रूवाण्डाको बिपत्तिमा परेका पीडितहरूको उद्धार
रूवाण्डा—अफ्रिकाको मुटुमै रहेको यो मुलुक “अफ्रिकाको स्वीट्जरल्याण्ड[को]” नाउँले चिनिन्छ। उडिरहेको हवाइजहाजबाट तल्तिर हेर्दा देखिने लहलहाउँदो हरियालीले अदनको बगैंचा झलझली सम्झना गराउँछ। त्यसै कारण रूवाण्डालाई तिनीहरूले प्रमोदवनसित तुलना गर्ने गरेका थिए।
एकताका काटिएका प्रत्येक रूखको ठाउँमा दुइटा रूखहरू रोपिन्थ्यो। वृक्षारोपणका लागि वर्षको एक दिन छुट्टाईन्थ्यो। बाटोको छेवैमा फलफूलका बोटहरू रोपिएका थिए। अधिराज्यभरि स्वतन्त्रतापूर्वक सजिलै घुमफिर गर्न सकिन्थ्यो। भिन्दाभिन्दै प्रान्तहरूलाई राजधानी किगालीसित जोड्ने मूल बाटोमा कालो पत्र ओछ्याइएको थियो। राजधानीमा जनघनत्व द्रुत गतिले बढी रहेको थियो। सामान्य कामदारले महिनाको अन्तसम्म पनि सजिलै घरगृहस्थी धान्न सक्थ्यो।
यहोवाका साक्षीहरूको मसीही क्रियाकलाप पनि रूवाण्डामा फस्टाइरहेको थियो। देशको करिब ८० लाख जनसंख्या क्याथोलिकहरू भएको यस मुलुकमा यसै वर्षको प्रारम्भतिर २,६०० भन्दा बढी साक्षीहरूले सुसमाचार पुऱ्याइरहेका थिए। (मत्ती २४:१४) मार्च महिनामा मात्रै साक्षीहरूले मानिसहरूको घरघरमा १०,००० भन्दा धेरै बाइबल अध्ययनहरू संचालन गरिरहेका थिए। किगाली वरपर जम्मा १५ मण्डलीहरू थिए।
यहोवाका साक्षीहरूका परिभ्रमण निरीक्षकले यसरी लेखे: “नोभेम्बर १९९२ मा १८ मण्डलीहरूमा म सेवारत थिएँ। तर १९९४ मार्चसम्म मण्डलीको संख्या बढेर २७ पुगिसकेको थियो। हर वर्ष अग्रगामीहरू (पूर्ण-समय सेवकहरू) को संख्या पनि बढ्दै गइरहेको थियो।” शनिवार मार्च २६, १९९४ का दिन ख्रीष्टको मृत्युको स्मरणार्थमा ९,८३४ जना उपस्थित थिए।
तर रातारात परिस्थिति परिवर्तन भयो।a
स्थापित व्यवस्थाको एक्कासि अन्त हुन्छ
सन् १९९४, अप्रिल ६ तारिख, रातको ८:०० बजेतिर किगालीमा भएको हवाइ दुर्घटनामा रूवाण्डा र बुरूण्डीका दुवै हुटु राष्ट्रपतिहरूको निधन भयो। त्यस रात राजधानीको चारैतिर पुलिसका सिटीहरू सुनिन्थ्यो र बाटोहरू बन्द थिए। त्यसपछि अर्को दिन बिहान सबेरै ठूल-ठूला चुपीहरू बोकेका सैनिक तथा मानिस- हरूले धमाधम टुट्सीहरूलाई मार्न थाले। आमहत्यामा पर्ने प्रथम व्यक्तिहरूमध्ये किगालीमा बस्ने यहोवाका साक्षीहरूको शहर निरीक्षक नाताबाना ओइजाहन, उनकी श्रीमती, छोरा र छोरी थिए।
