प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ११/१ pp. १३-१८
  • आफ्नो मुक्‍तिको काम पूरा गर्दै जानुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो मुक्‍तिको काम पूरा गर्दै जानुहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी आफैलाई “बनाउने” काम गर्छौं
  • यहूदाका राजाहरू—तिनीहरूले आफूखुसी छनौट गरे
  • यहोवाले तपाईंलाई पत्याउनुहुन्छ!
  • उहाँले हामीलाई स्वतन्त्र इच्छा दिएर सम्मान गर्नुभएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • युवावस्थामा बुद्धिमानी निर्णय गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • तपाईं परमेश्‍वरको वचनलाई कत्तिको प्रेम गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • के तिनीहरूले ठूलो भएपछि परमेश्‍वरको सेवा गर्नेछन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ११/१ pp. १३-१८

आफ्नो मुक्‍तिको काम पूरा गर्दै जानुहोस्‌!

“प्रिय हो, . . . आफ्नो मुक्‍तिको काम पूरा गर्दै जाओ।”—फिलिप्पी २:१२.

१, २. कस्ता लोकप्रिय सिद्धान्तहरूले गर्दा थुप्रै मानिसहरू जीवन आफ्नो नियन्त्रण बाहिरको कुरा हो भन्ठान्छन्‌?

“के तपाईं जन्मैदेखि त्यस्तो हुनुहुन्छ?” हालै एउटा लोकप्रिय पत्रिकाको आवरण पृष्ठमा उक्‍त प्रश्‍न सोधिएको थियो। शीर्षसमाचारमा यस्तो लेखिएको थियो: “नयाँ अध्ययनहरूअनुसार तपाईंको व्यक्‍तित्व, बानीबेहोरा र जीवनमा गर्नुहुने छनौटहरूसमेत वंशाणुले निर्धारण गर्छन्‌।” यस्ता दाबीहरूले गर्दा कसै कसैलाई जीवन आफ्नो वशमा छैन भन्‍ने भान पर्नसक्छ।

२ अरू चाहिं आमाबाबुले ठीकसँग रेखदेख नगरेका अथवा शिक्षकशिक्षिकाले राम्रो शिक्षा नदिएको कारण नैराश्‍यपूर्ण जीवन बिताउनुपरेको हो कि भन्ठान्छन्‌। तिनीहरूले आफ्ना आमाबाबुका गल्ती दोहऱ्‍याउने, उनीहरूका खराब स्वभावहरू अनुसरण गर्ने अनि यहोवाप्रति अविश्‍वासी हुने अथवा छोटकरीमा भन्‍ने हो भने, खराब छनौट गर्ने कुरा पहिल्यै निर्धारित भएको हुन्छ भन्‍ने विचार गर्नसक्छन्‌। के बाइबलले यही कुरा सिकाउँछ? निस्सन्देह, बाइबलले यस्तै कुरा अर्थात्‌ पूर्वनिर्धारित भविष्यको सिद्धान्त सिकाउँछ भनेर जोड दिने धर्मावलम्बीहरू पनि छन्‌। यो सिद्धान्तअनुसार तपाईंको जीवनमा आइपर्ने हरेक घटनाहरू परमेश्‍वरले धेरै समयअगाडि नै पूर्वनिर्धारित गर्नुभएको हुनेछ।

३. आफ्नो भविष्यको जिम्मेवारी वहन गर्ने हाम्रो क्षमताबारे बाइबलमा कस्तो प्रोत्साहनदायी सन्देश छ?

३ यस्ता विभिन्‍न सिद्धान्तहरूले एउटै कुरा बताउँछ: तपाईं आफ्नो जीवनमा थोरै छनौट गर्न सक्नुहुन्छ, केही हदसम्म मात्र जीवन तपाईंको वशमा छ। यस्तो कुराले निरुत्साहित गराउँछ अनि निरुत्साहले समस्या थप्नसक्छ। हितोपदेश २४:१० यसो भन्छ: “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपत्‌को दिनमा तँ झन्‌ कति असहाय हुनेछस्‌।” तथापि, बाइबलअनुसार “आफ्नो मुक्‍तिको काम पूरा” गर्नसक्छौं भनेर थाह पाउँदा हामी उत्साहित हुन्छौं। (फिलिप्पी २:१२) धर्मशास्त्रको यो सकारात्मक शिक्षाप्रतिको आफ्नो विश्‍वासलाई हामी कसरी बलियो बनाउनसक्छौं?

हामी आफैलाई “बनाउने” काम गर्छौं

४. पहिलो कोरिन्थी ३:१०-१५ मा आगोले नखाने सामग्रीहरूद्वारा निर्माणकार्य गर्नेबारे बताइएको भए तापनि त्यसको अर्थ के चाहिं होइन?

४ प्रेरित पावलले १ कोरिन्थी ३:१०-१५ मा बताएको दृष्टान्त विचार गर्नुहोस्‌। त्यहाँ तिनले मसीही निर्माणकार्यबारे बताएका छन्‌। तिनको दृष्टान्तको सिद्धान्त आन्तरिक र बाह्‍य सेवकाईमा लागू हुनसक्छ। के तिनको भनाइको अर्थ चेलाले अन्ततः यहोवाको सेवा गर्ने छनौट गरेर उहाँप्रति विश्‍वासी रहनु नरहनुमा उसलाई सिकाउने र प्रशिक्षण दिने व्यक्‍ति नै पूर्णतया जिम्मेवार हुन्छ भन्‍ने हो? अहँ, होइन। पावलले त शिक्षकले सकेसम्म असल निर्माणकार्य गर्नुपर्ने महत्त्वमाथि जोड दिइरहेका थिए। तर हामीले यसअघिको लेखमा सिकेअनुसार पावलले विद्यार्थी अथवा चेलाले छनौट गर्न पाउँदैन भनेनन्‌। हो, पावलको दृष्टान्त हामी आफैलाई बनाउने नभई अरूलाई बनाउनुमा केन्द्रित छ। लापरवाहीसँग बनाइएको घर नष्ट भए पनि बनाउने चाहिं बच्नेछ भन्‍ने पावलको कथनबाट यो कुरा प्रस्ट हुन्छ। तैपनि, हामी आफैलाई बनाउने कामको सन्दर्भमा पनि बाइबलमा कहिलेकाहीं त्यही अभिव्यक्‍ति प्रयोग गरिएको छ।

५. मसीहीहरूले आफूलाई “बनाउने” काम गर्नुपर्छ भनेर कुन शास्त्रपदहरूले औंल्याउँछ?

५ उदाहरणका लागि, यहूदा २०, २१ विचार गर्नुहोस्‌: “हे प्रिय हो, तिमीहरूको अति पवित्र विश्‍वासमा आफ्नो उन्‍नति गर्दै [“बनाउँदै,” NW], पवित्र आत्मामा प्रार्थना गरी, . . . आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड।” पावलले १ कोरिन्थी अध्याय ३ मा “बनाउने” अर्थ लाग्ने जुन युनानी शब्द प्रयोग गरे, यहूदाले उक्‍त पदमा त्यही शब्द चलाए। तर तिनको भनाइको तात्पर्य हामीले आफ्नो विश्‍वासको जगमा आफैलाई बनाउनुपर्छ भन्‍ने हो। पावलले मसीही निर्माणकार्यको दृष्टान्तमा “जग” अर्थ बुझाउने जुन युनानी शब्द चलाए, येशूले बताउनुभएको चट्टानमाथि जग बसाल्ने मानिसको दृष्टान्त लिपिबद्ध गर्दा लूकाले पनि त्यही शब्द प्रयोग गरे। (लूका ६:४८, ४९) यसबाहेक, पावलले सँगी मसीहीहरूलाई आध्यात्मिक उन्‍नति गर्ने आग्रह गर्दा बसालिएको “जग[को]” उपमा प्रयोग गरे। हो, परमेश्‍वरको वचनले हामी आफूलाई “बनाउने” काम गर्छौं भनेर सिकाउँछ।—एफिसी ३:१५-१९; कलस्सी १:२३; २:७.

६. (क) हरेक मसीही चेला कुन अर्थमा संयुक्‍त निर्माणकार्यको फल हो, व्याख्या गर्नुहोस्‌। (ख) हरेक चेलाको जिम्मेवारी के हो?

६ के कसैलाई मसीही बनाउनु एक जनाको मात्र काम हो? यसो कल्पना गर्नुहोस्‌, तपाईंले घर बनाउने निर्णय गर्नुभयो। तपाईं घरको नक्सा कोर्न आर्किटेककहाँ जानुहुन्छ। प्रायजसो कामहरू तपाईं आफैले गर्ने विचार गर्नुभए तापनि तपाईंसँग काम गर्न र तपाईंलाई उचित सल्लाह दिन ठेकेदार ल्याउनुहुन्छ। उसले मजबुत जग बसाल्छ, नक्सा तपाईंलाई बुझाउँछ, गुणस्तरीय सामग्रीहरू किन्‍ने सुझाउ दिन्छ अनि घर बनाउनसमेत सिकाउँछ भने, तिनले काम राम्रो गऱ्‍यो भनेर तपाईं स्वीकार्नुहुन्छ। तर तपाईंले उसको सल्लाह बेवास्ता गर्नुभयो, सस्ता अथवा कमसल सामग्रीहरू किन्‍नुभयो अनि आर्किटेकले बनाएको नक्साअनुसार नगरेर हेरफेर गर्नुभयो भने नि? कथंकदाचित्‌ तपाईंको घर गर्ल्यामगुर्लुम भत्क्यो भने, तपाईं ठेकेदार अथवा आर्किटेकको टाउकोमा दोष थोपर्न सक्नुहुन्‍न! त्यसैगरि, हरेक मसीही चेला पनि संयुक्‍त निर्माणकार्यको फल हो। यहोवा मुख्य आर्किटेक हुनुहुन्छ। उहाँ विश्‍वासी मसीहीलाई सहयोग गर्नुहुन्छ अनि तिनले “परमेश्‍वरका सहकर्मी[को]” हैसियतमा विद्यार्थीहरूलाई शिक्षा दिनुका साथै बनाउने काम गर्छन्‌। (१ कोरिन्थी ३:९) यद्यपि, विद्यार्थी पनि विथोलित छन्‌। अन्ततः आफ्नो जीवनको लागि तिनी आफै जिम्मेवार हुन्छन्‌। (रोमी १४:१२) असल मसीही गुनहरू चाहन्छन्‌ भने, त्यसलाई प्राप्त गर्न र व्यवहारमा उतार्न तिनले कडा परिश्रम गर्नैपर्छ।—२ पत्रुस १:५-८.

७. केही मसीहीहरू कस्ता चुनौतीहरू सामना गर्छन्‌ अनि तिनीहरूलाई कुन कुराले सान्त्वना दिनसक्छ?

७ तब के वंशाणु, वातावरण र शिक्षकहरूको योग्यता अर्थहीन छन्‌ त? अहँ, कदापि होइन। परमेश्‍वरको वचनले यी कुराहरू महत्त्वपूर्ण र प्रभावशाली छन्‌ भनेर देखाउँछ। मानिससँग अनेकन्‌ जन्मजात पापपूर्ण तथा नकारात्मक झुकाउहरू हुन्छन्‌ र त्यसको मुकाबिला गर्न निकै गाह्रो हुन्छ। (भजन ५१:५; रोमी ५:१२; ७:२१-२३) आमाबाबुले दिने प्रशिक्षण र घरको वातावरणले केटाकेटीमाथि निकै प्रभाव पार्नसक्छ। प्रभाव असल पनि हुनसक्छ, खराब पनि। (हितोपदेश २२:६; कलस्सी ३:२१) यहूदी धार्मिक नेताहरूको शिक्षाले अरूमाथि खराब प्रभाव पारेका थिए। अतः येशूले तिनीहरूको निन्दा गर्नुभयो। (मत्ती २३:१३, १५) आज, यस्ता कुराहरूले हामी सबैलाई असर गरिरहेको छ। उदाहरणका लागि, आफ्नो बाल्यकाल कठिन परिस्थितिमा गुज्रेकोले परमेश्‍वरका केही जनहरू चुनौतीहरू सामना गर्छन्‌। तिनीहरूलाई हाम्रो दया र सहानुभूति चाहिन्छ। अनि तिनीहरूले तिनीहरूका आमाबाबुका गल्तीहरू दोहऱ्‍याउने अथवा अविश्‍वासी हुने कुरा पूर्वनिर्धारित गरिएको छैन भन्‍ने बाइबलको सन्देशबाट सान्त्वना पाउनसक्छन्‌। यो कुरा प्राचीन यहूदाका केही राजाहरूले कसरी स्पष्ट पार्छन्‌, विचार गर्नुहोस्‌।

यहूदाका राजाहरू—तिनीहरूले आफूखुसी छनौट गरे

८. योतामले आफ्नो बुबाको कस्तो खराब उदाहरण पाएका थिए तर तिनले कस्तो छनौट गरे?

८ उज्जियाह १६ वर्षको कलिलो उमेरमै यहूदाका राजा भए अनि ५२ वर्षसम्म शासन गरे। आफ्नो शासनकालको अधिकांश समयमा “तिनले आफ्ना पिता अमस्याहले गरेझैं परमप्रभुको दृष्टिमा जे असल थियो त्यही गरे।” (२ राजा १५:३) यहोवाले तिनलाई आशिष्‌ दिनुभयो र तिनी एकपछि अर्को शक्‍तिशाली सेना विरुद्ध विजयी भए। दुःखको कुरा, सफलता हासिल गरेपछि उज्जियाह घमण्डले फुले। तिनी अहंकारी भए अनि पूजाहारीले मात्र गर्नहुने काम अर्थात्‌ मन्दिरको वेदीमा धूप बालेर यहोवा विरुद्ध विद्रोह गरे। हप्काउँदा उज्जियाह क्रोधित भए। तब तिनले अपमान सहनुपऱ्‍यो—तिनलाई कोर लाग्यो र बाँकी जीवन जनसमुदायबाट अलग्गै बसेर बिताउनुपऱ्‍यो। (२ इतिहास २६:१६-२३) तिनका छोरा योतामले यी सब घटनाहरू देखेर कस्तो प्रतिक्रिया देखाए? तिनी जवान थिए। अतः यहोवाले तिनको बुबालाई सच्याउनुहुँदा तिनी क्रोधित भएर आफ्नो बुबाको पछि लाग्नसक्थे। मानिसहरूले झूटो धार्मिक रीतिरिवाजहरू अपनाएका हुनाले तिनीमाथि नकारात्मक असर पर्नसक्थ्यो। (२ राजा १५:४) तर योतामले आफ्नै छनौट गरे। “तिनले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे।”—२ इतिहास २७:२.

९. आहाजमाथि कस्ता असल प्रभावहरू परेको थियो तर तिनको जीवनमा के भयो?

९ योतामले १६ वर्षसम्म शासन गरे। तिनी आफ्नो शासनकालभरि यहोवाप्रति विश्‍वासी रहे। तसर्थ, तिनको छोरा आहाजले विश्‍वासी बुबाको उत्कृष्ट उदाहरण देख्न पाए। अनि आहाजमाथि अन्य असल प्रभावहरू पनि परेको थियो। तिनको जीवनकालमा विश्‍वासी अगमवक्‍ता यशैया, होशे र मिकाले त्यस देशमा सक्रियतासाथ भविष्यवाणी गरिरहेका थिए। यद्यपि, तिनले खराब छनौट गरे। “तिनले आफ्ना पितापुर्खा दाऊदलेझैं जे कुरो परमप्रभुको दृष्टिमा असल थियो त्यही गरेनन्‌।” तिनले बालका मूर्तिहरू बनाएर त्यसको उपासना गरे। त्यति मात्र होइन, तिनले आफ्ना केही छोराहरू देवताका मूर्तिहरूमा बलिदान चढाएर आगोमा समेत होमे। तिनको जीवनमा असल प्रभाव परेको भए तापनि तिनी असल राजा र यहोवाको सेवक हुन सकेनन्‌।—२ इतिहास २८:१-४.

१०. आहाज कस्तो बुबा थिए तर तिनको छोरा हिजकियाहले कस्तो छनौट गरे?

१० शुद्ध उपासनाको सन्दर्भमा विचार गर्ने हो भने, आहाजभन्दा खराब बुबाको त कल्पनासमेत गर्न सकिन्‍न। तथापि, तिनको छोरा हिजकियाहले तिनलाई बुबा हो भनेर नकार्न सक्दैनथे! आहाजले बाललाई बलिदान चढाउन हत्या गरेका तिनका स-साना छोराहरू सायद हिजकियाहकै साक्खै भाइहरू थिए होलान्‌। के यस्तो भयानक पृष्ठिभूमिले गर्दा हिजकियाह यहोवाप्रति अविश्‍वासी भए त? यसको विपरीत, यहूदाका अकाध महान्‌ राजाहरूमध्ये हिजकियाह पनि एक भए—तिनी विश्‍वासी, बुद्धिमान्‌ र प्रिय थिए। “परमप्रभु तिनीसँग रहनुभयो।” (२ राजा १८:३-७) वास्तवमा, हिजकियाह युवराज छँदा नै प्रेरित भएर भजन ११९ अध्याय लेखेका थिए भनी विश्‍वास गर्ने कारण छ। त्यसो हो भने, तिनले यी शब्दहरू लेख्नुको कारण बुझ्न त्यति गाह्रो छैन: “दुःखित भएको हुनाले मेरो मन पग्लन्छ।” (भजन ११९:२८) हिजकियाहले दुःखकष्टहरू झेल्नु परे तापनि यहोवाको वचनलाई आफ्नो जीवनको मार्गदर्शन बनाए। भजन ११९:१०५ यसो भन्छ: “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।” हो, हिजकियाहले आफ्नै छनौट गरे—सही छनौट गरे।

११. (क) मनश्‍शेले आफ्नो बुबाको असल प्रभावको बावजूद यहोवा विरुद्ध कस्तो घोर विद्रोह गरे? (ख) मनश्‍शेले जीवनको अन्तिम घडीतिर कस्तो छनौट गरे अनि यसबाट हामी के सिक्नसक्छौं?

११ तथापि, विडम्बनाको कुरा के छ भने, यहूदाको असल राजाकै परिवारबाट सबैभन्दा खराब राजा पनि निस्के। हिजकियाहको छोरा मनश्‍शेले मूर्तिपूजा र प्रेतवादलाई बढावा दिए अनि कहिल्यै नभएको डरलाग्दो हिंसात्मक उत्पात्‌ मच्चाए। लेखोटअनुसार, सायद अगमवक्‍ता मार्फत “मनश्‍शे र तिनका मानिसहरूसित परमप्रभु बोल्नुभयो।” (२ इतिहास ३३:१०) त्यसको प्रत्युत्तरमा मनश्‍शेले यहूदी चलनअनुसार यशैयालाई करौंतीले चिरे। (हिब्रू ११:३७ तुलना गर्नुहोस्‌।) यो कुरामा सत्यता भए पनि नभए पनि, मनश्‍शेले एउटै पनि ईश्‍वरीय चेताउनी सुनेनन्‌। अझ भन्‍ने हो भने, तिनले आफ्नो बाजे आहाजले जस्तै आफ्ना छोराहरूलाई जिउँदै जलाएर बलिदान चढाए। तथापि, यस दुष्ट व्यक्‍तिले पछि कठिन परीक्षाहरू आइपर्दा पश्‍चात्ताप गरे अनि आफ्ना तौरतरिकाहरू परिवर्तन गरे। (२ इतिहास ३३:१-६, ११-२०) तिनको उदाहरणले डरलाग्दा छनौट गर्ने व्यक्‍तिले छुटकारा पाउनै सक्दैन भन्‍ने होइन भनेर सिकाउँछ। त्यस्तो व्यक्‍तिले पनि परिवर्तन गर्नसक्छ।

१२. यहोवाको सेवा गर्ने सन्दर्भमा आमोन र तिनको छोरा योशियाहले कस्तो भिन्‍नाभिन्‍नै छनौट गरे?

१२ मनश्‍शेको छोरा आमोनले आफ्नो बुबाको पश्‍चात्तापबाट धेरै कुरा सिक्नसक्थे। तर तिनले गलत छनौटहरू गरे। अन्ततः अमोनको हत्या नभएसम्म तिनको “अपराध झन्‌ बढी भयो।” तिनको छोरा योशियाह चाहिं एकदमै भिन्‍नै निस्के। स्पष्टतः, योशियाहले आफ्नो बाजेको जीवनमा भएका घटनाहरूबाट सिक्ने छनौट गरे। तिनले आठ वर्षको कलिलो उमेरमै शासन गर्न थाले। तिनी १६ वर्षको मात्र हुँदा यहोवालाई खोज्न थाले अनि पछि उदाहरणीय र विश्‍वासी राजा भए। (२ इतिहास ३३:२०–३४:५) तिनले छनौट गरे र त्यो छनौट सही थियो।

१३. (क) हामीले छलफल गरेका यहूदाका राजाहरूबाट के सिक्यौं? (ख) आमाबाबुले दिने प्रशिक्षण कत्तिको महत्त्वपूर्ण छ?

१३ यहूदाका सात राजाहरूको यो संक्षिप्त छलफलले हामीलाई जोडदार पाठ सिकाउँछ। कहिलेकाहीं खराब राजाका छोराहरू असल साबित भए भने कति असल राजाका छोराहरू चाहिं खराब साबित भए। (उपदेशक २:१८-२१ तुलना गर्नुहोस्‌।) यी घटनाहरूले आमाबाबुले दिने प्रशिक्षणको महत्त्व कम गर्दैन। आफ्ना छोराछोरीलाई यहोवाको तौरतरिकाअनुरूप प्रशिक्षण दिने आमाबाबुले पक्कै पनि तिनीहरूका सन्ततिहरूलाई यहोवाको विश्‍वासी सेवक बन्‍ने यथासम्भव उत्तम मौका प्रदान गर्छन्‌। (व्यवस्था ६:६, ७) तैपनि, केही छोराछोरीले तिनीहरूका आमाबाबुको उत्तम प्रयासको बावजूद गलत मार्ग पछ्याउने छनौट गर्छन्‌। अरू छोराछोरीहरू चाहिं तिनीहरूका आमाबाबुको अत्यन्तै खराब प्रभावको बावजूद यहोवालाई प्रेम गर्ने र उहाँको सेवा गर्ने छनौट गर्छन्‌। उहाँको आशिष्‌ पाएर तिनीहरूले जीवनमा सफलता हासिल गर्छन्‌। के तपाईंले आफ्ना छनौटका परिणामहरू कस्ता हुनेछन्‌ भनेर कहिलेकाहीं सोच्ने गर्नुभएको छ? त्यसोभए, तपाईंले सही छनौट गर्न सक्नुहुन्छ भनेर यहोवा स्वयंले दिनुभएका केही आश्‍वासनहरू विचार गर्नुहोस्‌!

यहोवाले तपाईंलाई पत्याउनुहुन्छ!

१४. यहोवाले हाम्रा सीमितताहरू जान्‍नुहुन्छ भनेर कसरी थाह पाउनसक्छौं?

१४ यहोवाले सबै कुरा देख्नुहुन्छ। हितोपदेश १५:३ भन्छ: “परमप्रभुको नजर दुष्ट र असल दुवैलाई हेर्दै सर्वत्र रहन्छ।” राजा दाऊदले यहोवाको विषयमा यसो भने: “मेरो रचना नभई तपाईंका आँखाले मलाई देखेका थिए, म अपूर्ण रूपमै भएको तपाईंका आँखाले देखेका थिए, र मेरा सबै अंग जो दिन दिन बनिंदै आएका थिए, ती नबनिंदै तपाईंका पुस्तकमा ती लेखिएका थिए।” (भजन १३९:१६) अतः तपाईं कस्ता नकारात्मक झुकाउहरू विरुद्ध लडन्त लडिरहनुभएको छ, यहोवा जान्‍नुहुन्छ—चाहे ती झुकाउहरू तपाईंले वंशानुगत वा आफ्नो नियन्त्रण बाहिरको अन्य प्रभावहरूद्वारा प्राप्त गर्नुभएकै किन नहोस्‌। त्यस्ता झुकाउहरूले तपाईंलाई कस्तो असर गरिरहेको छ, उहाँ जान्‍नुहुन्छ। उहाँले तपाईंको सीमितता तपाईंले भन्दा राम्ररी जान्‍नुहुन्छ। उहाँ दयालु हुनुहुन्छ। हामीले गर्नसक्ने भन्दा बढी माग उहाँ गर्नुहुन्‍न।—भजन १०३:१३, १४.

१५. (क) जानाजानी अरूको चित्त दुखाउनेहरूले गर्दा चोट खप्नुपरेकाहरूले सान्त्वना पाउने एउटा स्रोत के हो? (ख) यहोवाले हामीलाई कस्तो जिम्मेवारी दिनुभएर सबैलाई सम्मान गर्नुभएको छ?

१५ अर्कोतिर, यहोवाले हामीलाई समस्याको चपेटाबाट उम्कनै नसक्ने असहाय शिकारहरू ठान्‍नुहुन्‍न। हामीले विगतमा तीता अनुभवहरू भोगेका थियौं भने, हामीलाई जानाजानी चित्त दुखाउनेहरूको आचरणलाई यहोवा घृणा गर्नुहुन्छ भन्‍ने कुराबाट सान्त्वना पाउनसक्छौं। (भजन ११:५; रोमी १२:१९) तर अर्कै बाटो पछ्याएर जानाजानी गलत छनौट गऱ्‍यौं भने के त्यसका परिणामहरूबाट उहाँले हामीलाई मुक्‍त गर्नुहुनेछ त? अहँ, गर्नुहुन्‍न। उहाँको वचन यसो भन्छ: “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।” (गलाती ६:५) यहोवाले उहाँका सबै बौद्धिक प्राणीहरूलाई सही काम गर्ने र उहाँको सेवा गर्ने जिम्मेवारी दिनुभएर सम्मान गर्नुभएको छ। यो त मोशाले इस्राएललाई भनेको जस्तै हो: “आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूको सामने साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष र सराप राखेको छु। यसकारण जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ।” (व्यवस्था ३०:१९) हामीले पनि सही छनौट गर्नसक्छौं भनेर यहोवा विश्‍वस्त हुनुहुन्छ। यो कसरी थाह पाउनसक्छौं?

१६. हामी कसरी “आफ्नो मुक्‍तिको काम पूरा” गर्न सफल हुनसक्छौं?

१६ प्रेरित पावलले के लेखे, ध्यान दिनुहोस्‌: “त्यसो हो भने, ए मेरा प्रिय हो, . . . डर र कम्पसाथ आफ्नो मुक्‍तिको काम पूरा गर्दै जाओ। किनभने उहाँको आफ्नै मन खुशमा तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुने परमेश्‍वरै हुनुहुन्छ।” (फिलिप्पी २:१२, १३) यहाँ ‘काम पूरा गर्न’ भनेर अनुवाद गरिएको मूल युनानी शब्दले कुनै कुराको टुंगो लगाउनु भन्‍ने बुझाउँछ। अतः हामी असफल हुनेछौं वा हार्नेछौं भनेर पूर्वनिर्धारित गरिएको छैन। यहोवाले दिनुभएको काम अर्थात्‌ हाम्रो मुक्‍तिको काम हामी पूरा गर्नसक्छौं भनेर यहोवा विश्‍वस्त हुनुहुन्छ। त्यसो नहुँदो हो त, उहाँले उक्‍त वाक्य लेख्न प्रेरित गराउनुहुने नै थिएन। तर कसरी सफल हुनसक्छौं? आफ्नै बलबर्कतमा त सफल हुनसक्दैनौं। हामी बलियो हुँदा हौं त, ‘डर र कम्पको’ कुरै आउने थिएन। बरु, यहोवाले ‘हामीभित्र काम गर्नुहुन्छ’ अर्थात्‌ उहाँको पवित्र आत्माले हाम्रो मन र हृदयमा काम गरेर हामीलाई “इच्छा गर्ने र काम गर्ने” मदत दिन्छ। के यस्तो मायालु मदत पाउँदा पाउँदै पनि सही छनौट गरेर त्यसैअनुरूप जीवन बिताउन नसक्ने कुनै कारण छ र? अहँ, छैन!—लूका ११:१३.

१७. हामी आफ्नो जीवनमा कस्ता परिवर्तनहरू गर्नसक्छौं अनि त्यसो गर्न यहोवाले कसरी मदत दिनुहुन्छ?

१७ हामीले अवरोधहरू सामना गर्नुपर्नेछ। त्यस्ता अवरोधहरूमध्ये आफ्नो सोचविचार नै खलबल्याउन सक्ने हाम्रो खराब आनीबानी र हानिकारक प्रभावहरू होला। तथापि, यहोवाको आत्माको मदतद्वारा यस्ता अवरोधहरूमाथि विजय हासिल गर्नसक्छौं! पावलले कोरिन्थका मसीहीहरूलाई लेखेजस्तै, परमेश्‍वरको वचन “किल्लाहरू भत्काउनसक्नेझैं” शक्‍तिशाली छन्‌। (२ कोरिन्थी १०:४) अझ भनौं भने, यहोवाले हामीलाई आफ्नो जीवनमा आमूल परिवर्तन गर्न मदत दिन सक्नुहुन्छ। उहाँको वचनले हामीलाई “पुरानो मानिसलाई” त्यागेर “परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको” “नयाँ मानिसलाई घारण” गर्ने आग्रह गर्छ। (एफिसी ४:२२-२४) के यस्ता परिवर्तनहरू गर्न यहोवाको आत्माले हामीलाई साँच्चै मदत गर्छ? अवश्‍य! यहोवाको आत्माले हामीमा फलहरू अर्थात्‌ हामी सबैले खेती गर्न चाहने मनोहर तथा मूल्यवान्‌ गुनहरू फलाउँछन्‌। तीमध्ये पहिलो चाहिं प्रेम हो।—गलाती ५:२२, २३.

१८. हरेक समझदार मानिसले कस्तो छनौट गर्नसक्छ अनि त्यसले हामीलाई कस्तो संकल्प गर्ने मदत दिन्छ?

१८ यहोवाको आत्माले प्रेमको फल फलाउने भएकोले हामी आफ्नै छनौट गर्नसक्छौं। यहोवासँग प्रेम गर्ने असीमित क्षमता छ अनि हामी उहाँको स्वरूपमा बनिएका छौं। (उत्पत्ति १:२६; १ यूहन्‍ना ४:८) अतः हामी यहोवालाई प्रेम गर्ने छनौट गर्नसक्छौं। हाम्रो भविष्यलाई हाम्रो विगतको जीवन, कमजोरीहरू अथवा गलत काम गर्ने वंशानुगत झुकाउले नभई यही प्रेमले असर गर्छ। आदम र हव्वालाई अदनमा विश्‍वासी रहन परमेश्‍वरको प्रेमको आवश्‍यकता थियो। हामी प्रत्येकलाई आरमागेडोनमा बच्न र ख्रीष्टको हजार वर्षीय शासनको अन्तको जाँचमा सफल हुन यस्तै प्रेमको आवश्‍यकता छ। (प्रकाश ७:१४; २०:५, ७-१०) चाहे परिस्थिति जस्तोसुकै किन नहोस्‌, हामी सबैले यस्तो प्रेम खेती गर्नसक्छौं। (मत्ती २२:३७; १ कोरिन्थी १३:१३) आउनुहोस्‌, यहोवालाई प्रेम गर्ने अनि अनन्तसम्म त्यही प्रेममा बनिरहने संकल्प गरौं।

तपाईंको विचार कस्तो छ?

◻ व्यक्‍तिविशेषको जिम्मेवारीबारे बाइबलको सकारात्मक शिक्षासँग कुन लोकप्रिय सिद्धान्त मिल्दैन?

◻ हरेक मसीहीले आफूमा कस्तो बनाउने काम गर्नुपर्छ?

◻ हरेक व्यक्‍तिले आफै छनौट गर्छ भनेर यहूदाका राजाहरूको उदाहरणले कसरी देखाउँछ?

◻ हाम्रो वरिपरिका नकारात्मक प्रभावहरूको बावजूद हामी आफ्नो जीवनमा सही छनौट गर्नसक्छौं भनेर यहोवाले कसरी आश्‍वासन दिनुहुन्छ?

[पृष्ठ १५-मा भएको चित्र]

के तपाईंको भविष्य वंशाणुले पूर्वनिर्धारित गरेको हुन्छ?

[पृष्ठ १७-मा भएको चित्र]

राजा योशियाहले आफ्नो बुबाको खराब उदाहरणको बावजूद परमेश्‍वरको सेवा गर्ने छनौट गरे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने