तिनीहरूले किन क्षमा मागिरहेका छन्?
चर्चले आफ्ना गल्ती तथा सुधारहरूका लागि पश्चात्ताप गर्नु कुनै नौलो कुरा होइन। धर्मको शब्दकोश रेलिजोनी ए मेटे (धर्म तथा मिथ्या) भन्छ, पुरातन चर्चको तथाकथित निष्ठाले मध्ययुगका मानिसहरूमा धर्मप्रति इच्छा जगायो र धार्मिक सुधारको माग गर्न जुर्मुरायो।
सन् १५२३ मा मार्टिन लुथर चर्चबाट छुट्टिएपछि पोप एड्रियन छैठौंले एकता ल्याउन नुरेमबर्गको सभालाई यस्तो सन्देश पठाए: “पोपको कार्यक्षेत्रभित्र वर्षौंदेखि थुप्रै घीनलाग्दा कार्यहरू भइरहेका छन् भनेर हामीलाई राम्ररी थाह छ . . . हामी सर्वप्रथम रोमन क्याथोलिक चर्चको निकाय सुधार्न लगनशील हुनेछौं किनभने यी सबै दुष्टता सायद त्यहींबाट सुरुआत भएको हुनुपर्छ।” तथापि, यस्तो मञ्जुरीले विभाजन र पोपतन्त्रीय रोमन क्याथोलिक चर्चको निकायको भ्रष्टता भने रोक्न सकेन।
नाजी विध्वंशको सन्दर्भमा मौन रहेकोमा हालै आएर भने चर्चहरूले निकै आलोचना सहनुपरेको छ। आफ्ना सदस्यहरूलाई युद्धहरूमा भाग लिन प्रोत्साहित गरेको आरोप पनि लगाइएको छ। दोस्रो विश्वयुद्ध भइरहेकै बेला १९४१ मा प्राइमो मात्सोलारी नाउँका पादरीले यस्तो प्रश्न सोधेका थिए: “क्याथोलिक शिक्षाहरूको प्रभावकारीता घट्दै गएकोमा चर्चले किन कडा आलोचना गर्दैन र अर्कोतिर कम खतरनाक सिद्धान्तहरूको विवादमा चाहिं किन चर्को आवाज उठाउँछ?” त्यस पादरीले कुन सिद्धान्तभन्दा कम खतरनाक भन्न खोजेका थिए? उक्त पादरीले युद्ध उक्साउने राष्ट्रियताबारे भनिरहेका थिए जसले त्यतिबेलाको सभ्यतालाई नै भताभुतुंग पारिरहेको थियो।
तर कुरा के हो भने केही समय अघिसम्म धर्मले यदाकदा मात्र आफ्नो दोष स्वीकार्थ्यो। क्याथोलिक चर्चले ‘आफ्नो सुधार गर्नुपर्छ’ भनी गरेको आग्रहको प्रत्त्युत्तरमा ग्रेगरी सोह्रौंले १८३२ मा यसो भने: “कतिपय दोषहरूका लागि जिम्मेदार भएझैं [चर्चको] सुरक्षा तथा वृद्धिको लागि ‘पुनर्स्थापना तथा सुधारको’ प्रस्ताव राख्नु स्पष्टतः अमुनासिब र हानिकारक हो।” तर हर हालतमा स्वीकार्नैपर्ने दोषहरू नि? ती दोषहरूको बहाना बनाउन विभिन्न नीतिहरू अपनाइयो। उदाहरणका लागि, कोही कोही धर्मविज्ञानीहरूले चर्च पवित्र र पापी दुवै हो भन्ने अडान लिएका छन्। यो संस्था पवित्र मानिन्छ अर्थात् परमेश्वरले गल्तीहरू हुनबाट जोगाउनुहुन्छ। तैपनि, यसका सदस्यहरू पापी छन्। तसर्थ, चर्चको नाउँमा अत्याचारहरू हुँदा संस्थालाई होइन तर यसका सदस्यहरूलाई जवाफदेही ठहराउनुपर्छ। के त्यो मुनासिब तर्क हो? रोमन क्याथोलिक हान्स कुंगले यो तर्क मुनासिब ठानेनन्। तिनले यसरी लेखे: “चर्च, असिद्ध मानव संसारकै एउटा भाग हो।” तिनले अझ यसरी वर्णन गरे: “एउटै पाप नगरेको हुँदा क्षमा माग्नै नपर्ने चर्च कुनै पनि छैन।”
मसीही एकता तथा नैतिक अडान
के कति कारणहरूले गर्दा चर्चहरू अहिले आएर क्षमा माग्दैछन् भनेर तपाईंको मनमा प्रश्न उठिरहेको हुनसक्छ। सर्वप्रथम, प्रोटेस्टेन्ट तथा अर्थोडक्सहरूले विभिन्न सम्प्रदायहरूबीच “विगतमा मतभेद” राखेको दोष स्वीकारे। तिनीहरूले स्वीट्जरल्याण्डको लोजानमा १९२७ मा सम्पन्न “विश्वास तथा आचारसंहिता” मसीही एकता सम्मेलनमा उक्त दोष स्वीकारे। पछि रोमन क्याथोलिक चर्चले पनि त्यसै गऱ्यो। विशेषगरि, भ्याटिकन द्वितीयa सम्पन्न भएदेखि पोपलगायत उच्च पदस्थ विशपहरूले मसीहीजगत्भित्र भएको फूटको लागि अटुट रूपमा निकै चोटि क्षमा मागिरहेका छन्। किन? स्पष्टतः तिनीहरू मसीहीजगत्भित्र बढी एकता चाहन्छन्। जोन पल द्वितीयको “ ‘मेइ कल्पाहरू’ मसीही एकताको नीति हो” भनी क्याथोलिक इतिहासकार नेकोलिनो सारालेले बताए।
तथापि, यो मसीही एकताको कुरा मात्र होइन। आज, मसीहीजगत्को कुख्यात इतिहास सबैलाई थाह छ। “यो इतिहासबाट कोही पनि क्याथोलिक पन्छिन सक्दैन” भनी धर्मविज्ञानी हान्स उर्स फन बाल्टाजार भन्छन्। “अहिले हामीले कुनै पनि हालतमा अनुमति नदिने कुराहरू तिनकै चर्चले गरेका छन् वा गर्न दिएका छन्।” यसर्थ, “क्षमा माग्न सकोस् . . . भनेर चर्चको नराम्रो इतिहासबारे बताउन” पोपले एउटा आयोग नियुक्त गरेका छन्। चर्च आत्मआलोचना सहन तयार हुनुको अर्को कारण आफ्नो नैतिक अडानलाई पुनः कायम गर्न पनि हो जस्तो देखिन्छ।
त्यसरी नै, इतिहासकार अल्बर्टो मेलोनीले चर्चको क्षमायाचनाबारे टिप्पणी गर्दै यस्तो लेखे: “वास्तवमा चर्चले आफू जवाफदेही ठहरिने आरोपहरूबाट छुटकारा पाउन त्यसरी क्षमा मागेको हो।” हो, पुनः जनसाधारणको विश्वास जित्न क्याथोलिक चर्च विगतका पापहरूको बोझलाई पन्छाउन खोजिरहेको जस्तो देखिन्छ। इमानदारीपूर्वक भन्ने हो भने चर्च परमेश्वरसित भन्दा संसारसित मिलाप कायम गर्न बढी चिन्तित भएको देखिन्छ।
त्यस्तो व्यवहारले हामीलाई इस्राएलका पहिलो राजा, शाऊलको स्मरण गराउँछ। (१ शमूएल १५:१-१२) तिनले गम्भीर गल्ती गरे र यो पर्दाफास हुँदा सर्वप्रथम आफ्नो सफाइ दिन खोजे अर्थात् परमेश्वरका वफादार अगमवक्ता शमूएलसित आफ्नो गल्तीको बहाना बनाउन खोजे। (१ शमूएल १५:१३-२१) अन्ततः राजाले शमूएलसमक्ष आफ्नो भूल यसरी स्वीकार्नैपऱ्यो: “मैले पाप गरें। मैले परमप्रभुको आज्ञा . . . वास्ता गरिनँ।” (१ शमूएल १५:२४, २५) हो, तिनले आफ्नो भूल स्वीकारे। तर त्यसपछि तिनले शमूएललाई भनेका कुराहरूबाट तिनले कुन मनसाय लिएर क्षमा मागे भनेर झल्किन्छ: “मैले पाप गरें। तापनि कृपागरी मेरो प्रजाका बूढ़ा-प्रधानहरू र इस्राएलको सामने एकपल्ट मात्र मेरो इज्जत गरिदिनुहोस्।” (१ शमूएल १५:३०) परमेश्वरसितको मिलापभन्दा इस्राएलमा आफ्नो ओहदाबारे शाऊल बढी चिन्तित थिए भनेर यसबाट प्रस्ट हुन्छ। यस्तो मनोभावले गर्दा शाऊलले परमेश्वरबाट क्षमा पाएनन्। के तपाईंको विचारमा त्यस्तो मनोभाव राख्ने चर्चहरूले परमेश्वरबाट क्षमा पाउनेछन्?
सबै सहमत छैनन्
चर्चहरूले जनसमक्ष क्षमा माग्नुपर्छ भन्ने कुरामा सबै सहमत छैनन् भनेर बताइरहनु पर्दैन। उदाहरणका लागि, पोपले दासत्वको लागि क्षमा मागेको वा हस तथा क्याल्भिनजस्ता “धर्मविरोधी” व्यक्तिहरूलाई पुनर्स्थापित गरेकोमा कतिपय रोमन क्याथोलिकहरू आशंकित हुन्छन्। क्याथोलिक धर्मको विगतको सहस्र इतिहासको “अन्तस्करण केलाउने” प्रस्ताव राख्दै विशपहरूलाई पठाइएको पत्रप्रति जून १९९४ मा सम्पन्न धार्मिक सभामा उपस्थित विशपहरूले आलोचना गरेको कुरा भ्याटिकनका विभिन्न स्रोतहरूबाट थाह भएको छ। यसको बावजूद पोपले उक्त प्रस्तावनाको सार एउटा परिपत्रमा समावेश गर्न चाहँदा इटालेली विशप जाकोमो बेफीले आफ्नो धर्माधिकारको पत्रमा जोड दिंदै यसो भने: “चर्चले पाप गरेको छैन।” तैपनि, तिनले यो कुरा स्वीकारे: “विगतका शताब्दीहरूमा चर्चबाट भएका पापहरूका लागि क्षमा मागेर . . . सायद हामीले अरूसमक्ष आफ्नो लोकप्रियता जोगाउन सक्नेछौं।”
“क्याथोलिक चर्चको सबैभन्दा विवादास्पद विषयमध्ये पाप स्वीकार्ने कुरा पनि हो” भनी भ्याटिकन टिप्पणीकार लुइगी आकाटोली बताउँछन्। “एकातिर पोप मिसनरीहरूका गल्तीहरू स्वीकार्छन् भने अर्कोतिर कतिपय मिसनरीहरू पूरा इमानदारीसाथ त्यसप्रति असहमति जनाउँछन्।” यसबाहेक, एक रोमन क्याथोलिक पत्रकारले यसप्रकार लेखे: “चर्चको त्यस्तो डरलाग्दो इतिहासबारे राम्ररी थाह भएको पोपले त्यही चर्च अहिले ‘मानव अधिकार’ अर्थात् मानवतालाई उज्ज्वल तेस्रो सहस्र वर्षतर्फ डोऱ्याउने ‘आमा र शिक्षक’-को रूपमा कसरी प्रस्तुत गर्नसक्छन्, बुझ्नै गाह्रो छ।”
गलत काम गरेपछि लाजबाट जोगिनको लागि मात्र पश्चात्ताप गरे जस्तो नगर्नु भनी बाइबलले चेताउनी दिन्छ। त्यस्तो पश्चात्तापले पश्चात्तापी व्यक्तिमा खास स्थायी परिवर्तन ल्याउन सक्दैन। (२ कोरिन्थी ७:८-११ तुलना गर्नुहोस्।) परमेश्वरले कदर गर्नुहुने पश्चात्तापले “पश्चाताप योग्यका फल” फलाउँछ अर्थात् कामद्वारा साँचो पश्चात्ताप प्रमाणित हुन्छ।—लूका ३:८.
पश्चात्ताप गरेर आफ्नो गल्ती स्वीकार्ने व्यक्तिले गलत कार्यहरू चटक्कै छोड्नुपर्छ भनी बाइबलले बताउँछ। (हितोपदेश २८:१३) के यसो भएको छ? रोमन क्याथोलिक चर्च तथा अन्य चर्चहरूले आफ्ना गल्तीहरूका लागि अनेकन् चोटि क्षमायाचना गरे। तर अहिले मध्य अफ्रिका तथा पूर्वी यूरोपमा हालैका गृहयुद्धहरूमा के भयो, जहाँ अत्यधिक मात्रामा “मसीही” भनौंदाहरू ती युद्धहरूमा मुछिए? के चर्चहरूले शान्ति स्थापना गर्न कदम चाले? के चर्चका नेताहरूले आफ्ना सदस्यहरूका अत्याचारहरू विरुद्ध आवाज उठाए? उठाएनन्, बरु केही धर्मका सेवकहरू आफै समेत त्यस्ता संहारका भागी भए!
ईश्वरीय न्याय
पोपका अनेकन् मेइ कल्पाबारे कार्डिनल बिफीले व्यंग्यात्मक ढंगमा यस्तो प्रश्न गरे: “विगतका पापहरूका लागि हामीले विश्वव्यापी न्याय पर्खनु बेस होला, होइन र?” साँच्चै भन्ने हो भने मानिसजातिको न्याय हुनै लागेको छ। धर्मको कालो इतिहास यहोवा परमेश्वरलाई राम्ररी थाह छ। उहाँले चाँडै सबै दोषीहरूको लेखा लिनुहुनेछ। (प्रकाश १८:४-८) त्यो दिन आउनुअघि मसीहीजगत्ले रक्तदोष, कठोर अत्याचार तथा अन्य अपराधहरूका लागि क्षमायाचना गरिरहेका कुराबाट निष्कलंक उपासना पाउनु सम्भव छ? छ।
हामी त्यो कसरी पाउनसक्छौं? येशू ख्रीष्टले भन्नुभएको यो नियम पालन गरेर: “तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।” कुनै कुनै धर्महरू ती विगतका कुराहरू बिर्सन चाहन्छन् तर त्यो केलाएर हामी येशूले “झूटा अगमवक्ताहरू” भन्नुभएका व्यक्तिहरू मात्र होइन तर “असल फल” फलाएका धर्महरूलाई पनि चिन्ने मदत पाउनसक्छौं। (मत्ती ७:१५-२०) यिनीहरू को हुन्? हामी तपाईं आफैले यहोवाका साक्षीहरूसित बाइबल केलाएर यथार्थ पत्ता लगाउने निमन्त्रणा दिन्छौं। वर्तमान संसारमा प्रभावशाली हुनुको साटो परमेश्वरको वचन अनुसरण गर्न खोज्नेहरू को रहेछन्, हेर्नुहोस्।—प्रेरित १७:११.
[फुटनोट]
a सन् १९६२-६५ बीच रोममा भएको २१ औं मसीही एकता सभा चार चरणमा सम्पन्न भयो।
[पृष्ठ ५-मा भएको चित्र]
यस्ता अत्याचारहरूका लागि चर्चहरूले क्षमा मागिरहेका छन्
[स्रोत]
The Complete Encyclopedia of Illustration/J. G. Heck