पश्चिम अफ्रिकामा चोरी विफल भयो
युनिस अबुको वृत्तान्तमा आधारित
“हतियारधारी चोरहरूले हाम्रो घरमा मण्डली पुस्तक अध्ययन सञ्चालन हुने दिनमा आक्रमण गर्ने योजना बनाए। त्यो दिन भाइबहिनीहरू तथा जिज्ञासु व्यक्तिहरूको निम्ति हामी गेट पूरा खोल्छौं। सायद चोरहरूलाई हाम्रो बानी र सभाको समय थाह थियो। तिनीहरूले अर्को ठाउँबाट गाडी चोरेका हुन् भनी हामीलाई पक्का थाह छ र पुस्तक अध्ययनको समयमा हाम्रो गेट बाहिर पर्खिरहे।
“तर संयोगले तिनीहरू आएको हप्ता क्षेत्रीय निरीक्षकको हप्ता पऱ्यो। त्यसैले हाम्रो घरमा भेला हुनुको साटो हामी राज्यभवनमा गयौं। सभापछि प्राचीनहरूको सभा थियो। साधारणतया म र बच्चाहरू घर जान्थ्यौं तर त्यस दिन मेरो श्रीमान्ले जो प्राचीन हुनुहुन्छ हामीलाई पर्खन आग्रह गर्नुभयो। धेरै समय लाग्दैन भन्नुभएकोले हामीले पर्ख्यौं।
“अनि घर जान तर्खर गर्दा हाम्रो गाडी चल्दै चलेन। क्षेत्रीय निरीक्षक भाइ र मेरो श्रीमान्ले बनाउनै सक्नुभएन। हामीले बोलाएको मिस्त्रीले पनि बनाउन सकेन।
“बच्चाहरू हिंडेर घर फर्कनुपऱ्यो। एकछिनपछि म पनि घर फर्कें। म दस बजेतिर घर पुगें। न म नता बच्चाहरू नै गाडीमा घर फर्क्यौं। गाडीमा फर्केको भए ठूलो गेट खोल्नुपर्थ्यो।
“मेरो सुत्ने कोठाभित्र छिर्दा मैले गोली चलेको आवाज सुनें। के भएको होला भनी विचार गरें। प्रहरीलाई टेलिफोन गर्न खोजें तर फोन लाइन काटिएको रहेछ। म तल कुदेर गएँ र स्टीलको ढोकामा ताला मारें र बीचको कोठामा फर्कें। बत्तीहरू निभाएँ। बच्चाहरू अतालिरहेका थिए त्यसैले तिनीहरूलाई शान्त रहन भनें। सुरक्षाको निम्ति हामी मिलेर यहोवालाई प्रार्थना गऱ्यौं। यतिबेलासम्म मेरो श्रीमान् गाडी बनाउने कोसिसमा राज्यभवनमै हुनुहुन्थ्यो।
“झ्यालबाट हेर्दा एक जना मानिस गेटबाहिर भूइँमा लडिरहेको देखें। यसो हेर्दा चोरहरू गइसकेका जस्तो देखिन्थ्यो त्यसैले मैले घाइते मानिसलाई गाडीमा हालेर अस्पताल कुदाएँ। खतरा थियो तर मैले त्यसो गर्नुपर्थ्यो। तर दुःखको कुरा तिनी भोलि पल्टै मरेछन्।
“तर परिस्थिति अझ यो भन्दा पनि नराम्रो हुनसक्थ्यो। क्षेत्रीय निरीक्षकको भ्रमणको कारण हाम्रो घरमा पुस्तक अध्ययन भएन। गाडी बिग्रनुको अर्थ हामी सपरिवार सँगै घर फर्केनौं। गाडी नबिग्रिएको भए मेरो श्रीमान्लाई चोरहरूले पक्कै समात्ने थिए तर उहाँ घर ढिला आइपुग्नु भयो। त्यस रात जे जति भयो, यी सबै कुराहरू हाम्रै फाइदाको निम्ति भयो।
“यहोवा हाम्रो बलियो गढ र शरणस्थान हुनुहुन्छ। शास्त्रपदले भनेझैं ‘परमप्रभुले शहरको रक्षा नगर्नु भएता पाले व्यर्थैमा जागो रहन्छ।’ ”—भजन १२७:१.