पृथ्वी—किन सृजियो?
तपाईंले विचार गर्नुपर्ने प्रश्न छ: के हाम्रो सुन्दर ग्रह कुनै बुद्धिमान् सृष्टिकर्ताले पृथ्वी र पृथ्वीवासीहरूका लागि कुनै उद्देश्य लिएर सृष्टि गर्नुभएको हो? तपाईंले जति चित्त बुझ्नेगरि यो प्रश्नको जवाफ खोज्नुहुन्छ, त्यति नै पृथ्वीको भविष्य बुझ्नुहुनेछ।
ब्रह्माण्ड तथा पृथ्वीको गहन अध्ययन गर्ने धेरैजसो वैज्ञानिकहरूले यी सबका पछाडि सृष्टिकर्ता हुनुहुन्छ, परमेश्वरको अस्तित्व छ भन्ने प्रमाणहरू भेट्टाएका छन्। तिनीहरूमध्ये एक जनाको टिप्पणी विचार गर्नुहोस्:
प्राध्यापक पल डेभिस परमेश्वरको विचार-मा (अंग्रेजी) लेख्छन्: “स्थिर, व्यवस्थित र जटिल बनोट भएको सुसंगत ब्रह्माण्ड अस्तित्वमा हुन विशेष किसिमको नियम तथा अवस्था नभई हुँदैन।”
खगोलविद् तथा अन्य वैज्ञानिकहरूले पत्ता लगाएका थुप्रै “संयोगहरूमाथि” विचारविमर्श गरिसकेपछि प्राध्यापक डेभिस यसो भन्छन्: यी सब “संयोगहरूलाई” एकसाथ विचार गरेर हेर्दा हामीले जानेबुझेका जीवन, भौतिक नियमका साथै प्रकृतिले विभिन्न पिण्ड, शक्ति र त्यस्तै अन्य वस्तुहरूका लागि निर्धारण गरेको मानहरूमा भएको कथित दुर्घटनाहरूमा असाध्यै निर्भर गर्छ भन्ने सशक्त प्रमाण पाउँछौं। सायद यति भने पुग्ला, यदि हामीले परमेश्वरको भूमिका निर्वाह गर्नुपऱ्यो र माथि उल्लिखित मानहरूमा परिवर्तनहरू ल्याउनुपऱ्यो भने जति नै मिलाउन खोजे पनि यस ब्रह्माण्डमा जीवन सम्भव बनाउने कुनै आधार पटक्कै भेट्टाउने थिएनौं। ब्रह्माण्डमा जीवन सम्भव बनाउन अझ कुनै कुनै मानहरूमा अति नै होसियारीपूर्वक सूक्ष्म परिवर्तनहरू गर्नुपर्ने आवश्यकता देख्नेथियौं। . . . अहिले ब्रह्माण्ड जे जति मान वा नियमअनुसार चलिरहेको छ, त्यसमा अलिकता मात्र थपघट भएको भए जीवन हुने थिएन भन्ने तथ्य अवश्य पनि अति विचारणीय छ।”
यी खोजहरूले गर्दा धेरैजसो मानिसहरू हाम्रो पृथ्वीलगायत सम्पूर्ण ब्रह्माण्ड उद्देश्यसहितको सृष्टिकर्ताले नै बनाउनु भएको हो भनेर औंल्याउछन्। यदि त्यसो हो भने, उहाँले यो पृथ्वी किन तयार पार्नुभयो सबैभन्दा पहिले त्यो बुझ्नु जरुरी छ। अझ हुन्छ भने, कुन उद्देश्य लिएर पृथ्वी सृजनुभयो, त्यो पनि निधो गर्नु आवश्यक छ। यसै सन्दर्भमा एउटा अनौठो कुरा के छ भने नास्तिकवाद लोकप्रिय भए तापनि थुप्रै मानिसहरू बुद्धिमान् सृष्टिकर्ता हुनुहुन्छ भनेर अझै विश्वास गर्छन्। मसीहीजगत्का अधिकांश चर्चहरूमा सर्वशक्तिमान् परमेश्वर र यस ब्रह्माण्डका सृष्टिकर्ताबारे नाउँका लागि मात्र भए पनि उल्लेख गरिन्छ। यद्यपि, परमेश्वरको उद्देश्यअनुसार पृथ्वीको भविष्य कस्तो छ, त्यसबारे यी धर्महरूले निर्धक्क र विश्वस्त भई बिरलै भनेका छन्।
बाइबल के भन्छ?
सृष्टिकर्ताबाटै आएको हो भनी व्यापक मान्यता पाएको स्रोत केलाउनु तार्किक छ र त्यो स्रोत हो, बाइबल। हाम्रो पृथ्वीको भविष्यबारे त्यसमा पाइने सबैभन्दा सरल तथा स्पष्ट वाक्य उपदेश १:४ मा छ। त्यहाँ यसो लेखिएको पाउँछौं: “पुस्ताहरू आउँछन्, पुस्ताहरू जान्छन्, तर पृथ्वी चाहिं सदा सर्वदै रहिरहन्छ।” यहोवा परमेश्वरले पृथ्वी किन सृष्टि गर्नुभयो बाइबलले स्पष्ट पारेको छ। पृथ्वीमा जीवन सम्भव हुनसकोस् भनेर परमेश्वरले ब्रह्माण्डमा एकदम सही स्थानमा राख्नुका साथै सूर्यदेखि ठिक्कको दूरीमा बसाल्नुभयो भनेर पनि यसले बताउँछ। सर्वशक्तिमान परमेश्वरले पुरातन अगमवक्ता यशैयालाई यो लेख्न उत्प्रेरित गर्नुभयो: “स्वर्ग सृजने परमप्रभु यसो भन्नुहुन्छ, (उहाँ परमेश्वर हुनुहुन्छ!) जसले पृथ्वी रच्नुभयो र बनाउनुभयो। (उहाँले त्यो स्थिर गर्नुभयो, उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।) म परमप्रभु हुँ, मबाहेक अरू कोही छैन।”—यशैया ४५:१८.
तर जीवनै नामेट पार्नसक्ने मानव निर्मित साधनहरूबारे के भन्न सकिन्छ? अतुलनीय बुद्धि भएको परमेश्वरले मानिसजातिले यस पृथ्वीका सम्पूर्ण जीव नाश गर्नु अगावै हस्तक्षेप गर्ने घोषणा गर्नु भएको छ। बाइबलको अन्तिम पुस्तक प्रकाशमा दिइएको यो आश्वासनपूर्ण प्रतिज्ञा विचार गर्नुहोस्: “जाति जातिहरू क्रोधित भए, तर तपाईंका दासहरू, अर्थात् अगमवक्ताहरू र पवित्र जनहरू, र ठूला साना दुवै तपाईंका नाउँसँग डराउनेहरूलाई, तिनीहरूका इनाम दिनालाई र पृथ्वीका नष्टकारीहरूलाई नष्ट गर्नालाई, मरेकाहरूको इन्साफ गर्ने समय र तपाईंको क्रोध आएको छ।”—प्रकाश ११:१८.
एक अन्तरिक्ष यात्रीले रत्न भनेर बयान गरेको यस ग्रहको मूल उद्देश्य के थियो, त्यो यहोवा हामीलाई प्रकट गर्नुहुन्छ। परमेश्वरले यो ग्रह एउटा विश्वव्यापी प्रमोदवन होस्, ठिक्कको मानिसहरूले भरियोस्, स्त्री तथा पुरुष सबै मिलेर सुख-शान्तिपूर्वक जीवन बिताउन सकून् भन्ने उद्देश्य राखेर सृष्टि गर्नुभएको थियो। उहाँले प्रथम मानव दम्पतीलाई सन्तान जन्माउने अनुमति दिनुभएर बिस्तारै बिस्तारै यो ग्रह भर्ने प्रबन्ध मिलाउनुभएको थियो। प्रथम मानव दम्पतीको आनन्द र सन्तुष्टिको लागि यहोवाले पृथ्वीको एउटा सानो भागलाई प्रमोदवनमा परिणत गर्नुभएको थियो। उत्पत्ति १:२८ पूरा नभएसम्म वर्षौं अनि शताब्दीयौंसम्म मानव परिवारसँगसँगै अदनको बगैंचा फैलँदै जानेथियो: “परमेश्वरले तिनीहरूलाई . . . भन्नुभयो, ‘फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।’ ”
अहिले पृथ्वी र पृथ्वीवासीको दयनीय हालतले के परमेश्वरले पृथ्वी सृजनुहुँदा सोच्नुभएको मूल उद्देश्य फेल खाएको संकेत गर्दैन र? अथवा मनमौजी मानिसजातिको कारण आफ्नो उद्देश्य परिवर्तन गर्नुभएर उहाँले पृथ्वीलाई नाश गराएर फेरि सुरुदेखि सबथोक बसाल्ने निर्णय पो गर्नुभएको छ कि? होइन, यस्तो हुनैसक्तैन भनेर हामी विश्वस्त हुनसक्छौं। यहोवाले जे ठान्नुहुन्छ, ती अन्ततः सबै पूरा गर्नुहुन्छ, उहाँले गर्नुभएको निर्णयलाई कसैले या कुनै अप्रत्याशित अवस्थाले विफल पार्नसक्दैन भनी बाइबल बताउँछ। उहाँ यस्तो आश्वासन दिनुहुन्छ: “त्यसरीनै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:११.
परमेश्वरको उद्देश्यमा अवरोध खडा भयो, तर परिवर्तन भएन
भनिरहनु नपर्ला, आदम र हव्वा अनाज्ञाकारी भएर अदनको बगैंचाबाट निकालिएपछि परमेश्वरले प्रमोदवनरूपी पृथ्वीबारे राख्नुभएको उद्देश्य पक्कै पनि तिनीहरूद्वारा पूरा हुने थिएन। तथापि, यहोवाले त्यहीं, त्यति नै खेर तिनीहरूका केही सन्तानले उहाँको सुरुको आदेश पालन गर्नेछन् भन्ने संकेत दिनुभयो। हो, यसो गर्न समय लाग्छ, सायद सयौं वर्ष बित्ला। तथापि, आदम र हव्वा दुवै सिद्धै भइरहेका भए पनि त्यो सुरुको आदेश पूरा हुन कति समय लाग्ने थियो किटान गरिएको छैन। खासै भन्ने हो भने ख्रीष्ट येशूको हजार वर्षे शासन सिद्धिएपछि अर्थात् अबउसो झण्डै एक हजार वर्षपछि अदनको जस्तो प्रमोदवन सारा पृथ्वीभरि फैलिनेछ र पृथ्वी प्रथम दम्पतीका शान्तिप्रिय तथा आनन्दित सन्तानहरूले भरिनेछ। निस्सन्देह, तब भने यहोवाले आफ्नो उद्देश्य साँच्चै पूरा गर्नसक्नु हुँदो रहेछ भनेर सदासदाको लागि स्पष्ट हुनेछ!
त्यसपछि, यहोवाले धेरैअघि गर्नुभएका रोमाञ्चकारी भविष्यवाणीहरू एक एक गरी पूरा हुनेछन्। यशैया ११:६-९ जस्ता शास्त्रपदहरूको विस्मयकारी पूर्ति हुनेछ: “ब्वाँसो चाहिं थुमासित बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, जवान सिंह र पालेको पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ। गाई र भालू एकैसाथ चर्नेछन्, र तिनीहरूका बच्चाहरू एकैसाथ ढल्केर बस्नेछन्। सिंहले गोरुले झैं पराल खानेछ। दूधे–बालक साँबे सर्पको कुरमा खेल्नेछ, र भर्खर दूध छोड़ेको बालकले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ। तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”
अस्वस्थता तथा प्राणघातक रोगबिमारी अनि मृत्यु विगतका कुरा हुनेछन्। बाइबलको अन्तिम पुस्तकमा पाइने निम्न शब्दहरू भनेपछि अरू केही भनिरहनु पर्ला र? “परमेश्वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्। औ परमेश्वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:३, ४.
हो, हाम्रो सुन्दर पृथ्वी नाश होला भनेर निराश हुनुपर्दैन। यस दुष्ट रीतिरिवाज पृथ्वी बिगार्ने कामसहित नष्ट हुँदा जीवितै रहन पाउने विशेषाधिकार तपाईंलाई पनि मिलोस्। परमेश्वरले बनाउनुभएको नयाँ स्वच्छ संसार नजिकै छ। अनि पुनरुत्थानको चमत्कारद्वारा मरिसकेका थुप्रै प्रियजनहरू मृत्युको निद्राबाट ब्यूँझनेछन्। (यूहन्ना ५:२८, २९) हो, हाम्रो पृथ्वी रहिरहन्छ र पृथ्वीसँगसँगै रहेर हामी पनि आनन्द मनाउन सक्छौं।