घमण्डी शासकले आफ्नो साम्राज्य गुमाउँछन्
“बेलसजर राजाले आफ्ना एक हजार शासकहरूका निम्ति एउटा ठूलो भोज लगाए, र ती हजार मानिसहरूको उपस्थितिमा तिनले दाखमद्य पिउनलागे” भनी अगमवक्ता दानियलले लेखे। तथापि, भोज भइरहेकै बेला राजा “भयभीत भए, र तिनको अनुहारको रङ्ग पहेंलो भयो, र तिनका हात–खुट्टै गलेर तिनी थरथर काम्नलागे।” त्यस रात नबित्दै “कल्दीहरूका राजा बेलसजर मारिए। अनि मादी राजा दाराले त्यो राज्य लिए।”—दानियल ५:१, ६, ३०, ३१.
को थिए बेलसजर? तिनी कसरी “कल्दीहरूका राजा” कहलिए? नव बेबिलोनी साम्राज्यमा वास्तवमा तिनको ओहदा के थियो? तिनले आफ्नो साम्राज्य कसरी गुमाए?
सहशासक वा राजा?
दानियलले नबूकदनेसरलाई बेलसजरको पिता भनेका छन्। (दानियल ५:२, ११, १८, २२) तथापि, ती दुवै साँच्चै बाबु-छोरा होइनन्। रेमन्ड पि. डोरथिद्वारा लिखित पुस्तक नेबोनाइडस तथा बेलसजर-मा नबूकदनेसर सायद बेलसजरको आमा निटोक्रिस पट्टिका हजुरबुबा थिए होलान् भनिएको छ। नबूकदनेसर बेलसजरअघिका राजा भएका कारण पनि तिनी राजपदको हिसाबले “पिता” हुनसक्छन्। (उत्पत्ति २८:१०, १३ तुलना गर्नुहोस्।) कुरा जे भए पनि १९ औं शताब्दीको दौडान दक्षिणी इराकमा भेट्टाइएको माटोका कीलाक्षर लेखोटहरूमा बेलसजरलाई बेबिलोनका राजा नेबोनाइडसका जेठा छोराको रूपमा चिनाइएको छ।
दानियल अध्याय ५ को विवरण सा.यु.पू. ५३९ मा बेबिलोनको पतन हुनुअघिको रातको घटनाहरूमाथि केन्द्रित रहेको हुँदा बेलसजरले कसरी राजकीय अधिकार पाए भनेर त बताउँदैन। तर पुरातात्त्विक स्रोतहरूले नेबोनाइडस र बेलसजरबीच कस्तो सम्बन्ध थियो भन्नेबारे केही जानकारी भने दिन्छ। पुरातत्त्वविद् तथा सेमेटिक भाषाका ज्ञाता आलेन मिलार्ड भन्छन्, “नेबोनाइडस एक सन्काहा शासक थिए भनी बेबिलोनी पुस्तकहरूले प्रकाश पार्छ।” मिलार्ड अझ यसो भन्छन्: “तिनले बेबिलोनी देवताहरूलाई बेवास्ता त गरेनन् तर . . . अन्य दुई शहर ऊर र हरानका चन्द्र देवहरूलाई चाहिं निकै महत्त्व दिए। नेबोनाइडस आफ्नो शासनकालको दौडान निकै वर्ष बेबिलोनमा समेत बसेनन्, बरु उत्तरी अरबको मरुद्यान टियमामा [वा टेमा] बसे।” स्पष्टतः नेबोनाइडसले आफ्नो शासनकालको दौडान राजधानी बेबिलोनमा धेरै समय बिताएनन्। तिनको अनुपस्थितिमा बेलसजरलाई प्रशासकीय अधिकार दिइएको थियो।
बेलसजरको वास्तविक ओहदामाथि प्रकाश पार्दै कीलाक्षर लेखोटले “नेबोनाइडसको कवितामय विवरण” उल्लेख गर्छ: “तिनले [नेबोनाइडस] “सैन्य शक्तिको” जिम्मा सबै आफ्नो जेठो [छोरालाई] सुम्पे र देशभरिका सेनालाई बेलसजरको (कमानमा) छोडे। तिनले (सबै) परित्याग गरे, राजत्व नै बेलसजरलाई सुम्पे।” यसप्रकार बेलसजर सहशासक भएका थिए।
तर के सहशासकलाई राजा भन्न मिल्छ र? सन् १९७० को दशकतिर उत्तरी सिरियामा पाइएको एक प्राचीन शासकका मूर्तिले राजाकै उपाधि नभए तापनि शासकलाई राजा भन्नु कुनै नौलो कुरा थिएन भनी बताउँछ। त्यस मूर्ति गोजानका शासकको थियो र मूर्तिमा अश्शूरी तथा अरामिक भाषामा लेखोटहरू कुँदिएको थियो। अश्शूरी लेखोटले त्यस मानिसलाई गोजानका राज्यपाल भनेको छ भने अरामी लेखोटले तिनलाई राजा भनेको छ। अतः बेलसजरलाई औपचारिक बेबिलोनी लेखोटमा युवराजाधिराज भनिनु र दानियलको अरामी लेखोटमा राजा भनिनु कुनै नौलो कुरा होइन।
नव बेबिलोनी साम्राज्यको अन्तसम्मै नेबोनाइडस र बेलसजरले संयुक्त शासन चलाइरहेका थिए। त्यसैकारण, बेबिलोनको पतनको रात बेलसजरले दानियललाई राज्यको दोस्रो होइन तेस्रो शासक बनाउने प्रस्ताव राखे।—दानियल ५:१६.
