प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 १/१ pp. १२-१८
  • “आफ्नो हृदयलाई स्थिर गराओ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “आफ्नो हृदयलाई स्थिर गराओ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अब्राहामको विश्‍वासको उदाहरण
  • परमेश्‍वरलाई सुन्‍ने
  • परमेश्‍वरसित कुरा गर्ने
  • वर्तमान समयमा विश्‍वास देखाउने व्यक्‍तिहरूको रेकर्ड
  • अहिले विश्‍वासको खेती गर्नुहोस्‌
  • चाँडै पूरा हुने आशा
  • यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • के तपाईंसित अब्राहामको जस्तो विश्‍वास छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “हामी दृष्टिले होइन तर विश्‍वासले हिंड़छौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • अब्राहाम र सारा तपाईं तिनीहरूको विश्‍वासको अनुकरण गर्न सक्नुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 १/१ pp. १२-१८

“आफ्नो हृदयलाई स्थिर गराओ”

“परमेश्‍वरको इच्छा पालन गरेर प्रतिज्ञाको फल पाइने भएको हुनाले तिमीहरूलाई धीरजको आवश्‍यकता छ।”—हिब्रू १०:३६.

१, २. (क) प्रथम शताब्दीका थुप्रै मसीहीहरूलाई के भयो? (ख) विश्‍वास कमजोर हुनु किन कुनै गाह्रो कुरा होइन?

विश्‍वासबारे बाइबल लेखकहरूमध्ये प्रेरित पावलले जत्ति कसैले लेखेका छैनन्‌। अनि विश्‍वास कमजोर भएको वा मरेको व्यक्‍तिहरूबारे तिनले धेरै चोटि उल्लेख गरेका छन्‌। उदाहरणका लागि, हाइमिनियस र अलेकज्याण्डरको “विश्‍वासको जहाज” डुब्यो। (१ तिमोथी १:१९, २०) डेमसले “वर्त्तमान संसारलाई प्रेम गरेर” पावललाई त्यागे। (२ तिमोथी ४:१०) कसै कसैले गैरमसीही, गैरजिम्मेवारपूर्ण क्रियाकलापद्वारा “विश्‍वासलाई इन्कार” गरे। अरू भने गलत बुद्धिमा फसेर “विश्‍वासबाट भ्रममा” परे।—१ तिमोथी ५:८; ६:२०, २१.

२ ती अभिषिक्‍त मसीहीहरू यी तरिकाहरूमा किन चुके? “विश्‍वासचाहिं आशा राखेका कुराको निश्‍चयता, र नदेखेका कुराको प्रमाण हो।” (हिब्रू ११:१) हामी नदेखेका कुरामा विश्‍वास राख्छौं। देखिने कुराहरूको लागि हामीलाई विश्‍वास चाहिंदैन। अदृश्‍य आध्यात्मिक धन-सम्पत्तिभन्दा देखिने धनराशिको लागि मेहनत गर्न सजिलो हुन्छ। (मत्ती १९:२१, २२) “शरीरको अभिलाषा, आँखाको अभिलाषा[जस्ता]” थुप्रै दृश्‍य कुराहरू हाम्रो असिद्ध शरीरलाई एकदमै मन पर्छ र त्यसले हाम्रो विश्‍वास कमजोर बनाउनसक्छ।—१ यूहन्‍ना २:१६.

३. मसीहीले कस्तो विश्‍वास खेती गर्नुपर्छ?

३ यद्यपि, पावल यसो भन्छन्‌, “जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।” मोशासित त्यस्तो विश्‍वास थियो। तिनले “आफ्नो दृष्टि प्रतिफलतिर लाएका थिए” र “अदृश्‍यलाई देखेझैं गरी तिनी स्थिर रहे।” (हिब्रू ११:६, २४, २६, २७) मसीहीसित यस्तो प्रकारको विश्‍वास हुनुपर्छ। अघिल्लो लेखमा उल्लेख गरिएअनुसार अब्राहामले यस सन्दर्भमा राम्रो उदाहरण बसाले।

अब्राहामको विश्‍वासको उदाहरण

४. अब्राहामको विश्‍वासले तिनको जीवनपद्धतिलाई कसरी प्रभाव पाऱ्‍यो?

४ सबै राष्ट्रका मानिसहरूको निम्ति आशिष्‌ साबित हुने वंशका पिता हुनेछन्‌ भनी परमेश्‍वरले अब्राहामलाई ऊरमा छँदै प्रतिज्ञा गर्नुभएको थियो। (उत्पत्ति १२:१-३; प्रेरित ७:२, ३) त्यो प्रतिज्ञाको आधारमा अब्राहामले यहोवाको आज्ञा पालन गरेर सर्वप्रथम हारान र पछि कनानमा बसाइँ सरे। त्यहाँ छँदा यहोवाले त्यो ठाउँ अब्राहामको वंशलाई दिने प्रतिज्ञा गर्नुभयो। (उत्पत्ति १२:७; नहेम्याह ९:७, ८) तथापि, यहोवाको प्रतिज्ञाअनुसार थुप्रै कुराहरू अब्राहामको मृत्युपछि पूरा हुनेथियो। उदाहरणका लागि, चिहानको रूपमा प्रयोग गर्न किनेको मक्पेलाको ओडारबाहेक अब्राहामसित कनानमा अरू जग्गाजमिन थिएन। (उत्पत्ति २३:१-२०) तैपनि, तिनले अब्राहामको वचनमा विश्‍वास राखे। सबैभन्दा महत्त्वपूर्ण कुरा, “तिनले त्यही जग भएको शहरको प्रतीक्षा गर्दथिए, जसको बनाउने र निर्माण गर्ने परमेश्‍वरनै हुनुहुन्छ।” (हिब्रू ११:१०) त्यस्तो विश्‍वासले तिनलाई जिन्दगीभर सँभाल्यो।

५, ६. यहोवाको प्रतिज्ञाको सन्दर्भमा अब्राहामको विश्‍वासको जाँच कसरी भयो?

५ अब्राहामको वंश एउटा ठूलो जाति हुनेछ भन्‍ने प्रतिज्ञामा यो विशेषगरी प्रस्ट हुन्छ। यो सम्भव हुन अब्राहामले छोरा जन्माउनु पर्नेथियो र त्यस्तो आशिष्‌ पाउन तिनले निकै लामो समयसम्म पर्खनुपऱ्‍यो। परमेश्‍वरले सुरुमा प्रतिज्ञा गर्नुहुँदा तिनको उमेर कति पुगेको थियो हामीलाई थाह छैन तर तिनले हारानसम्म लामो यात्रा गरुञ्जेल पनि यहोवाले तिनलाई छोरा दिनुभएको थिएन। (उत्पत्ति ११:३०) तिनी हारानमा लामै समयसम्म बसेका हुँदा ‘धनसम्पत्ति र मानिसहरू’ प्राप्त गरे। त्यहाँबाट कनानमा बसाइँ सर्दा तिनी ७५ वर्ष र सारा ६५ वर्ष पुगिसकेका थिए। तैपनि, अझै छोरा जन्मिएको थिएन। (उत्पत्ति १२:४, ५) आफ्नो उमेर ७० वर्ष कटिसकेपछि सारा अब्राहामको निम्ति छोरा जन्माउन आफू साह्रै बूढी भइसकेकी निष्कर्षमा पुगिन्‌। यसर्थ, त्यतिबेलाको चलनअनुसार उनले दासी हागार, अब्राहामलाई दिइन्‌ र एउटा छोरा जन्मियो। तर यो प्रतिज्ञा गरिएको सन्तान थिएन। पछि हागार र उनको छोरा इश्‍माएललाई घरबाट निकालेर अन्तै पठाइयो। तैपनि, अब्राहामले तिनीहरूको खातिर बिन्ती चढाउँदा यहोवाले इश्‍माएललाई आशिष्‌ दिने प्रतिज्ञा गर्नुभयो।—उत्पत्ति १६:१-४, १०; १७:१५, १६, १८-२०; २१:८-२१.

६ परमेश्‍वरको आफ्नै समयमा अर्थात्‌ तिनीहरूले पहिलो चोटि प्रतिज्ञा सुनेको भन्दा धेरै समयपछि ९० वर्षकी साराले छोरा इसहाक जन्माउँदा अब्राहाम १०० वर्ष पुगिसकेका थिए। तिनीहरू कत्ति खुसी भए होलान्‌! यस वृद्ध दम्पतीको लागि तिनीहरूको “मुर्दासरी” शरीरले नयाँ जीवन दिंदा पुनरुत्थानजस्तै भयो। (रोमी ४:१९-२१) धेरै लामो समयसम्म पर्खनुपऱ्‍यो तर अन्तमा प्रतिज्ञा पूरा हुँदा त्यो सबै पर्खाइ व्यर्थै गएन।

७. धैर्य कसरी विश्‍वाससित सम्बन्धित छ?

७ हाम्रो विश्‍वास छोटो समयको लागि मात्र हुनुहुँदैन भनेर अब्राहामको विश्‍वासले स्मरण गराउँछ। पावलले धीरजसित विश्‍वासको सम्बन्ध गाँस्दै यसप्रकार लेखे: “परमेश्‍वरको इच्छा पालन गरेर प्रतिज्ञाको फल पाइने भएको हुनाले तिमीहरूलाई धीरजको आवश्‍यकता छ। . . . हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्‌नेहरूमध्येका होइनौं, तर आत्माको उद्धारको निम्ति विश्‍वास गर्नेहरूमध्येका हौं।” (हिब्रू १०:३६-३९) त्यो प्रतिज्ञा पूरा हुन धेरैले निकै लामो समयसम्म पर्खिसकेका थिए। कोही कोहीले जिन्दगीभर पर्खे। तिनीहरूको बलियो विश्‍वासले तिनीहरूलाई सँभालेको छ। अनि अब्राहामजस्तै तिनीहरूले परमेश्‍वरको तोकिएको समयमा इनाम पाउनेछन्‌।—हबकूक २:३.

परमेश्‍वरलाई सुन्‍ने

८. आज हामी परमेश्‍वरको कुरा कसरी सुन्छौं र त्यसले हाम्रो विश्‍वास किन बलियो बनाउनेछ?

८ कम्तीमा चारवटा कुराले अब्राहामको विश्‍वासलाई बलियो बनायो र ती कुराहरूले हामीलाई पनि मदत पुऱ्‍याउनसक्छ। सर्वप्रथम, यहोवाले बोल्नुहुँदा ध्यान दिएर तिनले ‘परमेश्‍वर हुनुहुन्छ’ भन्‍ने कुरामा विश्‍वास देखाए। यसरी, तिनी यहोवामा विश्‍वास राख्ने तर उहाँको वचन नपत्याउने यर्मियाको समयका यहूदीहरूभन्दा बेग्लै भए। (यर्मिया ४४:१५-१९) आज, प्रेरित वचन, बाइबलका पृष्ठहरू मार्फत यहोवा हामीसित बोल्नुहुन्छ र पत्रुस त्यसलाई “हृदयमा . . . अन्धकारमा बलिरहेको दियो” भन्छन्‌। (२ पत्रुस १:१९) हामीले ध्यान दिएर बाइबल पढ्यौं भने “विश्‍वासका वचनहरूले” पोषण पाउँछौं। (१ तिमोथी ४:६; रोमी १०:१७) साथै, यी आखिरी दिनमा “विश्‍वासी र बुद्धिमान दास[ले]” “ठीक ठीक समयमा” आध्यात्मिक भोजन अर्थात्‌ बाइबल सिद्धान्तहरू लागू गर्न र बाइबल सिद्धान्तहरू बुझ्न डोऱ्‍याइ प्रदान गरिरहेका छन्‌। (मत्ती २४:४५-४७) बलियो विश्‍वास बनाउन यी माध्यमहरूद्वारा यहोवाको कुरा सुन्‍नु नितान्त आवश्‍यक छ।

९. मसीही आशामा साँच्चै विश्‍वास राख्यौं भने परिणाम के हुनेछ?

९ अब्राहामको विश्‍वाससित तिनको आशाको निकटतम सम्बन्ध थियो। तिनले “धेरै जातिहरूका पिता हुनालाई . . . आशा राखेर विश्‍वास गरे।” (रोमी ४:१८) हामीलाई मदत गर्नसक्ने यो दोस्रो कुरा हो। यहोवाले “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ” भनी हामीले कहिल्यै बिर्सनु हुँदैन। प्रेरित पावलले यसो भने: “हामी परिश्रम र प्रयत्न गर्दछौं, किनभने हाम्रो आशा जीवित परमेश्‍वरमा राखिएको छ।” (१ तिमोथी ४:१०) हामीले मसीही आशामा साँच्चै विश्‍वास राख्यौं भने अब्राहामले जस्तै हाम्रो जीवनका सम्पूर्ण क्रियाकलापले विश्‍वास देखाइरहेका हुनेछौं।

परमेश्‍वरसित कुरा गर्ने

१०. कस्तो प्रकारको प्रार्थनाले हाम्रो विश्‍वास बलियो बनाउनेछ?

१० अब्राहामले परमेश्‍वरसित कुरा गरे अनि तिनको विश्‍वासलाई बलियो बनाउने यो तेस्रो कुरा थियो। आज हामी पनि येशू ख्रीष्ट मार्फत प्रार्थना गरेर यहोवासित कुरा गर्नसक्छौं। (यूहन्‍ना १४:६; एफिसी ६:१८) निरन्तर प्रार्थना गर्नुपर्ने खाँचोलाई प्रकाश पार्ने उखान बताउनुभएपछि येशूले यो प्रश्‍न सोध्नुभयो: “मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्‍वास पाउनेछ?” (लूका १८:८) विश्‍वास बलियो बनाउने प्रार्थना गर्न सोचविचार गर्नुपर्छ र यो आफै हुने कुरा होइन। यो एकदमै अर्थपूर्ण कुरा हो। उदाहरणका लागि, महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा वा निकै दबाबमा पर्दा भित्री हृदयदेखि प्रार्थना गर्नु अत्यावश्‍यक छ।—लूका ६:१२, १३; २२:४१-४४.

११. (क) परमेश्‍वरसित हृदय खोलेर कुरा गर्दा अब्राहामले कसरी बल पाए? (ख) हामी अब्राहामको अनुभवबाट के सिक्न सक्छौं?

११ आफू झन्‌ झन्‌ बूढो हुँदै जाँदा र अझै पनि यहोवाले तिनलाई प्रतिज्ञा गर्नुभएको वंश नदिनुभएको हुँदा अब्राहामले चिन्ता व्यक्‍त गर्दै परमेश्‍वरसित कुरा गरे। यहोवाले तिनलाई आश्‍वासन दिनुभयो। परिणाम? अब्राहामले “परमप्रभुमाथि विश्‍वास गरे, यो तिनको निम्ति धार्मिकता गनियो।” त्यसपछि आफ्ना आश्‍वासनदायी शब्दहरूको पुष्टि दिन यहोवाले चिह्न दिनुभयो। (उत्पत्ति १५:१-१८) आफ्नो हृदय खोलेर प्रार्थना गऱ्‍यौं, उहाँको वचन बाइबलमा दिएको आश्‍वासन स्वीकार्यौं अनि पूरा विश्‍वासका साथ उहाँको आज्ञा पालन गऱ्‍यौं भने यहोवाले हाम्रो विश्‍वास पनि बलियो बनाउनुहुनेछ।—मत्ती २१:२२; यहूदा २०, २१.

१२, १३. (क) यहोवाको डोऱ्‍याइ पालन गर्दा अब्राहामले कस्तो आशिष्‌ पाए? (ख) कस्ता अनुभवहरूले हाम्रो विश्‍वास बलियो बनाउनेछ?

१२ अब्राहामको विश्‍वासलाई बलियो बनाउने चौथो कुरा तिनी यहोवाको डोऱ्‍याइअनुसार हिंड्‌दा यहोवाले दिनुभएको टेवा थियो। आक्रमणकारी राजाहरूबाट लूतलाई बचाउन जाँदा यहोवाले अब्राहामलाई विजयी बनाउनुभयो। (उत्पत्ति १४:१६, २०) आफ्नो सन्तानले अधिकार जमाउने देशमा अस्थायी बसोबास गर्दा यहोवाले अब्राहामलाई भौतिक तवरमा आशिष्‌ दिनुभयो। (उत्पत्ति १४:२१-२३ तुलना गर्नुहोस्‌।) इसहाकको निम्ति सुहाउँदो पत्नी खोज्न यहोवाले अब्राहामको चाकरका प्रयासहरूलाई सफल पार्नुभयो। (उत्पत्ति २४:१०-२७) हो, यहोवाले “सबै कुरामा अब्राहामलाई आशिष दिनुभएको थियो।” (उत्पत्ति २४:१) यसले गर्दा तिनको विश्‍वास असाध्यै बलियो भयो र यहोवा परमेश्‍वरसितको सम्बन्ध पनि अत्यन्तै प्रगाढ भएको हुँदा यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो।—यशैया ४१:८; याकूब २:२३.

१३ के अहिले हामीसित पनि त्यस्तै बलियो विश्‍वास हुनसक्छ? सक्छ। अब्राहामजस्तै हामीले उहाँका आज्ञाहरू पालन गऱ्‍यौं भने उहाँले हामीलाई पनि आशिष्‌ दिनुहुनेछ र हाम्रो विश्‍वास बलियो हुनेछ। उदाहरणका लागि, १९९८ सेवा वर्षको रिपोर्टलाई सरसरती हेऱ्‍यौं भने सुसमाचार प्रचार गर्ने उहाँको आज्ञा पालन गर्दा थुप्रैले राम्रा राम्रा आशिष्‌हरू पाएको देख्छौं।—मर्कूस १३:१०.

वर्तमान समयमा विश्‍वास देखाउने व्यक्‍तिहरूको रेकर्ड

१४. परमेश्‍वरले राज्य समाचार न. ३५ को अभियानलाई कसरी आशिष्‌ दिनुभयो?

१४ अक्टोबर १९९७ मा राज्य समाचार न. ३५ संसारभरि वितरण गर्दा उल्लेखनीय सफलता प्राप्त भयो जसको श्रेय लाखौं साक्षीहरूको जोस तथा उत्साहलाई जान्छ। घानाको यस्तै एउटा अनुभवलाई ध्यान दिनुहोस्‌। चारवटा भाषामा झन्डै २५ लाख प्रति वितरण भयो र त्यसको परिणामस्वरूप झन्डै २,००० वटा बाइबल अध्ययन सुरु गर्ने अनुरोध प्राप्त भयो। साइप्रसमा यहोवाका दुई जना साक्षीहरूले राज्य समाचार वितरण गरिरहँदा तिनीहरूलाई एक जना पादरीले पछ्याइरहेको देखे। एक छिनपछि तिनीहरूले त्यो पादरीलाई पनि राज्य समाचार दिए। तिनले त्यो पहिल्यै पाइसकेका थिए र यसो भने: “यो समाचार पढेर म यति प्रभावित भएँ कि यो तयार गर्ने मानिसहरूलाई बधाई दिन चाहन्थें।” डेनमार्कमा राज्य समाचार-का १५ लाख प्रतिहरू वितरण भए र परिणाम एकदमै राम्रो भयो। जनसम्पर्क सेवामा कार्यरत एउटी महिलाले यसो भनिन्‌: “यो पर्चामा सबैको लागि उपयोगी सन्देश छ। बुझ्न सजिलो छ अनि अझ बढी सिक्ने इच्छा जगाउनुका साथै झक्झकाउँछ। घिउ केमा पोखियो? भागैमा भनेझैं भयो!”

१५. सबै ठाउँका मानिसहरूलाई प्रचार गर्ने प्रयासलाई यहोवाले सफल पार्नुभयो भनी कुन अनुभवहरूले देखाउँछ?

१५ सन्‌ १९९८ मा मानिसहरूलाई घर-घरमा मात्र नभई सबै ठाउँमा प्रचार गर्ने प्रयास गरियो। कोट डे’भ्वामा एक मिसनरी दम्पती नौकागारका ३२२ वटा जहाजमा प्रचार गर्न गए। तिनीहरूले २४७ वटा किताब, २,२८४ वटा पत्रिका, ५०० वटा पुस्तिका अनि सयौं पर्चाहरू अनि त्यसका साथसाथै समुद्रीयात्राको दौडान हेर्नको लागि भिडियोहरू पनि वितरण गरे। क्यानाडाका एक जना साक्षी गाडीको बडि मर्मत गर्ने ठाउँमा गए। त्यहाँको मालिकलाई चासो लाग्यो र सो भाइ साढे चार घण्टा त्यहाँ बसे तर वास्तवमा लगभग एक घण्टा जति मात्र साक्षी दिन पाइयो किनभने बीचबीचमा ग्राहकहरू आइरहेका हुन्थे। बल्ल, राति १०:०० बजे अध्ययन गर्ने प्रबन्ध मिलाइयो। तर कहिलेकाहीं अध्ययन सुरु गर्दा मध्यरात बितिसकेको हुन्थ्यो र बिहान दुई बजेसम्म चल्थ्यो। यस्तो तालिका नै एउटा चुनौती थियो तर परिणाम राम्रो भयो। यो मानिसले सभाहरूमा उपस्थित हुन आइतबारको दिन आफ्नो पसल बन्द गर्ने निधो गरे। धेरै समय नबित्दै तिनी र तिनको परिवारले राम्रो प्रगति गर्न थाले।

१६. प्रचार गर्ने तथा सिकाउने कार्यमा चाहनुहुन्छ पुस्तिका र ज्ञान पुस्तक प्रभावशाली साधनहरू हुन्‌ भनी कुन अनुभवहरूले देखाउँछ?

१६ परमेश्‍वर हामीबाट के चाहनुहुन्छ भन्‍ने पुस्तिका र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने पुस्तक प्रचार गर्ने तथा सिकाउने कार्यमा प्रभावशाली साधन साबित भएका छन्‌। इटालीमा बस पर्खिरहेकी एउटी ननले राज्य समाचार स्वीकारिन्‌। भोलिपल्ट तिनलाई फेरि भेटेर चाहनुहुन्छ पुस्तिका दिइयो र त्यो पनि तिनले स्वीकारिन्‌। त्यसपछि हरेक दिन तिनी बसबिसौनीमा १०-१५ मिनेट बाइबल अध्ययन गर्थिन्‌। डेढ महिनापछि तिनले कन्भेन्ट छोडेर आफ्नो घर ग्वाटेमाला फर्केर अध्ययन कायम गर्ने निधो गरिन्‌। मलावीकी लोबिना नियमित तवरमा चर्च जान्थिन्‌ र आफ्नी छोरीहरूले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेको उनलाई मन परेन। तैपनि, ती केटीहरूले मौका मिल्ने बित्तिकै आमालाई बाइबलका कुराहरू बताउँथे। जून १९९७ मा लोबिनाले ज्ञान पुस्तक देखिन्‌ र ‘ज्ञान जसले डोऱ्‍याउँछ’ भन्‍ने अभिव्यक्‍ति देखेर उसको चासो जाग्यो। जुलाई महिनामा उनी बाइबल अध्ययन गर्न राजी भइन्‌। अगस्त महिनामा उनी जिल्ला अधिवेशनमा उपस्थित भएर सम्पूर्ण कार्यक्रम ध्यान दिएर सुनिन्‌। त्यो महिनाको अन्तसम्म चर्च छोडेर उनी बप्तिस्मा अप्राप्त प्रकाशक हुन योग्यको भइसकेकी थिइन्‌। उनले १९९७ सालको नोभेम्बर महिनामा बप्तिस्मा लिइन्‌।

१७, १८. अदृश्‍य कुराहरू “हेर्न” मानिसहरूलाई सोसाइटीका भिडियोहरूले कसरी मदत गरेको छ?

१७ सोसाइटीको भिडियोले थुप्रैलाई आध्यात्मिक कुराहरू “हेर्न” मदत दिएको छ। आफ्नो चर्चमा भइरहेको बेमेलको कारण मरिससका एक जना मानिस चर्च जान छोडे। एक जना मिसनरीले तिनलाई यहोवाका साक्षीहरूको एकता देखाउन ईश्‍वरीय शिक्षाद्वारा एकताबद्ध (अंग्रेजी) शीर्षकको भिडियो देखाए। त्यो हेरेपछि प्रभावित भएर तिनले यसो भने: “तपाईं यहोवाका साक्षीहरू अहिले नै प्रमोदवनमा हुनुहुँदो रहेछ!” तिनी बाइबल अध्ययन गर्न राजी भए। जापानकी एउटी बहिनीले बेग्लै धर्म मान्‍ने आफ्नो पतिलाई यहोवाका साक्षीहरूको संगठन नामक भिडियो देखाइन्‌ अनि यसपछि तिनी नियमित बाइबल अध्ययन गर्न कस्सिए। ईश्‍वरीय शिक्षाद्वारा एकताबद्ध भिडियो हेरेपछि तिनी पनि यहोवाको साक्षी बन्‍न चाहे। तीनवटा भाग भएको बाइबल—तथ्य तथा भविष्यवाणीको पुस्तक भन्‍ने भिडियो हेरेपछि तिनले बाइबल सिद्धान्तहरू आफ्नो जीवनमा लागू गर्ने मदत पाए। अन्तमा, नाजी आक्रमणको विरुद्ध यहोवाका साक्षीहरू दृढ रहन्छन्‌ भन्‍ने भिडियो हेरेपछि शैतानले आक्रमण गर्दा यहोवाले आफ्ना जनहरूलाई बलियो बनाउनुहुन्छ भनी देखे। यी मानिसले अक्टोबर १९९७ मा बप्तिस्मा लिए।

१८ यी त हुन्‌ गत सेवा वर्षको दौडान भएका थुप्रै उदाहरणहरूमध्ये केही। ती सबैले यहोवाका साक्षीहरूको सक्रिय विश्‍वास छ र यी क्रियाकलापमाथि आशिष्‌ दिनुभएर यहोवाले बल प्रदान गर्नुहुन्छ भनी देखाउँछ।—याकूब २:१७.

अहिले विश्‍वासको खेती गर्नुहोस्‌

१९. (क) हाम्रो अवस्था किन अब्राहामको भन्दा राम्रो छ? (ख) येशूको बलिदानरूपी मृत्युको सम्झनामा कति जना भेला भए? (ग) गत वर्ष कुन कुन मुलुकमा स्मरणार्थ उत्सवका दौडान उल्लेखनीय उपस्थिति भएको थियो? (पृष्ठ १२ देखि १५ सम्मको चार्ट हेर्नुहोस्‌।)

१९ अहिले हामी थुप्रै तरिकामा अब्राहामभन्दा उत्तम अवस्थामा छौं। यहोवाले अब्राहामसित गर्नुभएका सबै प्रतिज्ञाहरू पूरा गर्नुभयो भनेर हामीलाई थाह छ। अब्राहामका सन्तानहरूले अन्ततः कनानमाथि अधिकार जमाए अनि तिनीहरू एउटा ठूलो राष्ट्रमा परिणत भयो। (१ राजा ४:२०; हिब्रू ११:१२) यसबाहेक, अब्राहामले हारान छोडेको लगभग १,९७१ वर्षपछि तिनको सन्तति येशूले बप्तिस्मा दिने यूहन्‍नाद्वारा पानीमा बप्तिस्मा लिनुभयो र पछि यहोवाले पनि पवित्र आत्माद्वारा बप्तिस्मा दिनुभयो र पूर्ण, आध्यात्मिक अर्थमा उहाँ मसीह, अब्राहामको सन्तान हुनुभयो। (मत्ती ३:१६, १७; गलाती ३:१६) सा.यु. ३३ निसान १४ मा येशूले आफूमाथि विश्‍वास राख्नेहरूको खातिर आफ्नो जीवन छुडौतीको बलिदानका निम्ति चढाउनुभयो। (मत्ती २०:२८; यूहन्‍ना ३:१६) उहाँद्वारा अब करोडौंले जीवन पाउनसक्ने भए। यस्तो अपार प्रेमको सम्झनामा गत वर्ष १,३८,९६,३१२ जना भेला भएका थिए। आफ्ना प्रतिज्ञाहरू सबै पूरा गर्नुहुने महान्‌ यहोवाको कस्तो प्रशंसा!

२०, २१. (क) प्रथम शताब्दीमा अब्राहामको वंश मार्फत कसरी सबै राष्ट्रका मानिसहरूले आशिष्‌ पाए र अहिले कसरी आशिष्‌ पाइरहेका छन्‌? (ख) अब्राहामको वंशद्वारा अझ थुप्रैले आशिष्‌ पाउनेछन्‌ भनेर के कस्ता प्रत्याशाहरू छन्‌?

२० प्रथम शताब्दीमा जन्मजात इस्राएलदेखि लिएर थुप्रै राष्ट्रका मानिसहरूले अब्राहामको वंशमा विश्‍वास राखे अनि परमेश्‍वरका अभिषिक्‍त पुत्रहरू भएर “परमेश्‍वरका” नयाँ आध्यात्मिक “इस्राएल[का]” सदस्यहरू भए। (गलाती ३:२६-२९; ६:१६; प्रेरित ३:२५, २६) स्वर्गमा अमर, आध्यात्मिक जीवन प्राप्त गरेर परमेश्‍वरको राज्यका सहशासकहरू हुने ठोस प्रत्याशा तिनीहरूसित थियो। यसरी १,४४,००० ले मात्र आशिष्‌ पाउनेथिए र तिनीहरूमध्ये थोरै संख्यामा अझै पृथ्वीमा बाँकी छन्‌। (प्रकाश ५:९, १०; ७:४) गत वर्ष स्मरणार्थ उत्सवको बेला ८,७५६ जनाले प्रतीकहरू खाएर आफ्नो स्वर्गीय आशाको पुष्टी दिए।

२१ अहिले यहोवाका प्रायजसो सबै साक्षीहरू प्रकाश ७:९-१७ मा भविष्यवाणी गरिएको “ठूलो भीड” हुन्‌। येशू मार्फत आशिष्‌ पाएको हुँदा तिनीहरू यसै पार्थिव प्रमोदवनमा अनन्त जीवनको आशा राख्छन्‌। (प्रकाश २१:३-५) यो भीड साँच्चै “ठूलो” छ भनेर १९९८ मा प्रचारकार्यमा भाग लिने ५८,८८,६५० जनाले प्रमाणित गर्छ। रूस र युक्रेन दुवै देशमा पहिलो चोटि प्रकाशकहरूको संख्या १,००,००० भन्दा बढी पुगेको हेर्न विशेषगरि रोमाञ्चकारी थियो। अर्को उल्लेखनीय रिपोर्ट संयुक्‍त राज्य अमेरिकाको पनि छ। त्यहाँ अगस्त महिनामा प्रकाशकहरूको संख्या १०,४०,२८३ पुग्यो। गत वर्ष प्रकाशकहरूको संख्या १,००,००० भन्दा बढी पुग्ने १९ वटा देशमध्ये यी तीन मात्र हुन्‌।

चाँडै पूरा हुने आशा

२२, २३. (क) अहिले हामीले आफ्नो हृदय किन स्थिर गराउनुपर्छ? (ख) हामी कसरी आफूलाई पावलले उल्लेख गरेका विश्‍वासहीन मानिसहरूजस्तो नभएर अब्राहामजस्तो प्रमाणित गर्नसक्छौं?

२२ यहोवाका प्रतिज्ञाहरू पूरा हुने सिलसिलामा हामी समयको रफ्तारमा कहाँ छौं भनेर स्मरणार्थ उत्सवमा उपस्थित हुनेहरूलाई सम्झाइएको थियो। सन्‌ १९१४ मा येशू, परमेश्‍वरको स्वर्गीय राजाको राजा हुनुभयो र त्यही बेलादेखि राज्यशक्‍तिमा देखा पर्नुभयो। (मत्ती २४:३; प्रकाश ११:१५) हो, अब्राहामको वंशले अहिले स्वर्गमा शासन गरिरहनुभएको छ! आफ्नो समयका मसीहीहरूलाई याकूबले यसो भने: “तिमीहरूले पनि धैर्य धारण गर, आफ्नो हृदयलाई स्थिर गराओ, किनभने प्रभुको आगमन नजीकै छ।” (याकूब ५:८) अब, त्यो उपस्थिति अहिले वास्तविकतामा परिणत भएको छ! यसकारण, हाम्रो हृदय स्थिर राख्नुपर्ने कति धेरै कारण छ!

२३ नियमित बाइबल अध्ययन र अर्थपूर्ण प्रार्थनाद्वारा यहोवाका प्रतिज्ञाहरूमाथिको हाम्रो भरोसा सधैं ताजा भइरहोस्‌। उहाँको वचन पालन गर्दै हामी यहोवाका आशिष्‌हरू पाउँदै गरौं। तब हामी अब्राहामजस्तै हुनेछौं र पावलले बताएका व्यक्‍तिहरूजस्तो हुनेछैनौं जसको विश्‍वास कमजोर भएर मऱ्‍यो। हाम्रो पवित्र विश्‍वासलाई कुनै पनि कुराले अलग्याउने छैन। (यहूदा २०) यी कुराहरू सेवा वर्ष १९९९ र अनन्त भविष्यमा यहोवाका सबै सेवकहरूमाथि लागू होस्‌ भनी हामी प्रार्थना गर्छौं।

के तपाईंलाई थाह छ?

◻ हामी अहिले कसरी परमेश्‍वरको कुरा सुन्‍न सक्छौं?

◻ परमेश्‍वरसित अर्थपूर्ण प्रार्थना गर्दा कस्ता लाभहरू हुन्छन्‌?

◻ आज्ञाकारी भई यहोवाको डोऱ्‍याइअनुसार चल्यौं भने हाम्रो विश्‍वास कसरी बलियो हुनेछ?

◻ तपाईंलाई वार्षिक प्रतिवेदनको (पृष्ठ १२ देखि १५) कुन कुरा विशेषगरि रोचक लाग्यो?

[पृष्ठ १२-१५-मा भएको तालिका]

विश्‍वव्यापी यहोवाका साक्षीहरूको १९९८ सेवा वर्ष रिपोर्ट

(छापिएको प्रकाशन हेर्नुहोस्‌)

[पृष्ठ १६-मा भएको चित्र]

यहोवाको वचन सुन्यौं भने उहाँको प्रतिज्ञामाथि हाम्रो भरोसा ताजा हुनेछ

[पृष्ठ १८-मा भएको चित्र]

सेवकाईमा भाग लिंदा हाम्रो विश्‍वास अझ बलियो हुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने