ताल्मुद के हो?
“निस्सन्देह, ताल्मुद अहिलेसम्मका सबैभन्दा उल्लेखनीय साहित्यहरूमध्ये एक हो।”—दि युनिभर्सल जुविस इनसाइक्लोपीडिया।
“[ताल्मुद] मानवजातिको महान् बौद्धिक उपलब्धिहरूमध्ये एक हो। यो यति गहन, यति अर्थपूर्ण अनि यति अथाह छ कि यसले डेढ हजार वर्षसम्म उत्कृष्ट दिमागलाई व्यस्त राखेको छ।”—यहूदी शास्त्रविद् एवं लेखक जेकब नोइजनर।
“ताल्मुद [यहूदी धर्मको] मूल खाँबो हो जसले यहूदीहरूको सम्पूर्ण आध्यात्मिक र बौद्धिक जीवन नै थामेको छ।”—ताल्मुदविद् एवं रब्बी एडिन स्टाइनसल्टस।
निस्सन्देह, ताल्मुदले शताब्दीयौंदेखि यहूदीहरूमाथि ठूलो प्रभाव पारेको छ। तथापि, माथि उल्लिखित प्रशंसाहरूको बावजूद ताल्मुदको बदनाम गरिएको छ अनि यसलाई “फोहर र कीचडको समुद्र” भनिएको छ। यसलाई शैतानको ईश्वरनिन्दक कार्य भनेर भर्त्सना गरिएको छ। बितेका समयमा पोपको आज्ञाअनुसार थुप्रैपल्ट यसलाई सेन्सर गरिएको थियो, जफत गरिएको थियो अनि अनेकौं प्रतिहरू युरोपको सार्वजनिक ठाउँहरूमा जलाइएको थियो।
यति बिघ्न विवाद उत्पन्न गर्ने यो किताब के हो? कुन कुराले ताल्मुद यहूदी लेखहरूमध्ये अनुपम छ? यो किन लेखियो? यसले यहूदीधर्ममाथि कसरी प्रभाव पार्नसक्यो? गैरयहूदीहरूका लागि के यसको कुनै महत्त्व छ?
सा.यु. ७० मा यरूशलेमको मन्दिर विनाश भएपछि १५० वर्षसम्म इस्राएलभरिका रब्बी विद्वद्वर्गका शिक्षण संस्थानहरूले जोडतोडकासाथ यहूदी प्रथा कायम राख्ने आधार खोजे। तिनीहरूले छलफल गरे अनि मौखिक व्यवस्थाको आधारमा अनेकौं परम्पराहरू सुदृढ गराए। यस्तो आधार बसाल्ने सिलसिलामा तिनीहरूले मन्दिरबिना दिनप्रतिदिन पवित्र जीवन बिताउन नयाँ सीमा र आवश्यकताहरू निर्धारण गरे। यो नयाँ आध्यात्मिक रूपरेखा सा.यु. तेस्रो शताब्दीको प्रारम्भतिर जुदाह हा नसीद्वारा संकलित मिश्नाहमा उल्लेख गरियो।a
मिश्नाहले केहीको सहारा लिएन। मतलब बाइबल उल्लेख गरेर यसले स्पष्टीकरण दिने कोसिस गरेन। छलफल गर्ने तरिका र हिब्रू शैलीसमेत बाइबलका पदभन्दा भिन्न थियो। जुनसुकै ठाउँका यहूदीहरू किन नहून्, मिश्नाहमा उद्धृत रब्बीहरूका फैसलाहरूले तिनीहरूको जीवनमा असर गर्नेथियो। त्यसैकारण, जेकब नोइजनर यस्तो टिप्पणी गर्छन्: “मिश्नाह इस्राएलको संविधान नै थियो। . . . यसमा भएका नियमहरू स्वीकार्नु अनि पालन गर्नु अनिवार्य थियो।”
