प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 अगस्त pp. १४-१९
  • ‘सत्यमा हिँडिरहो’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘सत्यमा हिँडिरहो’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी किन “सत्य”-लाई प्रेम गर्छौँ?
  • सत्यलाई प्रेम गरेको हामी कसरी देखाउन सक्छौँ?
  • “म तपाईँको सत्यको मार्गमा हिँड्‌नेछु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • सत्य किन खोज्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सत्यका परमेश्‍वरको देखासिकी गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 अगस्त pp. १४-१९

अध्ययन लेख ३४

‘सत्यमा हिँडिरहो’

‘सत्यमा हिँडिरहो।’—३ युह. ४.

गीत १११ हामी आनन्दित हुनुको कारण

परिचयa

१. “सत्यमा” कसरी आयौँ भनेर कुराकानी गर्दा हामीलाई कस्तो लाभ हुन्छ?

“तपाईँ कसरी सत्यमा आउनुभयो?” सायद अरूले तपाईँलाई यो प्रश्‍न धेरै चोटि सोधेका छन्‌ होला। कुनै भाइबहिनीसित चिनजान गर्दा हामी प्रायजसो सुरुमा यही प्रश्‍न सोध्ने गर्छौँ। तिनले कसरी यहोवालाई चिने र उहाँलाई प्रेम गर्न थाले भनेर सुन्दा हामी प्रोत्साहन पाउँछौँ। अनि सत्यले गर्दा आफूलाई कस्तो लाभ भएको छ भनेर बताउन पाउँदा हामीलाई खुसी लाग्छ। (रोमी १:११) यसरी कुराकानी गर्दा सत्य साँच्चै कत्ति बहुमूल्य छ भनेर सम्झने मौका पाउँछौँ। साथै ‘सत्यमा हिँडिरहने’ अर्थात्‌ यहोवाको आशिष्‌ र अनुमोदन पाउने तरिकामा जीवन बिताइरहने हाम्रो सङ्‌कल्प पनि अझ बलियो हुन्छ।—३ युह. ४.

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ यस लेखमा हामीले सत्यलाई प्रेम गर्नुका केही कारण छलफल गर्नेछौँ। साथै यहोवाले उपहारस्वरूप दिनुभएको सत्यलाई प्रेम गरेको हामी कसरी देखाइरहन सक्छौँ, त्यसबारे पनि विचार गर्नेछौँ। यसरी छलफल गर्दा हामीलाई सत्यतर्फ खिच्न यहोवाले जे गर्नुभयो, त्यसप्रति अझ कृतज्ञ हुन सक्नेछौँ। (युह. ६:४४) साथै यो सत्य अरूलाई बाँड्‌न अझै इच्छुक हुनेछौँ।

हामी किन “सत्य”-लाई प्रेम गर्छौँ?

३. हामीले सत्यलाई प्रेम गर्नुको सबैभन्दा महत्त्वपूर्ण कारण के हो?

३ हामीले सत्यलाई प्रेम गर्नुका थुप्रै कारण छन्‌। सबैभन्दा महत्त्वपूर्ण कारण हामी सत्यको स्रोत यहोवा परमेश्‍वरलाई प्रेम गर्छौँ। हामीले परमेश्‍वरको वचन बाइबलमार्फत उहाँ स्वर्ग र पृथ्वीका शक्‍तिशाली सृष्टिकर्ता हुनुहुन्छ भनेर मात्र होइन, हाम्रो असाध्यै ख्याल गर्ने मायालु बुबा हुनुहुन्छ भनेर पनि चिन्‍न सकेका छौँ। (१ पत्रु. ५:७) उहाँ ‘कृपालु र दयालु हुनुहुन्छ, हतपती रिसाउनुहुन्‍न अनि अटल प्रेम र सत्यले भरिपूर्ण हुनुहुन्छ।’ (प्रस्थ. ३४:६) उहाँ न्यायलाई प्रेम गर्नुहुन्छ। (यसै. ६१:८) हामीले दुःख भोगेको देख्दा उहाँलाई पनि दुःख लाग्छ। यहोवाले आफूले तोकेको समयमा सबै दुःखकष्टको अन्त गर्नुहुनेछ र यसको लागि उहाँ तयार मात्र होइन, इच्छुक पनि हुनुहुन्छ। (यर्मि. २९:११) हामी त्यस समयको प्रतीक्षामा छौँ।

