परमेश्वरलाई सत्यतामा उपासना गर्ने
परमेश्वरलाई स्वीकार्य उपासना चढाउने हो भने त्यो उपासना सत्यतामा गरिएको हुनुपर्छ। (यूहन्ना ४:२३) बाइबलले साँचो उपासकहरू “जीवित परमेश्वरको मण्डली, सत्यको खामा र जग” हुन् भनेर चिनाउँछ। (१ तिमोथी ३:१५) परमेश्वरको मण्डलीका सदस्यहरू परमेश्वरको वचनको सत्यता स्वीकार्ने मात्र होइनन्। तिनीहरू त्यहीअनुरूप जीवन व्यतीत गर्छन्, त्यसको समर्थन गर्छन् र साथै संसारभरि परमेश्वरको वचन परिचित पनि गराउँछन्।—मत्ती २४:१४; रोमी १०:९-१५.
यहोवाका साक्षीहरू बाइबलआधारित शैक्षिक कार्यका लागि चिरपरिचित छन्। तिनीहरूले हाल २०० भन्दा बढी मुलुकहरूमा यो कार्य गरिरहेका छन्। तिनीहरू बाइबल अध्ययन गर्छन् र मानव दर्शनहरूबाट अलग रही बाइबल नै सत्य हो भनी अरूलाई सिकाउँछन्। के तपाईं तिनीहरूका बाइबलआधारित शिक्षाहरूसित परिचित हुनुहुन्छ? यहोवाका साक्षीहरूको विषयमा नकारात्मक जानकारी प्रचारप्रसार गरिएका हुनाले थुप्रै मानिसहरू तिनीहरूका कुरा सुन्न हिचकिचाउँछन्। तर साक्षीहरूले प्रचार गरेका कुराहरू सत्य हुन् कि होइनन्, आफै निर्णय गर्नुहोस् भनेर हामी निष्कपट हृदय भएकाहरूलाई निमन्त्रणा दिन्छौं। यस्तो महत्त्वपूर्ण निर्णय बिर्सेर पनि सुनेको भरमा गर्नु हुँदैन। यहोवाका साक्षीहरूका शिक्षाहरू आफै जाँचबुझ गरेर हेर्ने अनेक व्यक्तिहरूले धेरै फाइदा उठाएका छन्।
सत्यको ज्ञानले डर हटाउँछ
उदाहरणका लागि, ऊक्खेन्यालाई विचार गर्नुहोस्। तिनी कट्टर क्याथोलिक परिवारमा हुर्केकी थिइन्। सन् १९७९ मा पोप मेक्सिको भ्रमणमा आउँदा, प्रबन्धकहरूमध्ये तिनका बुबा पनि एक थिए। आफ्ना सखीहरूसँग भेटघाट गर्ने क्रममा ऊक्खेन्याले यहोवाका साक्षीहरू भेटिन्। तिनीहरूको मदतद्वारा उनले बाइबलका कुराहरू निकै ध्यानपूर्वक विश्लेषण गर्न थालिन्। उनी यसरी स्मरण गर्छिन्: “सुरुमा त निकै डर लाग्यो। मैले सत्य पाएँ! तर मैले सत्य पाउनुको मतलब मानिआएका अधिकांश विश्वासहरू गलत थिए। आँखाको नानीजस्ता मेरो परिवार तथा साथीहरू सबैका विश्वासहरू गलत थिए। म हड्बडाएँ। मैले भर्खरै सिकेका कुराप्रति परिवारले कस्तो प्रतिक्रिया जनाउला भन्ने प्रश्नहरू मनमा खेल्नथाल्यो। यहोवाको मदत पाएर समयको क्रममा मलाई व्याकुल बनाउने परिस्थिति साधारण लाग्नथाल्यो। एकदिन एक जना पारिवारिक मित्रसँग आफ्नो आन्तरिक भावनाहरू पोख्ने निधो गरें। तिनी धर्मविज्ञानका प्राध्यापक थिए। सत्य के हो, म जान्न चाहन्छु भनेर तिनलाई बताएँ। तब तिनले यसो भने, ‘तपाईं सत्य जान्न चाहनुहुन्छ भने यहोवाका साक्षीहरूलाई खोज्नुहोस्।’ ”
ऊक्खेन्यालाई जुन कुराको डर थियो आखिर त्यही भयो। परिवारले तिनलाई घरबाट निकाले। तथापि, साक्षीहरूले तिनलाई आध्यात्मिक मदत दिइरहे। तिनी यसो भन्छिन्: “मैले सत्यको निम्ति अडान लिने बल पाएँ। सत्यको निम्ति संघर्ष गर्नु मूल्यवान् कुरा हो भनेर सम्झें। यहोवाका साक्षीहरूबीच आत्मीयता महसुस गर्नु मेरोलागि साह्रै महत्त्वपूर्ण कुरा भयो। मैले मसीही मण्डलीमा प्रेम पाएको महसुस गरें। परमेश्वरको संगठनसित घनिष्ठ सम्बन्ध गाँस्न थालेपछि परिवारमा एक्लैले सत्यको निम्ति अडान लिनुपर्ने डर चटक्क हरायो।”
अर्को उदाहरण विचार गर्नुहोस्। साब्रिना दिनहुँ बाइबल छलफल गर्ने परिवारमा हुर्केकी थिइन्। भनौं भने, तिनीहरूको एक प्रकारको ‘पारिवारिक धर्म’ नै थियो। विभिन्न धर्मावलम्बीहरूसँग संगत गरेर तिनीहरूका गलत कुराहरूको धज्जी उडाउने बानी नै उनलाई परिसकेको थियो। यहोवाका एक जना साक्षीले बाइबल अध्ययन गर्ने प्रस्ताव राख्दा तिनले सहर्ष स्वीकारिन्। तर तिनले अध्ययन गर्न खोज्नुको उद्देश्य साक्षीहरूको विश्वास खण्डन गर्नु थियो। तिनी सम्झन्छिन्: “एक वर्षभन्दा बढी समयसम्म अध्ययन गरेपछि त ‘मसँग भएको सत्य’ पो गुमाउनुपर्ला कि भन्ने डर लाग्नथाल्यो। मैले हेलमेल गरेका थुप्रै धर्महरूको कपट त सजिलैसँग पर्दाफास गरें तर यहोवाको साक्षीको अगाडि भने मेरो केही लागेन।”
साब्रिनाले डराएर यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्नै छाडिन्। तर त्यसपछि उनले आफूलाई आध्यात्मिकतामा खोक्रो महसुस गर्न थालिन्। उनले फेरि बाइबल अध्ययन सुरु गर्ने निर्णय गरिन् र अन्ततः भर्खरै पाएको सत्य स्वीकारिन्। साब्रिनाले यति धेरै प्रगति गरिन् कि उनी आफूले सिकेका कुरा अरूलाई बताउन चाहन्थिन्। उनले घर-घरको सेवकाईमा जान्छु भनेर साक्षीहरूलाई अनुरोधसमेत गरिन्। साब्रिना यसो भन्छिन्: “यहोवाका साक्षीहरूसँग प्रचारमा जाने स्वीकृति पाउनुअघि मलाई यस्तो प्रश्न सोधियो: ‘के तपाईं साँच्चै यहोवाका साक्षी बन्न चाहनुहुन्छ?’ ‘अहँ, चाहन्न!’ मैले जवाफ दिएँ। मलाई फेरि डर लाग्नथाल्यो।” सबै सभाहरूमा नियमित उपस्थित हुनुका साथै परमेश्वरका जनहरू तथा तिनीहरू कसरी बाइबलका सिद्धान्तहरू जीवनमा उतार्छन् भनेर हेरेपछि साब्रिना अन्ततः सत्य यही हो भन्ने निष्कर्षमा पुगिन्। उनले बप्तिस्मा लिइन् र अहिले पूर्ण-समय सुसमाचारक छिन्।
किन भिन्नै छ त?
कसै कसैले यस्तो प्रश्न सोध्न सक्छन्, ‘यहोवाका साक्षीहरूका शिक्षाहरूका धार्मिक शिक्षाभन्दा किन भिन्नै छ त?’ यहोवाका साक्षीहरू के विश्वास गर्छन्, एकचोटि सरसरती नियाल्नुभयो भने तपाईंले तिनीहरू निष्कपट मसीहीहरू र बाइबलका समझदार विद्यार्थीहरू हुन् भनी चिन्नुहुनेछ। तिनीहरूका आधारभूत विश्वासबारे माथि प्रस्तुत जानकारी हेर्ने र बाइबल पदहरू पढ्ने प्रोत्साहन दिन्छौं।
यहोवाका साक्षीहरू के विश्वास गर्छन् अनि तिनीहरू बाइबलका शिक्षाहरू कसरी पालन गर्छन्, नियालेर हेर्नुभयो भने तपाईं सत्यले दिने स्वतन्त्रता प्राप्त गर्न सक्नुहुन्छ। (यूहन्ना १७:१७) सत्यसित डराउनु पर्ने कारणै छैन। येशूको प्रतिज्ञा सम्झनुहोस्: “तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”—यूहन्ना ८:३२.
[पृष्ठ ८-मा भएको पेटी]
यहोवाका साक्षीहरूका केही आधारभूत विश्वासहरू
◯ यहोवा सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ। उहाँको नाउँ बाइबलको सबैभन्दा पुरानो हस्तलिपिमा ७,००० पटकभन्दा बढी प्रयोग गरिएका छन्।—भजन ८३:१८, NW.
◯ येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ। उहाँ मानिसजातिको निम्ति आफ्नो जीवन अर्पण गर्न यस संसारमा आउनुभयो। (यूहन्ना ३:१६, १७) यहोवाका साक्षीहरू सुसमाचारका पुस्तकमा लिपिबद्ध येशू ख्रीष्टका शिक्षाहरू पालन गर्छन्।
◯ यहोवाका साक्षीहरू भन्ने नाउँ यशैया ४३:१० मा आधारित हो। त्यहाँ यसो भनिएको छ: “परमप्रभु भन्नुहुन्छ, ‘तिमीहरू मेरा साक्षी . . . हौ।’ ”
◯ मानिसहरूले “स्वर्गमा बस्ने पिता” भनेर प्रार्थना गर्ने परमेश्वरको राज्य, स्वर्गीय सरकार हो। यसले अब चाँडै संसारका दुःखकष्ट र पीडा हटाएर बाइबलले प्रतिज्ञा गरेको प्रमोदवन ल्याउनेछ।—यशैया ९:६, ७; दानियल २:४४; मत्ती ६:९, १०; प्रकाश २१:३, ४.
◯ परमेश्वरको इच्छा गर्ने हरेकले उहाँको राज्यले ल्याउने आशिष्हरूको आनन्द सधैंभरि उठाउने मौका पाउनेछन्।—यूहन्ना १७:३; १ यूहन्ना २:१७.
◯ मसीहीहरूले आफ्नो जीवन बाइबलको शिक्षाअनुरूप ढाल्नैपर्छ। तिनीहरूले इमानदार हुने, शुद्ध नैतिक जीवन बिताउने र आफ्ना छिमेकीहरूप्रति प्रेम प्रदर्शित गर्ने हर प्रयास गर्नैपर्छ।—मत्ती २२:३९; यूहन्ना १३:३५; १ कोरिन्थी ६:९, १०.
[पृष्ठ ५-मा भएको चित्र]
यहोवाका साक्षीहरूले २०० भन्दा बढी मुलुकका मानिसहरूलाई बाइबलका सत्य कुरा परिचित गराएका छन्