आफ्ना प्रियजनहरूका निम्ति पहिल्यै योजना बनाउने
हालै एउटा अफ्रिकी समाचारपत्रमा एनीको मार्मिक कथा प्रकाशित भएको थियो। एनीका श्रीमान् व्यापारी थिए। सन् १९९५ मा एनीका श्रीमानको मृत्यु हुँदा तिनले १५ वटा गाडी; दुई चारवटा बैंक खाता; लगभग ४,००० अमेरिकी डलर नगद; एउटा पसल; एउटा बार र तीनवटा शयनकक्ष भएको घर छोडेका थिए। तर तिनले इच्छापत्र भने छोडेका थिएनन्।
प्राप्त रिपोर्टअनुसार एनीका देवरजेठाजुहरूले सबै सरसम्पत्ति हड्पेर एनी र तिनका छ जना लालाबालालाई घरबाट खेदे। फुटीकौंडी केही नभएकोले तिनी आफ्ना छोराछोरीसहित दाजुको घरमा शरण लिन पुगेकी छिन्। स्कूलको पढाइ खर्च तिर्न र लुगा हाल्न नसकेकोले तिनका चार जना छोराछोरीहरूले स्कूलको पढाइ बीचैमा छोड्नुपरेको छ।
एनीले सर्वोच्च अदालतमा मुद्दा दायर गरिन् र अदालतले तिनलाई एउटा गाडीसहित केही सम्पत्ति फिर्ता दिनू भन्ने आदेश दियो। तर तिनले केही पनि फिर्ता पाइनन्। देवरजेठाजुहरूलाई बलजफ्ती अदालतको आदेशअनुरूप काम गराउन तिनले फेरि एक पटक अदालतको ढोका ढकढकाउनुपरेको छ।
मृत्युबारे किन सोच्ने?
परिवारका शिरले आफ्नो मृत्युपछि परिवारमाथि आइपर्नसक्ने कुराहरूका निम्ति पहिल्यै योजना नबनाउँदा परिणाम के हुनसक्छ, एनीको कथाले राम्ररी बताउँछ। मरेपछि सबै मानिसले आफ्नो “धन-सम्पत्ति अरूहरूलाई छो[ड्छन्]।” (भजन ४९:१०) यसबाहेक, मरिसकेपछि आफ्नो सरसम्पत्ति जे जसो गरिन्छ, त्यसमा मृतकको कुनै नियन्त्रण रहँदैन। (उपदेशक ९:५, १०) आफूले भनेजस्तो ढंगमा सम्पत्ति बाँडफाँड होस् भन्ने चाहने व्यक्तिले मृत्युअघि नै आवश्यक प्रबन्ध मिलाएको हुनैपर्छ।
आफू आज कि भोलि कहिले मर्ने हो, कसैलाई थाह छैन भन्ने कुरा जान्दाजान्दै पनि थुप्रै मानिसहरू आफ्ना प्रियजनहरूका लागि पहिल्यै प्रबन्ध गर्न फेल खान्छन्। हाम्रो यो छलफल अफ्रिकाका केही खास समूहहरूमाथि केन्द्रित भए तापनि विश्वका अन्य ठाउँहरूमा पनि यस्तै समस्याहरू देखिएका छन्।
आफ्नो मृत्युपछि सम्पत्तिको हकदार को हुने हो भनी इच्छापत्र तयार गर्ने वा अरू नै व्यवस्था गर्ने, त्यो व्यक्तिगत मामिला हो। (गलाती ६:५) यद्यपि, कसैले सोध्लान् ‘जीवित छँदा आफ्नी पत्नी तथा छोराछोरी पाल्ने र हेरविचार गर्ने व्यक्तिले आफ्नो शेषपछि तिनीहरूको गुजारा राम्ररी होस् भनेर किन कुनै प्रबन्ध नमिलाएको होला?’ एउटा मुख्य कारण त हामीमध्ये धेरैजसो आफ्नो मृत्युबारे सोच्नै चाहँदैनौं, त्यसका लागि योजना बनाउन त परै जाओस्। वास्तवमा हामी कुन दिन मर्नेछौं, त्यो हामीलाई थाह छैन र यसबारे बाइबल यसो भन्छ: “[तिमी] यो जान्दैनौ, कि भोलि के हुने हो। तिम्रो जिन्दगी के छ? तिमीहरू ता पानीको वाफ हौ, जो केही बेरको निम्ति देखा पर्दछ, अनि बिलाइहाल्दछ।”—याकूब ४:१४.
मृत्यु हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै पहिल्यै योजना बनाउनु व्यवहारिक कुरा हो। यो प्रबन्ध हामी आफ्ना जीवित सदस्यहरूको चिन्ता गर्छौं भनेर प्रकट गर्ने तरिका पनि हो। हामीले मृत्युपछि आइपर्नसक्ने कामकुरा पहिल्यै मिलाएका छैनौं भने अरूले आफ्नो इच्छानुसार गर्नेछन्। हाम्रो सरसम्पत्ति कसरी बाँडफाँड गर्ने वा अन्त्येष्टि कसरी गर्ने सायद हामीले कहिल्यै नचिनेको मान्छेले पो निर्णय गर्लान्। परिस्थिति यस्तै छ भने कुनै कुनै मुलुकमा सरकारले नै सरसम्पत्तिको हकदार तोकिदिन्छ। अन्य ठाउँहरूमा भने नातेदारहरूले निर्णय गर्छन् र यी निर्णयहरूको कारण परिवारका सदस्यहरूबीच अक्सर द्वेष उत्पन्न हुनजान्छ। यसबाहेक, अरूले गरेको निर्णय हाम्रो निर्णयसित पटक्कै मेल नखाने पनि हुनसक्छ।
सरसम्पत्तिको लुछाचुँडी
लोग्नेको मृत्यु हुँदा सबैभन्दा बढ्ता दुःख स्वास्नीलाई हुन्छ। लोग्नेको मृत्युको वियोग सहनु त छँदैछ, अर्कोतिर सरसम्पत्तिको लुछाचुँडीमा पनि मिचिनुपर्ने हुन्छ। एनीले पनि यस्तै विपत् भोग्नुपरेको घटनाबारे सुरुमै उल्लेख गरिएको थियो। सम्पत्ति लुछाचुँडी गर्ने एउटा कारण समाजले स्वास्नी जातिलाई हेर्ने दृष्टिकोण पनि हुनसक्छ। कुनै कुनै संस्कृतिले स्वास्नीलाई परिवारको सदस्य नै गन्दैन। अर्को अर्थमा भनौं भने तिनी विदेशीसरह हुन्छिन् र जो सायद पछि कुनै समय आफ्नो माइती फर्कन वा अर्कैसित बिहे गर्नसक्छिन्। तर मृतकको दाजुभाइ, दिदीबहिनी र आमाबाबु चाहिं सधैं मृतकसँगै रहन्छन् भन्ने तर्क ती संस्कृतिले सिकाएका हुन्छन्। कथनकदाचित त्यो व्यक्ति मरिहाल्यो भने उसको सरसम्पत्तिमाथि उसकी स्वास्नी र छोराछोरीको होइन तर तिनीहरूको हक हुन्छ भन्ने विश्वास परिवारका अन्य सदस्यहरूले राखेका हुन्छन्।
आफ्नी पत्नीलाई भरोसा नगरेर गोप्य कुरा नबताउने लोग्नेहरूले अरूलाई यस्तो धारणा राख्न उस्काइरहेका हुन्छन्। माइक आफ्ना कारोबारसम्बन्धी छलफल दाजुभाइहरूसित मात्र गर्थे। तिनीहरूलाई उसको चलअचल सम्पत्ति के कति छ सबै थाह थियो तर माइककी श्रीमतीलाई भने त्यति राम्ररी थाह थिएन। माइकको मृत्युपछि उसका दाजुभाइहरूले उसकी श्रीमतीसित माइकले आसामीसित उठाएको रकम चाहियो कि चाहियो भनेर माग्न थाले। श्रीमती चाहिंलाई यसबारे केही थाह थिएन। माइकले आफ्नी श्रीमतीको लागि भनेर किनिदिएको फोटोकपी मेसिनहरू तथा टाइपराइटरहरू जम्मै तिनीहरूले खोसे। हुँदा हुँदा अन्तमा ती दाजुभाइहरूले घर तथा सबै सम्पत्ति आफ्नो हातमा पारे। माइककी विधवा एउटी सानी छोरी काखमा च्यापेर एकसरो लुगासहित घरबाट निकालिइन्।
“ती दुवै एउटै शरीर हुनेछन्”
मसीही पतिहरू आफ्ना पत्नीहरूलाई माया गर्छन् र तिनीहरूलाई भरपर्दो ठान्छन्। यस्ता पुरुषहरूले यो धर्मशास्त्रीय सल्लाह मनमा लिन्छन्: “पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ।” यी पुरुषहरू यो ईश्वरीय भनाइसित पनि सहमत हुन्छन्: “मानिसले आफ्ना बाबु-आमालाई छोड़ेर आफ्नी पत्नीसित मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्।”—एफिसी ५:२८, ३१.
ईश्वरभक्त पतिहरू मसीही प्रेरित पावलले लेखेका यो कुरा पनि मान्छन्: “तर कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) यही सिद्धान्तअनुरूप मसीही पति लामो यात्रामा जान लागेका छन् भने आफ्नो अनुपस्थितिमा परिवारको सदस्यलाई कुनै मर्का त पर्दैन भनेर पहिल्यै सोचविचार गर्छन्। के त्यसोभए मरेपछि आफ्नी पत्नी र छोराछोरीको निम्ति पहिल्यै प्रबन्ध मिलाउनु तार्किक नहोला त? त्यसो गर्नु व्यवहारिक मात्र नभई अप्रत्याशित विपत्ति सामना गर्न तयार पार्ने मायालु प्रबन्ध पनि हो।
अन्त्येष्टिसम्बन्धी प्रचलनहरू
मसीही पतिहरूले विचार गर्नुपर्ने अर्को पक्ष पनि छ। पतिको मृत्युको वियोग, सरसम्पत्तिको लुछाचुँडी र छोराछोरीसमेत खोसिनसक्ने सम्भावना बाहेक कुनै कुनै समाजका विधवाले जबरजस्ती नानाभाँतिका काजक्रिया गर्नुपर्ने हुन्छ। कुनै कुनै इलाकामा विधवा आफ्ना लोग्नेको लाससित एउटा अँध्यारो कोठामा सुत्नुपर्ने रीति पनि हुन्छ भनेर नाइजेरियाको द गार्डियन समाचारपत्रले अफसोस व्यक्त गरेको थियो। अन्य कतिपय ठाउँहरूमा भने विधवाहरूले लगभग छ महिनाजति किरिया बस्नुपर्थ्यो र त्यस अवधिभित्र घरबाट बाहिर कतै जान पाइँदैन थियो। छ महिनासम्म ती विधवाहरूलाई नुहाउन र खानेकुरा खान अघिपछि हातमुख धुनसमेत बन्देज गरिएको हुन्थ्यो।
यस्ता प्रचलनहरूले विशेषगरि मसीही विधवाहरूका लागि निकै समस्या खडा गर्छन्। परमेश्वरलाई खुशी पार्ने तिनीहरूको इच्छाले गर्दा तिनीहरू बाइबल शिक्षासित मेल नखाने कुनै पनि प्रचलन मान्न चाहँदैनन्। (२ कोरिन्थी ६:१४, १७) तथापि, यी रीतिरिवाज नपछ्याउँदा विधवा सताइन पनि सक्छिन्। आफ्नो ज्यान जोगाउन भाग्नुपर्ने पनि हुनसक्छ।
कानुनीरूपमै ठोस निर्णय लिइराख्नु
बाइबल बुद्धिमानीसाथ यसो भन्छ: “पूर्व-सोच र परिश्रमले अवश्य लाभ ल्याउँछ।” (हितोपदेश २१:५) परिवारको शिरले के-कस्ता योजनाहरू बनाउनसक्छन्? धेरैजसो समाजमा इच्छापत्र बनाउनु वा आफ्नो शेषपछि क-कसलाई कति कति सम्पत्ति कसरी बाँडफाँड गर्ने, त्यसबारे कागजपत्र गराउन मिल्छ। यस्तो कागजपत्रमा अन्त्येष्टि गर्ने प्रबन्धबारे पनि बेलिबिस्तार खुलाउन सकिन्छ। अन्त्येष्टि वा काजक्रियासम्बन्धी जीवित पत्नीले के कसो गर्नुपर्छ (वा पर्दैन) त्यो पनि त्यसमा खुलाउन सकिन्छ।
सन् १९९२ मा लेआ नाउँ गरेकी स्त्री विधवा भइन्। तिनी भन्छिन्: “चारवटी छोरी र एउटा छोरो गरी मेरो जम्मा पाँच छोराछोरी छन्। उहाँ केही समयअघि देखिनै थला पर्नुभएको थियो। तर थला पर्नुअघि नै जायजेथा जम्मै मैले र छोराछोरीले पाउनेछन् भनेर उहाँले कागज गराइसक्नुभएको थियो। त्यसमा बिमा रकम, खेत, वस्तुभाउ र घर पनि थियो। उहाँले कागज गराइसकेपछि त्यो मलाई राख्न दिनुभयो। . . . उहाँ बित्नुभएपछि नातेदारहरूले उहाँको सम्पत्तिमा तिनीहरूको पनि हक लाग्छ भन्न थाले। त्यतिखेर मैले यो सम्पत्ति मेरो श्रीमान्ले आफ्नै पौरखले कमाउनुभएको थियो, त्यसकारण सम्पत्तिमाथि हक दाबी गर्न मिल्दैन भनें। अनि इच्छापत्र पनि तयारै देखेर तिनीहरू चूप लागे।”
परिवारसित छलफल गर्नु
परिवारलाई आफ्नो विश्वास तथा इच्छाबारे बताएको छैन भने पनि समस्याहरू खडा हुनसक्छन्। यस व्यक्तिको घटना विचार गर्नुहोस्। त्यस्तै एउटा घटनामा नातेदारहरूले स्थानीय रीतिअनुसार लास गाउँमै गाड्नुपर्छ भनेर जिद्दी गर्दा कत्रो समस्या भयो विचार गर्नुहोस्। ज्यानै जानसक्ने डर भएको देखेर उसकी श्रीमती र छोराछोरीहरू लासलाई नातेदारहरूकै जिम्मामा छोडेर त्यहाँबाट भागे। तिनी यसरी आफ्नो दुखेसो पोख्छिन्: “उहाँले काका, मामा, दाजुभाइमध्ये एक जनालाई मात्र आफ्नो अन्त्येष्टि यसरी गर्नु है भनेर बताउनुभएको भए नातेदारहरूले परम्परागत रीतिअनुसार अन्त्येष्टि गर्न जोड दिंदैनन् थिए होलान्।”
कुनै कुनै समाजमा मौखिक सम्झौताले कागज गराएजत्तिकै मान्यता पाउँछ। परम्परागत शैलीमा अन्त्येष्टि गर्ने र किरिया बस्ने चलन व्यापक भएको स्वाजिल्याण्डको कुनै कुनै ठाउँमा त्यसै गरिन्छ। यही कुरालाई मनमा राख्दै इसहाक नाउँ गरेका एक मसीही पुरुषले आफ्ना नातेदारलाई बोलाएर एउटा सभा गरे। ती नातेदारहरू यहोवाका साक्षी थिएनन् र उनले तिनीहरूसित आफ्नो मृत्युपछि के कसो गर्नुपर्छ त्यो छलफल गरे। उनले सरसम्पत्तिमा मुख्यतयाः कसको हक लाग्छ त्यो पनि स्पष्ट पारे र अन्त्येष्टि कसरी गर्ने राम्ररी बताए। मृत्युपछि सबै कुरा उनले चिताएअनुरूपै भयो। इसहाकको अन्त्येष्टि मसीही रीतिअनुसार गरियो र उनकी पत्नीको पनि राम्रो हेरविचार गरियो।
आफ्नो परिवारलाई जोगाउनुहोस्
तपाईंको मृत्युपछि पनि परिवारको सुरक्षा होस् भन्ने हेतुले के कस्तो प्रबन्ध मिलाउने हो, त्यो तपाईंको व्यक्तिगत मामिला हो। तैपनि, एड्वार्ड नाउँ गरेका एक मसीही पुरुष यसो भन्छन्: “मैले जीवन बिमा गराएको छु र त्यसको हकदार मेरो परिवारका आठ सदस्यहरू हुनेछन्। मेरो बैंक खातामा मेरी श्रीमतीको सही चल्छ। म मरिहालें भने पनि तिनले खाताबाट पैसा झिक्नसक्छिन्। . . . परिवारको हितको लागि मैले इच्छापत्र पनि तयार गरेको छु। मरिहालेमा जे जति सम्पत्ति छोड्नेछु, त्यो सबै श्रीमती र छोराछोरीहरूले पाउनेछन्। मैले पाँच वर्षअघि नै आफ्नो इच्छापत्र तयार पारिसकेको थिएँ। यो इच्छापत्र वकिलले नै तयार पारिदिएको थियो र मेरी पत्नी र छोरासित यसको एक एक प्रति छ। अनि मेरा नाताकुटुम्बले मेरो अन्त्येष्टिसम्बन्धी कुनै निर्णयमा दखल दिन पाउँदैन भनेर पनि त्यस इच्छापत्रमा उल्लेख गरेको छु। म यहोवाको संगठनसित सम्बद्ध छु। त्यसैकारण, मेरो अन्त्येष्टिमा यहोवाका एक दुई जना साक्षीहरू मात्र भए पनि पर्याप्त छ। मैले यस विषयमा आफ्ना नाताकुटुम्ब सबैसित छलफल गरिसकें।”
भनौं भने यस्ता प्रबन्धहरू मिलाउनु आफ्नो परिवारलाई उपहार दिएसरह हो। तर मरेपछि आइपर्नसक्ने विपत्ति सामना गर्न गरिएका योजनाहरू चकलेट वा फूलको गुच्छा उपहार दिएजस्तो भने पटक्कै होइन। जे होस्, यो प्रबन्धले तपाईं आफ्नो परिवारलाई कति माया गर्नुहुन्थ्यो, त्यो देखाउँछ। यसले तपाईं परिवारबीच नरहनुभए तापनि तपाईं ‘आफ्नो परिवारको पालनपोषण गर्न’ इच्छुक हुनुहुन्थ्यो भन्ने प्रमाण दिन्छ।
[पृष्ठ २१-मा भएको पेटी/चित्र]
येशूले आफ्नी आमाको निम्ति प्रबन्ध मिलाउनुभयो
“अनि येशूको क्रूसको नजीक उहाँकी आमा, उहाँकी आमाकी बहिनी क्लिओफसकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए। जब येशूले आफ्नी आमालाई र उहाँले प्रेम गर्नुभएको चेलालाई नजीकै उभिरहेका देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो, ‘हे नारि, हेर तिम्रो छोरो!’ तब त्यस चेलालाई पनि उहाँले भन्नुभयो, ‘हेर, तिम्री आमा!’ औ त्यस बेलादेखि त्यस चेलाले [यूहन्नाले] उनलाई तिनको आफ्नै घरमा लगे।”—यूहन्ना १९:२५-२७.
[पृष्ठ २२-मा भएको चित्र]
आफ्नो परिवारको सुरक्षाको लागि धेरैजसो मसीहीहरू सोचविचार गरेर कानुनी प्रबन्धहरू मिलाउँछन्