प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ११/१५ पृ. २४-२७
  • के म भाइसित ऋण मागूँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के म भाइसित ऋण मागूँ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कत्ति खर्च लाग्छ, हिसाब गर्नुहोस्‌
  • पैसा चाहिएको कारण बताउनुहोस्‌
  • लिखित कागजात राख्नुहोस्‌
  • ऋण दिंदा होसियार हुनुहोस्‌
  • तपाईंले उठाउनुहुने कदमहरू राम्ररी विचार गर्नुहोस्‌
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • साथीहरूबीच लेनदेन
    ब्यूँझनुहोस्‌!—१९९९
  • ऋण लिनै पर्छ र?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • आर्थिक समस्या र ऋण—के बाइबलले मदत गर्न सक्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ११/१५ पृ. २४-२७

के म भाइसित ऋण मागूँ?

साइमनको कान्छो छोरा बिरामी परेकोले तुरुन्तै औषधोपचार गर्नुपर्ने भयो। तर साइमन साह्रै गरिब छन्‌। तिनीसँग औषधोपचार गर्ने पैसा नै छैन। अब के गर्ने? माइकल भन्‍ने सँगी मसीहीको आर्थिक अवस्था अलि राम्रो छ। सायद माइकलले ऋण देला कि। तथापि, साइमनको मनमा ऋण तिर्न सकिंदैन भन्‍ने कुरा खेलिरहेको छ।a

साइमनले ऋण माग्दा माइकल द्विविधामा पर्छन्‌। साइमनलाई पैसाको टड्‌कारो खाँचो छ भनेर तिनी बुझ्न त बुझ्छन्‌ तर उनलाई परिवार धान्‍न मात्र पनि धौ धौ परिरहेको हुँदा ऋण तिर्न सक्दैनन्‌ कि भनेर शंका गर्छन्‌। अब माइकलले के गर्ने?

थुप्रै देशहरूमा मानिसहरूको जीवन धान्‍ने बाटो अचानक हराउनसक्छन्‌। फलतः तिनीहरूसँग औषधोपचार गर्ने पैसा अथवा बीमा केही पनि नहुनसक्छ। बैंकबाट ऋण नपाउने वा पाए पनि एकदमै चर्को ब्याजमा मात्र पाउन सकिने हुनसक्छ। आपत्‌कालीन परिस्थिति आइपर्दा समस्याको एउटै समाधान ऋण काढ्‌नु मात्र हो जस्तो लाग्नसक्छ। यद्यपि, ऋण लिनुअघि केही महत्त्वपूर्ण कुराहरू विचार गर्नुपर्छ।

कत्ति खर्च लाग्छ, हिसाब गर्नुहोस्‌

धर्मशास्त्रले ऋण दिने र लिने दुवैका लागि निर्देशनहरू दिएको छ। यी निर्देशनहरू पालन गरेर हामी थुप्रै गलतफहमी र भावनात्मक आघातबाट बच्नसक्छौं।

उदाहरणका लागि, बाइबलले ऋणलाई हल्का ठान्‍नुहुँदैन भनेर सम्झाउँछ। प्रेरित पावलले रोमका मसीहीहरूलाई यस्तो आग्रह गरे: “आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ, किनभने आफ्नो छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ।” (रोमी १३:८) व्यवहारमा हेर्ने हो भने, मसीहीले काढ्‌नुपर्ने एक मात्र ऋण प्रेम हो। तसर्थ, हामीले आफूलाई यस्तो प्रश्‍न सोध्नु बेस हुनेछ, ‘के मलाई ऋण चाहिएकै हो त?’

चाहिएकै हो भने, ऋण लिंदा आइपर्ने परिणामहरू विचार गर्नु बुद्धिमानी हुन्छ। महत्त्वपूर्ण निर्णय गर्दा राम्ररी विचार गर्नुका साथै योजना बनाउनुपर्छ भनेर येशू ख्रीष्टले बताउनुभयो। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो: “तिमीहरूमध्ये कसले एउटा धरहरा बनाउने इच्छा गर्दा त्यो सिध्याउने सम्मको खर्च आफूसँग छ कि छैन भनी पहिले बसेर हिसाब गर्दैन?” (लूका १४:२८) भाइसँग ऋण माग्ने विचार गर्दा यो सिद्धान्त लागू हुन्छ। कति ऋण लिने भनेर हिसाबकिताब गर्नु भनेको ऋण कसरी अनि कहिले तिर्ने भनेर हिसाबकिताब गर्नु हो।

ऋण कसरी र कहिले तिरिन्छ, ऋणदातासँग सो जान्‍ने अधिकार हुन्छ। आफ्ना समस्याहरू होसियारीसाथ विचार गरेर हामी तिनलाई स्पष्ट जवाफ दिनसक्छौं। उचित समयावधिभित्रै ऋण तिर्न सक्छौं कि सक्दैनौं, के हिसाबकिताब गरिसकेका छौं? निस्सन्देह, आफ्नो भाइलाई यसो भन्‍नु सजिलो छ: “म तपाईंको ऋण जतिसक्दो चाँडै तिर्नेछु। मलाई भरोसा गर्न सक्नुहुन्छ भनेर त तपाईंलाई थाह छँदै छ।” तर के हामीले यस्ता कुराहरू जिम्मेवार ढंगमा लिनुपर्दैन र? हामीले ऋण लिएकै दिनदेखि तिर्ने संकल्प पनि गर्नैपर्छ किनकि यहोवा हामीबाट त्यही चाहनुहुन्छ। भजन ३७:२१ भन्छ: “दुष्टले ऋण लिन्छ, र फेरि तिर्दैन।”

कसरी र कहिलेसम्म ऋण तिर्ने भनेर हिसाबकिताब गर्दा हामीले गर्न लागेको गम्भीर वाचा आफूलाई स्मरण गराइरहेका हुन्छौं। यसो गर्नाले हामी अनावश्‍यक ऋणमा डुब्ने सम्भावनाबाट बच्नेछौं। हामीले ऋण लिएनौं भने थुप्रै फाइदा हुन्छ। हितोपदेश २२:७ यस्तो चेताउनी दिन्छ: “साहूको चाकरे असामी हुन्छ।” ऋण दिने र लिने दुवै जना आध्यात्मिक भाइ भए तापनि ऋणले तिनीहरूको सम्बन्धलाई केही हदसम्म असर गर्नसक्छ। ऋणले गर्दा उत्पन्‍न भएका गलतफहमीहरूले गर्दा केही मण्डलीहरूको शान्ति खलल भएको छ।

पैसा चाहिएको कारण बताउनुहोस्‌

ऋण काढेको पैसा कसरी चलाउने, ऋणदातासँग सो जान्‍ने अधिकार हुन्छ। तिनीबाहेक अरूबाट पनि ऋण लिइरहेका छौं कि? त्यसो हो भने, त्यसबारे स्पष्ट बताउनुपर्छ किनकि त्यसले हामीसँग ऋण तिर्ने क्षमता छ कि छैन भनेर बताउँछ।

विशेषगरि, ऋण व्यापारको लागि चाहिएको हो या कुनै संकट टार्न, सो बुझ्नु महत्त्वपूर्ण छ। कुनै भाइले अरूलाई व्यापारको लागि ऋण दिनुपर्ने धर्मशास्त्रीय आवश्‍यकता छैन। तर तिनले भोजन, कपडा वा आवश्‍यक औषधोपचार जस्ता आधारभूत कुराहरू जुटाउन नसक्ने भाइलाई मदत गर्ने विचार गर्नसक्छन्‌। त्यस्ता विषयहरूमा खुलस्त र सत्य कुरा गर्दा गलतफहमीहरू उब्जन पाउने छैनन्‌।—एफिसी ४:२५.

लिखित कागजात राख्नुहोस्‌

भविष्यमा गलतफहमी भएको चाहँदैनौं भने शर्तहरू लिखित रूपमा राख्नु महत्त्वपूर्ण छ। लिखित कागजात राखेनौं भने शर्तहरू सजिलै बिर्सनसक्छौं। हामीले कति ऋण लिएका छौं र कहिले तिर्ने, त्यो लिखित रूपमा राख्नुपर्छ। ऋण लिने र दिने दुवैले शर्त हस्ताक्षर गरेर आफूसित एक एक प्रति राख्नु उचित हुनेछ। बाइबलले वित्तीय लेनदेनको कागजात राख्नुपर्छ भनेर औंल्याउँछ। बेबिलोनीहरूले यरूशलेम नाश गर्नुभन्दा केही समयअघि यहोवाले यर्मियालाई तिनको नातेदारको जमीन किन्‍न लगाउनुभयो। उक्‍त जमीन किन्दा अपनाइएको प्रक्रिया पुनरावलोकन गरेर हामी फाइदा उठाउनसक्छौं।

यर्मियाले यसो भने: “मैले मेरो काकाको छोराको हातबाट अनातोतमा भएको जमीन किनें, र चाँदीको सत्र शेकेल दाम त्यसलाई जोखेर दिएँ। मैले तमसुकमा सही गरें, छाप लगाएँ, साक्षीहरू राखें र जोखेर दाम दिएँ। तब मैले शर्त्तहरू भएको छाप लगाएको र खुला तमसुक दुवै लिएँ, र मेरो काकाको छोरो हनमेल, तमसुकमा सही हाल्नेहरू र प्रहरीको चोकमा बसेका सबै यहूदीहरू सामने ती तमसुकहरू मैले नेरियाहको छोरो मासेयाहको नाति बारूकलाई सुम्पिदिएँ।” (यर्मिया ३२:९-१२) यो उदाहरण ऋण लिने विषयमा नभई खरिदबिक्री गर्ने विषयमा भए तापनि यसले पैसाको लेनदेन सुस्पष्ट ढंगमा गर्न आवश्‍यक छ भनी औंल्याउँछ।—मे १, १९७३ को प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ २८७-८ हेर्नुहोस्‌।

कथंकदाचित कठिनाइहरू आइपऱ्‍यो भने मसीहीहरूले मत्ती १८:१५-१७ मा लिपिबद्ध येशूका सल्लाहअनुरूप त्यसलाई समाधान गर्नुपर्छ। तर यस्ता मामलामा मदत गर्न कोसिस गर्ने एक प्राचीन यसो भन्छन्‌: “प्रायजसो हरेक मामलामा लिखित कागजात राखिएको पाइएन। फलतः कसरी ऋण तिर्ने भनेर दुई जनाबीच पहिल्यै राम्रो समझदारी कायम भएको हुँदैन। यस्ता विषयहरू लिखित रूपमा राख्नु भरोसा नगर्नु होइन प्रेम देखाउनु हो भन्‍ने कुरामा म विश्‍वस्त छु।”

हामीले सम्झौतापत्रहरूमा हस्ताक्षर गरेपछि त्यसलाई पूरा गर्ने कोसिस पनि अवश्‍य गर्नुपर्छ। येशूले यसो भन्‍नुभयो: “तिमीहरूको वचन चाहिं, ‘हो भने, हो” ‘होइन भने, होइन’ होस्‌। औ यीभन्दा बढ़ता चाहिं दुष्टतर्फबाट हो।” (मत्ती ५:३७) कुनै अप्रत्याशित समस्याको कारण तोकेको समयमा ऋण तिर्न असमर्थ भयौं भने त्यसबारे तुरुन्तै ऋणदातालाई बताउनुपर्छ। सायद तिनले ऋण किस्ताबन्दीमा तिरे पनि हुन्छ भन्लान्‌।

तैपनि, अप्रिय परिस्थितिहरूको चपेटामा पऱ्‍यो भन्दैमा हामी आफ्ना जिम्मेवारीबाट अलग हुनसक्दैनौं। यहोवाको भय राख्नेले आफ्नो वचन पूरा गर्ने हर प्रयास गर्छ। (भजन १५:४) हामीले आशा गरेजस्तो परिस्थिति नसुध्रिए पनि ऋण तिर्नको लागि केही त्यागहरू गर्न तयार हुनुपर्छ। किनकि यो हाम्रो मसीही जिम्मेवारी हो।

ऋण दिंदा होसियार हुनुहोस्‌

निस्सन्देह, ऋणको विषयमा ऋण काढ्‌नेले मात्र राम्ररी सोचविचार गर्नुपर्ने होइन। ऋण दिने भाइले पनि आफूलाई कत्ति खर्च लाग्छ, हिसाबकिताब गर्नुपर्छ। ऋण दिनुअघि होसियारीसाथ अनि राम्ररी सोचविचार गर्नु बुद्धिमानी हुनेछ। बाइबलले यसरी होसियारी हुने आग्रह गर्छ: “कहिल्यै कसैको जिम्मेवारी लिने नहो, अथवा अर्काको जमानी नबस्‌।”—हितोपदेश २२:२६.

भाइले ऋण तिर्न नसकेको खण्डमा नतिजा के होला, पहिल्यै विचार गर्नुहोस्‌। के त्यसपछि तपाईं आफै आर्थिक संकटमा फस्नुहुनेछ? भाइले ऋण तिर्ने सक्दो कोसिस गर्दागर्दै पनि परिस्थितिले अर्कै मोड लिनसक्छ अथवा तिनीसँग तोकेको समयमा पैसा नहुनसक्छ। याकूब ४:१४ हामी सबैलाई यसरी सम्झाउँछ: “यो जान्दैनौ, कि भोलि के हुने हो। तिम्रो जिन्दगी के छ? तिमीहरू ता पानीको वाफ हौ, जो केही बेरको निम्ति देखा पर्दछ, अनि बिलाइहाल्दछ।”—उपदेशक ९:११ तुलना गर्नुहोस्‌।

विशेषगरि, व्यापारको लागि ऋण दिंदा ऋण लिनेले कस्तो नाउँ कमाएको छ, सो विचार गर्नु बुद्धिमानी हुनेछ। तिनी विश्‍वासिलो र भरोसायोग्य छन्‌ कि पैसाको कामकुरा सँम्हाल्नै नजान्‍ने छन्‌? तिनले मण्डलीका विभिन्‍न भाइबहिनीहरूसँग ऋण माग्दै हिंड्‌ने पो गर्छन्‌ कि? निम्न शब्दहरू मनमा राख्नु बुद्धिमानी हुनेछ: “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्‍यक्‍तालाई बुझ्छ।”—हितोपदेश १४:१५.

कहिलेकाहीं ऋण काढ्‌नेले ऋण लिनु वेफाइदाजनक पनि हुनसक्छ। बोझ बनेर त्यसले तिनको आनन्द लुट्‌नसक्छ। के हामी त्यस्तो भाइ हाम्रो “चाकरे” भएको चाहन्छौं? उसले ऋण तिर्न नसक्दा अप्ठ्यारो अथवा बेइज्जती महसुस गरेर हाम्रो सम्बन्धमा असर नपुग्ला र?

कोही साँच्चै खाँचोमा परेको छ भने, थोरै रकम भए पनि ऋणको सट्टा उपहारस्वरूप दिने विचार गरे कसो होला? भाइबहिनीहरू खाँचोमा पर्दा दया देखाउनुपर्छ भनेर धर्मशास्त्रले हामीलाई प्रोत्साहन दिन्छ। भजनरचयिताले यसरी गाए: “धर्मात्माले ता अनुग्रहसाथ व्यवहार गर्छन्‌।” (भजन ३७:२१) खाँचोमा परेका भाइबहिनीहरूलाई सक्दो व्यवहारिक मदत गर्न हामीलाई प्रेमले उत्प्रेरित गर्नुपर्छ।—याकूब २:१५, १६.

तपाईंले उठाउनुहुने कदमहरू राम्ररी विचार गर्नुहोस्‌

ऋणले फाटो उत्पन्‍न गराउनसक्छ। अतः ऋणलाई सजिलो विकल्प ठान्‍नुको साटो अन्तिम उपाय सम्झनुपर्छ। माथि उल्लेख गरिएझैं, ऋण लिनेले ऋणदातासँग खुलस्त कुरा गर्नुपर्छ अनि ऋण कसरी र कहिलेसम्म तिर्ने, लिखित कागजात राख्नुपर्छ। अनि कठिनाइ आइपर्दा चाहिं उपहार दिनु नै समस्याको सबैभन्दा राम्रो समाधान हुनसक्छ।

माइकलले साइमनलाई ऋण दिएनन्‌। त्यसको साटो माइकलले थोरै रकम उपहारस्वरूप दिए। आफ्नो बच्चाको औषधोपचार गर्न त्यस्तो मदत पाएकोमा साइमन साह्रै कृतज्ञ भए। अनि माइकल चाहिं आफ्नो भाइप्रति व्यवहारिक प्रेम देखाउन पाएकोमा खुसी भए। (हितोपदेश १४:२१; प्रेरित २०:३५) माइकल र साइमन दुवै जना परमेश्‍वरको राज्यअन्तर्गत ख्रीष्टले ‘दरिद्रहरूको पुकारा सुन्‍नुभएर छुटकारा दिनुहुने’ र कसैले पनि “म बिरामी परें” भन्‍न नपर्ने समयको प्रतीक्षामा छन्‌। (भजन ७२:१२; यशैया ३३:२४) त्यतिञ्जेल, भाइसँग ऋण लिनै पर्ने बाध्यता आइपरेमा आफूले उठाउनुपर्ने कदम राम्ररी विचार गरौं।

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ २५-मा भएको चित्र]

ऋणका शर्तहरू लिखित रूपमा राख्नु भरोसा नगर्नु होइन प्रेम देखाउनु हो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने