के अन्याय हुनैपर्छ र?
“यी सबै भएर पनि मलाई मानिसहरूको हृदय राम्रै हुन्छ जस्तो लाग्छ। गोलमाल, दुःख र मृत्युको गञ्जागोलमा म आफ्ना आशाहरू सजाउन सक्दिनँ।”—एन फ्रांक।
एन फ्रांक, १५ वर्षीय यहूदी केटीले मर्नुभन्दा केही समयअघि ती मार्मिक शब्दहरू आफ्नो दैनिकीमा लेखिन्। उनको परिवार आमस्टरड्याममा एउटा घरको बुइगलमा दुई वर्षभन्दा लामो समयसम्म लुकेर बसेका थिए। एक जना जासुसले उनीहरू लुकेको ठाउँबारे नाजीहरूलाई पोल खोलिदिंदा उत्तम संसार देख्ने उनको आशा चकनाचूर भयो। त्यसपछिको साल अर्थात् १९४५ मा बर्गन-बल्जन यातना शिविरमा छँदा टाइफाइड ज्वरोले एनको मृत्यु भयो। अरू साठी लाख यहूदीहरूले पनि त्यस्तै दुर्दशा भोगे।
सम्पूर्ण जातिलाई नामेट गर्ने हिटलरको पैशाचिक नियत यस शताब्दीकै सबैभन्दा वीभत्स जातीय अन्याय होला तर त्यस्तै प्रकारका अन्य घटनाहरू नभएका होइनन्। सन् १९९४ मा रूवाण्डामा पाँच लाखभन्दा बढी टुट्सीहरूको हत्या गरियो, कारण यति थियो कि तिनीहरू “बेग्लै” जातिका थिए। अनि प्रथम विश्वयुद्धताका लगभग दस लाख आरमेनियालीहरू जातीय शुद्धीकरणको नाउँमा मारिए।
अन्यायको क्रूर पक्ष
अन्याय भनेको जातिहत्या मात्र होइन। सामाजिक असमानताले गर्दा विश्व जनसंख्याको पाँच भागको एक भाग मानिसहरू जिन्दगीभर गरिबीको चपेटामा पिल्सिरहन्छन्। अझ त्योभन्दा दयनीय कुरा त एन्टि-स्लेभरी इन्टरनेशनल नामक मानव अधिकार समूहको अनुमानअनुसार २०,००,००,००० भन्दा बढी मानिसहरू दासत्वमा परेका छन्। मानव इतिहास केलाउँदा वर्तमान समयमा जति धेरै दासहरू छन्, त्यति त पहिले कहिल्यै थिएनन् होला। अचेल तिनीहरूको सार्वजनिक लिलाम त नहोला तर पहिले पहिलेका दासहरूले भन्दा नाजुक अवस्थामा काम गरिरहेका हुन्छन्।
कानुनी अन्यायले गर्दा लाखौं मानिसहरू आधारभूत अधिकारबाट वञ्चित छन्। “मानव अधिकारसम्बन्धी अत्याचारहरू संसारको एक न एक भागमा दिनहुँजसो भइरहेको हुन्छ” भनी एम्नेस्टी इन्टरनेशनलको १९९६ को प्रतिवेदनले बताउँछ। “सबैभन्दा चपेटामा पर्नेहरू त गरिब तथा कम सुविधा पाउने व्यक्तिहरू हुन्, विशेषगरि महिला, केटाकेटी, बूढाबूढी तथा शरणार्थीहरू।” उक्त प्रतिवेदनले यो टिप्पणी गऱ्यो: “कुनै कुनै मुलुकको राष्ट्रिय संरचना नै भताभुंग भइसकेको हुँदा निर्धाहरूलाई बलियाहरूबाट जोगाउने कुनै कानुनी आधारै पाइँदैन।”
सन् १९९६ मा मात्र सय वटाभन्दा बढी राष्ट्रका हजारौं मानिसहरूलाई हिरासतमा राखेर यातना दिइयो। अनि हालैका वर्षहरूमा सयौं हजार मानिसहरू सम्भवतः सुरक्षा सेना वा आतंकवादी समूहद्वारा अपहरण भएर बेपत्ता छन्। तीमध्ये धेरैजसो मरिसके होलान्।
युद्धहरू अवश्य पनि अन्यायपूर्ण कुराहरू हुन् र ती झन् झनै अन्यायपूर्ण हुँदैछन्। हालका युद्धहरूको तारो महिला तथा केटाकेटीलगायत आम जनता नै हुन्। शहरहरूमाथि अन्धाधुन्ध बमवर्षाको कारण मात्र यस्तो भएको होइन। महिला तथा केटीहरूलाई बलात्कार गर्नु सैनिक गतिविधिको भाग मानिन्छ र थुप्रै विद्रोही समूहहरू केटाकेटीहरूलाई जबरजस्ती अपहरण गरेर तिनीहरूलाई भावी हत्यारा बन्न प्रशिक्षण दिन्छन्। त्यस्तो चलनबारे संयुक्त राष्ट्रको प्रतिवेदन “सशस्त्र झगडाको केटाकेटीमाथि असर” यसो भन्छ: “झन् झन् बढी मानिसहरू नैतिक मूल्यमान्यताच्युत भइरहेका छन्।”
यस्तो नैतिक मूल्यमान्यताच्युत संसारमा अन्यायको बिगबिगी भइरहेको छ चाहे त्यो जातीय, सामाजिक, कानुनी वा सैनिक अन्याय नै किन नहोस्। निस्सन्देह, यो कुनै नौलो कुरा होइन। लगभग पच्चीस सय वर्षअघि हिब्रू अगमवक्ताले यस्तो बिलौना गरेका थिए: “व्यवस्था ढीला हुँदैजाँदैछ, र न्याय कहिल्यै हुँदैन। दुष्टहरूले धर्मीहरूलाई घेर्छन्, यसैकारण न्यायको दुरुपयोग हुन्छ।” (हबकूक १:४) अन्यायको सधैं बिगबिगी भए तापनि यस २० औं शताब्दीमा अन्याय नयाँ चुलीमा पुगेको छ।
अन्याय हुनु नहुनुले के कुनै फरक पार्छ?
तपाईं स्वयं अन्यायको सिकार बन्नुहुँदा अवश्य फरक पार्छ। यसले अधिकांश मानवजातिबाट आनन्दित हुने अधिकार खोस्ने भएकोले फरक पार्छ। अनि अन्यायले गर्दा प्रायजसो रक्तपातपूर्ण मुठभेड हुन्छन् र त्यसले अन्यायलाई झनै चर्काउने हुँदा अवश्य फरक पार्छ।
आनन्द र शान्तिको न्यायसित निकटतम सम्बन्ध छ तर अन्यायले आशालाई चकनाचूर पार्छ। एन फ्रांकको दुःखदायी घटनाले देखाएझैं मानिसहरूले गोलमाल, दुःख र मृत्युको गञ्जागोलमा आफ्ना आशाहरू सजाउन सक्दैनन्। उनीजस्तै हामी उत्तम संसारको चाहना गर्छौं।
यस्तो चाहनाले गर्दा इमानदार मानिसहरू मानव समाजलाई केही मात्रामा भए पनि न्याय दिने प्रयास गर्छन्। त्यही उद्देश्य प्राप्तिको लागि संयुक्त राष्ट्र संघको साधारण सभाले १९४८ मा पारित गरेको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र यसो भन्छ: “मानिसहरू कोही पनि कसैको दास होइनन् र सबैको मर्यादा तथा अधिकारहरू समान छन्। तिनीहरूको तर्कशक्ति तथा अन्तस्करण छ र एकअर्काप्रति भ्रातृत्वको भाव राख्नुपर्छ।”
यी अवश्य पनि महान् वाणी हुन् तर मानवजातिले अपेक्षा गरेको लक्ष्यको एक छेउसम्म पनि पुग्न सकेको छैन। त्यो लक्ष्य हो—एउटा अन्यायरहित समाज, जहाँ सबैले समान अधिकार पाउनेछन् र एकअर्काप्रति भाइसमान व्यवहार गर्नेछन्। सं रा-को घोषणापत्रले भनेझैं यो लक्ष्य यथार्थमा परिणत भएको खण्डमा “संसारमा स्वतन्त्रता, न्याय तथा शान्तिको आधारशिला बन्नेछ।”
के अन्याय निर्मूल गर्नै नसकिनेगरि मानव समाजको संरचनाको अभिन्न भाग बनिसकेको छ? अथवा स्वतन्त्रता, न्याय तथा शान्तिको आधार कुनै दिन बसालिनेछ? त्यसो हो भने यो कसले गर्नेछ र त्यसबाट सबैले लाभ उठाए नउठाएको कसले यकिन गर्नेछ?
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
UPI/Corbis-Bettmann