पाठकहरूका प्रश्न
मत्ती १७:२० अनुसार चेलाहरूसित ‘विश्वासको कमी भएकोले’ ठिटोलाई निको पार्न सकेनन्। तर मर्कूस ९:२९ मा तिनीहरूले प्रार्थना नगरेकाले निको पार्न नसकेका भनिएको छ। सुसमाचारका यी दुइ पुस्तकहरूमा किन बेग्लाबेग्लै कारण उल्लेख गरिएको?
वास्तवमा, मत्ती र मर्कूस दुवैको विवरण एकअर्कासित बाझ्ने विवरण होइनन् तर एकअर्काका पूरक विवरण हुन्। प्रथमतः मत्ती १७:१४-२० लाई विचार गर्नुहोस्। त्यहाँ दिइएको विवरणले एक जना मानिस आफ्नो छोरोलाई छारे रोग लागेको र येशूका चेलाहरूले निको पार्न नसकेको कुरा रिपोर्ट गर्छ। त्यसपछि, येशूले त्यस ठिटोलाई पिरोलिरहेको भूत निकालेर निको पार्नुभयो। तिनीहरूले किन भूत निकाल्न सकेनन् भनी चेलाहरूले सोधे। मत्तीको विवरणअनुसार येशूले यस्तो जवाफ दिनुभयो: “तिमीहरूका अल्पविश्वासको कारणले हो। साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमा एउटा रायोको दानाजति विश्वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटिजा’ भन्यौ भने त्यो हटिजानेछ। र तिमीहरूका निम्ति केही असम्भव हुनेछैन।”
अब थप जानकारीको लागि मर्कूस ९:१४-२९ पल्टाऔं। उदाहरणका लागि, मर्कूस ९:१७ ले यो घटनामा त्यो ठिटो दुष्टात्माले गर्दा छारे रोगीजस्तो छटपटिने गरेको हो भनेर बताउँछ। यहाँनेर कुन कुरा ध्यान दिनु बेस हुन्छ भने, बाइबलले अन्य ठाउँहरूमा पनि येशूले छारे रोगी र भूतात्माले सताएका मानिसहरूलाई निको पार्नुभयो भनेर उल्लेख गरेको छ। (मत्ती ४:२४) यस घटनामा यो ठिटो “गूंगो र बहिरो आत्मा” अर्थात् दुष्टात्माले गर्दा छारे रोगीजस्तो छटपटाउने गर्थ्यो र यसको पुष्टि वैद्य लूकाले पनि दिएका छन्। (लूका ९:३९; कलस्सी ४:१४) अब मर्कूस ९:१८ मा “यसले [प्रेतले] त्यसलाई जहाँ फेला पार्छ” भन्ने पद्यांश पनि याद गर्नुहोस्। अतः दुष्टात्माले त्यो ठिटोलाई सधैं होइन तर कहिलेकाहीं दुःख दिन्थ्यो। तैपनि, चेलाहरूले भूत निकालेर तिनलाई निको पार्न सकेनन्। अनि तिनीहरूले यसको कारण सोध्दा येशूले जवाफ दिनुभयो: “यस किसिमको चाहिं प्रार्थनाले बाहेक अरू कुनै उपायले निस्कनसक्तैन।”
मर्कूसको विवरणलाई ध्यान दिएर पढ्यौं भने मत्तीको विवरणसित विरोधाभासपूर्ण कुरा केही देखिंदैन। मर्कूस ९:१९ मा येशूले तत्कालीन पुस्ताको विश्वासको कमी देखेर खेद प्रकट गर्नुभयो। पद २३ मा उहाँले उक्त ठिटोको पितालाई “विश्वास गर्नेको लागि ता सबै कुरा सम्भवै छ” भन्नुभयो। यसरी मर्कूसले पनि विश्वासको महत्त्वमाथि जोड दिए। कुरा यति हो, मर्कूसले पद २९ मा थप विवरण दिएका छन्। येशूले प्रार्थनाको विषयमा भन्नुभएको कुरा पनि मर्कूसले समावेश गरे भने मत्ती र लूकाले गरेनन्।
त्यसोभए, हामी के भन्नसक्छौं? अरू बेला येशूका १२ प्रेरित तथा ७० चेलाहरूले दुष्टात्माहरूलाई धपाएका थिए। (मर्कूस ३:१५; ६:१३; लूका १०:१७) तर यो पालि चेलाहरूले भूतात्मा हटाउन सकेनन्। किन? सम्पूर्ण विवरणलाई ध्यान दिएर हेर्दा चेलाहरू यस किसिमको दुष्टात्मालाई हटाउन पूर्णतया तयार थिएनन् जस्तो निष्कर्षमा पुग्छौं। सायद, खास प्रकारको दुष्टात्मा भएकोले पनि हटाउन नसकेका होलान् किनभने भूतात्माहरूको पनि बेग्लाबेग्लै व्यक्तित्व, चासो अनि क्षमताहरू हुन्छ जस्तो देखिन्छ। यस्तो प्रकारको दुष्टात्मालाई हटाउन जोडदार प्रार्थना तथा बलियो विश्वासको खाँचो थियो। येशूसित पक्कै पनि त्यस्तो विश्वास थियो। साथै, प्रार्थना सुन्नुहुने परमेश्वर, उहाँको पिताको समर्थन पनि थियो। (भजन ६५:२) येशूसित दुष्टात्मालाई धपाएर त्यस ठिटोलाई निको पार्ने क्षमता थियो र उहाँले गरेर देखाउनुभयो।