प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ११/१ pp. १९-२२
  • “थोरै चाहिं . . . सामर्थी जाति” भएको मैले देखें

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “थोरै चाहिं . . . सामर्थी जाति” भएको मैले देखें
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अरिजोनामा अग्रगामीको काम
  • गिलियड स्कूल र विशेष सेवा
  • क्युबा र त्यसपछि पोर्टो रिको
  • हाम्रो घर, डोमिनिकन रिपब्लिक
  • अहिले सामर्थी जाति
  • अरूलाई दिंदा पाएको खुसी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • पहिले राज्यको खोजी गर्दा सुरक्षित तथा आनन्दित जीवन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • हृदय अनि दृष्टिलाई इनाममा केन्द्रित गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • खुसीसाथ यहोवाको निर्देशन स्वीकार्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ११/१ pp. १९-२२

“थोरै चाहिं . . . सामर्थी जाति” भएको मैले देखें

विलियम डिङम्यानको वृत्तान्तमा आधारित

कुरा १९३६ साल, सालेम ओरिगन, सं.रा.अ.-को हो, म यहोवाका साक्षीहरूको सभामा उपस्थित थिएँ। त्यहाँ एउटा प्रश्‍न सोधियो: “ठूलो जमात कहाँ छ?” (प्रकाश ७:९, किङ जेम्स भर्सन) त्यस मण्डलीमा उपस्थित हुने नयाँ व्यक्‍ति म मात्रै थिएँ, त्यसैकारण सबैले मलाई देखाउँदै भने, “ऊ त्यहाँ छ!”

पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशा भएका यहोवाका साक्षीहरू १९३० दशकको मध्यतिर निकै कम थिए। (भजन ३७:२९; लूका २३:४३) त्यसबेलादेखि धमाधम ठूलठूला परिवर्तनहरू हुन थाले। तर के कति कारणहरूले गर्दा म सालेम, ओरिगनस्थित त्यो सभामा उपस्थित हुन पुगें, पहिले त्यो सुन्‍नुहोस्‌।

मेरो बुबा स्वर्णयुग-को ग्राहक हुनुहुन्थ्यो। ब्यूँझनुहोस्‌! पत्रिकालाई पहिले पहिले स्वर्णयुग भनिन्थ्यो। भर्खरको ठिटो छँदा म ती पत्रिकाहरू रमाइलो मानेर पढ्‌थें र त्यसमा बाइबलका महत्त्वपूर्ण सच्चाइ छ भनेर म विश्‍वस्त भएँ। त्यसैकारण, एक दिन मैले स्वर्णयुग-को अन्तिम पृष्ठमा भएको कुपन भरेर पठाएँ। त्यो कुपनमा पाठकहरूलाई २० वटा साना पुस्तिका, एउटा पुस्तक दिनुका साथै यहोवाका साक्षीहरूको नजीकै पर्ने मण्डलीको ठेगाना पनि दिने वचन दिइएको थियो। साहित्यहरू पाइसकेपछि म घर-घर गएँ र साना पुस्तिकाहरू तथा पुस्तक सबै प्रस्तुत गरें।

त्यतिखेर मसँग कसैले बाइबल अध्ययन गरेको थिएन। वास्तवमा मैले यहोवाको साक्षीसित कुरासमेत गर्न पाएको थिइनँ। तर सबैभन्दा नजीकै पर्ने राज्यभवनको ठेगाना पाएपछि सालेम, ओरिगनस्थित सभामा उपस्थित हुन गाडी चलाएर मैले ४० किलोमिटर लामो दूरी तय गरें। त्यहीं म भर्खर १८ वर्षको एक्लो केटोलाई “ठूलो जमात” भनेर सम्बोधन गरिएको थियो।

हुन त, सेवकाईमा जान मैले कुनै तयारी गरेको थिइनँ तैपनि म सालेम मण्डलीसँगसँगै प्रचार कार्यमा भाग लिन थालें। साक्षी दिंदा मलाई तीनवटा आधारभूत बुँदाहरू समावेश गर्न प्रोत्साहन दिइयो। पहिलो, परमेश्‍वर यहोवा हुनुहुन्छ; दोस्रो, येशू उहाँले अभिषेक गर्नुभएको राजा हुनुहुन्छ र तेस्रो, विश्‍वको लागि एक मात्र आशा परमेश्‍वरको राज्य हो। मैले हरेक ढोकामा त्यो सन्देश सुनाउने प्रयास गरें।

सालेमस्थित यहोवाका साक्षीहरूसित दुइ वर्ष जत्ति संगत गरेपछि अप्रिल ३, १९३८ मा मैले बप्तिस्मा लिएँ। “ठूलो जमात”-मा पर्ने मलगायत अरू केही व्यक्‍तिहरूले बप्तिस्मा लिएको देख्दा सालेमका मित्रहरू असाध्यै रमाएका थिए। फेब्रुअरी १९३९ मा म अग्रगामी अथवा पूर्ण-समय सेवक भएँ। त्यही वर्षको डिसेम्बरमा मलाई राज्य उद्‌घोषकहरूको आवश्‍यकता बढी भएको ठाउँ अरिजोनामा जान निम्ताइयो।

अरिजोनामा अग्रगामीको काम

अरिजोनामा यहोवाका साक्षीहरूले भर्खर भर्खरै काम थालेको हुनाले हाम्रो विषयमा त्यहाँका मानिसहरूको धेरै गलतफहमी थियो। त्यसकारण, संयुक्‍त राज्य अमेरिका दोस्रो विश्‍वयुद्धमा मुछिंदा हामीले निकै सतावट खप्नुपऱ्‍यो। उदाहरणका लागि, १९४२ मा अरिजोनाको स्टाफर्डमा सेवा गरिरहेको बेला मर्मन समूहले एक हूल मानिसहरू जम्मा गरेर हामीलाई चुट्‌ने योजना गरेका रहेछन्‌। अग्रगामीको काम गर्न मलाई सहयोग गर्ने साथी र म बस्ने कोठासँगैको घर मर्मन विशपको रहेछ। तिनी हामीलाई आदर गर्थे र तिनले यसो पनि भने: “मर्मन मिसनरीहरू पनि यहोवाका साक्षीहरू जत्तिकै सक्रिय हुँदा हुन्‌ त मर्मनहरूको चर्चमा पनि निकै वृद्धि हुनेथियो होला।” अतः तिनले चर्चमा यसो भने: “साक्षी केटाहरूलाई पिट्‌न मानिसहरू बटुलेको छ रे भन्‍ने म सुन्दैछु। ती केटाहरू मेरा छिमेकी हुन्‌ र तिनीहरूमाथि जाइलागेमा म पनि मेरो बन्दूक तयार राख्नेछु। तर बन्दूकको निशान ती साक्षीहरू हुनेछैनन्‌। मेरो निशाना ती जाइलाग्नेहरूतिर हुनेछ। त्यसकारण, तपाईंहरू तिनीहरूलाई पिट्‌ने वा खेद्‌ने विचार गर्दै हुनुहुन्छ भने, त्यतिखेर म के गर्नेछु, तपाईंहरूलाई राम्ररी थाह भयो होला।” ती मानिसहरू हामीलाई पिट्‌न कहिल्यै आएनन्‌।

अरिजोनामा बिताएका तीन वर्षबीच हामी निकै पटक समातियौं र थुनियौं। एक पटक त म ३० दिनसम्म थुनामा परें। सेवकाईमा प्रहरीको दुर्व्यवहारसित डट्‌न हामीले एउटा प्रबन्ध मिलायौं जसलाई हामी फ्लाइङ स्क्वाड भन्थ्यौं। हाम्रो जिम्मा लिने साक्षीले हामीलाई यसो भने: “हाम्रो नाउँजस्तो छ, हामी त्यस्तै छौं। हामी बिहान ५/६ बजेतिरै उठ्‌छौं र ढोका ढोकामा पर्चा वा सानो पुस्तिका छोडेर तुरुन्तै टाप कस्छौं।” हाम्रो “फ्लाइङ स्क्वाडले” अरिजोना प्रान्तको धेरै भागमा यसरी पर्चा, पुस्तिका बाँड्यो। तर प्रचार गर्ने यो तरिकाले जिज्ञासु व्यक्‍तिहरूलाई मदत गर्न नसकिने भएकोले अन्तमा यो तरिका ठप्प बन्द गरियो।

गिलियड स्कूल र विशेष सेवा

डिसेम्बर १९४२ मा अरिजोनाका केही अग्रगामीहरूले यहोवाका साक्षीहरूद्वारा स्थापित नयाँ मिसनरी स्कूलको निम्तो पाए र तिनीहरूमध्ये म पनि थिएँ। सुरु, सुरुमा यो स्कूलको नाउँ वाचटावर बाइबल कलेज अफ गिलियड थियो। तर पछि त्यसको नाउँ वाचटावर बाइबल स्कूल अफ गिलियड राखियो। यो क्याम्पस न्यु योर्कको उत्तरतिर पर्ने इथेका शहर नजीकै थियो र यो शहर हामी बसेको ठाउँबाट झन्डै ४,८०० किलोमिटर टाढा पर्थ्यो।

