तपाईंको “मुक्तिको आशा” उज्ज्वल राख्नुहोस्!
“मुक्तिको आशाको टोप पहिरेर . . . रहौं।”—१ थिस्सलोनिकी ५:८.
१. “मुक्तिको आशा[ले]” हामीलाई धैर्य धारण गर्न कसरी मदत गर्छ?
उद्धार पाउने आशाले मानिसलाई अत्यन्तै कठिन अवस्थामा समेत थाम्नसक्छ। पानीजहाज दुर्घटनामा परेका मानिस, उसलाई बचाउन कोही आइरहेको छ भनेर थाह पाउँदा सानो फलेकमा समेत लामो समयसम्म तैरेर बसिरहनसक्छ। त्यस्तै गरी, हजारौं वर्षदेखि विश्वासी पुरुष तथा स्त्रीहरूलाई “परमप्रभुले . . . दिनुहुने उद्धार[ले]” समस्याको बेला सँभालेको छ र यस आशाले कहिल्यै निराश तुल्याएको छैन। (प्रस्थान १४:१३; भजन ३:८; रोमी ५:५; ९:३३) प्रेरित पावलले “परप्रभुले . . . दिनुहुने उद्धारलाई” मसीहीहरूको आध्यात्मिक “टोप[सित]” तुलना गरे। (१ थिस्सलोनिकी ५:८; एफिसी ६:१७) हो, परमेश्वरले हामीलाई बचाउनुहुनेछ भनेर विश्वस्त भयौं भने त्यसले हाम्रो मन सुरक्षित राख्नेछ अनि कठिनाइ, सतावट र प्रलोभनको बावजूद सजग रहन मदत गर्नेछ।
२. “मुक्तिको आशा” कुन कुन तरिकामा साँचो उपासनाको आधार हो?
२ प्रथम शताब्दीका मसीहीहरूका समयमा “गैरमसीहीहरूमाझ भविष्यमा आशा राख्ने चलन थिएन” भनी दी इन्टरनेसनल स्टाण्डर्ड बाइबल इनसाइक्लोपीडिया बताउँछ। (एफिसी २:१२; १ थिस्सलोनिकी ४:१३) यद्यपि, “मुक्तिको आशा” साँचो उपासनाको मुख्य आधार हो। कसरी? प्रथमतः यहोवाका सेवकहरूको मुक्ति उहाँको नाउँसित गाँसिएको छ। भजनरचयिता आसापले यस्तो प्रार्थना गरे: “हे हामीलाई उद्धार गर्ने परमेश्वर, तपाईंको नाउँको महिमाको निम्ति हामीलाई सहायता गर्नुहोस्, आफ्नो नाउँको खातिर हामीलाई छुटाउनुहोस्।” (भजन ७९:९; इजकिएल २०:९) यसबाहेक, यहोवासित राम्रो सम्बन्ध कायम राख्न उहाँले प्रतिज्ञा गर्नुभएका आशिष्हरूमा भरोसा गर्नु अत्यावश्यक छ। पावलले यसप्रकार लेखे: “विना विश्वास उहाँलाई रिझाउन असम्भव छ। किनभने जो परमेश्वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने अवश्य विश्वास गर्नुपर्छ।” (हिब्रू ११:६) साथै, येशू यस पृथ्वीमा आउनुको मुख्य कारण पश्चात्तापीहरूको उद्धार गर्नु हो भनेर पावलले बताए। तिनले यस्तो घोषणा गरे: “यो वचन विश्वासयोग्य र हर प्रकारले ग्रहणयोग्य छ, कि ख्रीष्ट येशू संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभएको हो।” (१ तिमोथी १:१५) अनि प्रेरित पत्रुसले मुक्ति “विश्वासको फल” हो भनेर संकेत गरे। (१ पत्रुस १:९) साँच्चै, मुक्तिको आशा गर्नु उपयुक्त छ। मुक्ति भनेको वास्तवमा के हो? अनि यो पाउन के आवश्यक छ?
मुक्ति भनेको के हो?
३. पुरातन समयका यहोवाका सेवकहरूले कस्तो प्रकारको मुक्ति अनुभव गरे?
३ हिब्रू धर्मशास्त्रमा अक्सर “मुक्ति”-को अर्थ दमनकारीहरू वा अकालमै हिंस्रक मृत्यु हुनुबाट उद्धार वा छुटकारा पाउनु हो। उदाहरणका लागि, यहोवा “उद्धारक” हुनुहुन्छ भन्दै दाऊदले यसो भने: “मेरा परमेश्वर, मेरा चटान, . . . मेरा शरणस्थान, मलाई उद्धार गर्नुहुने, जसले मलाई विपद्देखि बचाउनुहुन्छ। म परमप्रभुको पुकारा गर्नेछु, जो सबै प्रशंसाको योग्य हुनुहुन्छ, औ म मेरा शत्रुहरूदेखि छुटकारा पाउनेछु।” (२ शमूएल २२:२-४) आफ्ना विश्वासी सेवकहरूले सहायताको निम्ति पुकार्दा यहोवाले सुन्नुहुन्छ भनेर दाऊदलाई थाह थियो।—भजन ३१:२२, २३; १४५:१९.
४. मसीहीपूर्व समयका यहोवाका सेवकहरूले कस्तो भावी जीवनको आशा गर्थे?
४ मसीहीपूर्व समयका यहोवाका सेवकहरूले पनि भावी जीवनको आशा गर्थे। (अय्यूब १४:१३-१५; यशैया २५:८; दानियल १२:१३) वास्तवमा, हिब्रू धर्मशास्त्रमा पाइने थुप्रै उद्धारका प्रतिज्ञाहरू अनन्त जीवनतर्फ डोऱ्याउने अर्थात् महान् मुक्तिको भविष्यसूचक थिए। (यशैया ४९:६, ८; प्रेरित १३:४७; २ कोरिन्थी ६:२) येशूको दिनमा थुप्रै यहूदीहरू अनन्त जीवनको आशा गर्थे तर तिनीहरूले यस आशालाई यथार्थतामा परिणत गर्ने मुख्य आधार येशू हुनुहुन्छ भन्ने कुरा अस्वीकार गरे। येशूले आफ्नो समयका धर्मगुरुहरूलाई यसो भन्नुभयो: “धर्मशास्त्रमा खोजी हेर, किनभने तिनमा तिमीहरूलाई अनन्त जीवन छ भनी तिमीहरू सम्झन्छौ, औ मेरो विषयमा गवाही दिने तिनै हुन्।”—यूहन्ना ५:३९.
५. मुक्तिको अर्थ वास्तवमा के हो?
५ येशूमार्फत परमेश्वरले मुक्तिको विस्तृत अर्थ खुलाउनुभयो। यसमा पाप, झूटो धर्म, शैतानको वशमा भएको संसार, मानिसको भय र मृत्युको डरबाट समेत छुटकारा समावेश छ। (यूहन्ना १७:१६; रोमी ८:२; कलस्सी १:१३; प्रकाश १८:२, ४) अन्ततः परमेश्वरका विश्वासी सेवकहरूको निम्ति परमेश्वरले दिनुहुने मुक्तिको अर्थ दमन र नैराश्यबाट मात्र उद्धार नभई अनन्त जीवन प्राप्त गर्ने सुअवसर पनि हो। (यूहन्ना ६:४०; १७:३) “सानो बगाल[को]” निम्ति मुक्तिको अर्थ परमेश्वरको राज्यमा ख्रीष्टसँगै शासन गर्न स्वर्गीय जीवनमा पुनरुत्थान हुनु हो भनेर येशूले सिकाउनुभयो। (लूका १२:३२) बाँकी मानिसजातिको निम्ति मुक्तिको अर्थ सिद्ध शरीर अनि आदम र हव्वाले पाप गर्नुअघि अदनको बगैंचामा आनन्द उठाएको परमेश्वरसितको सम्बन्धमा पुनर्स्थापित हुनु हो। (प्रेरित ३:२१; एफिसी १:१०) मानिसजातिले त्यस्तो प्रमोदवनरूपी अवस्थामा अनन्त जीवन पाओस् भन्ने नै परमेश्वरको सुरुको उद्देश्य थियो। (उत्पत्ति १:२८; मर्कूस १०:३०) तर त्यस्तो अवस्थामा पुनर्स्थापित हुन कसरी सम्भव छ?
छुडौतीको बलिदान—मुक्तिको आधार
६, ७. हाम्रो मुक्तिमा येशूले कस्तो भूमिका निर्वाह गर्नुहुन्छ?
६ ख्रीष्टको छुडौतीको बलिदानमार्फत मात्रै अनन्त मुक्ति सम्भव छ। किन? किनभने आदमले पाप गर्दा आफू अनि आफ्ना भावी सन्तति सबैलाई तिनले पापमा ‘बेचे’ भनेर बाइबलले बताउँछ। त्यसैकारण, मानिसजातिलाई ठोस आशा प्रदान गर्न छुडौतीको बलिदान आवश्यक पऱ्यो। (रोमी ५:१४, १५; ७:१४) मानिसजातिको निम्ति परमेश्वरले छुडौतीको बलिदानको प्रबन्ध गर्नुहुनेछ भन्ने कुरा मोशालाई दिइएको व्यवस्था अन्तर्गत चढाइने पशु बलिले पनि चित्रण गऱ्यो। (हिब्रू १०:१-१०; १ यूहन्ना २:२) ती भविष्यसूचक दृश्यहरू येशूको बलिदानद्वारा पूरा भयो। येशूको जन्मअघि यहोवाको स्वर्गदूतले यस्तो घोषणा गरे: “उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।”—मत्ती १:२१; हिब्रू २:१०.
७ येशूको जन्म कुमारी मरियमको कोखबाट चमत्कारपूर्ण ढंगमा भएको थियो र परमेश्वरको पुत्र हुनुभएकोले उहाँले आदमबाट वंशानुगत मृत्यु पाउनुभएन। यस तथ्यका साथै उहाँको सिद्ध विश्वासी जीवनले मानिसजातिलाई पाप र मृत्युबाट पुनः किन्न आवश्यक मोल प्रदान गऱ्यो। (यूहन्ना ८:३६; १ कोरिन्थी १५:२२) येशू अन्य मानिसहरूजस्तो पापको कारण मर्नु आवश्यक थिएन। उहाँ यस पृथ्वीमा आउनुको उद्देश्य “धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई” थियो। (मत्ती २०:२८) त्यति गरिसक्नुभएकोले, अहिले पुनरुत्थान भएर सिंहासनमा बस्नुभएको येशू, परमेश्वरले चाहेअनुसार सबैलाई उद्धार गर्ने अवस्थामा हुनुहुन्छ।—प्रकाश १२:१०.
मुक्ति पाउन के चाहिन्छ?
८, ९. (क) एक जवान धनी शासकले मुक्तिबारे गरेको प्रश्नको जवाफ येशूले कसरी दिनुभयो? (ख) येशूले यस अवसरको फाइदा उठाउँदै आफ्ना चेलाहरूलाई के सिकाउनुभयो?
८ एक जवान धनी इस्राएली शासकले येशूलाई यस्तो प्रश्न गरे: “अनन्त जीवनको हकदार हुनालाई मैले के गर्नुपर्छ?” (मर्कूस १०:१७) तिनको प्रश्नले त्यतिबेला व्याप्त यहूदीहरूको सोचाइ प्रकाश पारिरहेको हुनसक्छ। त्यतिबेला परमेश्वरले केही खास असल कार्यको माग गर्नुहुन्छ र सो कार्यहरू पर्याप्त मात्रामा गर्नाले परमेश्वरबाट मुक्ति पाइन्छ भन्ने सोचाइ राखिन्थ्यो। तर त्यस प्रकारको औपचारिकता पूरा गर्ने जस्तो भक्ति स्वार्थी मनोवृत्तिबाट उत्पन्न हुनसक्छ। त्यसले मुक्तिको साँचो आशा प्रदान गर्न सकेन किनभने कुनै पनि असिद्ध मानिसले परमेश्वरको स्तर दुरुस्त पूरा गर्नसक्दैन।
९ त्यस मानिसको प्रश्नको जवाफमा येशूले परमेश्वरको आज्ञा पालन गर्नुपर्छ भनी सम्झाउनुभयो। त्यस जवान शासकले येशूलाई आफूले परमेश्वरको आज्ञा त बाल्यावस्थादेखि नै पालन गरेको छु भनेर विश्वस्त गराए। तिनको जवाफ सुनेपछि येशूलाई तिनीप्रति दया जाग्यो। येशूले तिनलाई यसो भन्नुभयो: “तिमीलाई अझ एउटा कुराको अभाव छ, जाऊ, र तिम्रो जे जत्ति छन् बिक्री गर, र गरीबहरूलाई देऊ, अनि तिमीले स्वर्गमा सम्पत्ति पाउनेछौ, र आएर मेरो पछि लाग।” तर त्यस जवान मानिस दुःखी भएर गए किनभने “त्यो धेरै धन-सम्पत्ति भएको मानिस थियो।” त्यसपछि, येशूले आफ्ना चेलाहरूलाई संसारका कुराहरूलाई बढ्तै महत्त्व दियो भने, त्यो नै मुक्तिको बाधक हुनसक्छ भनेर जोड दिनुभयो। आफ्नै प्रयासले कसैले पनि मुक्ति पाउन सक्दैन भनेर पनि उहाँले बताउनुभयो। तर येशूले तिनीहरूलाई यस्तो आश्वासन पनि दिनुभयो: “मानिसलाई यो असम्भव छ, तर परमेश्वरलाई ता होइन, किनकि परमेश्वरलाई सबै सम्भव हुन्छ।” (मर्कूस १०:१८-२७; लूका १८:१८-२३) त्यसोभए, मुक्ति कसरी सम्भव छ?
१०. मुक्ति पाउन हामीले कस्ता आवश्यकताहरू पूरा गर्नैपर्छ?
१० मुक्ति, परमेश्वरले दिनुहुने वरदान हो तर यो स्वतः पाइँदैन। (रोमी ६:२३) यस वरदान पाउन योग्यको हुन व्यक्तिविशेषले केही खास आधारभूत कुराहरू पूरा गर्नैपर्छ। येशूले भन्नुभयो: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” अनि प्रेरित यूहन्नाले यसो भने: “जसले पुत्रमाथि विश्वास गर्छ, त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन, त्यसले जीवन देख्नेछैन।” (यूहन्ना ३:१६, ३६) स्पष्टतः अनन्त मुक्तिको आशा गर्ने व्यक्तिविशेषबाट परमेश्वर विश्वास र आज्ञाकारिता चाहनुहुन्छ। प्रत्येकले छुडौतीको बलिदान स्वीकार्ने र येशूको पाइला पछ्याउने निर्णय गर्नैपर्छ।
११. असिद्ध मानिसले परमेश्वरको अनुग्रह कसरी प्राप्त गर्नसक्छ?
११ असिद्ध भएको कारण स्वाभाविकतः आज्ञाकारी हुने झुकाउ हाम्रो हुँदैन र दुरुस्त गरेर आज्ञा पालन गर्नु सम्भव पनि छैन। त्यसैकारण, हाम्रो पाप ढाक्न यहोवाले छुडौतीको बलिदान प्रबन्ध गर्नुभयो। यद्यपि, हामीले परमेश्वरको तौरतरिकाअनुसार जीवन बिताउने निरन्तर प्रयास गरिनै रहनुपर्छ। येशूले धनी शासकलाई भन्नुभएझैं हामीले परमेश्वरको आज्ञा पालन गर्नैपर्छ। त्यसो गर्दा हामीले परमेश्वरको अनुग्रह प्राप्त गर्नुका साथै आनन्दित पनि हुनेछौं किनभने “उहाँका आज्ञाहरू कड़ा छैनन्” र यसले “मलहम[को]” काम गर्छ। (१ यूहन्ना ५:३; हितोपदेश ३:१, ८) तैपनि, मुक्तिको आशा पक्रिराख्न सजिलो छैन।
“विश्वासको निम्ति उत्कटसाथ कम्मर कस”
१२. मुक्तिको आशाले कसरी मसीहीलाई अनैतिक प्रलोभनहरूको प्रतिरोध गर्न बलियो बनाउनसक्छ?
१२ चेला यहूदा प्रारम्भिक मसीहीहरूलाई “[तिनीहरू] सहभागी भएको उद्धारको विषयमा” लेख्न चाहन्थे। तथापि, त्यतिबेला व्याप्त खराब नैतिक वातावरणको कारण आफ्ना भाइहरूलाई “विश्वासको निम्ति उत्कटसाथ कम्मर कस भनेर” सल्लाह दिन तिनी बाध्य भए। हो, मुक्ति पाउन परिस्थिति अनुकूल भएको बेला मात्र विश्वास गर्नु, साँचो मसीही विश्वासमा लगिरहनुका साथै आज्ञाकारी हुनु पर्याप्त छैन। यहोवाप्रतिको भक्तिले हामीलाई प्रलोभन तथा अनैतिक प्रभावहरूको प्रतिरोध गर्न बल दिनुपर्छ। यद्यपि, अचाक्ली नैतिक विकृति, अख्तियारवालाहरूप्रतिको अनादर, विभाजन र शंका उपशंकाले प्रथम शताब्दीका मण्डलीलाई भ्रष्ट पारिरहेको थियो। त्यस्ता झुकाउहरूसित जुझ्ने मदत दिन यहूदाले सँगी विश्वासीहरूलाई आ-आफ्ना उद्देश्यहरू मनमा राखिराख्न आग्रह गरे: “हे प्रिय हो, तिमीहरूचाहिं तिमीहरूको अति पवित्र विश्वासमा आफ्नो उन्नति गर्दै, पवित्र आत्मामा प्रार्थना गरी, अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको आशा राखी, तिमीहरू आफैलाई परमेश्वरको प्रेममा राखिछोड़।” (यहूदा ३,४, ८, १९-२१) मुक्ति पाउने आशाले तिनीहरूलाई नैतिक तवरमा स्वच्छ रहने लडन्त लडिरहन मदत गर्नसक्थ्यो।
१३. परमेश्वरको अनुग्रह हामीले बिर्सेका छैनौं भनेर कसरी देखाउनसक्छौं?
१३ उहाँले मुक्ति दिनुहुने मानिसहरूको नैतिक आचरण उदाहरणीय होस् भन्ने यहोवा परमेश्वर चाहनुहुन्छ। (१ कोरिन्थी ६:९, १०) तथापि, परमेश्वरको नैतिक स्तर पक्रिराख्नुको अर्थ अरूको आलोचक हुनु भनेको होइन। हाम्रा सहमानवहरूको अनन्त भविष्य निर्णय गर्ने काम हाम्रो होइन। बरु, पावलले एथेन्समा भएका ग्रीकहरूलाई भनेझैं त्यो काम परमेश्वरले गर्नुहुन्छ: “उहाँले एक दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँ आफूले नियुक्त गर्नुभएको मानिस [येशू ख्रीष्टद्वारा] धर्मपूर्वक संसारको इन्साफ गर्नुहुनेछ।” (प्रेरित १७:३१; यूहन्ना ५:२२) हामीले येशूको छुडौतीको बलिदानको विश्वासअनुरूप जीवन बिताइरहेका छौं भने आउन लागेको न्यायको दिनबारे चिन्ता गर्नु पर्दैन। (हिब्रू १०:३८, ३९) महत्त्वपूर्ण कुरा, गलत सोचाइ र आचरणको प्रलोभनमा परेर “परमेश्वरको अनुग्रह [छुडौतीको बलिदानद्वारा हाम्रो उहाँसित पुनः मिलाप] व्यर्थैमा ग्रहण” नगर्नु हो। (२ कोरिन्थी ६:१) यसबाहेक, अरूलाई मुक्ति पाउन मदत गर्दा हामीले परमेश्वरको कृपा बिर्सेका छैनौं भनेर देखाइरहेका हुनेछौं। हामीले अरूलाई कसरी मदत गर्नसक्छौं?
मुक्तिको आशा अरूसित बाँड्ने
१४, १५. मुक्तिको सुसमाचार घोषणा गर्न येशूले कसलाई खटाउनुभयो?
१४ योएल अगमवक्तालाई उद्धृत गर्दै पावलले यस्तो लेखे: “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” अनि तिनले फेरि यसो भने: “तब जसलाई तिनीहरूले विश्वास गरेकै छैनन् उहाँलाई कसरी पुकार्ने? जसलाई तिनीहरूले सुनेकै छैनन् उहाँलाई कसरी विश्वास गर्ने? औ प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्नसक्लान्?” केही पदपछि पावलले विश्वास आफै आउँदैन बरु, “विश्वास सुनाइबाट, र सुनाइचाहिं ख्रीष्टको वचनबाट आउँछ” भनेर औंल्याए।—रोमी १०:१३, १४, १७; योएल २:३२.
१५ मानिसहरूलाई “ख्रीष्टको वचन” कसले सुनाउनेछ? येशूले यो काम “वचन” सिकिसकेका आफ्ना चेलाहरूलाई दिनुभयो। (मत्ती २४:१४; २८:१९, २०; यूहन्ना १७:१९ख) हामीले परमेश्वरको राज्य प्रचारकार्य र चेला बनाउने काममा भाग लिंदा प्रेरित पावलले भनेझैं गरिरहेका हुनेछौं। यसपटक यशैयालाई उद्धृत गर्दै तिनले यसो भने: “असल कुराका शुभ समाचार ल्याउनेहरूका खुट्टा कति राम्रा!” हामीले बताउने सुसमाचारको थुप्रैले मूल्यांकन नगरे तापनि यहोवाको निम्ति हाम्रो खुट्टा “राम्रा” छन्।—रोमी १०:१५; यशैया ५२:७.
१६, १७. हाम्रो प्रचारकार्यले कुन दुई उद्देश्यहरू पूरा गर्छ?
१६ यो आज्ञा पूरा गर्दा हामीले दुई महत्त्वपूर्ण उद्देश्य पूरा गरिरहेका हुनेछौं। पहिलो हो, परमेश्वरको नाउँ उच्च पार्न र मुक्ति चाहनेहरूलाई कहाँ जाने थाह दिन, सुसमाचार प्रचार गर्नुपर्छ। पावलले आज्ञाको यस पक्षलाई बुझेका थिए। तिनले यसो भने: “यसो भनेरनै प्रभुले हामीलाई अह्राउनुभएको छ, ‘मैले तिमीलाई अन्यजातिहरूका ज्योतिको निम्ति ठहराएको छु, र तिमी पृथ्वीको अन्तसम्म मुक्तिको लागि खड़ा होऊ।’ ” तसर्थ, ख्रीष्टका चेलाहरूको हैसियतमा हामी प्रत्येकले मानिसहरूलाई मुक्तिको सन्देश सुनाउने कार्यमा भाग लिनैपर्छ।—प्रेरित १३:४७; यशैया ४९:६.
१७ दोस्रो, सुसमाचार प्रचार गर्दा परमेश्वरको धार्मिक इन्साफको निम्ति आधार तयार हुन्छ। त्यस इन्साफबारे येशूले यसो भन्नुभयो: “जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्, र जसरी गोठालोले भेड़ाहरूलाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ।” इन्साफ र छुट्याउने काम ‘मानिसको पुत्र महिमामा आएपछि’ मात्र हुने भए तापनि प्रचारकार्यले मानिसहरूलाई आज ख्रीष्टका आत्मिक भाइहरूलाई चिन्ने र आफ्नो अनन्त मुक्तिका लागि तिनीहरूलाई समर्थन गर्ने सुअवसर प्रदान गरिरहेको छ।—मत्ती २५:३१-४६.
“पूरा आशा” कायम राख्नुहोस्
१८. हामीले आफ्नो “मुक्तिको आशा” कसरी उज्ज्वल राख्नसक्छौं?
१८ प्रचार कार्यमा सक्रियतासाथ भाग लिनुको अर्थ आफ्नै आशालाई उज्ज्वल राख्नु पनि हो। पावलले लेखे: “तिमीहरू हरेकले पूरा आशाको निम्ति अन्तसम्मै त्यही किसिमको प्रयत्न देखाउनेछौ भन्ने हामी इच्छा गर्दछौं।” (हिब्रू ६:११) तसर्थ, हामी प्रत्येकले “मुक्तिको आशाको टोप पहिरेर” “परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नाको निम्ति नियुक्त गर्नुभयो” भनेर सम्झौं। (१ थिस्सलोनिकी ५:८, ९) पत्रुसको यस सल्लाहलाई हामी पनि हृदयंगम गरौं: “आफ्नो मन बाँधेर सचेत होओ, र येशू ख्रीष्टको प्रकाशमा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा तिमीहरूको आशा ठीकसँग राख।” (१ पत्रुस १:१३) त्यसो गर्ने सबैले आफ्नो “मुक्तिको आशा” पूर्णतया पूरा भएको देख्नेछ!
१९. अर्को लेखमा हामी के छलफल गर्नेछौं?
१९ तर त्यतिञ्जेल यस दुष्ट रीतिरिवाजको बाँकी रहेको समयप्रति हाम्रो कस्तो दृष्टिकोण हुनुपर्छ? हामीले यो बाँकी रहेको समय आफ्नो र अरूको मुक्तिको निम्ति कसरी प्रयोग गर्नसक्छौं? हामी यी प्रश्नहरूको जवाफ अर्को लेखमा छलफल गर्नेछौं?
के तपाईं बुझाउन सक्नुहुन्छ?
• हामीले आफ्नो “मुक्तिको आशा” किन उज्ज्वल राख्नुपर्छ?
• मुक्तिमा के समावेश छ?
• मुक्तिको वरदान पाउन हामीले के गर्नुपर्छ?
• हाम्रो प्रचारकार्यले परमेश्वरको कुन उद्देश्य पूरा गर्छ?
[पृष्ठ १०-मा भएका चित्रहरू]
मुक्तिको अर्थ विनाशबाट छुटकारा पाउनु मात्र होइन