अहंकारी र घमण्डी शासक
बेलसजरको शासनको अन्तिम घडीहरूले राजकुमार अहंकारी र घमण्डी भएको प्रमाण दिन्छ। सा.यु.पू. ५३९, अक्टोबर ५ का दिन तिनको शासनको अन्त हुँदा मादी-फारसी सेनाले परास्त गरेको कारण नेबोनाइडसले बोरसिप्पामा शरण लिएका थिए। बेबिलोनलाई पनि घेरा हालिएको थियो। तर बेलसजरले ती बडेमाका पर्खालहरूले घेरिएको शहरमा आफूलाई यति सुरक्षित महसुस गरे कि तिनले “एक हजार शासकहरूका निम्ति एउटा ठूलो भोज लगाए।” सा.यु.पू. पाँचौ शताब्दीका युनानी इतिहासकार हेरोडोटसअनुसार शहरभित्र मानिसहरू “नाचगान गरेर मस्ती गरिरहेका थिए।”
तर बेबिलोनको पर्खालबाहिर मादी-फारसी सेनाहरू सतर्क थिए। कोरेसको निर्देशनमा तिनीहरूले शहरबीच भएर बग्ने युफ्रेटिस नदीलाई अर्कैतिर मोडिसकेका थिए। पानीको सतह अलि कम हुनेबित्तिकै तिनका सेनाहरू नदीमा छप्ल्यांग छुप्लुंग गर्दै अघि बढ्न तयार थिए। उकालो चढेर नदीसँदै तिनीहरू खुल्ला तामाको ढोकाबाट शहरभित्र छिर्ने थिए।
शहरबाहिर भइरहेको गतिविधिमा बेलसजरले ध्यान दिएको भए तिनले तामाको ढोका थुन्न सक्थे, नदी किनार वरिपरि आफ्ना शूरवीर मानिसहरूलाई तैनाथ गरेर शत्रुहरूलाई जालमा पार्नसक्थे। त्यसको साटो, मद्यले मात्तिसकेका हठी बेलसजरले यहोवाको मन्दिरबाट भाँडाकुँडाहरू ल्याउने हुकुम गरे। त्यसपछि तिनी, तिनका पाहुना, पत्नी तथा रखौटीहरू सबैले ती भाँडाहरूबाट अहंकारीसाथ पिउँदै बेबिलोनी देवताहरूको गुनगान गर्न थाले। तर अचानक एउटा हात देखा पऱ्यो र दरबारको भित्तामा लेख्न थाल्यो। त्रसित बेलसजरले त्यस हस्तलेखको अर्थ खोल्न देशका बुद्धिमान् मानिसहरूलाई बोलाए। तर “तिनीहरूले त्यो लेखोट पढ़नसकेनन्, नता तिनीहरूले राजालाई त्यसको अर्थ खोलिदिनसके।” अन्ततः दानियल “राजाको सामु ल्याइए।” ईश्वरीय प्रेरणा पाएर यहोवाका यस साहसी अगमवक्ताले त्यस चमत्कारी सन्देशको अर्थ खोले र मादी-फारसीको हातद्वारा बेबिलोन परास्त हुने भविष्यवाणी गरे।—दानियल ५:२-२८.
मादी-फारसीले सजिलै शहरलाई कब्जा गरे र बेलसजर त्यसै रात मारिए। तिनको मृत्यु र सम्भवतः कोरस सामुन्ने नेबोनाइडसको आत्मसमर्पणपछि नव बेबिलोनी साम्राज्यको अन्त भयो।
[पृष्ठ ८-मा भएको चित्र]
दानियल बेबिलोनी साम्राज्यको विनाशको सन्देशको अर्थ खुलाउँछन्