ओरिगनमा केही समय बिताइसकेपछि, जनवरी १९४३ मा हामी केही अग्रगामीहरू ग्रेहाउण्ड बस चढेर तपतपाउँदो अरिजोना मरुभूमिबाट आफ्नो बाटो ततायौं। केही दिनपछि गन्तव्यस्थलमा पुग्यौं। तपतपाउँदो भूमिबाट निस्केको हामी, न्यु योर्कको उत्तरमा हिउँ नै हिउँ र निकै जाडो हुने इलाकामा पो पुग्यौं। फेब्रुअरी १, १९४३ देखि स्कूल सुरु भयो। स्कूल उद्‌घाटन भएको दिन अध्यक्ष नेथन एच. नोरले उपस्थित १०० जना विद्यार्थीहरूलाई यसरी सम्बोधन गरे: “यो कलेजको उद्देश्‍य तपाईंहरूलाई सेवक नियुक्‍त गर्नु होइन। तपाईंहरू त पहिल्यै सेवक भइसक्नुभएको छ र वर्षौंदेखि सेवकाईमा सक्रिय हुनुहुन्छ। . . . यो कलेजको पाठ्यक्रमको एक मात्र उद्देश्‍य तपाईंहरू जाने इलाकामा तपाईंहरूलाई अझ सक्षमतासाथ सेवा गर्न योग्य बनाउनु हो।”

मैले पहिले त्यति धेरै नपढेको हुँदा सुरु सुरुमा मलाई गिलियडमा निकै अप्ठ्यारो लाग्यो। तर प्रशिक्षकहरूले मेरो अवस्था राम्ररी बुझिदिनुभएकोले मलाई आफ्नो पढाइ निकै रोचक लाग्न थाल्यो। पाँच-महिने घमासानको तालिमपछि हामी स्नातक भयौं। त्यसपछि हामीमध्ये कसै कसैलाई ब्रूक्लिन, न्यु योर्कस्थित यहोवाका साक्षीहरूको विश्‍व मुख्यालयमा पठाइयो। त्यहाँ क्षेत्रीय निरीक्षकको परिभ्रमण कार्यका लागि हामीलाई थप तालिम दिइयो। मलाई खटाइएको पहिलो ठाउँ उत्तरी तथा दक्षिणी क्यारोलाइना थियो।

त्यतिखेर क्षेत्रीय निरीक्षकहरूले निरन्तर यात्रा गरिरहनुपर्थ्यो। हामी मण्डली सानो छ भने एक दिन, ठूलो छ भने दुइ दिन त्यहाँ बस्थ्यौं। त्यतिखेर धेरैजसो मण्डलीहरू साना थिए। त्यसकारण, दिनभरि मण्डलीसित समय बिताएपछि पनि विभिन्‍न प्रश्‍नहरूको जवाफ दिन अक्सर आधा रातसम्म जागै रहनुपर्थ्यो भने भोलिपल्टदेखि अर्को मण्डलीमा भ्रमण गर्नुपर्ने भएकोले बिहान पाँच बजेतिरै बाटो तताइसक्नुपर्थ्यो। लगभग वर्ष दिन जत्ति क्षेत्रीय कार्य गरिसकेपछि मैले केही समय टेनसी र न्यु योर्कमा अग्रगामीको काम गरें।

क्युबा र त्यसपछि पोर्टो रिको

मे १९४५ मा अरू केही मिसनरीहरू र मलाई क्युबामा खटाइयो। यो मेरो पहिलो मिसनरी क्षेत्र थियो! क्युबाको राजधानी हभाना पुगेको रात हामी पत्रिका वितरण कार्यमा गयौं। बस्नको लागि सान्ता क्लारामा घर नपाउञ्जेल हामी हभानामै बस्यौं। त्यतिबेला हाम्रो मासिक भत्ता २५ अमेरिकी डलर मात्र थियो र यो खाना किन्‍न, बहाल तिर्नलगायत अन्य आवश्‍यक सबथोकको निम्ति थियो। उपलब्ध सामग्रीहरूबाट हामीले आफ्नो खाट, टेबल, कुर्सी बनायौं र स्याउ राख्ने बाकसलाई दराजको घर्रा बनायौं।

लगत्तै अर्को वर्ष म क्षेत्रीय कार्यमा खटिएँ। त्यतिखेर सम्पूर्ण क्युबा एउटा सिंगो क्षेत्र थियो। मभन्दा पहिले आउने क्षेत्रीय निरीक्षकका खुट्टा लामो र हिंड्‌न मन पराउने भएकोले त्यहाँका होचा भाइबहिनीहरूलाई तिनीसँगसँगै हिंड्‌न दगुर्नुपर्थ्यो। त्यसैकारण, तिनीहरूले म पनि पहिलेको क्षेत्रीय निरीक्षकजस्तै अग्लो होला भन्ठानेका रहेछन्‌ र त्यसैअनुरूप भ्रमणको योजना बनाएका रहेछन्‌। म पुगेको दिन सबै जना सेवकाईमा आएनन्‌। किनकि तिनीहरूले मसित पालैपालो काम गर्न समूह छुटाएका रहेछन्‌। पहिलो दिन एउटा समूहले मलाई टाढाको इलाकामा लग्यो। त्यसैगरि दोस्रो दिन अर्को समूहले पनि त्यस्तै टाढाको इलाकामा लग्यो र अरूले पनि त्यसै गरे। भ्रमणको अन्तमा थाकेर चूर भए तापनि त्यो भ्रमण मलाई रमाइलो लाग्यो। मसित त्यस मण्डलीका मीठा सम्झनाहरू छन्‌।

सन्‌ १९५० सम्म क्युबामा पनि मेक्सिकोमा जस्तै राज्यप्रकाशकहरूको संख्या ७,००० भन्दा बढ्‌ता भइसकेको थियो। त्यही वर्षको जुलाई महिनामा म न्यु योर्क शहरको यांकि स्टेडियममा आयोजित ईश्‍वरतन्त्रको वृद्धि अन्तरराष्ट्रिय अधिवेशनमा उपस्थित भएँ। त्यसपछि, मैले पोर्टो रिकोमा मिसनरी सेवा गर्ने नयाँ कार्यभार पाएँ। गिलियडको १२ औं कक्षाका नयाँ मिसनरीहरूमध्ये एस्टेल र थेल्मा विक्ली पनि मसँगै हवाईजहाजबाट पोर्टो रिको गए।

आठ वर्षपछि एस्टेल र मैले बायामोन, पोर्टो रिकोमा भइरहेको क्षेत्रीय सम्मेलनको मध्यान्तरमा साधारण तरिकाले विवाह गऱ्‍यौं। विवाह अघि र पछि पनि मैले क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरें। पोर्टो रिकोमा दश वर्षभन्दा धेरै समय बिताउँदा एस्टेल र मैले निकै वृद्धि भएको देख्यौं। मुश्‍किलले ५०० जत्ति प्रकाशकहरू हामीले हेर्दा हेर्दै २,००० भन्दा धेरै भयो। हामीले धेरै जनालाई समर्पण र बप्तिस्मा लिने हदसम्म मदत गर्नसक्यौं र थुप्रै नयाँ मण्डलीहरू पनि स्थापित गऱ्‍यौं।

ब्रूकलिन, न्यु योर्कस्थित यहोवाका साक्षीहरूको विश्‍व मुख्यालयबाट डिसेम्बर १९६० मा मिल्टन हेन्शेल पोर्टो रिकोमा आए र मिसनरीहरूसित कुरा गरे। कोही भिन्‍नै खालको मिसनरी कार्य गर्न इच्छुक छन्‌ कि भनेर तिनले हामीलाई सोधे। इच्छुकता जाहेर गर्नेहरूमध्ये एस्टेल र म पनि थियौं।

हाम्रो घर, डोमिनिकन रिपब्लिक

हामीलाई डोमिनिकन रिपब्लिकमा नयाँ कार्यभार सुम्पियो र जून १, १९६१ का दिन हामीले त्यहाँ जाने निधो गऱ्‍यौं। तर मे ३० मा डोमिनिकन तानाशाह राफाएल त्रुजिल्ल्यो मारिएको हुनाले त्यस मुलुकतर्फ जाने सबै उडान रद्द गरियो। तथापि, पछि फेरि त्यसतर्फ उडान हुने भयो र हामी पूर्वयोजनाअनुसार जून १ तारिखमै डोमिनिकन रिपब्लिक जानसक्यौं।

हामी त्यहाँ पुगेको बेला मुलुकमा निकै उथलपुथल मच्चिरहेको थियो र सेनाको चहलपहल निकै थियो। क्रान्ति होला भन्‍ने डरले गर्दा सिपाहीहरू राजमार्गमा सबैको खानतलासी गर्दैथिए। हामीलाई थुप्रै चेकपोस्टहरूमा रोक्यो र हाम्रा सुटकेस खोलेर एक-एक सामानको तलासी लियो। यसरी डोमिनिकन रिपब्लिकमा हाम्रो स्वागत भएको थियो।

हामीले सेवा गर्नुपर्ने शहर ला रोमान जानुअघि हामी केही हप्ता राजधानी सान डोमिंगोमा बस्यौं। त्रुजिल्ल्योको तानाशाही शासनकालको दौडान जनतालाई यहोवाका साक्षीहरू साम्यवादी तथा खतम मानिसहरू हुन्‌ भनिएको रहेछ। फलतः साक्षीहरूलाई हुनसम्म सताइएको रहेछ। तर बिस्तारै बिस्तारै त्यो पूर्वाग्रह तोड्‌न हामी सफल भयौं।

ला रोमानमा केही समय काम गरिसकेपछि हामी फेरि क्षेत्रीय सेवामा लाग्यौं। त्यसपछि, १९६४ मा हामीलाई सानतियागो शहरमा मिसनरीको रूपमा खटाइयो। लगत्तै अर्को वर्ष डोमिनिकन रिपब्लिकमा आन्दोलन भयो र मुलुकमा क्रान्ति सुरु भयो। यस्तो दंगाफसाद भइरहेको बेला हामीलाई राजनैतिक गतिविधि हुने ठाउँ, सान फ्रान्सिस्को दे माकोरिस शहरमा पठाइयो। तथापि, हामीले त्यहाँ कुनै रोकटोकबिना प्रचार गऱ्‍यौं। राजनैतिक अस्थिरताको बावजूद हामीले त्यहाँ एउटा नयाँ मण्डली स्थापना गर्नसक्यौं। त्यसपछिका वर्षहरूमा हाम्रो कार्यभारमा निकै परिवर्तनहरू भए र अन्ततः हामी अहिले बसिरहेको ठाउँ सान्तियागोमा फेरि खटाइयौं।

यहाँ डोमिनिक रिपब्लिकमा यहोवाले आशिष्‌ दिनुभएको प्रमाण हामीले अवश्‍य पनि पाएका छौं। सन्‌ १९६१ मा हामी आउँदा लगभग ६०० जना साक्षीहरू र २० वटा मण्डलीहरू मात्र थिए। तर अहिले झन्डै २०,००० प्रकाशकहरूले ३०० भन्दा धेरैवटा मण्डलीसित मिलेर परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिरहेका छन्‌। अनि १९९६ मा प्रभुको मृत्युको स्मरणार्थ उत्सवका दिन ६९,९०८ जना उपस्थित भएको देख्दा अझै वृद्धि हुनसक्ने सम्भावना प्रशस्त देखिन्छ। यो उपस्थिति संख्या प्रकाशकहरूको संख्याभन्दा साढे तीन गुना बढी छ!

अहिले सामर्थी जाति

विश्‍व रंगमञ्चमा थुप्रै परिवर्तनहरू देखिए तापनि यहोवाका साक्षीहरूले प्रचार गर्ने बाइबलको सन्देशमा कुनै फेरबदल भएको छैन। (१ कोरिन्थी ७:३१) यहोवा अहिले पनि परमेश्‍वर नै हुनुहुन्छ, ख्रीष्ट राजा नै हुनुहुन्छ र संसारको एक मात्र आशा परमेश्‍वरको राज्य हो भन्‍ने कुरा पहिलेभन्दा झन्‌ स्पष्ट देखिएको छ।

यसका साथै लगभग ६० वर्षअघि मैले सालेम ओरिगनमा पहिलो पटक सभा धाएदेखि यता यहोवाका जनहरूबीच उदेकलाग्दा परिवर्तनहरू भएका छन्‌। ठूलो जमात अर्थात्‌ ठूलो भीड ठूलो भएर आज ५० लाखभन्दा बढी भइसकेको छ। यो, यहोवाले आफ्ना मानिसहरूबारे भन्‍नुभएझैं भएको छ: “थोरै चाहिं हजार हुनेछ, र तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ। म, परमप्रभुले, त्यसको समयमा त्यो चाँड़ै पूरा गर्नेछु।”—यशैया ६०:२२.

म पूर्ण-समय सेवकाईमा लागेको झन्डै ६० वर्ष भइसक्यो र पनि अहिलेसम्म मिसनरी कार्यमा लागेर निरन्तर प्रचार गरिरहन र सिकाइरहन सकेकोमा म औधी खुशी छु। यस कार्यमा भाग लिन पाउनु र “थोरै चाहिं” “एउटा सामर्थी जाति” भएको देख्न पाउनु मेरो निम्ति साँच्चै महान्‌ विशेषाधिकार भएको छ!

[पृष्ठ २१-मा भएको चित्र]

डोमिनिकन रिपब्लिकमा मेरी पत्नीसित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने