अन्त्येष्टिबारे मसीही दृष्टिकोण
प्रियजनको अकस्मात् मृत्यु हुँदा साँच्चै ठूलो आघात पर्छ। त्यसको भावनात्मक पीडा असह्य हुनुका साथै व्यक्तिविशेष स्तब्ध पनि हुन्छ। लामो समयदेखि कष्टप्रद रोगसित लडिरहेका प्रियजन मृत्युको चिरनिद्रामा पर्दा त्यसले त्यति आघात नपुऱ्याउला तैपनि विरक्त लाग्छ र तिनको कमी असाध्यै खट्किन्छ।
प्रियजनको मृत्यु जस्तोसुकै अवस्थामा भएको होस्, शोकाकुलहरूलाई आड र सान्त्वना चाहिन्छ। यसबाहेक, शोकित मसीहीले गैरशास्त्रीय अन्त्येष्टि विधिमा भाग लिनैपर्छ भनेर जिद्दी गर्नेहरूले दिने दुःखको पनि सामना गर्नुपर्ने हुन्छ। अफ्रिकाका धेरैजसो मुलुक तथा पृथ्वीका अन्य ठाउँहरूमा प्रायः त्यस्तै हुने गर्छ।
त्यसोभए गैरशास्त्रीय अन्त्येष्टि विधि पन्छाउन शोकित मसीहीलाई केले मदत गर्नेछ? यस्तो आपत्को क्षणमा सँगी विश्वासीहरूले कसरी आड दिनसक्छन्? यहोवालाई प्रसन्न तुल्याउन चाहने जति सबैको निम्ति यी प्रश्नहरूको जवाफ चासोको विषय हो, किनकि “अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह गर। आफूलाई दुनियाँबाट निष्कलंक राख्नुनै पवित्र र हाम्रा परमेश्वर र पिताको सामने शुद्ध धर्म हो।”—याकूब १:२७.
विश्वाससित गाँसिएका
प्रायजसो अन्त्येष्टि विधिहरू मृतकहरू पूर्वजहरूको अदृश्य संसारमा जीवितै छन् भन्ने विश्वाससित गाँसिएका हुन्छन्। तिनीहरूको आत्मालाई शान्त पार्न धेरैजसो शोकित व्यक्तिहरू केही खास प्रथाहरू पूरा गर्नैपर्ने बाध्यता महसुस गर्छन्। अथवा ती प्रथाहरू पूरा नगर्दा समाजमा विपत्ति आइपर्छ भनेर विश्वास गर्ने छरछिमेकहरू रिसाउलान् कि भन्ने डरको कारण पनि त्यसो गर्छन्।
साँचो मसीहीले मानिससित डराएर परमेश्वरलाई रुष्ट पार्ने विधिहरूमा भाग लिनु हुँदैन। (हितोपदेश २९:२५; मत्ती १०:२८) बाइबलले मृतकहरूको अवस्थाबारे यसो भन्छ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले ता केही पनि जान्दैनन्। . . . मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धिनै हुन्छ।” (उपदेशक ९:५, १०) त्यसैकारण, यहोवा परमेश्वरले आफ्ना पुरातन जनहरूलाई मृतकको आत्मालाई शान्त पार्ने वा तिनीहरूसित सम्पर्क राख्ने कोसिस नगर्नू भनेर चेताउनी दिनुभयो। (व्यवस्था १४:१; १८:१०-१२; यशैया ८:१९, २०) बाइबलका यी सत्यहरू धेरैजसो प्रचलित अन्त्येष्टि विधिहरूसित बाझिन्छन्।
“यौन शुद्धीकरण”-बारे के भन्न सकिन्छ?
मध्य अफ्रिकाका केही राष्ट्रहरूमा शोकसन्तप्त लोग्ने वा स्वास्नीलाई मृतकको निकटतम नातेदारसित यौनसम्बन्ध राखोस् भन्ने आशा गरिन्छ। त्यसो गरिएन भने, मृतकले जीवित परिवारलाई हानि गर्नेछ भन्ने विश्वास गरिन्छ। यो प्रथालाई “यौन शुद्धीकरण” भनिन्छ। तर बाइबलले लोग्ने स्वास्नीसित बाहेक अरूसित राखिने यौनसम्बन्धलाई “व्यभिचार” भनेर व्याख्या गर्छ। मसीहीहरू “व्यभिचारदेखि अलग रह[नु]” पर्ने भएकोले तिनीहरू यस गैरशास्त्रीय विधिसित साहसी भई डट्छन्।—१ कोरिन्थी ६:१८.
मर्सी नाउँ गरेकी विधवालाई विचार गर्नुहोस्।a सन् १९८९ मा तिनका पतिको मृत्यु हुँदा तिनले नाता पर्ने लोग्नेमान्छेसित यौन शुद्धीकरण गरेको नातेदारहरूले चाहे। यो प्रथा परमेश्वरको व्यवस्था विपरीत छ भन्दै तिनले त्यसो गर्न मान्दै मानिनन्। असफल नातेदारहरू तिनलाई गाली गर्दै फर्के। यसको महिनादिन जति पछि उनीहरूले तिनको घरमा जबरजस्ती खानतलास गरेर तिनको इस्पातको छानासमेत उदांग पारिदिए। उनीहरूले भने, “तेरै धर्मले तँलाई हेरोस्।”
मण्डलीले मर्सीलाई सान्त्वना दिए र तिनको लागि नयाँ घरसमेत बनाइदिए। तिनका छिमेकी यति प्रभावित भए कि कसै कसैले त सघाउने विचार गरे। अनि छानाको लागि घाँसपात ल्याइदिने पहिलो व्यक्ति चाहिं सरदारकी क्याथोलिक श्रीमती थिइन्। मर्सीको विश्वासिलो आचरणले गर्दा तिनका छोराछोरीहरू प्रोत्साहित भए। त्यसउप्रान्त तिनीहरूमध्ये चार जनाले यहोवालाई समर्पण गरिसके र एउटा छोराले त हालै मिनिस्टेरियल ट्रेनिङ स्कूलमा समेत भाग लिए।
यौन शुद्धीकरण विधिको कारण केही मसीहीहरू दबाबमा आएर बेग्लै धर्मका मानिसहरूसित विवाह गरेका छन्। उदाहरणका लागि, ७० वर्ष नाघिसकेका विधुरले आफ्नी मृतक पत्नीकी कलकलाउँदी नातेदारसित निकै हतार गरेर विवाह गरे। यसो गरेर तिनले यौन शुद्धीकरण पूरा गरेको दाबी गर्नसक्थे। तथापि, यस्तो प्रक्रिया मसीहीहरूले “प्रभुमा मात्र” विवाह गर्नुपर्छ भन्ने बाइबलको सल्लाहसित मेल खाँदैन।—१ कोरिन्थी ७:३९.
जाग्राम बस्ने विधिविधानहरू
कतिपय राष्ट्रहरूमा मृतकको घरमा समवेदना प्रकट गर्नेहरू जम्मा हुन्छन् र रातभर जागा बस्छन्। यसरी जाग्राम बस्दा भोज गरिन्छ र चर्का धूनहरू बजाइन्छन्। यसो गर्दा मृतकको आत्मा शान्त रहन्छ र जीवित परिवार भूतप्रेतबाट जोगिन्छ भन्ने विश्वास गरिन्छ। मृतकको निगाह पाउन निकै चाप्लुसी गरेर मृतकलाई सम्बोधन गरिन्छ। वक्तव्य टुंगिएपछि अर्को वक्ताले केही भन्न उठ्नु अगावै समवेदना प्रकट गर्नेहरू भजन-कीर्तन गर्न थाल्नसक्छन्। यो क्रम उज्यालो नहोउञ्जेल जारी रहन्छ।b
साँचो मसीहीले यस्तो जाग्राम बस्ने विधिविधानहरूमा भाग लिंदैनन् किनकि मृतकले जीवितहरूलाई नता केही मदत न हानि नै पुऱ्याउनसक्छ भनी बाइबलले देखाउँछ। (उत्पत्ति ३:१९; भजन १४६:३, ४; यूहन्ना ११:११-१४) धर्मशास्त्रले तन्त्रमन्त्रको भर्त्सना गर्छ। (प्रकाश ९:२१; २२:१५) यद्यपि, एउटी मसीही विधवालाई अरूले सुरु गर्न लागेको तन्त्रमन्त्रको प्रतिरोध गर्न गाह्रो हुनसक्छ। तिनीहरूले उनको घरमा जाग्राम बस्नैपर्छ भनेर जिद्दी गर्नसक्छन्। यस्तो थप दुःख खप्नुपरेका शोकाकुल मसीहीहरूलाई मदत गर्न सँगी विश्वासीहरूले के गर्नसक्छन्?
नातेदारहरू तथा छिमेकीहरूसित तर्क गरेर मण्डलीका प्राचीनहरूले अक्सर शोकाकुल मसीही परिवारलाई आड दिनसकेका छन्। यसरी तर्क गर्दा नातेदार तथा छिमेकीहरू शान्तपूर्वक आ-आफ्नो घर फर्केर अर्को दिन गरिने अन्त्येष्टि क्रियामा भाग लिन फेरि भेला हुन राजी हुनसक्छन्। तर कोही कोही बाझ्नै थाल्छन् भने के गर्ने? तर्क गरिरहँदा हातपातै हुनसक्ने सम्भावना हुनसक्छ। ‘प्रभुका सेवकले झगडा गर्नु हुँदैन, तर सहनशील हुनुपर्छ।’ (२ तिमोथी २:२४) त्यसकारण, मिल्न नखोज्ने नातेदारहरूले बलजफ्ती हात हाल्न खोजे भने त्यतिखेर मसीही विधवा वा तिनका बच्चाहरूका निम्ति अरू कुनै उपाय नहुनसक्छ। तर तिनीहरूले आफ्नै घरमा हुने झूटो धर्मसित सम्बन्धित कुनै पनि विधिविधानहरूमा भाग लिनेछैनन् किनकि तिनीहरू बाइबलको यो आज्ञा पालन गर्छन्: “विश्वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ।”—२ कोरिन्थी ६:१४.
काजक्रियाको सम्बन्धमा पनि यही कुरा लागू हुन्छ। यहोवाका साक्षीहरू झूटो धर्मका पूजाहारीहरूको कुरा मान्दै भजन-कीर्तन, प्रार्थना वा काजक्रियामा भाग लिंदैनन्। परिवारका निकटतम नातेदार पर्ने मसीहीले यस्तो रिवाजमा उपस्थित हुनुपर्ने देखेमा उपस्थित हुन्छन् तर त्यसमा भाग लिंदैनन्।—२ कोरिन्थी ६:१७; प्रकाश १८:४.
मर्यादित अन्त्येष्टि क्रिया
यहोवाका साक्षीहरूले गर्ने अन्त्येष्टि क्रियामा मृतकको आत्मालाई शान्त पार्ने हेतुले गरिने विधिहरू समावेश हुँदैनन्। राज्यभवनमा वा घाटमा, मृतकको घरमा वा घाटमा बाइबलआधारित भाषण दिइन्छ। यस भाषणको उद्देश्य मृतक तथा पुनरुत्थानको आशाबारे बाइबलले के भन्छ, व्याख्या गर्दै शोकाकुल परिवारलाई सान्त्वना दिनु हो। (यूहन्ना ११:२५; रोमी ५:१२; २ पत्रुस ३:१३) धर्मशास्त्रमा आधारित गीत गाउन सकिन्छ र सान्त्वनादायी प्रार्थनापछि यो सेवा टुंग्याइन्छ।
हालै यहोवाका एक जना साक्षीको यस्तै अन्त्येष्टि क्रिया गरियो, जो नाताले दक्षिण अफ्रिकाका राष्ट्रपति नेल्शन मण्डेलाकी कान्छी बहिनी थिइन्। उक्त सेवापछि राष्ट्रपतिले वक्तालाई हार्दिक धन्यवाद ज्ञापन गरे। थुप्रै उच्च पदाधिकारीहरू तथा सरकारी कर्मचारीहरू पनि उपस्थित थिए। मन्त्रिमण्डलकी एउटी सदस्याले बताइन्, “म उपस्थित भएकी अन्त्येष्टि क्रियाहरूमध्ये यो सबैभन्दा मर्यादित छ।”
बरखी बार्नु उपयुक्त छ?
यहोवाका साक्षीहरू प्रियजनको मृत्यु हुँदा शोक गर्छन्। येशूजस्तै तिनीहरू पनि रोलान्। (यूहन्ना ११:३५, ३६) तर आफ्नो शोक तमाशा गरेर सबैलाई देखाउनुपर्ने आवश्यकता तिनीहरू महसुस गर्दैनन्। (मत्ती ६:१६-१८ तुलना गर्नुहोस्।) धेरैजसो मुलुकहरूमा मृतकको आत्मालाई शान्त पार्न विधवाले विशेष किसिमको पोसाक लगाएर बरखी बारेको आशा गरिन्छ। यी पोसाकहरू महिनौं वा वर्षदिनसम्म लगाउनैपर्ने हुन्छ र बरखी फुकाउने बेला अर्को श्राद्ध भोज दिनुपर्ने हुन्छ।
शोक गर्ने यस्ता कुनै पनि काम गरिएको देखिएन भने त्यसलाई मृतकको अपमान ठानिन्छ। यसैकारण, स्वाजील्याण्डका केही भूभागमा मुखियाहरूले यहोवाका साक्षीहरूलाई गाउँबाटै निकालिदिएका छन्। तथापि, यस्ता विश्वासी मसीहीहरूलाई अन्यत्र बसेका आध्यात्मिक भाइहरूले सधैं नै हेरविचार गरेका छन्।
स्वाजील्याण्डको सर्वोच्च अदालतले यहोवाका साक्षीहरूको पक्षमा न्याय सुनाउँदै तिनीहरूलाई आफ्नो गाउँघरमा फर्कन दिनुपर्छ भने। एउटा अर्को घटनामा चाहिं विधवाले आफ्नो मरिसकेका पतिले आफ्नी पत्नीले बरखी बार्नु पर्दैन भनेर प्रस्टै लेखेको चिठी देखाउँदा र टेप सुनाउँदा तिनलाई त्यहीं आफ्नै जग्गाजमिनमा बस्न दिइयो। यसरी तिनले वास्तवमा आफ्ना पतिलाई आदर गरेकी प्रमाण दिन सकिन्।
आफ्नो अन्त्येष्टि कसरी गर्ने भन्नेबारे पहिल्यै सुस्पष्ट निर्देशनहरू दिनु विशेषगरि गैरशास्त्रीय रीतिरिवाजहरू ज्यादै प्रचलित भएका ठाउँहरूमा बडो मूल्यवान् हुन्छन्। क्यामरूनका भिक्टोरलाई विचार गर्नुहोस्। तिनले आफ्नो अन्त्येष्टिमा के कसो गर्ने कागजमै लेखिदिएका थिए। तिनको परिवारमा मृतकहरूको गहिरो आदर गर्ने र मानव खप्परको पूजासमेत गर्नेजस्ता एक एक परम्परा पछ्याउने प्रभावशाली व्यक्तिहरू थुप्रै थिए। भिक्टोर परिवारका गन्यमान्य सदस्य भएकाले तिनको खप्परको पनि पूजाआजा गरिनेछ भनेर तिनलाई थाह थियो। त्यसैकारण, तिनको अन्त्येष्टि यहोवाका साक्षीहरूले कसरी गर्नुपर्छ, त्यसबारे स्पष्ट निर्देशनहरू दिएका थिए। यसले गर्दा तिनकी विधवा र छोराछोरीलाई निकै सजिलो भयो भने समुदायमा राम्रो साक्षी पनि दिन सकियो।
गैरशास्त्रीय प्रथाहरूको नक्कल गर्नदेखि परै बस्नुहोस्
बाइबलको ज्ञान हुने कोही कोही अरूभन्दा अलग्गै देखिन डराएका छन्। सतावट भोग्न नपरोस् भनेर तिनीहरूले छरछिमेकलाई खुसी पार्न परम्पराअनुसार जाग्राम बसेजस्तो पनि गरेका छन्। व्यक्तिगत सान्त्वना दिन शोकाकुलहरूलाई भेट्नु प्रशंसनीय भए तापनि यसको अर्थ मृतकलाई घाटमा नलगुञ्जेल प्रत्येक रात तिनको घरमा छोटो अन्त्येष्टि क्रिया गर्नु आवश्यक छैन। यसो गर्दा देख्नेहरूले ठोकर खानसक्छन्, किनकि तिनीहरूलाई यसमा भाग लिनेहरू बाइबलले मृतकहरूको अवस्थाबारे बताएको कुरालाई वास्तवमा विश्वास नगर्दा रहेछन् भन्ने भान पर्छ।—१ कोरिन्थी १०:३२.
बाइबलले मसीहीहरूलाई परमेश्वरको उपासनालाई प्रथम स्थान दिन र समयको सही सदुपयोग गर्न आग्रह गर्छ। (मत्ती ६:३३; एफिसी ५:१५, १६) यद्यपि, कतै कतै अन्त्येष्टिको कारण मण्डलीका गतिविधिहरू हप्तादिन वा बढी समयका लागि स्थगित हुन पुगेका छन्। अफ्रिकामा यो कुनै नौलो समस्या होइन। दक्षिण अमेरिकाबाट आएको अन्त्येष्टिसम्बन्धी रिपोर्टले यसो भन्छ: “तीनवटा मसीही सभाहरूको उपस्थिति असाध्यै कम थियो। दस दिन जति त कोही पनि क्षेत्र सेवकाईमा आएनन्। हाम्रा केही भाइबहिनीहरूले अन्त्येष्टिसम्बन्धी क्रियाकलापमा भाग लिएको देखेर मण्डलीबाहिरकाहरू र बाइबल विद्यार्थीहरूसमेत छक्क परे, खिन्न भए।”
कुनै कुनै सम्प्रदायमा शोकाकुल परिवारले अन्त्येष्टिपछि केही घनिष्ठ मित्रहरूलाई आफ्नो घरमा हलका जलपानको लागि निम्त्याउनसक्छन्। तर अफ्रिकाका धेरैजसो भागमा अक्सर जनावरहरू बलि चढाएर तयार पारेको ठूलो भोज खाने आशामा मलामी गएकाहरू जम्मै मृतकको घर फर्कन्छन्। मसीही मण्डलीसित संगत गर्ने कसै कसैले यो प्रथा अंगालेका छन्, मृतकको आत्मालाई शान्त पार्न चलिआएको श्राद्ध भोज गरेजस्तो तिनीहरूले गरेका छन्।
यहोवाका साक्षीहरूले सम्पन्न गर्ने अन्त्येष्टि क्रियाले शोकाकुल परिवारलाई आर्थिक भार बोकाउँदैन। अतः भव्य तरिकाले अन्त्येष्टि गर्न उपस्थित हुनेहरूले नै खर्च बेहोर्नुपर्ने खाँचो नपर्नुपर्ने हो। गरिब विधवाले आवश्यक खर्च पनि बेहोर्न सक्दिनन् भने मण्डलीका कोही कोही तिनलाई मदत गर्न पक्कै खुसी हुनेछन्। यस्तो सहयोग पर्याप्त नभएमा प्राचीनहरूले साँच्चै त्यस्ता मदत चाहिएकाहरूका लागि भौतिक सहयोगको निम्ति केही प्रबन्ध गर्नसक्छन्।—१ तिमोथी ५:३, ४.
अन्त्येष्टि प्रथाहरू सधैं बाइबल सिद्धान्तहरूसित बाझिंदैनन्। तर जब बाझिन्छन्, मसीहीहरू धर्मशास्त्रअनुसार काम गर्न दृढ हुन्छन्।c (प्रेरित ५:२९) यसो गर्दा थप कष्टहरू भोग्नुपर्ला, तर परमेश्वरका थुप्रै सेवकहरूले यस्ता परीक्षाहरू सफलतासाथ पार गरेको प्रमाण दिनसकेका छन्। “सबै सान्त्वनाका परमेश्वर” यहोवाबाट बल पाएर तथा परीक्षामा सान्त्वना दिने सँगी विश्वासीहरूको मायालु मदत पाएर तिनीहरू सफल भएका छन्।—२ कोरिन्थी १:३, ४.
[फुटनोटहरू]
a यस लेखमा नाउँ परिवर्तन गरिएका छन्।
b केही भाषा तथा संस्कृतिमा “जाग्राम” भन्नाले शोकाकुल परिवारलाई सान्त्वना दिन गरिने छोटो भेटघाट भन्ने बुझिन्छ। यसो गर्नु गैरशास्त्रीय नहुनसक्छ। ब्यूँझनुहोस्! (अंग्रेजी) मे २२, १९७९, पृष्ठ २७-८ हेर्नुहोस्।
c अन्त्येष्टि प्रथाहरूको कारण मसीही घोर सतावटमा पर्नसक्ने ठाउँहरूमा प्राचीनहरूले बप्तिस्मा लिन चाहनेहरूलाई आइपर्नसक्ने परिस्थितिको लागि तयार पार्नसक्छन्। हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित (अंग्रेजी) पुस्तकबाट यी नयाँ व्यक्तिहरूसित प्रश्नोत्तर छलफल गर्दा “प्राण, पाप र मृत्यु” तथा “अन्तरविश्वास” जस्ता खण्डहरूमा विशेष ध्यान दिनुपर्छ। यी दुवै खण्डहरूमा छलफलका लागि थप प्रश्नहरू छन्। त्यतिखेर प्राचीनले गैरशास्त्रीय अन्त्येष्टि प्रथाहरूबारे जानकारी दिनसक्छन् ताकि बप्तिस्मा लिने उम्मेदवारले यस्तो परिस्थितिको सामना गर्नुपर्दा परमेश्वरले चाहनुहुने कुरा बुझून्।
[पृष्ठ २३-मा भएको पेटी]
दृढ अडान लिंदा आशिष् पाउनेहरू
सिबोन्जिली स्वाजील्याण्डमा बस्ने एउटी साहसी मसीही विधवा हुन्। लोग्नेको मृत्युको वियोग ताजै छँदा तिनले मृतकको आत्मालाई शान्त पार्ने प्रथाहरू मान्न इन्कार गरिन्। उदाहरणका लागि, तिनले कपाल खौरिनन्। (व्यवस्था १४:१) परिवारका आठ सदस्यहरू रिसाएर जबरजस्ती तिनको कपाल खौरिदिए। सिबोन्जिलीलाई सान्त्वना दिन आएका यहोवाका साक्षीहरूलाई पनि तिनीहरूले घरभित्रै हुलेनन्। तथापि, परमेश्वरको राज्य सन्देशमा चासो दिने अरू व्यक्तिहरू प्राचीनहरूले लेखेका प्रोत्साहनदायी पत्र लिएर तिनलाई भेट्न जान पाउँदा खुसी भए। बरखी बार्नुपर्ने दिन एउटा अचम्मलाग्दो घटना भयो। परिवारका एक गन्यमान्य सदस्यले सबैलाई भेला गराएर सिबोन्जिलीले बरखी बार्ने परम्परा इन्कार गरेकी कुरामा छलफल गरे।
सिबोन्जिली भन्छिन्: “मेरो धार्मिक आस्थाले कालो लुगा लगाएर शोक प्रकट गर्ने अनुमति दिन्छ कि दिंदैन भनेर उहाँहरूले सोध्नुभयो। मेरो अडान बताइसकेपछि उहाँहरूले मलाई जबरजस्ती नगर्ने कुरा बताउनुभयो। मप्रति गरिएको दुर्व्यवहार र मेरो इच्छा विपरीत कपाल खौरिदिएकोमा पनि उहाँहरू सबैले माफी माग्नुहुँदा त म छक्कै परें। उहाँहरू सबैले माफ गरिदेऊ भन्नुभयो।” पछि सिबोन्जिलीकी बहिनीले यहोवाका साक्षीहरूको धर्म साँचो हो भनेर आफू विश्वस्त भएको कुरा बताइन् र बाइबल अध्ययन गर्न आग्रह गरिन्।
अर्को उदाहरणलाई विचार गर्नुहोस्: दक्षिण अफ्रिकाका २९ वर्षका बेन्जामिन नामक युवकले आफ्नो बुबाको अचानक मृत्यु भएको खबर पाए। त्यतिखेर परिवारमा बेन्जामिन मात्र यहोवाका साक्षी थिए। लास गाड्ने बेला सबै जना लाम लागेर पालैसित एक मुठी माटो मुर्दा बाकसमा छर्नुपर्ने भयो।d अनि मुर्दा गाडिसकेपछि परिवारका सबैले कपाल खौरनुपर्थ्यो। बेन्जामिनले यी विधिहरूमा भाग नलिएको हुँदा छरछिमेक तथा भाइबन्धुहरू सबैले मृत बुबाको आत्माले तिनलाई दण्ड दिनेछन् भन्ने लख काटे।
बेन्जामिन भन्छन्, “यहोवामाथि भरोसा राखेकोले मलाई केही पनि भएन।” तिनले कुनै किसिमको दण्ड भोग्नु नपरेको परिवारका सदस्यहरूले पनि देखे। पछि तिनीहरूमध्ये निकैले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले र बप्तिस्मा लिएर परमेश्वरप्रतिको समर्पण जनाए। अनि बेन्जामिन नि? तिनी पूर्ण-समय प्रचारमा लागे। गत केही वर्षहरूदेखि तिनले यहोवाका साक्षीहरूको मण्डलीहरूमा परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्ने सुअवसर पाएका छन्।
[फुटनोट]
d चिहानमा फूल वा एक मुठी माटो खसाल्दा कसै कसैलाई केही हानि होला जस्तो नलाग्ला। तथापि, मृतकको आत्मालाई शान्त पार्न त्यसो गरिन्छ वा यो झूटो धर्मका पूजाहारीले सम्पन्न गरिरहेको क्रियाकर्मको एउटा भाग हो भने मसीही यस रिवाजबाट परै रहनुपर्छ।—ब्यूँझनुहोस्! (अंग्रेजी) मार्च २२, १९७७, पृष्ठ १५ हेर्नुहोस्।