प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ८/१५ pp. ४-७
  • उद्धार—यसको वास्तविक अर्थ के हो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उद्धार—यसको वास्तविक अर्थ के हो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उद्धार—के सबै धर्ममा पाइन्छ?
  • उद्धार पाउन येशूबारे सही ज्ञान लिनु अत्यावश्‍यक
  • परमेश्‍वरबारे सही ज्ञान पनि अत्यावश्‍यक
  • आत्मा र सत्यतामा
  • विश्‍वासले काम गर्न प्रेरित गर्छ
  • उद्धारको अर्थ तपाईंको निम्ति के हुनसक्छ
  • तपाईंको “मुक्‍तिको आशा” उज्ज्वल राख्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मुक्‍ति पाउनु भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • के यहोवाका साक्षीहरू आफू मात्र बच्नेछन्‌ भनी विश्‍वास गर्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • ‘एक पटक मुक्‍ति पाउँदैमा त्यो कहिल्यै गुम्दैन’?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ८/१५ pp. ४-७

उद्धार—यसको वास्तविक अर्थ के हो

‘के तपाईंले उद्धार पाउनुभयो?’ यो प्रश्‍न गर्ने मानिसहरू अक्सर आफूले उद्धार पाइसकेको विचार गर्छन्‌ किनभने तिनीहरूले ‘येशूलाई आफ्नो व्यक्‍तिगत मुक्‍तिदाताको रूपमा’ स्वीकारेका छन्‌। तथापि, कोही कोही चाहिं उद्धार पाउने विभिन्‍न मार्गहरू छन्‌ र ‘येशू आफ्नो हृदयमा’ होऊञ्जेल जेसुकैमा विश्‍वास गरे तापनि वा जुनसुकै चर्चमा गए पनि, त्यसले केही फरक पार्दैन भन्छन्‌।

“सबै मानिसहरूले उद्धार पाऊन्‌” भन्‍ने परमेश्‍वर चाहनुहुन्छ भनी बाइबलले भन्छ। (१ तिमोथी २:३, ४) अतः, स्वीकार्ने जति सबैले उद्धार पाउनसक्छन्‌। तर उद्धार पाउनुको अर्थ के हो? के यो तपाईंले अलिकति वा प्रयासै नगरी त्यत्तिकै पाउने कुरा हो?

“उद्धार” भन्‍ने शब्दको अर्थ “खतरा वा विनाशबाट मुक्‍ति” हो। अतः साँचो उद्धार पाउन स्वच्छ मनस्थिति मात्र भएर पुग्दैन। यसको अर्थ, यस दुष्ट रीतिरिवाजको विनाश र अन्ततः मृत्युबाटै उद्धार पाउनु हो! तर परमेश्‍वरले कस कसको उद्धार गर्नुहुनेछ? उत्तरको लागि यस विषयमा येशू ख्रीष्टले के सिकाउनुभयो आउनुहोस्‌, हामी हेरौं। हाम्रो अनुसन्धानबाट पत्ता लागेको जानकारी थाह पाउनुहुँदा तपाईं छक्क पर्नु होला।

उद्धार—के सबै धर्ममा पाइन्छ?

एक चोटि, येशूले सामरी स्त्रीसित कुरा गर्नुभएको थियो। त्यस स्त्री यहूदी नभए तापनि “ख्रीष्ट भन्‍ने” मसीह आउनुहुनेछ भनी विश्‍वास गर्थिन्‌ र त्यसो गर्नु उचित पनि थियो। (यूहन्‍ना ४:२५) उद्धार पाउन के त्यो विश्‍वास यथेष्ट थियो त? थिएन किनभने येशूले त्यस स्त्रीलाई खुलस्त भन्‍नुभयो: “तिमीहरू जे जान्दैनौ, त्यो पुज्दछौ।” त्यस स्त्रीले उद्धार पाउने हो भने तिनले आफ्नो उपासना गर्ने ढंगमा परिवर्तन ल्याउनुपर्छ भनी येशूलाई थाह थियो। त्यसैले येशूले यसो भन्‍नुभयो: “तर बेला आउँछ, र अहिल्यै हो, जब साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्‌। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ।”—यूहन्‍ना ४:२२, २३.

अर्को अवसरमा येशूले यहूदी धर्मको प्रतिष्ठित धार्मिक गुट, फरिसीहरूलाई औंल्याउँदै उद्धारबारे आफ्नो दृष्टिकोण प्रकाश पार्नुभयो। फरिसीहरूले आफ्नै शैलीको उपासना विधि बनाएका थिए र त्यसले परमेश्‍वरको अनुमोदन पाएको छ भन्ठान्थे। तर येशूले फरिसीहरूलाई के भन्‍नुभयो, ध्यान दिनुहोस्‌: “ए कपटी हो, यशैयाले तिमीहरूका विषयमा यसो भनेर ठीक ठीक अगमवाणी बोले, ‘यस जातिले आफ्ना ओठले मेरो आदर गर्दछ। तर तिनीहरूको हृदय मबाट टाढ़ा छ। औ मानिसका आदेशहरू तिनका सिद्धान्त जस्तागरी तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्‌।’ ”—मत्ती १५:७-९.

ख्रीष्टमा विश्‍वास गर्छु भनी दाबी गर्ने अहिलेका थुप्रै धार्मिक समूहहरूबारे के भन्‍न सकिन्छ नि? के येशूले यी सबै धार्मिक समूहहरूलाई उद्धार पाउने मार्गको रूपमा अनुमोदन दिनुहुन्छ? यस सन्दर्भमा हामीले कुनै अड्‌कल लाइराख्नु पर्दैन किनभने येशूले स्पष्टसित यसो भन्‍नुभयो: “मलाई प्रभु, प्रभु, भन्‍ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन। तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ। त्यो दिन धेरैले मलाई भन्‍नेछन्‌, ‘हे प्रभु, हे प्रभु के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं, र तपाईंको नाउँमा सामर्थ्यका काम गरेनौं र?’ अनि म तिनीहरूलाई खुल्लमखुल्ला भन्‍नेछु, मैले तिमीहरूलाई कहिले चिनेकै छैनँ। ए अधम काम गर्ने हो, मबाट दूर होओ।”—मत्ती ७:२१-२३.

उद्धार पाउन येशूबारे सही ज्ञान लिनु अत्यावश्‍यक

येशूका यी शब्दहरूले हाम्रोनिम्ति गहिरो अर्थ राख्छ। धार्मिक झुकाउ भएका थुप्रै मानिसहरू “पिताको इच्छा पालन” गर्न असफल भएका छन्‌ भनेर त्यसले संकेत गर्छ। त्यसोभए, साँचो उद्धार कसरी पाउन सकिन्छ त? पहिलो तिमोथी २:३, ४ ले यसरी जवाफ दिन्छ: “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको [“सही,” NW] ज्ञानमा आऊन्‌ भन्‍ने इच्छा [परमेश्‍वर] गर्नुहुन्छ।”—कलस्सी १:९, १० तुलना गर्नुहोस्‌।

उद्धार पाउन यस्तो ज्ञान नलिई हुँदैन। रोमी झ्यालखानाका हाकिमले प्रेरित पावल र तिनको साथी सिलासलाई “हजूर हो, मैले के गरेदेखि उद्धार पाउनसक्छु?” भनेर सोध्दा तिनीहरूले “प्रभु येशू ख्रीष्टमा विश्‍वास गर्नुहोस्‌, र तपाईंले उद्धार पाउनुहुनेछ, तपाईं र तपाईंका परिवारले” भनेर जवाफ दिएका थिए। (प्रेरित १६:३०, ३१) यसको अर्थ, के झ्यालखानाका हाकिम अनि तिनको परिवारले केही खास प्रकारका भावनाहरू राखे मात्र पुग्ने थियो त? होइन किनभने साँच्चै “प्रभु येशू ख्रीष्टमा विश्‍वास” गर्न येशू को हुनुहुन्छ, उहाँले के गर्नुभयो र के सिकाउनुभयो भनी तिनीहरूसित केही ज्ञान हुनुपर्थ्यो।

उदाहरणका लागि, येशूले स्वर्गीय सरकार अर्थात्‌ “परमेश्‍वरको राज्य[को]” स्थापनाबारे सिकाउनुभयो। (लूका ४:४३) उहाँले मसीही नैतिकता र आचरणबारे पनि निर्देशनहरू दिनुभयो। (मत्ती, अध्याय ५-७) राजनैतिक मामिलामा उहाँका चेलाहरूले कस्तो अडान लिनेछन्‌, त्यो पनि औंल्याउनुभयो। (यूहन्‍ना १५:१९) उहाँले विश्‍वव्यापी शिक्षण कार्यक्रम स्थापना गर्नुभयो र आफ्ना अनुयायीहरूलाई यसमा भाग लिने आदेश दिनुभयो। (मत्ती २४:१४; प्रेरित १:८) हो, ‘येशूमा विश्‍वास गर्नुको’ अर्थ धेरै कुराहरू बुझ्नु थियो! त्यसैकारण त पावल र सिलासले झ्यालखानाका हाकिम र तिनको परिवारले बप्तिस्मा लिनु अघि “तिनको घरमा भएका जत्ति सबैलाई प्रभुको वचन सुनाए।”—प्रेरित १६:३२, ३३.

परमेश्‍वरबारे सही ज्ञान पनि अत्यावश्‍यक

येशूमाथि साँच्चै विश्‍वास गर्न येशू स्वयंले विश्‍वास गर्नुभएको परमेश्‍वरको उपासना गर्नु पनि अत्यावश्‍यक छ। येशूले यसरी प्रार्थना गर्नुभयो: “औ अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३.

पार्थिव सेवकाईको दौडान परमेश्‍वरको पुत्रले आफूतिर नभई सधैं आफ्नो पितातर्फ ध्यानाकर्षण गर्नुभयो। उहाँले कहिल्यै सर्वोच्च परमेश्‍वर हुँ भनेर दाबी गर्नुभएन। (यूहन्‍ना १२:४९, ५०) उहाँ पिताको अधीनमा हुनुहुन्छ भनेर येशूले बारम्बार भन्‍नुभयो र परमेश्‍वरको प्रबन्धमा आफ्नो स्थान के हो, त्यो प्रस्ट पार्नुभयो। (लूका २२:४१, ४२; यूहन्‍ना ५:१९) अझ येशूले यस्तो घोषणा गर्नुभयो: “पिता मभन्दा महान्‌ हुनुहुन्छ।” (यूहन्‍ना १४:२८) परमेश्‍वर र ख्रीष्टबीचको वास्तविक सम्बन्धबारे के तपाईंको चर्चले सिकाएको छ? वा तपाईंलाई येशू स्वयं नै सर्वोच्च परमेश्‍वर भनी सिकाएको छ? सही ज्ञान पाउनुमै तपाईंको उद्धार निर्भर छ।

प्रभुको प्रार्थनामा येशूले आफ्ना चेलाहरूलाई यस्तो प्रार्थना गर्न आग्रह गर्नुभयो: “तपाईंको नाउँ पवित्र गरिओस्‌।” (मत्ती ६:९) बाइबलका थुप्रै अनुवादहरूले परमेश्‍वरको नाउँ हटाएर “प्रभु” मात्र लेखेका छन्‌। तर “पुरानो नियम”-का पुराना प्रतिहरूमा परमेश्‍वरको नाउँ छ हजार चोटिभन्दा बढी उल्लेख भएको छ! अतः भजन ८३:१८ मा यसो भनिएको छ: “तिनीहरूले जानून्‌, कि तपाईं जसको नाउँ परमप्रभु [“यहोवा,” NW] हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” के तपाईंले परमेश्‍वरको यहोवा भन्‍ने नाउँ चलाउन सिक्नुभएको छ? छैन भने, तपाईंको उद्धार खतरामा छ किनभने “जसले परमप्रभुको [“यहोवा,” NW] नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ!”—प्रेरित २:२१; तुलना गर्नुहोस्‌ योएल २:३२.

आत्मा र सत्यतामा

येशू ख्रीष्टले परमेश्‍वरको वचन बाइबलतर्फ पनि ध्यानाकर्षण गर्नुभयो। कुनै विषयमा परमेश्‍वरको दृष्टिकोणबारे व्याख्या गर्नुपर्दा उहाँ अक्सर यसो भन्‍नुहुन्थ्यो: “यस्तो लेखिएको छ।” (मत्ती ४:४, ७, १०; ११:१०; २१:१३) मर्नुअघिको रात येशूले आफ्ना चेलाहरूका लागि यसरी प्रार्थना गर्नुभयो: “सत्यले तिनीहरूलाई पवित्र गर्नुहोस्‌, तपाईंको वचन सत्य हो।”—यूहन्‍ना १७:१७.

अतः, उद्धारको लागि नभई नहुने अर्को आवश्‍यकता परमेश्‍वरको वचन, बाइबलका शिक्षाहरू बुझ्नु हो। (२ तिमोथी ३:१६) यस्ता प्रश्‍नहरूको जवाफ बाइबलले मात्र दिन्छ: जीवनको अर्थ के हो? परमेश्‍वरले किन अहिलेसम्म दुष्टता रहिरहन दिनुभएको? मान्छे मरेपछि के हुन्छ? के परमेश्‍वरले साँच्चै मानिसलाई नरककुण्डमा यातना दिनुहुन्छ? यस पृथ्वीको लागि परमेश्‍वरले के उद्देश्‍य राख्नुभएको छ?a यी विषयहरूमा सही ज्ञान छैन भने मानिसले परमेश्‍वरलाई उचित ढंगमा उपासना गर्न सक्दैन किनभने येशूले यसो भन्‍नुभयो: “साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्‌।”—यूहन्‍ना ४:२३.

विश्‍वासले काम गर्न प्रेरित गर्छ

उद्धार पाउन जानकारीहरू हासिल गरेर मात्र पुग्दैन। ग्राही हृदयले परमेश्‍वरको सही ज्ञान प्राप्त गरेपछि विश्‍वास पनि गर्न थाल्छ। (रोमी १०:१०, १७; हिब्रू ११:६) त्यस्तो विश्‍वासले सिकेको कुरा व्यवहारमा उतार्न प्रेरित गर्छ। उदाहरणका लागि, बाइबलले यस्तो सल्लाह दिन्छ: “पश्‍चाताप गर्नुहोस्‌, र फर्कनुहोस्‌, र तपाईंहरूका पाप मेटिओस्‌, औ प्रभुका उपस्थितबाट आरामको समय आओस्‌।”—प्रेरित ३:१९.

हो, उद्धार पाउन आचरण तथा नैतिकतामा पनि परमेश्‍वरका स्तरहरूअनुरूप चल्नु महत्त्वपूर्ण छ। परमेश्‍वरको वचनको प्रभावमा परेपछि झूट बोल्ने तथा छल गर्नेजस्ता पुराना बानीहरू इमानदारी र सत्यतामा परिणत हुन्छ। (तीतस २:१०) समलैंगिकता, व्यभिचार र जारीजस्ता अनैतिक आचरणहरूको ठाउँ स्वच्छ नैतिक आचरणले लिन्छ। (१ कोरिन्थी ६:९-११) बानीबेहोरामा हुने यस्तो परिवर्तन भावनामा बहेर एक छिनको लागि मात्र हुने होइन। बरु, होशियारीपूर्वक परमेश्‍वरको वचन अध्ययन गरेर व्यवहारमा उतार्दा हुने स्थायी परिवर्तन हो।—एफिसी ४:२२-२४.

समयमा, परमेश्‍वरप्रतिको प्रेम र मूल्यांकनले निष्कपट हृदय भएकाहरूलाई परमेश्‍वरप्रति पूर्णतया समर्पित हुन र पानीमा बप्तिस्मा लिएर समर्पण जाहेर गर्न प्रेरित गर्छ। (मत्ती २८:१९, २०; रोमी १२:१) परमेश्‍वरको नजरमा बप्तिस्माप्राप्त मसीहीहरूले उद्धार पाएका हुन्छन्‌। (१ पत्रुस ३:२१) यस दुष्ट संसारको विनाश हुँदा तिनीहरूलाई पूर्णतया जोगाएर उहाँले तिनीहरूको उद्धार गर्नुहुनेछ।—प्रकाश ७:९, १४.

उद्धारको अर्थ तपाईंको निम्ति के हुनसक्छ

यस छोटो छलफलबाट उद्धार पाउन ‘प्रभु येशूलाई हृदयमा’ राखेर मात्र पुग्दैन भनी स्पष्ट हुन्छ। उद्धार पाउन यहोवा परमेश्‍वर अनि येशू ख्रीष्टको सही ज्ञान लिएर जीवनमा चाहिंदो छाँटकाँट गर्नुपर्छ। यो सुन्दा साह्रै गाह्रो लाग्ला तर तपाईंलाई मदत गर्न यहोवाका साक्षीहरू तत्पर छन्‌। निश्‍शुल्क गृह बाइबल अध्ययनद्वारा तिनीहरूले तपाईंलाई साँचो उद्धारको मार्गमा लाग्न मदत गर्नसक्छन्‌।b

परमेश्‍वरको आउनै लागेको न्यायको दिनलाई विचार गर्दा उद्धार पाउन पहिलाभन्दा अहिले हतारिनुपर्छ भनी प्रस्टै हुन्छ! अगमवक्‍ताका यी शब्दहरू पालन गर्ने समय अहिल्यै हो: “सजायको आज्ञा आउन अघिनै र भूस जस्तै दिन बितेर जान अघिनै, परमप्रभुको भयंकर रीस तिमीहरूमाथि आउन अघिनै, परमप्रभुको रीसको दिन तिमीहरूमाथि आउन अघिनै जम्मा होऊ। हे पृथ्वीका दीन जन हो, जसले उहाँको न्यायको वचन पालन गरेको छ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।”—सपन्याह २:२, ३.

[फुटनोटहरू]

a यी विषयहरूमा छलफल गर्न कृपया वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित पुस्तक ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ हेर्नुहोस्‌।

b तपाईं निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न इच्छुक हुनुहुन्छ भने, कृपया यहोवाका साक्षीहरूको स्थानीय मण्डलीसित सम्पर्क राख्नुहोस्‌। वा यस पत्रिकाका प्रकाशकहरूसित सम्पर्क राख्न सक्नुहुन्छ।

[पृष्ठ ६-मा भएको पेटी]

उद्धार पाउन . . .

◻ परमेश्‍वर र येशूको सही ज्ञान लिनुपर्छ।—यूहन्‍ना १७:३.

◻ विश्‍वास गर्नुपर्छ।—रोमी १०:१७; हिब्रू ११:६.

◻ पश्‍चात्ताप गरेर सही मार्गमा हिंड्‌नुपर्छ।—प्रेरित ३:१९; एफिसी ४:२२-२४.

◻ समर्पण गरेर बप्तिस्मा लिनुपर्छ।—मत्ती १६:२४; २८:१९, २०.

◻ सार्वजनिक रूपमा घोषणा गरिरहनुपर्छ।—मत्ती २४:१४; रोमी १०:१०.

[पृष्ठ ७-मा भएको चित्र]

बाइबल अध्ययन, सिकेको कुरा व्यवहारमा उतार्ने, समर्पण गर्ने र बप्तिस्मा उद्धार पाउन चाल्नुपर्ने खुड्‌किलाहरू हुन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने