के हामीलाई सेनाहरूको आवश्यकता सधैं परिरहनेछ?
सेनाहरूले मानव स्रोतहरू निकै मात्रामा खर्च गरेका छन्, मानिसको आनन्द हरेका छन्। त्यसैकारण, केही मानिसहरूले ‘के सेनाहरू विघटित हुनेगरि मानिसजातिले विश्व सुरक्षा प्राप्त गर्नसक्लान्?’ भन्दै सोचेका छन्। महाविनाशकारी हातहतियारहरूले गर्दा अहिले जीवन नै लोप हुनसक्ने अवस्था सृजिएकोले यो प्रश्न सोध्नु झन् जरुरी भएको छ। सेनाहरूबिनाको संसार आउला भनेर आशा गर्नु कत्तिको व्यवहारिक छ?
असल अन्तरराष्ट्रिय दौत्य सम्बन्ध कायम हुँदा केही हद्सम्म निश्शस्त्रीकरण हुनसक्दो रहेछ भनेर विगतका घटनाहरूले प्रमाणित गरेका छन्। उदाहरणका लागि, क्यानाडा र संयुक्त राज्यबीचको मैत्री सम्बन्धले गर्दा तिनीहरूको ५,००० किलोमिटर लामो सीमा क्षेत्रमा सैनिक पहरा नदिइएको झन्डै डेढ शताब्दी भइसक्यो। नर्वे र स्वीडेनका साथै अन्य राष्ट्रहरूले पनि यस्तै मैत्री सम्बन्ध कायम गरेका छन्। के सबै राष्ट्रहरूबीच सन्धि कायम भयो भने यो संसार सेनारहित हुनेछ त? उक्त विचार प्रथम विश्वयुद्धले मच्चाएको तहल्काले गर्दा लागू हुनु अगावै सबैतिरबाट स्वीकारियो।
सन् १९१८ मा शान्ति स्थापित गर्दा भर्साइल्येस शान्ति सन्धिको एउटा प्रस्ताव “सम्पूर्ण राष्ट्रहरूलाई अत्यधिक हातहतियारहरू नथुपार्न कसरी प्रोत्साहित गर्न सकिन्छ, सम्भावना पत्ता लगाउने” थियो। त्यस पछिका वर्षहरूमा प्यासिफिजम लोकप्रिय हुनथाल्यो। केही प्यासिफिष्टहरूको परिषाभाअनुसार युद्ध एउटा राष्ट्रमाथि आइपर्ने सबैभन्दा नराम्रो संकट हो र यसमा पनि युद्ध हार्नु त झन् नराम्रो कुरा हो। तर अर्कोतिर प्यासिफिष्ट विरोधीहरू युद्ध जरुरी छ भन्छन्। किनकि तिनीहरूको धारणाअनुसार शताब्दीयौंको दौडान यहूदीहरूले आक्रमणकारीहरू विरुद्ध युद्ध नलडेका भएर नै तिनीहरू यतिबिघ्न थिचोमिचोमा पिल्सेका थिए। त्यसैगरि अमेरिकामा दासको रूपमा भित्रिएका अफ्रिकीहरूले पनि अमेरिकीहरूको विरोध गर्न नसकेको हुनाले नै शताब्दीयौंसम्म तिनीहरूले क्रूर दुर्व्यवहार सहनुपऱ्यो।
तथापि, दोस्रो विश्वयुद्ध चर्केपछि धेरैजसो शान्तिवादीहरू राष्ट्रलाई सुरक्षित पार्नुपर्ने निष्कर्षमा आए। अतः दोस्रो विश्वयुद्धको अन्तपछि संयुक्त राष्ट्र स्थापित हुँदा निश्शस्त्रीकरणको विषयमा भन्दा युद्ध सुरु हुन नदिन अन्तरराष्ट्रिय सहयोग चाहिने कुरामा बढी जोड दिन थालियो। यसरी प्रबन्ध गरिएको सुरक्षा पाएपछि ढुक्क भएर राष्ट्रहरूले निश्शस्त्रीकरण गर्न सक्नेछन् भनी सदस्य राष्ट्रहरूले आशा गरे।
तर अर्को समस्या झन् झन् चर्कंदै गएको देखियो। एउटा राष्ट्रले आफूलाई सुरक्षित पार्ने प्रयासहरू गर्दा अक्सर छिमेकी मुलुकहरू त्रस्त हुन थाल्छन्। फलतः हातहतियार थुपार्ने होडबाजी भयो। तर हालै ठूलठूला राष्ट्रहरूबीच सम्बन्ध सुध्रिएकोले निश्शस्त्रीकरणको आशा फेरि पलाएको छ। तथापि, त्यसपछिको खाडी युद्ध र पहिलेको युगोस्लाभियाका उथलपुथलहरूले गर्दा निश्शस्त्रीकरण हुने धेरैको आशा निराशामा परिणत भएको छ। करिब पाँच वर्षअघि टाइम पत्रिकाले यस्तो टिप्पणी गऱ्यो: “शीत युद्ध समाप्त भए तापनि संसार कम खतरनाक ठाउँ हुनुको साटो झन् झन् खतरनाक हुँदैछ।”
विश्वव्यापी “सुरक्षाकर्मी” होस् भन्ने इच्छा
मानिसजातिलाई सबैको सुरक्षा गर्नसक्ने सशक्त सेनासहितको विश्वव्यापी सरकार चाहिएको छ भन्ने विचार धेरै अवलोकनकर्ताहरूको छ। तर संयुक्त राष्ट्र संघ र विश्वका प्रमुख सैन्यशक्तिले त्यसो गर्न नसकेको हुँदा कोही कोही भविष्यप्रति त्यति आशावादी छैनन्। तर तपाईंले बाइबललाई परमेश्वरको वचनको रूपमा स्वीकार्नुभएको छ भने यो टड्कारो खाँचोलाई सर्वशक्तिमान् परमेश्वरले पो पूरा गर्नुहुने हो कि भनेर विचार गरिरहनु भएको होला।
बाइबलले “प्रेम र शान्तिका परमेश्वर” भनेर सम्बोधन गरेको परमेश्वरले के न्याय गर्न सैन्यशक्ति प्रयोग गर्नुहुनेछ? गर्नुहुनेछ भने कुन चाहिं सेना चलाउनुहुनेछ? आज अधिकांश सेनाहरू आफूसित परमेश्वरको समर्थन रहेको दाबी गर्छन् तर के वास्तवमा तिनीहरूले परमेश्वरको इच्छाबमोजिम गरिरहेका छन् त? अथवा परमेश्वरले अरू नै तरिकामा हस्तक्षेप गर्नुभएर शान्ति र सुरक्षा प्रदान गर्नुहुने हो कि?—२ कोरिन्थी १३:११.
सर्वशक्तिमान् परमेश्वरले प्रथम विद्रोही, आदम र हव्वालाई अदनको बगैंचाबाट निकाल्नुभयो र तिनीहरू फेरि अदनमा पस्न नपाऊन् भनेर बगैंचामा करूबहरूलाई पहरा दिन लगाउनुभयो। आफ्नो सार्वभौमिकताको विरोध गर्ने सबैलाई कुच्याउने उद्देश्य पनि उहाँले घोषणा गर्नुभयो। (उत्पत्ति ३:१५) के यसको लागि परमेश्वरलाई सेना प्रयोग गर्नु आवश्यक पर्ला?
आफ्नो न्याय कारबाही गर्न परमेश्वरले सेनाहरू प्रयोग गर्नुभएका घटनाहरूबारे बाइबलमा उल्लेख नभएका होइनन्। उदाहरणका लागि, कनान देशमा पशुकरणी गरिन्थ्यो, बाल बलि चढाइन्थ्यो र अति हिंसात्मक युद्धहरू लडिन्थ्यो। परमेश्वरले तिनीहरूलाई पूर्णतया नाश गर्ने फैसला गर्नुभयो र यसो गर्न यहोशूको सेना प्रयोग गर्नुभयो। (व्यवस्था ७:१, २) त्यसैगरि, राजा दाऊदको सेना चलाउनुभएर परमेश्वरले पलिश्तीहरू बिरुद्ध न्याय गर्नुभयो। अनि परमेश्वरले आफ्नो निर्णायक दिनमा सम्पूर्ण दुष्टतालाई कसरी खत्तम पार्नुहुनेछ, यसको झलक यसले दिन्छ।
यी घटनाहरूबाट पाठ सिक्न सकिन्छ। मानिसहरूलाई सुरक्षा प्रदान गर्न सेना प्रयोग गर्न सक्नुहुन्छ भनी यहोवाले प्रदर्शन गर्नुभयो। हो, यहोवाको एउटा विशिष्ट सेना छ र त्यही सेनाले उहाँको शासनको विश्वव्यापी विद्रोहलाई तह लगाउनेछ।
‘सेनाहरूका यहोवा’
बाइबलमा “सेनाहरूका परमप्रभु [“यहोवा,” NW] भन्ने अभिव्यक्ति २५० भन्दा बढी पटक प्रयोग गरिएको छ। यो अभिव्यक्तिले वस्तुतः परमेश्वर स्वर्गदूतहरूको विशाल सेनाको महारथी हुनुहुन्छ भनेर संकेत गर्छ। एकपटक भविष्यवक्ता मीकायाले राजा आहाब तथा राजा यहोशापातलाई यसो भने, “मैले परमप्रभुलाई उहाँको सेवा गर्ने आफ्नो सबै स्वर्ग-सेना उहाँको दाहिने र देब्रेपट्टि भई आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखें।” (१ राजा २२:१९) स्वर्गदूतहरूको सेनाबारे यहाँ बताइएको छ। आफ्ना जनहरूलाई जोगाउन यहोवाले यी सेनाहरू प्रयोग गर्नुभयो। दोतान शहरलाई फौजले घेरा हाल्दा एलीशाका चाकरले हरेस खाइसकेका थिए। तथापि, उसलाई निर्धक्क पार्न परमेश्वरले आफ्ना आत्मिक प्राणीहरूको सेनाको चमत्कारी दर्शन दिनुभयो। “परमप्रभुले त्यस जवान मानिसको आँखा खोलिदिनुभयो, र त्यसले एलीशाको वरिपरिको डाँड़ामा अग्निमय घोड़ा र रथहरू भरिएको देख्यो।”—२ राजा ६:१५-१७.
के यसको अर्थ परमेश्वरले आज पनि सेनाहरूलाई समर्थन गर्नुहुन्छ? मसीहीजगत्का केही सेनाहरू आफू परमेश्वरका सेना हुँ भन्ने दाबी गर्नसक्छन्। धेरैले पादरीहरूसित आशिष् मागेका छन्। तर मसीहीजगत्का सेनाहरू अक्सर एकअर्काको विरुद्धमा अनि सँगी विश्वासीहरूको विरुद्धमा लड्छन्। यस शताब्दीका दुइटा विश्वयुद्धहरू पनि मसीही हुँ भनी दाबी गर्ने सेनाहरूबीच नै सुरु भएको थियो। यो परमेश्वरको कार्य हुनसक्दैन। (१ यूहन्ना ४:२०) यस्ता सैन्य शक्तिहरूले शान्ति कायम गर्न युद्ध लडेका हौं भन्ने दाबी गर्ने गरेको भए तापनि के येशूले आफ्ना अनुयायीहरूलाई संसारको शान्ति खलल पार्ने तत्त्व विरुद्ध जाइलाग्न यस्ता सेनाहरू बनाउनु भन्ने निर्देशन दिनुभएको थियो त?
बगैंचामा चेलाहरूसित प्रार्थना गरिरहनुभएका येशूलाई अस्त्रशस्त्रसहित एउटा हूलले गिरफ्तार गर्न आउँदा शान्तिभंग भयो। एक जना चेलाले तरवार थुतेर त्यस हूलका एक व्यक्तिलाई हाने। त्यस अवसरमा येशूले एउटा महत्त्वपूर्ण सिद्धान्त सिकाउनुभयो। उहाँले भन्नुभयो: “तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबै जना तरवारैबाट नष्ट हुनेछन्। तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्नसक्तिनँ, र के उहाँले मलाई बाह्र पल्टनभन्दा बढ़ी स्वर्गदूतहरू अहिले जुटाइदिनुहुन्न र?” येशूको अधीनमा बृहत् सेना थियो तर नता पत्रुस न अरू कुनै मानिस नै त्यस पल्टनका सिपाही थिए। बरु, पत्रुसलगायत येशूका अन्य चेलाहरू त “मानिसहरूका जलाहारी” हुन बोलाइएका थिए। (मत्ती ४:१९; २६:४७-५३) उक्त घटनाको केही घण्टापछि येशूले पिलातससमक्ष यो कुरा अझ स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो: “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो ता म यहूदीहरूका हातमा नसुम्पिनालाई मेरा चाकरहरूले लड़ाइँ गर्नेथिए, तर अब मेरो राज्य यहाँको होइन।” (यूहन्ना १८:३६) परमेश्वरले येशूलाई दिनुभएको राज्य दाऊदको राज्यजस्तो पृथ्वीमा नभई स्वर्गमा छ र त्यसले पृथ्वीमा शान्ति ल्याउनेछ।
परमेश्वरका सेनाहरू युद्ध गर्न जान्छन्
परमेश्वरका सेनाहरू चाँडै युद्ध लड्न जाँदैछन्। अब हुने द्वन्द्वबारे व्याख्या गर्दा प्रकाशको पुस्तकले येशूलाई “परमेश्वरको वचन” भन्छ। हामी यस्तो पढ्छौं: “स्वर्गमा भएका फौजहरू मसिना, सेता र चोखो सुती लुगा लगाएर, सेता घोड़ामा चढ़ेर, उहाँका पछिपछि लाग्दथिए। औ जाति जातिहरूलाई मार्न उहाँको मुखबाट धारिलो तरवार निस्कँदोरहेछ।” “पृथ्वीका राजाहरू, र तिनका फौजहरू” नाश गरेपछि यो युद्ध अन्त हुनेछ भनी बाइबल बताउँछ। परमेश्वरप्रति वफादार नरहनेहरूलाई के हुनेछ भन्नेबारे भविष्यवाणी अझ यसो भन्छ: “बाँकी रहेकाहरूचाहिं घोड़ामाथि सवारी हुनेको तरवारबाट मारिए।” शैतान अर्थात् दियाबलसमेत निस्क्रिय पारिनेछ। निस्सन्देह, त्यसपछि सेनाहरू बिनाको शान्तिमय संसार बसालिनेछ।—प्रकाश १९:११-२१; २०:१-३.
युद्धरहित संसारको कल्पना गर्नुहोस्
के तपाईं सेनाहरू नै आवश्यक नपर्ने सुरक्षित संसारको कल्पना गर्न सक्नुहुन्छ? बाइबल भजन भन्छ: “आओ परमप्रभुका काम हेर, उहाँले पृथ्वीमा कस्तो उजाड़ पार्नुभएको छ। पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ।”—भजन ४६:८, ९.
कत्ति हाइसन्चो! अन्ततः मानव समाज सेनाहरू र तिनीहरूका हतियारको निम्ति ढाडै सेकिने गरी तिर्नुपर्ने करबाट मुक्त भएपछि के के गर्न सकिएला कल्पना गर्नुहोस्! तब, मानिसहरूले आफ्नो शक्ति पृथ्वी सफा गर्ने र नयाँ बनाउने, सबैको जीवनस्तर उकास्ने काममा खर्च गर्न सक्नेछन्। मानिसजातिलाई साँच्चै उपयोगी हुने सरसामानहरू आविष्कार गर्ने नयाँ नयाँ मौकाहरू पाइनेछ।
त्यतिबेला विश्वव्यापी रूपमा यो प्रतिज्ञा पूरा हुनेछ: “तेरो देशमा उपद्रव सुनिनेछैन। तेरा सीमानामा उजाड़ र नष्टकारी कुरा सुनिनेछैन।” (यशैया ६०:१८) युद्धग्रस्त इलाकाबाट आफ्नो घरबार, धनसम्पत्ति छोडेर लाखौं शरणार्थीहरूले फेरि शरणार्थी शिविरहरूमा दुर्गति भोग्नुपर्ने छैन। राष्ट्रहरूको आपसी भिडन्तले गर्दा प्रियजनहरू मारिए भनेर फेरि कहिल्यै विलाप गर्नुपर्ने छैन। यहोवाको स्वर्गमा हुनुहुने राजाले स्थायी विश्व शान्ति स्थापित गर्नुहुनेछ। “उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ।”—भजन ७२:७, १४.
अझ रमाइलो कुरा त के हो भने, त्यतिबेला घृणा होइन तर परमेश्वरले जस्तै प्रेम गर्ने तरिका अनुकरण गर्न सिकेका मानिसहरूबीच जीवन बिताउन पाइनेछ। परमेश्वरको वचन यस्तो भविष्यवाणी गर्छ: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” यहोवालाई चिन्ने र माया गर्नेहरूमाझ जीवन कस्तो हुनेछ होला? त्यही पुस्तक यस्तो भविष्यवाणी गर्छ: “धार्मिकताको परिणाम शान्ति हुनेछ, र त्यसको नतीजा चाहिं सदाको शान्ति र निश्चयता हुनेछ। मेरो प्रजा चाहिं शान्त डेरा, सुरक्षित बासहरू र शान्तमय विश्रामका ठाउँहरूमा बस्नेछन्।”—यशैया ११:९; ३२:१७, १८.
बाइबलको ज्ञानमा विश्वास भएका मानिहरूलाई परमेश्वरका सेनाहरू शान्तिका सबै शत्रुहरूलाई पृथ्वीबाट नाश गर्न हरबखत तयार छन् भनी थाह छ। यो ज्ञानले तिनीहरूलाई बाइबलले उल्लेख गरेको “पछिल्ला दिनमा” हुने कुराहरू व्यवहारमा उतार्न हिम्मत दिन्छ। र त्यो हो: “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्। एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।”—यशैया २:२-४.
यहोवाका साक्षी बनेका थुप्रै राष्ट्रका मानिसहरू अहिलेदेखि नै ‘युद्ध गर्नदेखि’ परै रहेका छन्। तिनीहरू परमेश्वरको स्वर्गीय सेनाले नै सुरक्षा गर्नेछ भनेर भरोसा गर्छन्। तिनीहरूसित बाइबल अध्ययन गर्नुभएर तपाईं पनि यस्तै भरोसा खेती गर्न सक्नुहुन्छ।
[पृष्ठ २८-मा भएको चित्रको स्रोत]
U.S. National Archives photo