“शर्माउन नपर्ने कामदार” हुने प्रयास
आन्ड्रे सप्पाको वृत्तान्तमा आधारित
दोस्रो विश्वयुद्धको सुरुआतसँगसँगै संसारमा काटमार अनि निराशा फैलियो। मैले नर्वेको नार्भिक नजिक जर्मन जलसेनामा संकेतकको काम गरिरहेको बेला विरोधीहरूले मानिसहरूप्रति देखाउने अमानवीय व्यवहार आफैले देखें। नर्वेली समुद्रको गल्छीहरूबीचको शिविरमा भएको बेला एक रात उत्तरतिर आकाशमा हेरिरहँदा अँध्यारोमा चमचम चम्किरहेको मनमोहक ज्योति देखें। त्यसलाई हेर्दा मलाई आफ्नै जीवन पनि एकचोटि गौर गरेर हेर्न मन लाग्यो। यस्तो राम्रो कुराका सृष्टिकर्ता परमेश्वर युद्धजस्तो पागलपनाका लागि दोषी हुनसक्नुहुन्न भनेर निश्चित भएँ।
म सन् १९२३ मा चेक सिमाना नजिकको सानो गाउँ लासटमा (अहिलेको पोलाण्डमा) गरिब किसान परिवारमा जन्में र हुर्कें। मेरा आमाबाबु क्याथोलिक हुनुहुन्थ्यो त्यसैले हाम्रो परिवारमा धर्मको ठूलो महत्त्व थियो। तथापि, सानै उमेरदेखि आफ्नै धर्मका थुप्रै कुराहरूमा मलाई शंका लाग्थ्यो। हाम्रो गाउँमा प्रोटेस्टेन्ट धर्म मान्ने तीन परिवार बस्थे र यिनीहरूलाई क्याथोलिक समाजले बहिष्कार गर्थे। त्यसो गर्नुको कारण के हो मैले बुझ्नै सकिनँ। स्कूलमा हामीलाई धार्मिक शिक्षा दिइन्थ्यो। एकदिन त्रिएक बारे राम्ररी बुझाइदिन धर्मगुरुलाई अनुरोध गर्दा बेकारमा दस लट्ठी खानुपऱ्यो। तर म १७ वर्ष छँदाको एउटा घटनाले गर्दा म चर्च जानै छोडें। त्यस्तै मामाघरका बाजेबज्यै एक एक महिनाको फरकमा बित्नुभयो। उहाँहरूको अन्त्येष्टि गर्न दुइचोटी चर्चलाई पैसा तिर्नुपर्थ्यो तर त्यो खर्च आमासित थिएन। त्यसैकारण, आमाले पादरीलाई त्यो पैसा पछि तिरे पनि हुन्छ कि भनेर सोध्नुभयो। तिनको जवाफ यस्तो थियो, “तिम्रो आमाबाबुको धन-सम्पत्ति होला नि, त्यही बेचेर अन्त्येष्टि गरे त भैहाल्छ नि।”
त्यसको केही वर्षअघि १९३३ मा हिटलर शक्तिमा आएपछि हामीले जर्मन भाषा मात्र बोल्नुपर्ने पोलिस भाषा बोल्न नपाउने नियम बनेको थियो। जर्मन भाषा बोल्न नमान्ने अथवा सिक्न नसक्ने मानिसहरू विस्तारै हराए। हामीले पछि मात्र थाह पायौं तिनीहरू त यातना शिविरहरूतिर पो पठाइएका रहेछन्। हाम्रो गाउँको नाउँसमेत फेरेर जर्मन भाषामा ग्रूनफ्लीस राखियो। मैले चौध वर्षको हुँदा स्कूल छोडें तर हिटलर यूथ अर्गनाइजेशनको सदस्य नभएको हुँदा काम पाउनै सकिनँ। बल्लतल्ल मैले सिकारु लोहारको रूपमा ज्यालादारी काम पाएँ। लडाइँ सुरु भएपछि चर्चमा हिटलर अनि जर्मन सेनाको लागि प्रार्थना गर्न थालियो। त्यो देखेर विरोधीहरूले पनि त्यस्तै प्रार्थना गरे होलान् भन्ने मैले सोचें।
जर्मन जलसेनामा नोकरी
डिसेम्बर १९४१ मा जर्मन सेनामा भर्ती भएपछि मलाई १९४२ को सुरुतिर नर्वेली समुद्र किनारमा स्काउट जहाजमा काम गर्न खटाइयो। हामीलाई ट्रानहेम र ओस्लोबीच सैनिक दल, हातहतियार वा माल ढुवानी गर्ने जहाजहरूसँगसँगै यात्रा गर्ने काम सुम्पियो। त्यसैबेला मैले दुई नाविकहरू आपसमा संसारको अन्तबारे बाइबलमा गरिएको भविष्यवाणी सम्बन्धी कुरा गरिरहेको सुनें। खुला रूपमा बोल्न डराउँदै तिनीहरूले आफ्ना आमाबाबु यहोवाका साक्षीहरूसित संगत गर्नुहुन्छ तर आफूहरूले चाहिं तिनीहरूलाई नपछ्याएको बताए। मैले यहोवाका साक्षीहरूको बारेमा सुनेको यो पहिलो चोटि हो।
युद्धको अन्तमा हामीलाई बेलायतीहरूले समाते। पछि जर्मनमा फिर्ता पठाउन अमेरिकीहरूको हातमा सुम्पे। त्यसबेला हामी सोभियत क्षेत्रमा बसोबास गर्नेहरूलाई उत्तरी फ्रान्सको लीभीन कैदी शिविरको कोइला खानीमा काम गर्न पठाइयो। यो अगस्त १९४५ को कुरा हो। मैले त्यसबेला एक जना फ्रान्सेली गार्डलाई उसको धर्म के हो भनेर सोधेको अझै याद छ। तिनले “क्याथोलिक हुँ” भनी जवाफ दिएका थिए। मैले तिनलाई फेरि सोधेको थिएँ म पनि क्याथोलिकै हुँ तर हामी किन शत्रु भयौं? तिनले भने, “खै किनकिन, यो संसारमा बसेपछि यस्तै हुन्छ।” तर एकै धर्मका मानिसहरू भिड्नु अनि मारकाट गर्नु मेरोलागि वाहियात कुरा थियो।
कोइला खानीमा उज्यालो किरण
कोइला खानीका कामदारहरूसित काम गरेको पहिलो दिन एभान्ज एम्योट भन्नेले आफ्नो स्याण्डविच मसित बाँडेर खाए। संयुक्त राज्यको ओहायोका बासिन्दा भए तापनि तिनी धेरै वर्षदेखि फ्रान्समा बस्दै आएका थिए। तिनले मलाई युद्धरहित संसारबारे बताए। तिनको दयालु व्यवहारले मलाई चकित पाऱ्यो। म जर्मन, तिनी अमेरिकी भए तापनि म प्रति तिनले द्वेष देखाएनन्। तिनले सन् १९४८ को सुरुतिर मलाई “शान्तिका राजकुमार” शिर्षक भएको पुस्तिका दिनुअघिसम्म हाम्रो भेटै भएको थिएन। अन्तमा मैले युद्धलाई घृणा गर्नुहुने शान्तिका परमेश्वरबारे सिकें। मैले अँध्यारोमा चमचम चम्किरहेको मनमोहक ज्योति हेरिरहँदा जस्तो कल्पना गरेथें, परमेश्वर त्यस्तै हुनुहुन्थ्यो। त्यसैले यो कुरा सिकाउने धर्म भेट्टाउने अठोट गरें। तर एभान्ज खानीको अर्कै भागमा काम गर्ने भएकोले मैले तिनलाई सम्पर्क गर्न सकिनँ। त्यसैले म शिविरमा विभिन्न धार्मिक समूहका मानिसहरूकहाँ गएर त्यस पुस्तिकाबारे सोध्दै हिडें। तर त्यस धर्मका कोही पनि भेटिएनन्।
अन्ततः अप्रिल १९४८ मा म शिविरबाट रिहा भएँ अनि स्वतन्त्र कामदारको रूपमा काम गर्न थालें। त्यसको लगत्तै अर्को आइतबार, सडकमा एउटा सानो घण्टी बजेको सुनें। एभान्जलाई त्यहाँ देखेर म आश्चर्यचकित भएँ! तिनी जनभाषणको विषय विज्ञापन गरिएको विज्ञापन पाटी बोकेका यहोवाका साक्षीहरूका साथमा थिए। त्यो घण्टी बजाउने मान्छे चाहिं अहिले फ्रान्सको शाखा समितिका सदस्य मार्सो लर्वा थिए। मलाई जर्मन भाषा बोल्ने पोल्याण्डवासी योजेफ कूलच्योकसित चिनापर्ची गराइयो। तिनले आफ्नो विश्वासको खातिर यातना शिविरमा दुःख भोगेका थिए। तिनले मलाई त्यस साँझ सभामा आउन आग्रह गरे। त्यहाँ भनिएका सबै कुरा त मैले बुझिनँ तर त्यहाँ भएका सबैले हात उठाउँदा मैले आफूसँगै बस्ने मान्छेलाई तिनीहरूले किन हात उठाएका भनी सोधें। “अर्को हप्ता डनकर्कमा प्रचारमा जान तिनीहरूले हात उठाएका हुन्।” मैले सोधें, “म पनि जानसक्छु?” “किन नहुनु, भइहाल्छ नि” भनी तिनले जवाफ दिए। त्यसैले अर्को हप्ता आइतबार म पनि घर घर प्रचार गर्न गएँ। हामीले भेटेका सबै जनाले सकारात्मक प्रतिक्रिया नदेखाए तापनि मलाई साह्रै रमाइलो लाग्यो त्यसैले चाँडै म पनि नियमित रूपमा प्रचारमा जान थालें।
रिस थाम्न सिक्दै
केही समयपछि रिहा भइसकेका जर्मन कैदीहरू बसेको ब्यारेकमा साक्षीहरूले प्रचार गर्न थाले। म झनक्क रिसाउँछु भनेर तिनीहरूलाई राम्ररी थाह थियो। त्यसैले मलाई त्यहाँ काम गर्न गाह्रो भयो। मैले भनेका कुरा ठट्टामा उडाउनेहरूलाई म यसो भन्दै तर्साउँथें, “होस् गर है नत्र फेला परौला।” एकचोटि कोइला खानीमा काम गरिरहेको बेला यहोवाको खिसी गर्ने एक जनालाई मैले मुक्कासमेत हानेको थिएँ।
तथापि, यहोवाको मदतले गर्दा मैले आफ्नो व्यक्तित्वमा परिवर्तन ल्याउन सकें। एक दिन यी ब्यारेकहरूमा प्रचार गरिरहेको बेला रक्सीले मात्तिएका जड्याँहा मानिसहरूले केही साक्षीहरूलाई दुःख दिइरहेका थिए। म झनक्क रिसाउँछु भनेर मसँग जाने भाइले मलाई रोक्न खोजे। तर एक जना मानिस शान देखाउँदै मेरो अघि आएर कोट फूकाल्न थाले। म साइकलबाट ओर्लें र उसैलाई साइकल थमाइदिएँ र आफ्नो हात चाहिं खल्तीमा हालें। मैले यसो गर्दा तिनी जिल्ल परे, मैले भन्न खोजेको कुरा तिनले राम्ररी सुने। मैले तिनलाई घर गएर सुत्नू अनि जनभाषण सुन्न आउनू भनें। हुन पनि त्यस्तै भयो ३:०० बजे त तिनी पनि उपस्थित थिए! अन्ततः २० जना जति पुराना कैदीहरूले सुसमाचार स्वीकारे। मैले चाहिं १९४८ को सेप्टेम्बरमा बप्तिस्मा लिएँ।
व्यस्त तर इनामदायी तालिका
मलाई, हामीले प्रचार गर्ने क्षेत्रको रेखदेख गर्ने र जनभाषणको लागि उपयुक्त ठाउँ खोज्ने दायित्व सुम्पियो। यो काम गर्न मैले कहिलेकाहिं बेलुकी खानीमा काम गर्न जानुअघि मेरो सानो मोटरसाइकलमा ५० किलोमिटर यात्रा गरिसकेको हुन्थें। अनि सप्ताहन्तमा हामी बस चढेर प्रचार गर्ने क्षेत्रमा जान्थ्यौं अनि एक वक्ता र दुईचार जना प्रकाशकहरूलाई सँगै ओराल्थ्यौं। ठूला शहरहरूमा उपयुक्त स्थान भेट्टाएपछि हामी एकमाथि अर्को सुटकेसहरू खप्टाएर वक्ताको भाषण दिने स्ट्यान्ड बनाउँथ्यौं। हामी प्रायः जनभाषणका लागि मानिसहरूलाई निमन्त्रणा दिन जनभाषणको विषय लेखिएको विज्ञापन पाटी बोक्ने गर्थ्यौं।
मैले १९५१ तिर रिम्जमा बसोबास गर्ने साक्षी ज्यानेट सोफूरलाई भेटें। पहिलो नजरमै हामीबीच माया बसिहाल्यो र त्यसको एक वर्षपछि मे १७, १९५२ मा हामी वैवाहिक वन्धनमा बाँधियौं। हामी डुए शहर नजिकैको खानीको व्यापारिक शहर पेकन्कुरमा बसाइँ सऱ्यौं। तथापि, मलाई चाँडै स्वास्थ्य समस्याहरूले पिरोल्न थाल्यो। खानीमा काम गरेकोले श्वासप्रश्वाससम्बन्धी सिलीकोसिस रोग लागेको पत्ता लाग्यो तर यसबाहेक अन्य कुनै काम पाउनै सकिनँ। त्यसैले, १९५५ मा जर्मनीको नुरेमवर्गमा भएको अन्तरराष्ट्रिय सम्मेलनको दौडान राइनको सानो औद्योगिक शहर केलमा पर्ने सानो मण्डलीमा मदत गर्न निम्तो पाउँदा हाम्रो केही काम नभएकोले सजिलै त्यहाँ सऱ्यौं। त्यसबेला त्यहाँ जम्मा ४५ जना प्रकाशकहरू थिए। तर हामीले त्यहाँ काम गरेको सात वर्ष भित्रै प्रकाशकहरूको संख्या बढेर ९५ पुग्यो।
अझ बढी सेवाका सुअवसरहरू
त्यो मण्डली दह्रो भएपछि हामीले सोसाइटीसित विशेष अग्रगामीको हैसियतमा फ्रान्समा काम गर्ने स्वीकृति माग्यौं। हामीले सोचेजस्तै पेरिस खटाइयौं। अर्को आठ महिना त्यहाँ काम गर्दा हामी असाध्यै आनन्दित थियौं। ज्यानेट र मैले मात्रै जम्माजम्मी ४२ वटा बाइबल अध्ययनहरू सञ्चालन गर्ने सुअवसर पायौं। हामी त्यहाँ बसुञ्जेल जम्मा पाँच जना विद्यार्थीहरूले बप्तिस्मा लिए अनि तत्पश्चात् अरू ११ जनाले पनि सच्चाइ स्वीकारे।
हामी पेरिसमा विद्यार्थीहरू बस्ने इलाकामा बसेको बेला सर्वनका प्राध्यापकहरूलाई प्रायजसो भेट्ने गर्थ्यौं। हामीले भेटेका प्राध्यापकहरूमध्ये एक जना दर्शनशास्त्रका अवकाश प्राप्त प्राध्यापक थिए जो विश्वासबाट निवारण गर्ने व्यक्ति थिए। तिनले बाइबल अध्ययन गरे र अन्ततः यहोवाका साक्षी भए। एक दिन मैले जेसुएट गुरुहरूसित नजिकको सम्बन्ध भएका सिभिल इन्जिनियरसित बाइबलबाट छलफल सुरु गरें। तिनी हाम्रो डेरामा तीन बजे आएका थिए तर फर्कंदा भने बेलुकीको दस बजिसकेको थियो। अझ अचम्मको कुरा त के भयो भने तिनी साढे एक घण्टापछि फेरि हाम्रै घरमा फर्के। कारण, तिनले बाइबलका भविष्यवाणीहरूबारे जेसुएटसित प्रश्न गर्दा ती जेसुएट नाजवाफ भएका रहेछन्। बिहानको एक बजे तिनी आफ्नो घर गए तर सात बजे फेरि हाम्रो डेरामै आइपुगे। पछि तिनी पनि साक्षी भए। सच्चाइको लागि तिर्खाएका यस्ता मानिसहरू भेट्टाउनु मेरी पत्नी र मेरोलागि ठूलो प्रोत्साहन थियो।
पेरिसमा सेवा गरिसकेपछि पूर्वी फ्रान्समा परिभ्रमण निरीक्षकको काम गर्न आमन्त्रित गरियो। वास्तवमा फ्रान्सेली अनि जर्मन भाषा बोल्ने मण्डलीका भाइहरूलाई बलियो बनाउँदै एकपछि अर्को मण्डलीहरूमा भ्रमण गर्नु हाम्रोलागि साँचो आनन्द थियो। लरेनको रम्वोस भन्ने ठाउँमा मण्डलीको भ्रमणको दौडान मैले स्टेनिस्वस आम्ब्रसचोकलाई भेटें। तिनी पोल्याण्डवासी थिए अनि नर्वेली समुद्रमा युद्ध हुँदा विपक्षीहरूको पनडुब्बी जहाजमा काम गर्थे। हामी दुवै त्यस समुद्रमा जहाज चलाउँदा एकअर्काको विरोधी पक्षमा परेका रहेछौं। तर अहिले हामी भ्रातृत्व प्रेममा बाँधिएर हाम्रा परमेश्वर यहोवाको सेवा गर्दैछौं। पेरिसको एउटा सम्मेलनमा मैले एक जना चिनेचिनेजस्तो लागेको मानिसलाई झ्वाट्ट देखें। म उत्तरी फ्रान्समा कैदी हुँदा तिनी त्यस शिविरका कमान्डर थिए। त्यस अधिवेशनको दौडान हातमा हात मिलाएर काम गर्न पाउँदा हामी साह्रै खुसी भयौं! पहिलेका दुश्मनहरूलाई भाइबन्धु अनि घनिष्ठ साथी बनाउन सक्ने त्यस्तो शक्ति परमेश्वरको वचनमा छ।
दुःखको कुरा, बिग्रँदो स्वास्थ्यको कारण १४ वर्षपछि परिभ्रमण कार्य रोक्नु पऱ्यो। तथापि, मेरी पत्नी र मैले आफ्नो क्षमताले भ्याएसम्म यहोवाको सेवा निरन्तर गरिरहने दृढ संकल्प गरेका थियौं। त्यसैले, हामी पूर्वी फ्रान्सको मलूजमा बसाइँ सऱ्यौं अनि काम खोजेर अग्रगामी (पूर्णसमय प्रचारकहरू) भयौं।
बितेका निकै वर्षदेखि राज्यभवन निर्माणमा संलग्न हुन पाउनु पनि मेरोलागि आनन्दको अर्को कारण भएको छ। सन् १९८५ मा मलाई पूर्वी फ्रान्सको लागि निर्माण समूह गठन गर्न अनुरोध गरियो। हामीले सिपालु कामदारहरू चलाएर अनि सिक्न इच्छुक स्वयंसेवकहरूलाई सिकाउँदै काम गर्ने एउटा समूह गठन गर्नसक्यौं। हामीले यहोवाको उपासना गर्नका लागि उपयुक्त ८० वटा भन्दा धेरै राज्यभवनहरू निर्माण अथवा मर्मत गऱ्यौं। साथै, १९९३ मा दक्षिण अमेरिकाको फ्रेन्च गियनामा एउटा सम्मेलन भवन अनि पाँचवटा राज्य भवनहरूको निर्माण गर्न पाउँदा मलाई झन् कत्ति खुसी लाग्यो होला, विचार गर्नुस् त!
परीक्षाहरूका बावजूद दृढ
मैले, बितेका ५० वर्षदेखि गरिरहेको ईश्वरतान्त्रिक कार्यहरूले मलाई असीम आनन्द अनि सेवा गर्ने सुअवसरहरू दिए भनी म ठोकेरै भन्नसक्छु। दुःखको कुरा ४३ वर्ष सँगै बिताएकी मेरी प्यारी पत्नीको डिसेम्बर १९९५ मा मृत्यु भयो। यो साह्रै दुःखको कुरा थियो। अहिले पनि म शोकाकुल छु। तापनि, यहोवाले सहनशक्ति दिनुभएको छ अनि मेरा आध्यात्मिक भाइबहिनीहरूले मलाई प्रेम अनि सहारा दिएकाले मेरो दुःख केही हदसम्म कम भएको छ।
सन् १९६३ मा जर्मनको म्युनिकमा भएको सम्मेलनमा एक जना अभिषिक्त भाइले भन्नुभएका शब्दहरू मलाई अझसम्म राम्ररी याद छ। तिनले यसो भनेका थिए, “आन्ड्रे, दायाँ बायाँ कतै नहेर्नुहोस्। यातना शिविरमा धेरै भाइहरूले सतावट भोगे। अब अघि सर्ने जिम्मेवारी हाम्रो हो। हामी कहिल्यै आफैलाई सम्झेर दुःखी हुनु आवश्यक छैन। त्यसैले दृढ भएर अगाडि बढ्नुहोस्!” मैले यो कुरा सधैं मनमा राखें। म अहिले झन् झन् बूढो हुँदैछु अनि अस्वस्थ भएकोले पहिले जस्तो धेरै काम गर्न पनि सक्दिनँ। तैपनि, हिब्रू ६:१० मा पाइने कुरा मेरोलागि सधैं आनन्दको स्रोत साबित भएको छ, “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ . . . तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न।” हो, यहोवाको सेवा गर्न पाउने सबैभन्दा ठूलो सुअवसर सबैले पाउनसक्छन्। मैले बितेका ५० वर्षदेखि र अझै पनि “शर्माउन नपर्ने कामदार” हुने लक्ष्य राखेको छु।—२ तिमोथी २:१५, नयाँ संशोधित संस्करण।
[पृष्ठ २२-मा भएको चित्र]
नर्वेली समुद्रका गल्छीहरूमा मैले यस्तै डुंगाहरूमा काम गरेको थिएँ
[पृष्ठ २३-मा भएको चित्र]
उत्तरी फ्रान्समा साइकल लिएर प्रचार गरिरहेको बेला
[पृष्ठ २३-मा भएको चित्र]
जनभाषण दिने वक्ताको स्ट्यान्ड बनाउन एकमाथि अर्को गरी खप्टाइएका सुटकेसहरू
[पृष्ठ २४-मा भएको चित्र]
सन् १९५२ मा ज्यानेटसित विवाहको दिन