअनुसार सन् १९१४ देखि परमेश्वरको घोर विरोधी शैतानलाई पृथ्वीमा फालिएको छ र परमेश्वरको राज्य साँच्चै अहिले परिचालन भइरहेको छ! येशूलाई मसीह राज्यको राजा नियुक्त गरिएको छ र उहाँ अहिले पृथ्वीमा ठूलो परिवर्तन गर्न तयार हुनुहुन्छ।
अब चाँडै नै येशूको स्वर्गीय सरकारले धार्मिक नयाँ मानव समाज अर्थात् “नयाँ पृथ्वी[मा]” शासन गर्नेछ। (२ पत्रुस ३:१३) त्यसपछि कस्तो परिस्थिति हुनेछ? त्यसबारे यस्तो पूर्वदृष्टि दिइएको छ: “मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी ता बितिहाले . . . . औ [परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:१, ४.
चमत्कारद्वारा मानिसजाति साँच्चै निको हुँदा कस्तो हुन्छ होला भनेर के कल्पना गर्न सक्नुहुन्छ? “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्: ‘म बिरामी परें।’ ” हो, विश्वासको आधारमा निको पार्नेहरूले गर्न नसकेको कुरा परमेश्वरले गर्नुहुनेछ। “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ।” वास्तवमा, “उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा दूर गर्नुहुनेछ।”—यशैया २५:८; ३३:२४.
[पृष्ठ ७-मा भएका चित्र]
परमेश्वरको राज्यमा चमत्कारद्वारा मानिसजाति निको हुनेछ