५
जीवनको महान् उद्देश्य छ
१, २. परमेश्वरले हाम्रो चिन्ता गर्नुहुन्छ भनेर हामी कसरी भन्न सक्छौं र जीवनका प्रश्नहरूको जवाफका लागि हामी कहाँ जान सक्छौं?
१ पृथ्वी र त्यसमा भएका सजीव वस्तुहरूको बनौटले तिनीहरूको सृष्टिकर्ता चिन्ता गर्ने प्रेमको परमेश्वर हुनुहुन्छ भनेर देखाउँछ। उहाँको वचन बाइबलले पनि उहाँले चिन्ता गर्नुहुन्छ भनेर बताउँछ; बाइबलले यी प्रश्नहरूको सबैभन्दा चित्तबुझ्दो जवाफ दिन्छ: हामी यहाँ पृथ्वीमा किन छौं? र हामी कता लाग्दैछौं?
२ यी प्रश्नहरूको जवाफका लागि बाइबल खोलेर जाँच्नु आवश्यक छ। परमेश्वरको वचनले यसो भन्छ: “जब तिमीहरू परमप्रभुसँग हुन्छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ। तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।” (२ इतिहास १५:२) त्यसोभए, परमेश्वरको वचन जाँचेर हेर्दा उहाँले हाम्रो जीवनको के उद्देश्य राख्नुभएको छ भनी लेखिएको पाउँछौं त?
परमेश्वरले मानिसहरूको सृष्टि किन गर्नुभयो
३. परमेश्वरले पृथ्वीको सृष्टि किन गर्नुभयो?
३ विशेष गरी मानिसहरूलाई नै ध्यानमा राखेर परमेश्वरले पृथ्वी बनाउनुभयो भनेर बाइबलले बताउँछ। पृथ्वीबारे यशैया ४५:१८ ले यसो भन्छ: परमेश्वरले “त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।” बाँच्नका लागि मात्र नभई जीवनको पूर्ण आनन्द उठाउन सकून् भनेर उहाँले यस पृथ्वीमा मानिसहरूलाई चाहिने जति सबै कुराहरूको प्रबन्ध गर्नुभयो।—उत्पत्ति अध्याय १ र २.
४. परमेश्वरले प्रथम मानिसहरूको सृष्टि किन गर्नुभयो?
४ प्रथम मानिस, आदम अनि हव्वा कसरी सृष्टि भए, त्यो परमेश्वरले आफ्नो वचनमा बताउनुभएको छ र मानव परिवारको लागि उहाँले कुन कुरा मनमा राख्नुभएको थियो त्यो पनि प्रकट गर्नुभएको छ। उहाँले भन्नुभयो: “मानिसहरूलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु-पशुहरू, [“सारा पृथ्वी,” NW] र जमीनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।” (उत्पत्ति १:२६) मानिसहरूले “सारा पृथ्वी” र त्यसमा भएका जनावरहरूको रेखदेख गर्नुपर्ने थियो।
५. प्रथम मानिसहरूलाई कहाँ राखिएको थियो?
५ मध्यपूर्वको अदन भन्ने इलाकामा परमेश्वरले ठूलो बगैंचा बनाउनुभयो। त्यसपछि उहाँले “मानिसलाई लगेर अदनको बगैंचामा त्यो गोड़-गाड़ र हेरचाह गर्न राख्नुभयो।” प्रथम मानिसहरूलाई भोजनका लागि चाहिने सबै कुराले भरिभराउ भएको त्यो एउटा प्रमोदवन थियो। त्यहाँ “हेर्नमा राम्रो र खानमा असल फल[का]” साथै अन्य वनस्पति तथा थुप्रै प्रकारका रहरलाग्दा जनावरहरू पनि थिए।—उत्पत्ति २:७-९, १५.
६. कस्ता मानसिक तथा शारीरिक विशेषताहरूका साथ मानिसहरूको सृष्टि गरिएको थियो?
६ प्रथम मानिसहरू बिरामी अनि वृद्ध नहोउन् र नमरुन् भनेर तिनीहरूको शरीर सिद्ध सृष्टि गरिएको थियो। स्वेच्छा जस्ता अन्य गुणहरू पनि तिनीहरूलाई प्रदान गरिएको थियो। तिनीहरूको बनौटबारे उत्पत्ति १:२७ ले यो विवरण दिन्छ: “परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।” परमेश्वरको स्वरूपमा सृजिएको हुँदा हामीलाई शारीरिक तथा मानसिक विशेषताहरू मात्रै नभई नैतिक अनि आध्यात्मिक गुण पनि दिइएको थियो र हामी साँच्चै आनन्दित हुने हो भने यी आवश्यकताहरूको पूर्ति हुन जरुरी छ। भोजन, पानी र हावाको आवश्यकतासँगसँगै परमेश्वरले यी आवश्यकताहरूको पनि प्रबन्ध गर्नुहुने थियो। येशू ख्रीष्टले भन्नुभएझैं “मानिस भोजनले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।”—मत्ती ४:४.
७. प्रथम दम्पतीलाई कस्तो आज्ञा दिइयो?
७ यसको अतिरिक्त परमेश्वरले त्यो प्रथम दम्पतीलाई अदनको बगैंचामा एउटा अद्भुत आज्ञा पनि दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै . . . जाओ।” (उत्पत्ति १:२८) अतः आदम र हव्वा सिद्ध सन्तान जन्माएर तिनीहरूलाई हुर्काउन सक्षम हुने थिए। अनि जनसंख्या बढ्दै गएपछि तिनीहरू सबैले अदनको प्रारम्भिक बगैंचा अर्थात् प्रमोदवनलाई बढाउँदै लाने आनन्ददायी काम पाउने थिए। अन्तमा पूरै पृथ्वी प्रमोदवनमा परिणत हुने थियो र सधैंभरि जीवित रहन सक्ने सिद्ध अनि आनन्दित मानिसहरूले भरिने थियो। यी सबै कुराको थालनी गर्नुभइसकेपछि “आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो” भनेर बाइबलले हामीलाई बताउँछ।—उत्पत्ति १:३१; भजन ११८:१७ पनि हेर्नुहोस्।
८. मानिसहरूले पृथ्वीको रेखदेख कसरी गर्नुपर्थ्यो?
८ सम्पूर्ण कुराले भरिपूर्ण पृथ्वीलाई मानिसहरूले आफ्नै फाइदाको लागि उपभोग गर्नुपर्ने थियो भन्ने कुरा यसबाट स्पष्ट देखिन्छ। तर तिनीहरूले जवाफदेही ढङ्गमा त्यसको उपभोग गर्नुपर्थ्यो। मानिसहरू पृथ्वीको भक्षक होइनन् तर आदरणीय रक्षक हुनुपर्थ्यो। आज देखिएको पृथ्वीको विनाश परमेश्वरको इच्छा विरुद्ध हो र त्यसका कारकहरू पृथ्वीमा जीवनको उद्देश्य विपरीत चलिरहेका छन्। तिनीहरूले यसको दण्ड भोग्नै पर्छ किनभने परमेश्वरले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ भनेर बाइबलले प्रष्ट पार्छ।—प्रकाश ११:१८.
परमेश्वरको उद्देश्य यथावत्
९. परमेश्वरको उद्देश्य पूरा हुनेछ भनी हामी किन निर्धक्क हुन सक्छौं?
९ तसर्थ, प्रारम्भदेखि परमेश्वरको उद्देश्य सिद्ध मानव परिवार सदाकाल पार्थिव प्रमोदवनमा रहून् भन्ने थियो। त्यो उद्देश्य अहिलेसम्म यथावत् छ! निस्सन्देह, त्यो उद्देश्य पूर्ति हुनेछ। बाइबल यसो भन्छ: “सेनाहरूका परमप्रभुले यसो भनेर शपथ खानुभएको छ, जो युक्ति मैले गरेको छु, त्यो निश्चय पूरा हुनेछ, जो अभिप्राय मैले गरेको छु, त्यो स्थिर रहनेछ।” “मैले यो अभिप्राय गरेको छु। र म त्यो गर्नेनै छु।”—यशैया १४:२४; ४६:११.
१०, ११. प्रमोदवनबारे येशूले के भन्नुभयो अनि पत्रुस र भजन रचयिता दाऊदले के बताए?
१० सुन्दर भविष्यको चाह गर्ने एक जना मानिसलाई येशूले पृथ्वीमा पुनः प्रमोदवन स्थापना गर्ने परमेश्वरको उद्देश्यबारे यसो भन्नुभयो: “तिमी मसित [प्रमोदवनमा] हुनेछौ।” (लूका २३:४३) प्रेरित पत्रुसले पनि आउँदै गरेको यस नयाँ संसारबारे यस्तो अगमवाणी गरे: “[परमेश्वरको] प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग [स्वर्गबाट शासन गर्ने नयाँ सरकारी प्रबन्ध] र नयाँ पृथ्वीको [नयाँ पार्थिव समाज] बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।”—२ पत्रुस ३:१३.
११ आउँदै गरेको त्यस नयाँ संसारबारे भजनरचयिता दाऊदले पनि लेखे। यो संसार कतिन्जेल रहनेछ भन्ने विषयमा तिनले यस्तो अगमवाणी गरे: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” (भजन ३७:२९) यिनै कारणले गर्दा येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।”—मत्ती ५:५.
१२, १३. मानवजातिको लागि परमेश्वरले राख्नुभएको महान् उद्देश्यलाई सारांशमा बताउनुहोस्।
१२ कस्तो सानदार आशा! सबै दुष्टता, अपराध, रोग, व्यथा अनि पीडा मुक्त प्रमोदवनरूपी संसारमा सदाकाल जीवित रहने! बाइबलको अन्तिम पुस्तकमा यस्तो शानदार आशालाई परमेश्वरको भविष्यसूचक वचनले सारांशमा यसो भन्छ: “[परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।” त्यसपछि यसो भन्छ: “सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, ‘हेर, म सब कुरा नयाँ तुल्याउँछु।’ औ उहाँले भन्नुभयो, ‘लेख, किनकि यी कुराहरू विश्वासयोग्य र सत्य छन्।’ ”—प्रकाश २१:४, ५.
१३ हो, परमेश्वरले आफ्नो मनमा महान् उद्देश्य राख्नुभएको छ। त्यो धार्मिकताको नयाँ संसार, अनन्तकालीन प्रमोदवन हुनेछ भनी आफ्नो प्रतिज्ञा पूरा गर्न सक्नुहुने र गर्नुहुनेले अगमवाणी गर्नुभएको छ र उहाँको वचन “विश्वासयोग्य र सत्य छ।”
[पृष्ठ २१-मा भएको चित्र]
मानिसहरू पार्थिव प्रमोदवनमा सदाकाल जीवित रहून् भन्ने परमेश्वरको उद्देश्य थियो र त्यो उद्देश्य यथावतै छ
[पृष्ठ २२-मा भएको चित्र]
घर बिगार्ने बहालवालालाई घरधनीले सजाय दिन सक्छ