यहोवाका साक्षीहरूको एक युरोपेली परिवारसित बाइबल अध्ययन गर्ने केही छिमेकीहरू टुट्सी थिए। हिंस्रक र अनियन्त्रित हत्याराहरू घरघरै पसेको देखेर ती छिमेकीहरूमध्ये नौ जनाले ती युरोपेलीहरूको घरमा शरण लिए। केही मिनेटमै घरभित्र पसेर ४० लुटेराहरूले सरसामानहरू फुटाल्न र फर्निचरहरू उल्टाउन थाले। दुःखको कुरा, ती टुट्सी छिमेकीहरू मारिए। आफ्ना मित्रहरूलाई बचाउन खोज्ने बाँकिलाई भने ज्यान जोगाएर भाग्न दिइयो।
हप्तौंसम्म यो माराकाट चलिरह्यो। करिब ५,००,००० वा त्यसभन्दा बढी रूवाण्डा निवासीहरू मारिएको अनुमान गरियो। हजारौं विशेषगरि टुट्सीहरू ज्यान जोगाउन भागे। जायरस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयले फ्रान्सका भाइहरूलाई राहत सामग्रीहरू खाँचो परेको जानकारी दिए। “हामीले एउटा ठूलो बाकस पुराना लुगाहरू मात्र मागेका थियौं,” जायरस्थित शाखा कार्यालयका भाइहरू भन्छन्। “तर फ्रान्सका भाइहरूले त पाँच बाकस नयाँ लत्ताकपडा तथा जुत्ताहरू पठाइदिए।” लगभग ६५ टन लुगाफाटाहरू जून ११ तारिखका दिन आइपुगे। केनियास्थित शाखा कार्यालयले पनि शरणार्थीहरूलाई लुगाफाटा र औषधिहरूका साथै स्थानीय भाषामा प्रहरीधरहरा पत्रिकाहरू पठाइदिए।
अधिकांश टुट्सी जातिहरू भएको रूवाण्डान प्याट्रिओटिक फ्रन्टले जुलाईसम्ममा हुटु अधिनस्थ सरकारमाथि विजय प्राप्त गरिसकेको थियो। तत्पश्चात् लाखौंको संख्यामा हुटुहरू देश छोडेर भाग्न थाले। बीस लाख वा यसभन्दा धेरै रूवाण्डाका नागरिकहरूले छिमेकी मुलुकमा हत्तरपत्तर बनाइएका शिविरहरूमा शरण लिंदा एक किसिमको भद्रगोल सृजना भयो।
तिनीहरूले एकअर्कालाई मदत गर्न खोजे
किगालीस्थित यहोवाका साक्षीहरूको अनुवाद कार्यालयमा कार्यरत छमध्ये दुई—अननी मबाण्डा र मुकागीसागारा डेनिज् टुट्सी थिए। तिनीहरूलाई बचाउने हुटु भाइहरूको प्रयत्न केही हप्तासम्म त सफलै रह्यो। तर मे १९९४ को अन्ततिर ती दुई टुट्सी साक्षीहरू पनि मारिए।
आफ्नो ज्यानको बाजी लगाउँदै यहोवाका साक्षीहरूले भिन्दै जातिका सहमसीहीहरूलाई बचाउन खोजे। (यूहन्ना १३:३४, ३५; १५:१३) उदाहरणको लागि मुकाबालिसा चन्टल् टुट्सी थिए। आफू बसिरहेको रंगशालामा रूवाण्डान प्याट्रिओटिक फ्रन्टका सदस्यहरूले हुटुहरूलाई खोज्दै हिंडिरहेको बेला तिनले आफ्ना हुटु भाइहरूलाई बचाउन खोजिन्। उनको प्रयत्नले गर्दा विद्रोहीहरू दिक्क भएता पनि एक जनाले आश्चर्य व्यक्त गर्दै यसो भने: “तपाईं यहोवाका साक्षीहरूको साँच्चै बलियो भ्रातृत्व रहेछ। तपाईंहरूको धर्म सर्वोत्तम छ!”
जातीय घृणाबाट अलग रहने
सयौं वर्षदेखि यस अफ्रिकी क्षेत्रमा चल्दै आएको जातीय घृणाबाट यहोवाका साक्षीहरू एकदम अलग छन् भन्न खोजिएको होइन। राहत-कार्यमा सलंग्न फ्रान्सका साक्षीले यसरी लेखे: “वर्णनै गर्न नसकिने आमहत्यालाई निम्तो दिने खालको घृणाबाट संक्रमित हुनदेखि जोगिन हाम्रा मसीही भाइहरूले पनि भीषण प्रयत्न गर्नुपर्छ।
“आफ्नै आँखाअघि परिवार मारिएको देखेका भाइहरूलाई हामीले भेट्यौं। उदाहरणको लागि बिहे गरेको भर्खर दुई दिन मात्र भएको मसीही बहिनीका पति मारिए। केही साक्षीहरूले आफ्ना बालबच्चाहरू तथा आमाबाबुहरू आफ्नैअघि मारिएका देखे। हाल युगाण्डामा रहेकी एउटी बहिनीले आफ्नो पति लगायत सम्पूर्ण परिवारको हत्या भएको देखिन्। प्रत्येक यहोवाका साक्षीहरूको परिवारले भोगेका भावनात्मक तथा शारीरिक कष्टको यो मुख्यांश मात्र हो।”
करिब ४०० साक्षीहरू यस जातीय दंगामा मारिए। यद्यपि यी मध्ये कोही पनि सहसाक्षीहरूको हातबाट भने मरेका थिएनन्। रोमन क्याथोलिक र प्रोटेस्टेन्ट चर्चहरूका टुट्सी र हुटु सदस्यहरूले हजारौंलाई मारे। विश्वभरि रहेका यहोवाका साक्षीहरू युद्ध, क्रान्ति वा संसारका अन्य कुनै पनि द्वन्दहरूमा भाग लिंदैनन् भन्ने कुरा प्रमाणितै छ।—यूहन्ना १७:१४, १६; १८:३६; प्रकाश १२:९.
वर्णनै गर्न नसकिने कष्ट
विश्वासै गर्न नसकिने मानव कष्टका फिल्म र चित्रहरू गत ग्रीष्म ऋतुमा विश्वभर मानिसहरूलाई देखाइयो। ती फिल्म तथा चित्रहरूमा रूवाण्डाबाट आएका लाखौं शरणार्थीहरू छिमेकी मुलुकमा शरण लिन ओइरिएका र अत्यन्त फोहोरी परिस्थितिमा बाँचिरहेका देखाइयो। फ्रान्सबाट राहत-कार्यका लागि आएका यहोवाका साक्षीहरूको प्रतिनिधी मण्डलका एक जनाले जुलाई ३० का दिन देखेको परिस्थितिबारे यसरी वर्णन गरे।
“हामीले अत्यन्तै विभत्स दृश्यहरू देख्यौं। टाढाटाढासम्म सडकभरि जताततै लाशै लाश देखिन्थ्यो। हजारौं मुर्दाहरूले सामुदीचिक चिहानहरू भरिएका थिए मानिसहरू भीडलाई चिर्दै जाँदा आएको दुर्गन्ध र लाशहरूको छेउमै खेलिरहेका बच्चाहरू देख्नु असह्य थियो। मरिसकेका आमाबाबुसित तिनका जीवित छोरा छोरीहरू टाँसिएर बसेका थिए। बारम्बार देखिएका यस्ता दृश्यहरूले मनमा अमेट छाप पार्छ। पूर्णतः निस्साहय भावनाले ग्रस्त अनि विभत्स दृश्य र बिजोगले गर्दा मानिस विचलित हुन्छ र ऊ चुप लागेर बस्न सक्दैन।”
जुलाईको मध्यतिर हजारौं शरणार्थीहरू जायरमा शरण लिन ओइरिएको बेला आफ्ना मसीही भाइहरू र चासो दिएकाहरूले चिनून् भनेर जायरका साक्षीहरूले सिमानामा आ-आफ्ना बाइबल आधारित प्रकाशनहरू सबैले देख्ने गरी हातले उचाले। रूवाण्डाबाट आएका शरणार्थी साक्षीहरूलाई एकै ठाउँमा जम्मा गरेपछि नजिकै गोमास्थित राज्य भवनमा लगियो। त्यही तिनीहरूको हेरविचार गरियो। अपर्याप्त औषधि तथा सुविधाहरूका बावजूद औषधोपचार गर्न जान्ने साक्षीहरूले बिरामीहरूको दुःख कम गर्न अथक प्रयास गरे।
कष्ट भोगिरहेकाहरूलाई तुरुन्तै मदत दिइयो
शुक्रवार, जुलाई २२ मा फ्रान्सका यहोवाका साक्षीहरूले अफ्रिकाबाट पठाइएको एसओएस फ्याक्स पाए। रूवाण्डा छोडेर भागिरहेका तिनीहरूका मसीही भाइहरूको बिजोग त्यसमा उल्लेख गरिएको थियो। फ्याक्स पाएको पाँच दश मिनेटभित्रै हवाइजहाजबाट राहत सामग्री ढुवानी गर्ने निर्णय भाइहरूले गरे। कम समयमै कुनै अनुभवबिना त्यस राहत सामग्रीहरू मिलाउन सप्ताहन्तमा गरिएको घोर तयारी उल्लेखनीय छ।
राहत सामग्री जुटाउने आह्वानको धेरैले प्रत्युत्तर दिए। बेल्जियम, फ्रान्स र स्वीट्जरल्याण्डका साक्षीहरूले मात्र १६,००,००० भन्दा धेरै अमेरिकी डलर बराबरको चन्दा दिए। खाद्यान्न, औषधि, संकटकालीन सामग्री लगायत सम्पूर्ण राहत सामग्रीहरू प्राप्त गरियो र ल्युभिअ, फ्रान्सस्थित यहोवाका साक्षीहरूको भवनमा ती सामानहरू पोको पारेर त्यसमा छाप लगाइयो। ती सामानहरू ओस्टेन्ड, बेल्जियम निर्यात गर्न साक्षीहरू रातदिन काममा खटे। बुधवार जुलाई २७ मा ३५ टन माल हवाइजहाजबाट ढुवानी गरियो। लगतै दोस्रो दिन मुख्यतः औषधि र अन्य सानातिना सामानहरू आपूर्ति गरियो। यसको दुई दिनपछि अर्थात् शनिवारका दिन पीडितहरूका लागि थप औषधि आपूर्ति गरियो।
ती सामानहरूभन्दा पहिले एक चिकित्सक लगायत फ्रान्सका साक्षीहरूको टोली गोमा पुगे। सोमवार जुलाई २५ का दिन डा. अन्री टालेट गोमा आइपुग्दा २० साक्षीहरू हैजाले गर्दा मरिसकेका थिए भने अझै अरू दिनप्रति दिन मरिरहेका थिए। करिब २५० किलोमिटर टाढा बुजुम्बुरा, बुरूण्डी भएर सामानहरू आउनु पर्ने भएकोले शुक्रवार जुलाई २९ तारिख बिहानसम्म ती आइपुगेका थिएनन्।
रोगव्याधीसित लड्ने
त्यतिञ्जेल केही १,६०० साक्षीहरू र तिनका साथीहरू गोमास्थित एउटा सानो राज्य भवनको जग्गामा एकसाथ बसेका थिए। यी सबै मानिसहरूका लागि एउटा शौचालय र थोरै खानाबाहेक पानीको नाउँमा एक थोपा थिएन। राज्य भवनभित्र हैजा लागेका दर्जनौं मानिसहरू कोच्चिएर बसेका थिए। मृत्यु जताततै मँडारिरहेको थियो।
हैजाले मानिसलाई जलवियोजन बनाउँछ। आँखा फुस्रो हुन्छ र मास्तिर बटारिंदै जान्छ। समयमै पुर्णजलिय उपचार गरियो भने दुई दिनभित्र रोगी आफ्नै खुट्टामा उभिन सक्छ। तसर्थ उपलब्ध थोरै औषधिबाटै भाइहरूमाथि पुर्णजलिय उपचार गर्ने प्रयास गरियो।
यस बाहेक, अरूलाई रोग नसरोस् भनेर भाइहरूले बिरामीहरूलाई अलग्गै राख्ने कोशिश गरे। तिनीहरूले गोमाको दयनीय अवस्थाबाट शरणार्थीहरूलाई अन्यत्र सार्न खोजे। धूलो र लाशका दुर्गन्धबाट टाढा किभू तलाउ नजिकै उपयुक्त ठाउँ भेटियो।
चर्पीहरू खनिए र सफासुग्घरसम्बन्धी कडा नियमहरू लागू गरियो। शौचालयको प्रयोग गरिसकेपछि ब्लीच पानीले राम्ररी हात धुनै पर्थ्यो। यी कुराहरूमा बढी जोड दिइयो र मानिसहरूले त्यसै गरे। रोगको महामारी छिटै घट्न थाल्यो।
शुक्रवार, जुलाई २९ का दिन अझ धेरै सामानहरू आइपुगेपछि गोमास्थित राज्य भवनमा एउटा सानो अस्पताल खोलियो। पट्याएर बोक्न सकिने ६० वटा पलंगहरू राखियो र पानी स्वच्छ बनाउने प्रणाली पनि जडान गरियो। यसको अतिरिक्त किभू तलाउको किनारामा बसिरहेका साक्षीहरूको लागि पालहरूको व्यवस्था गरियो। केही समयमै ५० पालहरू ताँती मिलाएर खडा गरियो।
एक पटक, करिब १५० साक्षीहरू र तिनीहरूका साथीहरू सिकिस्त बिरामी भए। तीमध्ये ४० जना अगस्तको पहिलो हप्ताभित्रै मरे। तर धेरैको ज्यान जोगाउन र कष्टको अन्त्य गर्न समयमै औषधि आपूर्ति गरियो।
कृतज्ञ, आध्यात्मिक व्यक्तिहरू
तिनीहरूलाई गरिएको सहयोगप्रति साक्षीहरूले कृतज्ञता जाहेर गरे। अन्य मुलुकका मसीही भाइहरूले देखाएको प्रेम र साँच्चै तिनीहरू अन्तर्राष्ट्रिय भ्रातृत्वको भाग हुन् भनी पाएको प्रत्यक्ष प्रमाणले तिनीहरूको मन छोयो।
कठिनाइको बावजूद साक्षीहरूले आफ्नो आध्यात्मिकता कायमै राखे। एक अवलोकनकर्ताले भने, “हरेक थोकको अत्यन्त खाँचो भएता पनि भौतिक मदतभन्दा आत्मिक आहारप्रति तिनीहरूले बढ्ता चासो राखेको देखियो।” अनुरोध गरिएअनुसार रूवाण्डाको किन्यारूवाण्डा भाषामा ५,००० प्रति पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ नामक बाइबल अध्ययन सहायक विभिन्न शरणार्थी शिविरहरूमा पठाइयो।b
शरणार्थीहरू दिनहुँ बाइबल पद मनन गर्थे र मण्डलीका सभाहरूको प्रबन्ध पनि तिनीहरूले गरेका थिए। बच्चाहरूको लागि पाठशालाको पनि व्यवस्था गरियो। शिक्षकहरूले यी कक्षाहरूको फाइदा उठाउँदै बाँच्नु छ भने सफासुग्घरी भएर बस्नै पर्छ भनेर जोड दिए।
निरन्तर आवश्यकताको खाँचो
गोमा बाहेक रुतशुरूजस्ता स्थानहरूमा हजारौं साक्षीहरू बसेका थिए। त्यहाँका भाइहरूलाई पनि यस्तै सहयोग प्रदान गरियो। जुलाई ३१ मा साक्षीहरूको एक प्रतिनिधी दल गोमाबाट दक्षिणतर्फ ४५० शरणार्थी साक्षीहरू भएको बुकाभू भन्ने ठाउँमा हवाइजहाजमा गए। तीमध्ये अधिकांश बुरूण्डीबाट आएका थिए। त्यहाँ पनि हैजाको प्रकोप बढेकोले भाइहरू नमरून् भनेर सहयोग प्रदान गरियो।
जायरको उभिरा शहरका सात विभिन्न स्थानहरूमा रहेका रूवाण्डा र बुरूण्डीका करिब १,६०० साक्षीहरू भएको ठाउँ पुग्न अर्को दिन प्रतिनिधी मण्डलले १५० किलोमिटरको दूरी तय गरे। रोगबाट कसरी बच्ने भन्ने विषयमा तिनीहरूलाई निर्देशनहरू दिइयो। प्रतिनिधी मण्डलको जाँचबुझमा आधारित रिपोर्ट यस्तो छ: “अहिलेसम्म जे जति गरिएको छ त्यो त सुरु मात्र हो अहिले हाम्रो मदत पाउने ४,७०० मानिसहरूलाई महिनौंसम्म अझै अरू मदत चाहिन्छ।”
अगस्तसम्ममा हजारौं साक्षीहरू रूवाण्डा फर्के। यद्यपि, तिनीहरूको घरबार, सरसामान सबै लुटिइसकेको थियो। अतः घर तथा राज्य भवनहरू पुनःनिर्माण गर्ने चुनौति बाँकि छ।
रूवाण्डामा यति धेरै कष्ट भोगिरहेकाहरूको लागि परमेश्वरका सेवकहरूले निरन्तर प्रार्थना गरिरहेका छन्। यस रीतिरिवाजको अन्त नजिकिंदै जाँदा अझै हिंसा मच्चिनेछ भन्ने कुरा हामीलाई थाहा छ। तथापि, विश्वभरिका यहोवाका साक्षीहरूले आफ्नो तटस्थता कायम राख्नेछन् र साँचो सहानुभूति देखाइ रहनेछन्। (g94 12/22)
[फुटनोटहरू]
a डिसेम्बर १५, १९९४ को वाचटावरमा प्रकाशित “रूवाण्डाको बिपत्ति—को जिम्मेवार?” भन्ने लेख हेर्नुहोस्।
b वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी, न्यु योर्क, इङ्क.द्वारा प्रकाशित।
[पृष्ठ १२-मा भएको नक्सा]
रूवाण्डा
किगाली
उगाण्डा
जायर
रुतशुरू
गोमा
किभू तलाउ
बुकाभू
उभिरा
बुरूण्डी
बुज्जुम्बुरा
[पृष्ठ १५-मा भएका चित्रहरू]
बाँया: नाताबाना ओइजाहन र उनको परिवारको आमहत्या भयो। दाँया: भाइहरूले बचाउन खोज्दाखोज्दै मारिएकी टुट्सी, मुकागसागारा डेनिज्
[पृष्ठ १६, १७-मा भएका चित्रहरू]
माथि: गोमास्थित राज्य भवनमा बिरामीहरूको हेरविचार गर्दै। तल बाँयातिर: साक्षीहरूले तयार गरेका ३५ टनभन्दा बढी राहत सामग्री हवाइजहाजबाट पठाइयो। तल: साक्षीहरू सरेको किभू तलाउको छेउछाऊ इलाका। तल दाँयातिर: जायरस्थित राज्य भवनमा बसेका रूवाण्डाका शरणार्थीहरू