प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 २/८ पृ. २०-२३
  • तपाईंको कार सुरक्षितसाथ मर्मत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंको कार सुरक्षितसाथ मर्मत गर्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पहिल्यै सोच्नुहोस्‌!
  • अकस्मात्‌ आइपर्ने खतराबाट जोगिने
  • आपत्‌कालीन अवस्थाहरूको सामना गर्ने
  • पश्‍चिम अफ्रिकामा चोरी विफल भयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • वैवाहिक सम्बन्ध किन बिग्रँदै छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
ब्यूँझनुहोस्‌!—२००४
g04 २/८ पृ. २०-२३

तपाईंको कार सुरक्षितसाथ मर्मत गर्नुहोस्‌

केभिनलाई आफ्नो कारको मोबिल कसरी फेर्ने भन्‍ने अनुभव थियो। तिनलाई मोबिल ट्याङ्‌कीको ड्रेन प्लग निकाल्ने, क्य्राङ्‌ककेस खाली गर्ने, सफा गरिसकेपछि फेरि प्लग राख्ने र यसलाई कस्ने तरिका थाह थियो। तर एक पटक केभिनले जोडसित रेन्चु ठेलेर कस्न खोज्दा पेचको टाउकोबाट रेन्चु खुस्कियो। केभिनको हात धारिलो पातामा ठोक्किन पुग्यो र थुप्रै टाँकाहरू लगाउनुपर्ने गरी तिनको हत्केलामा नराम्रो चोट लाग्यो।

केभिनजस्तै, धेरै व्यक्‍तिहरूले प्रायजसो आफ्नो कार आफै मर्मत गर्छन्‌—कोही-कोही खर्च घटाउनको लागि मात्र पनि यसो गर्छन्‌। तर सानोतिनो स्याहार-सम्भार तथा मर्मत गर्न सिकिराख्दा अरू पनि लाभहरू हुन सक्छन्‌। क्याथी नाउँ गरेकी एउटी स्त्री यसो भन्छिन्‌: “एक पटक लामो यात्रामा जाँदा मेरो कारमा केही गडबडी भयो। मैले कार मर्मत गर्न सिकेकी हुनाले आफैले बनाउन सकें र आफ्नो यात्रा जारी राख्न सकें।”

सायद तपाईं पनि आफ्नो कार आफैं स्याहार-सम्भार तथा मर्मत गर्न सक्ने बन्‍न चाहनुहुन्छ होला। तपाईं कसरी सुरक्षितसाथ यसो गर्न सक्नुहुन्छ?

पहिल्यै सोच्नुहोस्‌!

तपाईंको पहिलो प्राथमिकता भनेको सुरक्षा हुनुपर्छ।a केभिनको चोटले देखाएझैं, साँघुरो ठाउँमा काम गर्दा वा कुनै औजारमा बढ्‌ता बल प्रयोग गर्दा सजिलै चोटपटक लाग्न सक्छ। चोटपटक लाग्नदेखि तपाईं कसरी बच्न सक्नुहुन्छ? रेन्चुले पेच कस्दा, औजार यसमा टम्म मिलेको छ कि छैन पक्का गर्नुहोस्‌। ‘यो औजार चिप्लेर खुस्कियो भने मेरो हात कहाँ पुग्ला?’ भनेर आफूलाई सोध्नुहोस्‌। पन्जा लगाउँदा वा हातमा पुरानो कपडा बेर्दा यसले केही हदसम्म भने पनि सुरक्षा दिन सक्छ। तपाईंले लगाउनुभएको बल नियन्त्रण गर्नको लागि, सम्भव छ भने औजारलाई धकेल्नुको सट्टा आफूतिर तान्‍नुहोस्‌। त्यसै गरी, कस्सिएर बसेको पेच खोल्दा तपाईंको लक्ष्य भनेको एक पटकमा एक फन्कोको एक चौथाइ भाग मात्र घुमाउने हुनुपर्छ। दूरदर्शिता तथा नियन्त्रणका यी सिद्धान्तहरू सधैं लागू हुन्छन्‌। हतारपतारमा कहिल्यै पनि यिनको बेवास्ता नगर्नुहोस्‌!

एउटा उद्देश्‍यको लागि बनाइएको औजार अर्कै उद्देश्‍यको लागि चलाउन खोज्दा अक्सर दुर्घटनाहरू हुनेगर्छन्‌। उदाहरणका लागि, टमलाई आफ्नो कारको स्पार्क प्लग परिवर्तन गर्न गाह्रो परिरहेको थियो। किन? तिनको रेन्चुको च्याप्ने भाग असाध्यै सानो थियो र पहिलो प्लगमा नै यो चिप्लेको चिप्ल्यै गऱ्‍यो। पछि, टमले बीचमा एउटा भाग थपेर समात्ने बिंड लामो बनाए। त्यसपछि पहिले एउटा प्लग परिवर्तन गर्न जति समय लागेको थियो त्यति नै समयमा तिनले बाँकी पाँचवटा प्लग परिवर्तन गरे—अनि तिनले सुरक्षितसाथ यसो गरे! यसबाट सिक्न सकिने पाठ? सही औजार हुनु अत्यावश्‍यक छ।

कारको मुनि काम गर्दा वा ड्यासबोर्डको तलतिर हेर्दा तपाईंको आँखामा बिझाउने कुराहरू पस्न सक्छन्‌। यसबाट कसरी बच्न सकिन्छ? मेकानिकको रूपमा काम गर्दै आएको दस वर्षभन्दा बढी भइसकेको सोन यसो भन्छन्‌: “आँखालाई बचाउन केही लगाउनुहोस्‌, जस्तै चस्मा।” तिनी अझै यसो भन्छन्‌: “मैले काम गर्ने ठाउँमा यस्तो सुरक्षा उपकरण लगाउनु अनिवार्य छ।” खतरनाक तरल पदार्थहरू, जस्तै ब्याट्रीको एसिड नजिक रहेर काम गर्दा पनि तपाईंको आँखा जोगाउन सुरक्षा उपकरण लगाउनुपर्छ।

कारको मुन्तिर काम गर्दा सधैं सही ढङ्‌गले डिजाइन गरिएको ज्याक स्ट्याण्ड, गाडी उचाल्ने लिफ्ट वा गाडी मर्मत गर्नको लागि खनिएको खाडलको प्रयोग गर्नुहोस्‌। ज्याकले मात्र अड्याइएको गाडीको मुन्तिर कहिल्यै पनि नछिर्नुहोस्‌। कारलाई पर्याप्त आड दिनको लागि ज्याक तथा ज्याक स्ट्याण्ड कहाँ लगाउनुपर्छ भनेर केही कारहरूको निर्देशन पुस्तिकामा देखाइएको हुन्छ। तथापि, सावधान रहनुहोस्‌, अकस्मात्‌ बल लगाउँदा—जस्तै कस्सिएर बसेको पेच खोल्न बल लगाउँदा—कार यताउता सर्न सक्छ र अड्याएको ठाउँबाट खुस्किन सक्छ।

अकस्मात्‌ आइपर्ने खतराबाट जोगिने

तपाईंको कारको कुनै-कुनै भाग असाध्यै तात्न सक्छ र त्यसलाई छुनुभयो भने तपाईंलाई पोल्न सक्छ। उदाहरणका लागि, इन्जिन बन्द गरेको केही समयपछिसम्म पनि रेडिएटरको पानी तातै रहन्छ। त्यसकारण नाङ्‌गो हातले छुन सक्ने नहोउन्जेलसम्म रेडिएटरको बिर्को नखोल्नुहोस्‌। कुनै-कुनै कारहरूमा रेडिएटरको पङ्‌खा विद्युत्‌द्वारा चल्ने हुन्छ र इन्जिन बन्द गरिसकेपछि पनि यो पङ्‌खा आफसेआफ चल्छ। चोटपटक लाग्नदेखि जोगिन आफ्नो काम सुरु गर्नुभन्दा पहिले ब्याट्रीबाट जमिनमा जोडिएको तार छुटाउनुहोस्‌।

तपाईंले कार मर्मत गर्नुहुँदा, विशेष गरी इन्जिन चलिरहेको छ भने, औंठी तथा अरू गरगहना फुकाल्नुहोस्‌। बाहिर चुस्स निस्किएको भागमा अल्झिनुको अलावा धातुका गहनाहरूले विद्युतीय सर्ट सर्किट गराउन र असाध्यै तात्न सक्छ! ह्वार्लाङ परेको बाहुलाका साथै टाई, गलबन्दी र लामो कपालसमेत चलिरहेको भागमा अल्झिन सक्छ।

तपाईंले आफ्नो काम सिद्धियो भनेर सोच्नुभए तापनि पालन गर्नुपर्ने एउटा अन्तिम नियम छ। एउटा व्यस्त कारखानाका सेवा सल्लाहकार, डर्क यसो भन्छन्‌: “सधैं आफ्नो काम दोहोऱ्‍याएर जाँच्ने गर्नुहोस्‌।” तिनी अझै यसो भन्छन्‌: “एक पटक, ब्रेक मर्मत गरिसकेपछि एक जना मेकानिकले यसरी जाँच्न बिर्सिए। ब्रेक फेल भयो र कार हुइँकिएर सीधै मेरो डेस्कमा ठोक्किन आयो!”

आपत्‌कालीन अवस्थाहरूको सामना गर्ने

एक दिन टमले आफ्नो कार असाध्यै तातिरहेको याद गरे। एउटा पाइप फुटेर रेडिएटरको पानी बाहिर निस्किसकेको थियो। आफ्नो कारमा राखेको डक्ट टेप प्रयोग गरेर टमले फुटेको पाइप अस्थायी रूपमा टालटुल गर्न सके अनि रेडिएटरमा एन्टिफ्रिज र पानी खन्याए। त्यसपछि, तिनी नयाँ पाइप किन्‍न गाडीहरूको सामान बेच्ने पसलतिर गए। टमको अनुभवले मर्मतको लागि आवश्‍यक पर्ने सामाग्रीहरू आफ्नो कारमा राखेर तयार हुनुपर्ने आवश्‍यकतालाई औंल्याउँछ।

गाडी हाँक्दा, अनौठो आवाज वा गन्धप्रति सजग रहनुहोस्‌। इभोनले आफ्नो कारको इन्जिनबाट अनौठो खालको गन्ध आइरहेको महसुस गरिन्‌। तिनको पतिले बर्नट खोलेर हेर्दा रेडिएटरको पाइपको माथिल्लो भागमा परेको सानो प्वालबाट एन्टिफ्रिजको मसिनो फोहरा छुटिरहेको देखे। कार असाध्यै तातो अथवा ओभरहिट हुनुभन्दा पहिले नै समस्या पत्ता लागेको कारण इभोन र तिनका पतिले आफ्नो कार कारखानासम्म लैजान सके।

तपाईंको कार राजमार्गमा बिग्रियो भने के गर्नुपर्छ? पहिले, कारलाई सकेसम्म सडकको किनारामा ल्याउने कोसिस गर्नुहोस्‌। यात्रीहरू र त्यसमा पनि विशेष गरी बच्चाहरू सुरक्षा पेटी बाँधेर कार भित्रै बस्नुपर्छ। तपाईं कार बाहिर ननिस्की हुँदैन भने सडकमा गुडिरहेका गाडीहरूबाट सकेसम्म टाढा रहनुहोस्‌। इमर्जेन्सी लाइट बाल्नुहोस्‌। तपाईंको कारमा कुनै गडबडी भएको छ भन्‍ने सङ्‌केत दिन बर्नट खोलेर छोड्‌नुहोस्‌। कुनै चहकिलो वस्तु वा अन्य सचेतात्मक चिह्नहरू राख्नुहोस्‌।

तपाईंको कारको ब्याट्री सिद्धिएको छ भने तपाईंले अर्को गाडीको ब्याट्रीमा तार जोडेर स्टार्ट गर्न सक्नुहुन्छ। तर होसियार हुनुहोस्‌ किनभने कारको ब्याट्रीले अत्यधिक प्रज्वलनशील ग्याँस निकाल्छ। आगोको एउटा सानो झिल्काले पनि यो ग्याँस तुरुन्तै बल्न र विस्फोट हुन सक्छ अनि तपाईंको शरीरभरि असाध्यै पोल्ने एसिडको वर्षा हुन सक्छ। त्यसकारण तपाईं वा तपाईंलाई मदत गर्ने व्यक्‍तिलाई अर्को गाडीको ब्याट्रीसित जोडेर कसरी स्टार्ट गर्ने भनेर पक्का छैन भने मदतको लागि कुर्नुहोस्‌।

हामीले बुझ्यौं कि कारको स्याहार-सम्भार गर्नु भनेको एउटा गम्भीर जिम्मेवारी हो। तपाईंले चाहे आपत्‌कालीन अवस्थामा आफ्नो कारको मर्मत गरिरहनुभएको होस्‌ वा नियमित स्याहार-सम्भारको लागि, यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: सुरक्षाप्रति सजग हुनु अनिवार्य छ! (g04 01/08)

[फुटनोट]

a तपाईंले कुनै काम पहिलो पटक गर्दै हुनुहुन्छ भने तपाईंको कारको मर्मतसम्बन्धी निर्देशन पुस्तिका प्राप्त गर्ने कोसिस गर्नुहोस्‌ वा एक जना अनुभवी साथीको मदत माग्नुहोस्‌। तपाईंको कारमा कम्प्युटर प्रणाली वा अरू उच्च-प्रविधिहरू जडान गरिएका छन्‌ भने तपाईंको सवारी साधनलाई आवश्‍यक उपकरण तथा मर्मतसम्बन्धी ज्ञान भएको मेकानिककहाँ लैजानु बेस हुन सक्छ।

[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]

एउटा उद्देश्‍यको लागि बनाइएको औजार अर्कै उद्देश्‍यको लागि चलाउन खोज्दा अक्सर दुर्घटनाहरू हुनेगर्छन्‌

[पृष्ठ १९-मा भएको पेटी/चित्र]

तपाईंको कारमा राख्नु पर्ने सामानहरू

◼ जगेडा टायर र ज्याक

◼ जम्पर केबलहरू

◼ चहकिलो वस्तु वा परावर्तकहरू

◼ औजारहरू तथा चस्मा

◼ टर्चलाइट

◼ जगेडा तरल पदार्थहरू (तेल, पानी, एन्टिफ्रिज, ब्रेक आयल)

◼ डक्ट टेप

◼ जगेडा फ्युजहरू

◼ टुचेन (नोट: कुनै-कुनै ठाउँमा, अनुमति प्राप्त गरेका गाडीहरूलाई मात्र अर्को गाडी तान्‍न कानुनी मान्यता दिइएको हुन सक्छ।)

◼ औजारहरू सफासित र भाँडाहरू ठाडो राख्नको लागि बाकस

तपाईंले मर्मतको लागि अरू पनि सामानहरू राख्ने इच्छा गर्नुहोला। तथापि, बाटोमै आएर आपत्‌कालीन सेवा दिने कुनै-कुनै अटोमोबाइल क्लबहरू सवारी धनी आफैले केही खास मर्मत गर्न थालिसकेको छ भने त्यस्तो कार मर्मत गर्न हिचकिचाउँछन्‌। तपाईं कुनै अटोमोबाइल क्लबको सदस्य हुनुहुन्छ भने कस्ता खालका मर्मतहरू तपाईं आफैले गर्न अनुमति प्राप्त छ भन्‍ने कुरा थाह लगाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने