प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ७/१ pp. २८-३१
  • रब्बी कहलिन को योग्य छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रब्बी कहलिन को योग्य छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के मोशा रब्बी थिए?
  • मालिकको अनुसरण गर्ने
  • युगानुयुगदेखि रब्बीहरूको भूमिका
  • “तिमीहरूलाई कसैले गुरु [रब्बी] नभनोस्‌”
  • आदर्शलाई पछ्याउनुहोस्‌
  • मौखिक व्यवस्था किन लेखियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • ताल्मुद के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मिश्‍नाह र परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्था
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहूदी धर्मलाई पुनः परिभाषित गर्ने माइमोनायडेस
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ७/१ pp. २८-३१

रब्बी कहलिन को योग्य छ?

खुरुखुरु विमानस्थलतिर लागिरहेका पर्यटकलाई समयमै त्यहाँ पुग्नु असम्भवै थियो। यरूशलेमको सडकमा थुप्रिएका ३,००,००० भन्दा धेरै शोकाकुल व्यक्‍तिहरूलाई सुरक्षा प्रदान गर्दै सवारीसाधनलाई बाटो देखाउन सयौं प्रहरीहरूले प्रयत्न गरे। द जेरूशलेम पोस्ट-ले यसलाई “राष्ट्रपति, नरेश वा एकतन्त्रीय तानाशाहहरूको शवयात्रामा मात्र देखिने ठूलो जमात” भन्यो। इजरायलको राजधानीमा घण्टौंसम्म सबै गतिविधि ठप्प रोकिने गरी यस्तो श्रद्धा कोप्रति देखाइएको होला? एक आदरणीय रब्बीप्रति। यहूदीहरूको रब्बीहरूप्रति यत्रो आदर र श्रद्धा किन? सर्वप्रथम “रब्बी” शब्द कहिले प्रयोग गरियो? कसलाई त्यसरी सम्बोधन गर्नु उचित छ?

के मोशा रब्बी थिए?

इस्राएलको व्यवस्थाको करारका मध्यस्थकर्ता मोशा, यहूदी मतमा सबैभन्दा आदरणीय व्यक्‍ति हुन्‌। धार्मिक यहूदीहरू तिनलाई “मोशा ‘हाम्रा रब्बी’” भन्छन्‌। तथापि, बाइबलमा कतै पनि मोशालाई “रब्बी” पदले सम्बोधन गरेको पाउँदैनौं। वास्तवमा “रब्बी” शब्द हिब्रू धर्मशास्त्रमा छँदैछैन। त्यसोभए यहूदीहरूले कसरी मोशालाई त्यसो भनेर सम्बोधन गर्न थाले?

हिब्रू धर्मशास्त्रअनुसार व्यवस्था सिकाउने र बुझाउने जिम्मेवारी तथा अधिकार हारूनको सन्तान अर्थात्‌ लेवी कुलका पूजाहारीहरूलाई सुम्पिएको थियो। (लेवी १०:८-११; व्यवस्था २४:८; मलाकी २:७) तथापि, सा.यु.पू. दोस्रो शताब्दीमा यहूदी मतभित्र शान्त आन्दोलन सुरु भयो र त्यसउप्रान्त यहूदी विचारधारामा अमेट छाप पऱ्‍यो।

त्यस आध्यात्मिक उथलपुथलबारे डानियल जेरमी सिल्भर यहूदी मतको इतिहास-मा (अंग्रेजी) यसरी लेख्छन्‌: “[त्यस] बेला गैरपूजाहारीवर्गका शास्त्री र शास्त्रविद्‌हरूले तोरह [मोशालाई दिइएको व्यवस्था] अर्थ्याउने सन्दर्भमा पूजाहारीहरूको वैधानिक एकाधिकारलाई ललकार्न थाले। मन्दिरका कार्यविधिहरू सञ्चालन गर्न पूजाहारीहरू चाहिन्छ भनेर सबैले सहमति जनाए तापनि तिनीहरूको प्रश्‍न थियो, तोरहको विषयमा तिनीहरू नै सर्वेसर्वा किन हुनुपऱ्‍यो?” यसरी पूजाहारीवर्गको अख्तियारलाई ललकार्न उस्काउनेहरू को थिए? तिनीहरू यहूदी मतभित्र फरिसी कहलाइने नयाँ समूह थिए। सिल्भर अझै थप्छन्‌: “फरिसीहरूले तिनीहरूको शिक्षण संस्थानमा यहूदीहरूको जन्मसिद्ध अधिकार [पूजाहारी वंश] को आधारमा नभई योग्यताको आधारमा भर्ना लिन्थे र यसरी तिनीहरूले धार्मिक अगुवाइमा यहूदीहरूको एउटा नयाँ वर्ग खडा गरे।”

सा.यु. प्रथम शताब्दीतिर फरिसीहरूका शिक्षण संस्थानहरूबाट स्नातक हुनेहरूलाई यहूदी व्यवस्थाका गुरु अथवा मालिक भन्‍न थालियो। अन्य यहूदीहरूले तिनीहरूप्रति आदर देखाउन “मेरो गुरु,” अथवा “मेरो मालिक,” अर्थात्‌ हिब्रूमा रब्बी भनेर सम्बोधन गर्न थाले।

यहूदी इतिहासका महान्‌ शिक्षक मानिने मोशालाई यो नयाँ पद दिनुबाहेक अन्य कुनै पनि कुराले यस पदलाई अझ मान्यता प्रदान गर्नसक्दैन थियो। परिणामस्वरूप पूजाहारीत्वको महत्त्व घट्‌नेथियो भने अर्कोतिर बढ्‌दो रूपमा प्रभावकारी हुँदै गएको फरिसी नेतृत्वप्रतिको आमविचारधारालाई टेवा पुग्नेथियो। अतः मोशाको मृत्यु भएको करिब १,५०० वर्षपछि तिनी “रब्बी” पदले विभूषित भए। तर त्योभन्दा अघि पनि तिनी रब्बी नै ठानिन्थे।

मालिकको अनुसरण गर्ने

“रब्बी” (“मेरो मालिक”) अभिव्यक्‍ति अन्य आदरणीय गुरुहरूलाई सम्बोधन गर्दा एक समूहले कहिलेकाहीं प्रयोग गर्थ्यो। तर यो पद अक्सर फरिसीहरूमध्ये प्रमुख गुरुहरू अर्थात्‌ “विद्वद्‌हरू[लाई]” सम्बोधन गर्न प्रयोग गरिन्थ्यो। सा.यु. ७० मा मन्दिरको विनाश हुँदा वास्तवमा पूजाहारीत्वको अख्तियार पनि सकियो। त्यतिखेर फरिसी रब्बीहरू निर्विरोध यहूदी मतका नेताहरू छानिए। निर्विरोध प्राप्त यस पदले गर्दा रब्बी विद्वद्‌हरूमा समर्पित गुट फस्टायो।

यस प्रथम शताब्दीको परिवर्तनीय समयबारे छलफल गर्दै प्राध्यापक डोभ ज्लोत्नेक यस्तो टिप्पणी गर्छन्‌: “‘विद्वद्‌हरूलाई नियालेर हेर्नु’ तोरह अध्ययन गर्नुभन्दा पनि धेरै महत्त्वपूर्ण भएका थिए।” यहूदी शास्त्रविद्‌ जेकब नोइस्नर अझै व्याख्या गर्छन्‌: “‘विद्वद्‌हरूको चेला’ रब्बीसँगसँगै उठबस गर्ने शिष्य हो। उसले ‘तोरह’ सिक्न चाहेको हुँदा त्यसो गर्छ।’ . . . तोरह, व्यवस्था पढेर होइन तर जीवित विद्वद्‌हरूको हाउभाउ र कार्य हेरेर सिकिन्छ। तिनीहरू आफ्नो वचनबाट मात्र होइन कार्यद्वारा पनि व्यवस्था सिकाउँछन्‌।”

ताल्मुद शास्त्रविद्‌ आदिन स्टीनसाल्ट्‌स उक्‍त कुरालाई समर्थन गर्दै यसरी लेख्छन्‌: “विद्वद्‌हरू स्वयं भन्छन्‌, ‘विद्वद्‌हरूका सामान्य वार्तालाप, हाउभाउ वा सामान्य भनाइहरू अध्ययन गर्नुपर्छ।’” कुन हदसम्म यसो गर्न सकिन्छ? स्टीनसाल्ट्‌स भन्छन्‌: “आफ्नो महान्‌ गुरुले पत्नीसित कसरी व्यवहार गर्छन्‌ भनी थाह पाउन त्यस गुरुको खाटमुनि शिष्य लुकिरहेको पत्ता लाग्नु यसको उग्र उदाहरण थियो। त्यस जवान शिष्यको यस कौतूहलताबारे छानबिन गर्दा उसले यसरी जवाफ दियो: ‘यो तोरह हो र यो अध्ययन गर्न योग्य छ।’ यस तरिकालाई रब्बी तथा शिष्यहरू दुवैले स्वीकारे।”

रब्बी मार्फत तोरह अध्ययन गर्दा तोरहलाई भन्दा पनि रब्बीलाई बढ्‌ता जोड दिएकोले सा.यु. प्रथम शताब्दीदेखि यहूदी मत रब्बीहरूद्वारा निर्देशित धर्म हुनगयो। कुनै व्यक्‍ति परमेश्‍वरसित प्रेरित लिखित वचनबाट होइन तर व्यक्‍तिगत आदर्श, गुरु अर्थात्‌ रब्बी मार्फत घनिष्ठ हुन्थ्यो। यसर्थ, प्रेरित धर्मशास्त्रको साटो स्वतः यी रब्बीहरूले सिकाएका मौखिक व्यवस्था तथा परम्परालाई जोड दिन थालियो। त्यसउप्रान्त ताल्मुदजस्ता यहूदी साहित्य परमेश्‍वरका वाणीहरूको साटो रब्बीहरूका छलफल छोटा किस्साहरू र आचरणमा केन्द्रित भए।

युगानुयुगदेखि रब्बीहरूको भूमिका

रब्बीहरूले शक्‍तिशाली अख्तियार र प्रभाव जमाए तापनि तिनीहरूले आफ्नो प्रारम्भिक धार्मिक गतिविधिबाट जीवन धान्‍न सकेनन्‌। इन्साइक्लोपीडिया जुडाइका यसरी व्याख्या गर्छ: “ताल्मुदका रब्बी र . . . आधुनिक समयका रब्बीबीच आकाश जमीनको फरक छ। ताल्मुदका रब्बीले बाइबल र मौखिक व्यवस्था अर्थ्याउँथे, व्याख्या गर्थे र आफ्नो जीवन धान्‍न तिनले सधैंजसो कुनै न कुनै पेशा अपनाउँथे। मध्य युगतिर मात्र रब्बी . . . गुरु, प्रचारक र यहूदी मण्डली वा समुदायका आध्यात्मिक शिर भए।”

रब्बीहरूले आफ्नो पदलाई पैसा कमाउने पेशाको रूपमा परिवर्तन गर्न थालेपछि केही रब्बीहरूले यसको विरोध गरे। बाह्रौं शताब्दीका नामी रब्बी माइमोनिडसले यस्ता रब्बीहरूको घोर भर्त्सना गरे। पेशागत रूपमा तिनी औषधीवेत्ता थिए र त्यसैबाट आफ्नो जीविका चलाउँथे। “प्रत्येक व्यक्‍ति तथा समुदायहरूले तिनीहरूको आर्थिक मागहरू पूरा गर्नुपर्ने प्रबन्ध [तिनीहरूले] मिलाए। यसका साथै विद्वद्‌हरू, शास्त्रविद्‌हरू तथा तोरह अध्ययन गर्ने शिष्यहरूलाई [आर्थिक तवरमा] मदत गर्नु आफ्नो दायित्व हो र यो उचित छ भनेर तिनीहरूले मानिसहरूलाई सोच्न बाध्य गराए। तर यो असाध्यै मूर्खतापूर्ण सोचाइ थियो। यसप्रकार तिनीहरूको तोरह तिनीहरूको पेशा हो। तर यसो गर्नु गलत हो। किनकि यस शिक्षालाई तोरह वा विद्वद्‌हरूको भनाइले पटक्कै समर्थन गर्दैन।” (मिश्‍नाहबारे टिप्पणी, एभट ४:५) तर माइमोनिडसको भर्त्सनालाई रब्बीहरूका भावी सन्ततिले लत्याए।

आधुनिक युगमा यहूदी मत सुधारपन्थी, कट्टरपन्थी र रूढीवादी विश्‍वासजस्ता स-साना गुटहरूमा विभाजित भए। धेरैका निम्ति यहूदी धार्मिक विश्‍वास तथा काम अन्य चासोहरूको तुलनामा कम मूल्यको भयो। परिणामस्वरूप रब्बीको पद भित्रभित्रै खोक्रो भयो। मुख्यतः रब्बी मण्डलीको अनुमोदित शिर तथा आफ्नो समूहका सदस्यहरूका निम्ति सल्लाह दिने पेशेवर तलबी गुरु हुन पुग्यो। तथापि, अतिरूढीवादी हासिडिक गुटमा पनि रब्बीलाई मालिक र उदाहरणको रूपमा लिनुपर्ने धारणा अझ विकास हुँदै गयो।

एड्‌वार्ड हफ्म्यानले आफ्नो पुस्तकमा हासिडिक हबाद-लुबाभिट्‌चर आन्दोलनबारे गरेका यी टिप्पणीहरूलाई ध्यान दिनुहोस्‌: “पुरातन हासिडीवादले प्रत्येक पुस्तामा पनि एउटा यहूदी नेता, जद्दिक [धर्मी व्यक्‍ति] हुन्छ। अनि तिनी आफ्नो जमानाका ‘मोशा’ हुनुका साथै अरूको दाँजोमा तिनको विद्वता र भक्‍ति अतुलनीय हुन्छ भनी जोड दियो। विस्मयकारी धर्मपरायणताको कारण प्रत्येक हासिडीवादी समूह आफ्नो रेब्बेले [यिद्दिशमा “रब्बी”] सर्वशक्‍तिमानका आदेशहरूलाई समेत प्रभाव पार्नसक्छ भन्ठान्छन्‌। आफ्ना आदरणीय कार्यहरूले मात्र तिनी उदाहरणीय आदर्श थिएनन्‌ तर तिनको जीवनशैलीबाट (भनौं भने, ‘तिनी आफ्नो जुत्ताको फित्ता जसरी बाँध्थे’) उच्च मानवता प्रकट हुन्थ्यो र तिनी परमेश्‍वरमा पुग्ने बाटो हुन्‌ भन्‍ने आभास बडो कुशलतासाथ झल्किन्थ्यो।”

“तिमीहरूलाई कसैले गुरु [रब्बी] नभनोस्‌”

प्रथम शताब्दीका यहूदी येशू, मसीही धर्मका संस्थापक हुनुहुन्थ्यो र त्यही समय रब्बीबारे फरिसीहरूको विचारधाराले यहूदी मतमा स्थान ओगट्‌न थालेको थियो। उहाँ फरिसी हुनुहुन्‍नथ्यो नता उहाँले तिनीहरूको शिक्षण संस्थानमा तालिम लिनुभएको थियो, तापनि उहाँ रब्बी कहलाइनुभयो।—मर्कूस ९:५; यूहन्‍ना १:३८; ३:२.

यहूदी मतमा घुसेको रब्बी झुकाउको भर्त्सना गर्दै येशूले यसो भन्‍नुभयो: “शास्त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्तछन्‌। औ भोजहरूमा मुख्य स्थान र सभाघरहरूमा मुख्य मुख्य आसनहरू चाहन्छन्‌ र बजारहरूमा सलाम खोज्छन्‌ र मानिसहरूबाट [रब्बी] कहलाइन रुचाउँछन्‌। तर तिमीहरूलाई कसैले [रब्बी] नभनोस्‌ किनकि तिमीहरूका गुरु एउटै छन्‌, र तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ।”—मत्ती २३:२, ६-८.

यहूदी मतमा विकास हुँदै गइरहेको पादरी र जनसाधारणबीचको भिन्‍नतासित सतर्क रहनुपर्ने चेताउनी येशूले दिनुभयो। मानिसलाई यस्तो नचाहिंदो महत्त्व दिएकोमा उहाँले भर्त्सना गर्नुभयो। निर्भयतासाथ उहाँले भन्‍नुभयो, “तिमीहरूका गुरु एउटै छन्‌।” उहाँ को हुनुहुन्थ्यो?

“परमप्रभुले घनिष्ठसित” चिन्‍नुभएको मोशा एक असिद्ध मानिस थिए। तिनलाई विद्वद्‌हरू “हाम्रा रब्बी” भन्थे। तिनले पनि गलतीहरू गरे। (व्यवस्था ३२:४८-५१; ३४:१०; उपदेशक ७:२०) यहोवाले मोशालाई अन्तिम उदाहरणस्वरूप प्रकाश पार्नुको साटो तिनलाई यसो भन्‍नुभयो: “तिनीहरूका निम्ति तिनीहरूमध्यबाट म एउटा अगमवक्‍ता खड़ा गर्नेछु। मैले बोल्ने कुरा म त्यसलाई भन्‍नेछु र त्यसले मेरो आज्ञाअनुसार मानिसहरूसम्म मेरो कुरा पुऱ्‍याउनेछ। औ त्यसले मेरो नाउँमा भनेका वचनहरू नसुन्‍नेको लेखा म लिनेछु।”—व्यवस्था १८:१८, १९.

यी शब्दहरू येशू अर्थात्‌ मसीहमाथि पूरा हुन्छ भनेर बाइबलका भविष्यवाणीहरूले प्रमाणित गर्छन्‌।a येशू मोशा “जस्तो” मात्र होइन तर मोशाभन्दा पनि महान्‌ हुनुहुन्थ्यो। (हिब्रू ३:१-३) येशू सिद्ध जन्मनुभएको थियो र मोशाले जस्तो होइन तर “पापरहित” भएर परमेश्‍वरको सेवा गर्नुभयो भनी धर्मशास्त्र प्रकट गर्छ।—हिब्रू ४:१५.

आदर्शलाई पछ्याउनुहोस्‌

रब्बीको प्रत्येक क्रियाकलाप र बोलीवचनको गहिरो अध्ययनले यहूदीहरूलाई परमेश्‍वरसित घनिष्ठ बनाएको छैन। एक असिद्ध मानिस विश्‍वासीलोपनको उदाहरण बन्‍नसक्लान्‌। तर उनको प्रत्येक क्रियाकलाप अध्ययन गरेर त्यसको अनुकरण गऱ्‍यौं भने हामीले उनका असल गुनहरूलगायत भूल तथा असिद्धताहरू पनि अनुकरण गर्नेछौं। हामीले सृष्टिकर्ताको साटो सृष्टिलाई अनुचित महिमा दिइरहेका हुनेछौं।—रोमी १:२५.

तर यहोवाले मानिसजातिको निम्ति एक आदर्शको प्रबन्ध अवश्‍य गर्नुभयो। धर्मशास्त्रअनुसार येशूको मानवपूर्व अस्तित्व थियो। वास्तवमा उहाँलाई “अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्टिको जेठो” भनिन्छ। (कलस्सी १:१५) परमेश्‍वरको “मुख्य कालिगड[को]” रूपमा हजारौंहजार अनगिन्ती वर्ष स्वर्गमा सेवा गरिसक्नुभएका येशूले मात्र हामीलाई यहोवा चिनाउन सक्नुहुन्छ।—हितोपदेश ८:२२-३०, NW; यूहन्‍ना १४:९, १०.

त्यसैकारण पत्रुसले यसरी लेख्न सके: “तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड़नालाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रुस २:२१) प्रेरित पावलले मसीहीहरूलाई “विश्‍वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई” गहिरिएर हेर्न प्रोत्साहन दिए। उहाँमा “ज्ञान र बुद्धिका सारा रत्नहरू छिपेका छन्‌” भनेर तिनले अझै व्याख्या गरे। (हिब्रू १२:२; कलस्सी २:३) अन्य कुनै पनि मानिस, नता मोशा न कुनै रब्बी विद्वद्‌हरू यस्तो ध्यान दिन योग्यका छन्‌। एक एक क्रियाकलाप अनुकरण गर्न योग्य कोही छ भने उहाँ येशू नै हुनुहुन्छ। विशेषगरि वर्तमान समयमा रब्बी शब्दको अर्थलाई विचार गर्दा परमेश्‍वरका सेवकहरूलाई त्यस्तो पदको आवश्‍यकता पर्दैन। तर कोही रब्बी कहलिन योग्य थियो भने उहाँ येशू नै हुनुहुन्थ्यो।

[फुटनोट]

a येशू प्रतिज्ञा गरिएको मसीह हुनुहुन्थ्यो भन्‍ने थप प्रमाणका लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित पुस्तिका के युद्धरहित संसार कहिल्यै हुनेछ? (अंग्रेजी) को पृष्ठ २४-३० हेर्नुहोस्‌।

[पृष्ठ २८-मा भएको चित्रको स्रोत]

© Brian Hendler 1995. सर्वाधिकार सुरक्षित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने