तिनीहरूले यहोवाको इच्छा गरे
आत्मत्याग र वफादारीको नमुना
सधैंजसो खेत जोत्न लागेका जवान किसान एलीशाको लागि त्यो दिन जीवनको सबैभन्दा अविस्मरणीय दिन हुन गयो। खेतमा काम गरिरहेको बेला इस्राएलको सर्वप्रमुख अगमवक्ता, एलिया अचानक तिनलाई भेट्न आए। ‘मलाई भेट्न किन आउनुभएको होला?’ भन्दै एलीशा छक्क परेका हुनसक्छन्। तर तिनले जवाफ पाउन कुरिरहनु परेन। एलीशा आफ्नो उत्तराधिकारी हुनेछन् भनेर देखाउन एलियाले आफ्नो खास्टो तिनलाई ओडाइदिए। एलीशाले यो निम्तोलाई हल्का ठानेनन्। तुरुन्तै आफ्नो खेत छोडेर तिनी एलियाको सेवक बने।—१ राजा १९:१९-२१.
छ वर्ष बित्यो, एलियाको जाने समय पनि भयो। र तिनको प्रस्थानलाई हिब्रू धर्मशास्त्रको “सबैभन्दा आकर्षक वृत्तान्तहरूमध्ये एक” भनिएको छ।
एलिया जाने तयारी गर्छन्
एलिया अन्तिम पटक बेथेल, यरीहो र यर्दन जान चाहन्थे। यसको अर्थ केही अप्ठ्यारा पहाडी इलाका हुँदै निकै किलोमिटर लामो दूरी तय गर्नुपर्थ्यो। हरेक पटक बास बस्दा एलिया एलीशालाई त्यहीं बस्ने प्रोत्साहन दिन्थे। तर एलीशाले अन्तसम्मै आफ्नो मालिकसित बस्ने ढिपी गर्थे।—२ राजा २:१, २, ४, ६.
बेथेल र यरीहोमा छँदा “अगमवक्ताहरूको एक दल” एलीशाकहाँ आए।a उनीहरूले सोधे, “परमप्रभुले आज तपाईंका स्वामी र मालिकलाई तपाईंबाट लैजानुहुनेछ भनी के तपाईंलाई थाह छ?” तिनले भने, “मलाई थाह छ। चूप लाग।”—२ राजा २:३, ५.
त्यसपछि, एलिया र एलीशा यर्दन नदीतिर लाग्छन्। यर्दनमा पुगेपछि एलियाले टाढाबाट हेरिरहेका ५० जना जत्ति अगमवक्ताहरूको एक दलअघि एउटा चमत्कार गर्छन्। “एलियाले आफ्नो खाष्टो उतारे, र त्यो बेहेरेर यर्दन नदीको पानीलाई त्यसले हिर्काए। पानी देब्रे र दाहिनेतिर दुइ भाग भयो, र उनीहरू सुखा जमीनमा हिंड़ेर पार भए।”—२ राजा २:८.
नदी तरिसकेपछि एलियाले एलीशालाई भने: “तिमीबाट उठाइलानअघि म तिम्रो निम्ति के गरूँ।” एलीशाले एलियाको आत्माको “दोबर भाग” मागे। मतलब, साधारणतया जेठो छोराले पाउने भागभन्दा दुइ गुना बढी भाग। वास्तवमा, एलीशाले एलियालाई जेठो छोरोले जस्तै आदर गर्थे। यसबाहेक, इस्राएलमा यहोवाको अगमवक्ताको रूपमा तिनी एलियाको उत्तराधिकारी अभिषिक्त भएका थिए। अतः तिनको आग्रह नता स्वार्थी थियो न अनुपयुक्त नै थियो। तथापि, यहोवाले मात्र यस्तो आग्रह पूरा गर्न सक्नुहुने भएकोले एलियाले विनम्रतासाथ यस्तो जवाफ दिए: “तिमीले ता गाहारो कुरा पो माग्यौ।” त्यसपछि तिनले अझै भने: “यदि तिमीले मलाई तिमीबाट उठाइलगेको देख्यौ भने तिम्रो इच्छा पूरा हुनेछ। तर तिमीले देखेनौ भने तिम्रो इच्छा पूरा हुनेछैन।”—२ राजा २:९, १०; व्यवस्था २१:१७.
निस्सन्देह, यो कुरा सुनेपछि आफ्नो मालिकसँगसँगै रहने एलीशाको अठोट पहिलेभन्दा झन् दृढ भयो। त्यसपछि, “अग्निमय रथ र अग्निमय घोड़ाहरू” देखा परे। झस्याङ झस्केका एलीशाकै अघि एलिया चमत्कारी ढंगमा भुमरीले उठाएर अन्तै लगिए।b एलीशाले एलियाको खाष्टो उठाए र यर्दन नदीको किनारामा गए। तिनले पानीमा हिर्काउँदै यसो भने: “परमप्रभु, एलियाका परमेश्वर कहाँ हुनुहुन्छ?” तब पानी दुइ भाग भयो। एलीशा एलियाका उत्तराधिकारी हुन् र परमेश्वरले पनि यसलाई समर्थन गर्नुभएको छ भन्ने सुस्पष्ट प्रमाण यसले पेश गऱ्यो।—२ राजा २:११-१४.
हाम्रोनिम्ति पाठ
एलियासित विशेष सेवा गर्न निम्त्याइँदा तुरुन्तै आफ्नो खेत छोडेर एलीशा इस्राएलका सर्वप्रमुख अगमवक्ताको सेवामा लागे। तिनले गर्नुपर्ने कुनै कुनै काम अति निम्न थिए। किनकि तिनी “एलियाका हातमा पानी हाल्ने” व्यक्तिको रूपमा चिनिएका थिए।c (२ राजा ३:११) तथापि, एलीशाले यसलाई विशेषाधिकार सम्झे र वफादारपूर्वक एलियाको साथमा रहे।
आज परमेश्वरका धेरैजसो सेवकहरूले यस्तै आत्मत्यागको भाव झल्काइरहेका छन्। कसै कसैले आफ्नो “खेत,” अर्थात् जीविकोपार्जनको स्रोत नै छोडेर टाढा टाढाको इलाकाहरूमा प्रचार गर्न गएका छन् वा बेथेल परिवारका सदस्यहरूको रूपमा सेवा गरिरहेका छन्। त्यसैगरि अन्य कतिपय चाहिं सोसाइटीले गर्ने निर्माणकार्यहरूमा सहभागी हुन विदेशी मुलुकहरूमा पनि गएका छन्। निम्नस्तरीय ठानिन सकिने काम पनि धेरैले गरिरहेका छन्। यद्यपि, यहोवाको निम्ति काम गर्ने कसैले पनि तुच्छ काम गरिरहेका होइनन्। स्वेच्छापूर्वक उहाँको सेवा गर्नेहरूलाई यहोवा मूल्यांकन गर्नुहुन्छ र तिनीहरूको आत्मत्यागी भावलाई आशिष् दिनुहुनेछ।—मर्कूस १०:२९, ३०.
एलीशा अन्तसम्मै एलियाका साथमा रहे। मौका मिल्दासमेत तिनले वृद्ध अगमवक्ताको साथ छोडेनन्। निस्सन्देह, एलियासितको घनिष्ठ सम्बन्धले गर्दा यस्तो वफादार प्रेम आनन्दको स्रोत साबित भयो। आज परमेश्वरका सेवकहरू उहाँसित आफ्नो सम्बन्ध बलियो पार्न र सँगी विश्वासीहरूसित घनिष्ठ हुन अथक प्रयत्न गर्छन्। फलस्वरूप, प्राप्त हुने एकताको बलियो गाँठोमा यहोवाले आशिष् वर्षाउनुहुनेछ किनकि बाइबल यसो भन्छ: “भक्तसँग तपाई भक्त देखा पर्नुहुन्छ।”—२ शमूएल २२:२६.
[फुटनोटहरू]
a “अगमवक्ताहरूको एक दल”-ले अगमवाणी गर्न तालिम दिने पाठशाला वा तिनीहरूको सहकारी संस्थालाई बुझाउनसक्छ।
b यसको केही वर्षपछि यहूदाका राजा योरामलाई एलियाले सन्देश लेखेका थिए।—२ इतिहास २१:१२-१५.
c मालिकले हात धुँदा र त्यसमा पनि मुख चुठ्दा दासले पानी हाल्ने चलन थियो। यो चलन खुट्टा धोएर गरिने अतिथि सत्कार, आदर र कुनै खास प्रकारको सम्बन्धमा त नम्र भाव झल्काउने चलनसित मिल्दोजुल्दो छ।—उत्पत्ति २४:३१, ३२; यूहन्ना १३:५.