के तपाईं हाम्रो समयबारे सजग हुनुहुन्छ?
खतराको समयमा सजग हुनु, नहुनुमा जीवन मृत्युको सवाल हुन्छ। उदाहरणस्वरूप हामी दुई ज्वालामुखी टापुमा भएको घटनालाई लिनसक्छौं।
यस २० औं शताब्दीको सबैभन्दा घातक ज्वालामुखी माउन्ट पेलिको क्यारिबियन टापुको मार्टिनिकमा मे ८, १९०२ का दिन विस्फोट भयो। ज्वालामुखीको फेदैमा रहेको सेन्ट पियर शहरका झन्डै ३०,००० बासिन्दाहरू सबै मरे।
जून १९९१ मा माउन्ट पिनाटोबु विस्फोट भयो र त्यो सायद यस शताब्दीकै सबैभन्दा ठूलो विस्फोटन थियो। फिलिपिन्सको घना बस्ती भएको इलाकामा यो विस्फोटन भयो। फलस्वरूप झन्डै ९०० मानिसहरूले ज्यान गुमाए। तथापि, यसपटक भने दुइटा कारणले गर्दा हजारौंको ज्यान जोगाउन मदत गऱ्यो: (१) खतराको समयमा सजग भएकोले र (२) चेताउनीहरूअनुरूप कदम चाल्न इच्छुक भएकोले।
बेलैमा चालेको कदमले ज्यान जोगियो
माउन्ट पिनाटोबु सयौं वर्षसम्म निष्क्रिय थियो तर अप्रिल १९९१ मा यसले हुनै लागेको विस्फोटनको चिह्नहरू देखाउन थाल्यो। ज्वालामुखीको मुखबाट बाफ र सल्फर डाइअक्साइड निस्किन थाल्यो। स्थानीय बासिन्दाहरूले एकपछि अर्को धक्का महसुस गर्न थाले र पहाडबाट पानीको फोहराजस्तै डरलाग्दो लाभा निस्किन थाल्यो। फिलिपिन्सको ज्वालामुखी तथा भौगर्भिक संस्थानका वैज्ञानिकहरूले सतर्कतासाथ हेरिरहे र नजिकका शहर तथा गाउँका ३५,००० बासिन्दाहरूलाई उद्धार गर्नु नै बुद्धिमानी हुनेछ भनी समयमै अधिकारीहरूलाई विश्वस्त गराए।
मानिसहरू हतपती त्यसै कुनै कारणबिना आफ्नो घर छोड्न राजी हुँदैनन् तर ज्वालामुखी विस्फोटनका खतराहरू सजीव ढंगमा प्रस्तुत गरिएको भिडिओ हेरेपछि मानिसहरूको सबै हिचकिचाहट दूर भयो। समयमै ठूलो संख्यामा मानिसहरू अन्यत्र सर्न थाले। दुई दिनपछि अत्यन्तै शक्तिशाली विस्फोटन भयो। त्यसले हावामा आठ क्युबिक किलोमिटर खरानी हुर्ऱ्यायो। बगेको माटोको कारण पछि सयौंको ज्यान गयो। तथापि, हजारौंको ज्यान जोगियो किनभने मानिसहरूलाई खतराबारे सजग गराइयो र तिनीहरूले चेताउनीहरूअनुरूप कदम चाले।
मानव निर्मित विध्वंशबाट भाग्नुहोस्
यस सामान्य युगको प्रथम शताब्दीमा यरूशलेममा बसोबास गरिरहेका मसीहीहरूले आ-आफ्नो घर छोड्ने या नछोड्ने, निर्णय गर्नुपरेको थियो। सा.यु. ६६ मा त्यसरी नै यरूशलेमबाट भागेको हुँदा सा.यु. ७० को निस्तार चाडको निम्ति यरूशलेम आइरहेका हजारौं यहूदी तथा अन्य बासिन्दाहरूमाथि आइपरेको विनाशबाट बचे। रोमी सेनाले चारैतिरबाट घेर्दा पर्खालपारि शहरभित्र निस्तार चाडको निम्ति भेला भएका दस लाखभन्दा बढी मानिसहरू थिए। अनिकाल, शक्तिको निम्ति खिचातानी र बारम्बार रोमीहरूको आक्रमणले गर्दा मर्नेहरूको संख्या दस लाखभन्दा बढी पुग्यो।
तर रोमी शासन विरुद्ध यहूदीहरूको विद्रोहको विध्वंशकारी अन्त अपर्झट आएको चाहिं होइन। केही दशकअघि येशू ख्रीष्टले यरूशलेमलाई घेरा लगाइनेछ भनी भविष्यवाणी गर्नुभएको थियो। उहाँले भन्नुभयो: “जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान। तब यहूदियामा हुनेहरू डाँड़ाहरूतिर भागून्। औ शहरभित्र हुनेहरू निस्किजाऊन्, र गाउँमा हुनेहरू त्यहाँभित्र नपसून्।” (लूका २१:२०, २१) ती निर्देशनहरू स्पष्ट थिए र येशूका अनुयायीहरूले त्यसलाई गम्भीरतापूर्वक लिए।
सिजरियाका चौथो शताब्दीका इतिहासकार युसिबियसले यहूदियाका सबै मसीहीहरूले येशूको चेताउनीअनुरूप कदम चालेको बताउँछन्। सा.यु. ६६ मा यरूशलेमलाई पहिलो चोटि घेरा लगाई पछि आक्रमण नगरी रोमीहरू फर्कंदा थुप्रै यहूदी मसीहीहरू रोमी प्रान्त पेरियामा अन्यजातिहरूको शहर पेलामा बसोबास गर्न गए। आफू बाँचिरहेको समयबारे सजग हुँदै र येशूको चेताउनीअनुरूप कदम चालेर तिनीहरू “सम्पूर्ण इतिहासकै सबैभन्दा भयानक कब्जाबाट” बचे।
आज पनि त्यस्तै सतर्कता अपनाउनु जरुरी छ। त्यस्तैगरि ठोस कदम चाल्नु पनि उत्तिकै आवश्यक छ। यस्तो कदम चाल्नु किन आवश्यक छ, अर्को लेखले बताउनेछ।
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Godo-Foto, West Stock