प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १०/१५ pp. १३-१७
  • तिमीहरू “पूजाहारीहरूको एक राज्य” हुनेछौ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिमीहरू “पूजाहारीहरूको एक राज्य” हुनेछौ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सन्तानलाई सुरक्षा दिने करार
  • नयाँ राष्ट्र खडा हुन्छ
  • नयाँ करार लागू हुन्छ
  • ख्रीष्टसित शासन गर्न सम्भव तुल्याउने करार
  • परमेश्‍वरको राज्यमा अटल विश्‍वास राख्नुहोस्‌
  • नयाँ करारद्वारा महान्‌ आशिष्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवा करारहरूका परमेश्‍वर हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १०/१५ pp. १३-१७
प्रभुको साँझको भोज स्थापना गर्दै येशू

तिमीहरू “पूजाहारीहरूको एक राज्य” हुनेछौ

“तिमीहरू मेरा निम्ति पूजाहारीहरूको एक राज्य, र एक पवित्र जाति हुनेछौ।”—प्रस्थ. १९:६.

के तपाईं बुझाउन सक्नुहुन्छ?

“परमेश्‍वरको उद्देश्‍य पूरा गर्ने करारहरू” पेटी हेरेर यी करारहरूको उद्देश्‍यबारे बताउनुहोस्‌।

  • व्यवस्थाको करार

  • नयाँ करार

  • राज्य करार

१, २. स्त्रीको सन्तानलाई सुरक्षा दिनु किन आवश्‍यक थियो?

बाइबलको पहिलो भविष्यवाणीले परमेश्‍वरको उद्देश्‍य कसरी पूरा हुन्छ भनेर बुझ्न मदत गर्छ। अदनको बगैंचामा साँचो परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभयो, “तेरो [सैतान] र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु।” यो दुस्मनी कत्तिको डरलाग्दो हुने थियो? यहोवाले भन्‍नुभयो, “त्यसले [स्त्रीको सन्तान] तेरो [सैतान] शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।” (उत्प. ३:१५) सर्प र स्त्रीबीचको दुस्मनी एकदमै डरलाग्दो हुने थियो। स्त्रीको सन्तानलाई नाश गर्न सैतानले भएभरको बल लगाउने थियो।

२ भजनरचयिताले परमेश्‍वरको प्रजाबारे प्रार्थनामा यसो भने, “हेर्नुहोस्‌, तपाईंका शत्रुहरूले खैलाबैला गर्छन्‌, तपाईंलाई घृणा गर्नेहरूले आफ्नो शिर ठाडो पारेका छन्‌। तिनीहरूले तपाईंको प्रजाको विरुद्ध छलको सल्लाह गर्दछन्‌, र तपाईंले लुकाउनुभएका मानिसहरूको विरुद्धमा जम्मा भएर मतो गर्दछन्‌। तिनीहरूले भनेका छन्‌, ‘आओ, हामी तिनीहरूलाई यसरी नाश गरौं, कि तिनीहरू एक जाति नै नरहोस्‌।’” (भज. ८३:२-४) सैतानको उद्देश्‍य मसीह आउने वंशलाई नाश गर्नु र बिटुलो पार्नु थियो। सन्तानलाई सुरक्षा दिन र मसीही राज्यमार्फत आफ्नो उद्देश्‍य पूरा हुनेछ भन्‍ने ग्यारेन्टी दिन यहोवाले करारहरू बाँध्नुभयो।

सन्तानलाई सुरक्षा दिने करार

३, ४. (क) इस्राएलीहरू के गर्न राजी भए? व्यवस्थाको करार कहिलेदेखि लागू भयो? (ख) यहोवाले इस्राएल राष्ट्रसित किन व्यवस्थाको करार बाँध्नुभयो?

३ अब्राहाम, इसहाक र याकूबका सन्तानहरू बढ्‌दै गएर लाखौं पुगे। त्यसपछि यहोवाले उनीहरूलाई राष्ट्रको रूपमा सङ्‌गठित पार्नुभयो। त्यो इस्राएल राष्ट्र थियो। यहोवाले मोशामार्फत त्यस राष्ट्रसित एउटा विशेष करार बाँध्नुभयो। त्यस करारलाई व्यवस्थाको करार भनिन्छ। उहाँले इस्राएलीहरूलाई व्यवस्था दिनुभयो र उनीहरू त्यो व्यवस्थाअनुसार चल्न राजी भए। बाइबल यसो भन्छ, “[मोशाले] करारको पुस्तक लिएर मानिसहरूको सामने पढे, औ तिनीहरूले भने, ‘परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी गर्नेछौं र आज्ञाकारी हुनेछौं।’ तब मोशाले रगत लिएर मानिसहरूमाथि छर्के, र भने, ‘हेर, यो त्यो करारको रगत हो, जो परमप्रभुले आफ्नो व्यवस्थाका सबै वचनअनुसार तिमीहरूसित बाँध्नुभएको छ।’”—प्रस्थ. २४:३-८.

४ व्यवस्थाको करार ईसापूर्व १५१३ देखि लागू भयो। त्यस करारमार्फत इस्राएलीहरू परमेश्‍वरले रोज्नुभएको जाति भए। यहोवा उनीहरूको ‘न्यायाधीश र राजा’ हुनुभयो अनि उनीहरूलाई “व्यवस्था” दिनुभयो। (यशै. ३३:२२, NRV) परमेश्‍वरको स्तरअनुसार चल्दा कस्तो फाइदा हुन्छ अनि नचल्दा कस्तो हानि हुन्छ, इस्राएलीहरूको इतिहासले देखाउँछ। व्यवस्थाअनुसार इस्राएलीहरूले मूर्तिपूजकहरूसित विवाहवारी गर्नुहुँदैनथ्यो र अन्य देवताहरूको पूजा गर्नुहुँदैनथ्यो। अब्राहामका सन्तानहरूलाई बिटुलो हुनदेखि जोगाउन यहोवाले व्यवस्था दिनुभएको थियो।

५. (क) व्यवस्थाको करारले इस्राएलीहरूलाई कस्तो अवसर दिने थियो? (ख) यहोवाले इस्राएल राष्ट्रलाई किन त्याग्नुभयो?

५ व्यवस्थाको करारअन्तर्गत यहोवाले इस्राएलमा सेवा गर्न पुजारीहरू नियुक्‍त गर्नुभयो। ती पुजारीहरूले भविष्यमा अझ राम्ररी मानिसहरूको सेवा गर्ने पुजारीहरूको एउटा समूहलाई चित्रण गर्थे। (हिब्रू ७:११; १०:१) व्यवस्थाको करारले इस्राएली जातिलाई “पूजाहारीहरूको एक राज्य” हुने विशेष अवसर दिने थियो। त्यो सुअवसर पाउन इस्राएलीहरूले यहोवाको व्यवस्था पालन गर्नुपर्थ्यो। (प्रस्थान १९:५, ६ पढ्‌नुहोस्‌) तर उनीहरूले त्यसो गरेनन्‌। उनीहरूले अब्राहामको सन्तानको पहिलो भाग मसीहलाई तिरस्कार गरे। त्यसकारण यहोवाले पनि उनीहरूलाई त्याग्नुभयो।

परमेश्‍वरले सीनै पर्वतमा इस्राएल राष्ट्रसित व्यवस्थाको करार बाँध्नुभएको

इस्राएलीहरूले यहोवाको आज्ञा पालन नगरे पनि व्यवस्थाको करार बेकामको भएन (अनुच्छेद ३-६ हेर्नुहोस्‌)

६. यहोवाले किन व्यवस्था दिनुभएको थियो?

६ इस्राएलीहरू परमेश्‍वरप्रति वफादार रहेनन्‌। त्यसकारण तिनीहरूले पुजारीहरूको एक राज्य हुने सुअवसर गुमाए। तर यसको अर्थ व्यवस्था बेकामको भयो भन्‍ने होइन। सन्तानलाई सुरक्षा दिन र मानिसहरूलाई मसीह चिन्‍न मदत गर्न यहोवाले व्यवस्था दिनुभएको थियो। ख्रीष्ट पृथ्वीमा आउनुभएपछि र मानिसहरूले उहाँलाई चिनेपछि व्यवस्था पूरा हुनेथियो। बाइबलअनुसार “ख्रीष्टमै मोशाको व्यवस्थाको अन्त भयो।” (रोमी १०:४) तर पुजारीहरूको एक राज्य हुने सुअवसर कसले पाउने थियो? नयाँ राष्ट्र खडा गर्न परमेश्‍वरले अर्को कानुनी सम्झौता गर्नुभयो।

नयाँ राष्ट्र खडा हुन्छ

७. यहोवाले यर्मियामार्फत के भन्‍नुभयो?

७ व्यवस्थाको करार खारेज हुनुभन्दा धेरै अघि यहोवाले इस्राएलीहरूसित “नयाँ करार” बाँध्ने कुरा यर्मियामार्फत बताउनुभयो। (यर्मिया ३१:३१-३३ पढ्‌नुहोस्‌) नयाँ करार व्यवस्थाको करारभन्दा फरक थियो। नयाँ करारले गर्दा पशुबलिविनै पापको क्षमा पाउन सकिने भयो। तर कसरी?

८, ९. (क) येशूले बगाउनुभएको रगतले गर्दा के सम्भव भयो? (ख) नयाँ करारमा बाँधिएकाहरूले कस्तो सुअवसर पाउनेछन्‌? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

८ सयौं वर्षपछि इस्वी संवत्‌ ३३, नीसान १४ मा प्रभुको साँझको भोज स्थापना गर्दा येशूले यस करारबारे बताउनुभयो। उहाँले ११ जना वफादार प्रेषितलाई दाखमद्यको कचौराबारे यसो भन्‍नुभयो, “यो कचौरा त्यो नयाँ करारको प्रतीक हो, जो तिमीहरूका लागि बगाइने मेरो रगतको आधारमा बाँधिनेछ।” (लूका २२:२०) मत्तीको विवरणमा येशूले दाखमद्यबारे यसो भन्‍नुभयो, “यो ‘करारको मेरो रगतको’ प्रतीक हो, जो पापहरूको क्षमा होस्‌ भनेर थुप्रैका लागि बगाइनेछ।”—मत्ती २६:२७, २८.

९ येशूले बगाउनुभएको रगतले नयाँ करारलाई कानुनी मान्यता दियो। येशूको रगतले गर्दा सधैंको लागि पापको क्षमा पाउन सम्भव भयो। येशू नयाँ करारमा सम्मिलित हुनुहुन्‍न। किनकि उहाँ पापी हुनुहुन्‍न र उहाँलाई क्षमाको आवश्‍यकता छैन। तर उहाँले बगाउनुभएको रगतको आधारमा यहोवाले आदमका सन्तानलाई क्षमा दिन सक्नुहुन्थ्यो। यहोवाले केही वफादार सेवकलाई पवित्र शक्‍तिले अभिषेक गरेर “धर्मपुत्र” बनाउन पनि सक्नुहुन्थ्यो। (रोमी ८:१४-१७ पढ्‌नुहोस्‌) यहोवाको नजरमा उनीहरू पनि येशूजस्तै निष्खोट हुने थिए। उनीहरू “ख्रीष्टका सँगी उत्तराधिकारी” र “पूजाहारीहरूको एक राज्य” हुने थिए। इस्राएलीहरूले गुमाएको यो सुअवसर उनीहरूले पाउने थिए। “ख्रीष्टका सँगी उत्तराधिकारी”-हरूबारे प्रेषित पावलले यसो भने, “तिमीहरू त ‘चुनिएको जाति,’ शाही पुजारीको दल, पवित्र राष्ट्र अनि परमेश्‍वरको विशेष सम्पत्ति हौ। त्यसकारण, जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा ल्याउनुभयो, उहाँका असल गुणहरूबारे तिमीहरूले चारैतिर घोषणा गर्नुपर्छ।” (१ पत्रु. २:९) नयाँ करार एकदमै महत्त्वपूर्ण छ। यसले येशूका चेलाहरूलाई अब्राहामको सन्तानको दोस्रो भाग बन्‍ने मौका दियो।

नयाँ करार लागू हुन्छ

१०. नयाँ करार कहिलेदेखि लागू भयो? नयाँ करार त्योभन्दा अघि किन लागू भएन?

१० येशूले प्रभुको साँझको भोज स्थापना गर्नुहुँदा नयाँ करार लागू भएको हो? होइन। यो करार लागू हुन येशूले आफ्नो रगतको मोल स्वर्गमा यहोवासामु चढाउनुपर्थ्यो। साथै, “ख्रीष्टका सँगी उत्तराधिकारी” हुनेहरूमाथि पवित्र शक्‍ति खन्याइनुपर्थ्यो। त्यसोभए नयाँ करार कहिलेदेखि लागू भयो? इस्वी संवत्‌ ३३ देखि। त्यतिबेला येशूका वफादार चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइयो।

११. नयाँ करारले गर्दा यहूदी र अन्यजाति दुवै कसरी आध्यात्मिक इस्राएलको भाग हुन सके? नयाँ करारमा कति जना सम्मिलित छन्‌?

११ यहोवाले यर्मियामार्फत नयाँ करारको विषयमा बताउनुहुँदा व्यवस्थाको करार रद्द हुने सङ्‌केत दिनुभयो। नभन्दै, नयाँ करार लागू भएपछि व्यवस्थाको करार रद्द भयो। (हिब्रू ८:१३) त्यसपछि परमेश्‍वरले यहूदी र खतना नभएका अन्यजातिहरूलाई समान रूपमा हेर्नुभयो। किनकि “लिखित नियमबमोजिम होइन तर पवित्र शक्‍तिद्वारा” ती अन्यजातिहरूको “मनको खतना भएको छ।” (रोमी २:२९) यहोवाले आफ्ना नियमहरू उनीहरूको मन र दिमागमा राखिदिनुहुने थियो। (हिब्रू ८:१०) नयाँ करारमा १ लाख ४४ हजार अभिषिक्‍त जन सम्मिलित छन्‌। तिनीहरू मिलेर एउटा नयाँ राष्ट्र खडा हुन्छ। त्यस राष्ट्रलाई बाइबलमा “परमेश्‍वरको इस्राएल” अर्थात्‌ आध्यात्मिक इस्राएल भनिएको छ।—गला. ६:१६; प्रका. १४:१, ४.

१२. व्यवस्थाको करार र नयाँ करारबीच कस्ता भिन्‍नता छन्‌?

१२ व्यवस्थाको करार र नयाँ करारबीच कस्ता भिन्‍नता छन्‌? व्यवस्थाको करार यहोवा र इस्राएल राष्ट्रबीच बाँधिएको थियो। नयाँ करार यहोवा र आध्यात्मिक इस्राएलबीच बाँधिएको छ। व्यवस्थाको करारको मध्यस्थकर्ता मोशा थिए। नयाँ करारको मध्यस्थकर्ता येशू हुनुहुन्छ। व्यवस्थाको करारलाई जनावरको बलिले कानुनी मान्यता दियो। नयाँ करारलाई येशूले बगाउनुभएको रगतले कानुनी मान्यता दियो। व्यवस्थाको करारअन्तर्गत मोशा इस्राएल राष्ट्रको नाइके थिए। मण्डलीका शिर येशू नयाँ करारमा समावेश भएका व्यक्‍तिहरूको नाइके हुनुहुन्छ।—एफि. १:२२.

१३, १४. (क) नयाँ करार कसरी राज्यसित सम्बन्धित छ? (ख) अभिषिक्‍त जनहरूले केको आधारमा येशूसित राजा र पुजारीको रूपमा शासन गर्नेछन्‌?

१३ नयाँ करार कसरी परमेश्‍वरको राज्यसित सम्बन्धित छ? यस करारले पवित्र राष्ट्रलाई जन्म दिन्छ। अब्राहामको सन्तानको दोस्रो भाग मिलेर त्यो राष्ट्र बनेको छ। त्यस राष्ट्रले स्वर्गको राज्यमा राजा र पुजारीको रूपमा सेवा गर्ने सुअवसर पाउनेछ। (गला. ३:२९) त्यसकारण नयाँ करारले अब्राहामसित बाँधिएको करार पक्कै पूरा हुनेछ भनेर पुष्टि गर्छ।

१४ नयाँ करारले गर्दा आध्यात्मिक इस्राएलको जन्म भयो। साथै, त्यस करारले गर्दा अभिषिक्‍त जनहरूले “ख्रीष्टका सँगी उत्तराधिकारी” हुने मौका पाए। तर तिनीहरूले केको आधारमा येशूसित राजा र पुजारीको रूपमा शासन गर्नेछन्‌? अर्को करारको आधारमा।

ख्रीष्टसित शासन गर्न सम्भव तुल्याउने करार

१५. येशूले आफ्ना विश्‍वासी चेलाहरूसित कुन करार बाँध्नुभयो?

१५ प्रभुको साँझको भोज स्थापना गरेपछि येशूले आफ्ना विश्‍वासी चेलाहरूसित करार बाँध्नुभयो। त्यस करारलाई राज्य करार भनिन्छ। (लूका २२:२८-३० पढ्‌नुहोस्‌) यो करार येशू र अभिषिक्‍त जनहरूबीच बाँधिएको छ। यसमा यहोवा सम्मिलित हुनुहुन्‍न। लूका २२:२९ मा येशूले ‘मेरो पिताले मसित करार गर्नुभएजस्तै’ भन्‍नुभयो। त्यतिबेला येशूले “सधैंका लागि मल्कीसेदेकजस्तो पुजारी” हुने करारबारे कुरा गर्नुभएको हुन सक्छ।—हिब्रू ५:५, ६.

१६. राज्य करारले गर्दा अभिषिक्‍त ख्रीष्टियनहरूले के गर्न सक्छन्‌?

१६ येशूमाथि परीक्षाहरू आइपर्दा ११ जना प्रेषित उहाँप्रति वफादार रहिरहे। प्रेषितहरू सिंहासनहरूमा बस्नेछन्‌ अनि स्वर्गमा येशूसित राजा र पुजारीको रूपमा सेवा गर्नेछन्‌ भन्‍ने ग्यारेन्टी राज्य करारले दियो। तर त्यस्तो सुअवसर पाउनेहरू ती ११ जना चेला मात्र होइनन्‌। येशू दर्शनमा प्रेषित यूहन्‍नाकहाँ देखा पर्नुभयो र भन्‍नुभयो, “जसले विजय हासिल गर्छ, म उसलाई मसित मेरो सिंहासनमा बस्न दिनेछु, जस्तो म पनि विजयी भएर मेरो बुबासित उहाँको सिंहासनमा बसेको छु।” (प्रका. ३:२१) स्पष्ट छ, राज्य करार १ लाख ४४ हजार अभिषिक्‍त ख्रीष्टियनहरूसित बाँधिएको छ। (प्रका. ५:९, १०; ७:४) यस करारले गर्दा तिनीहरूले येशूसित स्वर्गबाट शासन गर्न सक्छन्‌। तिनीहरू राजासित विवाह गर्न छानिएकी केटीजस्तै हुन्‌। विवाह भएपछि दुलहीले राजासित शासन गर्ने अधिकार पाउने छिन्‌। बाइबलले अभिषिक्‍त ख्रीष्टियनहरूलाई ख्रीष्टकी “दुलही” र ख्रीष्टसित मगनी भएको “चोखो कुमारी केटी” भनेको छ।—प्रका. १९:७, ८; २१:९; २ कोरि. ११:२.

परमेश्‍वरको राज्यमा अटल विश्‍वास राख्नुहोस्‌

१७, १८. (क) परमेश्‍वरको राज्यसित सम्बन्धित छवटा करारहरूबारे व्याख्या गर्नुहोस्‌। (ख) हामी परमेश्‍वरको राज्यमा किन अटल विश्‍वास राख्न सक्छौं?

१७ यी दुई लेखमा हामीले छलफल गरेको सबै करार परमेश्‍वरको राज्यसित सम्बन्धित छन्‌। (अघिल्लो लेखमा “परमेश्‍वरको उद्देश्‍य पूरा गर्ने करारहरू” भन्‍ने पेटी हेर्नुहोस्‌) राज्यको लागि गरिएका प्रबन्धहरू कानुनी सम्झौतामा आधारित छन्‌। त्यसकारण परमेश्‍वरको राज्यले उहाँको उद्देश्‍य अवश्‍य पूरा गर्नेछ। यहोवाले मसीही राज्यमार्फत पृथ्वी र मानिसजातिको लागि आफ्नो उद्देश्‍य पूरा गर्नुहुनेछ भनेर हामी पक्का छौं।—प्रका. ११:१५.

येशू र अभिषिक्‍त ख्रीष्टियनहरू स्वर्गबाट शासन गर्दै

मसीही राज्यमार्फत यहोवाले पृथ्वीको लागि आफ्नो उद्देश्‍य पूरा गर्नुहुनेछ (अनुच्छेद १५-१८ हेर्नुहोस्‌)

१८ परमेश्‍वरको राज्यले मात्र मानिसजातिको समस्या समाधान गर्नेछ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। यस राज्यले मानिसहरूलाई सधैंको लागि फाइदा पुऱ्‍याउनेछ भनेर हामी विश्‍वस्त छौं। यस्तो महत्त्वपूर्ण सत्यबारे जोसिलो भई प्रचार गरौं।—मत्ती २४:१४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने