परिवार—मानव आवश्यकता!
भनिन्छ, परिवार मौलाए मात्र मानव समाज मौलाउँछ। पारिवारिक बन्धन टुक्रिएपछि समाज तथा राष्ट्र नै कमजोर हुन्छ भनी इतिहासले औंल्याएको छ। नैतिक पतनले गर्दा पुरातन युनानमा परिवार भताभुंग भएपछि त्यहाँको सभ्यता पनि मासियो र रोमीहरूले कमजोर युनानलाई सजिलै परास्त गर्नसके। रोमी साम्राज्य पनि पारिवारिक बन्धन बलियो छउञ्जेल मात्र बलियो रह्यो। तर शताब्दीहरू बित्दै जाँदा पारिवारिक गठबन्धन कमजोर हुनथाल्यो र साम्राज्यको बल पनि घट्दै गयो। “परिवार र पारिवारिक गठबन्धनको सुरक्षा तथा उत्थान सभ्यताको लागि नभई नहुने तत्त्वहरू हुनुका साथै लगनशीलताको एक मात्र आधारशिला हुन्” भन्दै हाभर्ड विश्वविद्यालयका भूतपूर्व अध्यक्ष चार्ल्स डब्लू. एलियटले टिप्पणी गरे।
हो, परिवार मानव आवश्यकता हो। यसले समाजको स्थिरता र बच्चाहरू तथा भावी सन्ततिहरूको हकहितमा प्रत्यक्ष प्रभाव पार्छ। निस्सन्देह, छोराछोरीलाई असल व्यक्ति बनाउन कडा परिश्रम गर्ने एक्ली आमाहरू थुप्रै छन् र यस्तो अथक प्रयासको लागि तिनीहरूको सराहना गर्नुपर्छ। तथापि, आमा र बुबा दुवै भएका परिवारमा हुर्केका केटाकेटीहरू कता हो कता राम्रो भएको अध्ययनले देखाएको छ।
अस्ट्रेलियामा २,१०० भन्दा बढी किशोरकिशोरीहरूबारे गरिएको अध्ययनअनुसार “सग्लो परिवारबाट आएका किशोरकिशोरीहरूको तुलनामा भताभुंग परिवारका केटाकेटीहरूको साधारण शारीरिक समस्याहरू बढी हुने, भावनात्मक समस्या देखाउने सम्भावना बढ्ता र यौन सम्बन्धमा बढी सक्रिय” भएको पाइयो। यु.एस. नेशनल इन्सटिच्युट अफ हेल्थ स्टाटिस्टिकको अध्ययनअनुसार टुक्रिएको घरपरिवारका केटाकेटीहरू “दुर्घटनामा पर्नसक्ने सम्भावना २०-३० प्रतिशत छ भने एउटै कक्षामा दुईपटक पढ्नुपर्नेहरू चाहिं ४०-७५ प्रतिशत छन् तथा स्कूलबाटै निकालिने सम्भावना भएका केटाकेटीहरू ७० प्रतिशतभन्दा बढी छन्।” एक कुटनीतिज्ञको प्रतिवेदनअनुसार “परम्परागत परिवारमा हुर्केका केटाकेटीहरूको तुलनामा आमा वा बुबा मात्र भएको परिवारका केटाकेटीहरू अपराधमा संलग्न हुनसक्ने सम्भावना बढी छ।”
घरपरिवार आश्रयस्थल हो
पारिवारिक प्रबन्धले सबैलाई सुखी, प्रोत्साहनदायी तथा रमाइलो घर प्रदान गर्छ। एक स्वीडेली विशेषज्ञ दाबी गर्छन्, “आनन्द तथा सुस्वास्थ्यको सबैभन्दा मुख्य स्रोत पेशा, सरसामान, सोख वा साथीहरू नभई घरपरिवार हो।”
परिवारका महान् सृष्टिकर्ता यहोवा परमेश्वरले पृथ्वीमा भएको हरेक परिवारको नाउँ राख्नुभएको हो र उहाँले पारिवारिक प्रबन्ध स्थापित गर्नुभएको हो भनी बाइबलले देखाउँछ। (उत्पत्ति १:२७, २८; २:२३, २४; एफिसी ३:१४, १५) तथापि, प्रेरणाद्वारा लेखिएको धर्मशास्त्रमा प्रेरित पावलले परिवारमाथि एकपछि अर्को खतराहरू आइपर्नेछन् भनी भविष्यवाणी गरे। फलतः मसीही मण्डलीबाहेक सम्पूर्ण मानव समाजमा नैतिकताको पतन हुनेछ भनी भविष्यवाणी गरेका थिए। तिनले “आखिरी दिनमा” “भक्तिको भेष चाहिं लिने[हरूसमेत]” वफादार नरहने, “स्वाभाविक प्रेमरहितका” र आमाबाबुका आज्ञा नमान्ने हुनेछन् भने। तिनले यस्ताहरूदेखि परै रहनू भनेर मसीहीहरूलाई आग्रह गरे। परमेश्वरको सच्चाइको विरोध हुनेभएकोले परिवार टुक्रनेछ भनी येशूले भविष्यवाणी गर्नुभयो।—२ तिमोथी ३:१-५; मत्ती १०:३२-३७.
यद्यपि, परमेश्वरले हामीलाई त्यसै निस्सहाय छोड्नुभएको छैन। उहाँको वचनमा पारिवारिक सम्बन्धबारे थुप्रै निर्देशनहरू दिइएका छन्। यसले परिवार कसरी सफल पार्नसक्छौं र परिवारका प्रत्येक सदस्यले एकअर्काप्रतिको दायित्व पूरा गरेर घरपरिवारलाई कसरी आनन्ददायी बनाउने, त्यसबारे हामीलाई बताउँछ।a—एफिसी ५:३३; ६:१-४.
आज पारिवारिक गठबन्धन ठूलो खतरामा परेको बेलामा पनि के यस्तो आनन्ददायी सम्बन्ध कायम गर्नु सम्भव होला र? अवश्य सम्भव छ! तपाईं यस मरुभूमि सरह संसारमा पनि आफ्नो परिवारलाई रमणीय, स्फूर्तिदायी मरुद्यान बनाउन सक्नुहुन्छ। तर यसको लागि परिवारका प्रत्येक सदस्यले केही न केही योगदान पुऱ्याउनैपर्छ। केही सुझाउ तल दिइएका छन्।
आफ्नो परिवारको जगेर्ना गर्न मदत गर्ने
परिवार एकताबद्ध हुनसक्ने एउटा सर्वोत्तम तरिका हो, एकअर्कासित समय बिताउने। सबै सदस्यहरू फुर्सतको समय परिवारसित मिलेर बिताउन इच्छुक हुनुपर्छ। यसको अर्थ त्यागहरू गर्नुपर्ने हुनसक्छ। उदाहरणका लागि, तपाईं किशोरकिशोरीहरूले आफूलाई मन पर्ने टिभी कार्यक्रम हेर्न, कुनै खेल खेल्न वा साथीहरूसित घुम्न जान छोड्नुपर्ने हुनसक्छ। परिवारको निम्ति जागिर खाने मुख्य व्यक्ति तपाईं बुबाहरू नै हुनुहुन्छ तर फुर्सतको समय आफ्नो सोख वा व्यक्तिगत इच्छाहरू पूरा गर्न मात्र खर्च नगर्नुहोस्। परिवारसित मिलेर गर्न सकिने कामकुराको योजना बनाउनुहोस्, सायद एकसाथ कतै गएर सप्ताहन्त वा बिदा मनाउन सकिन्छ कि? हो, सबैले उत्सुकतासाथ प्रतीक्षा गर्ने र सबैलाई मन पर्ने क्रियाकलापको योजना बनाउनुहोस्।
बच्चाहरूलाई नाउँ मात्रको गुणस्तरीय समय अर्थात् नियमित तवरमा आधा घण्टाजसो मात्र समय दिएर पुग्दैन। तिनीहरूसित धेरै समय बिताउनु आवश्यक छ। स्वीडेली दैनिकका एक स्तम्भ लेखक लेख्छन्: “पत्रकार भएको १५ वर्षभित्र मैले थुप्रै बाल अपराधीहरू भेटें। . . . ती अपराधी केटाकेटीहरूमा एउटा समानता के देखियो भने, तिनीहरूले आफ्ना आमाबाबुसित नाउँ मात्रको गुणस्तरीय समय बिताएका रहेछन्: ‘मेरा आमाबाबुलाई मसँग बस्ने समय नै थिएन।’ ‘उहाँहरूले मेरो कुरा कहिल्यै सुन्नुभएन।’ ‘बुबालाई जहिले पनि बाहिर गइरहनुपर्थ्यो।’ . . . आमाबाबु हुनुभएकोले बालबच्चासित कति समय बिताउने, त्यो पूर्णतया तपाईंकै हातमा छ। तर तपाईंले त्यतिखेर गर्नुभएको छनौटको लेखाजोखा १५ वर्षपछि १५ वर्षे किशोर वा किशोरीले क्रूर ढंगमा गर्छन्।”
रुपियाँ-पैसाप्रति उचित दृष्टिकोण
परिवारका सबै सदस्यहरूले रुपियाँ-पैसाप्रति पनि उचित दृष्टिकोण विकास गर्नुपर्छ। परिवारको सामान्य खर्च बेहोर्न सधैं तयार हुनुपर्छ। आज धेरैजसो महिलाहरूले पनि पेट पाल्न जागिर खानु परिरहेको छ तर आइपर्नसक्ने खतरा तथा लोभहरूदेखि तपाईं पत्नीहरू सधैं सतर्क रहनुपर्छ। अहिलेको संसारले तपाईं “गर्नसक्नुहुन्छ” र “जे मन पर्छ, त्यही गर्नुहोस्” भनेर आग्रह गर्छ। यस्तो आग्रहले तपाईंलाई स्वतन्त्र बन्न र परमेश्वरले तपाईंलाई आमा तथा घरजम गर्ने भूमिका निर्वाह गर्न दिनुभएको जिम्मेवारी पूरा गर्दा असन्तुष्ट गराउनसक्छ।—तीतस २:४, ५.
तपाईं आमाहरू घरैमा बसेर आफ्ना छोराछोरीको लागि मार्गनिर्देशक तथा मित्र बन्न सक्नुहुन्छ भने यसले जस्तोसुकै कठिन अवस्थामा पनि तपाईंको परिवार एक जुट हुनसक्ने बलियो बन्धन बनाउन मदत गर्नेछ। एउटी आइमाईले घरलाई आनन्ददायी, सुरक्षित बनाउन तथा राम्ररी घरजम गर्न विशिष्ट योगदान पुऱ्याउनसक्छिन्। उन्नाइसौं शताब्दीका राजनीतिज्ञले बताए, “एउटा छाउनी बसाल्न सय जना पुरुषहरू चाहिन्छ तर घर बसाल्न एउटी आइमाई भए पुग्छ।”
परिवारको कूल आम्दानीले भ्याउनेगरि परिवारका सबै सदस्यहरूले खर्च बेहोर्न सहयोग गरे थुप्रै समस्याहरूबाट जोगिन सकिन्छ। सरल जीवन बिताउन र आध्यात्मिक कामकुरालाई प्रथम स्थानमा राख्न लोग्नेस्वास्नी दुवै सहमत हुनुपर्छ। बच्चाहरूले पनि सन्तोकी हुन सिक्नुपर्छ र परिवारको बजेटले भ्याउनै नसक्ने कुराहरू माग्नु हुँदैन। आँखाका अभिलाषाहरूदेखि होसियार रहनुहोस्! आफ्नो क्षमताले भ्याउन नसक्ने सामानहरू किन्ने लोभले ऋणमा डुब्दा थुप्रै परिवारहरू भताभुंग भएका छन्। कुनै स्फूर्तीदायी यात्रा गर्न, घरमा कामलाग्ने तथा रमाइलो हुने सामान किन्न वा मसीही मण्डलीमा चन्दा खसालेर समर्थन जनाउन परिवारका सबै सदस्यहरूले मिलेर खर्च बेहोऱ्यो भने पारिवारिक एकताको निम्ति त्यो असल हुनसक्छ।
परिवारका सबै सदस्यले घर, बगैंचा, गाडी र त्यस्तै अन्य कामकुराहरू सफा तथा मर्मतसम्भार गरेर “योगदान” पुऱ्याउनु पनि परिवारलाई आनन्दित बनाइराख्ने अर्को तरिका हो। स-साना केटाकेटीहरूदेखि लिएर परिवारका प्रत्येक सदस्यलाई कुनै न कुनै कामको जिम्मा दिन सकिन्छ। केटाकेटी हो, समय त्यसै बरबाद नगर्नुहोस्। त्यसो गर्नुको साटो मदतकारी र सहयोगी भाव विकास गर्नुहोस्। फलतः साँचो मित्रता र भाइचाराको आनन्द उठाउन सक्नुहुनेछ र यसले नै परिवारलाई एकतामा बाँध्छ।
बाइबल शिक्षाको महत्त्व
एकताबद्ध मसीही परिवारमा नियमित बाइबल पढाइको महत्त्वमाथि पनि जोड दिइन्छ। बाइबल पदको दैनिक छलफल तथा पवित्र धर्मशास्त्रको साप्ताहिक अध्ययन एकताबद्ध परिवारको आधारशिला हो। परिवारका सबै सदस्यमाथि अमेट छाप पार्नेगरि आधारभूत बाइबल सत्य र सिद्धान्तहरू एकसाथ मिलेर छलफल गर्नुपर्छ।
यस्ता अवसरहरू शिक्षाप्रद हुनुका साथै रमाइलो र प्रोत्साहनदायी हुनुपर्छ। स्वीडेनको उत्तरी इलाकामा बस्ने एउटा परिवारले आफ्ना छोराछोरीलाई हप्ताभरि मनमा उब्जेका प्रश्नहरू लेख्न लगाउँथ्यो। अनि ती प्रश्नहरू साप्ताहिक बाइबल अध्ययनको दौडान छलफल गरिन्थे। ती प्रश्नहरू अक्सर गहकिला अनि सोचनीय हुन्थे। र त्यसबाट बच्चाहरूको सोच्ने क्षमता तथा बाइबल शिक्षाप्रतिको मूल्यांकन झल्कन्थ्यो। केही प्रश्नहरू यस्ता हुन्थे: “के यहोवाले सबै थोक जहिले पनि बढिरहोस् भनेर बनाउनुभयो अथवा सुरुमा मात्र त्यसो गर्नुभयो?” “परमेश्वर मानिस त होइन तैपनि परमेश्वरले मानिसलाई ‘आफ्नै स्वरूपमा’ बनाउनुभयो भनी बाइबल किन भन्छ?” “आदम र हव्वा प्रमोदवनमा खालि खुट्टा र नाङ्गै हिंड्ने भएकोले के तिनीहरू जाडोमा कठ्यांग्रिएनन् होला?” “रात परेपछि निष्पट अँध्यारो हुनुपर्नेबेलामा पनि हामीलाई चन्द्रमा किन चाहिन्छ?” अहिले ती बच्चाहरू हुर्किसके अनि पूर्ण-समय सेवकहरूको रूपमा परमेश्वरको सेवा गर्दैछन्।
पारिवारिक समस्याहरू समाधान गर्नेबेला तपाईं आमाबाबुहरू सकारात्मक तथा प्रसन्न रहने प्रयास गर्नु बेस हुन्छ। महत्त्वपूर्ण सिद्धान्तहरू पालन गर्नुपर्ने बेला विचारशील तथा नरम हुनुहोस् तर अटल हुन पनि नबिर्सनुहोस्। तपाईंले सधैं परमेश्वर र उहाँका धार्मिक सिद्धान्तहरूको आधारमा नै निर्णयहरू गर्नुहुन्छ भनेर बच्चाहरूले बुझून्। स्कूलको वातावरण अक्सर निकै तनाउग्रस्त तथा निरुत्साहित पार्ने खालको भएकोले बच्चाहरूलाई यस्ता प्रभावहरू सामना गर्नसक्न घरमा निकै प्रोत्साहन दिनु आवश्यक छ।
आमाबाबु हो, तपाईंहरू सिद्ध व्यक्तिहरूजस्तो नहुनुहोस्। आफ्ना भूलहरू स्वीकार्नुहोस् र आवश्यक परेको बेला छोराछोरीसित माफी माग्नुहोस्। जवानहरू हो, आमा र बुबाले गम्भीर भूलहरूका लागि माफी माग्नुहुँदा उहाँहरूलाई अझ माया गर्नुहोस्।—उपदेशक ७:१६.
हो, परिवार एकताबद्ध छ भने घर शान्तमय, सुरक्षित तथा आनन्दित हुन्छ। जर्मन कवि गोथेले एकपटक यसो भनेका थिए: “त्यो राजा वा रैती आनन्दित हुन्छ, जसले आफ्नै घरमा आनन्द पाउँछ।” कदर गर्ने आमाबाबु तथा छोराछोरीहरू दुवैका लागि घरजस्तो ठाउँ अन्त कतै छैन।
हो, हामी बाँचिरहेको यस संसारको दबाबले गर्दा आज परिवार ठूलो खतरामा परेको छ। तर परिवारको प्रबन्ध परमेश्वरबाटै भएकोले यसको जगेर्ना हुनेछ। आनन्दित परिवारका लागि परमेश्वरका धार्मिक निर्देशनहरू पछ्याउनुभयो भने तपाईंको परिवारको जगेर्ना हुनेछ र तपाईं पनि रहिरहनुहुनेछ।
[फुटनोट]
a यस विषयमा थप जानकारीका लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित १९२ पृष्ठ भएको पारिवारिक आनन्दको रहस्य पुस्तक हेर्नुहोस्।