गोलमालबीच मसीही क्रियाकलाप
अचानक एकैदिनमा सबै कुरा सुरु भयो। त्यो दिन थियो अप्रिल १९९४ का दिन, जुन दिन विमान दुर्घटनामा बुरूण्डी र रूवाण्डाका राष्ट्रपतिहरूको मृत्यु भयो। दुर्घटना भएको केही घण्टाभित्रै रूवाण्डामा डरलाग्दो हिंसा मच्चियो। तीन महिनाभित्रमा ५,००,००० भन्दा बढी रूवाण्डाली पुरुष, स्त्री तथा बच्चाहरू मृत्युको मुखमा परे। कसै कसैले उक्त हिंसालाई “जातिसंहारको” संज्ञा दिन्छन्।
रूवाण्डाका ७५,००,००० जनसंख्यामध्ये आधा जति भाग्न बाध्य भए। तीमध्ये २४,००,००० जनाले छिमेकी राष्ट्रहरूमा शरण लिए। यिनीहरू आधुनिक इतिहासकै सबैभन्दा धेरै तथा छोटो समयावधिमा शरणार्थी बन्नेहरू थिए। जायर (हाल प्रजातान्त्रिक गणतन्त्र कंगो), तान्जानिया र बुरूण्डीमा तत्कालै शरणार्थी शिविरहरू खडा गरिए। ती शिविरहरूमध्ये कुनै कुनै त संसारकै विशाल शिविरहरू थिए र त्यहाँ २,००,००० व्यक्तिहरूले शरण पाए।
ती शरणार्थीहरूबीच बाइबलका सिद्धान्तहरू आफ्नो जीवनमा उतार्ने यहोवाका थुप्रै शान्तिप्रिय साक्षीहरू पनि थिए। जुनसुकै देशमा बसे तापनि तिनीहरू पूर्णतया तटस्थ रहन्छन् र यशैया २:४ का शब्दहरूमा लुकेका सिद्धान्त व्यवहारमा उतार्छन्: “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्। एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।” रूवाण्डाको जातिसंहारमा हात नहाल्ने धार्मिक समूहको रूपमा यहोवाका साक्षीहरूलाई सबैले चिन्छन्।
येशू ख्रीष्टले आफ्ना चेलाहरू “संसारका होइनन्” भन्नुभयो। तथापि, तिनीहरू “संसारमा” भएकाले राष्ट्रहरूबीच गोलमाल मच्चिंदा सधैं त्यसबाट बच्न सक्दैनन्। (यूहन्ना १७:११, १४) रूवाण्डामा मच्चिएको जातिसंहारको दौडान झण्डै ४०० साक्षीहरूले ज्यान गुमाउनुपऱ्यो। करिब २,००० साक्षीहरू र परमेश्वरको राज्य सन्देशमा चासो देखाउने व्यक्तिहरू शरणार्थी भए।
संसारका भाग होइनन् भन्दैमा के विपत्ति आइपर्दा यहोवाका साक्षीहरू केही नगरी टुलुटुलु हेरी मात्र रहन्छन् त? अहँ, त्यसो गर्दैनन्! परमेश्वरको वचन यसो भन्छ: “यदि कोही भाइ या बहिनी झुत्रे-झाम्रे छ, र त्यसलाई दिनहुँको खानालाई अपुग छ र तिमीहरूमध्ये कसैले तिनीहरूलाई ‘शान्तिसँग जाओ, तातो भएर पेटभरि खाओ’ भनेर मात्र भन्दछ, तर त्यसको शरीरलाई चाहिने कुराहरू चाहिं तिमीहरू दिंदैनौ भने यसबाट के लाभ छ? यसैगरी विश्वास पनि कामरहितको छ भनेता स्वयं मरेको तुल्य हुन्छ।” (याकूब २:१५-१७) छिमेकीप्रतिको प्रेमले गर्दा अन्य धर्मावलम्बीहरूलाई समेत मदत गर्न साक्षीहरू उत्प्रेरित हुन्छन्।—मत्ती २२:३७-४०.
रूवाण्डाको विपत्तिमा मुछिएका सँगी विश्वासीहरूलाई सहयोग गर्न विश्वभरिका साक्षीहरू उत्सुक भए तापनि राहत सामग्रीहरू पुऱ्याउने जिम्मा पश्चिम युरोपलाई सुम्पियो। आफ्ना मसीही भाइबहिनीहरूलाई सहयोग गर्न १९९४ को बर्खा याममा युरोपका स्वयंसेवक साक्षीहरूको एक टोली आतुर गर्दै अफ्रिकातर्फ लागे। रूवाण्डाली शरणार्थीहरूका निम्ति सुसंगठित शिविरहरू तथा अस्थायी अस्पतालहरू स्थापित गरियो। हवाईजहाज तथा पानीजहाजद्वारा शरणार्थीहरूका निम्ति प्रशस्त लुगाफाटा, कम्बल, खाद्यान्न अनि बाइबल साहित्यहरू पठाइयो। त्यस राहत सामग्रीबाट ७,००० भन्दा धेरै पीडित व्यक्तिहरू अर्थात् त्यतिखेर रूवाण्डामा भएका यहोवाका साक्षीहरूको संख्याभन्दा तीन गुणा बढी व्यक्तिहरूले लाभ उठाए। त्यस वर्षको डिसेम्बर महिनादेखि यहोवाका प्रायजसो सबै साक्षीहरूलगायत हजारौं शरणार्थीहरू पुनः आफ्नो घरबार बसाल्न रूवाण्डा फर्के।
कंगोमा युद्ध
सन् १९९६ मा प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा युद्ध मच्चियो। त्यो क्षेत्र रूवाण्डा र बुरूण्डीको सिमानामै पर्छ। फेरि पहिलेजस्तै बलात्कार र हत्या सुरु भयो। गोलीहरूको वर्षा र दनदन बलिरहेको गाउँहुँदै मानिसहरू आफ्नो ज्यान जोगाउन भाग्न थाले। यहोवाका साक्षीहरू गोलमालको भुँवरीमा परे र करिब ५० जनाको त ज्यानै गयो। कोही अन्धाधुन्ध चलाइएका गोलीको शिकार भए। अरू चाहिं भिन्नै जातीय समूहको भएकाले वा शत्रु भन्ठानिएकाले मारिए। यहोवाका १५० जना साक्षीहरू बस्ने एउटा गाउँलाई त आगो लगाएर स्वाहा पारियो। अरू गाउँहरूमा दर्जनौं घर तथा राज्यभवनहरू जलाएर तहसनहस गरियो। घर तथा जायजेथा सर्वस्व गुमाउने यी साक्षीहरू अन्य ठाउँतर्फ भागे र त्यहाँ सँगी उपासकहरूले तिनीहरूलाई मदत गरे।
युद्ध चलिरहेको बेला अन्नबालीहरू नाश हुने, सञ्चित खाद्यान्नहरू लुटिने र राहत सामग्रीहरू बाटैमा रोक्का गरिने हुनाले युद्धसँगसँगै भोकमरी फैलन्छ। कंगोमा पनि त्यस्तै भयो। भएको खाद्यान्न पनि महँगीले छोइनसक्नु थियो। सन् १९९७ को मे महिनाको सुरुतिर किसानगनीमा एक किलो आलूको मूल्य तीन अमेरिकी डलर पर्थ्यो। यति महँगो कि अधिकांश मानिसहरूले किन्नसक्ने कुरै थिएन। धेरैजसो मानिसहरूले दिनमा एक छाक मात्र खान पाउँथे। निस्सन्देह, खाद्यान्नको अभाव भएपछि बिमारी भित्रिने नै भयो। कुपोषणले गर्दा औलो, झाडापखाला र पेटका रोगहरू प्रतिरोध गर्ने शरीरको क्षमता दुर्बल हुन्छ। कुपोषणले खासगरि केटाकेटीहरूलाई सताउँछ र तिनीहरूको मृत्यु हुन्छ।
आवश्यकता ठहर गर्ने
युरोपका यहोवाका साक्षीहरूले यसपटक पनि कदम चालिहाले। अप्रिल १९९७ भित्रमा औषधी तथा रकम लिएर दुई जना चिकित्सकहरूसहित साक्षीहरूको राहत टोली कंगोतर्फ उडे। तत्कालै सहयोग पुऱ्याउने हेतुले गोमामा स्थानीय साक्षीहरूले त्यहाँको परिस्थिति जाँचबुझ गर्ने उद्धार समिति खडा गरिसकेका थिए। उक्त टोलीले शहर र वरिपरिका क्षेत्रहरू छानबिन गऱ्यो। दूर्गम क्षेत्रहरूको रिपोर्ट प्राप्त गर्न खबरेहरू पठाइयो। गोमादेखि पश्चिमतिर १,००० किलोमिटर टाढा पर्ने किसानगनीको पनि सूचना प्राप्त भयो। झन्डै ७०० साक्षीहरू भएको गोमाका स्थानीय भाइहरूले राहत कार्यमा सहयोग पुऱ्याए।
गोमाका एक मसीही प्राचीनले यसो भने: “त्यति टाढाबाट हामीलाई सहयोग गर्न आउनुभएका भाइहरू देखेर हामी साह्रै प्रभावित भयौं। उहाँहरू आउनुअघि हामी एकअर्कालाई सहयोग गर्थ्यौं। ज्यान जोगाउन भाइहरू गाउँबाट गोमातिर भाग्नुपऱ्यो। कसै कसैको घर सर्वनाश भयो र तिनीहरूले आफ्ना खेतबारी छोडे। तिनीहरूलाई हाम्रो घरमा राख्यौं र हाम्रो लुगाफाटा तथा हामीसँग बचेखुचेका खानेकुरा बाँडचुँड गरी खायौं। स्थानीय तवरमा हामीले गर्नसक्ने कुरा त्यति धेरै थिएन। हामीमध्ये कति जना त कुपोषणको शिकार भइसकेका थियौं।
“तथापि, युरोपका भाइहरू पैसा लिएर आउनुभयो। अतः मुस्किलले मात्र पाउन सकिने र एकदमै महँगो खाद्यान्न किन्नसक्यौं। त्यो खाद्यान्न चाहिएकै बेलामा पायौं। किनकि त्यतिञ्जेल हाम्रा धेरैजसो भाइहरूसित खानेकुराको नाउँमा एक गेडा अन्न समेत थिएन। हामीले त्यो खाद्यान्न साक्षीहरूलाई अनि गैरसाक्षीहरूलाई पनि वितरण गऱ्यौं। त्यतिखेर भनेकै बेला सहयोग नपाएको भए थुप्रै मानिसहरूको र अझ विशेषगरि केटाकेटीहरूको ज्यान जाने थियो। यहोवाले आफ्ना जनहरूलाई बचाउनुभयो। गैरसाक्षीहरू एकदमै प्रभावित भए। थुप्रैले हाम्रो एकता र प्रेमको प्रशंसा गरे। कसै कसैले हाम्रो धर्म साँचो रहेछ भनेर पनि मानिलिए।”
देशभित्रै खाद्यान्न किन्नुका साथै औषधोपचारको प्रबन्ध गरिए तापनि अरू थोकहरूको अझै दरकार थियो। लुगाफाटा र कम्बलका साथसाथै प्रशस्त मात्रामा खाद्यान्न अनि औषधीको टड्कारो खाँचो थियो। भताभुंग भएका घरहरू मर्मत गर्न पनि सहयोग चाहिएको थियो।
मानिसहरूले उदारचित्तका साथ दिए
हाम्रा युरोपेली भाइहरू मदतको निम्ति पुनः हात बढाउन इच्छुक भए। फ्रान्स ल्युभिएस्थित यहोवाका साक्षीहरूको कार्यालयले रोन भ्यालीका साथै नरमन्डी र पेरिसका अन्य मण्डलीहरूलाई राहत सामग्रीको खाँचोबारे सूचित गऱ्यो। यहाँ एउटा अर्को धर्मशास्त्रीय सिद्धान्त लागू भयो: “किफायतीसँग छर्नेले किफायतीसँगै काट्छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँगै काट्छ। हरेक मानिसले आफ्नो मनमा अड़कले बमोजिम गरोस्, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।”—२ कोरिन्थी ९:६, ७.
खाँचोमा परेकाहरूलाई खुशीसाथ मदत दिन हजारौं तयार भए। लुगाफाटा, जुत्ता र अन्य सामग्रीहरूका बाकस तथा थैलोहरू राज्यभवनमा जम्मा गरियो र ती फ्रान्सस्थित यहोवाका साक्षीहरूका शाखा कार्यालयमा पठाइयो। त्यहाँ ४०० स्वयंसेवकहरू “जायरलाई मदत” अभियानका लागि तम्तयार थिए। अनुदानद्वारा प्राप्त सरसामान तथा लुगाफाटाहरू ती स्वयंसेवकहरूले छुट्याए, मिलाए, पट्याए अनि प्याक गरेर ३० बाकस बनाए। त्यसलाई ठेला गाडीमा चाङ लगाइयो। केटाकेटीहरूले अफ्रिकाका स-साना भाइबहिनीहरूलाई सम्झेर टलक्क टल्किने खेलौना कार, घुर्रो, गुडिया र भालुका गुडियाहरू पठाए। जीवन धान्न चाहिने आवश्यक मालमत्तासँगै ती खेलौनाहरू प्याक गरियो। सबै सरसामानहरू जम्मा गर्दा १२ मिटर अग्लो नौवटा कन्टेनरहरू टन्न भरिए र जहाजद्वारा त्यसलाई कंगो चलान गरियो।
बेल्जियम, फ्रान्स र स्वीजरल्याण्डका हजारौं साक्षीहरूको सहयोगबाट पूर्वी अफ्रिकामा कति राहत सामग्री पठाइयो त? जुन १९९७ सम्ममा ५०० किलो औषधी, १० टन अत्यधिक प्रोटिनयुक्त बिस्कुट, २० टन अन्य खाद्यान्न, ९० टन लुगाफाटा, १८,५०० जोर जुत्ता र १,००० थान कम्बलहरू पठाई सकिएको थियो। बाइबल साहित्यहरू पनि पठाइए। यी सबै सरसामानहरूको असाध्यै मूल्यांकन गरियो। शरणार्थीहरूले सान्त्वना पाउनुका साथै कठिन परिस्थितिसँग जुझ्ने मदत पाए। राहत सामग्रीहरूको कुल लागत झन्डै १०,००,००० अमेरिकी डलर थियो। यस्ता अनुदानहरू यहोवाको सेवा गर्ने मानिसहरूबीचको भातृत्व र प्रेमको प्रमाण थियो।
कंगोमा राहत सामग्री वितरण
सरसामानहरू कंगोमा भित्रिन थालेपछि स्थानीय उद्धार समितिहरूसित काँधमा काँध मिलाउन फ्रान्सबाट दुई भाइ र एक बहिनी आए। कंगोका साक्षीहरूले देखाएका कृतज्ञताबारे जास्लिनले यसो भनिन्: “हामीले थुप्रै मूल्यांकनपत्रहरू प्राप्त गऱ्यौं। एउटी गरिब बहिनीले मलाई मालाकाइटको गहना दिइन्। अरूले चाहिं उनीहरूको फोटो दिए। हामी छुट्टिने बेलामा बहिनीहरूले मलाई चुम्बन गरे अनि रोए। म पनि उनीहरूसँगसँगै रोएँ। धेरैले यस्तो टिप्पणी गरे, ‘यहोवा असल हुनुहुन्छ। यहोवाले हाम्रो ख्याल गर्नुहुन्छ।’ मतलब, हामीले दिएका कुराहरूको श्रेय यहोवालाई दिनुपर्छ भनेर उनीहरूले बुझे। हामीले खाद्यान्न वितरण गर्दा ती भाइबहिनीहरूले राज्य गीतहरू गाएर यहोवाको प्रशंसा गरे। त्यो दृश्यले त मनै कस्तो कस्तो भयो।”
उक्त टोलीमा लोइक नामक एक डाक्टर पनि थिए। तिनबाट सहायता पाउन थुप्रै व्यक्तिहरू राज्यभवनमा धैर्यपूर्वक आफ्नो पालो कुरिरहेका थिए। डाक्टर भेट्न पालो पर्खनेहरूलाई केही दिऊँ भन्ने विचार गरेर एउटी कंगोली बहिनीले करिब ४० वटा सेल बाँडचुँड गरिन्। पालो पर्खनेहरू करिब ८० जना भएको हुनाले सबैले आधा-आधा सेल पाए।
गैरसाक्षीहरूलाई सहयोग
यहोवाका साक्षीहरूलाई मात्र उक्त मानवीय सहयोग गरिएको थिएन। सन् १९९४ मा जस्तै अरूहरूले पनि उत्तिकै लाभ उठाए। सो कार्य गलाती ६:१० अनुरूप छ जहाँ यसो भनिएको छ: “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्वासका घरानातर्फ, भलाइको काम गरौं।”
गोमा नजिकैका थुप्रै प्राथमिक स्कूलहरू तथा एउटा अनाथालयमा साक्षीहरूले औषधी र लुगाफाटा वितरण गरे। त्यस अनाथालयमा ८५ जना केटाकेटीहरू आश्रित छन्। उद्धार समिति त्यहाँका स्थिति जाँचबुझ गर्न गयो र ५० बाकस अत्यधिक प्रोटिनयुक्त बिस्कुट, लुगाफाटाहरू, १०० थान कम्बल, औषधी तथा खोलौनाहरू ल्याउने वचन दिए। अनाथालयको चोकमा खडा भएर उद्धार समितिका आगन्तुकहरूलाई केटाकेटीहरूले गीत गाएर सुनाए। त्यसपश्चात्, तिनीहरूले एउटा विशेष बिन्ती बिछ्याए। त्यो थियो, खेल्नको लागि हामीलाई एउटा फुटबल पनि ल्याइदिन सक्नुहुन्छ कि?
दुई तीन हप्तापछि उद्धार समितिले विभिन्न सरसामान ल्याइदिन्छौं भन्ने आफ्नो वचन पूरा गऱ्यो। साक्षीहरूको उदारचित्त देखेर अनि तिनीहरूले दिएका बाइबल साहित्य पढेर उक्त अनाथालयका निर्देशकको मनमा ठूलो छाप परेछ। अतः आफू पनि यहोवाको साक्षी हुने सुर कस्दै गरेको कुरा उनले बताए। अनि के केटाकेटीहरूले एउटा फुटबल पनि पाए त? फ्रान्सबाट आएका उद्धार समितिका संयोजक क्लोड भन्छन्, “अहँ। हामीले एउटा होइन दुइटा पो दियौं।”
शरणार्थी शिविरहरू
भाइहरूले कंगोमा मात्र राहत पुऱ्याएका होइनन्। युद्धग्रस्त क्षेत्रबाट ज्यान जोगाउन हजारौं शरणार्थीहरू छिमेकी देशमा भागेका थिए जहाँ हतार हतार तीनवटा शरणार्थी शिविरहरू खडा गरिएका थिए। कसरी सहयोग गर्न सकिएला भनेर निधो गर्न साक्षीहरू पनि त्यहाँ पुगे। यो रिपोर्ट तयार पारुञ्जेलसम्म ती शिविरहरूमा २,११,००० शरणार्थीहरू थिए जसमध्ये धेरैजसो कंगोका थिए। तिनीहरूमध्ये सालाखाला ८०० जना जति साक्षीहरू तथा तिनीहरूका बालबच्चाहरू अनि परमेश्वरको राज्यको सुसमाचारमा चासो देखाउने व्यक्तिहरू थिए। त्यतिखेर ती शिविरहरूमा खाद्यान्नको टड्कारो आवश्यकता थियो। एउटा शिविरमा तीन दिनसम्म पुग्नसक्ने मात्र खाद्यान्न थियो र त्यसमध्ये तीन वर्ष पुरानो सिमी पनि थियो।
यद्यपि, साक्षीहरू निराशित थिएनन्। बाइबल साहित्यहरू थोरै मात्र भए तापनि आध्यात्मिकतामा मजबूत रहन तिनीहरू खुला मैदानमा नियमित सभाहरू गर्थे। त्यति मात्र कहाँ हो र, शिविरका अन्य व्यक्तिहरूलाई परमेश्वरको राज्यको सुसमाचार सुनाउनमा पनि तिनीहरू व्यस्त रहन्थे।—मत्ती २४:१४; हिब्रू १०:२४, २५.
आवश्यकताहरू जाँचबुझ गर्ने साक्षीहरूको टोलीमा एक जना डाक्टर पनि थिए। अधिकृतहरूले उक्त टोलीलाई प्रत्येक शिविरमा दुई चार दिनभन्दा बढी समयसम्म बस्ने अनुमति नदिए तापनि औषधोपचारबारे परामर्शहरू दिइयो। तिनीहरूले मसीही प्राचीनहरूको हातमा औषधी र पैसा छाडिराखे। फलस्वरूप, भाइहरूको बचाउ भयो। उक्त टोलीले ती साक्षीहरू अब चाँडै स्वदेश फर्किनसक्ने आशा पनि गरे।
भविष्यमा नि? हाम्रो समयमा ठूलो गोलमाल हुनेछ, युद्धहरू र अनिकालहरू मच्चिनेछन् भनी येशू ख्रीष्टले भविष्यवाणी गर्नुभएको थियो। (मत्ती २४:७) वर्तमान संसारका सम्पूर्ण दुःखकष्टहरूको अन्त परमेश्वरको राज्यले मात्र गर्नसक्छ भनेर यहोवाका साक्षीहरूलाई थाह छ। उहाँको राज्य अन्तर्गत हाम्रो पार्थिव घर शान्ति, प्रशस्तताको प्रमोदवनमा परिवर्तन हुनेछ भने आज्ञाकारी मानिसहरूले चिरकालीन आनन्द पाउनेछन्। (भजन ७२:१, ३, १६) त्यो समय नआउञ्जेल साक्षीहरूले स्वर्गीय राज्यको सुसमाचार सुनाउनुका साथसाथै खाँचोमा परेको बेला सँगी उपासकहरू र अन्य व्यक्तिहरूलाई सहयोग गरी नै रहनेछन्।
[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]
सन् १९९४ देखि यता युरोपका यहोवाका साक्षीहरूले मात्रै १९० टन भन्दा बढी खाद्यान्न, लुगाफाटा, औषधी तथा अन्य सामग्रीहरू अफ्रिकाको ग्रेट लेक वरपरका इलाकाहरूमा पठाएका छन्
[पृष्ठ ६-मा भएको पेटी]
व्यवहारमा उतारिएको मसीही प्रेम
फ्रान्सको “जायरलाई मदत” अभियानमा खुला हृदयले भाग लिनेमध्ये रूथ डाने एक थिइन्। मसीही विश्वासको कारण सानै छँदा तिनी नाजी यातना शिविरमा थुनिएकी थिइन्। तिनले यसो भनिन्: “अफ्रिकाका हाम्रा भाइबहिनीहरूका लागि केही गर्नपाउँदा खुशीले हाम्रो खुट्टा भुइँमै रहेन! तर म सीमा नाघेर खुशी हुनुको अर्कै कारण थियो। सन् १९४५ मा परिवारसहित जर्मनीस्थित आफ्नो घरमा फर्किंदा हामी बिल्कुलै खाली हात थियौं। हामीले लगाएका लुगासमेत सापट लिएका थियौं। तथापि, केही समय नबित्दै अमेरिकाका आध्यात्मिक भाइहरूबाट हामीले भौतिक मदत पायौं। अतः वर्षौंअघि हामीप्रति देखाइएको दयाको ऋण मैले यस उद्धार कार्यद्वारा तिर्न सकेकी छु। मसीही प्रेमलाई व्यवहारमा उतार्ने विशाल परिवारको भाग हुन पाउनु कत्ति महान् विशेषाधिकार हो!”—यूहन्ना १३:३४, ३५.
[पृष्ठ ७-मा भएको चित्र]
चाँडै सबै मानिसहरूका लागि प्रशस्ततासहितको पार्थिव प्रमोदवन हुनेछ