तिनीहरूले यहोवाको इच्छा गरे
अय्यूबले निष्ठाको इनाम पाए
अय्यूब दयालु व्यक्ति थिए र विधवा, अनाथ तथा थिचोमिचोमा परेकाहरूको पक्षमा खडा हुन्थे। (अय्यूब २९:१२-१७; ३१:१६-२१) तर अचानक एकपछि अर्को विपत्तिहरू तिनीमाथि आइपऱ्यो र तिनले धनसम्पत्ति, छोराछोरी तथा आफ्नो स्वास्थ्यसमेत गुमाए। दुःखको कुरा, दीनदुःखीहरूलाई साहरा दिने यस उदार पुरुषले आफूमाथि विपत्ति आइपर्दा त्यति सहयोग पाएनन्। आफ्नै श्रीमतीले समेत तिनलाई “परमेश्वरलाई सरापेर मरे असल हुन्छ” भनिन्! अनि तिनका “साथीहरू” एलीपज, बिल्दद र सोपरले पनि तिनलाई सान्त्वना दिनसकेनन्। बरु, उल्टो अय्यूबले पापको परिणाम भोग्नु परेको हो भनी छेड हाने।—अय्यूब २:९; ४:७, ८; ८:५, ६; ११:१३-१५.
यत्तिका दुःखकष्टको बावजूद अय्यूब वफादार रहे। त्यसैकारण, अन्ततः यहोवाले अय्यूबलाई दया देखाउनुभयो र आशिष् दिनुभयो। तिनी कसरी विश्वासी रहे भन्ने विवरणले परमेश्वरका सम्पूर्ण निष्ठावान् सेवकहरूलाई उचित समयमा तिनीहरूले पनि इनाम पाउनेछन् भनी आश्वस्त गराउँछ।
निर्दोष साबित र पुनर्स्थापित
प्रथमतः यहोवाले एलीपज, बिल्दद र सोपरलाई हप्काउनुभयो। उहाँले तिनीहरूमध्ये सम्भवतः सबैभन्दा जेठो एलीपजलाई औंल्याउनुहुँदै भन्नुभयो: “तँ र तेरा दुइ मित्रहरूसँग म क्रोधित भएको छु, किनभने मेरो दास अय्यूबले मेरो विषयमा भनेझैं तिमीहरूले भन्नुपर्ने कुरा भनेनौ। यसैले अब सातवटा साँढ़े र सातवटा भेड़ा लिएर मेरो दास अय्यूबकहाँ जाऊ, र तिमीहरू आफ्ना निम्ति होमबलि चढ़ाऊ, र त्यसले तिमीहरूका निम्ति अन्तरबिन्ती चढ़ाउनेछ।” (अय्यूब ४२:७, ८) यसको अर्थ के हो, यसो विचार गर्नुहोस् त!
यहोवाले एलीपज, बिल्दद र सोपरलाई निकै ठूलो बलिदान चढाउन लगाउनुभयो। उहाँले तिनीहरूको पापको गम्भीरता देखाउन यसो गर्न लगाउनुभएको हुनसक्छ। निस्सन्देह, तिनीहरूले जानाजानी वा अनजानमै किन नहोस्, परमेश्वरलाई ‘आफ्नै सेवकहरूमाथि भरोसा छैन’ अनि अय्यूब विश्वासी भए पनि नभए पनि उहाँलाई वास्ता छैन भनेर परमेश्वरको निन्दा गरेका थिए। एलीपजले त झन् परमेश्वरको नजरमा अय्यूब पुतली बराबर पनि छैन समेत भने! (अय्यूब ४:१८, १९; २२:२, ३) अतः यहोवाले यसो भन्नु कुनै अनौठो कुरा होइन: “तिमीहरूले भन्नुपर्ने कुरा भनेनौ”!
तर कुरा यति मात्र होइन। अय्यूबले आफैले गर्दा दुःख भोग्नुपरेको हो भनेर एलीपज, बिल्दद र सोपरले तिनी विरुद्ध पनि पाप गरे। तिनीहरूको आधारहीन दोषारोपण र समानुभूतीको अभावले अय्यूब यति चिढिए र निरुत्साहित भए कि तिनी यसो भनेर कराए: “कहिलेसम्म तपाईंहरू मलाई थकित तुल्याउनुहुन्छ, र वचनहरूले मलाई आघात गर्नुहुन्छ?” (अय्यूब १०:१; १९:२) अब आफ्ना पापको लागि बलिदान लिएर अय्यूबकहाँ आउनुपर्दा यी तीन व्यक्तिहरूको अनुहार लाजले कस्तो रातोपिरो भयो होला, कल्पना गर्नुहोस्!
तर तिनीहरूको बेइज्जती देखेर अय्यूबले खुच्चिङ भन्नु ठीक हुने थिएन। भनौं भने, आफ्ना वादीहरूका निम्ति प्रार्थना गर्नुपर्छ भनी यहोवाले तिनलाई भन्नुभएको थियो। यहोवाले भन्नुभएबमोजिम नै अय्यूबले गरे। फलस्वरूप, तिनले आशिष् पाए। प्रथमतः यहोवाले तिनको डरलाग्दो रोग निको पार्नुभयो। त्यसपछि अय्यूबका सबै दाजुभाइ, दिदीबहिनी र पुराना चिनापर्चीहरू आएर तिनलाई सान्त्वना दिए। अनि “हरेकले तिनलाई एक एक टुक्रा चाँदी र एउटा एउटा सुनको औंठी दियो।”a त्यसबाहेक, अय्यूबको “चौध हजार भेड़ा–बाख्रा, छ हजार ऊँट, एक हजार हल गोरू र एक हजार गधा [“गधैनी”, NW] भए।”b अन्ततः तिनकी पत्नी पनि तिनीसँग मिलिन्। समयको अन्तरालमा, अय्यूबका सात छोरा र तीन छोरी भए। अनि तिनी आफ्ना सन्ततिहरूको चार पुस्ता देखुञ्जेल बाँचे।—अय्यूब ४२:१०-१७.
हाम्रोलागि पाठ
अय्यूबले परमेश्वरका वर्तमान सेवकहरूका लागि विशिष्ट उदाहरण बसाले। तिनी “निर्दोष र सोझो” थिए जसलाई यहोवाले गर्वसाथ “मेरो दास” भन्नुभयो। (अय्यूब १:८; ४२:७, ८) तथापि, यसको मतलब अय्यूब सिद्ध थिए भन्ने होइन। तिनले परीक्षाको समयमा एकचोटि आफूमाथि परमेश्वरले गर्दा नै विपत्ति खनिएका हुन् भनेर गलत अनुमान लगाए। परमेश्वरले मानिससँग गर्नुहुने व्यवहारको समेत तिनले आलोचना गरे। (अय्यूब २७:२; ३०:२०, २१) अनि तिनले परमेश्वरलाई भन्दा आफैलाई धर्मी तुल्याए। (अय्यूब ३२:२) तर अय्यूबले सृष्टिकर्तालाई तिरस्कार गरेनन् अनि परमेश्वरबाट पाएको ताडना विनम्रतासाथ स्वीकारे। तिनले यसो भने: “मैले ता म आफैले नजानेका . . . विषयमा भनेको छु, . . . म आफूलाई तुच्छ ठान्छु, म धूलो र खरानीमा बसेर पश्चात्ताप गर्दछु।”—अय्यूब ४२:३, ६.
परीक्षाको चपेटमा पर्दा हामीले पनि अनुचित विचार, कुरा वा काम गर्नसक्छौं। (उपदेशक ७:७ तुलना गर्नुहोस्।) यद्यपि, परमेश्वरप्रति गहिरो प्रेम राखेका छौं भने हामी उहाँको विद्रोह गर्नेछैनौं अथवा उहाँले कठिनाइहरू सहने अनुमति दिनुभएको कारण क्रुद्ध हुनेछैनौं। बरु, हामी आफ्नो निष्ठा कायम राख्नेछौं र अन्ततः ठूलो आशिष् पाउनेछौं। भजनरचयिताले यहोवाबारे यसो भने: “कृपालुसँग तपाईं कृपालुनै देखा पर्नुहुनेछ।”—भजन १८:२५.
अय्यूब पुनः सुस्वस्थ हुनुअघि तिनले आफ्ना विरोधीहरूको खातिर प्रार्थना गरेको यहोवा चाहनुहुन्थ्यो। हाम्रोलागि कत्ति राम्रो उदाहरण! हाम्रा पापहरूको क्षमा पाउनुअघि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरोस् भन्ने यहोवा चाहनुहुन्छ। (मत्ती ६:१२; एफिसी ४:३२) वैध कारण हुँदाहुँदै पनि अरूलाई क्षमा गर्न चाहँदैनौं भने हामीप्रति यहोवा कृपालु देखा पर्नुहोला भनी के हामी आशा गर्नसक्छौं र?—मत्ती १८:२१-३५.
हामी सबै जना एक न अर्को बेला परीक्षाको चपेटमा पर्छौं। (२ तिमोथी ३:१२) तैपनि, अय्यूबले जस्तै हामी पनि निष्ठा कायम राख्नसक्छौं। त्यसो गरेर ठूलो इनाम पाउनेछौं। याकूबले यसरी लेखे: “हेर, हामी ता धीरज धर्नेहरूलाई धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अन्त्य पनि देखेकै छौ, कि प्रभु कस्तो टिठाइमा भरिपूर र कृपालु हुनुहुन्छ।”—याकूब ५:११.
[पादटिप्पणीहरू]
a “एक टुक्रा चाँदी[को]” (हिब्रू क्विसिता) मूल्य कति हो, किटेरै भन्न सकिन्न। तर याकूबको समयमा “एक सय चाँदीका टुक्रामा” निकै ठूलो जग्गा किन्न सकिन्थ्यो। (यहोशू २४:३२) त्यसैकारण, अय्यूबकहाँ आएका हरेक व्यक्तिले दिएको “एक एक टुक्रा चाँदी” पक्कै पनि नगण्य उपहार थिएन।
b सायद राम्रो जातको भएका हुनाले गधाहरूको लिंग पनि उल्लेख गरिएको छ।