तस्बिरहरूको सँगालो: लङ्‌गरको चिन्ह। १. डाँडा, हराभरा बेँसी र बगिरहेको नदी भएको प्रमोदवनको दृश्‍य। २. एक बहिनी एक महिलालाई साक्षी दिँदै छिन्‌।

बाइबल सत्य लङ्‌गरजस्तै हो

आँधी आउँदा लङ्‌गरले डुङ्‌गालाई स्थिर रहन मदत गरेझैँ बाइबलको आशाले हामीलाई परीक्षाहरू आइपर्दा स्थिर रहन मदत गर्छ। बाइबल सत्यले हामीलाई भविष्यको आशा अरूसित बाँड्‌न पनि उत्प्रेरित गर्छ (अनुच्छेद ४-७ हेर्नुहोस्‌)

४-५. प्रेषित पावलले हाम्रो आशालाई किन लङ्‌गरसित तुलना गरे?

४ हामीले सत्यलाई प्रेम गर्नुको अर्को कारण के हो? सत्यले गर्दा हामीलाई धेरै लाभ हुन्छ। एउटा उदाहरण विचार गरौँ। बाइबल सत्यमा हाम्रो भविष्यको आशा पनि समावेश छ। प्रेषित पावलले यस आशाको महत्त्वबारे यस्तो लेखे: “यो आशा हाम्रो जीवनको लङ्‌गर हो अनि यो पक्का र अटल छ।” (हिब्रू ६:१९) लङ्‌गरले आँधी आउँदा डुङ्‌गालाई स्थिर रहन मदत गरेजस्तै बाइबलले दिएको आशाले हामीलाई जीवनमा जस्तोसुकै परीक्षा आइपरे तापनि विश्‍वासमा स्थिर रहन मदत गर्छ।

५ यस पदको प्रसङ्‌ग हेर्ने हो भने पावलले स्वर्गीय आशाबारे कुरा गर्दै थिए, जुन आशाको अभिषिक्‍त ख्रिष्टियनहरू निकै मोल गर्छन्‌। तर तिनका शब्दहरू पृथ्वीमा सधैँभरि जीवन बिताउने आशा पाएका ख्रिष्टियनहरूलाई पनि लागू हुन्छ। (युह. ३:१६) हो, अनन्त जीवनको आशाबारे सिकेकोले हाम्रो जीवन अझ अर्थपूर्ण भएको छ।

६-७. भविष्यको आशाबारे थाह पाउँदा इभोन बहिनीलाई कस्तो लाभ भएको छ?

६ इभोन बहिनीको अनुभव विचार गरौँ। तिनी सत्यमा हुर्केकी थिइनन्‌ र सानो छँदा तिनलाई मृत्युदेखि असाध्यै डर लाग्थ्यो। एउटा किताबमा पढेका यी शब्दहरू तिनलाई अझै याद छ: “कुनै दिन भोलि भन्‍ने कुरा देख्नै पाइने छैन।” तिनी भन्छिन्‌: “भविष्यबारे सोच्दा-सोच्दा राती निद्रै लाग्दैनथ्यो। जीवन यति मात्रै त होइन होला जस्तो लाग्थ्यो। म यहाँ किन छु भन्‍ने प्रश्‍न पनि उठ्‌थ्यो। म मर्न चाहन्‍नथेँ!”

७ इभोन किशोरावस्थामा पुगेपछि यहोवाका साक्षीहरूसित तिनको भेट भयो। तिनी यसो भन्छिन्‌: “मैले सुन्दर पृथ्वीमा सधैँभरि बाँच्न पाउने आशामा विश्‍वास गर्न सकेँ।” सत्य थाह पाउँदा तिनलाई कस्तो लाभ भएको छ? तिनी भन्छिन्‌: “मलाई अहिले भविष्यको वा मृत्युको डर नभएकोले मीठो निद्रा लाग्छ।” इभोनको कुराबाट तिनी सत्यलाई कत्ति बहुमूल्य ठान्छिन्‌ भन्‍ने कुरा बुझ्न सक्छौँ अनि भविष्यको आशाबारे अरूलाई बताउन पाउँदा तिनी निकै सन्तुष्ट महसुस गर्छिन्‌।—१ तिमो. ४:१६.

तस्बिरहरूको सँगालो: हिराको चिन्ह। १. डाँडा, हराभरा बेँसी र बगिरहेको नदी भएको प्रमोदवनको दृश्‍य। २. एक पुरुष पुरस्कारहरूले भरिएको बाकस थन्काउँदै छन्‌।

बाइबल सत्य लुकाइराखेको धनजस्तै हो

अहिले अनि परमेश्‍वरको राज्यमा सधैँभरि यहोवाको सेवा गर्ने सुअवसर बहुमूल्य धनजस्तै हो। यस्तो सुअवसरको तुलनामा हामीले गर्ने त्याग केही पनि होइन (अनुच्छेद ८-११ हेर्नुहोस्‌)

८-९. (क) येसुको उदाहरणको मानिसले आफूले भेट्टाएको धनलाई बहुमूल्य ठानेको कसरी देखायो? (ख) तपाईँलाई सत्य कत्तिको बहुमूल्य लाग्छ?

८ बाइबल सत्यमा परमेश्‍वरको राज्यको सुसमाचार पनि समावेश छ। येसुले राज्यसम्बन्धी सत्यलाई लुकाइराखेको धनसित तुलना गर्नुभयो। मत्ति १३:४४ मा उहाँले यसो भन्‍नुभयो: “स्वर्गको राज्य खेतमा लुकाइराखेको धनजस्तो हो, जुन एक जना मानिसले फेला पारेर लुकाउँछ अनि ऊ खुसी हुँदै जान्छ र आफूसित भएको सबै थोक बेचेर त्यो खेत किन्छ।” यो कुरा याद गर्नुहोस्‌, त्यस मानिसले धन खोजिरहेको थिएन। तर त्यो धन भेट्टाएपछि त्यो प्राप्त गर्न उसले ठूलो त्याग गऱ्‍यो; उसले आफूसित भएको सबै कुरा बेच्यो। किनकि त्यो धन कत्ति बहुमूल्य छ भनेर उसलाई थाह थियो। त्यो धन उसले त्यागेका कुराहरूभन्दा कता हो कता बहुमूल्य थियो।

९ के तपाईँलाई पनि सत्य बहुमूल्य लाग्छ? पक्कै लाग्छ! यहोवाको सेवा गर्दा पाइने आनन्द संसारको कुनै पनि कुराले दिन सक्दैन किनकि उहाँको सेवा गर्दा हामीले अनन्त जीवनको आशा पाउँछौँ। यहोवासित व्यक्‍तिगत सम्बन्ध गाँस्न पाउने सुअवसरको तुलनामा हामीले गर्ने त्याग केही पनि होइन। उहाँलाई “पूर्ण रूपले प्रसन्‍न” तुल्याउन पाउनु नै हाम्रो लागि सबैभन्दा ठूलो आनन्दको कुरा हो।—कल. १:१०.

१०-११. माइकललाई जीवनमा ठूलो परिवर्तन गर्न केले उत्प्रेरित गऱ्‍यो?

१० हामीमध्ये थुप्रैले यहोवाको अनुमोदन पाउन धेरै कुरा त्यागेका छौँ। केहीले लोभलाग्दो करिअर त्यागेका छन्‌। केहीले भने धनसम्पत्तिको लागि दौडधूप गर्न छोडेका छन्‌। कसै-कसैले भने यहोवाबारे सिकेपछि आफ्नो जीवनशैली पूरै परिवर्तन गरेका छन्‌। भाइ माइकलले पनि त्यस्तै गरे। तिनी सत्यमा हुर्केका थिएनन्‌। जवान छँदा तिनले कराँते सिकेका थिए। तिनी भन्छन्‌: “म आफ्नो शरीरलाई फिट राख्न धेरै मेहनत गर्थेँ। मलाई कसैले हराउन सक्दैन जस्तो लाग्थ्यो।” तर बाइबल अध्ययन गर्न थालेपछि यहोवालाई हिंसा मन पर्दैन भनेर तिनले बुझे। (भज. ११:५) आफूलाई बाइबल अध्ययन गराउने साक्षी दम्पतीबारे तिनी यसो भन्छन्‌: “उहाँहरूले मलाई कराँते छोड्‌न कहिल्यै कर गर्नुभएन बरु बाइबल सत्य राम्रोसँग सिकाइरहनुभयो।”

११ यहोवाबारे सिक्दै जाँदा उहाँप्रतिको तिनको प्रेम पनि बढ्‌दै गयो। विशेषगरि यहोवाले आफ्ना उपासकहरूलाई देखाइरहनुभएको अनुकम्पाले तिनको मन छोयो। पछि माइकलले आफ्नो जीवनमा ठूलो परिवर्तन गर्नुपर्छ भनेर महसुस गरे। तिनी भन्छन्‌: “कराँते छोड्‌ने निर्णय मेरो जीवनको सबैभन्दा गाह्रो निर्णय थियो। तर यसो गर्दा यहोवा खुसी हुनुहुनेछ भनेर मलाई थाह थियो। उहाँको लागि गर्ने कुनै पनि त्याग खेर जानेछैन भनेर पनि मैले बुझेँ।” माइकलले आफूले भेट्टाएको सत्यको मोल गरे र तिनी जीवनमा ठूलो परिवर्तन गर्न उत्प्रेरित भए।—याकु. १:२५.

तस्बिरहरूको सँगालो: बत्तीको चिन्ह। १. डाँडा, हराभरा बेँसी र बगिरहेको नदी भएको प्रमोदवनको दृश्‍य। २. एक युवती बाइबलमा पढेको कुरा मनन गर्दै छिन्‌।

बाइबल सत्य बत्तीजस्तै हो

चहकिलो बत्तीले अँध्यारोमा बाटो पहिल्याउन मदत गरेझैँ परमेश्‍वरको वचनले सैतानको अन्धकारमय संसारमा सही बाटो भेट्टाउन मदत गर्छ (अनुच्छेद १२-१३ हेर्नुहोस्‌)

१२-१३. मेलीले बाइबल सत्यबाट कस्तो लाभ उठाइन्‌?

१२ सत्यको महत्त्व बुझाउन बाइबलमा सत्यलाई अँध्यारोमा उज्यालो दिने बत्तीसित तुलना गरिएको छ। (भज. ११९:१०५; एफि. ५:८) अजरबैजानमा बस्ने मेली परमेश्‍वरको वचनबाट सिकेका कुराहरूको गहिरो मोल गर्छिन्‌। तिनको बुबा र आमाको धर्म फरक-फरक थियो। तिनको बुबा मुस्लिम थिए भने आमाचाहिँ यहुदी थिइन्‌। तिनी यसो भन्छिन्‌: “हुन त परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा मलाई कुनै शङ्‌का थिएन। तर मनमा अनेक प्रश्‍नहरू पनि थिए। म सोच्थेँ: ‘परमेश्‍वरले मानिसहरूलाई किन सृष्टि गर्नुभयो? यस पृथ्वीमा जीवनभर दुःख पाएर पनि सधैँका लागि नरकमा सास्ती भोग्नुपर्छ भने जिउनुको अर्थ नै छैन।’ यो सब परमेश्‍वरकै इच्छा हो भनेर मानिसहरू भन्थे। त्यसैले मलाई लाग्थ्यो: ‘के परमेश्‍वर आफैले मानिसहरूलाई दुःख दिने अनि मानिसहरूले दुःख पाएको हेर्दै रमाउने व्यक्‍ति हुनुहोला र?’”

१३ मेलीले आफ्नो मनमा उठेका प्रश्‍नहरूको जवाफ खोजिरहिन्‌। पछि तिनले बाइबल अध्ययन गर्न थालिन्‌ र सत्यमा आइन्‌। तिनी यसो भन्छिन्‌: “बाइबलको चित्तबुझ्दो र भरपर्दो जवाफले मलाई जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न मदत गरेको छ। अनि मैले भित्री शान्ति पनि अनुभव गर्न सकेकी छु।” मेलीजस्तै हामी पनि “अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा” ल्याउनुहुने यहोवाको प्रशंसा गर्छौँ।—१ पत्रु. २:९.

१४. सत्यप्रतिको प्रेम कसरी बढाउँदै लैजान सक्छौँ? (“थप तुलना” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१४ बाइबलमा सत्य कत्ति बहुमूल्य छ भनेर बुझाउन यसलाई लङ्‌गर, लुकाइराखेको धन र बत्तीसित मात्र नभई अरू कुरासित पनि तुलना गरिएको छ। सायद तपाईँ अरू तुलनाहरू पनि सम्झनुहुन्छ होला। आफ्नो व्यक्‍तिगत अध्ययनमा सत्यलाई प्रेम गर्नुपर्ने अरू कारणबारे पनि अनुसन्धान गर्नुभए कसो होला? सत्यप्रतिको हाम्रो प्रेम जत्ति बढ्‌दै जान्छ, त्यो हाम्रो व्यवहारमा पनि त्यत्ति नै देखिनेछ।

खुला बाइबल।

थप तुलना

यस लेखमा “सत्य”-लाई लङ्‌गर, लुकाइराखेको धन र बत्तीसित तुलना गरिएको छ। यसलाई अरू कुराहरूसित पनि तुलना गर्न सकिन्छ। जस्तै:

  • ऐना।

    बाइबल सत्य ऐनाजस्तै हो। बाइबलको अध्ययन गर्दा आफू वास्तवमा कस्तो व्यक्‍ति हुँ र आफूले कुन-कुन क्षेत्रमा सुधार गर्नुपर्छ भनेर देख्न सक्छौँ।—याकु. १:२२-२५

  • पानीको थोपा।

    उखुम गर्मीमा चिसो पानीले स्फूर्ति दिएझैँ बाइबल सत्यको पानीले आध्यात्मिक खडेरी लागेको संसारमा हामीलाई स्फूर्ति दिन्छ।—भज. २३:२, ३

सत्यलाई प्रेम गरेको हामी कसरी देखाउन सक्छौँ?

१५. सत्यलाई प्रेम गरेको देखाउने एउटा तरिका के हो?

१५ बाइबल अनि बाइबलआधारित प्रकाशनहरू नियमित रूपमा अध्ययन गरेर हामी सत्यलाई प्रेम गरेको देखाउन सक्छौँ। हामी सत्यमा आएको जति नै लामो समय भए तापनि सिक्ने काम कहिल्यै सिद्धिँदैन। यस पत्रिकाको पहिलो अङ्‌कमा यस्तो भनिएको थियो: “सत्य भनेको जङ्‌गलका काँडा अनि झारपातको बीचमा फुलेको सानो फूलजस्तै हो। वरपरको काँडा अनि झारपातले त्यो फूललाई निसासिने गरी ढाकेझैँ झूटा कुराहरूले सत्यलाई लगभग पूरै ढाकेको हुन्छ। सत्य फेला पार्न तपाईँ सधैँ चनाखो रहनुपर्छ। . . . सत्य प्राप्त गर्न चाहनुहुन्छ भने नम्र हुनुहोस्‌। सत्यको एउटा फूल पाएपछि त्यसैमा चित्त बुझाएर नबस्नुहोस्‌। . . . जम्मा गरिरहनुहोस्‌, खोजिरहनुहोस्‌।” हो, अध्ययन गर्न धेरै मेहनत गर्नुपर्छ तर यस्तो प्रयास खेर जाँदैन।

१६. तपाईँले अध्ययन गर्ने कस्तो तरिका प्रभावकारी पाउनुभएको छ? (हितोपदेश २:४-६)

१६ हामीमध्ये सबैलाई पढ्‌न र अध्ययन गर्न रमाइलो नलाग्न सक्छ। तर बाइबल सत्य गहिरिएर बुझ्न यहोवाले हामीलाई त्यो ‘खोजिरहन’ र ‘खनिरहन’ आग्रह गर्नुभएको छ। (हितोपदेश २:४-६ पढ्‌नुहोस्‌।) हामीले यस्तो प्रयास गर्दा पक्कै पनि धेरै लाभ उठाउनेछौँ। भाइ कोरी व्यक्‍तिगत बाइबल पढाइमा हरेक पदबारे गहिरो अध्ययन गर्छन्‌। तिनी भन्छन्‌: “म हरेक फुटनोट पढ्‌छु, मार्जिनल रेफरेन्समा भएको एक-एक पद हेर्छु अनि थप अनुसन्धान पनि गर्छु। . . . यसरी अध्ययन गर्दा मैले थुप्रै कुरा सिकेको छु।” हामीले अध्ययनको लागि यो वा अन्य जुनसुकै तरिका लागू गरे पनि लगनशील भई अध्ययन गऱ्‍यौँ भने हामीले सत्यको मोल गरिरहेका हुन्छौँ।—भज. १:१-३.

१७. सत्यअनुरूप जिउनु भनेको के हो? (याकुब १:२५)

१७ तर बाइबल सत्यबारे अध्ययन गर्नु मात्र पर्याप्त छैन। यसबाट पूरापूर लाभ उठाउन सत्यअनुरूप जिउनुपर्छ अर्थात्‌ सिकेको कुरा जीवनमा लागू गर्नुपर्छ। तब मात्र हामीले साँचो आनन्द पाउन सक्नेछौँ। (याकुब १:२५ पढ्‌नुहोस्‌।) सत्यअनुरूप जीवन बिताइरहेका छौँ कि छैनौँ भनेर थाह पाउन हामी के गर्न सक्छौँ? हामीले के-कस्ता क्षेत्रमा राम्रो गरिरहेका छौँ अनि के-कस्ता क्षेत्रमा प्रगति गर्नुपर्छ भनेर जाँच्न एक भाइ सुझाव दिन्छन्‌। प्रेषित पावलले यस्तो लेखे: “हामीले जुन हदसम्म प्रगति गरिसकेका छौँ, त्यहीबमोजिम व्यवस्थित ढङ्‌गमा अघि बढिरहौँ।”—फिलि. ३:१६.

१८. हामी किन ‘सत्यमा हिँडिरहन’ सक्दो प्रयास गर्छौँ?

१८ ‘सत्यमा हिँडिरहन’ सक्दो प्रयास गर्दा कस्तो लाभ हुन्छ, सोच्नुहोस्‌! यसो गर्दा हामी एक जना असल मानिस बन्छौँ। साथै हामीले यहोवा र अरू भाइबहिनीलाई खुसी पनि बनाइरहेका हुन्छौँ। (हितो. २७:११; ३ युह. ४) सत्यलाई प्रेम गर्नुपर्ने र सत्यअनुरूप जिउनुपर्ने योभन्दा ठूलो कारण अरू कुनै छ र?

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • हामी किन “सत्य”-लाई प्रेम गर्छौँ?

  • हामी सत्यप्रतिको प्रेम कसरी बढाउन सक्छौँ?

  • सत्यलाई प्रेम गरेको हामी कसरी देखाउन सक्छौँ?

गीत १४४ इनाममा दृष्टि राखौँ!

a हामी अक्सर हाम्रो विश्‍वास र जीवनशैलीलाई “सत्य” भन्‍ने गर्छौँ। हामी भर्खरै सत्यमा आएका होऔँ वा वर्षौँअघि, आफूले सत्यलाई प्रेम गर्नुको कारणबारे विचार गर्दा हामी धेरै लाभ उठाउन सक्छौँ। यसरी विचार गर्दा यहोवाको अनुमोदन पाउने हाम्रो सङ्‌कल्प अझ बलियो हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने