चर्चहरूले गल्ती स्वीकार्छन्
“पोपले चर्चलाई पुर्पक्षमा राख्छ।” “इनक्विजिशन र यहूदीविरोध—चर्चले मेइ कल्पाको तयारी गर्दैछ।”a “नाजी विध्वंशको लागि मेइ कल्पा।” “मेथोडिस्टहरू सुदूर पश्चिमी संयुक्त राज्यका अमेरिकन इन्डियनहरूसित क्षमा माग्छन्।”
के तपाईंले यस्ता शीर्षसमाचारहरू पढ्नुभएको छ? चर्चहरूले आफ्नो दोष स्वीकारेर विगतका शताब्दीहरूमा गरेका कार्यहरूका लागि क्षमा मागिरहेका घटनाहरू निकै सुनिइन थालिएका छन्। सञ्चारमाध्यमले पोपका नयाँ नयाँ मेइ कल्पाहरू बारम्बार प्रकाश पारिरहेका छन्।
पोपले क्षमा माग्दा
सन् १९८० र १९९६ बीच जोन पल द्वितीयले कम्तीमा ९४ पटक ‘चर्चका ऐतिहासिक गल्तीहरू स्वीकारे वा क्षमा मागे’ भनी भ्याटिकन टिप्पणीकार लुइजे आकाटोलीले आफ्नो पुस्तक क्वान्डो एल पापा क्येडे पर्दोनो-मा (जब पोपले क्षमा माग्छ) उल्लेख गरे। आकाटोलीअनुसार “क्याथोलिक चर्चमा मेइ कल्पा पोपले गर्नु मात्र उचित हो।” अनि तिनले क्रुसेड, युद्ध, तानाशाहको समर्थन, चर्चमा विभाजन, यहूदी-विरोध, इनक्विजिशन, माफिया, जातिवाद इत्यादिको लागि मेइ कल्पा गरेका छन्। सन् १९९४ मा पादरीहरूलाई पठाइएको विवरणपत्रमा (कोही कोही यो विवरणपत्रलाई पोपले पठाएको सबैभन्दा महत्त्वपूर्ण कागजात मान्छन्) जोन पल द्वितीयले “पापहरूको आम सहस्र स्वीकारोक्ति” गर्ने प्रस्ताव राखे।
अरू थुप्रै पादरीहरूले पोपको नमुना पछ्याएका छन्। डिसेम्बर १९९४ मा इटालेली अखबार एल जोर्नाल-ले यस्तो रिपोर्ट गऱ्यो: “थुप्रै अमेरिकी विशपहरूले टेलिभिजन मार्फत जनसमक्ष क्षमायाचना गरे।” केको लागि? केटाकेटीहरूलाई हानि पुऱ्याउने बाल यौन उत्पीडक पादरीहरूलाई हल्कासित लिएको लागि। जनवरी १९९५ मा ला रिपब्लिका अखबारले “क्याथोलिक धर्मको समकालीन इतिहासको एउटा अपूर्व कार्य”-बारे रिपोर्ट गऱ्यो। त्यो थियो, नाजी विध्वंशबारे पोप पायस बाह्रौं मौन रहनुको कारण खुलेआम गरियो। जनवरी १९९५ मा त्यही अखबारले नाजी अपराधलाई समर्थन गर्ने रोमन क्याथोलिकहरूका “थुप्रै गल्तीहरूका” लागि जर्मन विशपहरूको निकायले क्षमा मागेको रिपोर्ट गऱ्यो। अन्य प्रोटेस्टेन्ट चर्चहरू पनि आत्मआलोचना सहन तयार भएका छन्।
किन क्षमा माग्ने?
बाइबलले हामीलाई गल्ती गर्दा क्षमा माग्ने प्रोत्साहन दिन्छ र चर्चहरू आत्मआलोचना सहन तयार हुँदा धेरैले तारिफ गर्छन्। (याकूब ५:१६) तर चर्चहरूले यसो गर्नुको कारण के हो? यसले तिनीहरूप्रति हाम्रो दृष्टिकोणमा कस्तो फरक पार्नुपर्ने हो?
[फुटनोट]
a ल्याटिन भाषामा यसको अर्थ हो “मेरो भूलको लागि” र चर्चका सदस्यहरूले क्याथोलिक प्रार्थना (कन्फीटिओर, वा “म भूल स्वीकार्छु”) गर्दा यो अभिव्यक्ति दोहऱ्याउने गर्छन्।