प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 १/१ पृ. ६-११
  • के तपाईंसित अब्राहामको जस्तो विश्‍वास छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंसित अब्राहामको जस्तो विश्‍वास छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको निर्देशनप्रति आज्ञाकारी
  • अहिले अब्राहामको जस्तै विश्‍वास
  • परीक्षाहरूको बावजूद विश्‍वासी
  • अहिले धैर्य धारण गर्दै
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • परमेश्‍वरको साथी अब्राहाम
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • अब्राहाम र साराले परमेश्‍वरको आज्ञा पालन गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “आफ्नो हृदयलाई स्थिर गराओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 १/१ पृ. ६-११

के तपाईंसित अब्राहामको जस्तो विश्‍वास छ?

“मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्‍वास पाउनेछ?”—लूका १८:८.

१. अहिले आफ्नो विश्‍वास बलियो राख्नु किन गाह्रो छ?

अहिले आफ्नो विश्‍वास बलियो पारेर राख्न सजिलो छैन। संसारले मसीहीहरूलाई आध्यात्मिक कुराहरूदेखि अलमलाउन निकै कोसिस गर्छ। (लूका २१:३४; १ यूहन्‍ना २:१५, १६) थुप्रैले लडाइँ, विपत्ति, रोगबिमार वा भोकको सिकार हुनसक्ने अवस्थाबाट उम्कन निकै संघर्ष गर्नुपर्छ। (लूका २१:१०, ११) धेरैजसो मुलुकहरूमा धर्मलाई त्यति महत्त्व दिइँदैन। त्यसकारण धार्मिक विश्‍वासअनुसार जीवन बिताउनेहरूलाई अव्यवहारिक तथा कट्टरसमेत भन्ठानिन्छ। यसबाहेक, थुप्रै मसीहीहरू तिनीहरूको विश्‍वासका लागि सताइन्छन्‌। (मत्ती २४:९) अतः येशूले आजभन्दा करिब २,००० वर्षअघि उठाउनुभएको प्रश्‍न अत्यन्तै उपयुक्‍त छ: “मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्‍वास पाउनेछ?”—लूका १८:८.

२. (क) मसीहीको लागि बलियो विश्‍वास हुनु किन अत्यावश्‍यक छ? (ख) हामीले कसको विश्‍वासको उदाहरण विचार गर्नु बेस हो?

२ तर, कुरा के भने वर्तमान समयमा सफल जीवन बिताउन र भविष्यमा प्रतिज्ञा गरिएको अनन्त जीवन पाउन बलियो विश्‍वास अत्यावश्‍यक छ। यहोवाले हबकूकलाई भन्‍नुभएका शब्दहरू उद्धरण गर्दै प्रेरित पावलले यसप्रकार लेखे: “मेरो धार्मिक जनचाहिं विश्‍वासबाट बाँच्नेछ, औ यदि उनी पछि हट्‌छ भनेता मेरो मन उनीसित खुशी रहनेछैन। . . . विना विश्‍वास [परमेश्‍वरलाई] रिझाउन असम्भव छ।” (हिब्रू १०:३८–११:६; हबकूक २:४) पावलले तिमोथीलाई यसो भने: “विश्‍वासको उत्तम लड़न्त लड़। अनन्त जीवन पक्री राख, जसमा तिमीलाई बोलावट भएको थियो।” (१ तिमोथी ६:१२) त्यसोभए, त्यस्तो अटल विश्‍वास हामी कसरी पाउनसक्छौं? यस सन्दर्भमा लगभग ४,००० वर्षअघि यस पृथ्वीमा जीवन बिताएका एक जना मानिसलाई हेर्नु बेस होला, तिनको विश्‍वासलाई संसारका तीनवटा प्रमुख धर्महरू इस्लाम, यहूदीधर्म तथा मसीहीधर्ममा निकै सम्मान गरिन्छ। ती मानिस हुन्‌, अब्राहाम। तिनको विश्‍वास किन उल्लेखनीय थियो? के आज हामी तिनको अनुकरण गर्नसक्छौं?

परमेश्‍वरको निर्देशनप्रति आज्ञाकारी

३, ४. तेरह आफ्नो परिवारसहित ऊरबाट किन हारानमा बसाइँ सरे?

३ अब्राहामबारे (सुरुमा अब्राम भनिने) बाइबलको सुरु-सुरुतिरै उल्लेख गरिएको छ। उत्पति ११:२६ मा हामी यसो लेखिएको पाउँछौं: “तेरह[ले] . . . अब्राम, नाहोर र हारानलाई जन्माए।” तेरह र उनको परिवार कल्दीहरूको देश ऊरमा बस्थे र त्यो दक्षिणी मेसोपोटामियाको संवृद्ध शहर थियो। तथापि, तिनीहरूले त्यहाँ घरजम गरेनन्‌। “तेरहले आफ्नो छोरो अब्राम र हारानको छोरो आफ्नो नाति लूत औ अब्रामकी स्वास्नी साराई [सारा] आफ्नी बुहारीलाई साथमा लिएर कल्दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्के। अनि तिनीहरू हारानमा पुगेपछि त्यहींनै बसोबास गरे।” (उत्पत्ति ११:३१) अब्राहामको भाइ नाहोर पनि आफ्नो परिवारसहित हारानमा बसाइँ सरे। (उत्पत्ति २४:१०, १५; २८:१, २; २९:४) तर तेरह संवृद्ध शहर ऊरबाट किन टाढाको देश हारानमा बसाइँ सरे?

४ अब्राहामभन्दा लगभग २,००० वर्षपछिका विश्‍वासी पुरुष स्तिफनसले तेरहको परिवार कुनै ठोस कारण बिना बसाइँ सर्नुको कारण यहूदी महासभाअघि यसरी वर्णन गरे: “महिमाका परमेश्‍वरले हाम्रा पितामह अब्राहामलाई उनी हारानमा बस्न अघिनै मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो। औ तिनलाई भन्‍नुभएको थियो, ‘तिमी आफ्ना देश र आफ्ना कुटुम्बबाट निस्केर, जुन देश म तिमीलाई देखाउँछु, त्यहाँ जाऊ।’ तब तिनी क्याल्डियनहरूको देशबाट निस्केर हारानमा आएर बसे।” (प्रेरित ७:२-४) तेरहले आफ्नो घरपरिवारलाई हारानमा बसाइँ सारेर यहोवाले अब्राहामको लागि चाहनुभएको इच्छाअनुरूप गरे।

५. आफ्नो बुबाको मृत्युपछि अब्राहाम कहाँ गए? किन?

५ तेरहको परिवार यो नयाँ शहरमा घरजम गर्न थाल्यो। वर्षौंपछि अब्राहामले “मेरो देश” भनी ऊर नभई हारानको विषयमा भन्दै थिए। (उत्पत्ति २४:४) तैपनि, हारान अब्राहामको स्थायी घर हुने थिएन। स्तिफनसअनुसार “[अब्राहामको] पिताको मृत्यु भएपछि परमेश्‍वरले तिनलाई त्यहाँबाट यस मुलुकमा सार्नुभयो, जहाँ अहिले तपाईंहरू रहनुहुन्छ।” (प्रेरित ७:४) यहोवाको निर्देशनप्रति आज्ञाकारी भएर अब्राहाम यूफ्रेटिसपारी कनान देशमा जाँदा लूत पनि सँगसँगै गए।a

६. यहोवाले अब्राहामलाई कस्तो प्रतिज्ञा गर्नुभयो?

६ यहोवाले अब्राहामलाई किन कनानमा बसाइँ सर्न लगाउनुभयो? यसको कारण त्यस विश्‍वासी पुरुष मार्फत परमेश्‍वरले गर्नुहुने उद्देश्‍यसित सम्बन्धित थियो। यहोवाले अब्राहामलाई यसो भन्‍नुभएको थियो: “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका जहानबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु। म तँलाई आशिष दिनेछु र तेरो नाउँ प्रसिद्ध गराउनेछु। तँ आशिषको मूल भएस्‌। तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु, र तँलाई सराप दिनेहरूलाई म सराप दिनेछु। तँमानै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्‌।” (उत्पत्ति १२:१-३) अब्राहाम, यहोवाको सुरक्षा पाउने तथा कनानमाथि अधिकार जमाउने ठूलो राष्ट्रका पिता हुनेथिए। कस्तो राम्रो प्रतिज्ञा! तर त्यो देश पाउन अब्राहामले आफ्नो जीवनमा आमूल परिवर्तनहरू गर्नुपऱ्‍यो।

७. यहोवाका प्रतिज्ञाहरू पूरा भएको हेर्न अब्राहाम के कस्ता परिवर्तनहरू गर्न तयार हुनुपऱ्‍यो?

७ अब्राहामले छोडेको ऊर संवृद्ध शहर थियो र तिनका बुबाका नाताकुटुम्बहरू तात्कालिन कुलपिताहरूको समयमा सुरक्षाको महत्त्वपूर्ण स्रोत थिए। हारान छोडेर आउँदा आफ्नो बुबाको घरपरिवारलगायत भाइ नाहोरको परिवारबाट अलग भएर बिरानो देशमा गए। तिनले कनानको पर्खालका चार घेराभित्र सुरक्षा खोजेनन्‌। किन? यस नयाँ ठाउँमा प्रवेश गरेको धेरै समय नबित्दै यहोवाले तिनलाई यसो भन्‍नुभयो: “उठ्‌, देशको चारैतिर जा, किनकि म त्यो तँलाई दिनेछु।” (उत्पत्ति १३:१७) पचहत्तर वर्ष पुगेका अब्राहाम र तिनकी ६५ वर्षीया पत्नी साराले यी निर्देशनहरू पालन गरे। “विश्‍वासैबाट आफ्नो होइन, तर अर्काको देशमा जस्तो गरी त्यही प्रतिज्ञाका हकदारहरू भएर पालमा बास” गरे।—हिब्रू ११:९; उत्पत्ति १२:४.

अहिले अब्राहामको जस्तै विश्‍वास

८. अब्राहाम र अन्य प्रारम्भिक साक्षीहरूलाई विचार गर्दै हामीले के खेती गर्नुपर्छ?

८ हिब्रू अध्याय ११ मा उल्लिखित “[मसीहपूर्व] गवाहीका मेघ[मध्ये]” अब्राहाम र तिनको परिवार पनि पर्छन्‌। परमेश्‍वरका यी प्रारम्भिक सेवकहरूको विश्‍वासलाई ध्यानमा राख्दै पावल मसीहीहरूलाई “हर किसिमको टण्टा र हामीलाई सजिलैसित अल्मल्याउने पापलाई पन्छाएर” अघि बढ्‌न प्रोत्साहन दिन्छन्‌। (हिब्रू १२:१) हो, विश्‍वासको कमीले हामीलाई ‘सजिलै अल्मल्याउनसक्छ।’ तर पावलको तथा हाम्रो समयमा साँचो मसीहीहरूले अब्राहाम तथा प्रारम्भिक कालका अरू व्यक्‍तिहरूको जस्तै बलियो विश्‍वास खेती गर्नसकेका छन्‌। आफू र आफ्ना सँगी मसीहीहरूबारे पावल यसो भन्छन्‌: “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्‌नेहरूमध्येका होइनौं, तर आत्माको उद्धारको निम्ति विश्‍वास गर्नेहरूमध्येका हौं।”—हिब्रू १०:३९.

९, १०. अहिले थुप्रै मानिसहरूसित अब्राहामको जस्तै विश्‍वास छ भन्‍ने के प्रमाण छ?

९ हो, अहिलेको संसार अब्राहामको पालाको जस्तो छैन। तैपनि, हामी अहिले पनि “अब्राहामको परमेश्‍वरको” सेवा गर्छौं र उहाँ बदल्नुहुन्‍न। (प्रेरित ३:१३; मलाकी ३:६) अब्राहामको समयमा जस्तै अहिले पनि यहोवा उपासनाको योग्य हुनुहुन्छ। (प्रकाश ४:११) थुप्रैले आफ्नो सारा जीवन यहोवालाई समर्पण गर्छन्‌ अनि परमेश्‍वरको इच्छाअनुसार गर्न जस्तोसुकै परिवर्तनहरू गर्न पनि तयार हुन्छन्‌। गत वर्ष ३,१६,०९२ जनाले पिता, पुत्र र पवित्र आत्माको नाउँमा पानीद्वारा बप्तिस्मा लिएर आफ्नो समर्पणलाई जनसमक्ष प्रकट गरे।—मत्ती २८:१९.

१० यी नयाँ मसीहीहरूमध्ये धेरैजसोले समर्पण पूरा गर्न टाढा टाढा जानु परेन। तर आध्यात्मिक अर्थमा थुप्रैले निकै लामो यात्रा गर्नुपऱ्‍यो। उदाहरणका लागि, मरिससकी एल्सी झाँक्री थिइन्‌। उनी देखेर सबै डराउँथे। एक विशेष अग्रगामीले एल्सीको छोरीसित बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाए र यसले एल्सीको लागि “अन्धकारबाट ज्योतितर्फ” फर्कने बाटो खुल्यो। (प्रेरित २६:१८) आफ्नी छोरीको चासो देखेर एल्सी पनि बाइबलका कथाहरू भएको मेरो पुस्तक अध्ययन गर्न राजी भइन्‌। उनलाई निरन्तर प्रोत्साहनको खाँचो पर्ने हुँदा हप्ताको तीन चोटि अध्ययन गरिन्थ्यो। टुनामुना विद्याले उनलाई आनन्द दिन सकेन र उनका थुप्रै व्यक्‍तिगत समस्याहरू थिए। तर अन्तमा गएर उनले प्रेतवाददेखि साँचो उपासनासम्मको लामो यात्रा पूरा गर्न सकिन्‌। मानिसहरू उनीकहाँ देखाउन आउँदा यहोवाले मात्र तिनीहरूलाई दुष्टताबाट जोगाउन सक्नुहुन्छ भन्‍ने गर्थिन्‌। एल्सी अहिले बप्तिस्माप्राप्त साक्षी भइसकिन्‌ र उनको परिवार तथा चिनजानमध्ये १४ जनाले सत्य स्वीकारेका छन्‌।

११. यहोवालाई समर्पण गर्नेहरू कस्ता छाँटकाँटहरू गर्न इच्छुक छन्‌?

११ परमेश्‍वरको सेवा गर्न गत वर्ष समर्पण गरेका धेरैजसो व्यक्‍तिहरूले त्यस्ता आमूल परिवर्तनहरू गर्नु परेन। तर सबै जना आध्यात्मिक मृत अवस्थाबाट जीवित भए। (एफिसी २:१) शारीरिक तवरमा संसारमै भए तापनि तिनीहरू संसारको भाग भने होइनन्‌। (यूहन्‍ना १७:१५, १६) ‘स्वर्गमा नागरिकता’ पाउने अभिषिक्‍त मसीहीहरूजस्तै तिनीहरू “प्रवासी र परदेशी” हुन्‌। (फिलिप्पी ३:२०; १ पत्रुस २:११) परमेश्‍वर तथा छिमेकीप्रतिको प्रेमले गर्दा तिनीहरू आफ्नो जीवन परमेश्‍वरको स्तरअनुरूप ढाल्न उत्प्रेरित भएका छन्‌। (मत्ती २२:३७-३९) तिनीहरू स्वार्थी, भौतिकवादी लक्ष्यहरूको पछि दौडदैनन्‌ नता यो संसारमा व्यक्‍तिगत इच्छा पूर्ति गर्ने आवश्‍यकता महसुस गर्छन्‌। बरु प्रतिज्ञा गरिएअनुसार ‘धार्मिकताले बास गर्ने नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छन्‌।’—२ पत्रुस ३:१३; २ कोरिन्थी ४:१८.

१२. गत वर्षको कुन गतिविधिले येशूले आफ्नो उपस्थितिमा “पृथ्वीमा विश्‍वास” पाउनुभयो भनी देखाउँछ?

१२ अब्राहाम कनानमा बसाइँ सर्दा तिनी र तिनको परिवार एक्लो थिए र तिनीहरूलाई सहयोग तथा सुरक्षा प्रदान गर्न यहोवा मात्र हुनुहुन्थ्यो। तथापि, बप्तिस्माप्रात यी ३,१६,०९२ मसीहीहरू एक्लो छैनन्‌। हो, यहोवाले अब्राहामलाई जस्तै आफ्नो आत्माद्वारा तिनीहरूलाई टेवा दिनुहुन्छ र जोगाउनुहुन्छ। (हितोपदेश १८:१०) त्यति मात्र होइन, अहिलेका थुप्रै देशहरूभन्दा बढी जनसंख्या भएको जोसिलो, अन्तरराष्ट्रिय “देश” मार्फत टेवा प्रदान गर्नुहुन्छ। (यशैया ६६:८) गत वर्ष, त्यो देशका ५८,८८,६५० नागरिकहरूले परमेश्‍वरका प्रतिज्ञाहरूबारे आफ्ना छिमेकीहरूसित कुरा गरेर आफ्नो सक्रिय विश्‍वासको प्रमाण दिए। (मर्कूस १३:१०) तिनीहरूले चासो दिने मानिसहरू भेटाउन यस कार्यमा १,१८,६६,६६,७०८ घण्टा बिताए। फलस्वरूप, विश्‍वास खेती गर्न चाहनेहरूसित ४३,०२,८५२ बाइबल अध्ययन सञ्चालन गरियो। आफ्नो जोसको थप प्रमाण दिंदै यो “देश[का]” ६,९८,७८१ व्यक्‍तिहरूले अग्रगामीको सेवामा भाग लिए, कसैले पूर्ण-समय त कसैले एक महिना वा बढी समयको लागि। (यहोवाका साक्षीहरूको गत वर्षको गतिविधिको विस्तृत विवरण पृष्ठ १२ देखि १५ मा पाइन्छ।) यस्तो उल्लेखनीय कुरा येशूको निम्न प्रश्‍नको सकारात्मक, जीवन्त जवाफ हो, “मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्‍वास पाउनेछ?”

परीक्षाहरूको बावजूद विश्‍वासी

१३, १४. अब्राहाम र तिनको परिवारले कनानमा भोगेका केही कठिनाइहरू वर्णन गर्नुहोस्‌।

१३ कनानमा अब्राहाम र तिनको परिवारको लागि जीवन बिताउन सजिलो थिएन। एक चोटि कनानमा भयंकर अनिकाल हुँदा तिनीहरू त्यहाँबाट भागेर मिश्र जानुपऱ्‍यो। त्यति मात्र कहाँ हो र, मिश्र तथा गरार (गाजा) देशका शासकहरूले अब्राहामकी पत्नी सारालाई आफ्नी स्वास्नी बनाउन खोजे। (उत्पत्ति १२:१०-२०; २०:१-१८) अब्राहामको बगालका गोठाला तथा लूतको बगालका गोठालाहरूबीच पनि मतभेद भइरहन्थ्यो र यसले गर्दा ती दुई परिवार छुट्‌टिए। अब्राहामले निःस्वार्थ भाव देखाई लूतलाई पहिलो छनौट गर्ने मौका दिए अनि लूतले उर्वरता र सुन्दरताको दृष्टिकोणले प्रमोदवनजस्तै देखिने यर्दनको बेंसी रोजे।—उत्पत्ति १३:५-१३.

१४ त्यसपछि, लूत टाढाको देश एलाम र मित्र-राष्ट्रका राजा तथा सिद्दीमको बेंसीका पाँचवटा शहरका राजाहरूबीचको युद्धमा मुछिए। विदेशी राजाहरूले स्थानीय राजाहरूलाई पराजित गरेर लूत र तिनको परिवारको समेत सबै धनमाल लुटे। यसबारे सुनेपछि अब्राहाम नडराईकन ती विदेशी राजाहरूसित लड्‌न गए अनि लूत र तिनको घरपरिवारका साथै स्थानीय राजाहरूका सबै धन-सम्पत्ति फर्काइदिए। (उत्पत्ति १४:१-१६) तथापि, लूतले कनानमा छँदा भोगेका सबैभन्दा तीतो अनुभव त्यो थिएन। कुनै कारणवश तिनी कुख्यात अनैतिक शहर सदोममा बसोबास गर्न थाले।b (२ पत्रुस २:६-८) यो शहर विनाश हुनेछ भनी दुई स्वर्गदूतले चेताउनी दिएपछि लूत, तिनकी पत्नी र छोरीहरू त्यहाँबाट भागे। तथापि, लूतकी पत्नीले स्वर्गदूतहरूले भनेबमोजिम गरिन, फलस्वरूप नूनको थाम भइन्‌। हुँदा, हुँदा लूत आफ्ना दुई छोरीहरूसित सोहरको ओडारमा बस्नुपऱ्‍यो। (उत्पत्ति १९:१-३०) यी घटनाहरूले अब्राहामलाई निकै खलबल्याएको हुनुपर्छ किनभने अब्राहामको परिवारसँगसँगै लूत पनि कनान आएका थिए।

१५. बिरानो भूमिमा पालमा जीवन बिताउँदा समस्याहरू भोग्नु परे तापनि अब्राहामले कस्ता नकारात्मक सोचाइहरू राखेनन्‌?

१५ के अब्राहामले तिनी र लूत, आफ्नो बुबासितै ऊरमा वा भाइ नाहोरसित हारानमै बसेको भए हुनेथियो भनी कहिल्यै सोचे? पालमा बस्नुभन्दा पर्खालहरूले घेरिएको शहरमा बसोबास गरेको भए हुन्थ्यो भनी इच्छा गरे? सायद, बिरानो भूमिमा फिरन्ते जीवन बिताउन आफूले गरेका त्यागहरूको बुद्धिमानीमाथि शंका गरे? अब्राहाम र तिनको परिवारबारे प्रेरित पावलले यसप्रकार लेखे: “साँच्चिनै यदि तिनीहरू जुन देशबाट निस्केर गएका हुन्‌ त्यही देश सम्झेका भएदेखि ता तिनीहरूलाई फर्कने अवसर मिल्नेथियो।” (हिब्रू ११:१५) यद्यपि, तिनीहरू फर्केनन्‌। कठिनाइहरूका बावजूद यहोवाले जहाँ चाहनुभयो त्यहीं बसे।

अहिले धैर्य धारण गर्दै

१६, १७. (क) अहिले धेरै मसीहीहरूले कस्तो कठिनाइ सामना गर्छन्‌? (ख) मसीहीहरू कस्तो सकारात्मक मनोवृत्ति राख्छन्‌? किन?

१६ अहिलेका मसीहीहरूले पनि त्यस्तै धैर्य धारण गरेका छन्‌। परमेश्‍वरको सेवा गर्नु ठूलो आनन्दको स्रोत भए तापनि यी अन्तिम दिनमा साँचो मसीहीहरूको जीवन सजिलो छैन। आध्यात्मिक प्रमोदवनमा बसिरहे तापनि आफ्ना छिमेकीहरूले जस्तै आर्थिक दबाब भोग्छन्‌। (यशैया ११:६-९) थुप्रै निर्दोष मसीहीहरू युद्धका सिकार भएका छन्‌ र कोही भने आफ्नो कुनै कसुरै नभई अत्यन्तै दरिद्र हुन पुगेका छन्‌। यसबाहेक, जनसमुदायले मन नपराउने सानो समुदाय हुनुको समस्या त छँदैछ। थुप्रै मुलुकहरूमा अचाक्ली भावशून्यताको बावजूद सुसमाचार प्रचार गर्छन्‌। अरू मुलुकमा तिनीहरू ‘नियमद्वारा अधर्म रच्ने’ र ‘निर्दोषलाई हत्याको दोषी ठहराउने’ व्यक्‍तिहरूको छलकपटको सिकार हुन्छन्‌। (भजन ९४:२०, २१) मसीहीहरूमाथि आक्रमण नगरिने र तिनीहरूको उच्च स्तरको लागि प्रशंसा गरिने मुलुकहरूमा समेत तिनीहरू आफ्ना सहपाठी तथा सहकर्मीहरूको चालढाल नगर्न होसियार छन्‌। एक अर्थमा भन्‍ने हो भने, तिनीहरू अब्राहामजस्तै पालमा बस्छन्‌ जबकि वरपरका मानिसहरू ठूलठूला शहरमा बस्छन्‌। हो, संसारमै बसेर संसारको “भाग नहुनु” सजिलो छैन।—यूहन्‍ना १७:१४.

१७ त्यसोभए के हामी परमेश्‍वरलाई समर्पण गरेकोमा पछुताउँछौं? के हामी पनि अरूजस्तै संसारकै भाग भएको भए हुन्थ्यो भन्‍ने इच्छा गर्छौं? यहोवाको सेवामा हामीले गरेका त्यागहरू व्यर्थै भए भन्छौं? पटक्कै भन्दैनौं! लालसा गर्दै फर्केर हेर्नुको साटो हामीले जेजति त्यागहरू गऱ्‍यौं त्यो हामीले अहिले तथा भविष्यमा पाउने आशिष्‌हरूको तुलनामा केही पनि होइनन्‌ भनेर बुझेका छौं। (लूका ९:६२; फिलिप्पी ३:८) यसबाहेक, के संसारका मानिसहरू खुसी छन्‌? वास्तवमा कुरा के हो भने, अहिले तिनीहरूमध्ये थुप्रैले ती प्रश्‍नहरूको जवाफ खोजिरहेका छन्‌ जसको हामीले जवाफ पाइसक्यौं। बाइबल मार्फत परमेश्‍वरले दिनुहुने डोऱ्‍याइ हामी पालन गर्छौं तर तिनीहरूले ती पालन नगर्दा दुःख भोग्छन्‌। (भजन ११९:१०५) हामीले सँगी विश्‍वासीहरूको मसीही संगति तथा मनोरम भ्रातृत्वबाट पाइरहेको आनन्दको तिनीहरूमध्ये थुप्रैले लालसा गर्छन्‌।—भजन १३३:१; कलस्सी ३:१४.

१८. मसीहीहरूले अब्राहामको जस्तै साहस देखाउँदा अन्तिम परिणाम के हुन्छ?

१८ हो, हामी कहिलेकाहीं लूतका आक्रमणकारीहरूलाई लखेट्‌न अब्राहामजस्तै साहसी हुनुपर्छ। त्यसो गर्दा यहोवाले आशिष्‌ दिनुहुन्छ। उदाहरणका लागि, उत्तरी आयरल्याण्डमा गुटबन्दी हिंसाको कारण घृणाले जरा गाडिसकेको छ अनि त्यस्तो अवस्थामा तटस्थ रहन साहस चाहिन्छ। यद्यपि, विश्‍वासी मसीहीहरू यहोवाले यहोशूलाई भन्‍नुभएका यी शब्दहरू पालन गर्छन्‌: “बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।” (यहोशू १:९; भजन २७:१४) वर्षौंको दौडान तिनीहरूको साहसी अडानले गर्दा अरूबाट आदर जित्न सकेका छन्‌ अनि अहिले तिनीहरूले त्यहाँका थुप्रै समुदायहरूमा बिना रोकटोक प्रचार गर्नसक्छन्‌।

१९. मसीहीहरू कहाँ हुन पाएकोमा खुसी छन्‌ अनि यहोवाको निर्देशन पालन गर्दा कस्तो परिणामको निर्धक्क भई आशा गर्छन्‌?

१९ हामीले जस्तोसुकै अवस्थाको सामना गर्नु परे तापनि यहोवाको निर्देशन पछ्यायौं भने उहाँको महिमा तथा हाम्रो चिरकालीन लाभ हुनेछ भन्‍ने कुरामा कहिल्यै शंका गर्नु पर्दैन। चुनौती तथा त्यागहरूको बावजूद हामी सधैं यहोवाको सेवामा लागिरहन चाहन्छौं किनभने हामीलाई आफ्ना मसीही भाइहरूको संगति रमाइलो लाग्छ र हामी परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको अनन्त भविष्य निर्धक्क भई प्रतीक्षा गर्छौं।

[फुटनोट]

a सम्भवतः, लूतको बुबा अर्थात्‌ अब्राहामको भाइको मृत्यु हुँदा तिनले आफ्ना भतिजा लूतको लालनपालन गर्ने जिम्मा लिएका हुनसक्छन्‌।—उत्पत्ति ११:२७, २८; १२:५.

b चार राजाहरूद्वारा पराजित हुनु परेको तीतो अनुभवले गर्दा लूतले सुरक्षाको लागि शहरमा बसोबास गर्न थालेका हुन्‌ भन्‍ने अनुमान कसै कसैले लाएका छन्‌।

के तपाईंले सम्झनुभएको छ?

◻ बलियो विश्‍वास किन अत्यावश्‍यक छ?

◻ आफूसित बलियो विश्‍वास छ भनेर अब्राहामले कसरी देखाए?

◻ समर्पणको साथसाथै जीवनमा परिवर्तनहरू पनि कसरी हुन्छन्‌?

◻ समस्याहरू भोग्नु परे तापनि हामी परमेश्‍वरको सेवा गर्न पाएकोमा किन खुसी छौं?

[पृष्ठ ७-मा भएका चित्रहरू]

आफूलाई गरिएको प्रतिज्ञा पाउन अब्राहाम जीवनमा ठूल-ठूला परिवर्तनहरू गर्न इच्छुक थिए

[पृष्ठ ९-मा भएका चित्रहरू]

येशूले आफ्नो उपस्थितिको दौडान “पृथ्वीमा विश्‍वास” पाउनुभयो भनी प्रमाणले देखाउँछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने