प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 २/१ pp. १३-१८
  • नयाँ करारद्वारा महान्‌ आशिष्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ करारद्वारा महान्‌ आशिष्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ करार
  • अब्राहामको वंशद्वारा जातिहरू आशिषित
  • भविष्यवाणीको पूर्ति
  • पुरानो र नयाँ करार
  • परमेश्‍वरको राज्य—अन्तिम पूर्ति
  • यहोवा करारहरूका परमेश्‍वर हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • तिमीहरू “पूजाहारीहरूको एक राज्य” हुनेछौ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • अरू भेडा र नयाँ करार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 २/१ pp. १३-१८

नयाँ करारद्वारा महान्‌ आशिष्‌

“उहाँ [येशू] झन्‌ उत्तम करारको मध्यस्थ हुनुहुन्छ।”—हिब्रू ८:६.

१. अदनको बगैंचामा प्रतिज्ञा गरिएको “स्त्रीको सन्तान” को साबित भयो र सर्पले कसरी उहाँको ‘कुर्कुच्चा डस्यो’?

आदम र हव्वाले पाप गरेपछि यहोवाले हव्वालाई प्रलोभनमा पार्ने शैतानलाई यस्तो न्यायदण्ड सुनाउनुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।” (उत्पत्ति ३:१५) सा.यु. २९ मा येशूले यर्दन नदीमा बप्तिस्मा लिनुभएपछि प्रतिज्ञाकृत सन्तान अन्ततः देखापऱ्‍यो। सा.यु. ३३ मा उहाँलाई शूलीमा झुण्ड्याइँदा माथि उल्लिखित पुरातन भविष्यवाणीको केही अंश पूरा भयो। भविष्यवाणी गरिएझैं शैतानले उक्‍त सन्तानको ‘कुर्कुच्चा डस्यो।’

२. येशूको आफ्नै शब्दअनुसार उहाँको मृत्युले गर्दा कसरी मानवजाति लाभान्वित हुन्छन्‌?

२ तथापि खुसीको कुरा, शैतानको डसाइ असाध्यै पीडादायी भए तापनि घातक चाहिं थिएन। येशूलाई अमर आत्मिक व्यक्‍तिको रूपमा पुनः जीवित पारियो। त्यसपछि, उहाँ आफ्ना पिताकहाँ स्वर्ग जानुभयो र आफ्नो रगतलाई “धेरैको उद्धारको निम्ति आफ्नो प्राण[को]” मोल स्वरूप चढाउनुभयो। यसप्रकार, उहाँकै यी शब्द पूरा हुनगए: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (मत्ती २०:२८; यूहन्‍ना ३:१४-१६; हिब्रू ९:१२-१४) येशूको यस भविष्यवाणीको पूर्तिमा नयाँ करारको अग्र भूमिका छ।

नयाँ करार

३. नयाँ करारले पहिलोचोटी आफ्नो काम थालेको कहिले देखियो?

३ आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले आफ्ना अनुयायीहरूलाई उहाँको रगत “नयाँ करारको . . . रगत” हो भन्‍नुभएको थियो। (मत्ती २६:२८; लूका २२:२०) उहाँ स्वर्ग उक्लिनुभएको दस दिनपछि यरूशलेमको माथिल्लो कोठामा भेला भएका १२० चेलाहरूमाथि पवित्र आत्मा खन्याइँदा नयाँ करारले काम गर्न थालेको देखियो। (प्रेरित १:१५; २:१-४) यी १२० चेलाहरूलाई यसरी नयाँ करारमा बाँध्नुले “पहिलो चाहिं” करार अब पुरानो, थोत्रो भइसक्यो भनेर देखायो।—हिब्रू ८:१३.

४. के पुरानो करार फेल खाएको हो त? वर्णन गर्नुहोस्‌।

४ के त्यसोभए पुरानो करार फेल खाएको हो त? होइन। तथापि, यो चाहिं साँचो हो कि पुरानो करारको ठाउँमा नयाँ करार आइसकेको हुँदा त्यस उप्रान्त शारीरिक इस्राएली जाति परमेश्‍वरको विशेष जन रहेनन्‌। (मत्ती २३:२८) तर त्यसो हुनुको कारण पुरानो करारको असफलता नभई इस्राएलको अनाज्ञाकारिता अनि यहोवाको अभिषिक्‍त जनलाई तिरस्कार गरेको थियो। (प्रस्थान १९:५; प्रेरित २:२२, २३) तथापि, नयाँ करारले पुरानो करारको ठाउँ लिनुअघि त्यसले थुप्रै काम गऱ्‍यो। शताब्दियौंसम्म यही पुरानो करारले परमेश्‍वरसमक्ष जाने बाटो तयार पाऱ्‍यो र झूटा धर्मबाट बचायो। यसबाहेक, पुरानो करारले नयाँ करारको पूर्व झाँकी पनि देखायो र पुरानो करारअनुरूप निरन्तर बलिदान चढाइरहनुपर्ने हुँदा मानिसजातिलाई पाप र मृत्युको छुटकारा अत्यावश्‍यक छ भनेर पनि प्रष्ट पाऱ्‍यो। निस्सन्देह, “ख्रीष्टमा ल्याउनालाई व्यवस्था . . . जिम्मावाल” थियो। (गलाती ३:१९, २४; रोमी ३:२०; ४:१५; ५:१२; हिब्रू १०:१, २) तथापि, यी सबै हुँदाहुँदै अब्राहामसित गरिएको प्रतिज्ञाको आशिष्‌ नयाँ करारद्वारा मात्र पूर्णतया हासिल हुनेथियो।

अब्राहामको वंशद्वारा जातिहरू आशिषित

५, ६. अब्राहामको करारको प्राथमिक आध्यात्मिक पूर्ति हुँदा अब्राहामको सन्तान को हो र उहाँद्वारा आशिष्‌ पाउने पहिलो जाति कुन थियो?

५ यहोवाले अब्राहामसित यो प्रतिज्ञा गर्नुभयो: “तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌।” (उत्पत्ति २२:१८) पुरानो करार लागू हुँदा थुप्रै नम्र विदेशीहरूले अब्राहामको राष्ट्रिय सन्तान इस्राएलसित संगत गरेर आशिष्‌ पाए। तथापि, यसको प्राथमिक आध्यात्मिक पूर्ति हुँदा चाहिं अब्राहामको सन्तान एक जना सिद्ध पुरुष थिए। पावलले यसरी व्याख्या गरे: “अब्राहामलाई र उनका वंशलाई सो प्रतिज्ञाहरू बोलिएको हो। वंशहरूलाई भनी धेरै जनालाई भने झैं गरी होइन, तर एकै जनालाई, तेरो वंशलाई, जो ख्रीष्ट हुनुहुन्छ।”—गलाती ३:१६.

६ हो, येशू नै अब्राहामको सन्तान हुनुहुन्छ र उहाँद्वारा जाति जातिले शारीरिक इस्राएलले भन्दा धेरै उच्चकोटीको आशिष्‌ पाउँछन्‌। निस्सन्देह, यस्तो उच्चकोटीको आशिष्‌ पाउने पहिलो जाति इस्राएली आफै थियो। सा.यु. ३३ पेन्तिकोसको तुरुन्तैपछि प्रेरित पत्रुसले यहूदीहरूको भीडलाई यसो भने: “तपाईंहरू तिनै अगमवक्‍ताहरूका र त्यही करारका सन्तान हुनुहुन्छ, जो परमेश्‍वरले तपाईंहरूका पुर्खा अब्राहामलाई यसो भनेर बाँध्नुभयो, ‘तिम्रा सन्तानमा पृथ्वीका सबै परिवारले आशिष्‌ पाउनेछन्‌।’ परमेश्‍वरले आफ्ना सेवकलाई बिउँताएर तपाईंहरू हरेक आफ्ना आफ्ना अधर्मबाट फर्कनुहोस्‌ भनेर तपाईंहरूलाई आशिष्‌ दिनाको निम्ति, उहाँलाई तपाईंहरूकहाँ पहिले पठाउनुभयो।”—प्रेरित ३:२५, २६.

७. अरू कुन जातिहरू पनि अब्राहामका सन्तान येशूद्वारा आशिषित्‌ भए?

७ छिट्टै यो आशिष्‌ सामरीहरू अनि त्यसपछि अन्यजातिहरूलाई पनि दिइयो। (प्रेरित ८:१४-१७; १०:३४-४८) यस्तै सा.यु. ५० देखि ५२ तिर पावलले एसिया माइनरको गलेसिया भन्‍ने ठाउँका मसीहीहरूलाई यो लेखे: “परमेश्‍वरले अन्यजातिहरूलाई विश्‍वासैबाट धर्मी ठहराउनुहुन्छ भन्‍ने धर्मशास्त्रले पहिलेदेखिनै देखेर अब्राहामलाई अघिबाटै ‘तँमानै सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌’ भन्‍ने शुभसमाचार सुनायो। यसैकारणले जो जो विश्‍वासका छन्‌ तिनीहरूले विश्‍वासी अब्राहामसँगै आशिष्‌ पाएका छन्‌।” (गलाती ३:८, ९; उत्पत्ति १२:३) गलातीका प्रायजसो मसीहीहरू “अन्यजाति[का]” भए तापनि आफ्नो विश्‍वासको कारण तिनीहरू येशू मार्फत आशिषित भए। कसरी?

८. पावलको समयका मसीहीहरू अब्राहामको सन्तानद्वारा आशिषित्‌ हुनुमा के के समावेश थिए र अन्ततः कति जनाले त्यस्तो आशिष्‌ पाए?

८ पावलले सबै पृष्ठभूमिका गलाती मसीहीहरूलाई यसो भने: “तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका वंश हौ, र प्रतिज्ञा बमोजिमका हकवाला पनि हौ।” (गलाती ३:२९) यी गलातीहरूले अब्राहामको सन्तान मार्फत नयाँ करारको सहभागी, येशूका सहशासक अनि उहाँसँगसँगै आफू पनि अब्राहामको सन्तानको अंश हुने आशिष्‌ पाए। प्राचीन इस्राएलको जनसंख्या कति थियो हामीलाई थाह छैन। हामीलाई यति मात्र थाह छ कि तिनीहरू “समुद्रका बालुवाझैं असंख्य थिए।” (१ राजा ४:२०) तर हामीलाई येशूसँगसँगै आत्मिक सन्तानमा सहभागी हुनेहरू १,४४,००० छन्‌ भनेर थाह छ। (प्रकाश ७:४; १४:१) यी १,४४,००० “हरेक कुल, भाषा, मानिस र जाति[बाट]” आएका मानिसहरू हुन्‌ र अब्राहामको करारका आशिष्‌हरू अरूलाई प्रदान गर्ने काममा यिनीहरू भाग लिन्छन्‌।—प्रकाश ५:९.

भविष्यवाणीको पूर्ति

९. नयाँ करारमा बाँधिएकाहरूको हृदयमा यहोवाको व्यवस्था कसरी लेखिएको हुन्छ?

९ नयाँ करारको विषयमा भविष्यवाणी गर्दा यर्मियाले लेखेका थिए: “तर ती दिनपछि जुन करार म इस्राएलको घरानासित बाँध्नेछु, त्यो यही हो, ‘म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु तिनीहरूको हृदयमा म त्यो लेखिदिनेछु।’ ” (यर्मिया ३१:३३) नयाँ करारमा समावेश हुनेजति सबैले प्रेमको कारण यहोवाको सेवा गर्छन्‌। यो तिनीहरूको विशेषता नै हो। (यूहन्‍ना १३:३५; हिब्रू १:९) यहोवाको व्यवस्था तिनीहरूको हृदयमा लेखिएको हुन्छ र तिनीहरू उहाँको इच्छाअनुसार चल्ने उत्कट चाहना गर्छन्‌। हो, प्राचीन इस्राएलका कुनै कुनै विश्‍वासी व्यक्‍तिहरूले पनि यहोवाको व्यवस्थालाई अगाध प्रेम गरेका थिए। (भजन ११९:९७) तथापि, धेरैले गरेनन्‌ तर नगर्दा पनि तिनीहरू राष्ट्रको सदस्य नै भइरहे। तथापि, नयाँ करार अन्तर्गत ज-जसको हृदयमा परमेश्‍वरको व्यवस्था लेखिएको छैन तिनीहरू त्यस करारमा रहिरहन सक्दैनन्‌।

१०, ११. कुन ढंगमा यहोवा नयाँ करारमा बाँधिनेहरूको “परमेश्‍वर” हुनुहुन्छ र तिनीहरू सबैले उहाँलाई कसरी चिन्‍नेछन्‌?

१० नयाँ करार अन्तर्गत पर्नेहरूबारे यहोवाले यो पनि भन्‍नुभयो: “म तिनीहरूका परमेश्‍वर हुनेछु, तिनीहरू मेरा प्रजा हुनेछन्‌।” (यर्मिया ३१:३३) प्राचीन इस्राएलमा थुप्रैले अन्य जातिहरूका देवताहरू पूजे र पनि इस्राएली नै भइरहे। नयाँ करारको आधारमा यहोवाले शारीरिक इस्राएलको ठाउँमा आध्यात्मिक राष्ट्र अर्थात्‌ “परमेश्‍वरका इस्राएल” खडा गर्नुभयो। (गलाती ६:१६; मत्ती २१:४३; रोमी ९:६-८) तथापि, यहोवाको ऐकान्तिक उपासना नगरेको खण्डमा कोही पनि यो नयाँ आध्यात्मिक राष्ट्रको सदस्य हुनसक्दैन।

११ यहोवाले यसो पनि भन्‍नुभयो: “सानादेखि ठूलासम्म सबैले मलाई चिन्‍नेछन्‌।” (यर्मिया ३१:३४) इस्राएलमा थुप्रैले यहोवालाई वास्तै गरेनन्‌। वास्तवमा, तिनीहरू अझ यसो भनिरहेका थिए: “परमप्रभुले नता असल गर्नुहुन्छ न खराब गर्नुहुन्छ।” (सपन्याह १:१२) यहोवालाई वास्तै नगर्ने वा शुद्ध उपासनालाई अशुद्ध पार्नेजति कोही पनि परमेश्‍वरको इस्राएलमा रहनसक्‍तैन। (मत्ती ६:२४; कलस्सी ३:५) आत्मिक इस्राएलीहरू “परमेश्‍वरतिर विश्‍वासी [“परमेश्‍वरलाई चिन्‍ने,” NW] मानिसहरू” हुन्‌। (दानियल ११:३२) तिनीहरू ‘एकमात्र सत्य परमेश्‍वरलाई र येशू ख्रीष्ट [“को ज्ञान लिन,” NW]-लाई चिन्‍न’ पाउँदा रमाउँछन्‌। (यूहन्‍ना १७:३) येशूको ज्ञान लिंदा तिनीहरू परमेश्‍वरलाई अझ राम्ररी चिन्छन्‌। किनकि येशूले अद्वितीय ढंगमा “[परमेश्‍वरबारे] वयान गर्नुभएको छ।”—यूहन्‍ना १:१८; १४:९-११.

१२, १३. (क) कुन आधारमा यहोवाले यी नयाँ करारमा बाँधिनेहरूको पाप क्षमा गर्नुहुन्छ? (ख) पाप क्षमा गर्ने सन्दर्भमा कसरी नयाँ करार पुरानोभन्दा उत्कृष्ट छ?

१२ अन्तमा यहोवाले यो प्रतिज्ञा पनि गर्नुभयो: “म तिनीहरूका अपराध क्षमा गर्नेछु, र म तिनीहरूका पापलाई फेरि कहिल्यै सम्झनेछैनँ।” (यर्मिया ३१:३४ख) मोशाको व्यवस्था अन्तर्गत इस्राएलीहरूले पालन गर्नुपर्ने सयौं लिखित नीतिनियमहरू थिए। (व्यवस्था २८:१, २, १५) व्यवस्था भंग गर्नेजति सबैले आफ्नो पापको क्षमाका लागि बलिदान चढाउनुपर्थ्यो। (लेवी ४:१-७; १६:१-३१) थुप्रै यहूदीहरूले व्यवस्थाअनुसार काम गरेको खण्डमा धर्मी ठहर्नसक्छु भन्‍ने धारणा राख्नथाले। तथापि, मसीहीहरू यो जान्दछन्‌ कि आफ्नै कामको आधारमा धार्मिकता कमाउन सकिंदैन। तिनीहरूबाट पाप भइरहन्छ। (रोमी ५:१२) नयाँ करार अन्तर्गत येशूको बलिदानको आधारमा मात्र कुनै पनि व्यक्‍ति परमेश्‍वरसामु धर्मी ठहरिनसक्छ। तथापि, त्यसरी परमेश्‍वरसामु धर्मी ठहर्न सम्भव हुनु परमेश्‍वरको वरदान, उहाँको अपार करुणा हो। (रोमी ३:२०, २३, २४) धर्मी ठहरे तापनि उहाँ अझै आफ्ना सेवकहरूले आज्ञा पालन गरेको चाहनुहुन्छ। पावलअनुसार नयाँ करारमा पर्नेहरू “ख्रीष्टको व्यवस्थाको अधीनमा” हुन्छन्‌।—१ कोरिन्थी ९:२१.

१३ तसर्थ, मसीहीहरूका लागि पनि पापबलि चढाइन्छ। तर यो पापबलि व्यवस्था बाचाको पापबलिभन्दा धेरै मूल्यवान्‌ छन्‌। यस सन्दर्भमा पावलले लेखे: “[व्यवस्था बाचा अन्तर्गत] हरेक पूजाहारी दिनुहुँको सेवा गर्दै पापलाई कदापि हरण गर्न नसक्ने एकै किसिमका बलिदानहरू वारंवार चढ़ाउँदै खड़ा हुन्छन्‌। तर ख्रीष्टले ता पापको निम्ति सदाको लागि एउटै बलिदान चढ़ाएर उहाँ परमेश्‍वरको दाहिने बाहुलितर्फ बस्नुभयो।” (हिब्रू १०:११, १२) नयाँ करार अन्तर्गत पर्ने मसीहीहरूले येशूको बलिदानमा विश्‍वास गर्ने हुँदा यहोवा तिनीहरूलाई धर्मी, पापरहित र फलतः आफ्ना आत्मिक पुत्रहरू हुन योग्यका घोषित गर्नुहुन्छ। (रोमी ५:१; ८:३३, ३४; हिब्रू १०:१४-१८) मानव असिद्धताले गर्दा पाप गरेको खण्डमा तिनीहरूले यहोवासित क्षमा माग्नसक्छन्‌ र यहोवाले येशूको बलिदानको आधारमा तिनीहरूलाई क्षमा गर्नुहुन्छ। (१ यूहन्‍ना २:१, २) तथापि, जानाजानी पाप गरेको खण्डमा चाहिं परमेश्‍वरसामु धर्मी भइरहन सक्‍तैनन्‌ र नयाँ करारका सहभागी हुने सुअवसर तिनीहरूबाट खोसिन्छ।—हिब्रू २:२, ३; ६:४-८; १०:२६-३१.

पुरानो र नयाँ करार

१४. व्यवस्थाको करारअनुसार कुन किसिमको खतना आवश्‍यक थियो? नयाँ करारअनुसार नि?

१४ पुरुषहरू व्यवस्थाको अधीनमा छन्‌ भनेर जनाउन पुरानो करार अन्तर्गत पुरुषहरूको खतना गरिन्थ्यो। (लेवी १२:२, ३; गलाती ५:३) मसीही मण्डली स्थापित भइसकेपछि गैरयहूदी मसीहीहरूको पनि खतना हुनुपर्छ भन्‍ने कसै कसैको विचार थियो। तर यरूशलेमका प्रेरित तथा प्राचीनहरूले परमेश्‍वरको वचनको आधारमा र पवित्र आत्माको निर्देशनमा सो आवश्‍यक छैन भनी बुझे। (प्रेरित १५:१, ५, २८, २९) केही वर्षपछि पावलले यसै सम्बन्धमा यसो भने: “बाहिरी यहूदी देखाउने यहूदीनै होइन, औ बाहिरी शरीरमा खतना हुने खतनाकै होइन, तर भित्र मनका यहूदी हुनेनै यहूदी हो, औ लेखिएको व्यवस्थामा होइन, तर आत्मामा हृदयको खतना हुने चाहिं खतनाको हो।” (रोमी २:२८, २९) शारीरिक खतना चाहे यहूदीले नै किन नगरोस्‌ यहोवाको नजरसामु त्यसको कुनै आध्यात्मिक मूल्य थिएन। नयाँ करार अन्तर्गत शरीरको होइन, हृदयको खतना हुनु नितान्त आवश्‍यक छ। यहोवालाई अप्रसन्‍न तुल्याउने वा उहाँको नजरमा अशुद्ध जुनसुकै विचार, चाहना र प्रेरणा तिनीहरूले उखेलेर फ्याँक्नुपर्थ्यो।a पवित्र आत्माको शक्‍ति पाएर साँच्चै यसरी विचारशैलीमा परिवर्तन ल्याउन सकिन्छ भन्‍ने प्रमाणको रूपमा आज थुप्रै मानिसहरू छन्‌।—१ कोरिन्थी ६:९-११; गलाती ५:२२-२४; एफिसी ४:२२-२४.

१५. राजकीय शासनको सन्दर्भमा शारीरिक इस्राएल र परमेश्‍वरको इस्राएलबीच के भिन्‍नता छ?

१५ व्यवस्था बाचाको प्रबन्धअनुसार यहोवा इस्राएलको राजा हुनुहुन्थ्यो र समयमा उहाँले यरूशलेमका राजाहरू मार्फत आफ्नो सार्वभौमिकता देखाउनुभयो। (यशैया ३३:२२) परमेश्‍वरको इस्राएल अर्थात्‌ आत्मिक इस्राएलका राजा पनि यहोवा नै हुनुहुन्छ र सा.यु. ३३ देखि यता “स्वर्ग र पृथ्वीमा सारा अधिकार” पाउनुहुने येशू ख्रीष्ट मार्फत राज्य गरिरहनुभएको छ। (मत्ती २८:१८; एफिसी १:१९-२३; कलस्सी १:१३, १४) आज परमेश्‍वरको इस्राएलले येशूलाई १९१४ मा स्थापित परमेश्‍वरको स्वर्गीय राज्यका राजा मान्छन्‌। हिजकियाह, योशियाह र प्राचीन इस्राएलका अन्य वफादार राजाहरूभन्दा येशू धेरै उत्तम राजा हुनुहुन्छ।—हिब्रू १:८, ९; प्रकाश ११:१५.

१६. परमेश्‍वरको इस्राएल कुन प्रकारको पूजाहारीगिरी हो?

१६ प्राचीन इस्राएल एउटा राज्य मात्र नभई त्यहाँ अभिषिक्‍त पूजाहारीवर्ग पनि थियो। सा.यु. ३३ मा परमेश्‍वरको आत्मिक इस्राएलले शारीरिक इस्राएलको ठाउँ ओगट्यो र यहोवाको “दास” अनि “साक्षी” भयो। (यशैया ४३:१०) अतः त्यस उप्रान्त यशैया ४३:२१ अनि प्रस्थान १९:५, ६ मा यहोवाले इस्राएललाई भन्‍नुभएका कुराहरू परमेश्‍वरको इस्राएलमाथि लागू भयो। तबदेखि परमेश्‍वरको नयाँ आध्यात्मिक राष्ट्र “चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा” भयो र ‘उहाँको सर्वश्रेष्ठता देखाउने’ जिम्मेवारी तिनीहरूलाई सुम्पियो। (१ पत्रुस २:९) परमेश्‍वरको इस्राएलका के पुरुष के स्त्री सबै जना सामूहिक तवरमा पूजाहारीगिरी भए। (गलाती ३:२८, २९) अब्राहामको सन्तानको सहायक अंशको हैसियतमा तिनीहरू अब यसो भन्छन्‌: “हे अन्यजाति हो, उहाँका प्रजाको प्रशंसा गर।” (व्यवस्था ३२:४३) अहिले यो आध्यात्मिक इस्राएलका जे-जति सदस्य पृथ्वीमा छन्‌, तिनीहरू नै “विश्‍वासी र बुद्धिमान दास” हुन्‌। (मत्ती २४:४५-४७) यिनीहरूसँग मेलजोल गरेर मात्र परमेश्‍वरलाई स्वीकार्य पवित्र सेवा चढाउन सकिन्छ।

परमेश्‍वरको राज्य—अन्तिम पूर्ति

१७. नयाँ करारमा बाँधिनेहरूले कुन किसिमको जन्म अनुभव गर्छन्‌?

१७ सा.यु.पू. १५१३ पछि जन्मिएका इस्राएलीहरू जन्मिनेबित्तिकै व्यवस्था करारको अधीनमा भए। यहोवाले नयाँ करारमा बाँध्नुभएकाहरूले पनि जन्मको अनुभव गर्नेछन्‌ तर त्यो शारीरिक जन्म नभई आध्यात्मिक जन्म हुनेछ। यस सन्दर्भमा येशूले फरिसी निकोदेमसलाई यसो भन्‍नुभएको थियो: “साँचो साँचो म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्‍वरको राज्य देख्नसक्‍तैन।” (यूहन्‍ना ३:३) सा.यु. ३३ पेन्तिकोसको दिन यरूशलेमको माथिल्लो कोठामा भेला हुने १२० चेलाहरू यो नयाँ जन्म अनुभव गर्ने प्रथम असिद्ध मानवहरू थिए। नयाँ करार अन्तर्गत धर्मी घोषित गरिसकिएको हुँदा तिनीहरूले आफ्नो शाही उत्तराधिकारको “बैना” स्वरूप पवित्र आत्मा पाए। (एफिसी १:१४) परमेश्‍वरको धर्मपुत्र हुनका लागि तिनीहरू “आत्माबाट जन्मे” र येशूका भाइ अनि साथै “ख्रीष्टसँग साझे-हकवाला” पनि भए। (यूहन्‍ना ३:६; रोमी ८:१६, १७) तिनीहरू ‘नयाँ गरी जन्मिएपछि’ अद्‌भुत प्रत्याशाहरूको मार्ग खुल्यो।

१८. नयाँ गरी जन्म भएपछि नयाँ करारमा बाँधिनेहरूका लागि कुन अद्‌भुत प्रत्याशाहरूको ढोका खुल्छ?

१८ नयाँ करारको मध्यस्थ हुनुहुँदा येशूले आफ्ना अनुयायीहरूसित अर्को करार पनि बाँध्नुभएको थियो: “मेरा पिताले मेरो निम्ति नियुक्‍त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु।” (लूका २२:२९) यो राज्यसम्बन्धी करारले दानियल ७:१३, १४, २२, २७ मा उल्लिखित उल्लेखनीय दर्शन पूरा गर्नका निम्ति बाटो तयार पार्छ। उक्‍त दर्शनमा दानियलले “मानिसका पुत्रजस्तै कोही[लाई]” “अति प्राचीन उमेर[काले]” अर्थात्‌ यहोवा परमेश्‍वरले राजपाट दिइरहेको देखे। त्यसपछि, दानियलले “पवित्र जनहरूले राज्याधिकार प्राप्त” गरेको देखे। “मानिसको पुत्रजस्तै कोही” येशू हुनुहुन्छ र उहाँले १९१४ मा यहोवा परमेश्‍वरको बाहुलीबाट स्वर्गीय राज्य पाउनुभयो। येशूका आत्मा अभिषिक्‍त चेलाहरू “पवित्र जनहरू” हुन्‌। यिनीहरूले उहाँसँगै राज्य गर्नेछन्‌। (१ थिस्सलोनिकी २:१२) कसरी?

१९, २०. (क) नयाँ करारमा बाँधिनेहरूले अब्राहामसित यहोवाले गर्नुभएका प्रतिज्ञाहरूको कुन चाहिं गौरवमय पूर्तिहरू देख्नेछन्‌? (ख) अरू कुन प्रश्‍नहरूको जवाफ पाउनु आवश्‍यक छ?

१९ यी अभिषिक्‍त जनहरूलाई मृत्युपश्‍चात येशूसँगै स्वर्गमा राजा र पूजाहारीको हैसियतले सेवा गर्न येशूलाई जस्तै अमर आत्मिक प्राणीको रूपमा बिउँताइनेछ। (१ कोरिन्थी १५:५०-५३; प्रकाश २०:४, ६) कति गौरवशाली आशा! स्वर्गमा पुगेपछि यिनीहरूले कनान देश मात्र नभई “पृथ्वीमाथि राज्य गर्छन्‌।” (प्रकाश ५:१०) के यिनीहरूले “आफ्ना शत्रुहरूका शहरहरू कब्जा गर्नेछ[न्‌]” त? (उत्पत्ति २२:१७) गर्नेछन्‌। तिनीहरूले निर्णायाक ढंगमा शत्रुका शहरहरू कब्जा गर्नेछन्‌ जब वैमनस्यता राख्ने धार्मिक वेश्‍या महान बेबिलोनको विनाश तिनीहरूले देख्नेछन्‌ र पुनरूत्थान भइसकेका यी अभिषिक्‍त जनहरूले येशूसँगसँगै “फलामको डण्डाले” जाति जातिलाई डोऱ्‍याउने काममा भाग लिन्छन र शैतानको शिर कुच्याउँछन्‌। यसप्रकार, उत्पत्ति ३:१५ को भविष्यवाणीको अन्तिम पूर्ती गर्नुमा तिनीहरूको पनि भूमिका रहनेछ।—प्रकाश २:२६, २७; १७:१४; १८:२०, २१; रोमी १६:२०.

२० तैपनि, हाम्रो मनमा प्रश्‍न उठ्‌ला, अब्राहामको करार र नयाँ करारमा के विश्‍वासी १,४४,००० मात्र समावेश छन्‌ त? छैनन्‌। यी करारमा प्रत्यक्षतः नमुछिएका अरू मानिसहरूले पनि यी करारद्वारा आशिष्‌ पाउनेछन्‌, जुन हामी अर्को लेखमा छलफल गर्नेछौं।

[फुटनोट]

a वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित धर्मशास्त्रमाथि अन्तरदृष्टि (अंग्रेजी) खण्ड १, पृष्ठ ४७० हेर्नुहोस्‌।

के तपाईंलाई सम्झना छ?

◻ नयाँ करारले पहिलो चोटी आफ्नो काम थालेको कहिले देखियो?

◻ पुरानो करारद्वारा कुन कुरा पूरा गरियो?

◻ अब्राहामको सन्तान मुख्यतः को हो र क्रमशः कुन कुन जाति यस सन्तानद्वारा आशिषित्‌ भए?

◻ एक लाख चवालीस हजारको सन्दर्भमा अब्राहामको करार र नयाँ करारको अन्तिम पूर्ति के हो?

[पृष्ठ १५-मा भएको चित्र]

पुरानो करार अन्तर्गत पर्नेहरूलाई दिइने पापको क्षमाभन्दा नयाँ करार अन्तर्गत पर्नेहरूलाई दिइने पापको क्षमा धेरै प्रभावकारी छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने