के तपाईं आफ्नो अन्तस्करणमा भरोसा गर्न सक्नुहुन्छ?
साधारणतया, कम्पास एउटा भरपर्दो यन्त्र हो। पृथ्वीको चुम्बकीय क्षेत्रले खिंचिई यसको सुई सधैं उत्तरतिर फर्केको हुन्छ। तसर्थ, डोऱ्याउने सीमा संकेतहरू नहुँदा यात्रीहरू दिशा छुट्याउनको लागि कम्पासमा भर पर्नसक्छन्। तर कुनै चुम्बकीय वस्तु त्यस कम्पासको छेउमा राखिदिए के हुन्छ? त्यसको सुई उत्तर दिशा छोडेर चुम्बकतिर फनक्क घुम्छ। यतिबेला यो भरपर्दो निर्देशक हुँदैन।
मानव अन्तस्करणलाई पनि यस्तै हुनसक्छ। सृष्टिकर्ताले एउटा भरपर्दो निर्देशकको रूपमा यो क्षमता हामीभित्र हालिदिनुभयो। हामी परमेश्वरको स्वरूपमा बनिएको हुनाले निर्णयहरू गर्नुपर्दा यस अन्तस्करणले हामीलाई सधैं सही दिशामा डोऱ्याउनुपर्ने हो। यसले हामीलाई परमेश्वरका नैतिक स्तरहरू झल्काउन उत्प्रेरित गर्नुपर्ने हो। (उत्पत्ति १:२७) अक्सर यसले त्यसै गर्छ। उदाहरणका लागि, परमेश्वरको व्यवस्था नहुनेहरू समेतले “स्वभावैले व्यवस्थाका कुरा पालन गर्दछन्” भनेर मसीही प्रेरित पावलले लेखे। किन? किनभने “तिनीहरूका आफ्नै अन्तस्करणले गवाही दिन्छ।”—रोमी २:१४, १५.
तैपनि, चाहिएको बेला अन्तस्करणले सधैं झकझकाउँदैन। मानव असिद्धताको कारण हामी स्वभावैले खराब गर्नतिर ढल्किन्छौं। पावलले यसरी स्वीकारे, “म मेरो अन्तस्करणले परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु, तर मेरो बुद्धिको व्यवस्थाको विरुद्धमा लड़ाइँ गर्ने, र मेरा इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा मलाई ल्याउने, मेरा इन्द्रियहरूमा भिन्नै व्यवस्था म देख्तछु।” (रोमी ७:२२, २३) यदि हामी घरीघरी खराब झुकाउहरूको वशमा पऱ्यौं भने हाम्रो अन्तस्करण बिस्तारै बोधो हुँदै जानसक्छ र अन्ततः त्यसले फलाना आचरण गलत हो भनेर भन्नै छोड्छ।
तथापि, असिद्धताको बावजूद हामी आफ्नो अन्तस्करणलाई परमेश्वरका स्तरहरूअनुरूप चलाउनसक्छौं। वास्तवमा, हामीले त्यसो गर्नु अत्यावश्यक छ। स्वच्छ, राम्ररी प्रशिक्षित गरिएको अन्तस्करणले हामीलाई परमेश्वरसित न्यानो, व्यक्तिगत सम्बन्ध राख्न मात्र डोऱ्याउँदैन तर हामीलाई मुक्ति दिलाउन पनि यो अत्यावश्यक छ। (हिब्रू १०:२२; १ पत्रुस १:१५, १६) यसबाहेक, असल अन्तस्करणले जीवनलाई शान्ति र आनन्दले भर्ने बुद्धिमत्तापूर्ण निर्णयहरू गर्न हामीलाई मदत दिनेछ। यस्तो अन्तस्करण भएको व्यक्तिबारे भजनरचयिताले यसो भने: “तिनको हृदयमा तिनका परमेश्वरको व्यवस्था रहन्छ, तिनका पाइलाहरू कुनै पनि चिप्लनेछैनन्।”—भजन ३७:३१.
अन्तस्करणलाई प्रशिक्षित गर्ने
अन्तस्करणलाई प्रशिक्षित गर्नु भनेको व्यवस्थाहरू कण्ठ गर्नु र त्यसलाई कडिकडाउका साथ पालन गर्नु मात्र होइन। येशूको समयका फरिसीहरूले त्यस्तै गरेका थिए। यी धार्मिक नेताहरूले व्यवस्था जान्दथे र व्यवस्था उल्लंघन हुन नपाओस् भन्ना खातिर विस्तृत परम्परा बनाएका थिए। त्यसैकारण, तिनीहरूले विश्राम दिनमा येशूका चेलाहरूले अन्नको बाला टिपेर खानासाथ तुरुन्तै विरोध गरिहाले। अनि येशूले हात सुकेको मानिसलाई विश्राम दिनमा निको पार्नुहुँदा तिनीहरूले उहाँसित टक्कर लिए। (मत्ती १२:१, २, ९, १०) फरिसीहरूको परम्पराअनुसार यी दुइटै कार्यहरू गर्दा दस आज्ञाको चौथो आज्ञा उल्लंघन हुन्थ्यो।—प्रस्थान २०:८-११.
हो, फरिसीहरूले व्यवस्था अध्ययन गरेका थिए। तर के तिनीहरूले परमेश्वरको स्तरहरूअनुरूप आफ्नो अन्तस्करण चलाए? पटक्कै चलाएनन्! त्यसैले त, तिनीहरूले विश्राम दिनसम्बन्धी नियमको घोर उल्लंघन भयो भन्ने आफ्नै निष्कर्ष निकालेर आलोचना गरेपछि “[येशूलाई] कसरी नाश गरौं” भनेर उहाँको विरुद्धमा मतो गरे। (मत्ती १२:१४) विचार गर्नुहोस् त, यी आत्मधर्मी धार्मिक नेताहरू विश्राम दिनमा भर्खरै टिपेको अन्न खाने र निको पार्ने कुरामा झोकिए तर आफूहरूले येशूलाई मार्ने योजना बनाउँदा भने तिनीहरूलाई अलिकति पनि अप्ठ्यारो लागेन!
मुख्य पूजाहारीहरूले पनि त्यस्तै टेढो विचार प्रदर्शित गरे। येशूलाई विश्वासघात गराउन यहूदालाई मन्दिरको ढुकुटीबाट ३० टुक्रा चाँदी दिंदा यी भ्रष्ट मानिसहरूको मन चसक्क पनि घोचेन। तर यहूदाले अप्रत्याशित ढंगमा त्यो पैसा मन्दिरमा फ्याँकिदिंदा भने ती मुख्य पूजाहारीहरूको अन्तस्करण धर्मसंकटमा पऱ्यो। तिनीहरूले भने, “पवित्र ढुकुटीमा यी [ती सिक्काहरू] हाल्न उचित छैन, किनकि यो रगतको मोल हो।” (मत्ती २७:३-६) स्पष्ट छ, यहूदाको पैसा अब अशुद्ध भयो भनेर ती मुख्य पूजाहारीहरू चिन्तित भए। (व्यवस्था २३:१८ तुलना गर्नुहोस्।) यद्यपि, यी नै मानिसहरूले परमेश्वरका पुत्रलाई विश्वासघात गराउन त्यही पैसा खर्च गर्नु चाहिं कुनै अनुचित ठानेनन्!
परमेश्वरको विचारअनुरूप हुने
उपरोक्त उदाहरणहरूले देखाएअनुसार अन्तस्करणलाई प्रशिक्षण दिनु भनेको विधिविधानहरूले दिमाग टन्नै भर्नु मात्र होइन। हो, परमेश्वरको व्यवस्थाको ज्ञान लिनु अत्यावश्यक छ र मुक्ति पाउन ती पालन गर्नुपर्छ। (भजन १९:७-११) तथापि, परमेश्वरको व्यवस्था सिक्नुको अलावा हामीले आफ्नो हृदयलाई परमेश्वरको विचारअनुरूप ढाल्नैपर्छ। तब मात्र हामी यशैया मार्फत यहोवाले भन्नुभएको यो भविष्यवाणी पूरा भइरहेको अनुभव गर्नसक्छौं: “तिमीहरूको आँखाले तिमीहरूका गुरुलाई देख्नेछ। तिमीहरू दाहिने-देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने शब्द सुन्नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’ ”—यशैया ३०:२०, २१; ४८:१७.
तर, यसको अर्थ गहन निर्णय गर्नुपर्दा हामीलाई मदत गर्न साँच्चीकै आवाज आउँछ भन्ने होइन। तैपनि, हाम्रो विचार परमेश्वरको विचारअनुरूप ढालिएको छ भने उहाँलाई प्रसन्न तुल्याउने निर्णयहरू गर्ने मदत दिन हाम्रो अन्तस्करण अझ राम्ररी सुसज्जित हुनेछ।—हितोपदेश २७:११.
सा.यु.पू. १८ औं शताब्दीका यूसुफलाई विचार गर्नुहोस्। पोतीफरकी स्वास्नीले व्यभिचार गर्ने आग्रह गर्दा यूसुफले यसो भन्दै इन्कार गरे: “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु?” (उत्पत्ति ३९:९) यूसुफको समयमा व्यभिचार गलत हो भनेर बताउने कुनै लिखित व्यवस्था परमेश्वरबाट दिइएको थिएन। यसबाहेक, यूसुफ पारिवारिक अनुशासन वा कुलपिताहरूका नियमहरूदेखि धेरै टाढा मिश्रमा बसिरहेका थिए। त्यसोभए, कुन कुराले गर्दा यूसुफले उक्त प्रलोभनको प्रतिरोध गर्नसके त? सरल अर्थमा भन्ने हो भने, प्रशिक्षित अन्तस्करणले। यूसुफले पति र पत्नी “एक जीउ” हुनुपर्छ भन्ने परमेश्वरको दृष्टिकोणलाई अंगालेका थिए। (उत्पत्ति २:२४) तसर्थ, अर्काकी स्वास्नीसित सहवास गर्नु अनुचित हो भनेर तिनलाई थाह थियो। यस मामिलामा यूसुफको विचार परमेश्वरको विचारअनुरूप थियो। व्यभिचार तिनको नैतिक ज्ञान विरुद्धको कुरा थियो।
आज, यूसुफजस्ता मानिस एकदमै कम छन्। लैंगिक अनैतिकता व्याप्त छ। प्रायजसो मानिसहरू आफ्ना सृष्टिकर्ता, आफू वा आफ्ना पति या पत्नीको खातिर नैतिक तवरमा स्वच्छ रहनुपर्ने जिम्मेवारी महसुस गर्दैनन्। वर्तमान परिस्थिति यर्मियाको पुस्तकमा वर्णन गरिएझैं भएको छ: “मैले ध्यान दिएर कुरा सुनें, तर तिनीहरू ठीक कुरा बोल्दैनन्। ‘मैले के गरें?’ भनी कुनै मानिस पनि आफ्नो दुष्टतादेखि पछताउँदैन। घोड़ा लड़ाइँमा सीधै कुदेर गएझैं, हरेक आफ्नो आफ्नै बाटोतिर लाग्दछ।” (यर्मिया ८:६) तसर्थ, हामी पहिलेभन्दा अहिले झन् बढी परमेश्वरको विचारअनुरूप ढालिनुपरेको छ। यसो गर्न हामीलाई मदत दिने अद्भुत प्रबन्ध हामीसित छ।
अन्तस्करणलाई प्रशिक्षण दिने मदत
प्रेरित धर्मशास्त्र “सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनलाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्।” (२ तिमोथी ३:१६, १७) उचित र अनुचित छुट्याउनको लागि बाइबल अध्ययनले हामीलाई बाइबलमा बताइएको “ज्ञानेन्द्रियको अभ्यास” गर्न मदत दिनेछ। (हिब्रू ५:१४) यसले हामीलाई परमेश्वरले प्रेम गर्ने कुरालाई प्रेम गर्न र उहाँले घृणा गर्ने कुरालाई घृणा गर्न सघाउ पुऱ्याउनेछ।—भजन ९७:१०; १३९:२१.
त्यसैले, बाइबल अध्ययनको लक्ष्य बाइबलको ज्ञान थुपार्नु मात्र नभई सत्यको साँचो अर्थ र व्यवहारिक महत्त्व हासिल गर्नु हो। सेप्टेम्बर १, १९७६, प्रहरीधरहरा (अंग्रेजी) अंकले यसो भन्यो: “धर्मशास्त्रको अध्ययन गर्दा हामीले परमेश्वरको न्याय, प्रेम र धार्मिकता बुझ्ने प्रयत्न गर्नुपर्छ अनि यी कुरा आफ्नो हृदयमा रोप्नुपर्छ ताकि ती हाम्रो जीवनमा खानु र सास फेर्नु जत्तिकै महत्त्वपूर्ण होऊन्। हामीले उचित र अनुचित बुझ्दै नैतिक जिम्मेवारीप्रति झन् पूर्णतया जागरुक रहने कोसिस गर्नुपर्छ। अझ महत्त्वपूर्ण कुरा, हामीले आफ्नो अन्तस्करणलाई व्यवस्थाका सिद्ध दाता तथा न्यायकर्ताप्रति जोडतोडले जिम्मेवारी महसुस गर्न लगाउनुपर्छ। (यशै. ३३:२२) तसर्थ, परमेश्वरबारे सिक्दै हामीले जीवनको हर पक्षमा उहाँको अनुकरण गर्ने कोसिस गरिरहेको हुनुपर्छ।”
“[ख्रीष्टको] मन” प्राप्त गर्ने
बाइबल अध्ययनले हामीलाई “[ख्रीष्टको] मन” अर्थात् येशूले प्रदर्शित गर्नुभएको आज्ञाकारिता र विनम्रताको मानसिक प्रवृत्ति प्राप्त गर्न पनि मदत दिनेछ। (१ कोरिन्थी २:१६) आफ्ना पिताको इच्छा गर्नु नै उहाँको आनन्द थियो र त्यसरी इच्छा पूरा गर्नु भनेको सोचविचारै नगरी तालिकाअनुसार गर्दैजानु मात्र थिएन। उहाँको मनोवृत्तिबारे भजनरचयिता दाऊदले भविष्यसूचक शब्दमा यसरी वर्णन गरे: “हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्न छु। तपाईंको व्यवस्था मेरो हृदयमा छ।”a—भजन ४०:८.
अन्तस्करणलाई प्रशिक्षण दिन “[ख्रीष्टको] मन” प्राप्त गर्नु अत्यावश्यक छ। पृथ्वीमा हुनुहुँदा सिद्ध मानिस येशू ख्रीष्टले मानव सीमितताहरूले भ्याएसम्म आफ्ना पिताका गुन तथा व्यक्तित्व झल्काउनुभयो। त्यसैकारण, उहाँले यसो भन्न सक्नुभयो: “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।” (यूहन्ना १४:९) पृथ्वीमा हुनुहुँदा येशूले हरेक परिस्थितिमा पिताले जे चाहनुभयो त्यही गर्नुभयो। तसर्थ, हामीले येशूको जीवनी अध्ययन गर्दा यहोवा परमेश्वरको स्पष्ट चित्र पाइरहेका हुन्छौं।
यहोवा “टिठाउनमा भरिपूर्ण र दयालु, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ” भनेर हामी पढ्छौं। (प्रस्थान ३४:६) येशूले आफ्ना प्रेरितहरूसित व्यवहार गर्नुहुँदा घरीघरी यी गुनहरू प्रदर्शित गर्नुभयो। तिनीहरूले को ठूलो भनी बारम्बार बहस गर्दा येशूले धीरजी भई वचन र व्यवहारद्वारा “जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनेछ। जो तिमीहरूमा पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको चाकर हुनेछ” भनेर सिकाउनुभयो। (मत्ती २०:२६, २७) यो त, येशूको जीवनलाई हेरेर हामी कसरी परमेश्वरको विचारअनुरूप ढालिनसक्छौं भनेर देखाउने एउटा उदाहरण मात्र हो।
हामी येशूबारे जति धेरै सिक्छौं, स्वर्गमा हुनुहुने हाम्रा पिता यहोवाको त्यति नै राम्ररी अनुकरण गर्न सक्नेछौं। (एफिसी ५:१, २) परमेश्वरको विचारअनुरूप ढालिएको अन्तस्करणले हामीलाई सही दिशामा डोऱ्याउँछ। यहोवामा भरोसा गर्नेहरूलाई उहाँ प्रतिज्ञा गर्नुहुन्छ: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।”—भजन ३२:८.
प्रशिक्षित अन्तस्करणबाट फाइदा उठाउने
असिद्ध मानवको लापरवाहलाई जानेर मोशाले इस्राएलीहरूलाई चेताउनी दिए: “आज मैले तिमीहरूलाई दिएका सबै वचनहरू आफ्नो मनमा राख आफ्ना छोरा छोरीहरूलाई पनि यस व्यवस्थाका सबै वचनहरू होशियारीसाथ पालन गर्ने आज्ञा देओ।” (व्यवस्था ३२:४६) हामीले पनि परमेश्वरको व्यवस्था आफ्नो हृदयमा लेख्नैपर्छ। यदि हामीले यसो गऱ्यौं भने हाम्रो अन्तस्करणले अवश्यै हामीलाई डोऱ्याउनेछ र सही निर्णयहरू गर्न मदत दिनेछ।
हो, हामी होसियार हुनैपर्छ। बाइबल हितोपदेश यसो भन्छ: “कुनै बाटो मानिसलाई सीधा देखिएला तापनि आखिरमा त्यसले मृत्युमानै पुऱ्याउने हुन्छ।” (हितोपदेश १४:१२) यसो बारम्बार किन हुन्छ? किनभने बाइबल भन्छ: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्नसक्छ र?” (यर्मिया १७:९) तसर्थ, हामी सबैले हितोपदेश ३:५, ६ को सल्लाह पालन गर्नु खाँचो छ: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”
[फुटनोट]
a प्रेरित पावलले हिब्रूहरूलाई लेखेको पत्रमा भजन ४० औं अध्यायका शब्दहरू येशू ख्रीष्टमा लागू गरे।—हिब्रू १०:५-१०.
[पृष्ठ ७-मा भएका चित्र]
कम्पासले जस्तै बाइबल-प्रशिक्षित अन्तस्करणले हामीलाई सही दिशामा डोऱ्याउनसक्छ
[स्रोत]
कम्पास: साभार, Peabody Essex Museum, Salem, Mass.