तर मिश्नाहमा उद्धृत विद्वद्वर्गका शब्दहरू धर्मशास्त्र बराबरका छन् र, भनेर कसैले प्रश्न खडा गऱ्यो भने नि? त्यस्तो अवस्थामा रब्बीहरूले मिश्नाहमा पाइने टानियमको (मौखिक व्यवस्थाका शिक्षकहरू) शिक्षा हिब्रू धर्मशास्त्रसँग पूर्णतया मेल खान्छ भनेर देखाउनुपर्ने हुन्थ्यो। फलतः थप टीकाटिप्पणी आवश्यक पर्न गयो। मिश्नाहको परिभाषा बुझाउनका साथै त्यसको पक्षमा सफाइ पेश गर्नुपर्ने आवश्यकता महसुस गरे। यति मात्र नभई मोशालाई सिनै पर्वतमा दिइएको व्यवस्थासँगसँगै त्यसको उत्पत्ति भएको भनेर पनि प्रमाणित गर्नु पर्ने खाँचो तिनीहरूले देखे। रब्बीहरूले मौखिक तथा लिखित व्यवस्था दुवैको एउटै अर्थ र उद्देश्य छ भनी प्रमाणित गर्नुपर्ने आवश्यकता महसुस गरे। यसप्रकार, मिश्नाह यहूदीधर्मको अपरिवर्तनीय विवरण हुनुको साटो धार्मिक छलफल र बहसको एउटा नयाँ आधार हुनगयो।
ताल्मुदको रचना
उक्त नयाँ चुनौती स्वीकार्ने रब्बीहरूलाई अमोराइम अर्थात् मिश्नाहका “अनुवादक” वा “व्याख्याकार” भनिन्थ्यो। प्रत्येक शिक्षण संस्थानमा एक जना विशिष्ट रब्बी हुन्थ्यो। केही शास्त्रविद् तथा विद्यार्थीहरू सधैं छलफल गरिरहन्थे। तर सबैभन्दा महत्त्वपूर्ण बैठक चाहिं वर्षमा दुईचोटि, एडार र एलुल महीनामा हुन्थ्यो। किनकि त्यतिखेर खेतीपातीको काम सकिसकेको हुने भएकोले सयौं र कहिलेकाहीं त हजारौं मानिसहरू उपस्थित हुनसक्थे।
आदिन स्टाइनसाल्ज भन्छन्: “मेच वा कुनै विशेष प्रकारको चटाइमा बसेर शिक्षण संस्थान प्रमुखले बैठकको अध्यक्षता गर्थे। तिनको अगाडिपट्टि पहिलो पंक्तिमा तिनका साथी वा विशिष्ट शिष्यहरूलगायत मुख्य मुख्य शास्त्रविद्हरू बस्थे अनि तिनीहरूको पछिल्तिर चाहिं अरू शास्त्रविद्हरू। . . . यी सबै व्यक्तिहरू दर्जाअनुसार [महत्त्वअनुसार] पंक्तिवद्ध रूपमा बस्थे।” सबैले आ-आफ्नो आसन ग्रहण गरिसकेपछि मिश्नाहको कुनै एक अंशको पाठ गरिन्थ्यो। तत्पश्चात् उक्त अंशलाई टानियमहरूले संकलन गरेका तर मिश्नाहमा नभएका समानान्तर वा अतिरिक्त विषयवस्तुहरूसित तुलना गरिन्थ्यो। यसप्रकार, विश्लेषण सुरु हुन्थ्यो। प्रश्नहरू पेश गरिन्थ्यो। आन्तरिक सामञ्जस्यता फेला पार्नका लागि विरोधाभासपूर्ण शिक्षाहरूको विश्लेषण गरिन्थ्यो। रब्बीहरूको शिक्षा समर्थन गर्न हिब्रू धर्मशास्त्रमा सबुत खोजतलास हुन्थ्यो।
यस्ता छलफलहरू सावधानीपूर्वक व्यवस्थित गरिएको भए तापनि कहिलेकाहीं चर्काचर्की हुन्थ्यो। ताल्मुदमा उद्धृत एक जना विद्वान्ले एकचोटि बहसको दौडान रब्बीहरूको मुखमा “आगोको झिल्का” निस्के भनेका छन्। (हलिन १३७ख, बेबिलोनी ताल्मुद) त्यस्ता बहसबारे स्टाइनसल्ट्स यसो भन्छन्: “शिक्षण संस्थानका प्रमुख वा भाषण दिने विद्वान्ले समस्याहरूबारे आफ्नै अर्थ लगाउँथे। त्यसपछि, श्रोता शास्त्रविद्हरूले अरू स्रोत, अन्य टीकाकारहरूको दृष्टिकोण वा आफ्नै तार्किक निष्कर्षहरूको आधारमा भाषण दिने व्यक्तिमाथि अक्सर प्रश्नहरू वर्षाउँथे। कहिलेकाहीं बहस असाध्यै छोटो हुन्थ्यो र निर्दिष्ट प्रश्नको सुस्पष्ट तथा निश्चित जवाफ दिएर टुंग्याइन्थ्यो। कुनै बेला चाहिं अरू शास्त्रविद्हरू वैकल्पिक समाधान बताउँथे अनि गहिरो बहस सुरु हुन्थ्यो।” सबै श्रोताहरूले त्यस बहसमा भाग लिनसक्थे। उक्त बैठकमा स्पष्ट पारिएका विषयहरू अरू शास्त्रविद्हरूले पुनरावलोकन गरून् भन्नाखातिर अन्य शिक्षण संस्थानहरूमा पठाइन्थ्यो।
यद्यपि, ती बैठकहरू कहिल्यै अन्त नहुने कानुनी बहस मात्र थिएनन्। यहूदी धार्मिक जीवनका नियम तथा विधिविधानसित सम्बन्धित कानुनी विषयहरूलाई हालाका भनिन्छ। यो शब्द “जानु” भन्ने हिब्रू शब्दबाट आएको हो र यसले ‘जीवनको बाटो’ भन्ने बुझाउँछ। अन्य सबै विषयहरू अर्थात् रब्बी तथा बाइबल पात्र हरूका कथा, ज्ञानबर्द्धक उक्तिहरू, विश्वास तथा दर्शनहरूलाई हग्गदाह भनिन्छ, जुन “भन्नु” भन्ने हिब्रू मूलबाट आएको हो। रब्बीहरूको बहसमा हालाका र हग्गदाहको कुरा मिसाइन्थ्यो।
मोरिस एडलर आफ्नो पुस्तक ताल्मुदको संसार-मा (अंग्रेजी) यस्तो टिप्पणी गर्छन्: “बुद्धिमान् शिक्षकले लामो तथा कठिन कानुनी बहस सुरु हुँदा प्रसंग मोडेर सजिलो र प्रोत्साहनजनक विषयतर्फ लैजान्थे। . . . अतः शिक्षण संस्थान यस्ता तौरतरिका थाह नहुने व्यक्तिले ताल्मुदमा दन्त्यकथा र इतिहास, समकालीन विज्ञान र लोक कथा, बाइबलको व्याख्या र जीवनचरित्र अनि धर्मोपदेश र धर्मविज्ञान सबै मुछिएका पाउँदा उसलाई एउटा अव्यवस्थित तथ्यहरूको भुलभुलैया लाग्नसक्छ।” तथापि, शिक्षण संस्थानहरूका शास्त्रविद्हरूका लागि भने ती सबै अप्रासंगिक कुराहरूको उद्देश्य छ र छलफल गरिएको विषयसँग सम्बन्धित छ। हालाका र हग्गदाह नै रब्बीहरूको शिक्षण संस्थानले बनाएको नयाँ धार्मिक रूपरेखाको आधारशिला थियो।
दुइवटा ताल्मुदको रचना
अन्ततः प्यालेस्टाइनस्थित रब्बीहरूको मुख्य केन्द्र टाइबेरियसमा सऱ्यो। अन्य महत्त्वपूर्ण शिक्षण संस्थानहरू सेफोरिस, सिजेरिया र लिड्डामा थियो। तर कमजोर हुँदै गएको आर्थिक अवस्था, राजनैतिक अस्थिरता र अन्ततः धर्मत्यागी मसीहीजगत्को दबाब तथा सतावटले गर्दा अर्को बहुसंख्यक यहूदीहरू ठूलो समाज पूर्व अर्थात् बेबिलोनतिर बसाइँ सर्न बाध्य भए।
प्यालेस्टाइनका शिक्षण संस्थानहरूका प्रख्यात रब्बीहरूसँग अध्ययन गर्न शताब्दीयौंसम्म बेबिलोनबाट विद्यार्थीहरूको हूल त्यसतर्फ ओइरिन्थ्यो। ती विद्यार्थीहरूमध्ये अबा बेन इबो पनि एक हुन् जसलाई अबा एरिका अर्थात् लम्बु अब्बा पनि भनिन्थ्यो। तर पछि तिनी रब नाउँले चिनिए। जुदाह हा-नासीसँग शिक्षादीक्षा लिएर लगभग सा.यु. २१९ मा तिनी बेबिलोन फर्केपछि बेबिलोनी यहूदी समाजको आध्यात्मिक महत्त्वमाथि नयाँ आयाम थपियो। रबले सुरा भन्ने ठाउँमा शिक्षण संस्थान स्थापना गरे। त्यहाँ थुप्रै यहूदीहरू भए तापनि शास्त्रविद्हरू भने औंलामा गन्न सकिने मात्र थिए। तिनको ख्यातिले गर्दा नियमित तवरमा १,२०० विद्यार्थीहरू तिनको शिक्षण संस्थानमा आउन थाले अनि यहूदी महिना एडार र इलुलमा त हजारौं उपस्थित हुन्थे। रबकै विशिष्ट समकालीन स्यामुएलले नेहरडियामा आफ्नो शिक्षण संस्थान खोले। पम्बेडिथा र मेहोजामा अरू प्रमुख शिक्षण संस्थानहरू स्थापित भए।
बेबिलोनमै प्रख्यात शास्त्रविद्हरूसँग अध्ययन गर्नसकिने भएकोले अब भने प्यालेस्टाइन जानुपर्ने कुनै आवश्यकता रहेन। मिश्नाहलाई छुट्टै शास्त्रको रूपमा तर्जुमा गरिएको हुनाले बेबिलोनका शिक्षण संस्थान पूर्णतया स्वाधीन हुने बाटो खुल्यो। प्यालेस्टाइन र बेबिलोनमा बेग्लाबेग्लै किसिमको अध्ययन पद्धति तथा तरिकाहरू विकास भए तापनि नियमित सञ्चार र शिक्षकहरूको आदानप्रदानले गर्दा शिक्षण संस्थानहरूबीच एकता कायम हुनसक्यो।
सा.यु. चौथो शताब्दीको अन्त र पाँचौं शताब्दीको प्रारम्भतिर विशेषगरि प्यालेस्टाइनका यहूदीहरूका लागि परिस्थिति जटिल हुन गयो। धर्मत्यागी मसीहीजगत्को अख्तियार बढ्दै गएकोले यहूदीहरूमाथिको प्रतिबन्ध तथा सतावट पनि बढ्दै गयो। फलतः सा.यु. ४२५ मा महासभा र नासीको (कुलपति) अख्तियार नै अन्त भयो। अतः प्यालेस्टाइनका अमोराइमहरूले शिक्षण संस्थानहरूमा भएका बहसका सारांशहरू सुरक्षित राख्न एउटा युक्तिसंगत लेख तयार पार्न थाले। चौथो शताब्दीको अन्ततिर हतारपतार संकलन गरिएको उक्त लेख प्यालेस्टेनी ताल्मुद भनेर चिनिन थाल्यो।b
एकातिर प्यालेस्टेनी शिक्षण संस्थानहरू घट्दै गइरहेका थिए भने अर्कोतिर बेबिलोनी अमोराइमहरू आफ्नो योग्यताको शिखरमा उक्लिरहेका थिए। अबाये र राबाले बहस लम्बाएर जटिल तथा बुझ्नै गाह्रो हुने तर्कवितर्क बनाए जुन पछि गएर ताल्मुद विश्लेषण गर्ने नमुना नै बन्यो। अर्कोतिर, सूरास्थित शिक्षण संस्थान प्रमुख आसीले (सा. यु. ३७१-४२७) बहसका सार संकलन तथा सम्पादन गर्न थाले। स्टाइनसल्टस्अनुसार तिनले यसो गर्नुको कारण “ती कुराहरू यति अव्यवस्थित थिए कि तमाम मौखिक विषय समयको दौडान बिस्तारै नामोनिसानै नहुने गरी हराएर जाला भन्ने डर थियो।”
त्यो मौखिक विषयवस्तुको विशाल संग्रह एक व्यक्तिले त के एक पुस्ताले पनि व्यवस्थित गर्नसक्ने खालको थिएन। सा.यु. पाँचौं शताब्दीसम्ममा बेबिलोनमा अमोराइमहरू हराइसकेका थिए। तर साबोरियम भन्ने समूहले गर्दा बोबिलोनी ताल्मुद सम्पादन गर्ने अन्तिम काम छैठौं शताब्दीसम्म चलिरह्यो। साबोरियम अरामी शब्द हो जसको अर्थ “व्याख्याकार” वा “राय राख्नेहरू” हुन्छ। यी अन्तिम सम्पादकहरूले हजारौं अपूरा कुराहरूका साथै रब्बीहरूले गरेका बहसहरू काँटछाँट गरेर बेबिलोनी ताल्मुदको शैली र बनोटलाई त्यसअघिका सम्पूर्ण यहूदी लेखहरूको भन्दा छुट्टै बनाए।
ताल्मुदले कुन उद्देश्य पूरा गऱ्यो?
ताल्मुदका रब्बीहरूले मिश्नाह त्यही स्रोतबाट आएको हो जुन स्रोतबाट हिब्रू धर्मशास्त्र आएको थियो भनी प्रमाणित गर्न खोजे। तर किन? जेकब नोइजनर भन्छन्, “विषय मिश्नाहको स्थान भए तापनि वास्तवमा कुरा विद्वद्वर्गको अख्तियारको थियो।” विद्वद्वर्गको अख्तियार सुदृढ बनाउन मिश्नाहका प्रत्येक हरफ मात्र नभएर कहिलेकाहीं शब्द शब्द खास तरिकाद्वारा जाँचियो, प्रश्न उठाइयो अनि व्याख्या गरियो। नोइजनरअनुसार यसरी रब्बीहरूले “मिश्नाहलाई अर्कोतिर मोडे।” मिश्नाहलाई निहित पुस्तकको रूपमा तयार पारिएको भए तापनि पछि गएर यसलाई केलाइयो। यसो गर्ने सिलसिलामा यसलाई पुनः सृजना गरियो, प्रतिपादित गरियो।
यो नयाँ लेख अर्थात् नयाँ ताल्मुदले रब्बीहरूको उद्देश्य पूरा गऱ्यो। तिनीहरूले विश्लेषण गर्ने नियमहरू निर्धारण गरे र त्यसो गरेर मानिसहरूलाई रब्बीहरूले जस्तै सोच्न सिकाए। रब्बीहरू आफ्नो अध्ययन र विश्लेषण गर्ने तरिकाले परमेश्वरको मन प्रतिबिम्बित गर्छ भन्ने विश्वास गर्थे। ताल्मुदको अध्ययन एक प्रकारले एउटा नयाँ लक्ष्य अथवा एक प्रकारको उपासना हुनगयो मतलब दिमागको प्रयोग गर्नु नै परमेश्वरको नक्कल गर्नु हो भन्ने तिनीहरूको विचार रहन गयो। फलतः आउँदा पुस्ताहरूले ताल्मुदलाई त्यस्तै दृष्टिले विश्लेषण गर्ने भए। नतिजा? इतिहासकार सिसेल रोत यसरी लेख्छन्: “ताल्मुदले . . . [यहूदीहरूमाथि] अमेट छाप पाऱ्यो जसले गर्दा तिनीहरू अरूभन्दा भिन्न हुन गए। तिनीहरूको प्रतिरोध गर्ने शक्ति र एकता उल्लेखनीय हुनुको कारण पनि यही हो। ताल्मुदको तर्कले तिनीहरूको समझ तिखाऱ्यो अनि तिनीहरूको . . . मस्तिष्क तीक्ष्ण बनायो। . . . मध्य युगमा सतावट भोग्ने यहूदीलाई ताल्मुदले अर्कै संसारको आश्रय दियो जहाँ तिनीहरू भाग्नसक्थे . . . यसले तिनीहरूलाई प्रतीकात्मक मातृभूमि दियो जसलाई जुनसुकै यहूदीले पनि आफ्नो भूमि गुमाएको बेला आफूसँग राख्नसक्थे।”
अरूलाई रब्बीहरूको विचार सिकाएर ताल्मुदले निश्यच पनि आफ्नो शक्तिको परिचय दिएको छ। तर यहूदीहरू र गैरयहूदीहरू सबैका लागि एउटा सोचनीय प्रश्न छ। के ताल्मुदले साँच्चै परमेश्वरको मन प्रतिबिम्बित गर्छ त?—१ कोरिन्थी २:११-१६.
[फुटनोटहरू]
a मिश्नाहको विकास तथा विषय सूचीबारे थप जानकारी हासिल गर्नुपरेमा नोभेम्बर १५, १९९७ प्रहरीधरहरा-को “मिश्नाह र परमेश्वरले मोशालाई दिनुभएको व्यवस्था” भन्ने लेख हेर्नुहोस्।
b प्यालेस्टेनी ताल्मुद यरूशलेम ताल्मुदको नाउँले प्रसिद्ध छ। तथापि, उक्त नाउँ उपयुक्त छैन किनकि अमोराइमहरूको समयमा यहूदीहरूलाई यरूशलेममा पाइला टेक्न समेत दिइँदैनथ्यो।
[पृष्ठ ३१-मा भएको पेटी]
दुई ताल्मुद—तिनीहरूको भिन्नता
हिब्रू शब्द “ताल्मुद”-को अर्थ “अध्ययन” वा “सिक्नु” हो। प्यालेस्टाइन र बेबिलोनका अमोराइमहरूले मिश्नाहको अध्ययन वा विश्लेषण गर्नथाले। दुवै ताल्मुदले (प्यालेस्टेनी र बेबिलोनी) मिश्नाहको अध्ययन वा विश्लेषण गर्छन्। यी दुई ताल्मुदबीचको भिन्नता के छ त? जेकब नोइजनर लेख्छन्: “पहिलो ताल्मुदले प्रमाणहरू विश्लेषण गर्छ जबकि दोस्रोले आधारहरू केलाउँछ; पहिलोले विचाराधीन विषयको उद्देश्य नाघेर छलफल गर्दैन भने दोस्रोले गर्छ।”
गहन तथा केलाई केलाई सम्पादन गरिएको हुनाले बेबिलोनी ताल्मुद बृहत् मात्र नभई यसका धारणा र विश्लेषण अगाध अनि घतलाग्दा छन्। जहाँ “ताल्मुद” शब्द उल्लेख हुँदा सामान्यतया त्यसले बेबिलोनी ताल्मुद बुझाउँछ। शताब्दीयौंको दौडान सबैभन्दा धेरै अध्ययन तथा टीकाटिप्पणी गरिएको ताल्मुद यही हो। नोइजनरअनुसार प्यालेस्टेनी ताल्मुद “योग्यताको लेख हो” भने बेबिलोनी ताल्मुद चाहिं “प्रतिभाको लेख हो।”