प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ११/१ pp. ८-१३
  • के तपाईंको काम आगोबाट बच्नेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंको काम आगोबाट बच्नेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सही जग बसाल्ने
  • सही सामग्रीहरूद्वारा निर्माण गर्ने
  • के तपाईंको काम आगोबाट बच्नेछ?
  • को जिम्मेवार छ?
  • आफ्ना छोरा-छोरीमा मसीही व्यक्‍तित्वको विकाश गराउनु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • यहोवाको नजिक हुन मानिसहरूलाई मदत गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • आफ्नो मुक्‍तिको काम पूरा गर्दै जानुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ११/१ pp. ८-१३

के तपाईंको काम आगोबाट बच्नेछ?

“हरेक मानिसले ध्यान देओस्‌ आफैले [ जगमा] कसरी बनाउँदैलान्छ।”—१ कोरिन्थी ३:१०.

१. सम्भाव्य चेलाहरूबारे विश्‍वासी मसीहीहरू के आशा गर्छन्‌?

मसीही दम्पती आफ्नो नवजात शिशुलाई टोलाएर हेर्छन्‌। परमेश्‍वरको राज्य प्रचारक बाइबल विद्यार्थीको अनुहारमा उत्सुकता र चासोका रेखाहरू देख्छन्‌। मसीही प्राचीन, मञ्चबाट शिक्षा दिंदा श्रोताहरूमाझ एक नव जिज्ञासुले उत्सुकतासाथ बाइबलमा शास्त्रपदहरू पल्टाइरहेको देख्छन्‌। यहोवाका यी विश्‍वासी सेवकहरूको हृदय आशाले भरिएका छन्‌। स्वाभाविकतः तिनीहरू सोच्छन्‌, ‘के यो व्यक्‍तिले यहोवालाई प्रेम गरेर उहाँको सेवा गर्ला? अनि के पछिसम्म विश्‍वासी रहिरहला?’ निस्सन्देह, कोही पनि स्वतः विश्‍वासी बन्‍नसक्दैन। यसको निम्ति परिश्रम गर्नुपर्छ।

२. प्रेरित पावलले हिब्रू मसीहीहरूलाई शिक्षण कार्यको महत्त्व कसरी स्मरण गराए अनि यसले हामीलाई कस्तो आत्मपरीक्षण गर्न उत्प्रेरित गर्नसक्छ?

२ प्रेरित पावल निपुण शिक्षक थिए। सिकाउने र चेला बनाउने कामको महत्त्वमाथि जोड दिंदै तिनले लेखे: “यतिका समयसम्म ता तिमीहरू शिक्षक होइसक्नुपर्दथियो।” (हिब्रू ५:१२) तिनले लामो समयदेखि सच्चाइमा रहेर पनि ज्यादै कम प्रगति गर्ने मसीहीहरूलाई यी कुरा भन्दै थिए। तिनीहरू अरूलाई सिकाउनु त कता हो कता, तिनीहरूलाई नै उल्टो सच्चाइका आधारभूत पक्षहरू सम्झाउनु परिरहेको थियो। आज, हामी सबैले शिक्षकको हैसियतमा बेला बेलामा आफ्ना योग्यताहरू जाँच्नु अनि कसरी उन्‍नति गर्न सकिन्छ भनेर विचार गर्नु बेस हुनेछ। मानिसहरूको जीवन खतरामा छ। हामी के गर्नसक्छौं?

३. (क) प्रेरित पावल मसीही चेला बनाउने काम कुन कुरासँग तुलना गर्छन्‌? (ख) मसीही निर्माणकर्ताको हैसियतमा हामीसँग कस्तो महान्‌ विशेषाधिकार छ?

३ पावलले विस्तृत अर्थ लाग्ने दृष्टान्त चलाएर चेला बनाउने कामलाई घर बनाउने प्रक्रियासँग तुलना गरे। तिनीले यसरी कुरा थाले: “हामी परमेश्‍वरका सहकर्मी हौं, तिमीहरू परमेश्‍वरका खेत, र परमेश्‍वरद्वारा निर्माण भएका घर हौ।” (१ कोरिन्थी ३:९) अतः हामी मानिसहरू निर्माण गर्ने कार्यमा भाग लिन्छौं अर्थात्‌ तिनीहरूलाई ख्रीष्टको चेला बन्‍न मदत दिन्छौं। ‘सबै थोक बनाउनुहुनेको’ सहकर्मीको हैसियतमा हामी यो काम गर्छौं। (हिब्रू ३:४) कस्तो महान्‌ विशेषाधिकार! आउनुहोस्‌, पावलले कोरिन्थीहरूलाई दिएको प्रेरित सल्लाहले हामीलाई आफ्नो काममा अझ दक्ष बन्‍न कसरी मदत गर्नसक्छ, हेरौं। हामी विशेषतः हाम्रो “शिक्षण कला[मा]” ध्यान दिनेछौं।—२ तिमोथी ४:२, NW.

सही जग बसाल्ने

४. (क) मसीही निर्माणकार्यमा पावलको कस्तो भूमिका थियो? (ख) येशू र उहाँका श्रोताहरूलाई राम्रो जगको महत्त्व थाह थियो भनेर किन भन्‍न सकिन्छ?

४ मजबुत र टिकाउ घर बनाउन जग पनि बलियो बनाउनुपर्छ। तसर्थ, पावलले यसो लेखे: “मलाई दिएको परमेश्‍वरको अनुग्रहअनुसार एउटा बुद्धिमान घर बनाउने नाइकेले जस्तै मैले जग बसालें।” (१ कोरिन्थी ३:१०) यस्तै दृष्टान्त चलाउनुहुँदै येशू ख्रीष्टले पनि एउटा घरबारे बताउनुभयो। त्यो घरको जग बलियो हुनाले त्यसलाई भलले बगाउन सकेन। (लूका ६:४७-४९) येशूलाई जगको महत्त्व थाह थियो। यहोवाले पृथ्वीको जग बसाल्नुहुँदा उहाँ यहोवासँगै हुनुहुन्थ्यो।a (हितोपदेश ८:२९-३१) येशूका श्रोताहरूलाई पनि बलियो जगको महत्त्व थाह थियो। प्यालेस्टाइनमा कहिलेकाहीं आउने भल अनि भूइँचालोमा बलियो जग भएका घरहरू मात्र टिक्नसक्थे। तथापि, पावलले कुन जगबारे भनिरहेका थिए?

५. मसीही मण्डलीको जग को हुनुहुन्छ अनि यसबारे कसरी भविष्यवाणी गरिएको थियो?

५ पावलले लेखे: “बसालिएको जगबाहेक, जो येशू ख्रीष्टनै हुनुहुन्छ, कुनै मानिसले अर्को जग बसाल्नसक्‍तैन।” (१ कोरिन्थी ३:११) अन्य पदहरूमा पनि येशूलाई जगसँग तुलना गरिएको छ। जस्तै, यशैया २८:१६ मा यस्तो भविष्यवाणी गरिएको थियो: “परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, हेर मैले सियोनमा जगको एउटा ढुङ्‌गो बसालेको छु, एउटा जाँचेको ढुङ्‌गो, एउटा दृढ़ जगको कुनाको बहुमूल्य ढुङ्‌गो।” यहोवाले धेरै समयअघि नै आफ्नो छोरालाई मसीही मण्डलीको जग बनाउने उद्देश्‍य राख्नुभएको थियो।—भजन ११८:२२; एफिसी २:१९-२२; १ पत्रुस २:४-६.

६. पावलले कोरिन्थीका मसीहीहरूमा कसरी सही जग बसाले?

६ मसीहीहरूको जग चाहिं के हो त? पावलअनुसार परमेश्‍वरको वचनमा बताइएको जग अर्थात्‌ येशू ख्रीष्ट नै साँचो मसीहीहरूको एक मात्र जग हो। निस्सन्देह, पावलले यस्तै जग बसाले। कोरिन्थीमा दर्शनको असाध्यै कदर गरिन्थ्यो। तर तिनले मानिसहरूलाई सांसारिक ज्ञानद्वारा प्रभावित पार्न खोजेनन्‌। बरु, पावलले अन्यजातिहरूले “मूर्खता” ठान्‍ने “क्रूसमा टाँगिनुभएको ख्रीष्टको प्रचार” गरे। (१ कोरिन्थी १:२३) यहोवाको उद्देश्‍य पूर्ती गर्न प्रमुख भूमिका खेल्नुहुने व्यक्‍ति येशू हुनुहुन्छ भनेर पावलले सिकाए।—२ कोरिन्थी १:२०; कलस्सी २:२, ३.

७. पावलले आफूलाई “बुद्धिमान घर बनाउने नाइकेले” भनेको कुराबाट हामी के सिक्नसक्छौं?

७ पावलले “एउटा बुद्धिमान घर बनाउने नाइकेले” जस्तैगरि सिकाएँ भनेर बताए। तिनले यसो भनेर घमण्ड गरेका होइनन्‌। बरु, यहोवाले दिनुभएको अदभूत वरदान अर्थात्‌ कामको व्यवस्था मिलाउने अथवा निर्देशन दिने जिम्मेवारी स्वीकारेको मात्र हुँ भन्‍न खोजेका हुन्‌। (१ कोरिन्थी १२:२८) हो, प्रथम शताब्दीका मसीहीहरूसित जस्तो चमत्कारहरू गर्ने वरदान हामीसित छैन। अनि हामी आफूलाई निपुण शिक्षक पनि ठान्दैनौं होला। तर एउटा महत्त्वपूर्ण अर्थमा हामी निपुण शिक्षक हौं। यसो विचार गर्नुहोस्‌: हामीलाई मदत गर्न यहोवाले पवित्र आत्मा दिनुहुन्छ। (लूका १२:११, १२ तुलना गर्नुहोस्‌।) अनि हामीसँग यहोवाको प्रेम र उहाँको वचनको आधारभूत शिक्षाको ज्ञान पनि छ। यी सबै अरूलाई सिकाउनको निम्ति साँच्चै अद्‌भुत वरदान हुन्‌। आउनुहोस्‌, सही जग बसाल्न यसलाई प्रयोग गर्ने संकल्प गरौं।

८. हामी सम्भाव्य चेलाहरूमाथि कसरी येशूको जग बसाल्छौं?

८ डूँडमा राखिएको असहाय बालक वा यहोवा जत्तिकै बराबर त्रिएक परमेश्‍वर सम्झेर हामी येशूलाई आफ्नो जग बनाउँदैनौं। यस्ता गैरशास्त्रीय सिद्धान्तहरू स्वीकारेर नक्कली मसीहीहरूले पो जग बसाल्छन्‌। बरु, उहाँ आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष हुनुहुन्छ, उहाँले हाम्रो खातिर आफ्नो सिद्ध शरीर बलिदान चढाउनुभयो अनि अहिले उहाँ यहोवाले नियुक्‍त गर्नुभएको राजाको हैसियतमा स्वर्गमा शासन गरिरहनुभएको छ भनेर हामी सिकाउँछौं। (रोमी ५:८; प्रकाश ११:१५) हामी आफ्ना विद्यार्थीहरूलाई येशूको पदचिह्नमा हिंड्‌न र उहाँका गुनहरू पछ्याउन पनि उत्प्रेरित गर्न चाहन्छौं। (१ पत्रुस २:२१) येशूको सेवकाईप्रतिको जोस, शोषित र दुःखीहरूप्रति देखाउनुभएको सहानुभूति, आत्मग्लानिले दबिएका पापीहरूलाई देखाउनुभएको दया अनि परीक्षा आइपर्दा उहाँले देखाउनुभएको अटल साहसद्वारा तिनीहरू प्रेरित होऊन्‌ भन्‍ने चाहन्छौं। साँच्चै, येशू बेजोड जग हुनुहुन्छ। तर निर्माण गर्ने अन्य सामाग्रीहरू के के हुन्‌?

सही सामग्रीहरूद्वारा निर्माण गर्ने

९. पावल मुख्यतः जग बसाल्ने व्यक्‍ति भए तापनि आफूले सिकाएको सत्य स्वीकार्नेहरूप्रति कस्तो चासो राख्थे?

९ पावलले लेखे: “जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थरहरू, काठ, घाँस, परालको घर बनाउँछ भने, हरेक मानिसको काम प्रत्यक्ष हुनेछ। त्यो आगैमा प्रकट हुनेभएको हुनाले त्यसै दिनले त्यसलाई बताउनेछ, र हरेक मानिसको काम कस्तो किसिमको रहेछ भन्‍ने आगैले प्रमाण दिनेछ।” (१ कोरिन्थी ३:१२, १३) पावलले के भन्‍न खोजेका हुन्‌? सो जान्‍न तिनको पृष्ठभूमिलाई विचार गर्नुहोस्‌। पावलले मुख्यतः जग बसाल्ने काम गरे। आफ्नो मिसनरी यात्राका दौडान ख्रीष्टबारे कहिल्यै सुन्दै नसुनेका अनेकौं मानिसहरूलाई प्रचार गर्दै तिनी एक शहरदेखि अर्को शहर जान्थे। (रोमी १५:२०) तिनले सिकाएका सत्य वचन मानिसहरूले स्वीकारेपछि मण्डलीहरू खडा भए। पावलले ती विश्‍वासी मानिसहरूमाथि गहिरो चासो राख्थे। (२ कोरिन्थी ११:२८, २९) तथापि, तिनलाई आफ्नो कामको सिलसिलामा यात्रा गरिरहनुपर्थ्यो। त्यसैकारण त १८ महिना कोरिन्थीमा रहेर मण्डलीको जग बसालेपछि तिनी अन्य शहरहरूमा प्रचार गर्न गए। तैपनि, त्यहाँ आफूले गरेको काममा अरूले कसरी निरन्तरता दिए भनेर तिनी उत्कट चासो राख्थे।—प्रेरित १८:८-११; १ कोरिन्थी ३:६.

१०, ११. (क) पावलले घर निर्माणमा प्रयोग गरिने बेग्लाबेग्लै सामग्रीहरूको भिन्‍नता कसरी देखाए? (ख) प्राचीन कोरिन्थीमा कस्ता घरहरू थिए होलान्‌? (ग) कस्ता घरहरू आगोबाट बच्ने सम्भावना हुन्छ अनि त्यसबाट मसीही चेला बनाउनेहरूले कस्तो व्यवहारिक पाठ सिक्नसक्छन्‌?

१० पावलले कोरिन्थीमा बसालेको जगमाथि निर्माण गर्ने केही व्यक्‍तिहरूले अपरिपक्व काम गरेको जस्तो देखिन्छ। पावल उक्‍त समस्या उदांग पार्न घर निर्माण गर्दा प्रयोग गरिने दुई थरिका सामग्रीहरूको भिन्‍नता देखाउँछन्‌। एक थरिका सामग्रीहरू सुन, चाँदी र बहुमूल्य पत्थरहरू हुन्‌ भने अर्का थरिका सामग्रीहरू काठ, घाँस र पराल। एक किसिमको घर असल, पक्का र आगोले नडढाउने सामग्रीहरूद्वारा बनाउन सकिन्छ भने अर्को किसिमको घर कच्चा, अस्थायी र आगोले खाने सामग्रीहरू प्रयोग गरेर हतारपतार बनाउन पनि सकिन्छ। विशाल कोरिन्थ शहरमा पक्कै पनि यी दुवै प्रकारका घरहरू प्रशस्त थिए। त्यहाँ मूल्यवान्‌ पत्थरहरूद्वारा निर्मित बडे बडेमानका भव्य मन्दिरहरू पनि थिए जसलाई सायद सुन र चाँदीले सिंगारिएको थियो।b ती पक्की घरहरू छाप्रो, झुपडी, टहरो अनि पसलहरू छेवैमा थिए होलान्‌।

११ त्यस्ता घरहरू आगोमा के हुनेथिए? यसको जवाफ अहिले हाम्रो समयमा जति स्पष्ट छ, पावलको समयमा पनि उत्तिकै स्पष्ट थियो। वास्तवमा, सा.यु.पू. १४६ मा रोमी सेनापति ममिअसले कोरिन्थ शहरलाई आफ्नो कब्जामा लिए अनि आगो लगाए। काठ, घाँस र परालका थुप्रै घरहरू स्वाहा भए। सुन र चाँदीले सिंगारिएका पत्थरका पक्की घरहरू नि? निस्सन्देह, ती घरहरूलाई आगोले खाएन। पावलका कोरिन्थवासी विद्यार्थीहरू त्यस्ता घरहरू नजिकैबाट दिनैपिच्छे आवतजावत गर्थे होलान्‌। सायद विनाशबाट बचेका पत्थरका घरहरू ती कच्चा घरहरूसँगसँगै थिए होलान्‌। अतः पावलले कत्ति सजीव दृष्टान्त पेश गरे! अरूलाई सिकाउँदा हामीले आफूलाई निर्माणकर्ता सम्झनुपर्छ। हामी यथासम्भव उत्तम र टिकाउ सामग्रीहरू प्रयोग गर्न चाहन्छौं। यसो गऱ्‍यौं भने, हाम्रो काम टिक्नसक्छ। ती टिकाउ सामग्रीहरू के के हुन्‌ अनि त्यसको प्रयोग गर्नु किन महत्त्वपूर्ण छ?

के तपाईंको काम आगोबाट बच्नेछ?

१२. कोरिन्थका केही मसीहीहरूले कुन कुन तरिकामा लापरवाहीसँग निर्माणकार्य गरिरहेका थिए?

१२ स्पष्टतः पावललाई कोरिन्थका केही मसीहीहरूले कमसल सामग्रीहरूद्वारा निर्माणकार्य गरिरहेछन्‌ भनेर महसुस भयो। त्यहाँ के समस्या थियो त? प्रसंगले देखाएअनुसार, मण्डलीको एकता खतरामा छ भनेर जान्दा जान्दै पनि त्यहाँ मानव व्यक्‍तित्वको प्रशंसाले गर्दा विभाजन भइरहेको थियो। कसैले “म पावलको” त कसैले “म अपोलोसको” भनिरहेका थिए। कसै कसैले चाहिं आफूलाई असाध्यै बुद्धिमान्‌ भन्ठान्थे जस्तो छ। परिणामस्वरूप, त्यहाँ शारीरिक सोचविचार र आध्यात्मिक अपरिपक्वताको वातावरण फैलिनुका साथै “डाह र झगड़ा” व्याप्त भयो। यो कुनै छक्कलाग्दो कुरा थिएन। (१ कोरिन्थी १:१२; ३:१-४, १८) निस्सन्देह, त्यस्ता मनोवृत्तिहरू मण्डली र सेवकाईको शिक्षामा पनि झल्किए। फलस्वरूप, घर निर्माण गर्दा कमसल सामग्रीहरू प्रयोग गरिएझैं तिनीहरूको चेला बनाउने काम लापरवाहीसँग भइरहेथ्यो। तिनीहरूको काम ‘आगोमा’ बच्नसक्ने थिएन। पावलले कस्तो आगोबारे कुरा गरिरहेका थिए?

१३. पावलको दृष्टान्तको आगोले कुन कुरा चित्रित गर्छ र सबै मसीहीहरू कुन कुराप्रति सजग हुनुपर्छ?

१३ हामी सबैले एक प्रकारको आगोको सामना गर्नुपर्छ। त्यो हो, हाम्रो विश्‍वासको जाँच। (यूहन्‍ना १५:२०; याकूब १:२, ३) जस-जसलाई सत्य सिकाउँछौ, तिनीहरूको जाँच हुनेछ भनेर आज हामीले जस्तै कोरिन्थका मसीहीहरूले पनि बुझ्नु आवश्‍यक थियो। हामीले लापरवाहीसँग सिकायौं भने नतिजा खराब हुनसक्छ। पावलले यस्तो चेताउनी दिए: “त्यसमाथि बनाएको कुनै मानिसको काम पक्का रह्‍यो भने, त्यसले इनाम पाउनेछ। कसैको काम जलेर नष्ट भयो भने, त्यसले नोक्सानी भोग्नुपर्छ, तर त्यो आफैचाहिं आगोबाट निस्केर बाँचेझैं बाँच्नेछ।”c—१ कोरिन्थी ३:१४, १५.

१४. (क) मसीही चेला बनाउनेहरूले कसरी “नोक्सानी भोग्नुपर्छ” तर तिनीहरू आफै चाहिं कसरी आगोबाट निस्केर बाँचेझैं बाँच्नेछन्‌? (ख) हामी नोक्सानी भोग्नुपर्ने खतरालाई कसरी कम गर्नसक्छौं?

१४ कत्ति गहकिला शब्दहरू! कडा परिश्रम गरेर चेला बनाएको व्यक्‍ति प्रलोभन वा सतावटको चपेटामा परेर अन्ततः सच्चाइबाट तर्किएको देख्दा साह्रै नमीठो लाग्छ। पावललाई पनि त्यस्तै लागेकोले यस्ता परिस्थितिहरूमा नोक्सानी भोग्नुपर्छ भनेर बताए। यस्तो नोक्सानी असाध्यै पीडादायी हुन्सक्छ किनकि हाम्रो उद्धार “आगोबाट निस्केर बाँचेझैं” हुनेछ भनिएको छ अर्थात्‌ आगलागीमा सर्वस्व स्वाहा भएर आफू मात्र मुश्‍किलले बाँचेको व्यक्‍तिजस्तै हुनेछ। हामी कसरी नोक्सानीको खतरा कम गर्नसक्छौं? टिकाउ सामग्रीहरूद्वारा निर्माण गरेर! विद्यार्थीहरूको हृदय छुनेगरि सिकायौं र ज्ञान, समझशक्‍ति, यहोवाको भय अनि साँचो विश्‍वासजस्ता मूल्यवान्‌ मसीही गुनहरूको कदर गर्न प्रेरित गरायौं भने हामीले टिकाउ तथा आगोले नखाने सामग्रीहरूद्वारा निर्माण गरिरहेका हुनेछौं। (भजन १९:९, १०; हितोपदेश ३:१३-१५; १ पत्रुस १:६, ७) यस्ता गुन फलाउनेहरूले परमेश्‍वरको इच्छा गरिरहने छन्‌; तिनीहरूले सधैंभरि बाँच्ने आशा गर्नसक्ने छन्‌। (१ यूहन्‍ना २:१७) तथापि, हामी कसरी पावलको दृष्टान्तको व्यवहारिक उपयोग गर्नसक्छौं? केही उदाहरणहरू विचार गर्नुहोस्‌।

१५. आफ्ना बाइबल विद्यार्थीहरूको सन्दर्भमा हामी कुन कुन तरिकामा लापरवाहीसँग निर्माणकार्य नगर्न होसियार हुनसक्छौं?

१५ हामीले बाइबल विद्यार्थीहरूलाई सिकाउँदा कहिल्यै पनि मानिसहरूलाई यहोवाभन्दा माथि उचाल्नु हुँदैन। हाम्रो लक्ष्य तिनीहरूलाई हामी नै ज्ञानको स्रोत हौं भनेर सिकाउनु होइन। तिनीहरूले यहोवा, उहाँको वचन र उहाँको संगठनबाट डोऱ्‍याई खोजून्‌ भन्‍ने हामी चाहन्छौं। त्यसैकारण, तिनीहरूका प्रश्‍नहरूको जवाफ हामी आफ्नो दृष्टिकोणअनुसार दिंदैनौं। बरु, बाइबल अनि “विश्‍वासी र बुद्धिमान दास[ले]” तयार पारेका साहित्यहरूमा जवाफ खोज्न सिकाउँछौं। (मत्ती २४:४५-४७) यसैकारण, हामी आफ्ना विद्यार्थीहरूमाथि प्रभुत्व नजमाउन होसियार हुन्छौं। तिनीहरूमाथि अरू कसैले चासो लिन्छन्‌ भने, मनमा रिस राख्नुपर्ने कुनै कारण छैन। बरु, तिनीहरूलाई सकेसम्म मण्डलीका सबै भाइबहिनीहरूसँग परिचित हुने अनि तिनीहरूको कदर गरेर प्रेममा “ठूला मनका” हुन प्रोत्साहन दिनुपर्छ।—२ कोरिन्थी ६:१२, १३.

१६. प्राचीनहरूले कसरी आगोले नखाने सामग्रीहरूद्वारा निर्माण गर्नसक्छन्‌?

१६ चेला बनाउने काममा मसीही प्राचीनहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्‌। तिनीहरूले मण्डलीमा शिक्षा दिंदा आगोले नखाने सामग्रीहरूद्वारा निर्माण गर्ने कोसिस गर्छन्‌। तिनीहरूको शिक्षण योग्यता, अनुभव अनि व्यक्‍तित्व एकदम बेग्लै हुनसक्छ। तर तिनीहरू यस्ता भिन्‍नताको फाइदा उठाएर अनुयायीहरूलाई आफूतर्फ आकर्षित गर्दैनन्‌। (प्रेरित २०:२९, ३० तुलना गर्नुहोस्‌।) कोरिन्थका कसै कसैले किन “म पावलको” अथवा “म अपोलोसको” भनिरहेका थिए, हामीलाई राम्ररी थाह छैन। तर फूट ल्याउने त्यस्तो विचारधारालाई विश्‍वासी प्राचीनहरूले प्रेत्साहन दिएनन्‌ भन्‍ने कुरामा हामी निश्‍चित छौं। त्यस्ता मनोभावहरूद्वारा पावल दंग पर्दैनथे; तिनले त्यसलाई जोडतोडका साथ खण्डन गरे। (१ कोरिन्थी ३:५-७) त्यसैगरि, आज प्राचीनहरूले आफू “परमेश्‍वरको बगालको गोठालो” हौं भन्‍ने कुरा मनमा राख्छन्‌। (१ पत्रुस ५:२) परमेश्‍वरको बगाल कुनै मानिसको निजी सम्पत्ति होइन। अतः बगाल अथवा प्राचीनहरूको निकायमाथि प्रभुत्व जमाउन चाहने मानिसको झुकाउप्रति प्राचीनहरू दृढ भएर खडा हुन्छन्‌। प्राचीनहरू विनम्र इच्छाद्वारा उत्प्रेरित भएर मण्डलीको सेवा गर्दा, मानिसहरूको हृदयसम्म पुग्दा अनि भेडाहरूलाई तनमनले यहोवाको सेवा गर्ने मदत गर्दा तिनीहरूले आगोले नखाने सामग्रीहरूद्वारा निर्माण गरिरहेका हुन्छन्‌।

१७. मसीही आमाबाबुहरू कसरी आगोले नखाने सामग्रीहरूद्वारा निर्माण गर्ने कोसिस गर्छन्‌?

१७ यस विषयमा मसीही आमाबाबु पनि गहिरो चासो राख्छन्‌। तिनीहरू आफ्ना छोराछोरीहरू सधैंभरि बाँचेको देख्ने मीठो तृष्णा गर्छन्‌! तसर्थ, तिनीहरू आफ्ना छोराछोरीलाई परमेश्‍वरको वचनको सिद्धान्त ‘सिकाएर’ तिनीहरूको हृदयमा बसाउन कडा मेहनत गर्छन्‌। (व्यवस्था ६:६, ७) तिनीहरू आफ्ना छोराछोरीले सत्यलाई केवल नियमजस्तो अथवा मन्त्र जपेजस्तो मात्र नभई पूर्ण, इनामदायी र आनन्दित जीवनशैली हो भनेर बुझेको चाहन्छन्‌। (१ तिमोथी १:११) मायालु आमाबाबुहरू आफ्ना छोराछोरीलाई ख्रीष्टको विश्‍वासी चेला बनाउन आगोले नखाने सामग्रीहरू प्रयोग गर्ने प्रयास गर्छन्‌। तिनीहरू धैर्यसाथ आफ्ना छोराछोरीसँगसँगै काम गरेर तिनीहरूलाई यहोवाले घृणा गर्नुहुने गुनहरू जरैदेखि उखेल्न र उहाँले प्रेम गर्नुहुने गुणहरू खेती गर्न मदत गर्छन्‌।—गलाती ५:२२, २३.

को जिम्मेवार छ?

१८. कुनै चेलाले लाभदायक शिक्षा इन्कार गर्छ भने त्यो किन तिनलाई सिकाउन र प्रशिक्षण दिन कोसिस गर्ने व्यक्‍तिको भूल नहुनसक्छ?

१८ यस छलफलले एउटा महत्त्वपूर्ण प्रश्‍न खडा गर्छ। हामीले मदत गरेको व्यक्‍ति सत्यबाट तर्केर गयो भने के त्यसको मतबल हामी शिक्षकको हैसियतमा असफल भयौं अथवा हामीले कमसल सामग्रीहरू प्रयोग गरेका हौं त? अहँ, होइन। निस्सन्देह, पावलका शब्दहरूले चेला बनाउने काममा भाग लिनु ठूलो जिम्मेवारी हो भनेर सम्झाउँछ। हामी आफ्नो बलबर्कतले भ्याएसम्म असल निर्माणकार्यको लागि सब कुरा गर्न चाहन्छौं। तर हामीले मदत गर्न चाहेको व्यक्‍ति सत्यबाट तर्केर जाँदा त्यसको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिएर बोझले दबिनुपर्छ भनेर परमेश्‍वरको वचनले बताउँदैन। निर्माणकर्ताको हैसियतमा हाम्रो भूमिकाबाहेक अन्य कुराहरू पनि विथोलित छन्‌। उदाहरणका लागि, पावलले राम्रोसँग काम नगर्ने शिक्षकबारे के भने, ध्यान दिनुहोस्‌: “त्यसले नोक्सानी भोग्नुपर्छ, तर त्यो आफैचाहिं . . . बाँच्नेछ।” (१ कोरिन्थी ३:१५) उक्‍त शिक्षकले अन्ततः उद्धार पाउनसक्छ तर तिनले आफ्नो विद्यार्थीमा विकास गर्ने कोसिस गरेका मसीही व्यक्‍तित्व चाहिं आगोमा जाँचिएको हुनाले “जलेर नष्ट” हुनेछ। हामी यसबाट कस्तो निष्कर्षमा पुग्छौं? निस्सन्देह, विश्‍वासी रहने या नरहने विद्यार्थीको व्यक्‍तिगत निर्णय भएको हुँदा यहोवाले मुख्यतः तिनलाई नै जिम्मेवार ठहऱ्‍याउनुहुन्छ।

१९. यसपछिको लेखमा हामी के छलफल गर्नेछौं?

१९ व्यक्‍तिगत जिम्मेवारी एकदमै महत्त्वपूर्ण कुरा हो। यसले हामी प्रत्येकलाई असर गर्छ। विशेषगरि, बाइबलले यसबारे के सिकाउँछ? यसपछिको लेखमा यसबारे छलफल गरिनेछ।

[फुटनोटहरू]

a ‘पृथ्वीको जग’ भन्‍नाले पृथ्वी थाम्ने प्राकृतिक शक्‍ति अनि स्थिर रहने आकाशीय पिण्डहरू हुनसक्छन्‌। यसबाहेक, पृथ्वी कहिल्यै पनि ‘नडग्मगाउने’ अथवा नाश नहुनेगरि बनाइएको छ।—भजन १०४:५.

b पावलले “बहुमूल्य पत्थरहरू” भनी बताउँदा हीरा र मणिकजस्ता रत्नहरूलाई संकेत गरिरहेका थिएनन्‌। ती घर बनाउँदा प्रयोग गरिने संगमर्मर, एलबस्टर वा ग्रेनाइटजस्ता महँगा पत्थरहरू हुनसक्छन्‌।

c बनाउने व्यक्‍ति होइन तर उसको “काम” बच्न सक्ला कि नसक्ला भन्‍ने कुरामा पावललाई शंका थियो। द न्यु इंग्लिस बाइबल-मा उक्‍त पद यसरी अनुवाद गरिएको छ: “मानिसले बनाएको घर टिकेको खण्डमा उसले इनाम पाउनेछ। यदि त्यो जलेर नष्ट भयो भने, उसले नोक्सानी भोग्नुपर्नेछ। तर कोही आगोबाट बचेझैं उसले भने आफ्नो ज्यान जोगाउनेछ।”

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

◻ साँचो मसीहीको लागि “जग” के हो अनि यो जग कसरी बसालिन्छ?

◻ घर बनाउने विभिन्‍न थरिका सामग्रीहरूबाट हामी के सिक्नसक्छौं?

◻ “आगो[ले]” कुन कुरा चित्रित गर्छ अनि यसले गर्दा कसै कसैले कसरी “नोक्सानी भोग्नुपर्छ”?

◻ बाइबल शिक्षक, प्राचीन र आमाबाबुहरूले कसरी आगोले नखाने सामग्रीहरूद्वारा निर्माण गर्नसक्छन्‌?

[पृष्ठ ९-मा भएको चित्र]

प्राचीन समयका थुप्रै शहरहरूमा आगोले नखाने पत्थरहरूद्वारा निर्मित घरहरूसँगसँगै कच्चा घरहरू हुन्थे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने