प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १०/१५ pp. ८-१२
  • हाम्रो समयसम्म बाइबल कसरी आइपुगेको छ—भाग तीन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो समयसम्म बाइबल कसरी आइपुगेको छ—भाग तीन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मिसनरी तथा बाइबल सोसाइटीहरू
  • एक अनुवादकको परीक्षा
  • बाइबल अनेकन्‌ विवादहरूमा मुछिन्छ
  • पत्ता लागेका विभिन्‍न कुराहरूले बाइबल पदहरू प्रमाणित गर्न मदत गर्छन्‌
  • वाच टावर सोसाइटी र बाइबल
  • एउटै अनुवाद संस्करण तर थुप्रै भाषाहरूमा
  • सबै मानिसहरूका लागि सुसमाचार
  • चलनचल्तीका भाषाहरूमा “कुरा गर्ने” किताब
    सबैका लागि उपयोगी किताब
  • परमेश्‍वरको वचनका प्रेमीहरूका लागि उल्लेखनीय उपलब्धि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • कुरा गर्न रुचाउनुहुने परमेश्‍वर—यहोवा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • विश्‍वभरि लाखौंले मन पराएको न्यु वर्ल्ड ट्रान्सलेशन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १०/१५ pp. ८-१२

हाम्रो समयसम्म बाइबल कसरी आइपुगेको छ—भाग तीन

बर्मा, १८२४—राजाका हाकिमहरूले भर्खरै मात्र अडोनिराम र एन जडसनको मिसनरी गृहको खानतलास गरेर बहुमूल्यजस्तो लागेका सबै कुराहरू जफत गरिसके। तर तिनीहरूले सबैभन्दा बहुमूल्य खजाना भने हात पार्न सकेनन्‌। त्यो हो, अनुवाद भइसकेको बाइबल हस्तलिपि जसलाई एनले घरमुनि लुकाएर राखेकी थिइन्‌। अनुवादक, अडोनिराम जासुसी गरेको अभियोगमा स्याउँस्याउँती लामखुट्टे भएको जेलमा कोचिनुपऱ्‍यो। अब ओसले त्यो हस्तलिपि बिग्रनसक्ने डर छ। अब यसलाई कसरी बचाउन सकिन्छ? एनले तकियाभित्र त्यो हस्तलिपि कोचेर सिलाइन्‌ र त्यही तकिया जेलमा परेको पतिलाई दिइन्‌। यसरी तकियाभित्रको कागजात बिग्रन पाएन र यो प्रथम बर्मेली बाइबलको अंश बन्‍न पुग्यो।

बाइबलले समयको दौडान त्यस्ता थुप्रै खतराहरू भोग्नुपऱ्‍यो। यसअघिका अंकहरूमा हामीले बाइबलको लेखनकार्य पूरा भएदेखि सन्‌ १६०० दशकको सुरुसम्म यसको अनुवाद र वितरण कार्य कसरी सम्पन्‍न भयो, त्यसबारे छलफल गऱ्‍यौं। त्यो समयदेखि हाम्रो समयसम्म बाइबलले के कस्ता झमेलाहरू पार गरेको छ? के यो सबै मानिसहरूका लागि सर्वसुलभ हुनसक्ला? यस कार्यमा वाच टावर सोसाइटीले कस्तो भूमिका निर्वाह गरेको छ?

मिसनरी तथा बाइबल सोसाइटीहरू

सन्‌ १६०० र १७०० को दशकतिर थुप्रै मुलुकहरूमा बाइबल पढ्‌ने ठूलो लहड चलेको थियो। यो समयमा बाइबलले विशेषगरि बेलाइतलाई ठूलो प्रभाव पारेको थियो। भनौं भने, बेलाइतका राजादेखि लिएर हलो जोत्ने केटोलाई समेत बाइबल आधारित कथा तथा शिक्षाहरूले प्रभाव पारेका थिए। तर बाइबलले पारेको प्रभाव त्यति मात्र थिएन। बेलाइत त्यतिबेला सामुद्रिक व्यापारमा नामुद हुनुका साथै शक्‍तिशाली उपनिवेश पनि थियो। अनि त्यतिखेर केही बेलाइतीहरू यात्रा गर्दा बाइबल पनि सँगै लैजान्थे। फलस्वरूप, विस्तृत बाइबल अभियानको लागि आधार तयार भयो।

सन्‌ १७०० दशकको अन्ततिर बेलाइती साम्राज्य टाढ-टाढासम्म फैलिसकेको थियो। बाइबलको प्रभावले गर्दा त्यतिबेला कोही कोही बेलाइतीहरूले ती ठाउँका स्थानीय मानिसहरूका आध्यात्मिक आवश्‍यकताहरूबारे पनि ध्यान दिनुपर्ने महसुस गर्न थाले। तथापि, सबैको सोचाइ त्यस्तो थिएन। चर्च धाउने थुप्रै मानिसहरू पूर्वनिर्धारित भविष्यमा विश्‍वास राख्थे र कसैकसैको उद्धार नहुनु परमेश्‍वरकै इच्छा हो भन्ठान्थे। भावी मिसनरी विलियम क्यारीले भारतमा मिसनरी कार्य थाल्नको लागि समर्थन बटुल्न एउटा भावोत्तेजक भाषण दिंदा एक जना मानिसले गाली गर्दै यसो भने: “ए केटो, तिमी ढुक्क भएर बसे हुन्छ। बाइबलमा विश्‍वास नराख्ने मानिसहरूलाई बाइबलमा विश्‍वास गर्न लगाउन परमेश्‍वरलाई तिम्रो मदतको कुनै खाँचो पर्नेछैन!” तर यस्ता अप्ठ्याराहरूको बावजूद क्यारीले १७९३ मा भारततर्फ समुद्री यात्रा थाले। छक्कलाग्दो कुरा, तिनले सम्पूर्ण बाइबल वा केही अंशहरू गरेर ३५ वटा भारतीय भाषामा अनुवाद गरे।

सबैभन्दा आधारभूत साधन, स्थानीय भाषामा बाइबल उपलब्ध हुनु हो भनी मिसनरीहरूले बुझे। यद्यपि, बाइबल कसले जुटाउनेथियो? चाखलाग्दो कुरा, संसारभरि बाइबल वितरण गर्ने अभियान चलाउने मेरी जोन्स नाउँ गरेकी १६ वर्षीया वेल्स केटी थिइन्‌। तर यस कार्यमा आफ्नो यत्तिको महत्त्वपूर्ण भूमिका होला भनेर तिनलाई पत्तै थिएन। सन्‌ १८०० तिरको कुरा हो, पादरीबाट वेल्स बाइबल किन्‍न मेरीले खाली खुट्टा ४० किलोमिटर हिंडिन्‌। तिनले अलि अलि गरेर छ वर्षसम्म पैसा साँचेकी थिइन्‌। त्यहाँ पुग्दा बाइबल सबै बिक्री भइसकेको कुरा थाह पाउँदा मेरी अलापविलाप गरेर रोइन्‌। यो घटनाले पादरीको मन पग्ल्यो र मेरीलाई आफ्नै एउटा बाइबल दिए।

त्यसपछि, पादरीले अरू त्यस्ता थुप्रै व्यक्‍तिहरूबारे सोच्न थाले जसलाई बाइबलको आवश्‍यकता थियो। तिनले यसबारे लण्डनका साथीहरूसित पनि छलफल गरे। फलस्वरूप, १८०४ मा बेलाइती तथा विदेशी बाइबल समाज गठन भयो। यसको उद्देश्‍य सरल थियो: “छेउछाउमा कुनै टिकाटिप्पणीहरू नभएको” बाइबल स्थानीय मानिसहरूको भाषामा छाप्ने र सबैले किन्‍नसक्ने मोलमा उपलब्ध गराउने। छेउछाउका टिप्पणीहरू हटाएर बेलाइती बाइबल सोसाइटीका संस्थापकहरूले सैद्धान्तिक विवादमा नमुछिने आशा गरेका थिए। तर शंकास्पद पुस्तक, पानीको बप्तिस्मा र त्रिएकको सिद्धान्तजस्ता विषयहरूमा भने बाइबल सोसाइटी धेरै चोटि विवादमा मुछियो।

त्यो सुरुको जोश चारैतिर फैलिन धेरै बेर लागेन। अनि १८१३ तिर जर्मनी, नेदरल्याण्डस, डेनमार्क र रूसमा बाइबल सोसाइटीका उपशाखाहरू स्थापना भइसकेका थिए। कालान्तरमा अरू मुलुकहरूमा पनि बाइबल सोसाइटीहरू स्थापना हुन थाले। सुरुका बाइबल सोसाइटीहरूले आफ्नो लक्ष्य निर्धारण गर्दा संसारका प्रमुख भाषाहरू दुइ चार वटा मात्र होलान्‌ भन्ठानेका थिए। हजारौंको संख्यामा भाषाहरू होलान्‌ भनेर त कल्पनासमेत गरेका थिएनन्‌! सोझै स्थानीय भाषामा अनुवाद गर्न कोही कोही अनुवादकहरूलाई मात्र हिब्रू र युनानी भाषाको ज्ञान थियो। त्यसकारण, बेलाइती तथा विदेशी बाइबल सोसाइटीले अनुवाद कार्यहरूको प्रायोजन गर्दा स्थानीय अनुवादकहरूले प्रायजसो अंग्रेजी भाषाको किङ जेम्स भर्सन-लाई अनुवाद गर्ने आधार माने।

एक अनुवादकको परीक्षा

प्रायः दिनहुँजसो हुने घटनाहरूमा आधारित वृत्तान्त तथा उदाहरणहरू बाइबलमा उल्लिखित छन्‌। यसकारण, दर्शनशास्त्रको अस्पष्ट भाषामा लेखिएका कुराहरूभन्दा बाइबल अनुवाद गर्न सजिलो भएको छ। तथापि, सुरु सुरुतिरका कृतिहरूमा गोलमाल वा हाँसउठ्‌दो अनुवादहरू त पक्कै भए होलान्‌। उदाहरणका लागि, एउटा अनुवादअनुसार भारतको एउटा भागका मानिसहरूले परमेश्‍वर भनेको नीलो रंगको व्यक्‍ति भनेर बुझेका थिए। “स्वर्गमा हुनुहुने पिता” भन्‍ने अभिव्यक्‍तिमा “स्वर्गमा हुनुहुने” भनेको अक्षरशः स्वर्ग अर्थात्‌ “आकाशको रंग” भनेर बुझायो!

अनुवादकले भोग्ने कठिनाइहरूबारे अडोनिराम जडसनले १८१९ मा यसो लेखे: “पृथ्वीको अर्को कुनामा बसोबास गर्ने मानिसहरूले बोल्ने भाषा सिक्नु चानचुने मेहनत गरेर पुग्ने कुरा होइन। किनकि तिनीहरूको सोचाइ र हाम्रो सोचाइमा आकाश जमीनको फरक हुन्छ। अनि नता तिनीहरूको भाषा हामीले पहिले कतै कहिल्यै सुनेका हुन्छौं। अक्षर र शब्दहरू हाम्रोलागि अत्यन्त नौला हुन्छन्‌ नै त्यसमाथि हामी विदेशीहरूलाई मदत गर्न एउटै शब्दकोश वा उल्थाकारसमेत नभएकोले रैथाने भाषा गुरुहरूको मदत लिनसमेत एक दुइ अक्षर भए पनि आफ्नै बलबर्कतमा सिक्नैपर्ने हुन्छ।” जडसनजस्ता अनुवादकहरूको कार्यले गर्दा बाइबल सर्वसुलभ बनाउन निकै सजिलो भयो।—पृष्ठ १२ को चार्ट हेर्नुहोस्‌।

अनुवाद गर्ने कठिन कार्यमा एन जडसनले आफ्नो पतिलाई सहयोग गरिन्‌। तर जडसनले भोगेका कठिनाइहरू अनुवाद कार्यसित मात्र सम्बन्धित थिएनन्‌। राजाका हाकिमहरूले अडोनिरामलाई जबरजस्ती जेलमा लैजाँदा एन दुइ जीउकी थिइन्‌। हिम्मत नहारी उनले २१ महिनासम्म आफ्नो पतिको छुटकाराको लागि क्रूर सरकारी हाकिमहरूसित अपील गरिरहिन्‌। यस्तो कठिनाइको साथसाथै बिरामीले गर्दा उनको स्वास्थ्य बिग्रन थाल्यो। अडोनिराम जेलबाट छुटेका मात्र के थिए, केही दिन नबित्दै उनको साहसी पत्नी, एन र सानी छोरी ज्वरोले मरे। अडोनिरामको हृदय छियाछिया भयो। तैपनि, तिनले परमेश्‍वरमा भरोसा राखे र अनुवाद गर्न छोडेनन्‌। फलस्वरूप, १८३५ मा बर्मेली बाइबलको अनुवाद कार्य पूरा गरे। त्यतिञ्जेल बाइबलको विरोधमा अनेकन्‌ कपटपूर्ण विवादहरू खडा भइसकेका थिए।

बाइबल अनेकन्‌ विवादहरूमा मुछिन्छ

सन्‌ १८०० को दशकमा अनेकन्‌ ठूलठूला सामाजिक तथा राजनैतिक विवादहरू खडा भए र कतिपय विवादहरूमा बाइबलको प्रमुख भूमिका थियो। उदाहरणका लागि, रूसी बाइबल सोसाइटीका संरक्षक जार तथा रूसी अर्थोडक्स चर्चको नेतृत्वमा अनुवाद कार्य थालनी भएको भए तापनि समय बित्दै जाँदा जार तथा अर्थोडक्स चर्च नामेट भए र बाइबल सोसाइटीमाथि प्रतिबन्ध लगाइयो। (यो घटना हुनुभन्दा करिब एक वर्षअघि रूसी बाइबल सोसाइटीका विरोधीहरूले हजारौं प्रति बाइबल जलाइसकेका थिए।) प्रारम्भिक मसीहीहरूले निकै उत्साहका साथ सुरु गरेको काम अर्थात्‌ विश्‍वभरि बाइबल वितरण गर्ने उद्देश्‍यलाई अब अर्थोडक्स पादरीहरूले रोक लगाउन भरमग्दूर प्रयास गरे। बाइबलले चर्च र सरकार दुवैको अख्तियारलाई खतरामा पार्छ भनी उन्‍नाइसौं शताब्दीका अर्थोडक्स नेताहरूले कचकच गर्न थाले। नमिल्ने कुरा त के हो भने, भर्खरै शक्‍तिशाली भइरहेका क्रान्तिकारी अभियानहरूले बाइबल, अख्तियारवालाहरूका लागि खतरा नभई सर्वसाधारण जनतालाई अधीनमा राख्न चर्च तथा सरकारको हतियार ठाने। दुवै तिरबाट हेर्ने हो भने, आक्रमण बाइबलमाथि केन्द्रित थियो!

त्यसपछिका वर्षहरूमा बाइबलमाथि “बौद्धिक” आक्रमणसमेत हुन थाल्यो। चार्ल्स डार्विनले १८३१ मा समुद्री यात्रा थाले र त्यही यात्रापछि तिनले विकासवादको सिद्धान्त पत्ता लगाए। मार्क्स र इंगल्सले १८४८ मा कम्युनिस्ट मानिफेस्टो प्रकाशित गरे र त्यसमा मसीहीधर्मलाई दमन गर्ने साधनको रूपमा चित्रण गरिएको थियो। यसै समयमा बाइबलका आलोचकहरूले धर्मशास्त्र तथा बाइबल पात्रहरूको ऐतिहासिकतामाथि प्रश्‍न उठाउन थाले। तिनीहरूले येशूमाथि समेत शंका गर्न बाँकी राखेनन्‌! तर केही जानेबुझेका मानिसहरूले परमेश्‍वर र बाइबल इन्कार गर्नुपछाडि लुकेको छलकपट बुझे। त्यसकारण, तिनीहरूले बाइबलको विश्‍वसनीयतालाई जानिफकारी ढंगमा प्रमाणित गर्न खोजे। त्यस्तै एक जना व्यक्‍ति कन्स्टान्टेन भन टिशेनडर्फ थिए। तिनी जर्मन भाषाका धुरन्धर विद्वान्‌ थिए।

पत्ता लागेका विभिन्‍न कुराहरूले बाइबल पदहरू प्रमाणित गर्न मदत गर्छन्‌

टिशेनडर्फले बाइबलका मौलिक पदहरू पूर्णतया प्रमाणित गर्ने आशामा पुरातन बाइबल हस्तलिपिहरू खोज्न मध्यपूर्वको भ्रमण गरे। डार्विनले दि ओरिजिन अफ स्पिसिज प्रकाशित गरेकै साल अर्थात्‌ १८५९ मा टिशेनडर्फले सीनै पर्वतको बेंसीमा अवस्थित मठमा मसीही युनानी धर्मशास्त्रको सबैभन्दा पुरानो प्रति फेला पारे। यसलाई कोडेक्स साइनाइटिकस भनिन्छ र जेरोमले ल्याटिन भल्गेट पूरा गर्नुभन्दा लगभग ५० वर्षअघि प्रकाशित भएको हुनुपर्छ। त्यसरी मठबाट कोडेक्स हटाउनु कत्तिको उचित थियो भन्‍ने विषयमा विवाद अझै टुंगिएको छैन। तर जे होस्‌, टिशेनडर्फले त्यो छापेर अरू शास्त्रविद्‌हरूका लागि सुलभ बनाइदिए।a

साइनाइटिकस सबैभन्दा पुरानो मौलिक भाषाका हस्तलिपिमध्ये एक भएकोले युनानी धर्मशास्त्रमा खास हेरफेर नभएको कुरा स्पष्ट हुनुका साथै पछि पछिका हस्तलिपिहरूमा घुसेका त्रुटिहरू पत्ता लगाउन पनि शास्त्रविद्‌हरूलाई सजिलो भयो। उदाहरणका लागि, साइनाइटिकसको १ तिमोथी ३:१६ मा येशूलाई संकेत गर्दै यसो भनिएको छ: “उहाँ शरीरमा प्रकट पारिनुभयो।” “उहाँ” भन्‍नुको साटो त्यतिबेला प्रचलित अधिकांश हस्तलिपिहरूमा “परमेश्‍वर” शब्दको संक्षेपीकरण लेखियो र “उहाँ” बुझाउने युनानी शब्दमा सानो हेरफेर गरियो। तथापि, कुनै पनि युनानी हस्तलिपिले सर्वनामको ठाउँमा “परमेश्‍वर” लेख्नुभन्दा धेरैअघि साइनाइटिकस तयार भइसकेको थियो।” तसर्थ, पछि समय बित्दै जाँदा त्रिएक सिद्धान्त समर्थन गर्न थपघट गरिएको रहेछ भनेर स्पष्ट भयो।

टिशेनडर्फको समयदेखि थुप्रै हस्तलिपिहरू पत्ता लागेका छन्‌। अहिले, हिब्रू धर्मशास्त्रको ६,००० जति र युनानी धर्मशास्त्रको १३,००० भन्दा बढी हस्तलिपिहरू उपलब्ध छन्‌। यी बेग्लाबेग्लै हस्तलिपिहरू तुलना गरेर पत्यारिलो मौलिक प्रति पत्ता लगाउन सजिलो भएको छ। विद्वान्‌ एफ. ब्रुस यसो भन्छन्‌: “बेग्लाबेग्लै ढंगमा लेखिएको भए तापनि . . . मसीही विश्‍वास तथा प्रचलनहरूको ऐतिहासिक तथ्य वा महत्त्वलाई कुनै फरक पार्दैन।” अरू थुप्रै भाषामा बाइबल अनुवादको कार्य भइरहेको हुँदा यस थप ज्ञानले मानिसहरूलाई कसरी फाइदा पुऱ्‍याउनेथियो?

वाच टावर सोसाइटी र बाइबल

सन्‌ १८८१ मा जोशिला बाइबल शिक्षक तथा विद्यार्थीहरूले एउटा सानो समूह गठन गरे र यो नै पछि गएर वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी नाउँले चिनिन थाल्यो। सुरुमा तिनीहरूले टिशेनडर्फको युनानी धर्मशास्त्रलगायत अरू बाइबल सोसाइटीद्वारा प्रकाशित बाइबलहरू वितरण गरे। तथापि, १८९० तिर त तिनीहरू आफैले बाइबल प्रकाशन गर्न थालिसकेका थिए र कतिपय बाइबल संस्करणहरूको प्रथम अंक छपाउने खर्चसमेत बेहोर्न थाले। सोसाइटीले १९२६ मा आफ्नै प्रेसमा बाइबल छाप्न थाल्यो। तर आधुनिक बाइबल अनुवादको टड्‌कारो आवश्‍यकता देखियो। अघिल्लो शताब्दीमा पत्ता लागेका कुरा तथा उपलब्ध ज्ञानको भण्डारबाट सजिलै बुझ्ने र सुपथ मूल्यमा किन्‍न सकिने बाइबल छाप्न सकिएला? यही लक्ष्य राखेर सोसाइटीका कार्यकर्ताहरू १९४६ मा धर्मशास्त्रको नयाँ अनुवाद गर्न तम्सिए।

एउटै अनुवाद संस्करण तर थुप्रै भाषाहरूमा

अंग्रेजी भाषामा पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद छाप्न दक्ष अभिषिक्‍त मसीहीहरूको अनुवाद समिति गठन गरियो। उक्‍त बाइबलका छ वटा खण्डहरू १९५० देखि १९६० को दौडान विमोचन भए। तीमध्ये सर्वप्रथम विमोचन भएको खण्ड मसीही युनानी धर्मशास्त्र थियो। सन्‌ १९६३ यता थप २७ भाषामा अनुवाद भएको छ र अरू भाषाहरूमा पनि अनुवाद हुँदैछन्‌। अंग्रेजी भाषामा अनुवाद गर्दा जुन लक्ष्य राखिएको थियो, अरू भाषामा अनुवाद गर्दा पनि कुरा त्यही हो। सर्वप्रथम, अनुवाद सही हुनुपर्छ र यथासम्भव मौलिक विचारसित मिल्दोजुल्दो हुनुपर्छ। कुनै एउटा सिद्धान्तलाई समर्थन गर्न त्यसको अर्थ बंग्याउनु हुँदैन। दोस्रो, एकरूपता हुनुपर्छ। प्रसंगसित मेल खान्छ र खास ठूलो फरक पार्दैन भने मुख्य मुख्य शब्दको लागि एउटै शब्द प्रयोग गरिएको हुनुपर्छ। त्यसरी अनुवाद गर्दा बाइबल लेखकहरूले खास खास शब्दहरू प्रयोग गर्नुको कारण बुझ्न पाठकहरूलाई सजिलो हुन्छ। तेस्रो, अर्थ अस्पष्ट नपारी अनुवाद यथासम्भव अक्षरशः हुनुपर्छ। अक्षरशः अनुवाद गरिएको छ भने पाठकलाई मौलिक भाषामा भनिएको कुरा बुझ्न र त्यसबारे सोचविचार गर्न निकै सजिलो हुन्छ। चौथो, जनसाधारणले पढ्‌न र बुझ्नसक्ने हुनुपर्छ।

अंग्रेजी नयाँ विश्‍व अनुवाद अक्षरशः अनुवाद गरिएको हुँदा अन्य भाषाहरूमा अनुवाद गर्न सजिलो भएको छ। यही उद्देश्‍यलाई मनमा राखेर सोसाइटीका अनुवाद समूहहरूले काम छरितो गर्नुका साथै सही अनुवाद गर्न हाल उच्चतम प्रविधियुक्‍त कम्प्युटर सामग्री प्रयोग गर्छन्‌। यस्तो प्रणालीले गर्दा अनुवादकहरूलाई एउटा मुख्य शब्दको अर्थ बुझाउने अन्य स्थानीय शब्दहरूको सूची तयार पार्न सजिलो हुन्छ। साथै, बाइबलमा पाइने प्रत्येक हिब्रू तथा युनानी शब्दको अंग्रेजी रूपान्तरबारे अध्ययन गर्न पनि मदत गर्छ।

हिब्रू र युनानीको साटो अंग्रेजीबाट अनुवाद गर्नुका उल्लेखनीय फाइदाहरू छन्‌। अनुवाद गर्न कम समय लाग्नुका साथै सबै भाषाहरूमा समान अभिव्यक्‍तिहरू चलाउन सम्भव हुन्छ। किन? किनभने पुरानो भाषाबाट बेग्लाबेग्लै आधुनिक भाषाहरूमा अनुवाद गर्नुको साटो एउटा आधुनिक भाषाबाट अरू भाषाहरूमा अनुवाद गर्न सजिलो हुन्छ। नहोस्‌ पनि किन, अनुवादकहरूले आधुनिक भाषाका स्थानीय व्यक्‍तिहरूसित सुझाउ लिनसक्छन्‌ तर हजारौं वर्षअघिका अनुवादकहरूसित त्यसो गर्नु त सम्भवै हुँदैन।

सबै मानिसहरूका लागि सुसमाचार

बाइबल, पृथ्वीमा सबैभन्दा सर्वसुलभ पुस्तक बनाउन कटिबद्ध पुरुष तथा स्त्रीहरूबारे जति लेखे पनि सकिंदैन। शताब्दीयौंको दौडान सम्पूर्ण बाइबल वा केही अंशहरूको कम्तीमा चार अरब प्रति छापिएका छन्‌ र त्यो विश्‍व जनसंख्याको ९० प्रतिशतभन्दा बढी मानिसहरूले बोल्ने दुइ हजारभन्दा बढी भाषाहरूमा उपलब्ध छन्‌!

हाम्रो समयमा परमेश्‍वरको राज्य विश्‍वभरि घोषणा हुनेछ भनी बाइबलले भविष्यवाणी गरेको थियो। यसअनुरूप अहिलेसम्म यहोवा परमेश्‍वर स्वयंले बाइबलको व्यापक वितरण गर्न मानिसहरूलाई डोऱ्‍याउनुभएको छ। (मत्ती १३:४७, ४८; २४:१४) हाम्रोनिम्ति परमेश्‍वरको वचन उपलब्ध गराउन विगतका निर्भयी बाइबल अनुवादक तथा प्रकाशकहरूले आफ्नो जीउज्यानको खतरा मोलेका छन्‌। किनभने यस नैतिक अन्धकारको संसारमा आध्यात्मिक ज्योतिको एकमात्र स्रोत नै परमेश्‍वरको वचन हो। तिनीहरूको उदाहरणले तपाईंलाई त्यो वचन पढ्‌न, त्यसअनुसार जीवन बिताउन र तिनीहरूको जस्तै कटिबद्धताका साथ त्यसबारे अरूलाई बताउन जुर्मुराओस्‌। हो, तपाईंसित भएको भरपर्दो बाइबलको दिनहुँ पूर्ण सदुपयोग गर्नुहोस्‌।—यशैया ४०:६-८.

[फुटनोट]

a अक्टोबर १५, १९८८ को प्रहरीधरहरा-मा (अंग्रेजी) “कोडेक्स साइनाइटिकसलाई जोगाउने” शीर्षकको लेख हेर्नुहोस्‌।

[पृष्ठ १२-मा भएको तालिका]

बाइबल अनुवादमा वृद्धि

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

भाषाहरूको संख्या

१ यहूदीहरूले हिब्रू धर्मशास्त्रबाट युनानीमा अनुवाद गर्न थाल्छन्‌

सा.यु.पू. २८० तिर

१२ जेरोमले ल्याटिन भल्गेटको अनुवाद पूरा गर्छन्‌, सा.यु. ४०० तिर

३५ गुटेनबर्गले बाइबलको पहिलो अनुवाद पूरा गर्छन्‌, १४५५ तिर

८१ सन्‌ १८०४ मा स्थापित बेलाइती तथा विदेशी बाइबल सोसाइटी

वर्षअनुसार उपलब्ध भएका भाषाहरू

५२२

१९००

६००

७००

८००

९००

१,०४९

१९५०

१,१००

१,२००

१,३००

१,४७१

१९७०

२,१२३

१९९६

२,२००

२,३००

२,४००

[स्रोत]

स्रोत: क्रिस्टीयानिटी टुडे, युनाइटेड बाइबल सोसाइटी

[पृष्ठ ९-मा भएको चित्रको स्रोत]

Mountain High Maps® Copyright © 1995 Digital Wisdom, Inc.

[पृष्ठ ८-मा भएका चित्र]

जडसनको हातखुट्टा बाँधेर जेलमा लगियो

[स्रोत]

जेसी पेजको Judson the Hero of Burma किताबबाट

[पृष्ठ १०-मा भएका चित्र]

टिशेनडर्फले सीनै पर्वतको भीरमा अवस्थित यो मठबाट अनमोल हस्तलिपि बचाए

[स्रोत]

Pictorial Archive (Near Eastern History) Est.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने